Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

नागरिक शनिबार

चिन्तन कि गन्थन

  • २९ चैत्र, २०७०
  • शार्दूल भट्टराई
  • DISQUS_COMMENTS
(0 votes)
लेखकले आफ्ना सिर्जनालाई समाजले हेरिदेओस् भन्ने कि आफूले चाहिँ समाजलाई हेर्ने? कुन लेखकको दृष्टिकोण के हो भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ। लेखकका कुनै पनि रचनाको प्रभाव र टिकाउपन कति छ भन्ने कुरा पनि यसैबाट सुरु हुन्छ, जुन कुरा लेखकको विचार र चिन्तनसँग पनि जोडिएको छ। 


२२ वर्षअघि समालोचक यदुनाथ खनालले 'नेपाली साहित्यमा चिन्तनको बटुलबाटुल' सम्बन्धमा एउटा लेख लेखेका थिए। 'समकालीन साहित्य' को तेस्रो अंकमा प्रकाशित लेखमा नेपाली साहित्यको चिन्तनपरक विशेषताबारे विश्लेषण गर्दै उनले लेखेका थिए, 'केही आधुनिक फितला कृति पढ्दा, केही फितला साहित्यिक गतिविधि हेर्दा र केही साहित्यिक प्रवर्तकका उपदेश सुन्दा कहिलेकाहीँ निरुत्साहितको भावना नआउने पनि होइन। तर वास्तवमा यस्ता कृति र उपदेशहरू उत्कृष्ट नभनौं प्रतिनिधि खालका समेत ठहर्दैनन्। यी गतिविधि र उपदेशलाई उल्झनमात्र सिद्ध गर्दै साहित्य सालाखालामा अघि बढिरहेकै प्रमाणित हुन्छ।' समालोचक खनालको यो लेख अहिले पनि असान्दर्भिक लाग्दैन। नेपाली साहित्यका अन्य विधामा झैं निबन्धमा पनि उक्त अभिव्यक्तिको सान्दर्भिकता अझै बढेको अनुभव हुन्छ। 
यतिबेला निबन्ध लेखनको सक्रियता निकै बढेको छ। उपन्यासजस्तै निबन्धमा पनि एक खालको लहर चलेको छ। निबन्धलाई यसअघि आफ्नो सिर्जनात्मक विधा नबनाएका कवि, कथाकार, उपन्यासकार र समालोचकसमेत अहिले निबन्धमा सक्रिय हुन थालेका छन्। निबन्ध लेखनको यो लहरमा केेही राम्रा र शक्तिशाली निबन्धकार पनि छन्। पुराना र नयाँ कतिपय निबन्धकारले निबन्धको गुणात्मकता बढाउन नसके पनि यसको परिमाणलाई व्यापक बनाएका छन्। तिनका कारण निबन्ध लेखनको माहोल बढेको छ। प्रकाशनका लागि निबन्धले ठाउँ पनि राम्रै पाउन थालेको छ। दैनिक समाचार पत्रिकाले समेत निबन्धलाई महŒव दिन थालेका छन्। पहिले निकै 'दुर्लभ' मानिएको यो विधा अहिले 'सुलभ' भएको छ।
प्रस्तुतिका दृष्टिले निबन्धले केही नयाँ रूप पाएको छ। निबन्धमा जटिल र क्लिष्ट अभिव्यक्तिलाई विस्थापित गर्दै सरल र सहज सम्प्रेषणीय अभिव्यक्तिले आफ्नो ठाउँलाई बलियो बनाएको छ। यस्तै, शिल्प–शैलीले पनि नवीनता पाएको छ। निबन्धका लेखकमात्र बढेका छैनन्, यसलाई रुचाउने पाठक त्यत्तिकै बढेका छन्। विभिन्न कारणले निबन्ध साहित्यको लोकप्रिय विधा बन्न पुगेको छ। साहित्यका क्षेत्रमा यो महŒवपूर्ण उपलब्धि हो। उपलब्धिसँगै एउटा प्रश्न भने उठाउनैपर्ने भएको छ– निबन्ध चिन्तनपरक विधा कि गन्थनपरक? 
यस प्रश्नको निहितार्थमा कुनै दम होला या नहोला। तर पनि यसबारे केही चर्चा गर्नु सान्दर्भिक हुनेछ।
कुनै समय साहित्यका विधामध्ये सबैभन्दा बौद्धिक र कठिन विधा निबन्धलाई मानिन्थ्यो। ज्ञानको भण्डार अत्यन्तै सीमित भएको, अबौद्धिक व्यक्तिले निबन्ध लेख्नै सक्तैन भन्ने मान्यता पनि थियो। बौद्धिकतासहित विचार, दर्शन र चिन्तनमा एकाग्र व्यक्तिमात्र निबन्धमा सफल हुन सक्छ भन्ने सोचाइ थियो। त्यसैले निबन्ध लेखनमा लाग्नेहरू पनि अन्य विधाका तुलनामा थोरै नै हुन्थे।
समयक्रममा साहित्यका सबै विधामा परिवर्तन आएको छ। अहिलेका निबन्ध पनि पहिलेकै जस्तो हुनुपर्छ भन्ने मान्यता कसैले बोक्नुहुँदैन। जसमा निबन्ध लेखनको सिर्जनात्मक क्षमता छ उसले निबन्ध लेख्न सक्छ। यसमा बौद्धिक र अबौद्धिकको विवाद आवश्यक छैन। तर निबन्धको विशेषता चिन्तनपरक हो होइन? यो प्रश्नको उत्तर भने खोज्नुपर्छ।
अहिले निबन्धमा धेरै कुरा मिसमास भएका छन्। गद्य–गन्थनजति सबै निबन्ध हुन थालेका छन्। नियात्रा, प्रबन्ध, संस्मरणमात्र होइन अन्य विधाको परिभाषामा नपरेका जुनसुकै गद्य लेखन अहिले निबन्ध बन्न थालेका छन्। यहाँसम्म कि पुस्तक समीक्षा र सामयिक टिप्पणीलाई समेत अहिले निबन्धको गणनामा पार्ने गरेको देखिँदैछ।
कोही कुनै नयाँ ठाउँमा गयो कि निबन्ध लेखिने गरेको छ। कसैले केही खाएको कुरा पनि निबन्ध बन्ने गरेको छ। कसैले कसैलाई भेटेको, केही बोलेको कुरा पनि निबन्धका रूपमा आउने गरेको छ। कुनै ठाउँमा जानु, बास बस्नु, खानु र फर्किनु कुनै नयाँ कुरा होइन। कसैलाई भेट्नु, केही कुरा देख्नु र केही चिज पढ्नु पनि कुनै उल्लेख्य विषय होइन। घुम्ने, खाने र पढ्ने कुरा धेरैले गरिरहेकै हुन्छन्। तर ती सबै विशिष्ट र महŒवपूर्ण हुँदैनन्। महŒव त त्यस कुराको हुन्छ जुन विषय, घटना र चरित्रका आधारमा सामाजिक सरोकारका दृष्टिले पनि विशिष्ट मानिन्छ। जुन कुराको सामाजिक सरोकार हुँदैन, त्यसको कुनै अर्थ र महŒव हुँदैन।
निर्बन्ध र उन्मुक्त अभिव्यक्तिका रूपमा निबन्धलाई परिभाषित गर्ने गरिएको छ। निर्बन्ध र उन्मुक्त विधा भन्दैमा निबन्धमा मनगढन्ते जे लेखे पनि हुन्छ भन्ने आशय कदापि होइन। निर्बन्धता र उन्मुक्तताको अर्थ पनि चिन्तन–मननसँगै गाँसिएको छ। चिन्तनकै अर्थमा यस विधाको नाम निबन्ध रहन गएको हो।
'निबन्ध' संस्कृतबाट आएको शब्द हो। नेपालीमा व्युत्पन्न शब्दको प्रयोग गरेर यसलाई निबन्ध भनियो। 'बन्ध' धातुमा 'नि' उपसर्ग र 'घञ्' प्रत्यय लागेर निर्माण भएको निबन्ध शब्दको शाब्दिक अर्थ हो– 'राम्रोसँग बाँध्ने काम।' यहाँ 'राम्रोसँग बाँध्ने काम'को अर्थ भाव एवं विचारलाई राम्रोसँग सगृहीत गरेर अभिव्यक्त गर्नु हो जुन भाव एवं विचार चिन्तनपरक हुन्छ। शाब्दिक आधारमा पनि निबन्धको अर्थ 'गन्थनहरूलाई राम्रोसँग बाँध्नु' भनिएको होइन, 'राम्रा कुरा, राम्रा विचार, राम्रा दर्शन र राम्रा चिन्तनहरुलाई संगृहीत गर्नु' भनिएको हो। यसर्थ 'निबन्ध' भन्ने विधागत नामैले पनि यो गम्भीर र चिन्तनपरक विधा हो भन्ने स्पष्ट हुन्छ।
चिन्तन भनेको विचार सम्प्रेषणको प्रक्रिया हो। विषय, विचार, विम्ब, उपमा, रूपक, प्रतीक आदिको माध्यमबाट कुनै कुराको गहिराइसम्म पुग्ने काम चिन्तनले गर्छ। कुनै पनि प्रश्नमा गम्भीर रूपले सोचेर निष्कर्षमा पुग्ने कुरा चिन्तनविना सम्भव छैन। त्यस क्रममा विभिन्न खालका विचार, विभिन्न परिस्थिति र विभिन्न घटनाका आपसी सम्बन्धको खोजी गर्ने मानसिक–बौद्धिक कार्य पनि चिन्तनकै प्रक्रियाबाट मात्र सम्भव हुन्छ। जुन कुरा चिन्तन प्राधान्य छ, त्यो शक्तिशाली हुन्छ। निबन्धकै सन्दर्भमा चिन्तनप्रधान निबन्ध दीर्घायु हुन्छ भने गन्थनपरक निबन्धको आयु पढुन्जेलका लागि मात्र हो। 
हिमाल जसलाई पनि राम्रो लाग्छ। यो संसारमा फूललाई नराम्रो मान्ने को होला? फूल, खोला, छहरा, हिमाल, पहाड, चरा या सुन्दर प्रकृतिका सुन्दर वस्तुहरू पनि निबन्धको सौन्दर्यका एउटा–एउटा अंश बन्न सक्छन्। तर सामाजिक चरित्रको उपस्थितिविना प्राकृतिक सौन्दर्यमा मात्र निबन्धको शक्ति अभिव्यक्त हुँदैन। एउटा निबन्धबाट समाजले के हासिल गर्न सक्छ भन्ने कुरा स्पष्ट हुनुपर्छ। निबन्धको नाममा निबन्धकारकै लोग्नेस्वास्नीको निरर्थक गन्थन सुनाउनु, पढाउनुको महŒव कत्ति पनि छैन।
मिसेल मोन्टेनभन्दा अघि प्लेटो र एरिस्टोटलका मन्तव्य तथा होरेस, लोन्जाइनसका समीक्षामा पनि निबन्धका केही गुण रहेको चर्चा गर्ने गरिन्छ। तर पनि निबन्ध विधाको आरम्भ भने मोन्टेनले नै गरे। उनका निजात्मक अभिव्यक्तिमा उनकै जीवनका कुराहरू छन्। तर ती अभिव्यक्ति चिन्तनपरक विशेषताबाट टाढा रहेको मानिँदैनन्। मोन्टेनपछिका फ्रान्सिस बेकनले निबन्धमा वस्तुपरक विशेषताको विकाससँगै निबन्धलाई चिन्तनपरक विधाको रूपमा अगाडि बढाए। अर्का निबन्धकार सेन्टब्युबले निबन्धमा भाव, विचार र चिन्तनको स्फुरण हुने मान्यता राखे। जे डब्ल्यु मेरेटले निबन्ध खुल्ला हृदयको वैयक्तिक अभिव्यक्ति हुँदाहुँदै पनि जुन निबन्ध विचारपूर्ण अनुसन्धानको स्वरूपमा हुन्छ, त्यही नै सफल हुन्छ भन्ने विचार व्यक्त गरे। निबन्धकार रबर्ट लिन्डले निबन्धलाई गहन सिर्जना विधाको रूपमा लिए। निबन्ध चिन्तनपरक हुने भएकैले उनले यसलाई गहन मानेका थिए। चीनका लु सुनले मानवद्वेषी सत्ता र चरित्रका विरुद्ध विचार, चिन्तन र व्यंग्य–शिल्पका दृष्टिले निबन्धमा नयाँ विशिष्टता स्थापित गरे। हिन्दी साहित्यको निबन्ध विधामा भारतेन्दु हरिश्चन्द, हजारीप्रसाद द्विवेदी आदिले चिन्तनपरक विशेषताको विकास गरेकै कारण उनीहरू निकै बलशाली मानिएका छन्। बंगला निबन्धमा बाबु गुलाब रायले आधुनिकतामात्र ल्याएनन्, यसलाई चिन्तनपरक विधाकै रूपमा लोकप्रिय पनि बनाए।
नेपालमा निबन्धलाई 'टेबुल गफ' मान्ने महाकवि देवकोटा पनि छन् र 'एक किसिमको कुरा गराइ' ठान्ने ईश्वर बराल पनि छन्। त्यस्तै, निबन्धकारले परिमार्जित र परिपक्व विचारमा ध्यान दिनुपर्छ भन्ने कृष्णचन्द्रसिंह प्रधान पनि छन् र निबन्धलाई विचारको शक्ति ठान्ने हृदयचन्द्रसिंह प्रधान, श्यामप्रसाद र पारिजात पनि छन्। तर जसले जुन रूपमा लिए पनि निबन्धको चिन्तनपरक विशेषतालाई सबैले स्वीकार गरेका छन्। महाकवि देवकोटाले निबन्धलाई 'टेबुल गफ' मान्दामान्दै पनि नेपाली निबन्धमा आधुनिकतासँगै चिन्तनपरक विशेषतालाई पनि प्रवेश गराए। देवकोटाका निबन्धमा प्राचीनता र परम्पराप्रति मोह देखिए पनि चिन्तनपरक विशिष्टतालाई स्थापित गर्नमा उनको योगदान सर्वाधिक महŒवपूर्ण छ। त्यस्तै, अत्यन्तै साना र सामान्य कुराबाट सुरु भएर गहिराइमा पुग्ने शंकर लामिछानेका निबन्ध नयाँ शिल्पका साथ उदाए। निबन्धलाई चिन्तनले कसरी सिँगार्न सकिन्छ भन्ने उदाहरण उनले आफ्ना निबन्धमा प्रस्तुत गरे।
निबन्धमा प्रस्तुतीकरणको शैली जस्तोसुकै होस्– त्यसले वैयक्तिक र निर्वैयक्तिक के कुरालाई महŒव दिन्छ, त्यसैमा विषयको गम्भीरता र व्यापकता रहन्छ। कतिपय लेखक आफ्नै कुरा गर्न रमाइलो मान्छन्। समाजको सबैभन्दा श्रेष्ठ आफैंलाई ठान्छन्। उनीहरूका लागि समाज पहिलो कुरा नहुन सक्छ, आफैं पहिलो हो। त्यस्ता रचनासँग सामाजिक सरोकार पनि अत्यन्तै सीमित बन्न पुग्छ। जुन लेखकले निर्वैयक्तिकतालाई महŒव दिन्छ, त्यसमा सामाजिक सरोकार असीमित हुन्छ। त्यसको सामाजिक महŒव बेग्लै हुन्छ।
प्रस्तुतिको शैलीका आधारमा वस्तुपरक निबन्ध वर्णनात्मक र विवरणात्मक हुन सक्छन्। आत्मपरक निबन्ध भावात्मक, विचारात्मक र निजात्मक हुन सक्छन्। आत्मपरक शैलीमा पनि निकै उत्कृष्ट चिन्तनपरक निबन्ध लेखिएका छन्। यसमा देवकोटाकै निबन्धलाई उदाहरण मान्न सकिन्छ। तर निजी गन्थनलाई संगृहीत गर्नकै लागि आत्मपरक शैलीलाई महŒव दिने हो भने त्यस्ता निबन्धसँग पाठकको सम्बन्ध गहिरो र दीर्घकालीन हुँदैन। यो पनि विचार र चिन्तनसँगै जोडिएको कुरा हो। 
कुनै पनि विषय निबन्ध बन्न वा बनाउनका लागि योग्य हुनुपर्छ। निबन्ध जे विषयमा पनि बन्छ भन्ने छैन। अंग्रेजी साहित्यका समालोचक ह्युग वाल्करले तारादेखि धुलोका कणसम्म र जीवाणुदेखि मान्छेसम्म निबन्धका विषय हुन सक्ने बताएका छन्। तर लेख्नका लागि कुनै पनि विषयको महŒव र सार्थकता पुष्टि हुनुपर्ने मान्यता राख्ने पनि छन्। यस सन्दर्भमा जेबी प्रिस्टलीले महत्वपूर्ण संकेत गरेका छन्। उनले निबन्धकारले आफू र अन्य कुनै विषयबीचको सम्बन्धलाई अभिव्यक्त गर्ने क्षमता राख्नु नै निबन्धको विशेषता भएको बताएका छन्। उनका विचारमा लेखकको आफ्नै गन्थनमा निबन्धले पूर्णता पाउँदैन। लेखकले सामाजिक सरोकारका सम्बन्धलाई निबन्धमा व्यक्त गर्नुपर्छ। त्यसका लागि विषयको छनोट पनि सोहीअनुसार गर्नु जरुरी छ। 
कुनै पनि चिन्तन विचारहीन हुँदैन। जहाँ विचार हुन्छ, त्यहाँ चिन्तन पनि हुन्छ। जहाँ चिन्तन हुन्छ, त्यहीँ विचार पनि हुन्छ। कुनै पनि राम्रो र श्रेष्ठ निबन्धका लागि चिन्तन आवश्यक छ। गन्थनले निबन्ध नामलाई त थेग्ला, निबन्धको श्रेष्ठता र उत्कृष्टतालाई थेग्दैन। नेपाली साहित्यमा चिन्तनको क्षेत्र कहाँ कति फराकिलो छ, कहाँ कति साँघुरो छ र कहाँ छँदैछैन भन्ने बारेमा लेखक, पाठक र समालोचक सबैको चासो रहनुपर्ने हो। यस विषयमा खासै चासो नदिएका कारण पनि हुन सक्छ चिन्तनपरक मानिने निबन्ध विधा आफ्नो विशेषता गुमाउँदै अन्यत्र लागिरहेको छ।
साहित्यका सबै विधामा नवीनताको खोजी पाठकले गरिरहेको अवस्थामा कुनै पनि निबन्धकार परम्परागत ढर्रामा रहिरहन सक्दैन। जो सिर्जनात्मक छ, उसले नवीनताको खोजी आफैं गर्छ। तर नवीनताको खोजीको नाममा चिन्तनमूलक चरित्र, चिन्तनप्रधान स्वरूप र चिन्तनपरक विशेषतालाई त्यागेर गन्थनतिर लाग्नु स्तरहीन सिर्जनाको आग्रहतर्फ आकर्षित हुनु हो। यसलाई निबन्धमा नवीनता मान्न सकिँदैन। 
अहिले पनि निबन्धमा श्रेष्ठताको कुरा गर्दा किन देवकोटा र लामिछानेमै पुग्नुपर्ने हुन्छ? यो प्रश्नको उत्तर खोज्नतिर लाग्ने हो भने त्यसले चिन्तनपरक निबन्धको विकासमा अर्थपूर्ण सहयोग पुर्यामउनेछ।

फेसबुकको 'इन्फो'

'नमस्ते है नवीन जी, त फर्स्ट बेन्च नै रिजर्भ गरिएछ त!'आज पनि क्लासभित्र छिर्नेबित्तिकै उनले हाँसेर भनिन्।तिनको अनुहार नियाल्दै लज्जामिश्रित स्वरमा भनेँ, 'त्यस्तो होइन।' उनी मेरो दायाँपट्टि बसिन्। लोकसेवा आयोगको...

इतिहास पाठशाला

सामान्यतः गोरखा बजार साँझ छिप्पिन नपाउँदै बन्द हुने र बिहान घाम झुल्किएपछि खुल्ने गर्छ। तर अचेल (कात्तिकदेखि फागुनसम्म) साँझ अबेर र बिहान मिर्मिरेमै चहलपहल बढ्छ। कारण हो– शैक्षिक भ्रमणको याम।

इन्जिनियर पढेर राजनीति

इन्जिनियर पढेर राजनीति

शिक्षित र स्वतन्त्र राजनीतिक परिवारमा जन्मिएकी हिसिला यमी औपचारिक अध्ययनले इन्जिनियर हुन् तर उनको मूलबाटो बन्यो राजनीति। एकीकृत माओवादी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री यमीले पुरानै समाजमा हुर्के पनि विभेदको सामना...

पूजा गर्न मात्र होइनन् नयराजका कृति

पण्डित नयराज पन्तको १०१ औं जन्म जयन्तीको स्मृतिसभा गत शनिबार नक्सालको 'क्राउन प्लाजा' भन्ने होटलको सभाकक्षामा सम्पन्न भयो। त्यस समारोहको सभापतित्व गर्न न्यायाधीश शेषराज सिवाकोटीले मलाई आग्रह गर्नुभएको थियो।

बुवाविनाको जीवन

अभिभावक गुमाउनुको पीडा सायद अरू कुनै पीडासँग दाँज्न सकिँदैन। तीन महिनाअघि मैले बुवा गुमाएँ। त्यो अकस्मात् र अनपेक्षित क्षति मेरा लागि असह्य थियो। हुन्।)

'टम ब्वाई' कमान्डर

'टम ब्वाई' कमान्डर

साढे दुईतले घरको पहिलो भर्यारङ उक्लेपछि देब्रेतिर एउटा कोठा छ। ठूलो कोठाभित्र एउटा टेलिभिजन छ। टेबलमा औषधि र थर्मस राखिएका छन्। कोठाको एउटा कुनामा बेड। बेडमा सुतिरहेकी छन्, एक वृद्ध...

कति नेपाली कहाँ–कहाँ लडे?

कति नेपाली कहाँ–कहाँ लडे?

पहिलो विश्वयुद्ध सुरु भएको यसै वर्ष एक शताब्दी पुगेको छ। युरोपका विभिन्न देशमा इतिहासको त्यो त्रासदीपूर्ण घटनाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।

मेरो वागमती यात्रा

मेरो वागमती यात्रा

काठमाडौंमा कलेजको विद्यार्थी भएर आउ“दा देखेका यहा“का केही बिम्बले मेरो मन कहिल्यै छोडेनन्। म यहा“का काष्ठकला, पेगोडा शैलीका मन्दिर, धातुका ढलोट र पत्थरका मूर्ति अनि बहाः र चोकहरू देखेर चकित...