Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

नागरिक शनिबार

चाबेलमा लिन आउनु ल!

  • २९ चैत्र, २०७०
  • नयनराज पाण्डे
  • DISQUS_COMMENTS
(1 Vote)
चाबेलमा लिन आउनु ल!
किन हिरासतमा छ नारी
आजसम्म?
के तिमीले
आफ्नो अँगालोबाट
अझै मुक्त गरेका छैनौ उसलाई?
खै, कुन मुडमा लेखेको थिएँ मैले यो छोटो कविता। बेला कुबेला कविता त लेख्ने नै हुँ मैले पनि। 'लू' लेख्दाताका भने उपन्यास लेखनको ह्याङबाट मुक्त हुन यस्ता छोटा कविता निकै लेखेँ मैले। अचेल पनि लेख्छु। तर कसैले पनि कवि नमानेको नियति हो मेरो। 
यो नियतिप्रति खासै गुनासो पनि छैन। तर कविता लेखेको खेर जाँदो रहेनछ। चलाखीपूर्वक यसलाई कहिलेकाहीँ आफैंले लेखेका लेखहरूमा उद्धरणका रूपमा प्रस्तुत गरेर आफ्ना प्रिय पाठकमा 'म पनि कविता लेख्छु है' भनेर जनाउ दिन सकिँदो रहेछ। तर यो लेख मेरो कविताकारिताको बारेमा पटक्कै होइन। कविता र यो लेखको दूरदूरको पनि सम्बन्ध छैन। तर कहिलेकाहीँ असंगत कुराबीच संगतिको खोजी गर्नु पनि रमाइलै हुन्छ।
०००
विगतलाई फर्किएर हेर्नु र घटनाक्रमलाई विश्लेषण गर्नु मजाको कुरो हो। काम नभएको बेला गजबले टाइमपास हुन्छ। तर विगतका विभिन्न घटनाक्रमको जब तारतम्य मिलाउन र त्यसको विश्लेषण गर्न थालिन्छ, त्यसले विभिन्न कोणबाट हाम्रो आगतलाई हेर्ने औजारहरू उपलब्ध गराउँछ। विगत त दूरबीन पो बन्दो रहेछ, जसबाट हामी आगतका कतिपय सम्भावित कुरालाई पनि जुम इन र जुम आउट गरेर हेर्न सक्छौं। त्यस्ता घटनाक्रमले हाम्रो सोचाइ र विचारलाई हदैसम्म प्रभावित गर्दा रहेछन्। 
'घामकिरी' निस्किएपछि त्यसैको प्रोमोसनको सिलसिलामा पोखरा जाने अवसर जुर्योा। पोखरामा जाँदा विमान यात्रा जुरेको थियो। फर्कंदा माइक्रोबस प्रयोग गरेँ। पोखरा जति जाँदा पनि नअघाउने ठाउँ हो मेरो लागि। विगत निकै वर्षदेखि कुनै न कुनै बहाना जुरेकै छ र म पटकपटक हरेक वर्षजसो पोखरा पुगेकै छु। पोखराकै बारेमा पनि साधिकार केही लेख्न पो सक्छु कि भन्ने लाग्न थालेको छ अचेल। तर त्यस्तो केही योजना भने बनाएको छैन।
लेखक न परेँ। बसमा बसे पनि म बसमा कहाँ हुन्छु र? मन त कताकता दौडिरहेकै हुन्छ। मनलाई फुक्काफाल छाड्न मिल्ने भएकोले बसयात्रा मलाई बोरिङ लाग्दैन। रोमान्चक लाग्छ। तर पोखराबाट माइक्रो बसबाट फर्कंदा भने मनलाई फुक्का छाड्न सकिएन। मन बसभित्रका यात्री, तिनका व्यवहार र गतिविधितिर केन्द्रित भएको थियो। र, त्यसले मेरो चित्तलाई शान्ति दिएन। एकदमै असहज बनायो। छिनछिनमा रिस उठिरहेको थियो मलाई।
म माइक्रोभित्र बसिसकेको थिएँ। छेउकै सिटमा बस्न आएको थियो एक युवक। मंगोलियन अनुहार, गोरो र हँसिलो युवक। एक सुन्दर युवतीले आफ्नो स्कुटीमा उसलाई माइक्रो स्ट्यान्डसम्म छोड्न आएकी थिइन्। बस चढ्नुअघि आत्मीय कुराकानी पनि गरे उनीहरूले। युवतीको अनुहार मंगोलियन टाइपको थिएन। तर उनले नाकमा फुली लगाएकी थिइन्। युवक र युवती बाइस–पच्चीस हाराहारीका देखिन्थे। युवतीलाई ब्युटिफुल र केटालाई ह्यान्डसम भन्न मिल्थ्यो। 
बस चढ्ने बेला युवक र युवतीले अंकमाल गरे। एकअर्काको गालामा चुम्बन पनि गरे। कसैले असहज अनुभव गरेजस्तो लागेन। खलाँसीले हतार गरेपछि युवक बसभित्र बस्यो। युवक र युवती दुवैले बिदाइमा हात हल्लाए। युवतीको अनुहार मलिन बन्यो। 
'मैले त गर्न मिल्दैन होला। समय मिलाएर मलाई फोन गर्नु ल?' बस गुड्नै लाग्दा युवतीले भनी। उसको अघिल्लो वाक्यप्रति मेरो खासै ध्यान गएन त्यतिबेला। तर समय मिलाएर फोन गर्नु ल? भन्ने दोस्रो वाक्यले मेरो मनलाई बिस्तारै स्पर्श गर्योध। प्रेममा संवादको कति महŒव हुन्छ, कसले नबुझेको कुरा हो र! फोनबाटै मायाका कुरा गर्ने, फोनमै गुनासो गर्ने, फोनमै झगडा गर्ने र फेरि फोनबाटै सम्झौता गर्ने। धेरैको प्रेमानुभव यस्तै हुनुपर्छ। 
सिटमा बस्नासाथ त्यही युवकले कुराकानी सुरु गरेपछि मैले बुझिसकेको थिएँ, बाग्लुङतिरका युवक रहेछन् तिनी। कामको सिलसिलामा दुबईतिर गएको चार–पाँच वर्ष भएको रहेछ। वर्ष–डेढ वर्षमा एकचोटि केही दिनलाई नेपाल फर्कंदा रहेछन्। 
बसमा आफूसँगैको मान्छेसित पनि उतिसारो खुल्न रुचाउन्न म। कतिपल्ट छेउको मान्छेसित एक शब्द पनि नबोली बिताएको छु मैले बसयात्राका लामालामा क्षण। तर यसपटक त्यस्तो भएन। त्यो युवकले मजाले टाइमपास गराउँदै थियो मलाई। त्यसका कुराहरू रुचिकर थिए। 
'म त हाउजिङको काम पाएर पाँच वर्षअघि गएको हुँ दुबई। दुबई वर्ल्ड भन्ने सरकारी हाउजिङ कम्पनी रहेछ। नेपालीहरू हजारौंको संख्यामा त्यहाँ काम गर्थे। तर म जानु र त्यो कम्पनी टाट पर्नु एकैतालि भयो। केही महिना काम गरेपछि त्यो कम्पनीबाट निकालिएँ म। विश्वभरि आर्थिक मन्दी छाएकोले दुबईमा पनि त्यसको असर परेको थियो। धमाधम नेपालीहरू कम्पनीबाट निकालिँदै थिए। कति त काम नपाएर नेपालै फर्कन थालिसकेका थिएँ,' उसका यस्ता कुराले मलाई आकृष्ट गर्योट। म पनि उसको वार्तालापमा सामेल भएँ।
'बिहे गरेकै साल म दुबई गएको हुँ। स्वास्नीसित भर्खर लभ पर्न थालेको थियो। जानु परिहाल्यो। म गएको कम्पनी टाट पल्टेको खबर सुनेर घरमा कम्ता टेन्स भएन। स्वास्नी नेपाल फर्किनु भनेर फोनमै रुन्थी,' खुलेरै भन्यो उसले। 
'तीन महिना त कामै पाइन नि दाजु मैले। तर घरमा जागिरमै छु भनेर ढाँटिरहेँ। त्यसपछि केही महिना नागार्जुना भन्ने हाउजिङ कम्पनीमा काम गरेँ। त्यसपछि ओमेक्स कम्पनीमा सरेँ। अचेल लार्सन एन्ड टर्बो भन्ने इन्डियन कम्पनीमा काम गर्छु। अब भने राम्रो छ मलाई। महिनाको साठी हजारजति तलब छ। बस्नखान कम्पनीले नै दिन्छ। वर्षको एक महिना छुट्टी पनि हुन्छ। छुट्टीमा वान वे प्लेन टिकट पनि दिन्छ।'
कुराकानीको बीचबीचमा पोखराकी स्कुटीवाला युवतीको फोन आइरहन्थ्यो र फोनमै भन्यो, 'आइ लभ यु काली।' 
माइक्रोमा उसले अरू एउटा सिट रोकेको थियो। 'बाटोमा मेरो एकजना बैनी चढ्छ। त्यो सिट रिजर्भ राखिदिनु ल?' उसले खलाँसीसित मीठो स्वरमा अनुरोध गरेको थियो। त्यसैले बेलाबेला खलाँसीले सोध्थ्यो, 'दाइ, तपाईंको मान्छे कहाँबाट चढ्ने हो?'
'रोक्ने बेला आयो भने म भन्छु नि,' यति भनेर उसले खलाँसीलाई थामथुम पार्योर र फेरि मसित कुरा गर्न थाल्यो, 'विदेशमा अरू त सबै ठिकै छ। तर नेपालीको सेक्स लाइफचाहिँ खत्तम हुने रहेछ। भर्खर बिहे गरेर गएको मजस्तोलाई त राति खपि नसक्नु पार्दो रहेछ,' अनि खुसुक्क कानमा भन्यो, 'दुबई बसुन्जेल त हस्तबहादुर भइयो नि दाइ।'
०००
बसमा एकजनाले अखबार पढिरहेको थियो। उसले बसका सबैले सुन्ने गरी भन्यो, 'हैन अचेल के भाको मान्छेलाई? जताततै बलात्कारकै समाचार छ। लौ हेर, पोखरामा पनि लोग्नेले स्वास्नी काटेछ। अनि हेटौंडामा बाउले छोरीलाई बलात्कार गरेछ।'
माइक्रोभित्रको वातावरण एकछिनलाई हत्या र बलात्कारको चर्चाले बोझिल भयो। त्यहीबेला गुडिरहेको बसको झ्यालबाट टाउको निकालेर स्कुलबाट फर्किरहेका एक हुल बालिकालाई खलाँसीले जिस्कायो र भन्यो, 'ए सान्नानी, जन्ती कहिले लिएर आउँ्क? कि आजै जाने मसित। मलेखुमा माछा ख्वाउँला।'
ती बालिकाले के भने थाहा भएन। तर टाउकोभित्र ल्याएपछि खलाँसी आफ्नो पुरुषार्थमा आफैं दंग पर्योन र खितिती हाँस्यो। यता, मसँगैको युवक भने दुबईकै कुरामा केन्द्रित भयो।
'दाइ, दुबईमा पनि बाँच्न कहाँ सजिलो छ र? मेरो भाग्य पो दह्रो रहेछ। नत्र त कति नेपालीले दुःख पाएका छन्। कतिले समुद्रमा हामफालेर आत्महत्या गरिसके। म आउने दिन पनि एउटा नेपाली झुन्डिएर मरेको थियो। के गर्नु दाइ, यहाँ म्यानपावरले दह्रो पैसा हुन्छ भनेर लोभ देखाएर पठाउँछ। त्यहाँ गएपछि न भनेजस्तो काम हुन्छ, न भनेजस्तो पैसा हुन्छ। कति त भर्खर बिहे गरेर गएका हुन्छन्। तिनलाई यता स्वास्नी अरूसित सल्केली भन्ने पीर छुट्टै छ। मलाई पनि कम्ता पीर परेन दाइ।'
हाँस्यो फेरि ऊ। एकदम भलाद्मी हाँसो। मैले पनि हाँसेरै भनेँ, 'भाइलाई त कस्तो माया गर्नु हुँदो रहेछ बैनीले। अघि बसपार्कमै देखिहालियो नि मायाप्रीति।'
ऊ एकपटक खित्का छाडेर हाँस्यो र भन्यो, 'दाइ कन्फ्युज हुनुभएछ। त्यो त मेरो गर्लफ्रेन्ड हो।'
अब भने छक्क पर्ने पालो मेरो थियो। म छक्क पर्दै गर्दा युवकको मोबाइल बज्यो। अघिसम्म फोनमा मीठो स्वरमा बोलिरहेको ऊ यसपटक भने झर्कियो, 'हैन, कति मिस कल देको? एकछिन कुर्न सक्दिनस् जाँठी?'
त्यति मीठो बोल्नेले तीतो किसिमले बोल्दा नमीठो सुनिने रहेछ। मेरो मनले यसभन्दा बढी प्रतिक्रिया केही जनाएन र माइक्रो मुग्लिनमा रोकियो। एकजना चार–पाँच वर्षको छोरासहित एउटी भर्खरकी युवती बस कुरिरहेकी थिइन्। युवकले खलाँसीलाई भन्यो, 'ऊ ती आमा–छोरा भा ठाममा रोक्देऊ है भाइ।'
त्यसपछि बालक र आमा दुवै बसमा चढे। युवककै आफन्त रहिछन्। युवकले हामीभन्दा पछाडिको सिटमा बसायो तिनीहरूलाई। त्यहाँ अर्का भलाद्मी युवक रहेछन्। उनले मसित बसेको दुबईवाला युवकसित भने, 'भाइ म तपाईंको सिटमा बस्छु। तपाईं र उहाँ सँगै बस्नूस्।'
यसरी समझदारी कायम भयो र मसित रोचक कुरा गरिरहेको युवक ती बालक र तिनकी आमासित बस्न गयो। अब भने युवक र ती युवतीको वार्तालाप सुरु भयो। कुराकानीबाट थाहा भयो, ती आमा युवककी श्रीमती रहिछन्।
अघिसम्मको मेरो सहज माइक्रो यात्रा अब सहज हुने लक्षण देखिएन। अघिसम्म मेरो मनमा स्थापित भएको त्यो युवकको सुकिलो छवि अब क्रमशः भत्किन थाल्यो। श्रीमती गुनासो गर्दै थिइन् युवकसित, 'कस्तो निष्ठुरी तपाईं त। यत्रो चारचार दिनसम्म एक कल फोनसम्म नगर्ने। मैले कल गर्दा पनि नउठाउने।'
'किन गर्नु फोन? म साथीहरूसित पोखरा घुम्न गाको था थिएन तँलाई?'
'हामीलाई पनि लगेको भए हुन्नथ्यो पोखरा? छोरा पोखरा घुम्ने भनेर कति मख्ख थियो। बेकारमा काठमान्डुबाट ल्याएर हामीलाई माइती थुपार्दिनुभयो। अनि आफूचाहिँ पोखरामा मस्ती गर्नुभयो। हामीलाई पनि त लोग्नेसित घुम्न मन लाग्छ नि। क्या बोर भयो मलाई माइतीमा। सबैले सोध्दै थिए, के ताल हो तेरो लोग्नेको? बल्लबल्ल विदेशबाट आएको लोग्नेले पनि तेरो वास्ता गर्दो रहेनछ भनेर कति खिसीट्युरी गरे मेरो। क्या बोर।'
'बढी नबोल् है, यहीँ काट्दिन्छु तँलाई,' युवक जंगियो।
'भाइ झगडा नगर्नु न हौ,' निकै सदाशयता देखाएर आफ्नो सिट ती श्रीमान्–श्रीमतीलाई छाडिदिएर मेरो छेउको सिटमा बस्न आएको युवकले आग्रह गर्यो, र आफूसितको प्रोजेक्टरवाला मोबाइल मुढामा बसिरहेकी महिलाको पिठ्युँको चोलो र फरियाबीचको खाली स्थानतिर फर्कायो र महिलाको पिठ्युँमा लोकदोहरीको भिजुअल हेर्न थाल्यो। उता युवकले श्रीमतीसित केरकार गर्न थाल्यो, 'तँलाई पनि त मोजै भयो होला नि माइतीमा। खुब कुरा गरियो होला नि त्यो लामासित। मलाई सब थाहा छ तेरा चर्तिकला।'
'तिमीसित बिहे गरेदेखि त्योसित भेट भाको भए यै छोराको कसम,' श्रीमतीले रुन्चे स्वरमा भनी।
'किन ढाँट्छेस्। तेरो पुरानो लबर। आउँदो होला नि म नभाको बेलामा डेरामा। त्यै भएर त काठमान्डु बसेकी होस् तँ। नत्र यहाँ माइतीमा आएर बस्नुपर्दैन?'
'कसरी बस्नु? माइतीमा भाउजूको कचकच। अनि घरमा सासूको कचकच। काठमान्डु बस्यो भने यसो काम पनि पाइन्छ। बाबुलाई पढाउन पनि बसेकी नि।'
'बसिस् पढाएर, त्यै लामासित मोज गर्न बसेकी होस्। खै दे त तेरो मोबाइल। आको होला नि त्यो जाँठोको पनि मिसकल।'
त्यसपछि युवकले श्रीमतीको मोबाइलमा नम्बर जाँच्न थाल्यो। 
'बाह्रवटा मिस कल रहेछ। यो कसको नम्बर हो?'
'दाइले गरेको नि। अस्ति तिमीले पनि यही नम्बरमा फोन गरेको हैन?'
'अनि अर्को आठवटा मिसकल पनि रहेछ। योचाहिँ कसको नि? त्यै लामाको होला नि।'
त्यसपछि बाँकी यात्राभरि उसले श्रीमतीसित केरकार गरिरह्यो। उनीहरूको बालक छोरा भने आमाबाउको कुरामा कस्तो प्रतिक्रिया जनाउने भन्ने अलमलमा थियो। ऊ त्यो अलमलमा धेरै अल्भि्कन चाहेन। त्यसैले बाटोभरि कहिले चाउचाउ र कहिले चिजबलमा अल्भि्करह्यो ऊ।
'मेरो मोबाइलको मिसकलको पनि यति चासो राख्नेले मेरो र छोराको चासोचाहिँ किन नराखेको? बरु तिम्रै कसैसित लभ परेको जस्तो छ। खै हेरूँ त तिम्रो मोबाइल।'
युवकले मोबाइल किन दिन्थ्यो। दिएन। भन्यो, 'बढ्ता नबोल है। हिँ काटिदिन्छु।' 
ऊ बातैपिच्छे मारिदिन्छु र काटिदिन्छु भन्थ्यो। उसको कुराले मेरो टाउको रिँगाउन थालेको थियो। म ती लोग्नेस्वास्नीका कुरामा ध्यान दिन चाहन्नथेँ। तर पनि मेरो ध्यान तिनीहरूकै वार्तालापतिर गइरहेको थियो। थानकोटनेर आएपछि उसले स्वास्नीलाई धम्क्यायो, 'म त्यो लामाको फोन नम्बर पत्ता लगाउँछु। त्यो सालेसित कुरा गर्छु। कतै बोलाउँछु। काटिदिन्छु त्यसलाई।'
माछापोखरीमा ओर्लिएँ म। जाडोको महिना भएकोले चाँडै रात परिसकेको थियो। उनीहरू पनि त्यहीँ ओर्लिए। स्वास्नीलाई कठोर स्वरमा भन्यो युवकले, 'तँ बौद्ध जा। म आज भोटेबहालमा साथीकोमा बस्छु।'
'कस्तो तपाईं त। यति राति डेरामा म एक्लै जानु?'
'केको एक्लै। आउला नि राति त्यो लामा। हेरिराख्, म त्यसलाई नकाटी छाड्दिनँ।'
यति भनेर युवक स्वास्नीलाई अँध्यारोमा एक्लै छाडेर ट्याक्सी चढ्यो। ट्याक्सी हुइँकियो। आमाछोरा एकछिन अलमलमा परे। आमाको अनुहार मलीन भयो। छोराले भने चिजबलको नयाँ प्याकेट खोल्दै थियो। म चक्रपथको बस पर्खिरहेको थिएँ। आमाचाहिँले मोबाइलमा नम्बर थिचिन् र रुन्चे स्वरमा भनिन्, 'मलाई चाबेलमा लिन आउनु ल? अनि हेर न त्यो जाँठोले तिमीलाई काट्छु भन्दैछ। बाटाभरि क्या दुःख दियो त्यसले मलाई।'
०००
केही दिनपछि मैले एउटा समाचार पढेँ। लोग्नेले स्वास्नी काट्यो। केही दिनपछि फेरि अर्को समाचार पढेँ। स्वास्नी र प्रेमी मिलेर लोग्नेलाई काटे। मैले पोखराबाट काठमान्डौं फर्कंदा माइक्रोबसमा भेटेका ती युवा दम्पती कुनचाहिँ समाचारका पात्र हुन्, ठम्याउन सकेको छैन। सम्बन्धको यो जटिल समीकरणमा धेरै कुरा बुझिँदैनन् र कति बुझिएजस्ता लाग्ने कुरा पटक्कै बुझिएका हुँदैनन्। 
आरम्भमै मैले विगत र आगतको कुरा गरेको थिएँ। विगत भइसकेको माइक्रोबसको पाँच–सात घन्टाको यो यात्राको चर्चाले के हाम्रो समाजको कुनै खालको आगतको संकेत गर्छ र? म अलमलमा छु। म आफैंले यसबारे थप केही भन्न सक्ने स्थिति छैन।
मेरा यात्रा जारी छन्। रोकिएका छैनन्। युवकहरूको दुबई जाने क्रम पनि रोकिएको छैन। र, रोकेको छैन मैले कविता लेख्न पनि।
विदेशीलाई भाइटीका

विदेशीलाई भाइटीका

'एसओएस बहिनी' नामक गैरसरकारी संस्थामा बस्दै आएकी पार्वती केसीले तीन वर्षअघि तिहारमा रसियन पर्यटक इरालाई दिदीको नाता जोड्दै सप्तरंगी टीका लगाइदिइन् । टीकापछि दिदिबहिनीको सम्बन्ध जोडेका उनीहरूले उति नै बेला...

फेरिँदैछ बालापान

काठमाडौं– बाल्यकालमा गीर (लठ्ठीले बललाई हानेर खेलिने) खेलेर हुर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले अहिलेको लोकप्रिय क्रिकेटसम्म हेर्ने मौका पाए। विश्वभर चलिरहेको क्रिकेट त्यही गीर खेलको विकसित रूपझैं लाग्छ, उनलाई।

मेरो पहिलो पुरस्कार

मैले जीवनमा पहिलो आकाशवाणी पाएँ। लेखिएको थियो, 'तु आउनु... एक जोर दौरासुरूवाल ल्याउनू...।'पोखराको आवा कार्यालयका कुनै एक कर्मचारीले दिएर गए, अहिले मलाई सम्झना छैन। सम्झना त मलाई हिजोआजका बैङ्क भौचरजस्तो...

मौन चालले दर्शक नचाउँदै

मौन चालले दर्शक नचाउँदै

काठमाडौं हाँडीगाउँकी अनिता प्रजापतीलाई आठ वर्षको उमेरमा टाइफाइड भयो। त्यसपछि उनका दुवै कान बन्द भए। आवाज सुन्न नसकेपछि उनले बोल्न जानिनन्/सकिनन्। तर उनको नृत्य हेर्ने हो भने उनी सुन्न/बोल्न नसक्ने...

साहित्यको उन्नयन कि व्यापारीकरण

साहित्यको उन्नयन कि व्यापारीकरण

'एनसेल नेपाल लिटरेचर फेस्टिभल– २०१३' सुरु भएको छ। सन् २०११ देखि यो कार्यक्रम आयोजना गर्न थालिएको हो। बहुराष्ट्रिय कम्पनी एनसेलको आर्थिक लगानी र सहयोगमा गर्दै आइएको यस कार्यक्रममा एनसेल, यसको...

तेक्वान्दो चुचुरोमा

तेक्वान्दो चुचुरोमा

२०४८ सालमा एसएलसी दिएपछि संगीना वैद्यको औपचारिक खेल जीवन सुरु भयो। स्कुल पढ्दा नै ‘वीरेन्द्र सिल्ड' जित्न भूमिका खेलेकी उनी त्यतिखेरै खेलकुदको मोहपासमा यसरी जेलिइन्, तेक्वान्दो चुचुरोमा नपुगी उम्कनै सकिनन्।

'लेख्दालेख्दै मर्न पाऊँ'

'लेख्दालेख्दै मर्न पाऊँ'

वरिपरि किताबका चाङ। बीचमा ९२ वर्षे वृद्ध काया। आँखा धमिलो भएका छन्, तर पढाइ रोकिएको छैन। हात काँप्छन्, तर केही न केही केर्न छाडेका छैनन्। लेखनीले सात दशक पार गरिसक्यो,...

नेपाली कूटनीतिका ऋषि

नेपाली कूटनीतिका ऋषि

मैले दस वर्षको उमेरमै यदुनाथ खनालको नाम सुनेको थिएँ, २०१८ सालतिर। मेरा पिताजीले लेख्नुभएको किताब 'भानुभक्त आचार्यको सच्चा जीवन चरित्र'मा खनालको भूमिका थियो। उहाँको प्रशंसा गर्दै मेरा पिताजीले भन्नुभयो, 'उहाँजस्तो...