Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

नागरिक शनिबार

सानाले सुन्न नहुने कथाहरू

  • २९ चैत्र, २०७०
  • खगेन्द्र संग्रौला
  • DISQUS_COMMENTS
(1 Vote)
हाम्रो गाउँमा एकथरी अचम्मका कथा थिए। कथा पनि कस्ता भने केटाकेटीले सुन्नै नहुने। क्यैगरी सुनियो भने कानभित्रै लुकाउनुपर्ने, कसैलाई भन्न नपाइने। भने कुटाइ खाइने। म सम्झन्छु, यस्ता कथा हाम्रो गाउँमा छ्यास्छ्यास्ती थिए। 
ठूलाबडाले सुन्नु हुने र भन्नु पनि हुने, सानाले सुन्नु नहुने र भन्नु नहुने। कथा पाजी पनि कति अप्ठेरा, हकि? तर मान्छेको जातै अनौठो। जे सुन्नु हुँदैन भन्यो, लुकिछिपी त्यही सुन्न मन लाग्ने। जे भन्नु हुँदैन भन्यो, ठूलाठालुका कान छलेर त्यही भन्नुपर्ने।
ती लोग्नेमान्छे र आइमाईका कथा थिए। ती तिनका उठबस र लसपसका कथा थिए। साइँला बाबैको एउटा गोठालो थियो। उसको नाउँ थियो सुइखुट्टे पाठक। सुइखुट्टे अग्लो थियो। उसको जिउ थियो खिरिलो भाटोजस्तो। छ्याके अनुहार, कालो वर्ण। सुइखुट्टेको रूप विरूप थियो। मान्छे भने त्यो थियो हुनुसम्मको रौसे। म साथीसंगीसँग गाईबस्तु चराउन माथि जंगलमा जान्थेँ। सुइखुट्टे कम्मरमा नाम्लो बाँधेर कतै सुसेलो हाल्दै, कतै पात बजाउँदै गाईबस्तु चराउन र घाँस काट्न जंगल जान्थ्यो। भन्नुमात्रै सुइखुट्टे, त्यो बजिया त जंगलको हिरो नै थियो। मेरा बाबै! त्यसका हिरोइनहरू त कति हुन् कति! किस्नजीका गोपिनीजस्तै जंगलैभरि त्यसका हिरोइन। 
सुइखुट्टे दयालु थियो। ऊ मलाई ऐँसेलु टिप्ने अंकुसे बनाइदिन्थ्यो। म चुलेसेका पातका सोलीमा ऐँसेलु टिपेर उसलाई टक््रयाउँथे। ऐँसेलु खाँदा ऊ मलाई अँगालो मारेर काखमा राख्थ्यो।
'तैंले खाइस्?'
'खाएँ।'
'खा छैनस् होला नाथे, आँ गर्।'
म आँ गर्थें। ऊ पहिले मलाई मुखभरि एँसेेलु हालिदिन्थ्यो अनिमात्र आफू खान्थ्यो।
जिब्रामा ऐँसेलु लिएर ऊ मलाई जिस्क्याउँथ्यो, 'ए फुच्चे केटा, आँ गर्।'
मलाई त्यसैत्यसै घिन लागेर आउँथ्यो, र ओठ टम्म बाँधेर म हातले मुख छोप्थेँ। अनि ऐँसेलु निलेर ऊ मेरा गाला चाट्थ्यो। गालामा उसको थुक लाग्दा मलाई दिगमिग लागेर आउँथ्यो।
'काफल खान्छस् केटा?' सुइखुट्टे मलाई सोध्थ्यो।
'कल्ले टिपिदेओस् र?' म आश भरिएका आँखाले उसलाई हेर्थें। ऊ मलाई काखीमुनि समातेर जुरुक्क उचाल्थ्यो, हावामा सैसला खेलाउँथ्यो र जतनले भुइँमा राख्थ्यो। अनि ऊ हात समातेर बालकलाई झैं मलाई डोर्यानउँदै काफलको बोटतिर लान्थ्यो।
ऊ कहिले वनतरुल खनेर आगो जोरेर पोल्थ्यो। कहिले चरा मारेर झिल्स्याउँथ्यो। कहिले चराका फुल पातमा बेरेर मलाई पोलिदिन्थ्यो। ऊ जंगलको मेरो ठूलो साथी थियो, अनि म चाइने उसको सानो साथी। हामी एउटा चिम्टाका दुई खुट्टीजस्ता थियौं। सुइखुट्टे पाठक र म।
घाँसको भारी बाँधेपछि सुइखुट्टे भन्न नहुने र सुन्न नहुने कथा कथ्न थाल्थ्यो। ऊ अंकुसे पारेको औंलो मुखमा हालेर सुइऒ्ढय सुसेलो हाल्थ्यो। 'वारि जमुना, पारि जमुना' गाउने खेमराज गुरुङको तालमा कुर्र गर्दै कुर्लिन्थ्यो। पात बजाएर एकदम मनै हर्ने भाकामा गीत गाउँथ्यो। ऊ सुनिरहूँ लाग्ने गरी मुर्चुङ्गा पनि बजाउँथ्यो। गाईबस्तु हेर्न हाम्रा दिदीहरू पनि जान्थे। मेरा साना कान्छाउका छोरीहरू। दिदीहरू कहिल्यै सुइखुट्टेको छेउ पर्दैनथे। ऊ पूर्वतिरबाट आए उनीहरू पश्चिमतिर भाग्थे।
'त्यो रन्डो हो,' मुख बिगार्दै दिदीहरू भन्थे। 
'त्यल्ले देख्यो भने लखेट्छ,' दिदीहरू डराउँदै साउती गर्थे। 
'तैंले त्यो भए ठाउँ नजानू,' दिदीहरू मलाई चेतावनी दिन्थे, 'त्यल्ले तँलाई पनि रन्डो बनाउन बेर छैन।' 
'रन्डो' भनेको के हो र त्यसले के गर्छ मलाई थाहा थिएन। मेरा लागि त ऊ हित्तचित्त मिलेको जंगली साथी थियो। जंगलको बीचमा एउटा ठूलो चउर थियो। चउरका छेउछाउमा चप्लेटी ढुंगाहरू टक््रयाकटुत्रु्कक बसेका थिए। हामी तिनै ढुंगामा बस्थ्यौं। दिदीहरूचाहिँ परै, अलग्गै कतै झाडीमा लुक्थे। अथवा सुइखुट्टेले नदेख्ने गरी रूखमा चढेर उसलाई हेर्थे।
यता चप्लेटी ढुंगामा बसेर सुइखुट्टे दिल खोलेर गीत गाउन थाल्थ्यो। उसका हिरोइनहरू उता जंगलभित्र दाउरा खोज्दै हुन्थे। उनीहरू उसका गीतको सवालको जवाफ गीतैले फर्काउँथे। उसका गीतहरू 'आउन कान्छी सँगै बसम् परे जे त पर्ला' खालका हुन्थे। उताबाट उसका हिरोइनहरू 'तिम्रो भर छैन, तिमीले अभर पार्न बेर छैन' भनेर पन्छिन खोज्थे। सुइखुट्टेको स्वर धर्मराज थापाको भन्दा कम थिएन। उसको स्वरको जादू र उसका कुराको बल्छीले तानेर उसका हिरोइनलाई ओरओर ल्याउँथ्यो। मनका भावनालाई गीतको लयमा उन्न ती हिरो–हिरोइन औधी सिपालु थिए। सुइखुट्टे हिरोइनहरूलाई फकाउन खोज्थ्यो। हिरोइनहरूचाहिँ उसलाई अनेकओली घोचपेच गर्थे। 'तेरो मुख चिप्लो छ, तेरो मन बांगो छ। पहिले जालमा पार्छस्, पछि अलपत्र पारेर कतै भाग्छस्,' हो, हिरोइनहरू आफ्ना गीतमा यस्तैयस्तै कुरा गर्थे।
पछि त एउटी हिरोइन घुम्टोले मुख आधा छोपेर, घोसेमुन्टो लाउँदै, मसिनो स्वरमा गीत गाउँदै चप्लेटी ढुंगाको पल्लो छेउमा बस्न आउँथी। गीतसँगै ऊ अलि यता सर्थी, ऊ अलि उता सर्थ्यो। अनि रनवनै रसिलो हुने गरी ऊ भाका घुमाउँथ्यो, 'कसको छोरा, कसको छोरी, पर्योि मया जालमा। कुर्र'।'
सुइखुट्टे उसकी हिरोइनलाई सिलाम हालेका चामल खान दिन्थ्यो। कति चोटि खान्नँ–खान्नँ भनेपछि आखिरमा हिरोइन हात थाप्थी।
'चामल खान्छस्, केटा?' ऊ मतिर हात लम्काउँथ्यो।
'नाइँ खान्नँ। चुर्ना पर्छन्।' 
'आँ गर् पाजी,' ऊ मेरो कपाल अँठ्याएर मुखमा चामल हालिदिन्थ्यो। आ' चुर्ना परे परिरहून््, म कुरुमकुरुम चामल चपाउँथेँ। सुइखुट्टेले उसकी हिरोइनलाई खानेकुरा दिएर फकाएको देख्दा मलाई हाम्रा घरका परेवा–परेवीको सम्झना आउँथ्यो। हाम्रो आँगनमा भाले परेवा उसकी पोथीलाई त्यसैगरी त फकाउँथ्यो। त्यो पुच्छर र पखेटा फर्र पिँ्कजाउँथ्यो, रमितलाग्दो गरी गर्दनको भुवा फुलाउँथ्यो। त्यो माकुर–कुर, माकुर–कुर गर्दै भाका हालेर घुर्थ्यो। उसकी पोथीलाई छेक्थ्यो। पहिले पोथी भाग्थी, माकुर–कुरको तालमा ऊ पछ्याउँदै जान्थ्यो। पछि पोथी भाग्न छाड्थी। भाले उसकी पोथीलाई चुचाले चारो खुवाउँथ्यो। खुसी भएकी पोथी पखेटा भुइँमा लतारेर बस्थी र भाले उसमाथि चढ्थ्यो। आफ्नी हिरोइनलाई चारो खुवाएपछि सुइखुट्टेले चाइने के गर्ला? मलाई खुल्दुली लागेर आउँथ्यो। कुन्नि, झिल्के बजियाले त्यसै पो गर्ला कि?
नजिक–नजिक हुँदै जंगली हिरो–हिरोइन सँगसँगै टाँसिन पुग्थे। तिनले एकअर्काका हात समाउँथे, हात मुसार्थे। ती घरि मस्याकमुसुक गर्थे, घरि कितित्त हाँस्थे, घरि एकअर्काका डँडेल्नामा धाप मार्थे।
'ए केटा, तँ ह्याँबाट भाग्,' सुइखुट्टे मलाई भन्थ्यो।
त्यो सुन्दा मलाई नमज्जा लाग्थ्यो। कस्तो छुच्चो मान्छे! परेवाको भाले त केटाकेटीहरूलाई कहिल्यै त्यसो भन्दैन नि।
'भाग्दिनँ,' म अटेर गर्थें।
'भागिहाल्,' ऊ बडाबडा आँखाले मलाई डस्थ्यो।
'म किन भाग्ने?'
'लाटा, अब ह्याँ गडबड हुन्छ।'
त्यसपछि म भागेर दिदीहरू भए ठाउँमा जान्थे। सुइखुट्टे बजिया ड्यान्जर थियो। ऊ जंगलको बीचमा देख्न नहुने, सुन्न नहुने र सुनाउन नहुने कथाहरू कत्थ्यो।
हाम्रो कुलको गोलो ठूलो थियो। त्यो गोलोमा यस्ता सुन्न र भन्न नहुने कथा थुप्रै हुँदा हुन्। यहाँ भन्न नहुने एउटा कथा म भन्छु। यो हाम्रा काइँला बडीबाकी माइली छोरीको कथा हो। हाम्री अभागी दिदीको सारै नरमाइलो कथा। दिदीलाई एउटा बूढालाई दिएका थिए। पहिली स्वास्नी मरेर बूढो एक्लो परेको थियो। बूढा दिदी भन्दा दोब्बर बूढो हुँदो हो। बूढाको धन थियो। बूढाले तरुनीलाई राम्ररी पाल्ला भनेर होला दिदीलाई रुवाउँदै उसको पछि लाइदिए। दिदीले छोरी पाइन्। अनि भिनाजु मास छर्न गए। बिधुई दिदी माइतीको शरण परिन्। उमेर थियो, त्यसमाथि दिदी हिस्सी परेकी थिइन्। दिदीलाई बित्पाते भन्थे। कतै तन्नेरी देख्यो कि उसलाई आँखा झिम्क्याइहाल्ने रे।
'त्यस बाइफालेले भारपाका रिजालसँग कसरी आँखा झिम्क्या'की!' एक दिन चतुरे बजारबाट फर्केपछि बाले आमालाई सुनाए। बाको स्वरमा घृणाको भाव थियो। 'सारा दुनियाँका मुखेन्जी!' नाकका पोरा फस्फस् फुलाउँदै बाले भनेे, 'त्यस फुँडीले हाम्रा कुलका नाकाँ गुहु लाउने भई।'
आमाले त्यो सुन्न नहुने कथा चुपचाप सुनिन्।
केही सातापछि दिदी उही रिजालसँग पोइल गइन्। ऊ पूर्वीया बाहुन थियो, उनी परिन् कुमाईकी छोरी। उसमाथि त्यस डाँगाकी अर्की स्वास्नी थिई र ग्यालग्याल्ती छोराछोरी थिए। अलि महिना राख्यो र रिजालले हाम्री दिदीलाई मिल्कायो। घुम्दैफिर्दै रुम्जाटार– दिदी फेरि माइतीको शरणमा आइन्। बस्, भन्न नहुने कथा तुरियो।
अब अर्को कथा भन्छु। तल्ला गाउँमा एकटा दर्जी थियो– सेते। ऊ थियो देशी पाराले लुगा सिउन असाध्यै सिपालु। उसको ज्याला चर्को थियो। त्यसैले हुनेखानेहरू मात्रै उसका हातबाट लुगा सिलाउँथे। हाम्रो परिवारको औकात थिएन। तर काइँला बडीबाको चकचकी अर्कै थियो। उनको आफ्नै कपडा दोकान थियो। र, उनकहाँ फालाफाल हुने गरी लुगा सिलाइन्थे। त्यो पनि अरूका हातबाट होइन, उही सेते दर्जीका हातबाट। लुगा सिलाइसक्न दुई–तीन दिन लाग्थ्यो। सिउन आउँदा सेते बडीबाकै घरमा बास बस्थ्यो।
'त्यल्ले त भुँडी बोकिछ,' एक साँझ बाले आमासँग साउती गरेको मैले सुनेँ।
'कल्ले?'
'त्यै काँल्दाइकी छोरी बाइफालेले।'
'कसको भुँडी?'
'त्यै लुगा सिउने डुमको होला।'
'हरे भगवान, यो के सुन्नुपर्याँ हो!' आमाले सुस्केरा हालिन्।
केही महिनासम्म दिदीको नाक–मुख कतै देखिएन। बडीबाकहाँ जाँदा मलाई दिदीलाई भेटूँभेटूँ लाग्थ्यो। र, उनलाई कतै नदेख्दा मलाई उनको न्यास्रो लागेर आउँथ्यो। 'साना जातसँग सल्किने आइमाईलाई मार्छन्'– मैले कताकता सुनेको थिएँ। कुन्नि, दिदीलाई मारिसके कि! 
एक दिन मैले दिदीलाई घरपछाडि भेडाका खोरनेर देखेँ।
'कान्छा, यता आइज,' दिदीले डाकिन्।
म दिदीनेर गएँ। उनले मेरो हात समातिन् र मायाले मुसारिन्।
'म याँ छु भनेर तैंले कसरी चाल पाइस्?' दिदीले सोधिन्।
'त्यत्तिकै,' मैले भनेँ।
दिदीको भुँडी डम्म फुलेको थियो र उनका गालामा कत्ला बसेका थिए। मलाई अँगालो मारेर दिदी पिलपिल रोइन्।
'मेरा थाप्लामा सगर खस्यो, मेरा भाइ,' दिदीले बिलौना गरिन्, 'यस जुनीमा मैले तँलाई देख्नु यत्ति होला।'
उनले मुसारिरहेको मेरो हातमा उनका आँसुका थोपा तप्पतप्प खसिरहे। के भनूँ, के भनूँ भएर म जिल्ल परेँ।
'जा, मलाई एक लोटा पानी ल्याइदे।' 
म पानी लिन हिडेँ।
'यता सुन्,' हत्तपत्त उनले भनिन्, 'त्यो लोटा घरभित्र नहुल्नु नि।'
'किन?' मैले सोधेँ।
उत्तर दिनुको सट्टा उनले दुई हातले मुख छोपिन्।
'यो कुरो तँलाई भन्नु हुँदैन,' यसो भनेर उनी घुँक्कघुँक्क रुन थालिन्।
केही दिनपछिको कुरा हो। झमक्कै साँझ परेपछि हाम्रा बा अगुल्टो हल्लाउँदै बाहिर निस्के। 
'यति अबेर कता हो?' आमाले सोधिन्।
'रन्डीलाई बाटो लाउन,' बाले मुख बिगार्दै भनेे।
दाइहरू घरमा थिएनन्। म बाको साथी गएँ। साउन महिना, झमझम पानी परिरहेको थियो। बडीबाका घरमा अलिबेर बसेपछि दाइहरू सेते दर्जीलाई लिएर आइपुगे। उसका हात पछाडि फर्काएर डोरीले टन्टनी बाँधिएका थिए। घरपछाडिबाट आइमाईहरू मधुरो स्वरमा रोएको आवाज आइरहेको थियो। बडीआमाले दिदीलाई हात समातेर घिसार्दै अगाडि ल्याइन्। आँगनमा आइपुगेपछि दिदी डाको छाडेर रुन थालिन्। बडीआमा भाउन्न भएर आँगनमै ढलिन्।
'अब के रुन्छेस्?' बडीबाले खिन्न स्वरमा भनेे, 'आफ्नो कर्मको फल भोग्न अब लाग् आफ्नो बाटो।' 
सेते दर्जीका हातको डोरी फुकाइदिए। राँकाको उज्यालोमा नूर गिरेको उसको अनुहार कालो–नीलो देखियो। ऊ डरले कामिरहेजस्तो लाग्थ्यो।
'लु, लाग बाटो,' बाले खटन गरे, 'यस गाउँमा अब तिमेर्लाई ठाउँ छैन।'
कोकोहोलो मचाएर रुँदै दिदी अघि लागिन्।
बडीबाले थर्काए, 'तेरो मुख बन्द गर्। दुनियाँले सुनेर के भन्छ?'
बाले सेते दर्जीलाई एक झापट हानेर भने, 'तँ बाहुनी ताक्ने साला डुम !'
मसिनो स्वरमा सेतेले भन्यो, 'मैले होइन। पैले उनै म सुत्या ठाउँमा आ'की हुन्।'
दिदी घुम ओडेर रुँदै डाँडो काट्न हिँडिन्। सेते भिज्दै उनको पछि लाग्यो।
यसरी भन्न नहुने अर्को कथा अन्धकारमा भिजेर टुंगियो। 
(प्रकाशोन्मुख बाल्यकालका पदचापहरूबाट)
जात्रै जात्राको इन्द्रजात्रा

जात्रै जात्राको इन्द्रजात्रा

युवाहरूको ठूलो जमात र वृद्धहरूको समेत सहयोगमा तान्दै–घिसार्दै भित्रिएको लिंगोले बर्सेनि उपत्यकामा इन्द्रजात्रा भिœयाउँछ। भदौ २४ गते काभ्रेको नालास्थित जंगलबाट ल्याइएको लिंगो काठमाडौंको हनुमानढोका दरबारअगाडि ठड्याइयोे। भोलि विधिपूर्वक ढालेपछि यो...

बोझ होइन बुढेसकाल

बोझ होइन बुढेसकाल

सन् १९८३ मा अमेरिकाको हवाई छँदा अन्तर्राष्ट्रिय फेस्टिभलमा जापानी फिल्म हेरेकी थिएँ– 'ब्यालेड अफ नारायामा'। त्यस बेला हामी (श्रीमान्–श्रीमती) तन्नेरी नै थियौं। घरमा बूढो भएर थला परेका कोही थिएनन्। जापानी...

कसले लैजाला गाउँमा दसैं?

बारीका डिलडिलमा उभिएका बोटमा लटरम्म अम्बक पाक्न थाले होलान्। घुरेनको आडका निबुवा र बिमिरा पनि छिप्पिन थाले होलान्। बोटै नुहाएर फलेका अनार र दारिममा पनि त मिठो स्वाद पसिसक्यो होला।यी...

ताजमहल, गगल र 'मिस्टर नो-अल'

ताजमहल, गगल र 'मिस्टर नो-अल'

ताजमहल औधी सुन्दर छ भन्ने वाक्यबाट यो आलेख सुरु भयो भने नपढिने खतरा छ। सबलाई थाहा भएको तथ्य लेखिरहनुको अर्थ रहेन। सूर्य पूर्वबाट उदाउँछ भनेर दोहोर्‍याइरहँदा कसलाई पो जङ चल्दैन...

इतिहास साधक पितापथमा

काठमाडौं– घरमा ठ्याक्कै कति पुस्तक छन्, उनीहरूले हिसाब निकालेका छैनन्। इतिहास अन्वेषक स्वर्गीय नयराज पन्तका दुई छोराको दैनिकी बाबुले जम्मा परेका तिनै पुस्तक र अभिलेखको अध्ययन, प्रकाशन र व्यवस्थापनमा बित्छ।

बौद्धिक समालोचक

बौद्धिक समालोचक

माध्यमिककालीन नेपाली कविताको समय। अर्थात्, कविताको शृंगारिक युग। मोतिराम भट्टले सुरु गरेको शृंगारिक भावका कविताले सिंगो युग धाने। त्यही माध्यमिक कालको आखिरी समय विसं १९७४ मा एउटा कविता संग्रह निस्कियो–...

ध्यानमा परम आनन्द

ध्यान–सुख र आनन्द प्राप्तिको माध्यम। ध्यान केन्द्र धाउनेको संख्या बढ्दै छ। नेपालमा पनि ध्यान केन्द्रहरू छन्। काठमाडौं, पोखरा, लुम्बिनीलगायत सहरमा खुलेका केन्द्रमा नेपालीको राम्रै जमघट हुन्छ।

हाइब्रिडको हल्ला

काभ्रे पाँचखालका सन्तोष दनुवारले जिजुबाजेदेखि चलिआएको पेसा खेतीपाती नै रोजे। नौ वर्षदेखि व्यावसायिक कृषि पेसा अपनाएका उनी धान, आलु र तरकारी उत्पादन गर्छन्। खेती गर्न उनीसँग १० रोपनी जग्गा छ।...