Thursday 13 Kartik, 2077 | October 29, 2020
Menu

नागरिक शनिबार

मर्स्याङ्दीझैं तीन घण्टा

  • १५ भाद्र, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(0 votes)
मर्स्याङ्दीझैं तीन घण्टा
सहकर्मी सन्तोष न्यौपाने र म अघिल्लो शुक्रबार कपुरधारा पुग्दा अपराह्नको साढे चार बजेको थियो। स्थानीय तरकारी पसलमा कमिज सुरुवाल र ढाकाटोपी लगाएका एक प्रौढ भेटिए। हामीले सोध्यौं, 'माधवप्रसाद घिमिरेको घर कुन हो?' 
'को माधवप्रसाद घिमिरे? कवि?'
'हजुर।'
'उहाँको घर थाहा छैन। बरु राजेश हमालको घरचाहिँ थाहा छ।'
'राजेश हमालको कुन हो?'
'ल, यस्तो पनि प्रश्न सोध्ने? बच्चालाई पनि थाहा भएको कुरो!'
हामी हाँस्दै अघि बढ्यौं। तरकारी बेच्दै गरेकी एक दिदीले घर देखाइदिइन्। केही उकालो पार गरेपछि रुख र फूलले सजिएको कविघर पुग्यौं। सेतो कमिज सुरुवालमा ठाँटिएका कवि घिमिरेको श्यामश्वेत तस्बिर बैठककोठामा मुस्कुरायो। कवि माथिल्लो तलाबाट फुत्रुक–फुत्रुक ओर्लिए।
'फोन गरेका थियौं। उठ्दै उठेन,' हामीले नमस्ते गर्दै भन्यौं।
'पलेँटी कार्यक्रमले गर्दा फोन आएको आयै छ,' उनले भने। प्रविधिको युग हो यो। कविभन्दा कम व्यस्त छैन टेलिफोन। 
'हामी नागरिकबाट आएका। कविज्यूको जन्मदिन आउनुअघि नै पत्रिकाबाट शुभकामना दिऊँ भनेर,' हामीले भन्यौं।
'मलाई ज्वरो आएको छ। १० मिनेटभन्दा धेरै बोल्दिनँ आज। अर्को दिन आउनूस्, हुन्न?'
हामीले १० मिनेटको उपयोग गर्दै कुरा थाल्यौं। ९५ वर्षे 'युवक–कवि' गौरी, मालती मंगलेका रचनागर्भ सुनाउन लागे। उनले अतीत सम्झे। प्रिय पत्नीको अनुहार सम्झन खोजे। सम्झनाका पर्दामा किरिङमिरिङ धमिला धर्सा देखिए। उनले गौरीसँग बिछोड भएपछिका कहालीलाग्दा दिन सम्झे। अस्तव्यस्त जीवनशैलीसँगै कविताको तान हालेका साँझबिहान सम्झे। लमजुङ पुस्तुनका साथीभाइका कुरा गरे। उनले बालकविताका श्लोक हाले। संगीत, सिनेमा, खानपान र राजनीतिका कुरा पनि छोए। १० मिनेट कुरा गर्न भनेर बसेका बुढा झण्डै तीन घण्टा मर्स्याङ्दी नदीझैं सुसाइरहे। के उनले ज्वरो बिर्से? कि काव्य संवादका लागि भनेर ज्वरो नै स्थगित गरे?
चौथो दिन हामी अलि ठूलो टोली बनाएर फेरि कपुरधारा पुग्यौं। उनी जसै भुइँतलामा ओर्लिए, हामीले नमस्ते गर्यौं । फर्काउनु छैन। उनी त औँल्याउँदै गन्न थाले– एक, दुई, तीन, चार, पाँच, छ।
'एउटा बुढोमाथि छ छ जना खनिएपछि अब मेरो के लाग्छ, अन्तर्वार्ता त दिनैपर्योद,' 'हाइस्पिड हास्यचेत' का यी कवि हामीलाई हँसाउँदै सोफामा ढल्किए। यो दोस्रो बसाइमा उनी आफ्ना अप्रकाशित कृतिमा केन्द्रित भए। बाँकी समय ठट्टा रमाइलो। बीचमा एकपल्ट रोकिए। सिनेमा रोके झैं गरी भने, 'अब इन्टरभल गरौं।'
तर त्यसबीचमा पनि बोलिरहे। 
... 

बाल्यकालमा हामीले 'गाउँछ गीत नेपाली,' 'सियो खोई सियो,' 'भँगेरा र भँगेरी,' 'लाग्दछ मलाई रमाइलो' 'फूलको थँुगा बगेर गयो' जस्ता गीतमा सुनेका घिमिरे त्यस बेला निरक्षरको समुदायमा समेत लोकप्रिय थिए।
काव्य र गीतमा पहाडी लोकजीवनको चित्र उतार्ने घिमिरे उनीहरूबीच 'गौरी' का पंक्तिकै कारण सदाबहार हिट थिए, छन्। 'राष्ट्रको अखण्डता, कलमवीर, वैशाख' जस्ता कविता स्कुलका पाठ्यपुस्तकमा पढिन्थे। प्रत्येक कविका जस्तै समयका पनि आफ्ना सीमा हुन्छन्। आफ्नो समयका यी प्रतिष्पर्धीहीन कविलाई चिन्तनले त्यसबेलाको यथास्थितिवादी वैचारिक शिविरतिर धकेलिदियो। चट्ट परिपाक मिलेको कलाभित्र पुरातन विचारको पैरवी गरेको बात घिमिरेलाई पनि लाग्यो।
ठूलाहरूले समर्थन र विरोधमा समालोचनाका पोथा रच्दै गर्दा घिमिरे शिशुहरूका लागि लोरी लेखिरहेका थिए। बालकको मनोविज्ञान पर्गेलिरहेका थिए। घिमिरेका नाममा कसैले सालिक उभ्यायो, कसैले पुतला। प्रत्यक्ष राजनीतिमा आफूलाई चासो नभएको दाबी गर्ने उनी सदैव सत्तावृत्त वरिपरि घुमिरहे। अर्थात्, त्यसबेलाको पहाडी मनोविज्ञान बोकेको सत्ताले उनको महत्व बुझेको हुँदो हो। समय र राजनीतिले पुरानो राज्य संरचना ध्वस्त पारिदियो। त्यसबेलाका अधिकांश कविहरूको आज नामोनिशान छैन। घिमिरे भने अझै मुर्धन्य, धन्य र लोकप्रिय मानिन्छन्, किन?
कारण अनेक छन्। सुन्दर र शक्तिशाली कविताका सामून्ने बडेबडे तर्क र कारण बेकार हुन्छन्। तैपनि उनीभन्दा अलग वैचारिक क्याम्पका मध्ये शक्तिशाली मानिएका कवि श्यामलले उनको निबन्धकृति 'रित्तो गाउँ'मा लेखेका केही पंक्ति हेरौं : 
'घिमिरेको गौरी मेरो दराजबाट पचासौं पटक हरायो। यसको सुपरिष्कृत छन्द, यसको संरचनामा अद्भूत नेपाली सुगन्ध र यसको मुटु छियाछिया पार्ने विषयवस्तुले यो धेरैको प्रिय पुस्तक हो। कतिपय ठाकठुक परिरहने, झगडालु र घरमा बबाल गरिरहने दम्पतीका सामू यो काव्य वाचन गरेर मैले तिनलाई धर्धरी रुवाइदिएको थिएँ, तिनको दाम्पत्यलाई सुखद मोडतिर फर्काइदिएको थिएँ... कतिलाई त्यो किताब आफैं किनेर दिएँ... कतिपय श्लोकहरू तिनका डायरी वा कापीमा लेखेर छाडिदिने गरेको थिएँ।' (हराएकी गौरी र बेपत्ता मुनामदन, पृष्ठ १६०) 
विचारको स्फटिकमा खिपिएका शब्दको लाहा लगाउने कवि श्यामल 'प्रगतिशील' वृत्तभित्र आउटसाइडर मानिन्छन्। उनलाई गैरबामहरू समेत खरो वामपन्थी चेतनाको शक्तिशाली कवि मान्छन्। घिमिरेले लेख्ने टाइपका छन्द कवितासँग गद्यकवि श्यामलको लिनुदिनु छैन। तर जुनसुकै समारोह र जमघटमा पुगे पनि माधव घिमिरेको तारिफ गर्न उनी चुक्दैनन्। कारण, घिमिरेको काव्यकलासँग उनी र उनको शिविरका अधिकांश कविसमेत कायल छन्। 
समर्थ कविलाई पदवी, उपमा, अलंकार र विभूषण चाहिन्छ कि चाहिन्न होला! यो बहस जारी थियो, छ, रहनेछ। माधवप्रसाद घिमिरेलाई 'राष्ट्रकवि' राज्यले दिएको हो। तर कसको राज्यले? निर्वाचित सरकारलाई बर्खास्त गरेर पिता महेन्द्रको पथमा हिँडेका अन्तिम राजा ज्ञानेन्द्रले। आफ्नो हेजेमोनीलाई वैधता दिन उनले कवि, लेखक, बुद्धिजीवी, संस्कृतिकर्मीलाई नारायणहिटी दरबार वरिपरि घुमाउने प्रयत्न गरे। कसकसलाई के के दिँदा समाजमा आफूप्रति सकारात्मक प्रभाव पर्छ, राजाको चासो यसमा थियो।
सूर्यबहादुर थापालाई आफ्नो निगाहमा प्रधानमन्त्री बनाएको बेला ज्ञानेन्द्रले उनीमार्फत् सिफारिश ल्याएर घिमिरेलाई राष्ट्रकवि सदर गरे। बस्, लोकप्रिय कविका नाममा समाज दुई चिरामा विभक्त भयो। उनका शुभचिन्तक पनि अन्योलमा परे। बेकारमा एउटा कविको विम्ब विवादित भयो। घिमिरेले मुखर रुपमा राजतन्त्रको पक्षपोषण कहिल्यै गरेनन्। उनको चिन्तनको गुदी र सामाजिक सम्बन्ध भने दरबारछेउछाउ छँदैथियो। त्यो अस्वाभाविक पनि थिएन। 
त्यसो त पञ्चायतकालमा घिमिरे प्रज्ञा प्रतिष्ठानको उपकुलपति भइकन गरेको 'सेवा'को पुरस्कारस्वरुप उनलाई त्यो सम्मान दिइएको हो भन्ने पनि छन्। छिटफुट विवाद आजसम्म छ। सृजनाका हिमायतीहरू भने त्यस विवादमा पसिरहनु आवश्यक छैन। घिमिरेको सिर्जना नै उनीप्रति मूल्यांकनको मुख्य कसौटी हो। तर्कवितर्कहरू अस्थायी हुन्।
मुख्य कुरा, यो देशका शक्तिशाली कवि जीवनको पल्लो छेउ पुगिसक्दा पनि उही जोशका साथ लेखिरहेछन्। वृद्ध कविको युवक जाँगर वन्दनीय छ। मृत्यु उनका लागि छलफलको अनावश्यक विषय हो। 'मृत्युलाई पन्छाउन महाकाव्य लेखिरहेको' उनको जवाफले हामी सबैलाई आकृष्ट गर्यो्। 'मलाई मर्ने फुर्सद छैन,' मृत्युमाथि सायद उनले गरेको यो क्रुर ठट्टा थियो। असमयमै बुढा भइसकेका कतिपय युवा कविहरूका लागि हाँक पनि।
चियापसलमा जसले जतिसुकै कुरा काटे पनि घिमिरेको लेखन शिल्प, अनुभूतिको सूक्ष्मता र लयबराबर अर्को जोडा भेटिन्न। यत्ति हो, लेखनको पद्यशैली र त्यसमा निःसृत दौरासुरुवाल र ढाकाटोपीप्रति 'अब्सेस्ड' पहाडी राष्ट्रवादले घिमिरेलाई सामन्तवादी परम्पराको अन्तिम शक्तिशाली कवि बनाइदिएको छ। उनले जनको भाषामा महाजनको प्रतिरक्षा गर्ने टाइपका कविता लेखे। यति हुँदाहुँदै आज केही प्रगतिशील भनिने कविहरू छन्दको भाकामा परिवर्तनका हुँकार पिटिरहेछन्। तिनले त्यसरी कन्नु बेकार छ। किनभने उनीहरूले जति कने पनि यथास्थितिवादी भनिएका माधवप्रसाद घिमिरेले निर्माण गरेको काव्यिक श्रेष्ठता हासिल गर्न सक्दैनन्। माधवप्रसाद घिमिरे नेपाली पद्यकवितामा लोकबोली घुसाउने दुर्लभ सगरमाथा हुन्। सबैलाई थाहा भएकै कुरा हो, सगरमाथाको उचाइभन्दा माथि एक सुता पनि ठाउँ हुँदैन।
... 

दुईतले घरको तल्लो सिंगै एक कोठा सम्मानपत्र, तक्मा, अभिनन्दन पत्रहरूले भरिएको छ। राष्ट्रकवि र कविवरको नाममा सम्बोधन गरिएका ती पत्रमा घिमिरेको नेपाली साहित्यमाथिको योगदान प्रतिविम्बित गरिएको छ। सम्मान दिनेको भावनामाथि तुषारापात गर्न को पो अघि सर्ला! 
सायद घिमिरेभित्र बचेखुचेको प्रतिरोधी चेतलाई ती सम्मान दिने संस्थाहरूले निस्त्रि्कय गरिदिएका हुन सक्छन्। झट्ट हेर्दा यस्तो कुरा कसैलाई थाहा हुँदैन। तर राज्ययन्त्र र पुरानो मान्यताका बाहकहरूले आफ्नो स्वार्थ घुमाउरो भाषामा पुरस्कार, सम्मान आदिमार्फत् लागू गराइरहेका हुन्छन्। लिनेलाई पनि कस्तो गाह्रो! लिन्न भन्न अप्ठेरो। घिमिरेले चाहेका भए भित्ताभरि झुण्डिएका कतिपय सम्मानपत्रमा लेखिएका विषयको मर्म पढेर अस्वीकार गरिदिन सक्थे। राज्यले एउटा प्रतिभाको एकैपल्ट भरपुर सदुपयोग र दुरुपयोग गरेको छ भने कवि घिमिरेको नै छ।
अहिले देशमा सामाजिक न्याय र लोकतन्त्रका यति धेरै मुद्दा उठेका छन्। यी महान कवि यसबारे सकभर केही बोल्दैनन्। बोलिहाले पनि यस्ता कुरा मलाई मन पर्दैन भन्छन्, अनि चूप लाग्छन्। यसर्थ उनी अतीतमा बाँचिरहेका छन्। यी सबका मारे लेख्ने उत्साह अहिले पनि तगडा छ। 
प्रकाशोन्मुख ऋतम्भरा महाकाव्य यसको प्रमाण हो।

सुशीलदा'को डायरी

‘मनको बह कसैलाई नकह' भन्ने उखान नै छ। कहने साथी कोही नपाएपछि कहिलेकाहीँ डायरी लेख्ने इच्छा हुन्छ। आफैं लेख्यो, आफै पढ्यो, अनि खोपामा थन्क्यायो। ईश्वरले गरेको सबैभन्दा गजप डिस्कभरी सायद...

देश चिनाउने खेलहरु

देश चिनाउने खेलहरु

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी पदक मार्सल आर्टसबाट प्राप्त गरेको छ। घरेलु मैदानमा आठौं दक्षिण एसियाली खेलकुद हुँदा नेपालले तेक्वान्दो र करातेबाट मात्र १४–१४ स्वर्ण पदक जित्यो।

पहिलो र अन्तिम प्रेमीलाई

तिम्रो र मेरोजस्तैउहिले उहिले माई र तमोरको मायापिरती थ्यो' रे।

कहिले छोड्ला गरिबीले!

कहिले छोड्ला गरिबीले!

सुत्केरीबाट तंग्रिँदै गर्दा आफू आमा हुनुको खुसी श्रीमान्सँग साट्न चाहन्थिन्। तर श्रीमान् टाढा–टाढा हुँदै गए। 'छोरी जन्मेको १० दिनमै अर्की ल्याए,' ओखलढुंगाकी भूमा दाहाल भन्छिन्, 'लोग्ने नै साथमा नभएपछि कसको...

कालु हमालको सपना

केरा बगैंचा। बगैंचाभित्र कटेज। आँगनमा लोकल कुखुरा। भुर्रभुर्र चरा। रूखमा टाँगिएका उखान तुक्का। डुंगा पोखरी। पौडी पोखरीहरू। बीचमा रेस्टुरेन्ट। क्याम्पिङ साइट। बीच भलिबल कोर्ट। छेउमा रानी कुलो। किनारमा बालुवा।

विन्टर डेस्टिनेसन

नमोबुद्धगौतम बुद्धको पूर्वजन्म भएको पवित्र ठाउँ नमोबुद्ध। अध्यात्म, प्रकृति र संस्कृतिको संगम। शारीरिक र मानसिक थकान मेटाउने गन्तव्य। काभ्रेको श्यामपाटी गाविसमा पर्छ नमोबुद्ध। काठमाडौंबाट धुलिखेल हुँदै ३० किलोमिटर दुरीमा।

१४ डिसेम्बर १९९६

मध्य युरोपको यो बाल्कन पेनिनसुला हिउँदभरि नै पूरै सेताम्मे हुने गर्छ। हिँउको खास्टो ओढेर।म झ्यालबाट बाहिर हेर्छु, हिँउ लगातार बर्सिरहेको छ। आरुको रूख पूरै हिउँले ढाकिएको छ, पारिको डाँडा पूरै...

जात्रै जात्राको इन्द्रजात्रा

जात्रै जात्राको इन्द्रजात्रा

युवाहरूको ठूलो जमात र वृद्धहरूको समेत सहयोगमा तान्दै–घिसार्दै भित्रिएको लिंगोले बर्सेनि उपत्यकामा इन्द्रजात्रा भिœयाउँछ। भदौ २४ गते काभ्रेको नालास्थित जंगलबाट ल्याइएको लिंगो काठमाडौंको हनुमानढोका दरबारअगाडि ठड्याइयोे। भोलि विधिपूर्वक ढालेपछि यो...