Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

नागरिक शनिबार

दशक ६० को सौन्दर्य

(0 votes)
दशक ६० को सौन्दर्य
काठमाडौं– मदन पुरस्कार विजेता राजन मुकारुङलाई जुनसुकै साहित्य–सभा सम्मेलनमा गए पनि एकैनासका विषय सोधिँदोरहेछ– आञ्चलिक लेखन, सीमान्तकृत लेखन र साँस्कृतिक पहिचान।

नागरिकले पनि उनीसँग यस्तै यस्तै प्रश्न के राखेको थियो, उनी त सोझै पड्किइहाले। ‘तपाईंहरू हामीलाई किन सधैं यस्ता प्रश्नमात्रै सोध्नुहुन्छ?,' उनले आक्रोश व्यक्त गरे, ‘के हामी मूलधारे साहित्यकारजस्तो देखिँदैनौं? के हामी अरु प्रश्नका लागि योग्य छैनौं?'
पछि थुम्थुम्याए, ‘हामी पनि यो देशको मूलधार हौं। पहिले अरुले स्वीकार्न मानेनन् होला, तर अब मूलधार भइसक्यौं।'
मुकारुङ एक प्रतिनिधि पात्र हुन्। नेपाली साहित्यमा साठीको दशकभरि यस्ता विचार राख्नेहरूको जगजगी स्थापित भयो। उनीहरूले साँस्कृतिक लेखनको मौलो गाडे। चिन्तन र सम्बन्धको सीमित घेराभन्दा बाहिर नजाने भनी आलोचित हुँदै आएको मदन पुरस्कार–२०६९ समेत यिनै मुकारुङले पाए। व्याकुल माइला नयाँ राष्ट्रगानका रचयिता छानिए। यी दुई उदाहरण वैकल्पिक ध्रुववाला लेखनको सामाजिक स्वीकृतिका परिचायक मात्रै थिएनन्, उत्कर्ष पनि थिए। समालोचक अभि सुवेदीका अनुसार भारत र अरु देशमा समेत आइनसकेको यस्तो अभूतपूर्व साँस्कृतिक जागरण अन्ततः ‘मूलधारे' लाई पनि स्वीकार्न करै लाग्यो।
अस्तिसम्म अदृश्य मानवझैं लाग्ने यस्ता लेखकहरू आज साहित्य र विचारको सत्तासँग आँखा त जुधाउँछन् नै, ‘केही सिकाइदिने' हिसाबकिताबले पनि कुरा गर्छन्।
५० को दशकको सुरुवातमा ‘सिर्जनशील अराजकता' नामक साहित्यिक अभियान छेड्ने तीन अभियन्तामध्ये एक मुकारुङ दाबी गर्छन्– हामीभन्दा पहिले पनि साँस्कृतिक लेखनको परम्परा थियो। ५० को दशकदेखि आक्रामक ढंगले अघि बढ्यौं। राजनीतिले हामीलाई पछ्यायो।
गणतन्त्र आयो। संघीयताको मुद्दा उठ्यो। कसैले त जातीय स्वायत्तता र आत्मनिर्णय अधिकारसमेत भने। यी सबै विषय ‘पहिचान' को मुद्दा भएर सरकार, संविधानसभा र सडकमा प्रवेश गरे। दुवै संविधानसभा चुनावमा यस्ता मुद्दाले सर्वाधिक महत्वपूर्ण ढंगले प्रवेश पाए। आलोचना र समर्थन दुवै भयो। जेहोस्, साँस्कृतिक विषयको आवाज ‘हाइ डेसिबल' को थियो।
राजनीतिक दलहरुले आवाज उठाउनुअघि नै लेखकहरुले लेखेको भन्ने मुकारुङको दाबीमा कताकति सत्यता छ। तर्क अनेक हुन सक्छन्। लेखक सिके लाल भन्छन्, ‘यो त अण्डा पहिले कि चल्ला भनेजस्तो भयो। साहित्य समाजको ऐना हो भन्ने तर्क मान्ने हो भने लेखक जतिसुकै कल्पनाशील भए पनि समाजको चेतनाभन्दा केही परसम्म जाला, तर धेरै परसम्म पुग्न सक्दैन।'
बहस जारी छ। ‘दशक–७०' को सुरुवातमा नागरिकले अघिल्लो दशकको साहित्यिक परम्पराको मूल हाँगोलाई आँखीझ्यालबाट चिहाउने प्रयास गरेको छ। 
... 
सत्तालाई सुनाउँदै
रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती' होस् या वैरागी काइँलाका कविता। भवानी भिक्षु, खगेन्द्र संग्रौला, अभि सुवेदीका कथा, निबन्ध हुन् या ध्रुवचन्द्र गौतम, नयनराज पाण्डेका उपन्यास। लीलबहादुर क्षेत्री, इन्द्रबहादर राई, सनत रेग्मीदेखि ‘बिलाउँदै गएको गीत' का गणेश रसिकसम्म साँस्कृतिक रचनाको लहरमा सशक्त छन्। स्थानीय लवज घुसाएर दैनन्दिन जीवनमाथि लेख्ने एकातिर छन्, बोलीसँगै तिख्खर वैकल्पिक चेतना लेख्ने अर्कातिर छन्। कसैले मुखर अभिव्यक्ति लेखेका छन्, कसैले अवचेतनामा प्रकट गरेका छन्।
पहिलोखाले लेखकहरूमा राजनीतिक सोच प्रकट रुपमा आउँदैन। उनीहरू आञ्चलिक स्वर दिनुमै चित्त बुझाउँछन्। दोस्रो खालेमा वामपन्थी र जनजाति लेखक बढी पर्छन्। औंलामा गन्न सकिने मधेसी पनि छन्। तिनका लेखनमा आञ्चलिक शैलीमात्रै झल्किँदैन, पुराना मान्यतामाथि निरन्तर प्रहारको आग्रह पनि देखिन्छ। परम्पराको बाटो छाडेर नयाँ भाषा खोजिरहेका यी लेखक दुवै खाले विमर्शमा सरिक छन्। तिनका रचनालाई साँस्कृतिक लेखन भनेर समेट्न खोजिएको हो। 
मिथिला संस्कृति पक्रेर लेख्ने राजेन्द्र विमल, रमेशरञ्जन झा, श्यामसुन्दर शशि, रोशन जनकपुरी, धिरेन्द्र प्रेमर्षि, रामभरोस कापडी भ्रमर, रामदयाल राकेशदेखि मध्यपश्चिम नेपालको आञ्चलिक स्वर खोज्ने ‘कर्नाली ब्लुज' का बुद्धिसागरसम्म साँस्कृतिक लेखनको यस धारामा पर्छन्। अर्को ध्रुवमा ‘उर्गेनको घोडा' का युग पाठक, ‘बिसे नगर्चीको बयान' का कवि तथा ‘यलम्बर' का नाटककार श्रवण मुकारुङ, ‘सुम्निमाको तस्बिर' का भूपाल राईलगायत पर्छन्। कुनै बेला धुँस्वा साय्मी र उनको पुस्ताले लेखेको नेपाल भाषाको बिँडो थाम्ने युवा लेखकहरू पनि थपिँदैछन्। ‘बहुरंगवादी धारा'का धर्मेन्द्रविक्रम नेम्वाङ, स्वप्निल स्मृतिदेखि ‘उत्तरवर्ती सोच'का सगुन सुसारा, राज माङलाक, थाम्सुहाङ पुष्प यही समयका लेखक हुन्। जसले स्थापित शक्ति र सत्तामाथि अपनत्व र अधिकारको दाबी गरेर साहित्य लेखे।
कसैले भन्लान्, खस बाह्मण संस्कृतिको सन्दर्भ चाहिँ यो लेखनभित्र पर्छ कि पर्दैन? सामान्यतयाः त्यो पहिलेदेखि नै स्थापित भएको र चल्तीको राज्यसत्ताले समेत त्यसलाई आत्मसात् गरेको हुनाले त्यसको चर्चा आजका मितिसम्म पर्याप्त भइसकेको छ। वैकल्पिक धारको लेखन, जनजातीय जिब्रोको लवज, उनीहरूको चालचलन र चेतनालाई लेखनमा प्रतिविम्बित गर्ने प्रयासलाई यहाँ साँस्कृतिक लेखन भनी खुट्याउनेहरु ६० को दशकभरि हाबी बने। तिनकै पुस्तक बढी बिके। पाठकदेखि पुरस्कारसम्म तिनले लगे। साराको ध्यान तान्नेगरी वास्तवमा तिनले त्यस्तो के नयाँ लेखे त? 
‘हाम्रोबारेमा पहिले पनि नलेखिएका होइनन्, हामीले कुनै नयाँ काम गर्यौंख भनेको होइन,' अर्का ‘सिर्जनशील अराजकतावादी' कवि उपेन्द्र सुब्बा भन्छन्, ‘तर अरुले लेखिदिएका हामी र वास्तविक हामीबीच अनुहार, बोली, ढाँचा केही मिलेन, हाम्रो समुदायका समस्या हामीलाई जति उनीहरूलाई थाहा थिएन।'
सुब्बा तर्क तप्छन्, ‘जुत्ताले कहाँनेर दुखाएको छ भन्ने त लगाउने खुट्टालाई मात्रै थाहा हुन्छ।'
लेखक खगेन्द्र संग्रौलाका विचारमा अघिपछि थुप्रै विचार आए पनि पचासको दसकको बीचतिर सुरु ‘सिर्जनशील अराजकता' ले सिमान्त आवाजलाई साहित्यिक विमर्शको केन्द्रमा ल्याइदियो। लेखनको तहमा भने पहिलो पटक सबैभन्दा सशक्त लेखकका रुपमा वैरागी काइँला आएको उनी बताउँछन्। ‘उनले ३० को दशकमै लेखेको कविता ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सटकसित' साँस्कृतिक चेतनाको पहिलो घोषणापत्र थियो,' संग्रौला भन्छन्, ‘श्रवण मुकारुङको बिसे नगर्चीको बयान पछिल्लो घोषणापत्र।'
पछिल्लो छिमलका स्वप्निल स्मृति, राबत, चन्द्रवीर तुम्वापोलगायत कविमा एकसेएक साँस्कृतिक सिर्जनाको क्षमता देखाइसकेको भन्दै उनी खुसी व्यक्त गर्छन्। ‘अरु समुदायका पाठकमा समेत यी कविको प्रभाव पर्दैछ, विभिन्न जिल्लाहरू जाँदा मैले देख्ने गरेको छु,' संग्रौला भन्छन्।
समालोचक अभि सुवेदी सुवेदीका भनाइमा काठमाडौं बाहिरबाट आएको यो चेतना अब सत्तापक्षले नमानी धरै छैन। ‘पहिले साम्प्रदायिक, जातिवादी जे भने पनि अब मानिसहरूले स्वीकार्न थालेका छन्,' सुवेदी भन्छन्, ‘हामीजस्ता पहिले खासै कुनै समस्या नभोेगेकाले खासै लेखेनौं, अहिले उनीहरू जोडदार रुपमा लेख्दैछन्।' 
मानवशास्त्री डोरबहादुर विष्टको चर्चित पुस्तक ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट'ले सामाजिक संरचनामा रहेको बाहुनवादी भाग्यवादी संस्कारले नेपाली समाज पछि परेको निष्कर्ष दिएको थियो। पहिलो चरणको साँस्कृतिक लेखन जगाउन यो पुस्तक उत्प्रेरक रह्यो। दोस्रो चरणचाहिँ राजनीतिक आन्दोलनमार्फत् साँस्कृतिक लेखनले पाएको स्वीकृति। प्राध्यापक सुवेदीका अनुसार पछिल्लो आन्दोलन जनताकेन्द्रित थियो, त्यसैले सत्ता र आसपासमा बस्नेहरूमा यी लेखनले अघि सारेका मुद्दा अब स्वीकार नगरी हुँदैन भन्ने चेतना आयो।
तर साँस्कृतिक लेखनले बेहोरेको खप्कीको कथा पनि धेरै पुरानो छैन। 

जातिवादको आरोप!

किरात एकेडेमीका अध्यक्ष भूपाल राईका अनुसार उनी चालिसको दशकको सुरुतिर राजधानीको साहित्य गोष्ठी धाउँदा समकालीन कविहरू परैबाट धारेहात लगाउँथे। भन्थे, ‘उः जातिवादी कवि आयो।'
‘आफ्ना साँस्कृतिक विषयले साम्प्रदायिक आरोप खेप्दा नमज्जा लाग्थ्यो, तर लेखिरहें,' यी कवि/गीतकार भन्छन्, ‘नेपाली लेखनको मूल चेतना यही हो भन्ने त्यस बेला पनि लाग्थ्यो।'
कालान्तरमा मूल चेतना भयो पनि।
राईको अध्यक्षतामा खुलेको किरात एकेडेमीको उद्देश्य नै किरातहरूको साँस्कृतिक प्राज्ञिक विकासका लागि काम गर्ने भन्ने छ। यसले नियमित रुपमा साँस्कृतिक विमर्शहरू आयोजना गर्छ। वर्षैपिच्छे किरात एकेडेमी पुरस्कार प्रदान गर्छ। रोचक कुरा, दुई वर्षअघि सुरु भएको यो पुरस्कार पाउने लेखक दुवै गैरकिरात छन्– युग पाठक र झलक सुवेदी। ‘हामी साँस्कृतिक मुद्दा उठाउँछौं, तर जातमा खुम्चेर बस्दैनौं,' राई भन्छन्, ‘अहिले किराती सौन्दर्यशास्त्रमाथि काम गर्दैछौं।' काठमाडौंमा खुलेका तीनवटा एकेडेमीले सबैखाले आवश्यकतालाई नसमेटेकाले किरात एकेडेमी चाहिएको उनी दाबी गर्छन्।
साँस्कृतिक लेखनको यो चेतना सुरु गर्ने नेपाल पहिलो देश होइन। वेल्सका समालोचक रेमन्ड विलियम्स, जमैकामा जन्मेका बेलायतवासी स्टुअर्ट हललगायतले १९६० र ७० को दशकमा उठाएको साँस्कृतिक अध्ययनका धेरै आयाम छन्। मूलतः संरचनाले पाखा पारेका वर्ग, लिंग र समुदायको मुक्ति अभियानलाई सघाउने उद्देश्यपूर्ण लेखन युरोपको साँस्कृतिक लेखन थियो। नेपालमा जनजाति, सीमान्तकृत समुदायले लेखिरहेको साहित्यलाई त्यही कडीसँग जोड्न सकिन्छ। उनीहरूको सिर्जना लेखनमा सीमित छैन। त्यो समालोचना र ‘एक्टिभिज्म' तिर फैलिन थालेको छ। कसैले त्यसलाई सकारात्मक रुपमा अर्थ्याउँछन्, कसैले अतिवाद भनी आरोप लगाउँछन्। 
विश्वेश्वरप्रसाद कोइरालाले सुन्दरीजल जेल बस्दा लेखेको सुम्निमा उपन्यासका पात्र र परिवेश बताउने मूल स्रोत अर्का बन्दी दीवानसिंह राई थिए भन्ने जानकारी विभिन्न पुस्तकमा पढ्न पाइन्छ। किरातको वास्तविक मर्मलाई तोडमोड गरी ‘सुम्निमा' उपन्यास लेखिएको जनजातिको आरोप थियो। किराती सभ्यताको इतिहास नबुझी लेख्नेहुँदा बीपी थुप्रै सन्दर्भमा चिप्लिएको जनजाति लेखकहरूको जिकिर थियो। स्मरणीय छ, सुम्निमा पढेपछि २०५१ सालमा विराटनगरमा राई लिम्बुलगायत केही जनजाति समुदायका मानिसहरूले यसका प्रति जलाइदिएका थिए। माइकल हटका अनुसार केही मानिसहरूले सुम्निमालाई राजनीतिक रुपमा प्रभुत्वशाली बाहुन समुदायले जनजाति समुदायको संस्कृतिको अपमान गर्न तयार गरेको कृतिका रुपमा लिए। ‘त्यसैले उनीहरूले आफ्नो समुदायको उपेक्षा गर्ने र आफ्नो संस्कृतिको अपमान गर्ने किताब भन्दै सार्वजनिक रुपमा जलाए,' हटले लेखेका छन्।
अघिल्लो वर्ष अमर न्यौपानेको उपन्यास सेतो धरती पनि यसैगरी जलेको थियो। कसैकसैले पुस्तक जलाउनुलाई अपराध माने भने जातीय संवेदनालाई असर पुर्याैउने गरी लेख्ने छुट लेखकलाई नहुने भन्दै त्यसको प्रतिरक्षा गर्नेहरूसमेत भेटिए। आञ्चलिक स्वर पछ्याउँदै लेखेका अमर न्यौपानले अर्को संस्करणमा त त्यस्ता अंश सच्याए पनि। वैकल्पिक स्वर बलियो बन्दैछ भन्ने तर्कका लागि यही एउटा उदाहरण काफी छ। लेखकले मन लाग्यो भन्दैमा जे पायो त्यही लेखेर अर्को समुदायको संवेदनामा असर पार्न नहुने भन्ने आवाज एकातिर छ। अर्कातिर सिर्जनात्मक लेखनमा लाग्नेले को–को सँग डराएर, जोगिएर लेख्नुपर्ने हो भनी प्रश्न उठाउनेहरू पनि छन्।
प्राध्यापक रामावतार यादव ‘सुम्निमा' जे जस्तो कारणले जलेको भए पनि निन्दनीय भएको तर्क गर्छन्। तर त्यही चेतना मधेसी समुदायमा हुन्थ्यो भने ध्रुवचन्द्र गौतमको ‘अलिखित' को हाल के हुन्थ्यो भनी प्रश्न पनि गर्छन्। साहित्यमा ‘अरु' बाट प्रस्तुत गरिएका मधेसी अपमानित ढंगमा चित्रित भएको उनको जिकिर छ। 
‘मधेसको चित्रण गर्दा ध्रुवचन्द्र गौतम ‘पोलिटिकल्ली करेक्ट' छैनन्। उनको मधेस वर्णन पढ्दा चित्त दुख्छ,' उनले ‘मधेसी हुँदा' शीर्षकको एक लेखमा लेखेका छन्, ‘यसले हाम्रो समुदायलाई लज्जित र क्रुद्ध पार्न सक्छ।'
रामावतार यादवको यो भनाइबाट सीमान्तकृत जाति र समुदायमा आफूबारे लेखिएका रचनाहरूको पुनर्पठन गर्ने क्रम बढेको संकेत गर्छन्। साँस्कृतिक चेतना फेलिँदै गरेको संकेत यस्ता अनेक विचारहरूले झल्काइरहेका छन्। लेखक एक्लै सर्वेसर्वा होइन भन्ने आलोचनात्मक धारणा निर्माण हुनुमा पनि वैकल्पिक साँस्कृतिक धारका लेखकले योगदान दिइरहेका छन्। 

पूर्व एक नम्बर
तर, पूर्वमा साँस्कृतिक चेतना र लेखनको लहर जुन अनुपातमा छ, अन्यत्र भने कम छ। लेखक सीके लालका अनुसार मधेसमा नेपाली भाषामा मात्रै लेखक घटेका छैनन्, स्वयं मातृभाषामा कलम चलाउने पनि घटेका छन्। ‘मधेसी समुदायका लागि अहिले राजनीति नै प्राथमिक देखिन्छ,' उनी भन्छन्, ‘राजनीतिक उन्मुक्ति नपाउन्जेल यस्तो क्रम चलि नै रहन्छ।' 
सिके लालका अनुसार मधेसमा मातृभाषा संकटापन्न हुनु स्वभाविक छ। ‘अहिले प्राज्ञिक क्षेत्रमा अंग्रेजी, राज्यमा नेपाली, बजारमा हिन्दी, पूजाकोठामा संस्कृतको बोलवाला छ,' लाल अर्थ्याउँछन्, ‘मैथिली र अन्य स्थानीय भाषाका लागि घरका कोठाचोटामात्रै बचेका छन्।'
आउने पुस्तालाई स्थानीय भाषाप्रति कसरी बानी लगाउने? अबको एक दशकपछि नै चुनौती आउने लाल बताउँछन्। 
लेखक धिरेन्द्र प्रेमर्षिका भनाइमा तराई मधेसमा मैथिली भाषामा सकारात्मक काम थुप्रै भएका छन्, तर पहाडका अन्य जाति र समुदायका लेखकमा आएको जागरण त्यहाँ आउन बाँकी नै छ। ‘जातिवादी भनेर उडाउने ‘मूलधार' वालाहरूले हाम्रा रचनाहरू स्वीकार्न थालेका छन्,' उनी भन्छन्, ‘यस्ता विषयमा लेखिएका पुस्तकको बिक्री बढ्नु, पुरस्कृत हुन थाल्नु नै यसको प्रमाण हो।' 
अनुसन्धानकर्ता अनुभव अजित मधेसबाट साहित्य सिर्जनाको मात्रा बढेको भए पनि स्तरीय कृतिको अभाव रहेको बताउँछन्। ‘मधेसको वास्तविक चित्रण गरेर लेखिएका प्रभावशाली कृतिको नाम लिँदा औंलाका गिर्खा भरिन्नन्,' उनी सकार्छन्, ‘पहाडी समुदायका कतिपय लेखकले लेखेका कृतिमा मधेसीलाई होच्याउने काममात्रै गरिएको छ। उपहासको पात्र बनाइएको छ। यो साँस्कृतिक लेखन होइन।'
मैथिली र अवधीजस्ता ठूलो जनसंख्याले बोल्ने भाषामा साहित्यको कमी देखिए पनि थारु, तामाङ जस्ता विषयमा भने धमाधम काम भइरहेका छन्। कृष्णराज सर्वहारीका अनुसार थारु भाषाका विभिन्न विधामा १ सय ३९ थान पुस्तक पुस्तिका, ७७ थारु पत्रिका, ९ स्मारिका, १४ अखबार छापिएका छन्। नयाँ पत्रिका खुल्ने लहर छ। ‘थारुमात्रै होइन, अन्य मातृभाषीका अगुवाहरूले पनि मनन गर्नुपर्छ,' सर्वहारी भन्छन्, ‘भाषा हराए संस्कृति हराउँछ। संस्कृति हराए जाति हराउँछ।'
अरु जातिको तुलनामा पूर्वका लेखक किन अगाडि गए त? राजन मुकारुङ र उपेन्द्र सुब्बा एक स्वरमा भन्छन्, ‘हामीलाई संकटका दिनहरुमा आर्थिक र मनोवैज्ञानिक दुवै हिसाबले सघाए, लाहुरेहरुले।'
त्यसो त सरकारी दैनिक गोरखापत्रले मातृभाषाका लागि नियमित दुई पृष्ठ छुट्याउन थालेको गरेको छ। नेपाल टिभी, रेडियो नेपालहरूमा भाषा वाङमयका लागि पहिलेदेखि नै समय छुट्टिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले ‘सयपत्री' नामक मातृभाषाको पत्रिका प्रकाशन गर्छ। 
जनजाति समुदायका लेखकले ‘सचेततापूर्वक' उठाएका मुद्दालाई जातिवादी भनी आलोचना गर्ने लेखकको संख्या सानो छैन। पछिल्लो समयमा राजनीतिले समेत उनीहरूका विषय उठाइदिएका हुँदा विरोधी लेखकहरू खुलेर आलोचना गर्न चाहँदैनन्। तर उनीहरूका असन्तुष्टिहरू भने कताकति गुम्सिएका छन्। प्राध्यापक सुवेदीका अनुसार पहिले यस्ता कुरा सुन्नै नचाहने बाहुनक्षेत्रीसमेत जनजातिको पक्षमा बोल्न थालेका छन्। 
‘यो नै परिवर्तन हो, पहिले उहाँहरूको कोलाहलबीच हाम्रो त स्वरसम्म पनि सुनिँदैनथ्यो,' मुकारुङ भन्छन्, ‘अहिले कम्तीमा गुनासो गर्ने स्पेस त बाँकी छ। तर हामीले पहिले तपाईंहरूको पालो, अब हाम्रो पालो भनेका छैनौं। सबैको समान हैसियत हुनुपर्छ भन्ने दाबीमात्रै गरेका छौं।'
मुकारुङले यसो भने पनि उनी, उपेन्द्र सुब्बा र हाङयुग अज्ञातको नेतृत्वमा डेढ दशक चलेको ‘सिर्जनशील अराजकता' मा अराजकताको पाटो नै हाबी रहेको तथ्य सायद उनीहरू स्वयं पनि नकार्दैनन्। किनकि, तिनका पाँच एजेन्डामध्ये एउटा थियो– नश्लीय चेत।
‘यो आफ्नो मात्रै नश्ल उच्च हो, अरु तुच्छ हुन् भन्ने अमानवीय चिन्तन हो,' वैकल्पिक संस्कृतिकै पक्षमा केही वर्षअघि उपन्यास लेखेका एक युवा लेखक भन्छन्, ‘सुन्दा बडो प्रगतिशील सुनिए पनि खासमा त्यस्तो लेखनले झन् पुरानो समाजतिर फर्काउने कुरा गर्छ।'
संग्रौला भने त्यसमा असहमति दर्शाउँछन्। ‘उनीहरूले उठाएको ‘नश्लीयबोध' शब्द सुन्दा अतिवादी लागे पनि आफ्नो नश्लको पहिचान र सामाजिक समानताको आशय त्यसमा निहित थियो,' संग्रौला भन्छन्, ‘यही अभियानको प्रेरणाले देशभरि थुप्रै लेखक जन्मिए।' साँस्कृतिक जरामा फर्कने कुरा सकारात्मक भए पनि अहिलेको पुस्तामा भइरहेको साँस्कृतिक रुपान्तरणको पक्ष बिर्सन नमिल्ने बताउँछन् कवि विप्लव ढकाल। 
राजनका अनुसार वैकल्पिक संस्कृतिका पक्षधर लेखकमा दुईखाले ध्रुव छन्। एकखाले लेखक स्वत्व र पहिचानको मुद्दालाई लेखनबाट व्यक्त गर्न चाहन्छन्। अर्काथरि चाहिँ राजनीतिक रुपमै हस्तक्षेप गर्नुपर्छ भन्ने विचार राख्छन्। आफूहरू पनि यिनै चिन्तनबीच रहेको उनको विचार छ। ‘हामी पहिले अलि कट्टर र जड कुरा गथ्यौं त्यसले कतिपय पाठकलाई पनि उल्टो कट्टर बनाइदियो,' सात वर्षअघि ‘हेत्छाकुप्पा' उपन्यासका कारण विवादित उनी भन्छन्, ‘समयसँग लचकदार हुँदै गयौं। पाठकसँग समन्वय खोज्यौं।'
सके उनको ‘दमिनी भीर' त्यही लचकताको परिणाम हुँदो हो।

कमजोर समालोचना?
वैकल्पिक साँस्कृतिक लेखनको यो क्षेत्रका सिर्जनाको तहमा समालोचना विकसित हुन नसकेको प्रायः सबै लेखकहरू बताउँछन्। आख्यानदेखि कविता, निबन्धदेखि नाटकसम्म एकसेएक उत्कृष्ट कृति लेखिए पनि समालोचकीय चस्मा पुरानै फ्रेममा रहिँदिँदा समस्या उत्पन्न भएको उनीहरूको आरोप छ। ‘हामीले हाम्रो संस्कृतिको कुरामात्रै लेखेका थियौं। मिथक, इतिहास, परम्पराको पुनर्खोजमात्रै थियो त्यो,' उपेन्द्र सुब्बा भन्छन्, ‘तर समालोचकहरू चाहिँ हामीभित्र उत्तरआधुनिकतावाद पो खोजिहिँड्न थाले।'
समालोचक गोविन्दराज भट्टराई भने लेखनमा आउने सबै नयाँ चेतना उत्तरआधुनिकतावादी नै हुने जिकिर गर्छन्। ‘उहाँहरूले मिथक, परम्परा, इतिहासको पुनर्लेखन गर्नुभयो, तर चेतना त नयाँ थियो नि,' उनी प्रष्ट्याउँछन्, ‘स्थानीय रंगको कुरा गर्नुभएको छ, यो सबै उत्तरआधुनिकतावादी विशेषता हो।' 
लेखकहरूले समालोचकहरूको स्तर नपुगेको भनी आरोपे झैं समालोचकहरू पनि सोही आरोप लेखकलाई लगाउँछन्। अहिले लेखनमा नयाँ वर्ग जन्मिँदै गरेको तर्क गर्छन् एक समालोचक। ‘धेरै छुच्चो भएर टिप्पणी गर्नु ठिक हुन्न, तर सत्य बोल्दा उनीहरूको लेखनको स्तर खासै उच्च देखिँदैन,' ती समालोचक भन्छन्। प्राध्यापक भट्टराईको विचारमा भने वर्षौंदेखि लेख्ने लेखाउने गरेकाको घेरा तोड्दै जन्मेको यो नयाँ समूह राजनीतिक, जातीय र साँस्कृतिक चेतनाले रंगिएको छ। ‘लेखन कमजोर होला, तर उद्देश्यपूर्ण देखिन्छ,' उनी भन्छन्। 
साँस्कृतिक संवाहकहरू पनि आफ्ना छिमलको लेखन सोचेजस्तो गतिलो नभएको सकार्छन्। ‘अरुभन्दा पृथक देखिने नाममा सिर्जनात्मक पक्षमा बेवास्ता गर्ने प्रवृत्ति बढेको छ,' राजन मुकारुङ बताउँछन्। 

ऐनामा आफ्नै अनुहार
समालोचकलाई धारे हात लगाए पनि लेखकको स्तरमाथि पनि प्रश्न भने उठिरहेकै छन्। हाम्रो जति सबै राम्रो भन्ने मान्यताले साँस्कृतिक चेतनाका लेखकहरुलाई खान थालेको बताउने लेखक त्यही वृत्तमा छन्। ‘हाम्रै पनि कतिपय रचना नाराजस्ता लाग्छन्,' मुकारुङ भन्छन्, ‘मिथक र परम्परा खोज्ने काम राम्रो हो। तर मिथकका नाममा चलेका कतिपय अन्धविश्वासले हामीलाई कहाँनेर अल्झाए भन्ने पनि याद गर्न सक्नुपर्छ।' साँस्कृतिक पहिचान जनाउने कतिपय विम्ब आक्रामक खालका भएकाले केही बिग्रेको उनी सकार्छन्। रचनाहरुमा उग्रवादी चेतना मिसाउनेहरुको संख्या घट्दैगएको, तिनको ठाउँमा सहअस्तित्वमा आधारित समाजको आह्वान गर्नेहरुको मत बलियो हुँदै गएको एक युवाकवि बताउँछन्।
५० को दशकबाट सुरु भएको साँस्कृतिक चेतनाको स्वर दशक ६० मा माथिमाथिसम्म उचाइ लियो। विक्रमको ७० दशक सुरु भइसकेको छ। के उनीहरुको आवाज र सिर्जना यही रुपमा रहिरहला? राजनीतिले यो आवाज बोकिरहला? वा नयाँ चेतनाको अध्याय सुरु होला? यो जिज्ञासा भने समयको क्यालेन्डरमा झुन्डिरहेको छ।

भक्ति गीतदेखि अन्डरग्राउन्डसम्म

कला–संस्कृतिको धनी उपत्यकाको सांगीतिक इतिहास कोट्याउने हो भने लिच्छवीकालसम्म पुग्नुपर्ने हुन्छ। लिखित ऐतिहासिक सामग्री पाइने लिच्छवीकालमा लेखिएका गीतहरूबारे प्रामाणिक आधार त छैनन् तर अभिलेखमा कुँदिएका भगवान स्तुति र नाचगानका दृश्यले...

सास्ती र सुस्तीको घर

काठमाडौं– बिरामी लिएर अस्पताल पुग्ने आफैं बिरामी भएर फर्कन्छन्, उपचारको पालो कुर्दाकुर्दै कति बिरामीको मृत्यु हुन्छ। भनसुन गराउन सके शऒ्ढया पाइन्छ, नसके निजी अस्पतालको रेफर लिएर फर्कनुपर्छ।

हात्तीमय सौराहा

हात्तीमय सौराहा

सौराहा र हात्ती एक अर्काका परिपुरक हुन्। चितवनको सौराहा आउनेहरू हात्ती चढ्छन्, जंगल घुम्छन्। जंगलमा पाइने दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा हेर्न हात्तीमाथि नचढी सुखै छैन। सौराहाको मुख्य आकर्षण हात्ती सफारी...

हराउँदै छ भजन

हराउँदै छ भजन

काठमाडौं- भक्तपुर च्याखाप्याखुका ८५ वर्षीय नारायणभक्त कायपाखु भजनमा भिज्न थालेको आठ दशक भइसक्यो। सानोमा बाजेको काखमा बसेर कृष्णपाटीमा पहिलोपटक भजन सुन्न आएको उनलाई अझै याद छ। मंगलबार साँझ कृष्णपाटीमै भजन...

'नेगेटिभ' हजुरबा,  'डिजिटल' नातिनी

'नेगेटिभ' हजुरबा, 'डिजिटल' नातिनी

न्युरोड पिपलबोटसँगैको फोटो कन्सर्न ५४ वर्षको भयो। यसका संस्थापक डिबी थापा ८० पुगे । दुई वर्षदेखि कम्पनीको नेतृत्वमा छिन्, उनकी नातिनी सिर्जना थापा, जो ३५ वर्ष भइन्। कर्मचारीहरू भन्छन्, 'सिर्जनाको...

देश चिनाउने खेलहरु

देश चिनाउने खेलहरु

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी पदक मार्सल आर्टसबाट प्राप्त गरेको छ। घरेलु मैदानमा आठौं दक्षिण एसियाली खेलकुद हुँदा नेपालले तेक्वान्दो र करातेबाट मात्र १४–१४ स्वर्ण पदक जित्यो।

लटरम्म लप्सी

गएको मंगलबार। पुसको बिहानी धुम्म हुस्सु लागेकाले मौसम चिसिएको थियो। वरिपरि पहाड र डाँडाले घेरिएको गोदावरीमा सूर्यका चिसा किरण आइपुगे। जंगलै जंगल भएको गोदावरीमा चराहरू चिर्बिराउँदै थिए। वातावारण मनमोहक थियो।

पहिले खोजीखोजी अहिले रोजीरोजी

पहिले खोजीखोजी अहिले रोजीरोजी

‘ओई मनसरा, पल्लाघरे लाहुरे आउँदैछन् रे यसपालि!'‘आई हो र? कहिले?'‘दसैंमा। घरजम गरेर मात्र फर्कने रे!'‘अनि पारिगाउँले लाहुरे पनि आऊला नि त? तँलाई मागेको छ रे होइन?'‘बढी बोल्छेस्? अहिले फेरि ...!'