3 Ashwin, 2077 | September 19, 2020
Menu

नागरिक शनिबार

युरोपले गरायो 'युटर्न'

(1 Vote)
वसन्त मिश्र वसन्त मिश्र
'अंग्रेज बु्रअर नभई कम्पनी चलाउन नपाइने भयो, लौन खोज्न जाऔं !'

काठमाडौंमा डिस्टिलरी चलाउने एकजना साथीको आग्रह टार्न नसकेर युरोप घुम्न हिँडेका वसन्तराज मिश्रको निम्ति त्यही भ्रमण जिन्दगीकै महत्वपूर्ण 'टर्निङ प्वाइन्ट' बन्न पुग्यो।
सन् १९७६। त्यतिबेलै यति व्यस्त थियो युरोप, मिश्रलाई त्यहाँका जम्मै मान्छे मौरीझैं लागे। निरन्तर बगैंचा चहारेर फूलको रस चुसिरहने, अनि गुलियो र पोसिलो मह बनाउने। बेतुकका चियागफमा समय काट्ने फुर्सद कसैलाई नाइँ। समय नलिई मान्छे भेट्नै गाह्रो। रैथाने मात्र होइन, नेपालमा जन्मेर समय फुर्माइस गर्दै हुर्केका नेपाली पनि युरोप पुगेपछि समयमा बाँधिएको देख्दा उनी छक्कै परे ।

उनलाई नेपालमा आफूले बेफ्वाँकमा उडाएका अनगिन्ती समय झलझल्ती याद आउन थाल्यो ।

उनले सम्झे, नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर धीरविक्रम शाहले जागिर लगाइदिँदा कसरी उनी भागेका थिए ? उनले सम्झे, शाही नेपाल वायुसेवा निगममा नाम निकालेर पनि कसरी उनी काममै गएका थिएनन् ? उनले यो पनि सम्झे, होटल व्यवस्थापन पढ्न दिल्ली पुग्दा कसरी टिक्न सकेका थिएनन् ? दोस्रोपटक पुना पढ्न जाँदा गर्मीको बहाना गर्दै कसरी बीचमै फर्केका थिए ?

विगतका यी तीता सम्झनाले उनलाई काँडाझैं कोतर्न थाले । आफ्नो विगत सम्झेर आफैंलाई ग्लानी भयो । उनले अठोट गरे, नेपाल फर्कनेबित्तिकै कुनै न कुनै गतिलो काममा लागिहाल्छु ।

बेलायत, फ्रान्स, बेल्जियम र जर्मनीमा पाँच महिना बिताएर फर्कंदा नयाँ वसन्त मिश्रको जन्म भइसकेको थियो ।

'बुवा दरबारको भारदार हुनुहुन्थ्यो, अभाव खप्न नपरेकाले काममा ध्यान दिएकै रहेनछु । युरोपमा त जो पनि काम गर्ने, कसका बा के छन् भन्ने कसैलाई मतलब छैन,' कमलादीस्थित टेम्पल टाइगरको अफिसमा बसेर आफ्नो विगत सम्झँदै मिश्रले भने, 'नेपालमा भने जो पनि आफ्नो पृष्ठभूमिमा रमाएर त्यसै हावामा उडिरहेका हुन्छन्, ३७ वर्षअघिको त्यो युरोप भ्रमणले मेरो त्यही सोचमा परिवर्तन ल्याइदियो । म आज म जे छ, जस्तो छु, त्यही भ्रमणको देन हो ।'

त्यतिबेला उनलाई परिवारले मेकानिकल इन्जिनियर बन्न जोड दिएको थियो । उनी चाहिँ खेलाडी बन्न चाहन्थे । पाटन कलेज पढ्दा फुटबलमा गरेको प्रगतिले उनलाई उत्साहित बनाएको थियो । टेबलटेनिसमा 'रेकर्ड ब्रेक' गरेर राष्ट्रिय खेलाडीमा दर्ता भइसकेका थिए । उनको खेलप्रेम झाँगिदै थियो । राजनीतिमा पनि चाख थियो, तर नेता बन्न मन थिएन ।

आफ्ना करिअरलाई लिएर दुईतीनटा सोच दिमागमा खेलाउँदा–खेलाउँदै एकदिन अचानक उनले गोर्खा ट्राभल्सबाट कामको 'अफर' पाए । सानैदेखि घरमै विदेशी शिक्षकबाट पढेकाले उनको अंग्रेजी राम्रो थियो । त्यतिबेला काम लाग्यो ।

सोच्दै नसोचेको क्षेत्रमा हाम्फालेका मिश्रलाई सुरुका केही महिना नयाँ काममा अभ्यस्त हुन निकै गाह्रो भयो । कतिचोटि जागिर छाड्न खुट्टा उचालिसकेका थिए । हरेकचोटि युरोपका नेपालीको मेहनतले उनको कदम रोक्थ्यो । र, फेरि उनी मनलाई काबु गरेर काममै एकोहोरिन थाल्थे ।

संयोग कस्तो प¥यो भने, उनले जागिर खान थालेको दुई महिनामै केही सिनियर कर्मचारीले छाडे । उनलाई चिठ्ठा प¥यो । कम्पनीले उनलाई काममा अल्झाउन 'प्रोमोसन' गरेर माथिल्लो पदमा उचाल्यो ।

'कर्ममा लेखेकै हुन्छ भनेको यही होला,' उनले भाग्यवादी कुरा गरे, 'मान्छे के बन्ने भन्ने पहिल्यै तय हुन्छ भन्थे, हो जस्तै लाग्छ । सायद म यही क्षेत्रमा फिट थिएँ । अन्त मनै लागेन ।'

'राष्ट्रपति रामवरण यादव पनि त डाक्टरी छाडेर राजनीतिमा लाग्नुभयो नि !' उनले आफ्नो करिअरलाई तुलना गर्दै भने ।

***

आज मिश्र एक नामी पर्यटन व्यवसायीमा गनिन्छन् ।

उनको काम त्यतिखेर सुरु हुन्छ, जब अरू सबै अफिसबाट छुट्टी लिन थाल्छन् । बिदामा घुमघाम गर्न रुचाउने धेरै हुन्छन् । यात्राको बन्दोबस्ती मिलाउने पेसाका वसन्तलाई त्यसैले व्यस्त बनाउँछ ।

उनले स्वदेशी–विदेशी पर्यटकको छुट्टी रमाइलो बनाउँदै आएको ३४ वर्ष भयो । उनी खासमा यो पेसामा रत्तिएको तीन चिजले हो– संंसारका एकसेएक पाँचतारे होटलमा आउजाउ, विदेशीसँगको नेटवर्क र विदेश भ्रमणको अवसर ।

टेम्पल टाइगर रिसोर्ट, भेन्चर ट्राभल, टेम्पल टाइगर ट्रेक्स, माउन्टेन रिभर भेन्चर र टेम्पल टाइगर अपार्टमेन्टका कार्यकारी अध्यक्ष मिश्र नेपालका लागि दक्षिण अमेरिकी राष्ट्र चिलीका 'कन्सुलेट जनरल' हुन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को बोर्डमा समेत छन् ।

पूर्णकालीन पर्यटन व्यवसायी मिश्र अरूको निम्ति मात्र घुमघामको चाँजो मिलाउँदैनन् । उनी आफैं पनि फुर्सत पायो कि घुम्न निस्किहाल्छन् ।

'व्यवस्थापक भएर हैन, यात्रीका रूपमा घुम्नुको मजा अर्कै छ,' उनी भन्छन्, 'स्वदेशमा फुर्सद हुँदा विदेश जान्छु, विदेशमै हुँदा फुर्सद पाए नजिकका सहर चहार्छु ।'

त्यस्ता घुमफिर क्रममा पनि उनको दिमाग आफ्नो व्यवसायबाट भने हटेको हुँदैन । उनी जहाँ जान्छन्, त्यहाँको पर्यटन क्षेत्रको जानकारी बटुल्छन् र सम्पर्क बढाउँछन् । त्यस्ता कति सम्पर्क पछि उनको व्यवसाय विस्तारको माध्यम बनिदिन्छ ।

'म आफ्नो कामभित्रै मनोरन्जन गर्छु, मनोरन्जनभित्रै काम,' उनी भन्छन्, 'मेरो पेसाको सबभन्दा 'ग्ल्यामरस' पक्ष यही हो ।'

आफूले करिअर रोज्ने क्रममा जुन बाटो समाते, आज त्यही बाटोमा प्रतिष्ठित व्यवसायीहरू लागेको देख्दा उनलाई सन्तुष्टि हुन्छ । त्यही भएर अधिकांश मान्छे धनी भएपछि आउने पर्यटन व्यवसायलाई आफूले सुरुदेखि अंगालेको बताउँदा उनी खुसी देखिन्छन् ।

'हरेक क्षेत्रका मान्छे पैसा कमाएपछि पर्यटन व्यवसायमा आएका छन्,' आफ्नो कुरालाई प्रस्ट पार्न उनी भारतमा ताज होटल चलाइरहेको टाटा कम्पनी र नेपाली उद्योगपति विनोद चौधरीको उदाहरण दिन्छन् ।

'मैलै ६० अर्बको प्रोजेक्ट चलाउँदा कसैले 'गजब ग¥यो' भनेनन् । टुरिज्ममा दुई अर्ब लगानी गर्दा साराले नाम लिन थाले'– एकजना साथीले यस्तो भन्दा मिश्रले जवाफ दिएका थिए, 'यो पर्यटन क्षेत्रको ग्ल्यामरको कमाल हो साथी !'

***

विश्वभर सप्रिँदै गएको यो व्यवसायमा उनले 'प्लेजर' र 'पेन' दुवै पाएका छन् ।

'दसैं–तिहारजस्ता चाडपर्वमा पनि छुट्टी पाइँदैन, काठमाडौंबाहिरका साथी घर जान पाउँदैनन् । आफ्नो मर्जीमा चल्न पाइँदैन, ग्राहकको सजिलोमा ध्यान दिनुपर्छ,' यो उनले अनुभव गरेको 'पेन' हो ।

अत्यन्त व्यवस्थित सभा समारोहमा भाग लिन पाउनु, ठूला मान्छेसँग संगत हुनु, देश–विदेश देख्न पाउनुलाई उनी 'गेन'को सूचीमा राख्छन् ।

आफ्नो व्यावसायिक 'गेन' भने उनी चितवन राष्ट्रिय निकुञ्जमा खोलेको टेम्पल टाइगर रिसोर्टलाई ठान्छन् । मोहन खोलाको किनारमा खोलेको रिसोर्ट उनकै शब्दमा भन्दा, 'महŒवाकांक्षी र सफल' आयोजना हो । पच्चीस वर्षअघि यही रिसोर्टको निम्ति ठाउँ खोज्न जाँदाको एउटा घटना उनका लागि अविस्मरणीय रहँदै आएको छ ।

उनी दुईजना स्थानीयसँग जंगलको बाटो हिँड्दै थिए । अगाडि दुइटा गैंडा देखिए । पछाडि फर्कन खोजेको, एउटा उनीहरूतिरै आउँदै रहेछ । एकछिन तीनैजनाको होसहवास गुम भयो । के गरुँ, कसो गरुँ भएर अलमल्ल परे । धन्न सँगै गएका एकजना स्थानीयले पछाडिको गैंडालाई साइड दिएर आफ्नो बाटो लाग्ने अक्कल निकाले । उनीहरूको ज्यान बच्यो ।

'वन्यजन्तु र वातावरणसँग जोडिएको त्यही घटनाले नै हो, मलाई रिसोर्ट खोल्न हौस्याएको,' उनी भन्छन् ।

त्यसबेला मिश्रले जंगलको बीचमा रिसोर्टको निम्ति रोजेको ठाउँलाई लिएर तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले भनेका थिए, 'यस्तो अनकन्टारमा कसरी चलाउनुहुन्छ ?'

'चल्छ सरकार,' उनले जवाफ दिए ।

उनले आफूले रोजेभन्दा एक किलोमिटर पर रिसोर्ट खोल्ने अनुमति पाए र त्यसलाई कम समयमै अग्रणी बनाएर छाडे ।

उक्त रिसोर्ट बन्द भएको दुई वर्ष बितिसकेको छ । सरकारले निकुञ्जभित्रका होटल तथा रिसोर्ट हटाउने निर्णय गरेपछि टेम्पल टाइगर बन्द भयो ।

मिश्र आज पनि टेम्पल टाइगरलाई लिएर गर्व अनुभूति गर्छन् ।

र, भन्छन्, 'त्यसले नेपालको वाइल्ड लाइफ पर्यटनको मुहारै फेरिदियो ।'

***

मिश्रले पद्मोदय स्कुलबाट एलएलसी गरे । त्रिचन्द्रमा आइएस्सी र पाटन क्याम्पसमा ग्राजुएट । त्यसपछि औपचारिक शिक्षा अघि बढाएनन् । युरोप र अमेरिकाका विभिन्न इन्स्टिच्युटबाट करिअरलाई सघाउने कोर्स भने थुप्रै गरे ।

'यसले मलाई व्यवसाय अघि बढाउन निकै सहयोग पु¥यायो,' उनी भन्छन् ।

हुन त उनीहरूको कुपन्डोलमा प्रशस्त जग्गाजमिन थियो । बाबुबाजेले राम्रो स्थान बनाएका थिए । 'बाबु–आमा छिट्टै बित्नुभएकाले जिम्मेवारीको आभासचाहिँ चाँडै भयो,' ५९ वर्षे मिश्र भन्छन् ।

सत्ताइस वर्ष उमेरमा विवाह गरेका मिश्रको एक छोरा छन्, जो अमेरिका बस्छन् । श्रीमतीले इन्टेरियर डिजाइनमा दक्षता हसिल गरेकाले होटल र घरमा उनकै डिजाइन छाएको छ ।

उनको दिनचर्या निकै व्यस्त हुन्छ । पाँच बजे ओछ्यान छाडिसक्छन् । एकफेर देश–विदेशको समाचार बुझ्न टेलिभिजन खोल्छन्, अनि लाग्छन् जिमतिर । नौ बजे कमलादीस्थित टेम्पल टाइगरको अफिस पुग्छन् । एघार बजेसम्म सबै महŒवपूर्ण काम सक्छन् । दिउँसो मिटिङ र बेलुकी पार्टीमा बित्छ ।

'देशमा दुःखको समाचार जत्ति आए पनि काठमाडौंमा पार्टी र रमझम भइरहन्छ,' उनी भन्छन् ।

यो 'पार्टी टाउन'बाट आएका प्रायः निम्तो उनी भ्याउँछन् । दिनमा एक घन्टा विश्व पर्यटन जगत्मा भएका गतिविधि बुझ्न समय छुट्याएका छन् । 'अपडेट नभए अन्तर्वार्ता लिन आउनेलाई नयाँ कुरा के भन्नु ?' उनी जानकार देखाउनकै लागि पनि 'अपडेट' अनिवार्य ठान्छन् । साताको दुई दिन गल्फ खेल्न जान्छन् ।

उनको गाडीमा हमेसा एफएम घन्किरहन्छ । बेलुकाको खाना खाएपछि कम्तीमा २० पेज किताब पढ्ने बानी छ । आनन्दका लागि फिक्सन रोज्छन् । बालकृष्ण सम, डायमण्डशमसेर राणा उनका प्रिय लेखक हुन् । नारायण वाग्लेको 'पल्पसा क्याफे', झमककुमारी घिमिरेको 'जीवन काँडा कि फूल' उनलाई मनपरेका किताब हुन् ।

उनी फिल्मका पनि पारखी हुन् । हलमा भने उनी उद्योगपति विनोद चौधरीको परिवारसँग मात्र गएका छन् । 'नाम चलेका फिल्म घरमै हेर्छु,' उनलाई गम्भीर प्रकृतिका भन्दा क्राइम र रोमान्सले भरिएका हल्काफुल्का फिल्म मनपर्छ ।

'पछिल्लोपटक हेरेकोमा हिन्दी फिल्म सिंघम साह्रै मनप¥यो,' उनले आफ्नो स्वाद बताए । 'ये जवानी हे दिवानी' हेर्दा रमाइलो लागेको बताउने मिश्रले अस्कर अवार्ड विजेता फिल्म 'आर्गो' को प्रशंसा गरे । नेपाली फिल्म कमै हेर्ने उनलाई नीर शाहको 'मसान'ले छोयो, 'नेपालमा पनि यत्तिको फिल्म बन्न थालेछ' भनेर ।

उनी आफ्नो व्यवसाय विस्तार गर्न र फुर्सद बिताउन विदेश गइरहन्छन् । वर्षको एक सय २० दिन विदेशमा बिताउने गरेको उनी बताउँछन् । 'गर्मीयाम हाम्रो व्यवसायको अफ सिजन हो, यस्तो समय युरोप र अमेरिका घुम्दैमा बित्छ,' उनी भन्छन्, 'व्यापार र सम्मेलनका लागि एसियाली मुलुक गइरहनुपर्छ ।'

स्वदेशमा छँदा पनि उनी फुर्सद पाउनेबित्तिकै ट्रेकिङमा निस्किहाल्छन् । 'नहिँडी नेपाल देखिँदैन' भन्ने मिश्र वर्षमा एकचोटि जसरी पनि ट्रेकिङ भ्याउँछन् । नेपालको रमणीयता, गरिबी, सम्भावना बुझ्न उनी घुमफिर आवश्यक ठान्छन् । नेपाली डाँडा–पाखामात्र होइन भारतको लद्दाख, कारगील, तिब्बत र स्विटजल्यान्डका हिमाली क्षेत्रसमेत छिचोल्न भ्याएका छन् उनले ।

त्रिचन्द्र पढ्दाका साथीसँग मिलेर एउटा समूह बनाएका छन्, 'आइएस्सी १९६७' । वर्षको एकपटक यो समूहको जोडदार महफिल जम्छ । समूहका धेरै इन्जिनियर छन्, केही डाक्टर अनि निजामती कर्मचारी । एकजना राजनीतिमा लागे र मन्त्री पनि भए, दीपकुमार उपाध्याय । केही सेनामा छन् ।

पर्यटनमा भने दुईजना मात्र छन् । हरेक वर्ष कार्यक्रम आयोजक फेरिन्छन्, विदेशमा रहेका र आउन नपाएकाले फोन गर्छन् । 'त्यतिबेला लहैलहैमा समय बिताएको, कलेज बंक गरेर बालाजुमा पौडी खेल्न गएको, खेल्न जाँदा घरमा ढाँटेको कुरा सम्झँदै मरीमरी हाँस्छौं, नोस्टाल्जिक भइन्छ,' उनी '१९६७'को जमघटलाई अझै विस्तार गर्ने योजनामा छन् ।

***

'नुवाकोटको कविलासमा मिश्र गाउँ नै छ, हिँड्नोस म तपाईंलाई देखाइदिऊँला,' आफ्नो पुख्र्यौली थलोबारे चर्चा हुँदा कांग्रेस नेता रामशरण महतले उनलाई भनिरहन्थे ।

अगाडिको दुई पुस्ता काठमाडौंको रैथाने भइसके पनि उनलाई मिश्र गाउँ जाने धोको थियो । योजना बनाएको सात वर्षपछि बल्ल मौका पाए ।

मिश्र गाउँ उनलाई निकै अग्र्यानिक लाग्यो । त्यसो त काठमाडौंको 'इनअग्र्यानिक' माहोलले उनलाई असर गर्न सकेको छैन । कुपन्डोलको उनको कम्पाउन्डभित्र घरमात्र छैन, प्रांगारिक खेती गर्ने प्रशस्त जग्गा छ । उनलाई बजारिया तरकारीको भर पर्नुपरेको छैन । फूल फुलाउने काममा श्रीमतीको मेहनत छ, जसले बगैंचाको शोभामात्र बढेको छैन होटल सजाउन पनि पुगेको छ ।

उनले घरमा तीनवटा कुकुर पालेका छन् । फुर्सद पाएसम्म तीसँगै खेल्न रमाइलो मान्छन् । 'प्रकृति, वातावरण र वन्यजन्तुसँग रमाउने मान्छे मात्रै असल पर्यटन व्यवसायी बन्नसक्छ,' उनी भन्छन्, 'वन्यजन्तु र वातावरणप्रति लगाव बढ्नुमा बुवाको हात छ ।'

सानो छँदा बुवासँग भारतका चिडियाखाना खुब घुमे मिश्रले । 'त्यही घुमाइले नै हुनसक्छ, वन्यजन्तु र वातावरणसँग मलाई नजिक्याएको,' उनी भन्छन् ।
पराजयले बढाएको सक्रियता

पराजयले बढाएको सक्रियता

राजनीतिक माहोलमै हुर्किए पनि रेणुकुमारी यादवलाई आफैं राजनीतिमा होमिएला भन्ने लागेको थिएन। २०४३ सालमा युवा अवस्थामै पति अशोककुमार यादवको हत्या हुँदा नाबालक छोरा अभिषेकको लालनपालनदेखि सम्पूर्ण पारिवारिक जिम्मेवारी रेणुको काँधमा...

काइँलादाइको पथमा

काइँलादाइको पथमा

महिला आन्दोलनमा शशी श्रेष्ठ पनि चर्चित नाम हो। चौथो महाधिवेशन, एकता केन्द्र हुँदै अहिले एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य रहेकी श्रेष्ठ आफ्ना काइँला दाजु तथा वाम बुद्धिजीवी श्याम श्रेष्ठको प्रेरणाले...

चुलोचौकोबाट निस्केर विद्रोह

चुलोचौकोबाट निस्केर विद्रोह

नेपाली महिला घरबाहिर कमै निस्कन्थे। राजनीतिमा, त्यो पनि भूमिगत। पूर्णकुमारी सुवेदीले यो चुनौती उठाइन् र पहिलो संविधानसभामा उपाध्यक्ष/उपसभामुखसम्म बन्न सफल बनिन्। महिला घरभित्रै सीमित हुनुपर्छ भन्ने मान्यता रहेको समाजबाट विद्रोह...

लेख्नु सजिलो छैन

लेख्नु सजिलो छैन

अघिल्लो वर्ष मो यानले नोबल पुरस्कार पाएसँगै मेरो ध्यान पनि चिनियाँ साहित्यतिर तानियो। मैले चिनियाँ साहित्य अध्ययनमा खर्चें। समकालीन चिनियाँ साहित्यमा थुप्रै भिन्न मतहरू रहेछन्। मैले अपेक्षा गरेभन्दा बढी सामाजिक...

अन्नपूर्ण पदयात्राः आँखामा नेपाल

अन्नपूर्ण पदयात्राः आँखामा नेपाल

राउन्ड अन्नपूर्ण पदमार्गमा बर्सेनि हजारौं विदेशी पदयात्रा गर्छन। लमजुङको बेंसीसहरबाट मनाङ, थोराङ–ला, मुक्तिनाथ, जोमसोम, तातोपानी, पुनहिल हुँदै वीरेठाँटीसम्मको यात्रा। कोही–कोही बेनीतिर पनि निस्कन्छन्। बेंसीसहरबाट मनाङ सदरमुकाम चामेसम्म र बेनीबाट मुक्तिनाथसम्म...

दयावान् दयाराम

बिहीबार दिउँसो १२:१० बजे।आदर्श सौलः युवक उच्च मावि, बुङ्मति, ललितपुर।एक सुस्त बालक विद्यालय प्रांगणमा धसि्रँदै यताउता गरिरहेका छन्। मुखको कुनाबाट अविरल र्‍याल बगिरहेको छ, तर पुछ्न सक्दैनन् या जान्दैनन्। शारीरिक...

तेह्र वर्षमै क्रान्तिमार्ग

तेह्र वर्षमै क्रान्तिमार्ग

२०२८ सालमा झापा जिल्ला कमिटीले गरेको सशस्त्र संघर्षको निर्णयले कम्युनिस्ट आन्दोलनमा हलचल नै ल्यायो, त्यसको तरंगले गौरा प्रसाईंलाई पनि नराम्रोसँग हल्लायो। त्यो आन्दोलनमाथिको दमनबाट बच्न कयौं व्यक्ति भारत पसे। केहीले...

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

म विसं २०३५ फागुनमा पृथ्वीनारायण क्याम्पस, पोखराबाट नेपाल र एसियाली अनुसन्धान केन्द्र काठमाडौंमा सरुवा भएर आएँ । म पोखरामा छँदा नै गुरु पण्डित नयराज पन्तका चेला भोलानाथ पौडेलका छोरा सामनाथबाट...