Sunday 25 Shrawn, 2077 | August 09, 2020
Menu

नागरिक शनिबार

गुञ्जनका दिदीबहिनी

  • २९ चैत्र, २०७०
  • सरुभक्त
  • DISQUS_COMMENTS
(0 votes)
गुञ्जनका दिदीबहिनी
विश्वका एक महान् साहित्यकार स्यामुएल बेकेटबारे मैले कतै पढेको थिएँ– उनी आफूलाई उपन्यासकार सम्झन्थे तर दुनियाँले उनलाई नाटककार बढी सम्भि्कदियो। साहित्यकारको नियतिलाई कति सहज वा असहज रूपमा लिन सकिन्छ, म भन्न सक्तिनँ। 
बेकेटले साहित्यिक जीवनको प्रारम्भतिरै पेरिस भ्रमण गर्दा त्यस बेलाका महान् प्रयोगवादी साहित्यकार जेम्स ज्वाइसलाई भेटेका थिए र उनीद्वारा खुबै प्रभावित भएका थिए। त्यस बेलाको पश्चिमी साहित्यमा 'चेतना प्रवाह शैली'ले प्रख्याति प्राप्त गरिरहेको थियो। बेकेटले कथा र कविता संग्रहहरू पनि प्रकाशित गरे तर उनका उपन्यास 'मर्फी' र 'वाट' निकै चर्चित रहे। उनले आफूलाई बढी उपन्यासकार मानेझैं उपन्यासकार मानिनका लागि उनी योग्य नै थिए। तर सन् १९५४ मा 'वेटिङ फर गोदो' नाटक प्रकाशित भएपछि उनको उपन्यासकार व्यक्तित्वमाथि ग्रहण लाग्यो। उनी एकाएक महान् नाटककारका रूपमा विश्वविख्यात भए। 'वेटिङ फर गोदो' लाई विसंगतिवादी धारा प्रणयन गर्ने नाटक मानियो।
नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाले आफूलाई के सम्झे थाहा छैन, अरूले उनलाई महाकवि सम्झे। उपन्यासकार बन्ने उनको रहर 'चम्पा' मै खुम्चियो। बालकृष्ण समलाई धेरैले महाकविको प्रतिस्पर्धी सम्झन्थे। सायद समले पनि आफूलाई त्यस्तै सम्झे, त्यसैले आफ्नो जीवनीलाई उनले 'मेरो कविताको आराधन' भन्न रुचाए। समले आफ्नो जीवनमा कवितालाई त्यसरी महत्व दिँदा उनी अरूले आफूलाई नाटककारका रूपमा सर्वाधिक महान् सम्झन्छन् भन्ने कुराप्रति बेखबर थिएनन्।
अकस्मात् एक दिन मलाई महसुस भयो, यस्तो संघटना महान् साहित्यकारका जीवनमा मात्र होइन, मजस्तो साधारण साहित्यकारको जीवनमा पनि घटित हुन सक्दो रहेछ। आश्चर्य मैले सम्भि्कएँ– साहित्यमा लाग्ने मेरो कुनै योजना थिएन तर लागेँ। म कविता लेख्न थालेँ। नाटक लेख्न थालेँ। बेलाबेला आफ्ना नाटकहरू मञ्चन पनि गर्न थालेँ। मानिसहरूले मलाई कवि र नाटककारको रूपमा अलिअलि चिन्न थाले। म त्यही चिनारीमै खुसी थिएँ।
कविता र नाटकमा आफूलाई, आफ्ना सिर्जनात्मक अहंकारलाई अभिव्यक्त गर्दा लाग्थ्यो, यी दुई विधा नै साहित्यका मुख्य विधा हुन्। मलाई विश्वका महान् कवि र नाटककारका रचना पढ्दा पनि त्यस्तै अनुभूति हुन्थ्यो। नेपाली साहित्यमा देवकोटाको 'मुनामदन', गोपालप्रसाद रिमालको 'आमाको सपना', माधव घिमिरेको 'गौरी', मोहन कोइरालाको 'मोहन कोइरालाका कविता', ईश्वर वल्लभको 'आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्', वैरागी काइँलाको 'वैरागी काइँलाका कविता', भूपि शेरचनको 'घुम्ने मेचमाथि अन्धो मान्छे' कतिपल्ट पढेँ, गन्न सक्तिनँ। सम, रिमाल, तिवारी, गोठाले र विजय मल्लका नाटक दर्जनौंपल्ट पढ्नु र पाठ याद गर्नुको आनन्द अविस्मरणीय लाग्छ।
संवत् २०३२–०३३ तिर म अमृत साइन्स क्याम्पसको विद्यार्थी छँदा अस्कल छात्रवासमा बस्थेँ। एक दिन छात्रवासमा हल्ला चल्यो– राष्ट्रिय सभागृहमा दार्जिलिङबाट आएको नाटक 'अनि देउराली रुन्छ' चलेको छ! टिकट काट्न बिहानैबाट लाइन लाग्नुपर्छ रे! साहित्यमा अभिरुचि राख्ने हामी केही साथीहरूले मनबहादुर मुखियाको त्यो नाटक हेरेरै छाड्ने निधो गर्यौंप अनि भोलिपल्ट बिहान छ बजे नै भृकुटी मण्डपस्थित टिकट काउन्टरमा लाम लाग्न पुग्यौं। काउन्टर आठ बजेतिर खुल्यो। हाम्रो टिकट किन्ने पालो आउनुभन्दा धेरैअगाडि नै 'हाउसफुल' भएर काउन्टर बन्द भयो। हामी रित्तो हात मल्दै लैनचौरतिर लाग्यौं।
तर, हामीले हरेस खाएनौं। भोलिपल्ट बिहान ६ नबज्दै नाटक हेर्न इच्छुक 'अस्कले'हरू फेरि लाम लाग्न पुग्यौं। लाम हिजोभन्दा लामो भएकाले टिकट पाइने सम्भावना लगभग शून्य थियो। हाम्रो अनुमान सत्य सावित भयो। हामीले टिकट पाएनौं।
तेस्रो हो कि चौथो दिन, अहिले ठ्याक्क सम्झना भएन, आधा रातदेखि ओढ्ने ओछ्याउनेसहित टिकट काट्न आउनेहरूका पछि लाम लागी टिकट पायौं। यो कति महान् खुसीको कुरा थियो, शब्दमा बयान गर्न सकिँदैन। सायद इन्द्रासन प्राप्त गर्दा शचीपति र इन्द्र पनि त्यति खुसी भएनन् होला जति 'अनि देउराली रुन्छ' को टिकट किन्न पाउँदा हामी खुसी भयौं।
नाटक हेरियो। दंगदास परियो। मैले जीवनमा नाटकको यति ठूलो 'क्रेज' कहिले पनि अनुभव गरिनँ।
'अनि देउराली रुन्छ' नाटक लेखनले भन्दा प्रस्तुतिले शक्तिशाली थियो भन्ने कुरा म त्यसै बेला बुझ्न सक्थेँ। नाटकप्रति, विशेष गरी रंगमञ्चप्रतिको मेरो अभिरुचि बढाउन त्यसले ठूलो भूमिका खेलिदियो। चालीसको दशक लागेपछि मनबहादुर मुखिया 'अनि देउराली रुन्छ' लिई पोखरा आए। पोखरेली युवा सांस्कृतिक परिवारको तर्फबाट हामीले उक्त नाटक टोलीलाई स्वागत अभिनन्दन गर्यौं्।
नेपाली रंगमञ्चमा अभूतपूर्व रूपले आएको 'मुखिया म्यानिया' सुस्तरी सेलाउँदै गयो। म नाटक लेखन र मञ्चनमा व्यस्त हुँदै गएँ। मलाई 'नाटक नै मेरो जीवन र जीवन नै मेरो नाटक हो'जस्तो लाग्न थाल्यो। 'नेपाली नाटक मरे नेपाली संस्कृतिको आत्मा मर्छ' म भन्थेँ। अहिले पनि भन्छु। नाटक लेख्न बस्ता र रंगमञ्चका लागि नाटक निर्देशन र अभिनय गर्दा आफ्ना सम्पूर्ण अप्रिय अस्तित्व हराएजस्तो लाग्थ्यो। जीवनमा आफूलाई पाएर लाग्ने खुसी कस्तो हुन्छ, मलाई थाहा थिएन। जीवनमा आफूलाई हराएर लाग्ने खुसीका साथी मेरा कविता र नाटक थिए।
त्यसैले स्वाभाविक थियो, बेकेटले आफूलाई उपन्यासकार सम्झेझैं मैले पनि आफूलाई कवि र नाटककार सम्भि्कदिएँ। भविष्यमा म उपन्यास लेख्नेछु र मेरा थोरै पाठकमध्ये धेरैले उपन्यासकार भनेरै चिन्लान् भन्ने कहिल्यै कल्पना गरिनँ।
स्वदेशमा होस् वा विदेशमा– हिजोआज मलाई धेरै पाठक 'पागल बस्ती'को लेखकका रूपमा चिन्छन्। आख्यान रुचाउने धेरैले मलाई 'तरुनी खेती', 'समय त्रासदी', 'चुली'को उपन्यासकार भनेर पनि चिन्छन्। थोरैमात्र विज्ञानको चर्चा हुने नेपाली साहित्यमा केहीले मलाई 'एक अविनवको आत्मकथा' को उपन्यासकारका रूपमा पनि चिन्छन्।
उपन्यासकारको चिनारी पाउनु मेरा निम्ति अप्रिय होइन तर यस चिनारीले मेरो 'कवि र नाटककार'को चिनारीमाथि धावा बोल्नु अप्रिय कुरा भइदिएको छ। 
केही वर्षअगाडि म एक नवोदित कविको कविता संग्रह विमोचन गर्न हेटांैडा पुगेको थिएँ। प्रमुख अतिथिको रूपमा आसन ग्रहण गराउनुपूर्व उद्घोषकले मेरो साहित्यिक परिचय दिन थाले। उनले 'पागल बस्ती'लगायत अन्य उपन्यासको चर्चा गरे अनि सकेसम्म प्रशंसात्मक शब्दले अभिनन्दन गर्दै मलाई मञ्चमा बोलाए। म छक्क परेँ। पछि मन्तव्यका क्रममा भनेँ– यो कविताको विशेष कार्यक्रम भएको हुनाले मेरो परिचय एक कविको रूपमा दिइनेछ भन्ने आशा थियो तर'।
यस्तो समस्या अन्य ठाउँमा पनि परिरहन्छ। म न खुसी, न दुःखी हुनुको विचित्र मनोदशा भोगिरहन्छु।
प्रारम्भिक साहित्य यात्राकालमा कविता र नाटकप्रति बढी आकृष्ट हुँदा म उपन्यासप्रति उदासीन थिएँ भन्नु झुटो बोल्नुहुन्छ। वास्तवमा उपन्याससितको मेरो सम्बन्ध असफलता र कुण्ठाको थियो। मैले पहिलोपल्ट २०२८ मा दस कक्षामा अध्ययन गर्दागर्दै उपन्यास लेख्ने प्रयास गरेको थिएँ तर सफल भइनँ। दुई–तीन परिच्छेद लेखेपछि उपन्यास कथाजस्तो भई टुंगियो। उपन्यास लेख्ने पहिलो प्रयास असफल हुँदा म कुण्ठित भइनँ। प्रमाणपत्र तहमा भर्ना भएपछि मैले दुई–तीनपल्ट उपन्यास लेख्ने कोसिस गरेँ। तर प्रत्येकपल्ट असफल। मलाई सम्झना छ, एउटा सामाजिक र एउटा विशुद्ध प्रेम विषयको उपन्यासमा म धेरैअगाडि बढिसकेको थिएँ। ती असफल औपन्यासिक यात्राले मलाई किशोरावस्थामा रोमाञ्च दिए, गन्तव्य दिएनन्।
संवत् २०३८ मा स्नातक तह अध्ययन गर्दागर्दै म नाट्यकर्मी भाइ शंकरराजा श्रेष्ठसित घान्द्रुक घुम्न गएँ। फर्कंदा नौडाँडाको बासमा एउटा उपन्यास रचना गर्ने प्रेरणा जाग्यो। घर पुगेपछि तुरुन्त 'पागल बस्ती' नाम राखी उपन्यास लेखन थालेँ। तर केही परिच्छेद पुगेपछि त्यतिकै अड्क्यो। असफलताले म निराश भएँ। 'पागल बस्ती' का प्रारम्भिक परिच्छेद लेखनका साक्षी मेरा सहोदर भाइहरू सप्त, महेन्द्र, सइन्द्र र नरेन्द्रलाई मैले भनिनँ तर मनमनै सोचेँ– उपन्यास लेख्नु मेरो वशको कुरा होइन। एक होइन, दुई होइन, तीन होइन! 
यही असफलता र कुण्ठामा 'पागल बस्ती' का प्रारम्भिक परिच्छेद लेखिएको कापी घरको बैठक कोठाको खुला दजारमा थन्क्याएर म स्नातकोत्तर अध्ययन गर्न कीर्तिपुरतर्फ लागें। बिदामा फर्कंदा बेलाबेला 'पागल बस्ती' को कापी समातेर भाइहरूलाई हँसाएँ। उनीहरूले सोझै भनेनन् तर नजरमा भने म उपन्यास लेख्न पूरै असफल भइसकेको थिएँ। म आफ्नै नजरमा पनि उपन्यास लेखेर असफल होइन, उपन्यासै लेख्न नसकेर असफल सिद्ध भइसकेको थिएँ।
२०४४ कात्तिकमा पहिलोपल्ट काठमाडौंमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को तेस्रो शिखर सम्मेलन भएको थियो। त्यस अवसरमा विशेष उत्प्रेरणावश मैले 'सार्क मिसाइल' नामक विज्ञान कथा लेखेँ। त्यसपछि 'एक अविनवको आत्मकथा' विज्ञान कथा लेख्नेबारे सोच्न थालेँ। सोच्दै जाँदा कथावस्तुले लघु उपन्यास बन्ने संकेत गर्यो्।
म आफैंलाई नपत्याई लेख्न बसेँ। खरखर्ती केही दिनसम्म लेखेर बसेँ। एक दिन अनायासै थाहा भयो, उपन्यास त लेख्तालेख्तै पूरा भएछ।
म दंग परेँ। किशोरावस्थादेखि उपन्यास लेख्ने धेरै प्रयासको असफलतापछि प्राप्त यो सफलताले उत्साहित पार्नु स्वाभाविकै थियो। यही उत्साहमा 'पागल बस्ती'को लेखन पूर्णता प्रदान गर्नेबारे सोच्न थालेँ।
अकस्मात् म टाइफाइडको सिकार बनेँ। त्यो विषम ज्वर यति भयानक थियो, म झन्डै महिनादिन धेरै औषधि र थोरै अन्न खाई ओछ्यानमा पल्टिरहेँ। अन्ततः तंग्रिएर बस्न सक्ने भएँ। 'पागल बस्ती'को सम्झना आयो। मैले आमालाई दराजबाट कापी, कलम निकालिदिन अनुरोध गरेँ। उहाँले भन्नुभयो, 'यस्तो कमजोरीमा पनि लेख्ने हो? राम्ररी बिसेक भएपछि लेखे हुन्छ।'
मैले आमालाई आफूले लेख्न नचाहेको, कापीमात्र हेर्न चाहेको भावना व्यक्त गरेँ। आमाले भन्नुभयो, 'पढ्दा पनि कमजोरी बढ्छ। आँखामा, जिउमा बल पर्छ।'
मैले जिद्दी गरेपछि उहाँले कापी दिनुभयो तर मातृसुलभ सम्झाइबुझाइ गर्न भने छोड्नुभएन। मैले आमालाई आश्वस्त पार्ने कोसिस गरेँ अनि 'पागल बस्ती'का पाना पल्टाउन थालेँ। आमाको कुरा सत्य थियो, केही हरफ पढ्दापढ्दै मेरा आँखा तिर्मिराए। मैले असाध्य कमजोरी महसुस गरेँ। 
केही दिन यसै गरी बिते। र, एक दिन यिनै कमजोर हातले कलम समातेर 'पागल बस्ती'का नलेखिएका कथा लेख्न बसेँ। प्रत्येक शब्दमा हात काम्यो। कमजोरीले हात काम्दा मन पनि काम्यो। तर लेख्न छाडिनँ। पछि विषम ज्वर र त्यसका अवशिष्ट धक्काबाट मुक्त भएपछि सम्पूर्ण लेखन समाप्त गर्न खासै कठिनाइ परेन।
'पागल बस्ती'को लेखन मेरा लागि मुक्तिको खोजी थियो। म जसरी पनि 'पागल बस्ती'लाई पूर्णता प्रदान गरी आफैंबाट मुक्त हुन चाहन्थें। यो उपन्यास लेख्न बस्ता मैले कहिलेपनि उपन्यासकार बन्छु भन्ने महत्वाकाङ्क्षा राखिनँ। म आफूलाई कवि नै सम्झन्थेँ, नाटककार नै सम्झन्थें र समयको अपरिहार्यताले मात्र मलाई 'पागल बस्ती' लेख्न लगाएको सम्झन्थें। उपन्यास विधाप्रति मेरो असफलता र कुण्ठाको सम्बन्ध विच्छेद भएको थिएन। म उही मनोदशामा थिएँ। 
तर अकस्मात् एक दिन 'पागल बस्ती'लाई मदन पुरस्कार अर्पण गरियो। त्यसपछि म 'मदन पुरस्कार विजयी उपन्यासकार' बनेँ । अनपेक्षित दबाबमा परेँ। अब 'म उपन्यासकार होइन' भनी भाग्ने कुनै बाटो थिएन। मानिसहरुले जहाँ, जस्तो अवस्थाका भेटे पनि पक्राउ गर्न थालिहाले, 'अब अर्काे उपन्यास कहिले?'
'कहिले कहिले!' झर्कन पनि मिलेन, फसाद पर्योय। म प्रश्नकर्ता शुभचिन्तकलाई काम चलाउ वा गोलमाल उत्तर दिँदै साबिकबमोजिम कविता र नाटक लेखनमै केन्द्रित भइरहेँ। 
'पागल बस्ती'को लेखनपछि मसित अर्काे उपन्यास लेखनको कुनै योजना थिएन। उपन्यासकार बन्छु भन्ने महŒवाकांक्षा नभएपछि उपन्यास लेखन गर्ने योजना नहुनु स्वाभाविक थियो। तर समय बित्तै जाँदा, शुभचिन्तकहरूको निरन्तरको अपेक्षाले 'अर्काे एउटा उपन्यास लेख्नुपर्छ कि क्या हो!' भन्ने भावना जाग्न थाल्यो। एक दिन मनमा एउटा विचार आयो– मैले 'पागल बस्ती'को ढोकाभन्दा बाहिरको विशाल समाजबारे उपन्यास रचना गर्नुपर्छ। 'पागल बस्ती' मेरो भावना हो, मेरो सपना हो र मेरो दर्शन हो। तर वास्तविक समाज आफ्नो सम्पूर्ण मानवीय इतिहाससहित 'पागल बस्ती' को मूल ढोकाभन्दा बाहिर बसेको छ। यदि म लेखक हुँ भने त्यस समाजलाई नदेखेझैं गर्नुहुन्न। मैले यो विशाल समाजको ब्लुप्रिन्ट उतार्नुपर्छ।
'तरुनी खेती!' नाम तत्काल सुझिहाल्यो। तर नाम सुझेपछि लाज पनि लाग्यो। 'के मैले यस्तो विषयमा उपन्यास लेख्न सुहाउँछ?' मैले आफैलाई सोधेँ। आखिर म 'पागल बस्ती'को लेखक, 'तरुनी खेती' लेख्ता समाजले के भन्ला? मैले आफैमाथि प्रश्न थपेँ।
पहिलो सोधाइको जवाफ मनले दियो– लेखक होस् भने लेख्! लेखन भनेको गहन प्रतिबद्धता हो, सुहाउन, नसुहाउनका लागि सुनचाँदीको गहना होइन।
दोस्रो सोधाइको जवाफ पनि मनले नै दियो– समाजले के भन्ला भन्ने डर मान्ने हो भने किन लेखक हुनुपर्योत? बाबुको पसलमा बस् अनि कपडा च्यात्!
आफ्नै सोधाइमा जवाफका दनक खाएपछि म उपन्यास लेख्न मानसिक रूपले तयार भएँ। सुरुमै मलाई लाग्यो, यो उपन्यास 'पागल बस्ती'भन्दा सबै दृष्टिले भिन्न हुनुपर्छ अनि तरुनी खेतीजन्य कुरूप यथार्थलाई कुरूपतापूर्वक अभिव्यक्त गर्नु हुँदैन। लेखकले नग्न र कुरूपताबारे लेख्नुपर्छ तर आफै नग्न र कुरूप बन्नु हुन्न। इत्यादि कुरा सोचियो।
मैले उपन्यासको कथावस्तुमाथि काम थालेँ। साथै प्रस्तुति, शैलीमाथि पनि सोचविचार गर्न थालेँ। कताकता आभास भयो– 'तरुनी खेती'को कथा पुरानो र समाजका सबैलाई थाहा भएकै कथा हो। मानवजातिको सभ्यता जति पुरानो छ, यो कथा पनि त्यति नै पुरानो छ। यसैले मैले कथालाई होइन, प्रस्तुति, शैलीलाई बढी महŒव दिनुपर्छ। प्रस्तुति मनपर्योप भने पाठकले उपन्यास मन पराउने हो, नत्र उपन्यास 'डिस्आस्टर' याने दुर्दशा, विपत्तिमात्र हुनेछ। 
'पागल बस्ती'को लोकप्रियता र अन्य धेरै चुनौती अनुभूत गर्दै म 'तरुनी खेती' लेख्न बसेँ। सुस्तरी। साह्रै सुस्तरी। प्रत्येक दिन धेरै विचार गर्दै, थोरै लेख्तै। यस्तो लेखाइ खरायोजस्तो छिटो दगुर्ने मनका लागि धेरै कष्टप्रद हुन्छ। मलाई पनि भयो। वर्ष दिनजतिको थोरैथोरै लेखाइले जब उपन्यास पूर्ण भयो, म थकाइले खुसी भएँ। केही दिनपछि काठमाडौं गएको बेला रत्न पुस्तक भण्डारका गोविन्द श्रेष्ठसित उपन्यास प्रकाशनसम्बन्धी कुरा भयो। उनले सहर्ष प्रकाशनको जिम्मा लिए। 
'पागल बस्ती' प्रेमीहरूले यस उपन्यासलाई कसरी लेलान्? यो मेरा लागि सबभन्दा ठूलो र कठोर प्रश्न थियो। मैले मेरा अग्रज उपन्यासकारहरू मदनमणि दीक्षित, दौलतविक्रम विष्ट, पारिजात, विजय मल्ल, गोविन्द गोठाले, रमेश विकल, लीलबहादुर क्षेत्री, इन्द्र बहादुर राई, धच गोतामे, ध्रुवचन्द्र गौतम आदि कसैको सामना गर्नुपर्ने थिएन। मैले खालि 'पागल बस्ती' प्रेमीहरूको मात्र सामना गर्नुपर्थ्याे। र, यो नै सबैभन्दा गाह्रो काम थियो।
संवत् २०५३ मा 'तरुनी खेती' छापियो। उपन्यास प्रकाशित भएपछि म जे कुराले डराएको थिएँ, त्यही भयो। अधिकांश 'पागल बस्ती' प्रेमीहरूले अप्रिय झट्का महसुस गरे। मैले स्रष्टाको रूपमा 'तरुनी खेती' प्रस्ट्याउने चेष्टा पनि गरेँ। केही पत्रिकामा भनेँ पनि 'तरुनी खेती' मेरो 'डास क्यापिटल' हो। मार्क्सले 'डास क्यापिटल'मा पुँजीवादी अर्थतन्त्रको विश्लेषण गरेझैं मैले 'तरुनी खेती'मा पुरुषप्रधान समाजको आधार अथवा स्त्रीपुरुष सम्बन्धको अवस्था विश्लेषण गरेको छु।
मेरो यस कथनलाई कसैले अतिशयोक्तिपूर्ण अभिव्यक्तिको रूपमा लिए/लिएनन्, थाहा पाइनँ तर कसैले पनि यस उपन्यासलाई स्वागत गरेनन्। मैले उपन्यासको छोटो भूमिका 'सापेक्ष'मा 'यसलाई पुरुषहरूले गलत नबुझून्, नारीहरूले बुझ्न इन्कार नगरून्' भनी अहम् कामना गरेको थिएँ। यसको ठिकविपरीत परिस्थितिले मलाई बोध गरायो– पुरुषहरूले गलत बुझिदिए, नारीहरूले बुझ्न इन्कार गरिदिए। 
म तनावग्रस्त भएर सोच्न थालेँ– 'तरुनी खेती' लेखेर साँच्चै गलत त गरिनँ? यो उपन्यास रचना गर्दागर्दै म बीचमा धर्मराएको थिएँ, कतै त्यो धरमरै ठिक त थिएन?
क्या फसाद! म आफैंदेखि दिक्क भएँ। एक दिन अकस्मात् मेरा साहित्यिक मित्र विनोद गौचनको फोन आयो।
'सरुभक्त, मैले 'तरुनी खेती' पढेँ,' उनले भने।
'कस्तो लाग्यो?' मैले डराईडराई सोधेँ।
'मलाई साह्रै स्तरीय लाग्यो। म 'तरुनी खेती' बोकेर गाउँतिर घुम्न गएको थिएँ, त्यसका एकएक वाक्य ध्यानपूर्वक पढेँ– 'आई रियल्ली इन्जोइड!' 
ल, धन्यवाद! 'तरुनी खेती'बारे कुनै पनि साहित्यकारबाट प्राप्त भएको यो पहिलो सकारात्मक टिप्पणी हो।' मैले खुसी व्यक्त गर्दै भनेँ। म तनावको लामो सिलसिलाबाट अलि मुक्त पनि भएँ।
यसबीच कार्यवश म काठमाडौं गएँ। काठमाडौं पुगेकै दिन साँझ विश्वविद्यालयकालीन मित्र एवं कवि मञ्जुललाई भेट्न उनकै निवास पुगेँ। मलाई देख्नासाथ उनले भने– 'सरु, तिम्रो लोकप्रिय उपन्यास 'पागल बस्ती' हो। यसमा कुनै शंका छैन तर मलाई व्यक्तिगत रूपले 'पागल बस्ती'भन्दा 'तरुनी खेती' मनपर्यो । मानिसले यसको गहनता बुझेका छैनन्।'
मञ्जुलको कथन खडेरी परेको मनमा झरझर वर्षा भएजस्तै थियो। म पुलकित भएँ। डगमगाएको आत्मविश्वासले एक ठोस आधार भेटेजस्तै महसुस गरेँ मैले।
तर साधारण पाठकीय प्रतिक्रिया जम्मै नकारात्मक थिए। कतिलाई उपन्यासको शीर्षक मन परेन, कतिलाई आरम्भ मन परेन, कतिलाई उपन्यासको सार्वनामिकता मन परेन, कतिलाई शून्यप्रायः विस्तार मन परेन, कतिलाई खेत भनिएको मन परेन। मन परेन वा आपत्तिजनक लाग्यो भन्नेहरूका वृद्धिमान लामको विकल्पमा कुनै नाम देखिएन। मलाई लाग्यो– विनोद गौचन र मञ्जुलका बोली मित्रबोली हुन् तर अन्य पाठकीय बोली शत्रुबोली।
त्यसताका काठमाडौंमा केही चर्चित, उदीयमान, जागरुक एवं सिर्जनशील नारी स्रष्टाले 'गुञ्जन' स्थापना गरिसकेका थिए। 'गुञ्जन'ले नियमित रूपमा चर्चित पुस्तकमाथि अन्तरक्रिया गर्थ्याे र त्यस्ता अन्तरक्रियामा सकेसम्म लेखकलाई पनि उपस्थित गराइन्थ्यो। यही क्रममा 'तरुनी खेती'माथि अन्तरक्रिया गरिने निमन्त्रणा मैले पाएँ। लाग्यो, 'तरुनी खेती'को स्रष्टा भएकाले मैले देशका जागरुक एवं सिर्जनशील महिलाको सामना एक न एक दिन गर्नैपर्थ्यो, अहिले अवसर प्राप्त भएको छ। यदि मैले दिदीबहिनीको सामना गर्न सकेँ भने अरू जोसुकैको सामना गर्न सक्नेछु। यो मेरा लागि अवसरमात्र होइन, अग्निपरीक्षा पनि हो, जुन साहित्यकार दिदीबहिनीले रामले जस्तो झुटो मर्यादाको खोल ओढेर लिन चाहेका होइनन्।
अन्तरक्रिया सुलोचना मानन्धरको निवासमा राखिएको थियो। नियत दिन, नियत समय म साहित्यकार उषा शेरचनको पछि लागेर सुलोचनाको निवासमा पुगेँ। 'गुञ्जन'की संयोजक पद्मावती सिंह, गीता केशरी, भागीरथी श्रेष्ठ, प्रतिशरा सायमि, चन्द्रकला नेवार, ज्ञानु पाण्डे, सुस्मिता नेपाल, बबिता बस्नेत र अन्य केही महिला साहित्यकार उपस्थित भइसकेका थिए– सबै मेरा आत्मीय दिदीबहिनीहरू! मलाई महसुस भयो, आजको 'अग्निपरीक्षा'मा उत्तीर्ण हुन नसके पनि मैले धेरै अपमानबोध गर्नुपर्नेछैन। दिदीबहिनीका अगाडि केको मान, केको अपमान!
मैले सजिलो महसुस गरेँ तर मनभित्रको अर्को मनले भन्यो– 'सावधान स्रष्टा! यहाँ तँ होइन, तेरो सिर्जना परीक्षामा परेको छ। यदि दिदीबहिनीले तेरो सिर्जनालाई असफल प्रमाणित गरिदिए भने तेरो औपन्यासिक यात्रा यहीँ टुंगिनेछ। घर गएर तैंले 'तरुनी खेती'का सबै प्रति जलाइदिए हुन्छ।' 
सजिलो मान्दामान्दै म अव्यक्त रूपमा केही असजिलो पनि मान्न थालेँ। 'गुञ्जन'को परम्पराअनुसार कार्यक्रम आरम्भ भयो। दिदीबहिनीले पालैपालो 'तरुनी खेती'सम्बन्धी आफ्ना विश्लेषणात्मक धारणा प्रस्तुत गरे। त्यसपछि प्रश्नको ओइरो लागे।
अधिकांश दिदीबहिनीको आपत्ति थियो– किन उपन्यासको नाम 'तरुनी खेती' राखियो? यो नामले नारी जातिकै अपमान गर्दैन? 
मैले भनेँ, 'तरुनी खेती नगर्ने सरुभक्त 'तरुनी खेती' रचना गर्न अभिशप्त छ। यदि मेरो यस उपन्यासको नामले पुरुषहरूलाई आक्रोशित पार्दैन र महिलाहरूलाई अपमानबोध गराउँदैन भने त्यसलाई म आफ्नो असफलता सम्झनेछु।'
गीताकेशरी दिदीले लामो नोट तयार पारिराख्नुभएको रहेछ। उहाँले बुँदागत रूपमा आफ्ना सहमति, असहमति जनाउनुभयो र अन्तमा भन्नुभयो, 'तपाईंले पुरुषप्रधान समाजमा महिलाको अवस्थाको चित्रण गरेँ भन्नुभयो। के महिलाको अवस्था यस्तै गएगुज्रेको छ? कतै तपाईंले पुरुषप्रधान समाजकै पृष्ठपोषण त गरिराख्नुभएको छैन?'
गहन प्रश्नहरूको धावा! मलाई कुन प्रश्नको उत्तर दिउँ्क वा नदिउँ्क भनेजस्तो लाग्यो। गीताकेशरीका प्रश्नका धावामाथि ज्ञानु पाण्डे बहिनीका गहन प्रश्नका धावा चले। बीचैमा सुलोचना बहिनी, पद्मावती र भागीरथी दिदीका प्रश्नात्मक धावा चले। बबिता बस्नेत बहिनीले प्रश्नको धावा बोलिनन् तर 'तरुनी खेती' हातमा बोकी हिँड्न असजिलो भएको संस्मरण सुनाइन्। सुस्मिता बहिनी बोल्दै बोलिनन्। उनले ध्यानपूर्वक सुनिमात्र रहिन्। उषाले तटस्थ बनी अन्तरक्रियामा सहजीकरण गरिरहिन्। 
अन्ततोगत्वा मैले भनेँ, 'तरुनी खेतीमा मैले स्त्रीपुरुष सम्बन्ध र समाजको यथार्थ चित्र उतारेको हुँ। यो तपाईंहरूजस्ता पढेलेखेका, अवसर पाएका केही महिलाको कथाव्यथा होइन। आममहिलाले सदियौंदेखि भोग्दै आएको यथार्थ हो। अहिले पनि तपाईंहरू आफू वरिपरिको समाजमा महिलाको वास्तविक स्थान कहाँ छ, कस्तो छ अध्ययन गर्नुहोस्। महिलाहरूले वास्तविक आवाज कहाँ पाएका छन्? उनीहरूले वास्तविक अधिकार कहाँ पाएका छन्? मैले यस उपन्यासमा पुरुषप्रधान समाजले सदियौंदेखि धर्म, समाज, परिवार, मर्यादा, परम्परा आदिले ढाकछोप गरिराखेको मूल यथार्थलाई पर्दाफास गरेको हुँ। पुरुषप्रधान समाजको पर्दाफास गर्दा पुरुषप्रधान समाजको पृष्ठपोषण हुन्छ जस्तो मलाई लाग्दैन।'
दिदीबहिनीले ध्यानपूर्वक मेरो कुरा सुने अनि हृदयङ्गम गरे। बीचमा एउटा मौनता छायो। त्यो मौनता भंग गर्दै पद्मावती दिदीले भन्नुभयो, 'भाइको कुराप्रति म शतप्रतिशत सहमत छु। नारी जातिको चरम शोषण र यथार्थबारेको यस्तो उपन्यास हामी नारी स्रष्टाले लेख्नुपर्ने, तपाईंले लेखिदिनुभयो, धन्यवाद!'
कार्यक्रम सकियो। धेरैले पद्मावती दिदीको कुरालाई आआफ्ना अन्दाजमा समर्थन जनाए। दिदीबहिनीले 'तरुनी खेती'को मर्म बुझे भन्ने अनुभूतिले म गद्गद् भएँ। त्यहाँबाट हिँड्ने बेला कसैले मलाई साहित्यकार दिदी भुवन ढुंगानाको चिठी दिए। लेखिएको थियो— सरुभक्त भाइ, स्वास्थ्यको कारणले कार्यक्रममा उपस्थित हुन सकिनँ तर पनि म हार्दिक शुभेच्छा व्यक्त गर्छु। तपाईंको उपन्यास 'तरुनी खेती' मैले अध्ययन गरें। सुरुमा 'तरुनी खेती' भन्ने नाम आपत्तिजनक लागेको थियो तर उपन्यास पढिसकेपछि कुनै आग्रह रहेन। योभन्दा उपयुक्त नाम अरू हुन सक्छ भन्ने नै लागेन। तपाईंले उपन्यासमा मर्यादित, शिष्ट, संयमित भाषाशैली प्रयोग गर्नुभएकोमा पनि खुसी लागेको छ।
भुवन दिदीको चिठीले मेरो आत्मविश्वासमा ठूलो बल प्रदान गर्योय। केही कालपछि समालोचक बहिनी ज्ञानु पाण्डेले 'तरुनी खेती'को सुन्दर समालोचना लेखिन्। मलाई महसुस भयो, दिदीबहिनीका यी प्रतिक्रिया औपन्यासिक यात्रा अघि बढाउन मलाई दिइएका प्रेरणादायी स्वीकृति हुन्।
आँसुले ल्याएको सफलता

आँसुले ल्याएको सफलता

'मेरो जीवनमा सबै कुरा छिटोछिटो भयो,' लिली थापाले मधुर आवाजमा भनिन्। १३ वर्षमै एसएलसी सकेकी उनी २८ वर्षमै तीन छोराकी आमा बनिन्। खुसीको आगमन जति छिटो भयो त्यत्ति नै छिटो उनका...

रङहरूको अस्वाभाविक संयोजन

आकाशमुनि ठिंग उभिएको छ, एउटा खुल्ला ढोका। ढोकाको वारि र पारि फैलिएको छ चौर र त्यसमाथि छ आकाशको छानो! 'निर्बन्ध मोन्टाज' निबन्धसंग्रहको आवरण यस्तो छ। पहिलोपल्ट पुस्तकको यस्तो आवरणकला देख्दा...

आत्महत्याको बीउ : मोन्सान्टो

मोन्सान्टो इन्डियाको वेबसाइटमा लेखिएको छ, 'मोन्सान्टो एक कृषि कम्पनी हो। हामी नयाँ प्रविधि र आविष्कारको माध्यमबाट विश्वभरका कृषकलाई धेरैभन्दा धेरै उत्पादन गरी उनीहरूको जीवनस्तर माथि उठाउन सहयोग गर्दछौं।' साइटका तस्बिरहरूमा...

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

सुन्दरपुर (उद्यपुर)– 'पहिले फुसको छाप्रो बनाएर केही समय त्यसै छाड्छन्। अनि चुरेवनकै रुख काटेर सखुवाको खम्बा गाड्छन् र एक–दुई कोठा बनाउँछन्। यति गर्दा पनि कसैले औंला नउठाए क्रंक्रिटकै घर बनाउँछन्,'...

क्रिसमसमा रमाइलो

क्रिसमसमा रमाइलो

विश्वमा मनाइने क्रिसमस हामीले पनि रमाइलो गर्दै मनायौं। त्यस दिन फरक हाँसो, जाँगर, स्फुर्ति र जिज्ञासा थियो। कार्यक्रममा एकपछि अर्को गर्दै स्वागत गीत, आइ.एम.लिटिल स्टार, जिङ्गलबेल, वाकावाका र नेपाली नृत्य...

सन्तानलाई पैसा होइन, समय दिऊँ

कुनै काम सफल पार्न काम गर्ने व्यक्तिमा त्यससम्बन्धी ज्ञान र अनुभव दुवै हुनुपर्छ। सन्तानको लालनपालनमा पनि यो लागू हुन्छ। तर, अधिकांश मामिलामा पहिलोपटक आमाबाबु हुनेसँग यो दुवै हुँदैन। कसैकसैसँग किताबी...

नबिझाउने, नबिलाउने

नबिझाउने, नबिलाउने

'नारी पुरुष, एक रथका दुई पांग्रा'यो उक्ति अभिनेत्री मिथिला शर्मालाई सही लाग्छ। उनको रथ भने एक पांग्रामै सन्तुलित देखिन्छ। 'तपाईंले त एक पांग्राकै भरमा छलाङ मार्नुभयो नि?' अविवाहित यी अभिनेत्री...

त्यो बालापन

९५ वर्ष पुग्नै लागेका संस्कृतिविद् सत्यमोहन जोशी बिहानीको तातो घाम खोज्दै आँगनमा रहेको सोफामा बसे। अग्ला घर छिचोल्दै घामका किरण आँगनमा छरिएका थिए। सहर यस्तो भइसक्यो, निर्वाध घामका किरण आँगनसम्म...