Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

नागरिक शनिबार

कवि कहिल्यै बूढो हुँदैन

  • १५ भाद्र, २०७०
  • अमर न्यौपाने
  • DISQUS_COMMENTS
(0 votes)
कवि कहिल्यै बूढो हुँदैन
हेर्नेहरू भन्थे, 'मालती–मंगले' नाटक हेर्दा जस्तै कठोर मान्छे पनि रुन्छ। सो गीतिनाटक चितवनको नारायणगढमा पनि मञ्चन भयो। त्यतिबेला म ११–१२ वर्षको हुँदो हुँ। बासहित स्कुलबाट सबै शिक्षक जाने भए। 
मैले बालाई पिरें– 'म पनि नाटक हेर्न जान्छु!'
तर उहाँले लैजानुभएन। म खिन्न भएँ। नाटक हेरेर फर्कंदा 'मालती–मंगले' नाटकको किताब ल्याइदिनुभएछ। कमाराकमारीको कारुणिक गीतिलयमा लेखिएको नाटकले मलाई धरधरी रुवायो। पछि मात्र लेखकको नाम हेरें। उनी रहेछन् कविताले रुवाउने कवि— माधव घिमिरे।
'मालती–मंगले'बाटै प्रवाहित भएर मैलै त्यही शैलीको नक्कल गर्दै 'पहिलो भेट' शीर्षकमा वियोगान्त गीतिनाटक लेखेको थिएँ।
चार–पाँच महिनाअगाडिको भेटमा कवि घिमिरेलाई यो कुरा सुनाउँदा आफूलाई धन्य ठानें। उनी भावुक बने।
...
सानो छँदा सुत्ने बेला आमा यी श्लोक भाका हालेर सुनाउनुहुन्थ्यो– 
लीला माइतका भुलेर घरका धन्धा तिमीले गर्यौ
आमाको ममता भुलेर कसरी माया मलाई गर्यौर
छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

जसरी एउटा बालकले फूल भन्ने थाहा नपाउँदै फूल मन पराउँछ। यस्ता श्लोक कविता हुन् भन्ने थाहा नपाउँदै मैले कविता मन पराएको रहेछु। 
धेरैपछि थाहा पाएँ, त्यी त 'गौरी' खण्डकाव्यका श्लोक रहेछन्। 

...
२०५५/५६ सालतिर कवि घिमिरेलाई पहिलोपटक चितवन महोत्सवमा देख्न पाएँ, टाढैबाट। हात्तीका जस्ता साना आँखाले उनी स्टेजबाट चारैतिर सूक्ष्म दृष्टि लगाइरहेका थिए। 

पाँच वर्षअघि कवि प्रसन्न घिमिरे र म उनको घरमै पुग्यौं। त्यो प्रत्यक्ष भेटले म प्रफुल्लित भएको थिएँ। 
भदौ महिना। १२ बजेको हुँदो हो, उनले आफ्नै शयन कक्षमा बोलाए। मैले आफ्नो परिचयसहित साहित्यका बारेमा विभिन्न जिज्ञासा राखें। उनी त धारावाहिक बोल्न पो थाले। बुढ्यौलीका कारण सुरुमा कम्पित आवाज आए पनि बोल्दै जाँदा आवाज प्रष्ट हुँदै गयो।
पत्नी महाकालीले पोलेको मकै ल्याएपछि लामो सास फेरेर भने– 'थाकेंछु!'

मैले घडी हेरें, पौने चार बजेको रहेछ। पौने चार घन्टासम्म लगातार कसरी बोल्न सकेका होलान् यी ८९ वर्षका कविले! 
कविताबारे बोल्न थालेपछि उमेर, भोक, थकाइ बिर्सेर हृदयप्रदान कुरा गर्ने यी कविलाई मैले मनमनै नमन गरें। त्यसपछि बेलाबेला विभिन्न कार्यक्रममा देखभेट भइरहेकै हो, फेरि अन्तरंग कुरा गर्ने अवसर भने मिलेको थिएन।
२०६९ असोज २६ गते। मध्यदिन भर्खर ओर्लंदै गरेको समय। जनक सापकोटा भाइ र म उनको निवास लैनचौर पुग्यौं। बैठक कोठामा ९३ वर्षीय कवि ठमठम आए र सोफामा बसेर कुरा गर्न थालिहाले।
सेतै कपाल, उमेरभन्दा कम चाउरिएको उज्यालो अनुहार, हँसिलो मुख, बाक्ला आँखी भौंका तल आशैआशाले भरिएका हात्तीका जस्ता साना आँखा, कम्पनमा आफ्नोपन भएको, बोल्दै जाँदा अझ भावनात्मक हुँदै जाने मधुर आवाज, ठिक्कको शरीर र नेपालीहरूको औसत उचाइमा सुकिला कुर्तासुरुवाल = राष्ट्रकवि माधव घिमिरे।
उनलाई सानो छँदा कवि हुन्छु जस्तो लागेको थिएन रे। तर कविता भन्ने थाहा नहुँदै मनभित्र कविताजस्तै मीठा भाव उठिरहन्थे रे।
उनी उपदेश मञ्जरीका श्लोकहरू बाले मीठो लयमा भाका हालेको खुब सुन्थे। भजन, चुड्का र लोकगीतमा रमाएर खुब नाच्थे।
औपचारिक रूपमा सर्वदर्शनमा शास्त्री गरे। संस्कृत पढे। संस्कृतका सुकोमल शब्दहरूमा लोकका ठेट शब्द मिसाएर आफ्ना भाव भर्दै उनले शास्त्रीय र लोक छन्दमा कविता लेख्न थाले।
उनलाई लाग्छ, कविताप्रतिको उनको पहिलो आकर्षण लय, दोस्रो शैली र तेस्रो भाव हो।
प्रकृतिलाई प्रेम गर्दागर्दै कविको मनमा आफै नयाँ भाव पलाउँदो रहेछ– 

आई कैल्यै पनि नसकिने चैत–वैशाख मेरा
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा

कारणविना कार्य हुँदैन। पहिले कारण हुन्छ, अनि कार्य। तर प्रेममा कार्य र कारण कुन पहिले हुन्छ थाहै हुँदैन।
उनको यो गीतको रानीले यसै भन्छ–
तिम्रो प्रीति पहिले हो कि मेरो प्रीति पहिले
जान्दिनँ म, एकैचोटि के भो कुन्नि कहिले

स्वच्छन्दवादी कवि भएकाले उनी प्रायः प्रकृतिको कोमल रूपको चित्रण गर्छन्। तर 'पापिनी आमा' मा प्रकृतिको भयानक रूपको चित्रण गरेका छन्।
ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल
सृजनाशक्ति संसारमा कैल्यै हुँदैन विफल

राष्ट्रिय भावका गीत भए पनि उनका राष्ट्रिय गीतलाई सूक्ष्म रूपले हेर्दा विश्वजनीन भाव पाइन्छ।
सिर्जना गर्दै जाने क्रममा पछिल्लो कृति अघिल्लोभन्दा अझ शक्तिशाली बनाऊँ भन्ने लागे पनि उनलाई भने 'गौरी' खण्डकाव्यका प्रत्येक अक्षर आँसुले लेखिएको र तीव्रतम अनुभूतिले भरिएको छ भन्ने लाग्छ।
विज्ञानले गरेको अकल्पनीय आविष्कार देखेर उनी दंग छन्। उनको पालामा पृथ्वी घुम्छ भन्दा गाउँका जान्ने भनौंदा एक जनाले भनेछन्– 'पृथ्वी घुम्ने भए उत्तरको हिमाल किन दक्षिण नगएको?' उनले विज्ञानको प्रशंसा गर्दै साधारण तरिकाले भने– 'चस्मा नभएको भए मैले लेख्न–पढ्न सक्ने थिइनँ।'
कहिलेकाहीँ टिभी हेर्ने मुड चल्छ। तर उनलाई त्यसले उति तान्दैन।
अन्तर्राष्ट्रिय रूपमा नेपाललाई चिनाउन विदेशीको अनुकरण होइन आफ्नै देशमा लुकेर रहेको तर मार्मिक विषयलाई प्रस्तुत गर्नुपर्छ। यस्ता कुरा विश्वलाई नौलो हुन्छ भन्ने उनको धारणा छ।
प्रायः उनी आफू बूढो भएको कुरा नै बिर्सन्छन्। प्रेम र जवानीका गीत लेख्दा त झन् जवानी छु भन्ने लाग्छ। ऐना हेर्दा पो झस्किन्छन्– म कहिलेदेखि बूढो भएँ हँ!
उनलाई लाग्छ, साहित्य लोकबाट लिएर लोकलाई नै दिने खालको भयो भने मात्र त्यो सधैं जीवित हुन्छ। त्यसैले मुना र मदन अहिले पनि जीवित छन्। रामायण र महाभारत जस्ता ग्रन्थका पात्र जीवित मात्र होइन भगवान् नै भएर बाँचेका छन्।
बोल्दाबोल्दै उनी कहिले भावुक हुन्छन् कहिले जोसिला। मनलाई नै मुहारमा ल्याएझैं उनी भन्छन्– 'कविता हृदयबाट निस्किन्छ। कहिलेकाहीँ मस्तिष्कबाट पनि निस्किन्छ। मस्तिष्कबाट निस्किएको कुरालाई हृदयमा घोलेर मात्र बाहिर निकाल्नुपर्छ। कविता, कविता भयो कि भएन भनेर बुझ्नुपर्छ। कविको आफ्नोपन छ कि छैन हेर्नुपर्छ।'
वाद, सिद्धान्त, राजनीतिक विचार प्रधान भएर आएका कविता उनलाई घोषणा–पत्र जस्तै लाग्छन्।
कमजोर कविताहरूले कविताप्रतिको धरणा नै बिगारिदिएका छन्, तर ती पछि आफैं हटेर जान्छन्, तिनलाई हटाउनुपर्दैन भन्ने उनलाई लाग्छ।

दिनचर्या
प्रायः ६–६ः३० को बीचमा उनी उठ्छन्। अचम्मलाग्दो कुरा, उनी काठमाडौंमा चराको चिरबिर सुन्छन्। मरुस्थल बन्दै गएको काठमाडौंमा कविले अझै यो सौभाग्य घरपछाडिको सानो बगैंचाका कारण प्राप्त गरेका छन्।
बूढो जिउ कक्रक्क परेको हुन्छ। उठ्नेबित्तिकै बेनियम नृत्य गर्छन्।
चिसो लाग्ने भएकोले बिहान उनी नुहाउँदैनन्। २० मिनेटदेखि आधा घन्टासम्मको सजिलो योग भने गर्छन्।
त्यसपछि कालो चिया र बिस्कुटसँगै उनी रेडियो नेपालबाट आउने सात बजेको समाचार सुन्छन्। समाचार सुन्दा देश बाटो पहिल्याउन नसकेर कतै अल्मलिएजस्तो लाग्छ।
कहिलेकाहीँ बिहान फलफूल पनि खान्छन्।
जाडो महिनामा त चिसो लाग्छ, तर गर्मीमा उनी बगैंचामा खाली खुट्टाले कविता सोच्दै हिँड्छन्। उनलाई अरू केही रोग छैन, मधुमेह र रक्तचापबाहेक। 
प्रायः वेद, उपनिषद् र गीताका केही श्लोक पढेपछि उनको समय लेखपढमा बित्छ। उनलाई सिर्जनात्मक लेखन गर्न बिहान आठदेखि १० बजेसम्मको समय उपयुक्त लाग्छ।
केही वर्षदेखि उनी महाकाव्य लेख्दै छन्। चार वर्षअगाडि आउँदा पनि उनले यही महाकाव्य लेख्दै थिए। सायद सात–आठ सर्ग सकेका थिए उतिबेला। उनको जीवनकै पहिलो महाकाव्य। नाम पनि दिइसकेका छन्¬– 'ऋतम्भरा'। १४ सर्ग बनाउने योजना छ। १३ सर्ग सकिनै लागेको छ। अब ६ महिनामा त चौधौं सर्ग पनि सक्छु भन्ने अठोट उनले लिएका छन्। बेलाबेलामा अचानक श्लोकहरू आफैं फुर्छन्। 
यात्री भविष्यतिरको कवि क्रान्तदर्शी
लागें अतीततिर झन् कसरी म फर्की

महाकाव्यको श्लोक सुनाउँदै उनी भन्छन्– 'कथानक वैदिक र प्राचीन छ तर त्यसको उद्देश्य अहिलेको समयलाई देखाउने लिएको छ। अबको विश्व प्रविधिक कारणले एक भयो, तर हार्दिक रूपले एक हुन बाँकी नै छ। त्यसको प्रयत्न नै यस ऋतम्भरा महाकाव्यमा छ।'
११ बजेतिर सादा खाना, कहिलेकाहीँ बोसो नभएको खसीको मासु पनि खान्छन्। तर आजभोलि पहिलेको जस्तो मासुमा रुचि छैन। खाना खाएपछि आधा घन्टाजति यसै बस्छन्, आराम गरेर। त्यसपछि बल्ल अखबार हेर्छन्। अखबारमा एक घन्टा समय बित्छ। सामान्यतया उनी हेडलाइन मात्र हेर्छन्। मन परे मात्र हेडलाइनभित्र छिरेर बडी लाइन हेर्छन् अनि पढ्छन्।
भूमिका लेखाउन ल्याइएका पाण्डुलिपिहरूलाई पनि उनी केही समय दिन्छन्।
एक बजेतिर एकाध घन्टा सुत्नुपर्छ उनलाई। उठेपछि प्रायः खाजा चिल्लो हालेको गहुँको रोटी हुन्छ। कहिलेकाहीँ दिउँसो विशेषगरी साहित्यिकहरू भेटघाटका निम्ति पनि आउँछन्। 
साँझको समय उनलाई असाध्यै मन पर्छ। साँझको रंगीन संसारमा डुब्नु राम्रा कविताको रसमा डुब्नुभन्दा मीठो लाग्छ। प्रकृतिमा डुब्न मन पराउने यी कवि सहरमा बसेर गाउँ मन पराउँछन्। भन्छन्– 'मन त गाउँमै जान्छ तर गाउँमा छोराछोरी, नातिनातिना हाँसेको खेलेको देख्न पाउँदिनँ।'
बेलाबेलामा उनी किशोर भएर गाउँ गएको सपना देखिरहन्छन्।
बेलुका खाना खाएपछि विश्राम र पारिवारिक कुरा गर्दै उनी टिभीमा समाचार हेर्छन्। त्यसपछि नौ बजेदेखि ११ बजेसम्म आफ्नै लेखपढको काममा लाग्छन्।
कहिलेकाहीँ सुत्न भनेर लाग्यो स्वाट्ट नौलो कुरा कविता भएर आइदिन्छ र उनी अबेरसम्म पनि बस्छन्।
निद्रा परोस् भनेर उनी सुत्नुअघि आधा घन्टाजति योगासन गर्छन्, जसले उनलाई निद्रा लाग्न सहयोग गर्छ।
यो उमेरमा आएर आफ्नै जीवनलाई उनी कहिले द्रष्टा भएर हेर्छन्, कहिले भोक्ता भएर।
जे भएर हेरे पनि जिन्दगी पहिलेको वागमती र विष्णुमतीझैं छङछङ बग्छ।
...
पोहोर 'मदन पुरस्कार' अर्पण समारोहमा आमाबाले नै राष्ट्रकवि माधव घिमिरेलाई भेट्दा भावविभोर हुँदै कुरा गर्नुभयो। पछि आमाले भन्नुभयो— 'त्यति बेला 'गौरी'का कविता गाउँदा कुनै दिन माधव घिमिरेलाई भेटिएला भन्ने लागेकै थिएन! म धन्य भएँ।'
चाबेलमा लिन आउनु ल!

चाबेलमा लिन आउनु ल!

किन हिरासतमा छ नारीआजसम्म?के तिमीले आफ्नो अँगालोबाटअझै मुक्त गरेका छैनौ उसलाई?खै, कुन मुडमा लेखेको थिएँ मैले यो छोटो कविता। बेला कुबेला कविता त लेख्ने नै हुँ मैले पनि। 'लू' लेख्दाताका...

गुञ्जनका दिदीबहिनी

गुञ्जनका दिदीबहिनी

विश्वका एक महान् साहित्यकार स्यामुएल बेकेटबारे मैले कतै पढेको थिएँ– उनी आफूलाई उपन्यासकार सम्झन्थे तर दुनियाँले उनलाई नाटककार बढी सम्भि्कदियो। साहित्यकारको नियतिलाई कति सहज वा असहज रूपमा लिन सकिन्छ, म...

घट्दो देउसी रौनक

घट्दो देउसी रौनक

'ए है, भन भन भाइ हो' – देउसी रे'रामरी भन' – देउसी रे'स्वर मिलाइकन' – देउसी रे...

थोते साइँलो

थोते साइँलो जिल्ला प्रशासन कार्यालयका सुब्बासँग बाझिरहेको छ। थोते साइँलोको असली नाम गोविन्द लिम्बू हो। उसले नसुन्ने गरी अरूले ‘थोते साइँलो' भन्छन्। मान्छेले आफूलाई थोते भन्छन् भन्ने उसलाई पनि थाहा...

सानाले सुन्न नहुने कथाहरू

हाम्रो गाउँमा एकथरी अचम्मका कथा थिए। कथा पनि कस्ता भने केटाकेटीले सुन्नै नहुने। क्यैगरी सुनियो भने कानभित्रै लुकाउनुपर्ने, कसैलाई भन्न नपाइने। भने कुटाइ खाइने। म सम्झन्छु, यस्ता कथा हाम्रो गाउँमा...

संगीत शताब्दी

संगीत शताब्दी

जुद्धशमशेर राणाको पालासम्म नेपाली गीतको खासै लहर थिएन। दरबारका ठूलाबडाकहाँ जम्ने सांगीतिक 'मेहफिल'मा उर्दु र हिन्दी गीत नै धेरै बज्थे। त्यस्तै एक मेहफिलमा बालकृष्ण समको नाटक 'प्रह्लाद' देखाउँदा नेपाली गीत...

कवि खोज्दै जाँदा

कवि खोज्दै जाँदा

भदौरे झरीले काठमाडौंका अफरोड भिजाइरहेछ। आकाशमा मौसम रोइरहेछ, जमिनमा कवि। एक चर्चित (भनूँ, लोकप्रिय) कविको कांग्रेस प्रवेशले काठमाडौंका कविकुना अझै गर्मिंदा छन्। कोही खुसी छन्, कोही रोइरहेछन्। अखबारमा यो खबर पुरानो...

नेपालका म्याराडोना

नेपालका म्याराडोना

दक्षिण अमेरिकी खेलाडी म्याराडोना सन् १९८० को दशकमा विश्व फुटवलमा ‘वादशाह' उन्मुख नाम थियो। ठिक त्यहि समयमा मणि विक्रम शाहले नेपाली दर्शक दिर्घाबाट ‘म्याराडोना' को उपाधि पाइरहेका थिए।