Sunday 11 Ashwin, 2077 | September 26, 2020
Menu

नागरिक शनिबार

म अम्मली

  • १५ भाद्र, २०७०
  • केदार शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
दोस्रो जनआन्दोलनमा, सशस्त्र प्रहरीको दुवाकोट क्याम्पमा थुनिएका बेला नेपाली कवि र कविताको कुरा हुँदै गर्दा एकजना प्रगतिवादी साहित्य समीक्षकसित म अलि चर्कै स्वरमा बोलें। बाझैं नै भने पनि हुन्छ। राष्ट्रकवि माधव घिमिरेलाई राजावादी मात्र होइन, मण्डले नै घोषित गर्ने सुरिएका उनले निकै हियाउने स्वर–शैलीमा भने, 'के नै लेखेका छन् माधव घिमिरेले, राजेश्वरी र इन्द्रकुमारीमा राजारानीका कथा लेखेका छन्। मालती मंगलेमा राजसत्ताकै बढाइ“ गरेका छन्।' 'म पुत्र तिम्रो तिमी धर्तीमाता' जस्ता कविता लेखेर के हुन्छ?' धर्तीमाताको हरफ सुनाउँदा उनले स्वर बिगारेको म अहिले पनि सम्झन्छु।
एउटी बहादुर नारी राजेश्वरीले भोगेको राजाको सनक, दरवारी षड्यन्त्र र सत्तासंघर्षको कथामार्फत् स्वतन्त्रता र मानवीय भावना सम्भावनाको स्वरलाई मुखर गराउने वा इन्द्रकुमारीको सघन वियोगव्यथाबाट राजकीय घमण्डको कुरा औंल्याउने कविलाई उनले जानाजान लाञ्छना लगाएको मलाई एकदमै चित्त बझेन। कराएकै पाराले भनें, 'माधव घिमिरेका कवितामा रहेको क्रान्तिचेतलाई कसरी देखेको नदेख्यै गर्न सक्नुहुन्छ तपाईं? तपाईंले राजावादी भनेका कविले 'अग्ला सिंहासनहरू हिले क्रूर अन्याय का“पे र सामन्तीका खँडहरमहाँ क्रान्तिका दूत नाचे' जस्ता कविता लेखेका छन्। उनले पञ्चायतकालमा 'जो एक दुःखी दिल हुन्छ शेष र त्यहीँ कतै भल्भल रुन्छ देश र चिहाइ यौटै पनि छिद्रबाट र निस्कन्छ अर्कै युग भित्रबाट' भन्ने आ“ट गरेका छन्। उनले तपाईंले उडाउन खोजेको त्यही, धर्तीमातामा नै 'विपत्तिमै जीवित देश जाग्छ र र आइलाग्नेसित जाइलाग्छ' जस्ता जोसिला हरफ लेखेका छन्।'
म अरू केही हरफ थप्न खोज्दै थिए“, हामीमध्येकै कसैले सोध्यो, 'ए केदार जी, यहाँ यो विवाद उठ्ला भनेर तपाईंलाई पहिल्यै थाहा थियो?'
'थिएन, किन र?'
'निकै तयारी गरेर, कविताका हरफ–हरफ रटेर आउनुभएको देखेर सोधेको!'
कोही हाँस्यो। अरू हाँसे। म पनि हाँसे। परिस्थितिमा थपिएको तनाव स्वाट्टै कम भयो।
तर मैले रटेको थिइ“न। राम्रो कविता रट्नुपर्ने कुरा नै होइन।
त्यो सम्झेर अहिले पछुतो लाग्छ, 'सारंगी त रेटे पनि बोल्छ मीठै ध्वनि' लेख्ने कविको प्रतिरक्षामा मैले किन बोल्नुपरेको होला? 
राष्ट्रकविसित कुरा गरेर बसेका बेला, उहाँ आफ्नो कुनै कविताको कुनै पंक्ति कोट्याएर भन्नुहुन्छ, 'के रे त्यो, भन्नुस् त, तपाईंलाई आउँछ...'
अनि प्रायः म त्यो हरफ वा श्लोक म पूरा गर्छु र गुरुका अघि–अघि लागेर, फुर्किंर्दै पाठ बुझाउन सकेको बालकजस्तो दंग पर्छु। कहिलेकाहीँ कुनै कविता आउँदैन, अनि मलाई ग्लानि हुन्छ, फेलै भएझैं लाग्छ।
कुरा गर्दा, कुरा नगर्दा, खुसी लाग्दा, दिक्क लाग्दा, लेख्दा र प्रायः त पढाउँदा उहाँका कविताका सान्दर्भिक हरफहरू मेरा मुखमा आइरहन्छन्। सुन्नेलाई मन नपर्न पनि सक्छ, तर ती थेगो जत्तिकै भएर आउँछन्, मेरो केही लाग्दैन।
झण्डै १५ वर्षअघि एकदिन कविवरले मलाई भन्नुभएको थियो, 'तपाई राम्रा कविता लेख्नुहुन्थ्यो, हिजोआज त देखिन्न नि!'
त्यसबेला मैले उहाँकै एउटा कविता सम्झिएँ,
'घुम्छन् मेरो यस हृदयमा स्रोत तिम्रा पवित्र
गङ्गा जस्तै शिखरतपसी जन्हुका कोखभित्र।'
अनि, फ्याट्ट जवाफ आयो, 'जतिबेला कविता फुर्नुपर्ने हो, त्यसबेला मेरा मनमा हजुरका कविताहरू घुम्न थाल्छन्। अनि लेख्ने आवश्यकता वा सिर्जनशील दबाब नै समाप्त भएको अनुभूति हुन्छ।'
भन्नुभयो, 'त्यसो भन्नुहुन्न। त्यसो भयो भने त सिर्जना नै रोकिन्छ नि!'
भन्न मन लागेको थियो, “रोकिए रोकिइराखोस्। जुन आनन्दका लागि लेख्ने हो, त्यो आनन्द नलेखी पाइन्छ भने किन लेख्नु?' तर भनि“न। तर नभने पनि त्यस्तै भइरहेको छ।
कुनै व्यक्तिको प्रशंसकलाई भनिने 'फ्यान' भन्ने अंग्रेजी शब्दको व्युत्पत्ति मलाई थाहा छैन। तर कसैले मलाई 'माधव घिमिरेको फ्यान' भन्दा म फ्यान अर्थात् पंखा सम्झन्छु र लाग्छ, फ्यान हुन म कहाँ सकेको छु र? फ्यान हुन सकेको भए त उहाँका निकट रहेर चाहिएका बेला उहाँलाई शीतलता दिन सक्नुपर्थ्यो। उहाँको कविताकर्मलाई कुनै किसिमले सघाउन सक्नुपर्थ्यो, उहाँका किरमिर अक्षरहरू बुझेर साफी गरिदिन सक्नुपर्थ्यो, प्रुफ हेरिदिन सक्नुपर्थ्यो। उहाँका किताबहरूले सम्मानजनक रूप, सजावट र पारिश्रमिक पाऊन् भनेर प्रयत्न गर्न सक्नुपर्थ्यो। मन्तव्य वा 'आशीर्वचन' लेखिमाग्दै उहाँकहाँ आएका किताबहरू पढेर र सार सुनाएर उहाँको अमूल्य समय अलिकति भए पनि जोगाइदिन सक्नुपर्थ्यो। उहाँलाई बेलाबेलामा पर्ने सम्मानको दबाब कम गराइदिन सक्नुपर्थ्यो। म कहाँ फ्यान हुन सकेको छु र! सकेको भए त म दिनको केही घन्टा उहाँको अवैतनिक निजी सहायक हुन्थें। हावाको झोंक्का जस्तो कहिलेकाहीँ झुल्किएर फ्यान भएको पगरी गुत्न कहाँ पाइन्छ र?
कसैले मलाई उहाँको भक्त भन्छन्। फ्यान त हुन नसकेको लागेको बेला भक्ति जस्तो गह्रौं शब्द पनि मैले बोक्न सकू“ला जस्तो लाग्दैन। तर अरूले नभनेको एउटा कुरा आफैं स्वीकार्छु, मलाई उहाँका कविताको लत लागेको छ। म उहाँको अम्मली हुँ। अम्मल केहीको पनि निको होइन। त्यसले संसारका अरू धेरै कुराबाट वञ्चित गराउँछ। अफिमको अम्मली आफ्नै संसारमा हराएर अफिमको नशाको मजा लिन्छ। तर ऊ अन्य धेरै प्रकारका मधु, मदिरा र र मादकताहरूको स्वाद र मातबाट वञ्चित हुन्छ। मेरो पनि हालत त्यस्तै छ। राष्ट्रकविका कविताको अम्मलका कारण म अन्य कतिपय कुराबाट वञ्चित भएको छु। उहाँका एउटै कृति पच्चीसौंपटक पढ्ने र त्यसैमा दंग पर्नाले आफूले अरू पुस्तक पढ्न नभ्याएको कुरा मलाई थाहा छ। उहाँका अत्यन्त उम्दा काव्यकृतिहरूको स्वाद पसेका कारण शिल्प र कथ्यका हिसाबले अलि कमजोर काव्यहरूलाई त गन्दै नगन्ने भएको छु (लेखकमा कतै नभएको घमण्ड म एउटा सामान्य पाठकमा आएको छ)। राष्ट्रकविका कविताहरूले मलाई नराम्रोसँग एकोहोर्या्एका छन्।
कहिलेकाहीँ लाग्छ, म एउटा पर्वतारोही हुँ। हरेकपटक शिखरमा पुग्दा केही नौलो देख्छु र फेरि पनि त्यहीँ जान चाहन्छु। उसले त्यही पर्वत र त्यही शिखरमात्र नधाएको भए पनि त हुन्थ्यो– सायद संसार घुम्न सक्थ्यो, भ्याउँथ्यो। तर ऊ त्यहीँ जान्छ जहाँ उसको मन जान्छ।
किन यस्तो भयो?
सौभाग्यवश मैले कविवर माधव घिमिरेका कविता साह्रै सानो उमेरदेखि पढ्न पाए“। म सानो छ“दा हाम्रो घर परिवेशमा छन्दमा पढ्न अभ्यास नै गर्नु पर्दैनथ्यो, भन्नु उसो होइन, छन्दका कविता पढ्नु साहित्यिक गतिविधि होइन, गीत गाउनु जस्तै साधारण र स्वाभाविक काम थियो। खासगरी मकै सहर्यायउँदा वा अलैंची छोडाउँदा छन्दका कवितामा अन्ताक्षरी खेलिन्थ्यो। गीतमा, अझ हिन्दी गीतमा पनि अन्ताक्षरी खेलिन्छ भन्ने कुरा त हामीलाई थाहा पनि थिएन।
अहिले विचार गर्दा बुझ्दै छु, उहाँका कविता मन पर्नुको कारण थियो, ती पहिलोपटक नै बुझिन्थे। अर्थात् ती पहिलोपटकदेखि नै आफ्नो क्षमताअनुसार अर्थिन्थे। 
भुइँमा सा“झका बत्ती बले झिलिमिलि बनी' – बालक ध्रुवको कथा पूरै बुझिन्थ्यो, भकभकेको कवितामा नबुझिने कुरै केही थिएन। गौरीले बाल्यावस्थामा नै किताब पढेर रुन सिकाएको थियो। गाउँछ गीत नेपाली गाउँदा 'ज्योतिको पंख' भनेको के हो र कसरी उचाल्ने भन्ने भेउ मेसो केही नहुँदा पनि कसैलाई बुझिएन जस्तो लाग्दैनथ्यो। राजेश्वरी जस्तो गम्भीर ऐतिहासिक काव्यसमेत नबुझिएको जस्तो लाग्दैन थियो।
बुझ्दै जा“दा लाग्छ, उहाँकै कविताका पंक्तिहरूले उहाँको काव्य प्रवृत्तिको आफैं परिभाषा गरेका छन्–
मेरा शिल्पी यस शकलमा स्वस्थ आकार देऊ
यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ।
र उहाँका कविता उहाँकै कविता जस्ता छन्–
थु“गो शरदको ढकमक्क कस्तो 
यो जत्ति हो ठिक्क छ त्यत्ति जस्तो।

तर यी पनि शिल्पका कुरा मात्र भए। मलाई र मजस्ता अरू धेरैलाई अम्मली बनाएको सरलता र शिल्पले मात्र होइन रहेछ, ती कविताहरूभित्र खा“दाखा“द भरिएको जीवनले रहेछ। प्रेम, प्रीति, उत्साह, उमंग– समग्रमा जीवन। गौरी जस्तो शोककाव्य पनि वैरागको गीत मात्र होइन, जीवन र यसको निरन्तरताका बारेमा पहिले कविले आफूलाई र पछि अरूलाई आस्वस्त बनाउन गरेको प्रयास हो, अभ्यास हो भन्ने मलाई लाग्छ। त्यसैले त अलिकति मास्तिर 'सा“च्चै भन्दछु मर्नुपर्दछ भने बा“चेर के हुन्छ हे' भन्ने कवि अलिकति मुन्तिर गएर 'एक्लै अल्पिनु सृष्टिको चलन रे कोही नरोऊन् यहाँ' भन्छन्।
राजेश्वरी, जो सुरुमा मेरा लागि करिब दुईसय वर्षअघिको नेपालको सत्ता संघर्ष र दरबारका आन्तरिक कलहको कथा थियो, अहिले म त्यसलाई सृष्टिको सौन्दर्य, मानव सभ्यताको गरिमा र जीवनको महत्ताको गीतका रूपमा बुझ्न थालेको छु।
'छाया घाम घुमेर फूलहरूमा छिर्का परे रूपका
पायो मानिसले अलभ्य यसमा शैली स्वयम् सीपका
सक्छौ रच्न दरिद्र दीन मुखका कंकाल सारा त्यहाँ
तिम्रै आकृति रुन्छ रे विकृतिको सङ्कीर्ण कारामहाँ।' 

'धूलो उडदछ भूलको र भयको हुन्छन् यहाँ खल्बल
पायो मानिसले अलभ्य यसमा यौटै क्षमाको बल
सक्छौ गर्न समग्र गर्न ग्राम नगरी उच्छिन्न बिच्छिन्न हे
भोलिदेखि यहाँ रहन्छ कसरी तिम्रै महाचिह्न हे।' 
जीवनको यो गीत राष्ट्रकविका प्रत्येक कृतिमा छ जसको बयान गरेर साध्य छैन। किनभने उहाँको नजरमा नै जीवन मात्र छ।
आकाश नीलो धरती हरीयो
प्रकाशले जीवनले भरी यो
आनन्दको यो मधुधार दीप्ति
अशेष तिर्खा र अनन्त तृप्ति।

बूढेससम्मन् पनि ज्यून जानू“
यो जीवनीको रस प्यून जानू“
खाई पिई आखिर तृप्ति शेष
हेरी उज्यालो चिर दीप्ति शेष।

यहीँ भयो सम्भव जिन्दगानी
यै धर्तीका सन्तति मर्त्य हामी
जन्मन्छ अर्को म मरे पनि रे
धर्ती सधैँ जीवनकी धनी रे।

त्यसैले त उहाँ भन्नुहुन्छ– 
'वैशाखको पैलो फूल अचम्म हो खाली
मेरो कुनै अन्त्य छैन प्रारम्भ हो खाली।' 
म अम्मली हुँ, व्यसनी हुँ राष्ट्रकविका कविताको। किनभने म जीवनको व्यसनी हुँ। जीवनका सौन्दर्य, औदार्य र महत्ताहरूलाई बुझ्न सिकाएकोमा म राष्ट्रकविलाई सतत नमन गर्छु, प्रणाम गर्छु।
प्रथम विश्वयुद्धको सय वर्ष, हजारौं लाहुरे फूलहरू

प्रथम विश्वयुद्धको सय वर्ष, हजारौं लाहुरे फूलहरू

साल्मेडाँडा, स्याङ्जा– पोखराबाट १७ किमी पश्चिम हुइँकिएपछि स्याङ्जाको फेदीखोला पुगिन्छ। कुभिन्डे भन्ने ठाउँमा गाडीबाट ओर्लेर पूर्वतिर तीन किमी उकालो चढेपछि आइपुग्छ साल्मेडाँडा। हिउँदयाममा पनि हरियाली बचाएर राखेको यो पहाडमा दुई...

भुटानमा मर्दै नेपाली भाषा

भुटानमा मर्दै नेपाली भाषा

नयाँ दिल्ली (भारत)– बिजनेस भुटान साप्ताहिककी संवाददाता अलका कटुवाल नेपाली भाषा बुझ्न त बुझ्छिन, तर उनको लवज नेपाली नै हो भनेर खुट्याउन एकछिन समय लाग्छ। शब्दपिच्छे भुटानी राष्ट्रिय भाषा जोङ्खाको...

स्कुलदेखि नै लडाकुपन

स्कुलदेखि नै लडाकुपन

२०४६ को आन्दोलनदेखि ०६२/६३ को गणतान्त्रिक आन्दोलनसम्म सधैँ अग्रमोर्चामा कस्सिएर उत्रिने उनको प्रहरी लाठीले धेरैपटक टाउको फुट्यो, कहिल्यै पछि हटिनन्। नेकपा (एमाले) मा मात्र होइन, युवा नेतृ रामकुमारी झाँक्री नेपाली...

धार्मिक सहिष्णुताको पाठशाला

धार्मिक सहिष्णुताको पाठशाला

सहिष्णु छन् नेपाली। जहाँ मन्दिर, त्यहाँ चैत्य। शिवसँगै पद्मसंभव। मिलेर बसेका हिन्दु र बौद्धमार्गी। हलेसी त झन् त्रिधार्मिक संगम। जसले हिन्दु, बौद्धमार्गी र किरातीलाई एउटै सूत्रमा बाँधेको छ।

बागमती यसरी बन्यो ढलमती

बागमती यसरी बन्यो ढलमती

काठमाडौं– शिवपुरी बागद्वारको मुहानबाट छङछङाउँदै उपत्यका फालहाल्ने बागमती पहिले प्राकृत बागमती नै थियो, अहिलेजस्तो ढलमती थिएन। तीस महिनाभित्र बागमतीलाई त्यही अवस्थामा फर्काउने अभियानमा सहभागी सर्वसाधारणको साझा प्रश्न छ : बागमती कसरी...

नबिझाउने, नबिलाउने

नबिझाउने, नबिलाउने

'नारी पुरुष, एक रथका दुई पांग्रा'यो उक्ति अभिनेत्री मिथिला शर्मालाई सही लाग्छ। उनको रथ भने एक पांग्रामै सन्तुलित देखिन्छ। 'तपाईंले त एक पांग्राकै भरमा छलाङ मार्नुभयो नि?' अविवाहित यी अभिनेत्री...

लक्ष्य सरकारी जागिर

काठमाडौं शंखरदेव क्याम्पसअगाडि विद्यार्थीको हुल प्रायः टुट्दैन । कोही क्याम्पस पढ्छन् त कोही विभिन्न इन्स्टिच्युट । बाहिर हुने होहल्ला र विद्यार्थी गफभन्दा पर गल्लीभित्र रहेको एपेक्स इस्न्टिच्युटले भने सरकारी जागिरे...

पसिनाको नदी

विमानको चक्काले भूमि स्पर्श गर्दा हामी फिलाडेल्पि्कया विमानस्थलमा रहेछौं। त्यहीँबाट अमेरिका प्रवेशको पूर्ण अनुमति प्राप्त गर्नुपर्दा रहेछ।