Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

नागरिक शनिबार

त्यो बालापन

  • २२ चैत्र, २०७०
  • सन्तोष न्यौपाने
  • DISQUS_COMMENTS
(1 Vote)
९५ वर्ष पुग्नै लागेका संस्कृतिविद् सत्यमोहन जोशी बिहानीको तातो घाम खोज्दै आँगनमा रहेको सोफामा बसे। अग्ला घर छिचोल्दै घामका किरण आँगनमा छरिएका थिए। सहर यस्तो भइसक्यो, निर्वाध घामका किरण आँगनसम्म आइपुग्न घरका चेपचाप छिचोल्नुपर्छ। उनी त्यही सोफामा बसेर पुरानो काठमाडौं सम्झन्छन्– खुला वातावरण, चौर, खेतबारी।
ललितपुर पाटनको बखुम्बहाल घर भएका जोशी काठमाडौं ओटुको दोवाल टोलस्थित मावल पुग्न दुईतीन घन्टा हिँड्थे। अहिले पनि कहिलेकाहीँ दुई घन्टा लाग्न सक्छ, ट्राफिक जाममा पर्दा।
घरको बार्दलीमा बस्दा बाघको आवाज सुन्ने आफ्ना कानले अहिले गाडीको कर्कश लाग्दो घ्यारघ्यार सुन्नुपरेको उनी बताउँछन्।
घरबाट निस्कँदा आमाले कसैको आँखा नलागोस् भनेर कलिला खुट्टामा थुक दलेर टीका लगाइदिएको उनलाई अझै सम्झना छ। थुकको टीका निधारमा लगाएपछि छोराको सुरक्षा हुन्छ भन्ने आमाको विश्वास थियो। आमाको विश्वासप्रति उनी पनि विश्वस्त थिए।
पाटनबाट मावली घर जाँदा एक बूढी आमाले उनलाई पिठ्यँुमा बोक्थिन्। आमा पछिपछि। पाटनबाट असन पुग्दा धेरै ठाउँ आराम गर्नुपर्थ्यो। आमाबाट उनी ती ठाउँबारे जानकारी सुन्थे। अहिलेको सुन्धारास्थित चाइना टाउनअगाडिको पेट्रोल पम्प पुग्दा उनी झस्किन्थे। 'त्यो ठाउँमा बाघखोर थियो,' उनी दुई औंला तेर्स्याएर आँखा ठूल्ठुलो पार्दै भन्छन्, 'दुइटा बाघ थिए।'
देख्दै डरलाग्दा बाघलाई सरकारले नै पालेको थियो। कुनै बच्चाले काम बिगारे तिनै बाघको डर देखाएर मनोवैज्ञानिक सजाय दिने चलन थियो। ती बाघ २००७ सालसम्म रहेको जोशी बताउँछन्।
बाटोबाटोमा राणाहरूका स्मारक र मूर्तिहरू देखाउँदै लैजान्थिन् आमा। उनको घर गाउँमा थियो। अर्थात् त्यो बेला पाटनको बखुम्बहाल गाउँ थियो भने काठमाडौंको असन बजार। आफ्नै मामा घर असन आउन पाउँदा उनी खुसीले बुरुक्क हुन्थे।
काठमाडौं उपत्यकामा पातला बस्ती थिए। साइकलसम्म देख्न पाइँदैनथ्यो। 'सरकारी भारदार, सुब्बाहरू फाट्टफुट्ट घोडा चढेको देखिन्थ्यो,' उनी भन्छन्, 'अलि हुनेखाने बग्गी चढ्थे।'
आफ्नो घरको बार्दलीमा बस्दा वरपर सबै देखिन्थ्यो। कृष्ण मन्दिर वरपरका मान्छेलाई प्रस्ट देख्न सकिन्थ्यो। रातको समय कुनै दिन त बाघ र सिंहको गर्जन पनि सुनिने उनी बताउँछन्। साथीहरूको समूहमा चौर र चोकमा भोगटेको बल खेलेको सम्झन्छन् उनी। कहिलेकाहीँ टाला बाँधेर बल बनाउँथे।
त्यतिखेरसम्म त बल खेल्ने चिज हो भन्ने पनि थाहा थिएन रे! जावलाखेलको एक स्कुलमा जुद्धशमशेरका नातिहरूले पढ्ने रहेछन्। एकपटक उनीहरूले स्कुलमा बल ल्याएर खेले। 'अनि बल्ल हामीलाई थाहा भयो, बल भन्ने खेल हुँदो रहेछ,' उनी भन्छन्, 'त्यसैको सिको गरेर भोगटे वा टालाको बल बनाएर खेल्न सिकेका थियौं।'
त्यसबाहेक लखेट्ने, छुने अनि डुम हुने, आँखा छोपेर खेल्ने खेल, कानकान पिछे, डन्डीबियोजस्तै लठ्ठी खेल, खरीले धर्को तानेर खेल्ने खेल ता च्योयु, कौडाजस्तो प्वाँ खेल खेलेको उनी सम्झन्छन्।
आफ्ना बाबुले नपढे पनि आफूलाई पढ्न जोड गरेको उनी बताउँछन्। 'हि वाज सो इन्ट्रेस्टेड टु टिच मी,' उनी बाबुलाई सम्झन्छन्।
बाबुले आफ्नो इच्छा पूरा गर्न एक दिन 'प्रथम शिक्षा नेपाली किताब' २० पैसामा किनेर ल्याइदिए। मंगलबजारमा रहेको भाषा पाठशालामा भर्ना पनि गरिदिए। त्यहाँ नेपाली र अंग्रेजी पढाइ हुन्थ्यो। पहिला नेपालीमा भर्ना भए। पछि अंग्रेजीमा। रमाइलो कुरा त, पढाइको सुरुवात कक्षा ९ बाट हुन्थ्यो। जोशी भन्छन्, 'नौबाट आठ, सात हुँदै एकमा आएपछि स्कुल सकिन्थ्यो।'
तर उनले ध्यान दिएर पढ्न सकेनन्। सबैभन्दा ठूलो भाषामा समस्या भयो। उनी न नेपाली बुझ्थे, न अंग्रेजी। 'पिताजीको चाहना हँुदाहँुदै पढ्न सकिनँ,' उनी भन्छन्, 'उहाँले मलाई घरमा अक्षर सिकाउँदै जानुभयो।'
पछि १२–१३ वर्षको उमेरमा उनी दरबार हाइस्कुलमा कक्षा तीनमा भर्ना भए। पाटनबाट दुई घन्टा हिँडेर स्कुल जानुपर्ने। बल्लतल्ल स्कुल पास गरेपछि मात्रै कलेजबाट प्रगतिको सुरुवात भएको उनी बताउँछन्। 'स्कुल पढ्दा म सधैं अन्तिम बेन्चमा हुन्थँे, नपढ्ने विद्यार्थीका रूपमा,' उनले भने, 'सबै विषय मैले कहिल्यै उत्तीर्ण गरिनँ।' परीक्षाफलको दिन टुलुटुलु हेर्नुबाहेक अर्को उपाय थिएन। एक विषय लागेकालाई उत्तीर्ण गर्ने चलन थियो। उनी त्यही कोटामा पास हुन्थे।
चाडपर्व, जात्रा बेला अझ रमाइलो हुन्थ्यो, बच्चाका लागि। जात्रामा रमाई–रमाई साथीहरूसँग टाढाटाढा पुगेको उनी सम्झन्छन्। त्यो बेला जन्मदिन मनाउने चलन पनि थियो। 'जन्मदिन आए हाँस र कुखुराको फूल खान पाइने लोभले दुई–चार दिनअगाडि नै मन फुरुंग हुन्थ्यो,' उनी भन्छन्।
अहिलेका बच्चा 'ह्याप्पी बर्थ डे' भन्दै रमाएको देख्दा उनी पनि आफ्नो बाल्यकालीन जन्मदिन सम्झन्छन्। संस्कार एउटै भए पनि समयको परिवर्तनले धेरै कुरा फेरिँदै गएका छन्। 'अहिलेको समय हरेक कुरामा फाइदा र बेफाइदा दुवै छन्,' जोशी भन्छन्, 'बच्चालाई सुरुदेखि नै उचित लालनपालन र शिक्षा नदिने हो भने भविष्य अन्योल बन्न सक्छ।'
भोटभन्दा चन्दा माग्ने धेरै

भोटभन्दा चन्दा माग्ने धेरै

'धेरै जना मंसिर ४ को प्रतीक्षामा व्यग्र छन्, मलाई कहिले सकिएला जस्तो भइसक्यो,' व्यवसायी प्रदीपकुमार श्रेष्ठ चन्दा माग्नेले हैरान बनाएपछि यस्तो बताउन थालेका छन्। उनीकहाँ भोट माग्ने भन्दा पैसा माग्ने...

डेढ लाखको बोका : छटपटाइरहेको खसी

हजुरबाले पूजा गरेको, टोलमा पिङ खेलेको र ट्रेलिन्जको कमिज लगाएर मनाएका दसैं मह जोडीका यादगार दसैं हुन्। बच्चा बेलाको दसैं कति रमाइलो! घरघरमा पूजा–आराधना। खुलेको आकाश र घमाइलो मौसम।

झ्याल्चा अर्थात् यौन लीला

झ्याल्चा अर्थात् यौन लीला

इन्द्रजात्राको अघिल्लो दिन ललितपुरको च्यासलमा रमाइलो जात्रा देखाइन्छ। त्यो जात्रा हो, झ्याल्चा। इन्द्रजात्राकै एक भागका रूपमा रहेको यो जात्रा ललितपुरमा निकै चर्चित छ। के हो त झ्याल्चा जात्रा

विन्टर डेस्टिनेसन

नमोबुद्धगौतम बुद्धको पूर्वजन्म भएको पवित्र ठाउँ नमोबुद्ध। अध्यात्म, प्रकृति र संस्कृतिको संगम। शारीरिक र मानसिक थकान मेटाउने गन्तव्य। काभ्रेको श्यामपाटी गाविसमा पर्छ नमोबुद्ध। काठमाडौंबाट धुलिखेल हुँदै ३० किलोमिटर दुरीमा।

ताजमहल, गगल र 'मिस्टर नो-अल'

ताजमहल, गगल र 'मिस्टर नो-अल'

ताजमहल औधी सुन्दर छ भन्ने वाक्यबाट यो आलेख सुरु भयो भने नपढिने खतरा छ। सबलाई थाहा भएको तथ्य लेखिरहनुको अर्थ रहेन। सूर्य पूर्वबाट उदाउँछ भनेर दोहोर्‍याइरहँदा कसलाई पो जङ चल्दैन...

खतरा जिएम खान्कीको

खतरा जिएम खान्कीको

अनुवांसिक गुण परिवर्तित (जिएम) बिऊबाट फलेका खाद्य वस्तु (जिएम फुड) बारे वहस भर्खर सुरु भएको छ। तर, राष्ट्रिय नीतिको अभावमा नेपाली जनजीवनमा यस्ता अप्राकृतिक खाद्यान्न दैनिक भोजनमा मिसिन थालिसकेका छन्–...

तेह्र वर्षमै क्रान्तिमार्ग

तेह्र वर्षमै क्रान्तिमार्ग

२०२८ सालमा झापा जिल्ला कमिटीले गरेको सशस्त्र संघर्षको निर्णयले कम्युनिस्ट आन्दोलनमा हलचल नै ल्यायो, त्यसको तरंगले गौरा प्रसाईंलाई पनि नराम्रोसँग हल्लायो। त्यो आन्दोलनमाथिको दमनबाट बच्न कयौं व्यक्ति भारत पसे। केहीले...

आयुमा जीवन थप्ने चाड

तिहारलाई हामी यमपञ्चक भन्छौं । कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनको यो पञ्चक पर्व काग तिहारबाट प्रारम्भ भएर कुकुर तिहार, गाई तिहार (लक्ष्मी पूजा), गोरु तिहार (...