Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

बुवाविनाको जीवन

  • २२ चैत्र, २०७०
  • सर्दु बज्राचार्य
  • DISQUS_COMMENTS
(1 Vote)
अभिभावक गुमाउनुको पीडा सायद अरू कुनै पीडासँग दाँज्न सकिँदैन। तीन महिनाअघि मैले बुवा गुमाएँ। त्यो अकस्मात् र अनपेक्षित क्षति मेरा लागि असह्य थियो। हुन्।)
सन् २०१३ नोभेम्बर ११ को बिहान। मेरो भाइबर तारन्तर बजिरहेको थियो। अझ केही मिनेट सुत्ने मनसायले मोबाइलको वास्तै गरिनँ। भाइबर एक सुरले कराइरह्यो, अनि रोकियो। सोचेँ– एकाबिहानै यस्तो कल बुवाबाहेक अरू कसले गर्‍यो होला र!

सायद बुवाआमालाई नेपाल र स्विडेनबीच समयान्तर ख्याल भएन क्यारे। ओछ्यानबाट उठ्नेबित्तिकै मोबाइल हेरेँ। त्यसमा मेरो जीवनकै सर्वाधिक पीडादायी सन्देश पिलिकपिलिक गरिरहेको थियो।

न्यू जर्सीबाट आन्टीले पठाएको म्यासेजमा बुवा बित्नुभएको खबर थियो।

कस्तो, म्यासेज पढ्ने आफ्नै आँखामाथि विश्वास नभएको जस्तो! म्यासेजमा गल्ती भएको हुनु नि! यो सबै सपना भइदिनु नि!

बुवा बित्नुभएको तीन महिना बित्दा पनि त्यही म्यासेज मलाई घरिघरि तर्साउन आइरहन्छ।
सधैं तर्साइरहनेछ।

अघिल्लो दिन बुवासँग कुरा गर्दा काठमाडौंमा दिउँसोको समय थियो। म बिसन्चो थिएँ। मेरो बिरामी अनुहार स्काइपमा देखेर उहाँ सुर्ताउनुहोला भनेर भिडियो अन गरेकी थिइनँ। हामीले छोटोमा कुरा सक्यौं। भोलि कुरा गर्ने भनेर छुट्टियौं।

त्यो भोलि त्यसपछि कहिल्यै आएन।

भोलिपल्ट बिहान बुवाका लागि पुरानै दिनहरूझैं सामान्य थियो। मुख धुनुभयो। खाजा खानुभयो। नित्यकर्म उही थियो। नेब्रास्कामा रहेको भाइसँग स्काइप गर्नुभयो। बुवाको श्वासप्रश्वासमा समस्या सुरु हुँदा आमा न्यू जर्सी बसिरहेका मामा र सानिमासित भाइबर सम्पर्कमा हुनुहुन्थ्यो।

बुवाको पहिल्यैदेखि फोक्सोमा समस्या थियो। जर्मनीमा पिएचडी गर्दाताक क्षयरोगले समातेको थियो उहाँलाई। डाक्टरले फोक्सोको संक्रमित भाग काट्न सुझाएका थिए। त्यसबेलासम्म उहाँ निको भइसक्नुभएको थियो। सर्जरीको अघिल्लो रात उहाँले निश्चय गर्नुभयो, फोक्सो नकाट्ने। अर्को बिहान आफ्नो निर्णय डाक्टरलाई सुनाउने मनस्थिति बनाउनुभयो। तर, अर्को दिन उहाँ ब्युँझनुअघि नै अप्रेसनका लागि एनेस्थेसियामा लगिसकिएको थियो। उहाँले आफ्नो इच्छा डाक्टरलाई सुनाउने मौकासमेत पाउनुभएन। आँखा खोल्दा ढिला भइसकेको थियो। फोक्सोको एउटा भाग काटिइसकेको थियो।

त्यही बेलादेखि फोक्सोको क्षमता सीमित भएको थियो उहाँको। उहाँ ब्रोङकाइटिसग्रस्त हुनुहुन्थ्यो नै, धमनीहरूमा समेत संक्रमण भइसकेको थियो। आजीवन निलेका असंख्य एन्टिबायोटिक्सले कमजोर हुनुहुन्थ्यो। फोक्सोको समस्याले खानादेखि डराउने रोग सिर्जना भएको थियो।

त्यही भएर बुवा सधैं लुरे देखिनुहुन्थ्यो। पातलो।

सधैं बुवाको चिन्ताले सताउँथ्यो मलाई। झट्टै निको भइजावस् भनेर सधैं कामना गर्थें। बुवा आफू ठिकै रहेको जनाउ दिनुहुन्थ्यो। उहाँको आत्मविश्वास सुन्दा ५–१० वर्ष त यसै बाँचिहाल्नुहुन्छ जस्तो लाग्थ्यो। यति चाँडो जानुहोला भन्ने संकेतसम्म देखिन्नथ्यो।

अर्को दिन म काठमाडौं उडेँ। परिवारका सदस्यले उहाँ बितेकै दिन अन्तिम संस्कार गर्ने निर्णय लिएका थिए। जसै काठमाडौं विमानस्थल ओलेर्ंं, भित्र कताकता गहिरोगरी दुख्यो। अहो, म त घर जानै डराएँ!

पहिले–पहिले घर पुग्दा बुवाआमालाई देख्दामात्रै खुसीले आँखा छचल्किन्थ्यो। यसपालि बुवाविनाको त्यही घर छिर्दा मेरो भक्कानो छुट्यो।

सन् २०११ नोभेम्बरमा अन्तिमपल्ट देखेछु बुवालाई मैले। केटाकेटी घर आउँदा उहाँ कति खुसी हुनुभएको थियो! बुवाको रोचक गफ सुन्न अति मजा आउँथ्यो। मैले विश्वभरि घुमेँ। नामी बुद्धिजीवीका कुरा सुनेँ। बुवाजत्तिको महान गफी चाहिँ कोही भेटिनँ। लाग्छ, मेरो बुवालाई जसले सुनेको छ, ऊ मसँग सहमत हुन्छ।

दिवंगत बुवालाई शोभाभगवतीमा राखिएको भिडियो अंकलले पठाउनुभएको थियो। मैले मेरो बुवालाई अन्तिमपल्ट हेर्नै सकिनँ। अर्को भिडियोमा डाक्टरले उहाँको आँखाको कर्निया झिकिरहेको थियो। कसैको आँखा झिकेको भिडियो कहिल्यै हेरेकी थिइनँ। अहिले यत्ति सम्झन्छु– उहाँको हँसिलो मुहार। उहाँको बोली। उहाँको हाँसो। बस्, म बुवालाई यसरी नै सम्झन चाहन्छु।

हामी आज पनि त्यो दिन के भयो, कसो भयो भनेर पटकपटक कुरा गछर्ौं। मेरो मनमा भने तर्कना खेलिरहन्छ, यही कुरा अर्को तरिकाबाट गर्न पाए कस्तो हुन्थ्यो। बुवा बिरामी हुनुभएको, रातारात अस्पताल लगेको, निको भएर फर्केको, अलि दिनसम्म मलाई सुइँको नदिएको र एकैचोटि तंग्रिएपछि स्काइप गरेको। हो, यस्तै भइदिएको भए त हुन्थ्यो नि! तर, जब मलाई यो मिथ्या कल्पना हो भन्ने होस हुन्छ, म आफ्नै आँसुको भेलमा डुब्छु। हृदयभित्र कताकता आलो घाउ चहराएर आउँछ। म व्यथीत हुन्छु। हातगोडाका नसा सुन्निन थाल्छन्। मुटु फुट्लाजस्तो हुन्छ। बुवा छेउमै हुनुहुन्छ कि जस्तो पनि लाग्छ। छामछाम छुमछुम गर्छु। उहाँको सुगन्ध नाकमा ठोक्किन आइपुग्छ। स्पर्सको अनुभूति हुन्छ। फेरि होस आउँछ, उहाँ कतै देखिनुहुन्न।

यो समयलाई क्यासेटको रिलझैं फनफनी घुमाउन किन नसकिएको होला! जे भएको हो, त्यो सत्य नभइदिएको भए हुने नि! के उहाँलाई सद्दे फर्काउन साँच्चै सकिन्न?

बुवालाई उहाँकै अनुरोधबमोजिम ओम अस्पताल लगिएको थियो। आफू बिरामी भएको उहाँले आमालाई बताउनुभएको थियो। त्यसबेलाको दर्द त्यसअघि कहिल्यै सामना नगरेको भन्नुभएको रहेछ। आमाले आफ्नो काखमा मुन्टो राखिदिँदा बुवाले भन्नुभएछ, 'मैले केही देख्न सकिनँ।' यो सबै अस्पताल पुग्न आधा बाटो छँदै भएको थियो।

मेरो जीवनमा बुवाको कति ठूलो अर्थ छ भनेर म एकपटक उहाँलाई नै भेटेर भन्न चाहन्छु। अब यो सम्भव छैन। पहिले सम्भव थियो, तर भन्ने जरुरी नै ठानिएन। जोसँग जे छ, उसलाई त्यसको मतलब किन हुँदैन?

हामी बुवाआमालाई यसै हल्काफुल्का ढंगले लिइदिन्छौं। यस्तो उपलब्धि ठानिदिन्छौं कि, उहाँहरू भनेको विनामेहनत आर्जेको फुट्टीबराबर हो। बुवाआमा भनेको हाम्रा लागि नै हो। हामीले बुवाआमाका लागि केही गर्नुपर्दैन, जे गर्ने हो उहाँहरूले नै गर्ने हो। हामी बिर्सिदिन्छौं, हाम्रा बुवाआमा बुढिँदै हुनुहुन्छ, कुनै पनि बेला हामी उहाँहरूलाई कहिल्यै देख्न नपाउने अवस्था सामना गर्न सक्छौं। मेरा केही साथीहरूले बुवाआमा गुमाएको देखेकी छु। त्यो देख्दा म दुःखी हुन्थेँ। बुवाआमा गुमाउने कुरा कल्पना गर्न पनि सक्दिनथेँ।

जीवनमा सबैभन्दा बढी माया गर्ने मान्छे गुमाउनुपर्दा कति पीडा हुन्छ भनेर साँच्चिकै कल्पना गर्थिनँ। अहिले आएर साँच्चिकै अनुभूति गर्दैछु– यो कति दुःखदायी हुन्छ!

मानिस भन्छन्– जबसम्म तिमीसँग बच्चा हुँदैन, साँचो प्रेमको अर्थ थाहा हुँदैन।

म सोच्दैछु– जबसम्म हामी अभिभावक गुमाउँदैनौं, तबसम्म साँचो पीडाको अर्थ थाहा हुँदैन।

धेरैले बुवालाई प्राध्यापक, वैज्ञानिक, साथीका रूपमा चिन्छन्। उहाँले लेखेका धेरै लेख मैले पढेकी छु। तर धेरैलाई थाहा छैन, उहाँ एक साधारण पिता पनि हुनुहुन्थ्यो। मैले बुवाप्रति सधैं गर्व गरेँ। उहाँ सबैभन्दा बुद्धिमान त हुनुहुन्थ्यो नै, सुशील पनि हुनुहुन्थ्यो। अति असल बुवा, जे पनि माग्न सकिने, भन्न सकिने। उहाँ उच्च तहको बौद्धिकमात्रै हुनुहुन्नथ्यो, औधी दयालु पनि हुनुहुन्थ्यो। सबैलाई समान व्यवहार गर्ने। सादा जीवन र उच्च विचारका सर्वाधिक असल उदाहरण हुनुहुन्थ्यो उहाँ। मान्छे छुट्याएर व्यवहार गर्नुहुन्नथ्यो। ट्याक्सी ड्राइभरसँग पनि त्यसरी नै कुरा गर्नुहुन्थ्यो, जसरी आफ्ना सहकर्मीसँग। बाहिर हेर्दा कडा मिजासको जस्तो लाग्ने, भित्र नौनीजस्तो। मानिसका सकारात्मक पाटोमा जोड दिनुहुन्थ्यो। कोही पूर्ण छैन, मानिसलाई त्यसरी नै हेर्न जान्नुपर्छ भन्नुहुन्थ्यो।

बुवाजत्तिको व्यवस्थित र संगठित मानिस मैले आजपर्यन्त कोही भेटेकी छैन। आजसम्म चिनेकामध्ये उहाँ सबैभन्दा राम्रो शिक्षक हो। उहाँले जे जे सिकाउनुभयो, मेरो मनमा शिलासरि कुँदिएका छन्। सकेसम्म सरल भाषामा व्याख्या गर्नुहुन्थ्यो, स्रोताले सजिलै बु‰थ्यो। कुनै पनि विषयलाई पटकपटक बुझाउँदा पनि थाक्नुहुन्नथ्यो। म स्कुल छँदा जलवायु परिवर्तनबारे पढ्नुपर्थ्यो। उहाँले हरितगृह असर (ग्रिनहाउस इफेक्ट) र जलवायु परिवर्तनबारे सिकाएका कुरा धेरै रोचक थिए। मैले पनि त्यसैगरी सोच्न थालेँ।

हाम्रो शिक्षालाई बुवाले धेरै महत्त्व दिनुभयो। राम्रा स्कुल र विश्वविद्यालयमा भर्ना गराउनुभयो। मेरो प्राप्तांकले मलाई भन्दा बढी उहाँलाई फरक पर्थ्यो। कान्ति ईश्वरी शिशु विद्यालयमा प्राथमिक तह पढेँ मैले। म सबैभन्दा राम्रो विद्यार्थी बन्न सकुँ भनेर उहाँले आफैं घुँडा धसेर सिकाउनुहुन्थ्यो। बिहान, दिउँसो र राति गरी पढ्ने समयतालिका बनाइदिनुभएको थियो। म प्रथम हुन सकुँ भन्ने उहाँको इच्छा हुन्थ्यो। कक्षा चारको एक टेस्टमा मैले ५० पूर्णांकमध्ये २० मात्रै ल्याउन सकेँ। अरू बेला कहिल्यै ४० भन्दा तल नझर्ने मेरो यसपटक अंक स्वात्तै घटेको थियो। बुवालाई रिजल्ट देखाउन म डराएँ। त्यही दिन मेरो शुल्क बुझाउन उहाँ स्कुल आउने दिन परेको थियो। मेरो कमजोर नतीजा उहाँले स्कुलमै चाल पाइहाल्नुभयो। घर पुग्दा त गहभरि आँशु देखेँ।

उहाँले यति नरमाइलो मान्नुभएछ कि, स्कुल गएर मेरा लागि स्कोर सुधार्ने अर्को एक मौका दिन शिक्षक नै गुहार्नुभयो। बुवा कति दुःखी हुनुभएको थियो भनेर शिक्षकले समेत राम्रैगरी थाहा पाए। मैले सबै टेस्ट फेरि दिन पाएँ। अर्कोपटकको जाँचमा ४५ अंक हान्दिएँ।

बुवा गफिन कति मन पराउनुहुन्थ्यो, सबैलाई थाहा छ। बुवालाई कति मिस गर्छु भन्नलाई मसँग शब्द पुग्दैनन्। उहाँ मेरो बुवामात्रै हुनुहुन्थेन, मेरा गुरु र मेरा रोलमोडल पनि। मेरो जीवनमा उहाँको यति धेरै प्रभाव छ। मानिस सम्झाउँछन्, यो घनघोर दुःखसागरबाट उत्रेर यथार्थको जमिनमा आउन समय लाग्छ। तर खै के भएको! म त अझै पत्याउन सकिरहेकी छैन, अब कहिल्यै बुवासँग कुरा गर्न पाउँदिनँ भनेर। उहाँको आवाज अब कहिल्यै गुन्जिँदैन भनेर। अब कहिल्यै देख्न पाउँदिनँ भनेर।
मानिस भन्छन्, समयले खाटाहरू पुर्दै लैजान्छ। मलाई लाग्दैन, मेरो यो घाउ कहिल्यै निको हुन्छ। उहाँ अब हामीसँग हुनुुहुन्न भनेर कुनै दिन सकारुँला पनि।

एउटा कुरा भने पक्का हो, बुवाविनाको मेरो जीवन पहिलेझैं कहिल्यै हुनेछैन।


(प्राध्यापक डा. दयानन्द बज्राचार्यकी छोरी सर्दु बज्राचार्य स्विडेनमा पिएचडी गर्दैछिन्। उनी 'सस्टेनेबल नेपाल' नामको संस्थाका संस्थापक
एक क्रोनिक दार्शनिक

एक क्रोनिक दार्शनिक

हरेक वर्ष वसन्त ऋतुले पालुवा हालेपछि राजधानीका सडकभरि नीलो शिरीष फूल्छन् जसै, एक महान् स्रष्टाको सम्झना हुन्छ। ती हुन्, पारिजात। आफ्नै स्वतन्त्रताको फाँटभरि छताछुल्ल पोखिने, अप्ठ्यारो टाकुरामा पुगेर पनि आफ्नै...

सरल, तर प्रखर

सरल, तर प्रखर

यदुनाथ खनाल तीन क्षेत्रमा प्रखर देखिए– शिक्षा, साहित्य र कूटनीति। खनाललाई नजिकबाट बुझेकाहरू उनको विद्वताबाट जति प्रभावित छन्, सरल जीवशैलीले उत्तिकै चकित। पद र प्रतिष्ठामा घमण्ड नगर्ने व्यक्तिको छविलाई कहिल्यै...

'जाली फटाहालाई छाडिन्न'

'जाली फटाहालाई छाडिन्न'

काठमाडौं– 'जग्गा अधिग्रहणले बागमतीको नक्सा नै बदलिएको छ।'यो भनाइ हो, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख गजेन्द्रकुमार ठाकुरको।उनी बुधबार दिउँसो आफ्नो टोलीसँग मीनभवनस्थित विश्व निकेतन स्कुल क्षेत्र आइपुगेका...

पत्तै नपाई पैसा गायब

पत्तै नपाई पैसा गायब

पहिले पैसा लुट्न भौतिक आक्रमण गर्नुपर्थ्यो, अहिले कोठामै बसेर अपराधीले संसारभरको पैसा लुट्न सक्छ। पहिले एकजनाले अपराध गर्दा पीडित हुने एक–दुईजना मात्रै हुन्थे। अहिले हजारौं पीडित हुन्छन्। अपराध गर्नलाई ठूलो...

प्रक्रियामा विश्वास

डा. भगवान कोइरालामतदाता, काठमाडौं क्षेत्र नम्बर– ५आम नेपाली मतदाताझैं चिकित्सक डा. भगवान कोइराला पनि मंसिर ४ मा हुने दोस्रो संविधानसभाको चुनावमा भोट हाल्न आतुर छन्। आफूले चाहेको उम्मेदवारलाई जिताएर संविधानसभामा...

साहसी सहाना

साहसी सहाना

सहाना बज्राचार्य बेलाबखत र्‍याम्पमा झुल्किन्छिन्। तर, आफूलाई मोडल नभन्न 'ह्विप' जारी गर्छिन्।उनी छाउपडी प्रथा उन्मूलनको अभियान बोकेर अछाम जिल्लाको दुर्गम गाउँ चहार्छिन्। किशोरीहरू भेला पारेर महिनावारीको भ्रमबारे परामर्श दिन्छिन्। तर,...

कवि खोज्दै जाँदा

कवि खोज्दै जाँदा

भदौरे झरीले काठमाडौंका अफरोड भिजाइरहेछ। आकाशमा मौसम रोइरहेछ, जमिनमा कवि। एक चर्चित (भनूँ, लोकप्रिय) कविको कांग्रेस प्रवेशले काठमाडौंका कविकुना अझै गर्मिंदा छन्। कोही खुसी छन्, कोही रोइरहेछन्। अखबारमा यो खबर पुरानो...

इतिहास साधक पितापथमा

काठमाडौं– घरमा ठ्याक्कै कति पुस्तक छन्, उनीहरूले हिसाब निकालेका छैनन्। इतिहास अन्वेषक स्वर्गीय नयराज पन्तका दुई छोराको दैनिकी बाबुले जम्मा परेका तिनै पुस्तक र अभिलेखको अध्ययन, प्रकाशन र व्यवस्थापनमा बित्छ।