Monday 12 Jestha, 2077 | May 25, 2020
Menu

नागरिक शनिबार

मलाई मनभोग आमालाई क्याडवरी

  • २२ चैत्र, २०७०
  • तीर्थबहादुर श्रेष्ठ
  • DISQUS_COMMENTS
(1 Vote)
मलाई मनभोग आमालाई क्याडवरी
बिहानीको चार वा पाँच बजेतिर ओछ्यानबाट बोलाउनुहुन्छ, 'ए बाबु, मलाई उठाइदेऊ...।' त्यसपछि ओछ्यानसँगै मेचमा जोडिएको कमोढ र कोपराको प्रयोग हुन्छ।
धोइपखाली गरेपछि सोध्नुहुन्छ, 'मलाई के ख्वाउने?’ कम्प्लान बट्टाको धुलो दूधमा थर्मसको तातोपानी हालेर अगाडि राखिदिन्छु। साथमा ३/४ वटा ग्लुकोज बिस्कुट र एउटा नुनिलो बिस्कुट पनि। एउटा बिस्कुट हातमा उठाएर सोध्नुहुन्छ, 'बाबु तिमीले खायौ त?’
एक सय एक वर्षमा हिँडिरहनुभएकी आमाले म ७७ वर्षको छोरालाई यसरी सोध्दा ममा फेरि सात वर्षको बालकझैं आमाकै काखमा लुटपुटु गरौं कि भन्ने भावको रक्तसञ्चार हुन्छ। मायाको त्यही डोरी समाएर मातृस्नेह, लालनपालनका कुरा गर्ने जमर्कोमा छु।
...
बाहिर बगैंचामा भँगेराका बचेरा च्याँच्याँ मुख बाएर पूरै शरीर फरफर नचाउँदै आमासँग आहारा माग्दैछन्। खोजी ल्याएको आहारा आमाले चुच्चोभित्रसम्म कोचिदिन्छे। चैत–वैशाखमा यो दृश्यले मलाई सधैं भावुक बनाउँछ। म सानो छँदा, दूधे बालक हुँदा आमाले मनभोग कोचिदिनुहुन्थ्यो यसैगरी। र, अहिले क्याडबरी मिल्क चक्लेटको एक टुक्रा त्यसैगरी आमाको मुखमा हालिदिने गरेको छु। भँगेराका बचेराझैं बनिसकेकी छन्, मेरी आमा पनि।
मेरो पुरानो घर काठमाडौंको महाबौद्ध। म सुत्ने कोठामा प्रत्येक वर्ष गुँड लगाउन आउँथे, गौंथलीका एक जोडी। मसिनो माटो बटुलेर कलात्मक गुँड बनाउँथे र त्यहीँ बच्चा कोरल्थे। ससाना बचेराले आँआँ बाएका मुखमा आमा–बुबाले आहारा कोचेको दृथ्य बिहानी र साँझ अति रमाइलो लाग्थ्यो। नबुझिने भाषामा गौंथलीका जोडीले गाउने गीतमा प्रेम र स्नेहको संगीत सुन्थ्यौं। त्यस्तै, स्वयम्भू चैत्यको दर्शनमा जाँदा बाँदरका बच्चा आमाको जिउमा टाँस्सिएर रूखका हाँगा–हाँगा, डाली–डालीबाट उफ्रँदा पनि आमाको जिउबाट नझर्ने/नखस्ने देखेर रोमाञ्चित हुन्थ्यौं।
टोल छिमेकमा छाउरा–छाउरीलाई दूध चुसाउन बसेको सुत्केरी कुकुर्नीको अगाडि पर्न डर हुन्थ्यो, टोक्देला भनेर। आफ्ना बच्चाको सुरक्षामा रहेकी आमा कुकुर्नीमा कति चनाखो र आक्रामक मुद्रा देखिन्थ्यो। यसरी आफ्ना बच्चाको लालन, पोषण र सुरक्षामा तैनाथ आमाहरूको प्राकृतिक स्वभाव र नैसर्गिक अधिकार सबै प्राणीमा निहित भएको पाउँछौ। र, मानिसमा पनि त्यो चेतना र त्यो नैसर्गिक स्वभाव निहित छ। आफ्ना बालबालिका र सन्ततिलाई हुर्काउने तरिका, लालनपालनका विधि, प्रविधि र प्रक्रिया भने मानिसका विभिन्न समुदाय, समाज एवं देशकाल, परिस्थिति, सांस्कृतिक एवं संस्कारअनुरूप फरक–फरक हुन्छ। बच्चालाई हुर्काउने कला पनि सोहीअनुरूप भिन्न हुन्छ। आर्थिक अवस्थाको पिल्सोमा परेका परिवार र समुदायका व्यथाको कथा भने बेग्लै हुन्छ। यस परिपे्रक्ष्यमा काठमाडौंको एक मध्यमवर्गीय नेवार परिवारको लालनपालन र पोषण प्रक्रियाभित्रको अनुभव र तिनका अनुभूति यहाँ समेट्ने प्रयास गरेको छु।
जन्मदेखि काखे शिशुको पहिलो अवस्था, त्यसपछि बामे सर्ने बेला र लगत्तै तातेताते हिँड्ने अवस्था रोचक र रमाइलो हुन्छ। त्यसउप्रान्त किशोर अवस्थाको लालनपालनमा निकै फेरबदल हुन जरुरी हुन्छ। त्यसैले भनिन्छ, पाँच वर्षसम्म लाडप्यार गर्नू, १० वर्षसम्म अनुशासन पालना गर्न सिकाउनू। त्यस अवस्थामा थोरबहुत थप्पडको समेत प्रयोग गर्नू भनिएको छ। आजको समाजमा शारीरिक सजाय वर्जित छ र यसको विरोध गरिन्छ। १० वर्षदेखि १६ सम्मको किशोरावस्थाबारे निश्चित भनाइ छैन। १६ वर्ष उमेर पुगेमा मित्र र पुत्रलाई उस्तै व्यवहार गर्नू भन्ने भनाइचाहिँ प्रचलित छ।
लालयत् पञ्च वर्षाणी, दश वर्षाणी ताडयत्,
प्राप्तेतु सोडषे वर्षे पुत्रम् मित्र समाचरेत्।
 काठमाडौंको परिवेशमा शिशुका स्याहारसुसार, लालनपालन, पोषण एवं शिक्षा तालिममा देखिएको परिवर्तन हेर्दै ल्याउँदा, देख्दै जाँदा र भोग्दै आउँदा विश्वास गर्न गाह्रो हुन्छ। मेरो त्यो शिशु एवं बाल्यावस्थाका सम्झना यही जुनीको हो वा पूर्व जुनीको पो थियो कि!
म अस्पतालमा जन्मेको होइन। परम्परागत सुँडेनी बज्यै 'अजी'ले परालको थाङ्नोमा जन्माइदिएको मान्छे। उखुको खोस्टा मकलमा सल्काएर आगो सेकाउँदै तोरीको तेल मालिसको भरमा हुर्कनुपर्थ्याे। नातागोता र कुटुम्बहरूले पुरानोमा पुरानो र अति नै पुरानो कपडाका टालोहरूको 'इचा' उपहारले मेरो सबै 'डाइपर'को काम सम्पन्न भएको थियो। मेरी छोरी र छोरा जन्मेको २०३० र ०३२ सालसम्म पनि 'इचा' विस्थापित भएको थिएन, आधुनिक डाइपरले। उनीहरू अजीको सेवाबाट होइन, अस्पतालमै जन्मिए। त्यतिबेलाका आमाहरूले आफ्ना दुवै खुट्टा पसारेर आफ्ना दुईवटा पैतालाको बीचमा बच्चालाई राखेर आची गराउँदाको क्षण आमा र बच्चाको आँखा जुधाइमा कस्तो स्नेह सञ्चार हुँदो हो कल्पना गर्न सम्भव छैन। वर्तमानमा प्रयोग हुने शिशु कमोढमा त्यो शारीरिक स्वर्ग कहाँ पाउनु!
'जब पुग्यो एक, भुइँमा खुट्टा टेक' भन्दै मलाई तातेताते हिँडाउने औंलाहरू मेरा आमाबुबाको मात्र नभई सकल परिवार, छिमेक र सिंगो समुदायको हुने गर्थ्याे। त्यो लालन र लाडप्यारको क्षितिज आजभोलि सानो परिवारमा सीमित हुन थालेको छ। सामुदायिक बन्धन पनि फितलो र आपसी व्यस्तताको तटस्थ संस्कार विकसित हुँदै गएका कारण सामुदायिक लालनपालनमा ठूलो ह्रास देखिन थालेको छ। तसर्थ 'जब पुग्यो दुई, आ मेरो बुई' भन्ने जमात पनि आमा र बुबासम्म मात्र सीमित हुँदै गएको अवस्था छ। व्यस्त जीवनमा अस्वस्थ नेपालीहरू त 'डे केयर'को शरणमा जानुपर्ने बाध्यतामा छन्। सामुदायिक लाडप्यारको भागी बन्नलाई 'पार्टी प्यालेस' तथा तारे होटलमा निम्त्याइएका पाहुनाहरूबाट पाउने क्षणिक स्नेह र आर्थिक उपहारमा बन्दी खामहरूको गन्तीसँग संलग्न हुनुपर्ने अवस्था छ।
'जब पुग्यो पाँच, आँगनमा नाच' भन्ने उक्तिसँगै सकल परिवार र समुदायका थुप्रै सदस्य सामूहिक तालिकासाथ नाच्ने बाल्यावस्था अचेल टेलिभिजनको पर्दासँग नाच्ने र नचाउने परम्परामा हुर्कन थालेको छ। यो देख्दा कहिले फेरि जन्मेर टेलिभिजनसँग नाच्न मन लाग्छ, कहिले उहिलेकै 'ताला बाजी लईलई मामा आए घोला'मा अघाउन मन लाग्छ। विकास र परिवर्तन एक द्वन्द्व पनि त हो।
विकास र परिवर्तनका यी द्वन्द्व स्कुल, पाठशाला जाने उमेर विशेषतः प्राथमिक शिक्षाका कक्षाहरूमा अझ टड्कारो छ। स्लेटको कालोपाटीमा चक र खरीले कोर्ने सेतो अक्षर र अंकहरू अब ल्यापटपमा डिस्प्ले हुन्छ। डिजिटल प्रविधिसँग अभ्यास नहुने बालबालिका भोलिका अनपढ र गँवार वर्गमा दर्ता हुन्छन्। आजका हजुरबुबा र हजुरआमाहरू यसै पनि गँवार बनिसकेको अवस्था छ। मोबाइल र कम्प्युटरमा सुस्त वा अनभिज्ञ हिजोको पुर्खासँग आजका बालबालिकाको संवाद र सम्बन्ध प्रायः विच्छेद भइसक्यो। बाजेबज्यैको काख वा कुरा नाति–पनातिलाई ग्राह्य हुन छाडेको छ। लालनपालनमा पुस्तान्तरको खाडल दिन प्रतिदिन फराकिलो र गहिरो हुँदै गएको अवस्थामा भविष्यको आकार कोर्न सजिलो हुँदैन। त्यस अतिरिक्त विपन्न परिवारका श्रमिक बालबालिका र सम्पन्न परिवारका ल्यापटप बालबालिकामा सिर्जना हुन थालेको खाडलले भविष्यको विकराल स्वरूप संकेत गर्छ। लालनपालनको विषमतामा अल्भि्कएको वर्तमान पिँढीलाई मार्गदर्शनको खाँचो छ। यसका लागि गहन बहस र विचार विमर्शको आवश्यकता देखिन्छ।
विश्वव्यापीकरणको लप्कामा परेको वर्तमान समाजमा अन्तरपुस्तीय सम्बन्ध खण्डन हुने क्रम तीव्र बढ्न थालेको छ। छोराछोरी हुर्केपछि बाबुआमालाई पाल्ने र बाजेबज्यैलाई सेवा गर्ने भन्ने उहिलेका मान्यताले वर्तमानको लालनपालन निर्देशित गर्न मिल्दैन। लालनपालन एक प्राकृतिक चेत हो, सामाजिक दायित्व र पारिवारिक गौरव हो। आफ्ना सन्ततिलाई सक्षम, सबल र सुसंस्कृत बनाउने प्रयासमा दत्तचित्त हुनुपर्ने लालनपालनको मूल धर्म हो। यस कार्यमा नेपालले हासिल गरेका उपलब्धि उल्लेखनीय छन्। बाल मृत्युदर र मातृ मृत्युदर घटाउने काममा संयुक्त राष्ट्र संघको सहस्राब्दी लक्ष्य हासिल गर्ने कामले नेपाललाई विश्वकै अग्रपंक्तिमा पुर्‍याउन सफल भएको छ।
लालनपालनको अर्को पाटो वृद्धावस्थाको स्याहारसुसार पनि हो। वृद्ध अवस्था भनेको बाल्यावस्था र शिशु अवस्थाको पुनरावृत स्वरूप पनि हो। जब पुग्यो ६० छातीमा लाठ्ठी, जब पुग्यो ७० लत्तरी, जब पुग्यो ८० कुनामा बसी, जब पुग्यो ९० हब्बे न कब्बे र जब पुग्यो सय  यमराजको भय। यसप्रकार जेष्ठ नागरिक र वृद्धावस्थालाई जानेर/बुझेर आवश्यक व्यवस्था आफ्नै समाजमा सिर्जना गर्नुपर्ने स्थिति खडा भएको छ।
आफ्नै सन्तानमा आफैंले गरेको लगानीको प्रतिफलबाट वृद्धावस्थाको लालनपालन हुने समय र परिस्थिति झन्झन् परतिर धकेलिदिन्छ। विदेश पलायनमा युवाशक्तिको कहालीलाग्दो लर्कोले चुनौती झन् चर्कंदो छ। वृद्धावस्थाको लालनपालन सामाजिक दायित्व र राष्ट्रिय कर्तव्यको रूपमा परिभाषित गर्नुपर्ने बेला आएको छ। वृद्धवृद्धाको लालनपालनलाई सामाजिक प्रोत्साहन र उच्च आदर्शको विषय बनाउँदै वर्तमानको संक्रमणकालबाट एक आदर्श समाज सिर्जना गर्ने चेतना विकास गर्ने नागरिक अभियानको थालनीमा विलम्ब नगरौं। आफ्नो कोखबाट जन्मेका बालबालिकाको लालनपालन गर्नु नैसर्गिक स्वभावले अभिप्रेरित कर्तव्य हो। आफूलाई जन्माउने मातापिताको अशक्त वृद्धावस्थामा गर्नुपर्ने स्याहारसुसारलाई उच्च आदर्शको सामाजिक कर्तव्यको रूपमा स्थापित गर्नु यो समयको माग हो।

आयुमा जीवन थप्ने चाड

तिहारलाई हामी यमपञ्चक भन्छौं । कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनको यो पञ्चक पर्व काग तिहारबाट प्रारम्भ भएर कुकुर तिहार, गाई तिहार (लक्ष्मी पूजा), गोरु तिहार (...

लोक सेवाका गुरु

लोक सेवाका गुरु

चुडामणि शर्मा, शान्तराज सुवेदी र हरि बस्याल एक समय निकै चर्चामा थिए । शर्माले लोक सेवा परीक्षामा एकैपटकमा सात ठाउँबाट नाम निकाल्दा उनका साथी सुवेदी र बस्यालले पाँच–पाँच ठाउँबाट नाम...

'अझै कति गम्भीर भइदिनु मैले?'

'अझै कति गम्भीर भइदिनु मैले?'

नेपाल लिट्फेस्टमा शनिबार र आइतबार सहभागी हुने भारतीय लेखक शोभा डे त्यहीँको लेखक र मनोरञ्जन दुनियाँमा अक्सर छाइरहन्छिन्। उनीसँगकव इमेल वार्ता पढ्नुहोस्:

क्रिकेटर कविका सपना

क्रिकेटर कविका सपना

धुवाँको पनि धागो हुन्छ र? हुँदैन। फ्याट्टै जवाफ दिइहाल्नु कहिलेकाहीँ गलत हुन्छ। केहीबेर सोच्ने हो भने प्रश्नसँग सहमत हुने ठाउँ प्रशस्तै छन्। किनकि, निरज भट्टराईका हरेक कविताले सोच्न बाध्य गराउँछन्।

कठै खेलकुद!

कठै खेलकुद!

नेपालको खेलकुद इतिहासमा लोकतन्त्र स्थापनापछि नै सबैभन्दा बढी राजनीतीकरण मौलाएको छ। देशको झन्डा बोकेर मैदानमा ओर्लने खेलाडीलाई दलको झन्डा बोकाउँछन् नेताहरू।

टुटेको साहित्य जोड्दै

टुटेको साहित्य जोड्दै

बीसको दशकमा नेपाली सांगीतिक क्षेत्रका दुइटा अभियान–समूह निक्कै सक्रिय भए– राल्फा र लेकाली सांगीतिक समूह। राल्फालीहरू वामपन्थी धारमा रहेर क्रान्ति र विद्रोहका गीत गाउँथे, लेकाली विशुद्ध लोकजीवनका भाका र सुस्केरालाई...

कालु हमालको सपना

केरा बगैंचा। बगैंचाभित्र कटेज। आँगनमा लोकल कुखुरा। भुर्रभुर्र चरा। रूखमा टाँगिएका उखान तुक्का। डुंगा पोखरी। पौडी पोखरीहरू। बीचमा रेस्टुरेन्ट। क्याम्पिङ साइट। बीच भलिबल कोर्ट। छेउमा रानी कुलो। किनारमा बालुवा।

बिटल्सका फ्यान

बिटल्सका फ्यान

अफिसको भित्ताभरि अंग्रेजी रक ब्यान्ड 'बिटल्स'को पोस्टर छ। किशोर अवस्थादेखि नै यो ब्यान्डको 'डाई हार्ट फ्यान' हुनुको नातालाई उनले जीवित राखेका छन्। नाङ्लो बेकरीका सञ्चालक श्याम कक्षपति देखिन्छन् पनि– 'बिटल्स'का...