Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

नागरिक शनिबार

विम्ली आफैं बोली

  • २९ चैत्र, २०७०
  • आन्विका गिरी
  • DISQUS_COMMENTS
(1 Vote)
विम्ली आफैं बोली
'बुवा विम्लीको पेनको निभ भाँचियो!' मैले भन्दिनुपर्ने।
'बुवा विम्लीको कापी छैन!' मैले जानकारी दिनुपर्ने!
'बुवा विम्लीको चप्पल चुँडियो!' मैले सिफारिस गर्दिनुपर्ने, 'उसलाई जाली भाको चप्पल चाहियो रे!'
'बुवा विम्ली यसपालि पनि फर्स्ट भई नि!' मैले सुनाइदिनुपर्ने।
'बुवा विम्लीलाई पिकनिक जान पचास रुपैयाँ दिनुस् रे!' मैले मागिदिनुपर्ने।

'तँ विम्लीको चम्चा होस्,' बा मलाई हकार्नुहुन्थ्यो, 'विम्लीको मुख छैन!' अरूबेला बा मलाई कहिल्यै तँ भन्नुहुन्थेन। विम्लीको रिसको झाँेक बा ममाथि पनि खन्याउनुहुन्थ्यो। 
विम्लीको मुख किन नहुनु! तर विम्ली बोल्दिनथी। आमासँग, स्कुलमा साथीहरूसँग बाहेक विम्लीको मुख घरमा खुल्दैनथ्यो। विम्ली मेरी दिदी हो। मभन्दा दुई वर्ष जेठी! घरमा बुवा र आमाले उसलाई मैले बोल्न सिक्दै गर्दा विम्ली भनेर बोलाएको सुनेपछि मैले पनि उसलाई सधैं विम्लीमात्र भनेँ। खासमा त ऊ विमला हो नि! तर न बाले न आमाले मलाई 'विम्ली होइन, विमला दिदी भन्' भन्नुभएन। विम्ली आफैंले पनि भनिन। 
अँ, अनि म विम्लीको चम्चा नै थिएँ। हाम्रा आवश्यकता बालाई नभनी पूरा नहुने अनि बाको सामुन्ने विम्ली बोल्नै नसक्ने। म सेतुको काम गर्थें। सुरुमा त 'तँ आफैं भन्, म भन्दिन' भनेर मैले नभनेको होइन तर ऊ बोल्नै नसक्ने भएपछि मैले भनिदिन थाले। कहिलेकाहीँ मेरो काम आमाले पनि गर्नुहुन्थ्यो। खासमा पहिला आमा नै विम्लीका लागि बोल्नुहुन्थ्यो। अलि टाठो भएपछि आमाको ठाउँ मैले लिएँ। 
विम्लीको कुरा बाले सुन्दै नसुन्ने होइन। विम्लीले जे मागे पनि पाएकै थिई। कापी, किताब, दसैंमा लुगा, जालीवाला चप्पल, पिकनिक जाने पैसा; मागेको सबै पाउँथी। उसका माग्ने कुरा पनि धेरै थिएनन्। मझैं घरमै क्यारामबोर्ड उसलाई चाहिएको थिएन। मझैं टिकटिके घडी उसले मागेकी थिइन। मलाई झैं दिनदिनै चकलेट पनि उसलाई खानुपरेको थिएन। मेरोझैं उसको बारबार पेन हराउँदा पनि हराउँदैनथ्यो। मझै दसैंमा उसलाई लुगासँगै कालो चस्मा पनि चाहिन्नथ्यो। 
'बा बाघ हो?' म उसलाई जिस्काउँथेँ, 'तँलाई खानुहुन्छ?'
'अहिले मारिदिन्छु अनि!' ऊ मलाई लखेट्थी। भेटीहाली भने टाउकोमा हान्थी पनि तर वरपर बालाई देखी भने दौडेर घरभित्र पस्थी। अनि पढ्न थालिहाल्थी। बा घरमा हुँदा विम्ली कराएर पनि पढ्दैनथी। 
बा जिल्ला प्रशासन कार्यलयमा सुब्बा हुनुहुन्थ्यो। अलिकति खेत पनि थियो। 'हामी दुई, हाम्रा दुई' बाआमाले यही सोचे क्यारे, हामी दुई सन्तानपछि बाले अपरेसन गराउनुभएको थियो। आमाले भनेर थाहा पाएको! 
म पाँचमा, विम्ली सातमा पढ्थी। दसैंको रन्को लागेको थियो। विम्लीलाई पाइन्ट चाहिएको थियो। उसले पाइन्ट लगाएकै थिइन। परारसम्म सधैं जामा लगाउने उसलाई पोहोर कुर्ता सुरुवाल किनिदिनुभएको थियो। विम्लीले पाइन्टको कुरा झिक्दा पनि झिक्दैनथी होली। मैले नै उसलाई उचालेको हो। बासँग गर्मीको छुट्टी हुँदा बजार गएका बेला विम्लीकै उमेरकी केटीले पाइन्ट ला'को देखेपछि मलाई पनि विम्ली पाइन्टमा कस्ती देखिएली हेर्न मन लागेको थियो। आफूलाई भए त म उतिखेरै किनाउँथे, विम्लीका लागि भने दसैं नै कुरेर बस्नुपर्थ्यो। अरूबेला विम्लीलाई लुगा चाहिएकै हुन्थेन। उसैलाई नचाहिएपछि मैलेमात्र भनेर के हुन्थ्यो र!
'विम्ली तँ पाइन्ट किन्,' मैले भनेँ, 'जिन्सको पाइन्ट र टिसर्ट तँलाई सुहाउँछ।'
'गाउँमा कसैले लाएको छ र पाइन्ट!' उसले मन गरिन। 
'गाउँमा कोही क्लास फर्स्ट भा'को छ,' मैले चम्किँदै भने, 'मेरी दिदी अरूभन्दा त फरक हुनैपर्योर नि!'
'तैंले बालाई भन्दिन्छस् त?' उसले चासो देखाई। 
बा अफिसबाट आउनुभएकै थिएन। हामी आँगनको झार उखेल्दै थियौं। हाम्रो आँगनको कुनाकानीमा अलिअलि झार उम्रेका थिए। आमाले गोबरले आँगन लिप्नुअघि हामीलाई झार उखेली भ्याउने काम अह्राउनुभएको थियो। 
'तेरो मुख छैन?' मेरो पारो तात्यो, 'कहिले त बोल् विम्ली!'
'तंैले भन्दिने भए भन्दे नत्र भयो,' ऊ पनि ताती, 'मलाई लाउनुपरेको छैन पाइन्ट!'
बासँग पो विम्लीको बोली फुट्दैनथ्यो, मसँग त सन्किइहाल्थी नि! 
'म भन्दिन्छु,' म सेलाएँ, 'भरे बालाई भन्छु, हामी भोलि नै बजार जानुपर्छ!'
विम्ली आखिर मेरी एउटीमात्र दिदी थिई, कम्ता माया लाग्दैनथ्यो मलाई उसको। ऊ पनि मलाई खुब माया गर्थी। एकादशी, पूर्णिमामा अनि अरू व्रतमा आमाले टीका लगाएर दिएको पैसा ऊ मसँग बाँड्थी। छोरा भएकाले मैले दसैंमा समेत पैसा पाउन्न थिएँ। बा आफ्नो र आमाको गोडा राखेर ढोग्ने पैसा त मलाई दिनुहुन्थ्यो तर मैले गोडामा राख्नेबित्तिकै आफ्नो खल्तीमा हालिहाल्नुहुन्थ्यो। 
'छोरालाई के को पैसा!' बा हात हल्लाउँदै भन्नुहुन्थ्यो। 
'बालख छ दिनुस् न!' आमालाई मेरो माया लाग्थ्यो। 
अनि बा खल्तीबाट निकालेर पैसा दिनुहुन्थ्यो तर आधामात्र। म कालो अनुहार लाउँथे। हामीलाई टीका लगाएर बा पण्डितकोमा टीका थाप्न जानेबित्तिकै विम्ली मलाई आफूले पाएको पैसाको आधा दि'हाल्थी। 
यति माया गर्ने दिदीका लागि बासँग पाइन्ट त के म जेको पनि कुरा गर्न सक्थेँ। 
बा साँझ अफिसबाट आउनुभयो। कोट फुकालेर भित्ताको काँटीमा झुन्ड्याउनुभयो। लुगा फेर्नुभो। हाफ पाइन्ट र सेन्डोगन्जी। कल जानुभयो, हातगोडा मुख धोएर आउनुभयो। दलानको कुर्सीमा बस्नुभो। यतिखेरसम्म आमाले बाका लागि कागती पानी र तौलिया ल्याउनुभयो। मुख पुछिसकेपछि बाले कागती पानी एकै घुट्कोमा स्वाट्ट पार्नुभो। अनि मलाई बोलाउनुभयो। गर्मीमा बाले अफिसबाट फर्केपछि गर्ने नियमित काम यही हो। जाडोमा बा कोठामै बस्नुहुन्थ्यो, कागती पानीको सट्टा चिया पिउनुहुन्थ्यो। हाफ पाइन्टको र गन्जीको सट्टा ट्राउजर र भेस्टमाथि स्वेटर लाउनुहुन्थ्यो। तर मलाई बोलाएर स्कुलमा आज के पढाइ भो भनेर सोध्ने कामचाहिँ जुनसुकै मौसममा पनि चल्थ्यो। स्कुल नभएको दिन घरमा के गरिस् त भनेर सोध्नुहुन्थ्यो। शनिबार त म बासँगै कहिले कसकोमा त कहिले कसकोमा जान्थेँ। घरमै भए टिभी हेर्थें, बा मलाई देश दुनियाँका समाचार बुझाउने कोसिस गर्नुहुन्थ्यो। बा घरमा हुँदा कोही न कोही आइराख्थ्यो। कहिले बाका अफिसका साथी त कहिले गाउँका मान्छे। नयाँ मान्छे आए भने बा मलाई उनीहरूसँग चिनाउनुहुन्थ्यो। चिनेका मान्छे आए मेरो पाठ्यक्रमकै कविता सुनाउन लाउनुहुन्थ्यो। बाले विम्लीलाई कहिल्यै कसैसँग चिनाउनुभएन। बाले विम्लीलाई न कतै लिएर जानुहुन्नथ्यो। 
'बा विम्ली पनि बजार जान्छे रे!' एकचोटि मैले भनेको पनि थिएँ। 
'पर्दैन,' बाले भन्नुभयो। बाको आवाज विम्लीले पनि सुनेकी थिई। त्यसपछि विम्लीले कहिल्यै बजार जाने कुरा गरिन। आमाले लान खोज्दा पनि विम्ली जान्नथी। 
बा हरेक वर्ष हाम्रो रिजल्ट भएपछि कुन विषयमा कति नम्बर आयो भनेर लिन आउनुहुन्थ्यो। तर बाको खल्तीमा आमाले लुगा धुँदा विम्लीको कुन विषयमा कति नम्बर आयो भनेर लेखेर ल्याएको चिट भेट्नुभएन। मेरोमात्र भेट्नुहुन्थ्यो र मलाई राख् भनेर दिनुहुन्थ्यो। मेरो पनि पढाइ अगतिलो थिएन। टप फाइभमा त परेकै हुन्थेँ। 
त्यो साँझ बाले कागती पानी घुट्याइसकेपछि मलाई बोलाउनुभयो। 
'कति काम गर्यौग त आज तिमीले?' बाले सोध्नुभयो। 
'आधा त सकियो,' मैले आँगनमा झार उखेलिसकेपट्टि देखाएर भनेँ। 
बा मुस्काउनुभयो। 
'बा विम्लीलाई यसपालि दसैंमा जिन्सको पाइन्ट र भेस्ट किन्दिनु रे!' मैले आफ्नो चाहलाई विम्लीको बोली बनाउन रे थपेर भनेँ। 
बाको अनुहारको मुस्कान गयो। 
'पर्दैन!' बाले यत्ति भन्नुभो। बाले जुन कुरा विम्लीका लागि 'पर्दैन' भन्नुहुन्थ्यो, त्यो कुरा उसले कसैगरे पनि पाउँदिनथी। मैले जति नै भने पनि विम्लीका लागि जिन्स पाइन्ट आएन। आकाशे रङको कुर्तासुरुवालको कपडा बा आफैंले ल्याइदिनुभयो। विम्लीको पोहोरकै कुर्ता लिएर आमाले बजारबाट सिलाएर ल्याइदिनुभो। विम्ली जान मानिन। पेट दुख्यो भनी। 
'तैंले बेकारमा भनिस्,' विम्लीले मलाई स्कुल लागेपछि एकदिन स्कुल जाँदा बाटामा भनी। 
'के?' मैले त बिर्सिसकेको थिएँ। 
'बासँग पाइन्टको कुरा!' उसले सम्भि्करा'की रहिछे। 
'मलाई कमाउन दे,' मैले आँखा चम्काउँदै भनेँ, 'जिन्सका पाइन्ट त बोराका बोरा ल्याइदिन्छु!'
विम्ली पेट मिचीमिची हाँसी। विम्ली घरमा त्यसरी कहिल्यै हाँस्दिनथी। हाँस्दा विम्लीका आँखा उजेला देखिन्थे। मलाई आफ्नी दिदीका उजेला आँखा मन पर्थे। 
हाम्री एकजना फुपू पनि हुनुहुन्थ्यो। फुपूको जिम्मा बाको काँधमा राखेर हजुरबुवा हजुरआमा परलोक पुगिसक्नुभएको थियो। तर बालाई छाडेर गएका जिम्मेवारी फुपू आफैंले बिहे गरेर आफैं पूरा गर्नुभएको थियो। फुपाजू दनुवार हुनुहुन्थ्यो। दनुवारको पानी चल्दैन भनेर बाले फुपूलाई फिर्ता ल्याउनुभयो। पुलिस, प्रशासन लगाएर बाले कमला फुपूलाई घरमा त ल्याउनुभयो तर फुपूलाई जीवितचाहिँ राख्न सक्नुभएन। आफ्नै सलको पासो लगाएर फुपू माथिको कोठामा झुन्डिनुभएको थियो रे। फुपू नझुन्डिउन्जेलसम्म त हाम्रो दुईतलाकै घर थियो रे। पछि बाले एकतले त्यो पनि होचो घर बनाउनुभएको रे। फुपू झुन्डेकै वर्ष विम्ली जन्मिएकी रे! 
यी कुरा खासमा आमा विम्लीसँग बा घरमा नभएका बेला भान्छामा काम गर्दै गर्नुहुन्थ्यो। म घरि चिनी त घरि अलिकति मह माग्न जाँदा सुन्थेँ। 
'हाम्री फुपू कस्ती हुनुहुन्थ्यो आमा?' एकदिन विम्ली सोध्दै थिई। 
'आमा चिनी!' भन्दै म पुगेँ। आमा चुप लाग्नुभो। विम्लीले पनि केही सोधिन। म चिनी लिएर बाहिरिँदा विम्ली पनि बाल्टिन बोकेर पानी लिन बाहिर आई। 
'फुपू कस्ती हुनुहुन्थ्यो भन्नुभयो त तँलाई आमाले?' मैले पछि विम्लीलाई सोधेको थिएँ। 
'तँ खुब कान थापीथापी कुरा सुन्छस् है!' विम्लीले मलाई हकारी। बासँग फुपूको कुरा सोध्ने आँट ममा कहिल्यै आएन। पछिपछि आमाले विम्लीसँग फुपूको कुरा गरेको पनि सुनिनँ। बा तिहारमा टाढाकी नातेदारसँग टीका लगाउन जानुहुन्थ्यो। 
खासमा बा आमासँग र विम्लीसँग एकदमै कम बोल्नुहुन्थ्यो। 
'विम्ली पानी ल्या!' बाले धेरैजसो भन्ने यही नै थियो। 
'राधा खाना पस्क,' आमासँग पनि बाको यस्तैउस्तै गफमात्र म सुन्थेँ। 
म बासँग सुत्थेँ, विम्ली आमासँग! आमा पनि बासँग कमै बोल्नुहुन्थ्यो। मैलेचाहिँ बालाई जे भन्न पनि छुट पाएको थिएँ तर आफ्नो कुरा छाडेर विम्लीको कुरा गरेँ वा आमाकै लागि केही कुरा गरेँ भने बाको अनुहार कालो भइहाल्थ्यो। 
बाले त्यसपछि कि 'जाऊ पढ।' कि 'जाऊ खेल', कि 'टिभी हेर' कि 'जाऊ सुत' भन्नुहुन्थ्यो। 
विम्लीले एसएलसी फर्स्ट डिभिजनमा पास गरी। स्कुलकै इतिहासमा विम्ली पहिलो केटी भई जसले फर्स्ट डिभिजन ल्याएकी थिई। विम्ली सबकी हाइहाइ भई। बा अफिसबाट फर्केको साँझ गाउँ हाम्रै घरमा थियो भन्दा पनि हुन्छ। सबले बालाई बधाई दिइरहेका थिए। बा बल गरेर मुस्कुराउँदै हुनुहुन्थ्यो। आमाको ज्यानमा भने खूब फुर्ति थियो। आउने जति सबलाई सर्वत पानी खुवाइराख्नु भा'कोथ्यो। मेरो त झन् खुट्टा भुइँमा थिएन। 
'विम्ली अब तँ के पढ्छेस्?' मैले चम्किँदै सोधेँ। 
'बाले के भन्नुहुन्छ!' उसले फिस्स गर्दै भनी, 'त्यही!'
'तेरो मनमा के छ त्यो त भन्!'
'केही छैन,' उसले भनी, 'मेरो मनमा त त्यही नै आउँछ जुन बाको मनमा आउँछ।'
'त्यस्तो पनि हुन सक्छ र!' मैले अचम्म मान्दै सोधँे। 
'हुन्छ नि!' उसले यतिमात्र भनी। 
तर मलाई सधैं अचम्म लागिरह्यो– कसरी विम्लीको मनमा बाको मनमा जे कुरा आउँछ, त्यही आउँथ्यो भनेर। मेरो मनमा त कहिल्यै आएन। बाले मेरा लागि कालो भेस्ट छान्दा म हरियो छान्थेँ। बाले मेरा लागि नीलो पेन दिँदा मलाई कालो चाहिन्थ्यो। बाले मलाई सादा जिस्ता दिँदा मलाई डाडी भाकै जिस्ता चाहिन्थ्यो। विम्लीको कुराले मेरो दिमाग रन्थनायो। 
'तैले गफ दिइस्,' मैले भनेँ पनि। 
उसले केही भनिन, मुस्कुराएर टारी। 
बाले उसका लागि नर्सिङ पढाउने निर्णय गर्नुभो। विम्ली पढ्न धरान जाने भई। विम्लीलाई गाडी चढाउन आमा र म गएका थियौं। गाडी चढ्ने बेला मैले उसलाई एउटा प्लास्टिकको पहेँलो झोला दिएँ। 
'के हो?' उसले नहेरी सोधी। 
'अहिले एउटा किन्ने पैसामात्र जम्मा पार्न सकेँ, बोराका बोराचाहिँ कमाएरै दिउँ्कला!' मैले ङिच्च गर्दै भनेँ, 'त्यही हो क्या, जिन्सको पाइन्ट!'
विम्ली त ठाउँको ठाउँ जमेजस्तो भई। गाडीवालाले उसको झिटीगुन्टा गाडीमा हालिसकेको थियो। ऊ भने हलचल गर्दिन। 
'विम्ली गाडी चढ्,' आमाले उसलाई झक्झकाउनुभयो। 
'अँ!' उसको मुखबाट यत्ति निस्कियो।
विम्ली यति अवाक भई कि बाई पनि नभनी गई। 
पछि दसैंको छुट्टीमा आउँदा विम्लीलाई सोधेको थिएँ, 'पाइन्ट लाइस्?'
ऊ मन्द मुस्काई, 'बजार जाँदा दुईचोटि लाएँ।'
'मन पर्योा?' मैले आँखीभौं उचालेर सोधेँ। 
'अत्ति,' उसको अनुहार चम्कियो। 
विम्लीको नर्सिङ अन्तिम वर्षमा हुँदा मैले पनि एसएलसी पास गरेँ। मेरो पहिलेदेखिको रहर काठमाडौं पढ्ने थियो। मलाई लागेको थियो– बाको मनमा पनि मेरो लागि केही होला। 
'बा म के पढूँ?' रिजल्ट आएको रात मैले सोधेँ। 
'कस्तो लठुवा भाको तिमी!' बाले हाँसेर भन्नुभो, 'आफ्नो लागि सोच्नुपर्दैन?'
'विम्लीका लागि तपाईंले सोचेर राख्नुभएको थियो,' मैले वाल्ल परेर भनेँ, 'मेरो लागि पनि होला भनेर म त ढुक्क थिएँ!'
बाले विम्लीको कुरा गरेपछि एकछिन केही भन्नुभएन। अनि पछि बाउछोरा मिलेर काठमाडौंमा बाको साथीको छोरा पढेको प्लसटुमा साइन्स पढ्ने तय भयो। 
'विम्ली म त काठमाडौं जाने भएँ नि!' मैले विम्लीलाई धरानै गएर सुनाएँ। 
'गज्जब!' ऊ खुसी भई। 
'तर अब तँलाई केही चाहियो भने बालाई कसले भनिदिन्छ?' मेरो चिन्ता पोखेँ, 'विम्ली तँ बोल् न हौ!'
'अब म कमाउन थालिहाल्छु,' उसले भनी, 'खासै अब बासँग केही माग्नुपर्दैन! तँ नभए आमा जिन्दावाद नि!'
'है!' म हाँसे, 'तँ जसरी नि काम चलाइहाल्छेस् नि!'
'विमल एउटा कुरा भन्नुछ तँलाई,' ऊ अलि गम्भीर भई। 
'तेरो लव पर्योा?' मचाहिँ जिस्की नै रहेको थियो। 
'अँ!' ऊ तर्सिई, 'कसरी थाहा पाइस्?'
मैले कहाँ थाहा पाउनु! म त खालि उसलाई जिस्काउन चाहन्थेँ। खासमा मलाई त शंकासम्म नि लागेको थिएन। मलाई त लागेको थियो, बिएन गर्न ऊ पनि काठमाडौं जान चाहन्छे। त्यही कुरा बालाई मैले भन्दिन्थेँ कि भन्ने उसको कुरा होलाजस्तो लागेको थियो। 
मेरो हुनेवाला भिनाजु धरानकै राई रैछन्। उनका बाले ब्रिटिस लाहुरेमा पठाउन खोज्दा घरै छाडेर दिदीकै कलेज छेउ डेरा गरेर बसेका रैछन्। धरानकै सरकारी कलेजमा विकम गर्दै र'छन्। कलेज आउँदा–जाँदा दिदीसँग कुरा भएछ। दिदीले आफ्नो मन दिएर उनको पनि मन लि'छ। 
'भेट्छस्?' उसले सोधी। 
नभेट्ने त कुरै थिएन। 
धरानको तरकारी बजारभित्रको मोमो पसलमा हाम्रो भेट भयो। थेप्चो नाक, चिम्सा आँखा, गोरो छाला, सिलिक्क परेको कपाल र ठिकैको उचाइ उनलाई मैले आँखा जुधाएर हेर्न सकिनँ। उनको नजर विम्लीतिर भाको बेला उनलाई चोर आँखाले हेरेँ। नीलो चेक भा'को उनको सर्टको खल्तीमा स्टारलाइन डटपेन थियो। खैरो पाइन्ट र फिस चप्पल लगाएका थिए। उनको हातमा एउटा घडी थियो। उनले मेरो पढाइको कुरा सोधे। 'राम्रो पढ्नु है' भने। मैले खासै केही सोधिनँ। 
'बाले ज्यान गए नि मान्नुहुन्न!' मेरो मनमा त यहीमात्र थियो। 
उनी छुटेपछि विम्लीले सोधी, 'कस्तो लाग्यो?'
'तँलाई मन परेपछि मलाई मन पर्दैन त!' मैले उसलाई फुर्क्याएँ। 
नर्सिङ सकेर धरानकै हस्पिटलमा विम्लीले जागिर पाएपछि घरमा उसको बिहेको कुरा सुरु भयो। बाले मलाई काठमाडौंमा फोन गरेर विभिन्न केटाको कुरा सुनाइराख्नुभयो। म भने 'राईजीको खबर के छ?' भनेर विम्लीलाई जिस्काइरहेको थिएँ। 
'तँ आइज, एउटा सरकारी वकिल छ विम्लीको लागि ठिक छ,' बाले फोन गर्नुभयो। 
'बा विम्ली के भन्छे?' मैले सोधेँ। 
'पहिला तँ आइज हेर्,' बाले भन्नुभयो, 'अनिमात्र विम्लीलाई देखाऊँला!'
'विम्लीलाई सोध्नुभो त?'
'मैले भनेँ नि, विम्लीको लागि ठिक छ,' बाले कुरा टुंग्याउनुभो, 'तँ आइज!'
म गइनँ। कलेजमा इन्टरनल एक्जाम भइरहेकाले म आउन सक्दिनँ भनेर बाको कुरा टारिदिएँ। तर म सिधै धरान हान्निएँ र विम्लीलाई सबै कुरा भन्दिएँ। 
'मंगलले जागिर पाएकै छैनन्,' उसले भनी, 'एक वर्ष त बिहे गर्ने विचार छैन!'
'तेरो बिहे मंगलसँग हैन हौ,' उसलाई बुझाएँ, 'सरकारी वकिलसँग गर्दिने रे! बुझिनस् कुरा!'
'बुझे हौ!' उसले भनी, 'बालाई भन्दे न विम्ली एक वर्ष बिहे गर्दिनँ भनेर !'
मैले सधैं विम्लीको कुरा बासम्म पुर्या।एकै हो। यो कुरा पुर्यामउन पनि मलाई गाह्रो थिएन। फेरि मेरो उमेर बढ्दै जाँदा बा मेरो कुरा अलि बढी सुन्न थाल्नुभएको थियो। मलाई थाहा थियो, यसपालि पनि बाले मेरो कुरा सुन्नुहुन्थ्यो। तर मलाई यसपटक विम्ली र बाबीचको सेतु बन्न मन लागेन। 
'तँ आफै भन्,' मैले झर्केरै भने, 'मैले तेरो ऋण खाएको छु, सधैंसधैं भन्दिनलाई!'
'एकचोटिलाई त भन्दे,' उसले बिन्ती गरी। 
'लास्ट,' मैले बाचा बधाएँ। 
'लास्ट,' उसले बाचा बाँधी। 
बालाई 'विम्लीले भर्खर काम सुरु गरेकी छे, एक वर्ष काम गर्छु भन्दैछे' भनेर काठमाडौं पुगेपछि फोन गरेर भनँे। 
'बिहेपछि पनि काम गर्न दिन्छु भनेका छन्,' बाले मान्नुभएको थिएन। 
'एक वर्ष कुरुन् त उसो भए,' मैले नि भनिदिएँ, 'विम्ली नै चाहिएको भए!'
अनि बा चुप लाग्नुभयो। म बीचबीचमा विम्लीलाई फोन गरेर राईजीको कुरा बालाई भन् भनेर भनिरहेको थिएँ। ऊ 'भन्छु, भन्छु' भनिरहेकी थिई। 
बाले ट्याक्कै एक वर्ष कुर्नुभो। मेरो बाह्रको जाँच सकेर घर आको बेला बाले फेरि विम्लीको बिहेको कुरा गर्नुभो। 
'त्यही वकिल?' मैले सोधेँ। 
'हैन,' बाले भन्नुभयो, 'विद्युत प्राधिकरणमा अधिकृत छ।'
धरान गएर मैले विम्लीलाई लिएर आएँ। विम्ली काँपिरहेकी थिई। बाचा बँधाएकाले मात्रै उसले मलाई केही भन्न सकेकी थिइन। बाको कोठामा मैले उसलाई नधकेलुन्जेल ऊ औंला पड्काएर बसी। मलाई हेर्छे, उसका आँखा कम्ता मायालाग्दा भएका थिएनन्। तर म पग्लिइनँ। 
'बा तपार्इंसित विम्लीले कुरा गर्ने रे,' यति त भन्न लगाईकन छाडी। 
बा टिभी हेर्दै हुनुहुन्थ्यो। बाले जवाफमा के भन्नुभो, सुन्दै नसुनी म विम्लीको कोठामा आइहालँे। 
'जा अब,' मैले उसलाई बाको कोठासम्मै पुग्ने गरी धकेलेँ। 
विम्ली कोठामा पस्दा पनि बा टिभी नै हेर्दै हुनुहुन्थ्यो। म ढोकाको छेउमै बाले नदेखिने गरी छलिएर बसेँ। आमा भान्छामा हुनुहुन्थ्यो। भान्छा तयार भो भनेर बालाई सुनाउन आउँदा मलाई त्यसरी उभिएको देखेर आमा छक्क पर्नुभो। केही भन्न मुख खोल्न लाग्दै हुनुहुन्थ्यो, मैले हतारहतार आफ्नो मुखमा चोर औंला लगेर उहाँलाई चुप लाग्ने इसारा गरेँ। 
'बा'' विम्लीले सुस्त स्वरमा भनेको सुनेँ। 
'अँ भन्,' बाको स्वर पनि सुनेँ। सायद बाले विम्लीको अनुहारतिर पनि हेर्नुभएन। टिभीमा समाचार आइरहेकाले बालाई केही छुट्ला कि भन्ने थियो। 
विम्लीको आवाज आउँदैन त! नेपाल टेलिभिजनमा समिता राणाको आवाज नै आइरहेको थियो। 
विम्ली पक्कै हात मोलेर बसिरहेकी होली भन्ने लाग्यो। आमा मतिर हेरेर आँखीभौं सन्काएर इसारामै 'के भो?' भन्नुहुन्छ, म भने उहाँलाई चुप लाग्ने इसारा गरिरहेको छु। एकछिनसम्म पनि विम्ली नबोल्दा आफ्नो मुटु उफ्रेर बाहिर नै आउला जस्तो भा'कोथ्यो। भित्र छिरेर सबै कुरा आफंै भन्दिऊँ जस्तो पनि लागेको थियो। तर गइनँ। दिक्क लाग्यो र भुइँमा थुचुक्क बसेँ। 
'बा टिभी बन्द गर्नूस् न,' विम्लीको आवाजले म जुरुक्कै उठेँ। 
'के हो भन्,' बाले किन टिभी बन्द गर्नुहुन्थ्यो। 
'बा मेरो कुरा सुन्न तपाईंले मतिर हेर्नु पनि पर्छ,' विम्लीको चर्को स्वर सुनेर आमाका आँखा पनि तन्किए। 
बाका पनि आँखा तन्किएजस्ता छन्। टिभी बन्द भो। 
'बा, तपार्इंलाई थाहा छ मलाई के खान मन पर्छ?' विम्लीले सोधी। 
के सोधेकी विम्लीले? म भननन भएँ। बाको कुनै उत्तर आएन। 
'बा मलाई हाजमोला क्यान्डी मन पर्दैन, मलाई त अरेन्ज बल मनपर्थ्यो', विम्ली बोल्दै गई, 'तर विमललाई हाजमोला क्यान्डी मन पर्छ भनेर तपाईंले क्यान्डी ल्याइदिनुहुन्थ्यो, मैले त्यही मन पराउन सिकेँ!'
बाको आवाज अझै आएन।
'बा मेरो मन पर्ने रङ रातो हो,' उसले भनी, 'तर तपार्इंले मलाई कहिले आकाशे, कहिले खैरो, कहिले कालो लुगा ल्याइदिनुभो, मैले त्यो पनि मन पराएँ।'
'बा मलाई पनि स्कुलमा पाएका स्याब्बासीहरू सुनाउन मन थियो तर तपाईंले सोध्नुभएन। बा तपार्इंको सर्टको खल्तीमा आमाले कहिल्यै मेरो जाँचको नम्बर टिपेको चिट फेला पार्नुभएन, बा तपाईंले मलाई विमलाबाट विम्ली बनाउनुभयो, मैले केही भनिनँ,' विम्लीको स्वर शान्त थियो। 
अघिसम्म उफ्रिएको मेरो मुटु शान्त भयो। आमाका आँखा पनि पहिलेकै साइजमा आए। 
'बा तपार्इंले मलाई कहिल्यै केही सोध्नुभएन। तपार्इंले जे भन्नुभयो, मैले खुरुखुरु गरँे। विमलले जे–जे कुरा तपाईंसम्म ल्यायो, तपाईंले त्यसमा कुनैलाई हुन्छ भन्नुभयो, कुनैलाई हुन्न। मैले यो किन हुन्न बा भनेर कहिल्यै सोधिनँ!' विम्ली बोलिरहेकी थिई। 
'त के भयो?' बा चुप लागेर बसिरहन सक्नुभएन। 
'बा तपार्इंले सोध्नुहुन्न भन्ने मलाई थाहा छ, तर म तपाईंलाई थाहा दिन चाहन्छु। मैले आफ्नो लागि आफैं जीवनसाथी रोजेको छु। राई हो। आफ्नो खुट्टामा उभिएको छ। मेरो ऊसँग सबथोक मिल्छ,' विम्लीले दह्रो भएर भनी, 'बा अब विमललाई कति दुख दिऊँ! त्यसैले आफैं भनेको! अनि फेरि बा अब तपाईंलाई मन परेको कुरा मन पराउनलाई मसँग न त ताकत छ, न मन नै।'
मलाई त लागेको थियो, बाले विम्लीको गाला चड्काउनुहोला। तर त्यस्तो आवाज आएन। विम्ली त्यति भनेर बाहिर आई। सबै कुरा सुनिसकेकाले बाले के भन्नुभयो मैले सोधिनँ। आमाले खाना पस्कनुभयो। बाले आफ्नै कोठामा खानुभयो। म, विम्ली र आमाले भान्छामै खायौं। 
बिहान बा दलानको कुर्सीमा बस्नुभयो। आमाले छेउमा चिया राखिदिनुभएको थियो। 
'बा आज केटाहरू विम्लीलाई हेर्न आउने भनेको होइन?' मैले बालाई सोधँे। बालाई विम्लीको कुराले असर गरेजस्तो लागेन। त्यसैले आफैंले दबाब दिने विचार गरेको थिएँ। 
'दिदी हो तिम्रो,' बाले हप्काउनुभयो, 'विमला दिदी भन।'
अनि बा चिया पिउन थाल्नुभयो।
महानायकको एक्लो दसैं

महानायकको एक्लो दसैं

अभिनेता राजेश हमाल दसैं आएको र गएको चालै पाउँदैनन्। उनको घरमा 'दसैं कोठा' छ। तर, त्यहाँ जमरा नउमि्रएको एक दशकजति भयो। दुर्गा कवच र चण्डीपाठ गर्न पण्डितहरू आउन छाडे। न...

राजनीतिको चौबीसघन्टे ड्युटी

राजनीतिको चौबीसघन्टे ड्युटी

आरजु देउवाको राजनीतियात्रा कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग विवाहपछि सुरु भएको हो, २०५१ सालपछि। आमा राजनीतिज्ञ नै भए पनि विभिन्न संघसंस्थामार्फत सामाजिक काममा जुटेकी उनलाई त्यसअघि यतातिर उति चासो...

इतिहास साधक पितापथमा

काठमाडौं– घरमा ठ्याक्कै कति पुस्तक छन्, उनीहरूले हिसाब निकालेका छैनन्। इतिहास अन्वेषक स्वर्गीय नयराज पन्तका दुई छोराको दैनिकी बाबुले जम्मा परेका तिनै पुस्तक र अभिलेखको अध्ययन, प्रकाशन र व्यवस्थापनमा बित्छ।

मण्डेलाको भाषण

आज हामी सिंगै देश र विश्वलाई नवजात् स्वतन्त्रताको कोसेली चढाइरहेका छौं।असाधारण मानवीय विनाश गराउने युद्ध रोकिएको दर्दनाक समयपछि हामी यस्तो समाज जन्माउँदैछौं, जसप्रति भोलि सिंगो मानवताले गौरव गर्नुपर्ने छ। हाम्रा...

शून्यबाट सभासदसम्म

शून्यबाट सभासदसम्म

आठ वर्षको उमेरदेखि २५ वर्षको हुँदासम्म जमिनदारको घरमा कमलरी बसेकी शान्ता चौधरी २०६३ सालमा मुक्त भइन्। दाङ लक्ष्मीपुरकी उनी मुक्त भएपछि ढुक्कले बसिनन्, आफूजस्तै अन्य कमलरीको मुक्ति–अभियानमा होमिइन्। जमिनदारकहाँ पाएको...

लेखक बन्न भीडबाट भाग्नुपर्छ

जयपुर (भारत) - पहाडको टुप्पोलाई सुनौलो बनाउँदै उदाउने सूर्य, पातको कापबाट छिर्दै भुइँको क्यानभासलाई कलात्मक बनाउने प्रकाश, क्षण क्षणमा रङ फेर्ने मनमोहक दृश्य।

वीरसिंहको पोखरेली पौरख

वीरसिंहको पोखरेली पौरख

ढुंगैढुंगाले बनेका लोभलाग्दा घरहरूले पोखरा आउने पाहुनाका आँखा तान्छन्। माछापुच्छ्रे हिमाल र फेवातालबाहेक आगन्तुकको आँखा पोखरामा यदि अरू केहीले तान्छ भने त्यो यहाँका घर नै हुन्। बेलायती सेनाबाट आर्जेको सम्पत्तिबाट...

‘आधा धर्ती' की पक्षपाती

‘आधा धर्ती' की पक्षपाती

२०३७ सालको आमहडतालमा बिन्दा पाण्डे पञ्चायती व्यवस्थाविरुद्धको र्या्लीमा सहभागी भइन्। उनका दाइ पक्राउ परेका थिए, रिहाइको मागमा र्यायली निकालिएको थियो। त्यसमा सहभागी भएको भन्दै बाबुले गाली गरे, बिन्दालाई आन्दोलनको चस्का...