24 Jestha, 2077 | June 06, 2020
Menu

नागरिक शनिबार

नबिझाउने, नबिलाउने

  • २२ भाद्र, २०७०
  • सन्तोष रिमाल
  • DISQUS_COMMENTS
(0 votes)
नबिझाउने, नबिलाउने
'नारी पुरुष, एक रथका दुई पांग्रा'
यो उक्ति अभिनेत्री मिथिला शर्मालाई सही लाग्छ। उनको रथ भने एक पांग्रामै सन्तुलित देखिन्छ।
'तपाईंले त एक पांग्राकै भरमा छलाङ मार्नुभयो नि?'
अविवाहित यी अभिनेत्री यो प्रसंग छल्न खोज्छिन्। र, थप्छिन्, 'यो उक्ति घरजमसँग बढी नजिक छ, मेरो जस्तो कलाकारितासँग होइन।'
विवाह नगर्दा करिअर बनाउन सजिलो भएको बताउन उनी हिच्किचाउँदिनन्। 'कुनै निर्णय स्वविवेकको भरमा गर्न सक्छु। मैले गरेको कामको असर अर्को पांग्रालाई पर्दैन,' वैवाहिक जीवन चलाउन चाहिने 'समझदारी'को झन्झटबाट मुक्त रहँदा जीवन सजिलोसँग चलेको जस्तो लाग्छ उनलाई।
त्यसो त आफ्नो विधामा जति सफलता मिलेको छ, त्यसको जस पुरुष सहकर्मी र गुरुलाई दिन्छिन्। जीवनसाथीको खाँचो नदेखे पनि कलाकारितामा पुरुष सहकर्मीको प्रेरणा र साथ भुल्दिनन् उनी। केही पुरुषले उनलाई सिकाए। केही पुरुषलाई सिकाउँदै छिन्– नाच्न र अभिनय गर्न।
'तपाईं साह्रै लक्की कलाकार हुनुहुन्छ,' एक भेटमा फिल्म निर्देशक प्रकाश सायमीले मिथिलालाई भनेछन्, 'गोपाल योञ्जन र चेतन कार्कीजस्ता कोहिनुरसँग काम गर्न पाउनु चानचुने कुरा होइन।' त्यो प्रतिक्रियालाई सदर गर्दै उनले थपिन्, कल्याण शेरचन, राजपाल हाडा र गायक छत्र गुरुङको नाम। 
'ती गुरुहरू नै हुन्, मलाई अल्लारे उमेरमा सही सल्लाह र प्रेरणा दिने,' उनी सम्झन्छिन्, 'पृथ्वी जयन्तीमा भाव नृत्य गरेकी थिएँ। बीचमा आउने शब्द आफैंले रचेको। सकिनेबित्तिकै राष्ट्रकवि माधवप्रसाद घिमिरे र धर्मराज थापाले स्टेजमै आएर आशीर्वाद दिनुभयो। उहाँहरूको आँखा टिल्पिलाएको थियो।' त्यतिबेला ती दुई स्रष्टाले 'तिमी लेख्न नछोड' भनेको अर्तीलाई उनले निरन्तरता दिएकी छिन्। 
संगीत नाट्य एकेडेमीकी सदस्य मिथिला नृत्य र नाटकमा बढी सक्रिय छिन्। उनको परिचयचाहिँ फिल्मले फराकिलो पारिदिएको छ। अभिनेत्रीको हुलमा उनी यस्तो दुर्लभ अपवाद हुन्, जसको चरित्रलाई लिएर कहिल्यै गसिप बनेन। फिल्ममा काम पाउन उनले फरिया छोटो बनाउनुपरेन। 
महिलाका लागि अझै 'सुरक्षित' बनिनसकेको भनिने फिल्म क्षेत्रमा उनले असुरक्षाको कहिल्यै अनुभव गर्नुपरेन। हिरोइनहरूलाई होलसेलमा लगाइने आरोपका छिटाले समेत उनलाई छोएन। 

उनी 'स्टार भ्याल्यु' कमाउने प्रतिस्पर्धामा कहिल्यै नलागेको दाबी गर्छिन्। हिट हुनको लागि अपनाइने छोटो लुगा र 'छोटो बाटो'मा उनलाई भर पनि छैन। तथापि हिरोइनप्रति लगाइने लान्छनाप्रति उनको घोर आपत्ति छ। 
'महिलालाई जस्तो लान्छना लगाइन्छ, त्यहाँसम्म पुर्‍याउने पुरुष नै हो। तर, समाज उसको कर्तुतमाथि प्रश्न गर्दैन,' उही 'गलत' कार्यले पुरुषलाई हानि नपुर्‍याउने, महिलाको सबै समाप्त हुने विभेद उनलाई बिझाउँछ। 
त्यसो त महिलालाई पुरुषजस्तै 'उत्ताउलो' बन्न प्रेरित गर्ने पक्षमा उनी छैनन्। विशेषगरी हिरोइन हुन संघर्षरतहरूलाई उनको सल्लाह छ, 'आफूलाई कसरी हुर्काउने भन्नेमा चनाखो बन। योग्यताभन्दा बढी चाहना गरियो भने अरूले गलत फाइदा उठाउँछन्।' सफल हुने चक्करमा लोभ र हतारो गरे सब बर्बाद हुने खतराप्रति उनी सजग गराउँछिन्। 
मिथिला बहुप्रशंसित नृत्यांगना हुन्। करिअर बनाउन संघर्ष गरिरहँदा उनले क्षमताअनुसारको स्थान पाएकी थिइनन्। राम्रो नाच्न जान्दा पनि लिड रोल नपाउँदा निराश मिथिलाको मनमा त्यतिबेला गायक नारायण गोपालले दिएको अर्ती अझसम्म गढेको छ। 'हेर मिथिला, कलाकारले सधंै आँखाको माध्यमबाट मुटुमा जाने काम गर्नुपर्छ। आँखामा मात्र बसियो भने बिझाउँछ।' उनले कहिल्यै बिझाउने कलाकार बन्ने चेस्टा गरिनन्। 
रातारात स्टार बन्ने धुनमा लागेकाहरू फिल्म क्षेत्रमा खुब देखिन्। 'जति छिटो आँखामा बस्यो उति छिटो बिलाइन्छ' भन्ने चेत भएकैले उनी त्यो प्रतिस्पर्धामा लागिनन्। सायद त्यसैले उनलाई दिगो बनायो। सम्मानित कलाकारको स्थान दियो।
कलाकारिता उनलाई साह्रै 'सेन्सेटिभ' लाग्छ। कलाकार मनले सोच्छन्, तर यहाँको माहोल यस्तो छ, जसलाई बु‰न दिमाग पनि सक्रिय बनाउनुपर्ने उनको सुझाव छ। 
'चर्चामात्र बटुल्ने कलाकारिता प्रस्तुत गर्न गाह्रो छैन। विषय र दृश्यले समाजलाई एक वर्ष तताउने फिल्म पनि सजिलै तयार हुन्छ। तर, त्यसको पीडा साह्रै चिसो हुन्छ, जुन महिला कलाकारले सहनुपर्छ,' मिथिला यसतर्फ नयाँ कलाकारको ध्यानाकर्षण गराउन चाहन्छिन्। 
फिल्ममा उत्तेजक दृश्य दिँदै 'बोल्ड र साहसी' काम गरेको ठान्नेलाई त्यसले दुई वर्षपछि कहाँ पुर्‍याउँछ, उनी खोज्न अनुरोध गर्छिन्। 'संयम' गुमाएर सफलताको होडमा नलाग्न सजग गराउँछिन्। 'ग्रोथ' गर्ने धुनमा आफूले बताएको बताएको सीमा ननाघ्न आग्रह गर्छिन्। 
...
'वनकी चरी सानी, नचाऊ मलाई पनि तिमी जस्तै छमछमी...' 
गोपाल योञ्जनको संगीतमा दावा ग्याल्मो र डेजी बराइलीले गाएको यही गीत हो, जसमा मिथिलाले पहिलो पटक देशका विशिष्टहरूका अगाडि आफूलाई प्रस्तुत गरेकी थिइन्; गीतले भनेजस्तै छमछमी नाचेर।
११ वर्षकी सानी मिथिलासँग त्यो बेलाको मिठो सम्झना छ, तर घाँघर उडाउँदै नाच्ने त्यो उमेर छैन। त्यही बेलादेखि आफ्नो परिचयसँग गाँसिन आएको नृत्यांगनाको छवि भने अझै चम्किएको छ। 
मिथिला बिहान आठ बजे नै ललितपुरको सेन्ट मेरिज स्कुल जान्छिन्, साना नानीहरूलाई नाच्न सिकाउँछिन्। त्यही बाहनामा आफू पनि नाच्छिन्, मग्न भएर। 
संगीत र नृत्य उनको साधना हो। यसमै चरम आनन्द महसुस गर्ने बताउँछिन्। कहिलेकाहीँ बिथोल्न खोज्ने चिज पनि दिमागमा आउँछ, सिर्जनामा अवरोध आएको अनुभव हुन्छ। त्यतिबेला उनी 'स्लो म्युजिक' बजाउँछिन् र नृत्यमा लीन हुन्छिन्। 
'यसो गरेपछि संसारको सबै पीडा हराएर जान्छ,' नृत्यको प्रभाव उनी अझै प्रस्ट्याउँछिन्, 'भाव नृत्य गर्दा मुटु चल्छ, अन्तरआत्मादेखि नै हलुंगो भएर आउँछ। नाच्दा आफूमा जस्तो भाव आउँछ त्यस्तै गर्छु। रुन्छु, हाँस्छु, डङडङ उफ्रन्छु।'
सुदूरपश्चिमको ठाडी भाका होस् या मंगलधुन। सितार, सारंगी होस् वा बाँसुरीको धुन– उनी भावमा डुबिहाल्छिन्। नारायणगोपाल, आनी छोइङ, अरुणा लामा र विमला राईको गीतमा पनि उनी आफूलाई भावमा डुबाउन सक्ने सामर्थ्य भेट्छिन्। ध्यान र साधनामा उनलाई संगीत र नृत्य जत्तिको शक्तिशाली अरू लाग्दैन। 
गीत, संगीत, नृत्य र अभिनयको शक्ति देखाएर उनले कठोर देखिनेहरूलाई पनि पगालेकी छिन्। गणतन्त्र दिवसमा उनले एउटा 'पर्फमेन्स' देखाइन्। शिशिर योगीको गीत 'यो देशमा म एउटा मानिस खोजिरहेछु'को बीचमा आफैंले लेखेको संवाद राखेर नृत्य गरिन्। राष्ट्रियताको भाव झल्कने प्रस्तुतिबाट निकै राम्रो प्रतिक्रिया पाइन्। एमाओवादी नेता बाबुराम भट्टराईले बधाई दिँदै भनेछन्, 'निकै भावुक बनाउनुभयो।'
मिथिलाले ठानिन्, 'कलाको शक्ति भनेकै यही त हो। सोझै भनेको र भाषण गरेकोभन्दा प्रभावशाली।'
एकल महिलाको संस्थाले मिथिलालाई नाटक तयार पारिदिन आग्रह गर्‍यो। उनले महिलालाई शक्तिको प्रतीकका रूपमा व्याख्या गर्दै संवाद राखिन्– 'तिम्रो आराधना गरेर अरूले वरदान लिन्छन्, तिमी किन पीडित? आफ्नो शक्तिको पहिचान गर्न खोज।' नाटक कति सफल बन्यो, उनले हेक्का राखिनन्। तर हेर्नेले भने, 'हाम्रो आत्मबल बढाइदिनुभयो।' बस, उनलाई पुग्यो।
केटाहरूले जिस्क्याउँछन्, दुर्व्यवहार गर्न खोज्छन् भने कसरी सामना गर्ने? भाषणबाट त धेरैले सजिलै उपाय बताउन सक्छन्। मिथिलाले त्यसको सामना गर्न सिकाउने नृत्य तयार पारिन्। 'डराए झन् हेप्छन्। रुन छोडे आत्मबल बढ्छ,' नृत्यको बीचमा यस्ता सन्देश राखेर सेन्ट मेरिजमा प्रस्तुत गरेको नाटक उनलाई प्रभावकारी लाग्यो।
'हामीले महिलालाई यो नगर/त्यो नगर भन्ने होइन। 'यो सक्दिनौ' पनि नभनौं। केवल हेक्का पुर्‍याएर काम गर्न आग्रह गरौं र त्यसको बाटो बताइदिऔं,' उनी भन्छिन्। 
अहिलेका महिलालाई यस्ता सन्देशको जरुरत देख्छिन् उनी। तर, भाषणबाट होइन। त्यही कुरा कलामार्फत व्यक्त गर्न सके समस्या खेपिरहेका महिला जागरुक बन्न सक्ने उनलाई विश्वास छ।
उनी बालबालिका, महिला र राष्ट्रियताका विषयमा रचना गर्न रुचाउँछिन्। यसो गर्न भाव नृत्य उनलाई सहज माध्यम लाग्छ।
माया गर्दा दया सम्झने, वास्ता नगर्दा हेपेको ठान्ने भावनाबाट मुक्त हुन उनी नारी जमातलाई आग्रह गर्छिन्। 'महिलालाई पुरुषसरह बनाउनेहरूले आरक्षणको कुरा गरेको राम्रो लाग्दैन। बस, सिप र शिक्षामा महिलालाई समान अवसर दिनुपर्छ, फाइट उनीहरूले नै गर्न सक्छन्,' उनी भन्छिन्।
महिलालाई घर र सन्तान सम्हाल्दा हीनताबोध होइन गौरव गर्न उनी आग्रह गर्छिन्। 'मिठो खाना बनाउन सक्नु महिलाको कला हो। त्यो कामलाई हेयले हेर्नु हुँदैन,' उनी घर चलाइरहेका महिलालाई भड्काएर सशक्तीकरण हुने विश्वास गर्दिनन्। 
भनिन्छ, नारी धर्ती हो। उनी नारीलाई प्रकृतिसँग जोड्छिन्, 'प्रकृतिले जस्तो बनाएको छ त्यसैमा गर्व गरौं।' 
'शृंगारपछि नारी जस्तो देखिन्छिन्, पुरुषलाई त्यस्तो देखिँदैन। चुरा लगाएको पुरुष कस्तो देखिएला?' पुरुषले नपाएको गुण महिलामा रहेको उदाहरण दिँदै प्रकृतिको उपहारमा रमाउन सुझाउँछिन्।

मिथिलाको तीज टिप्स

तीजमा तृत्य अनिवार्य छ। चाहे पार्वतीको युग होस् या अहिलेका महिला, आफ्नो प्रेमको अभिव्यक्ति नाचबाट व्यक्त गर्छन्। महादेवलाई पति बनाउन पार्वतीले 'उँ्क नम शिवायः'मा नाचिन् भन्ने पौराणिक कथन छ। वर्तमान युगमा गीत, संगीत र साहित्य कुण्ठित भावना पोख्ने माध्यम बनेको छ। 
अहिले त महिनैभरि तीजका कार्यक्रम हुन्छन्। म त्यति सहभागी हुन्न। दर खाने, व्रत बस्ने र पञ्चमी पूजा लगाउने– यत्ति तीन दिन म तीजसँगै हुन्छु। यो राम्रो र रमाइलो चाड हो। यसले दिन खोजेको कुरा नकारात्मक छैन। 
अहिले तीजमा देखासिकी घुस्न थालेको छ, जुन विकृति हो। तीजलाई भड्किलो बनाउन जरुरी छैन। मुठी भए मुठी खाएर, सद्भाव बढाएर मनाउने चाडको रूपमा लिनुपर्छ। 
गीतमार्फत संगिनीहरूसँग आफ्नो भावना साट्ने, पतिको दीर्घायुको लागि व्रत बस्ने, असल पतिको कामना गरेर व्रत बस्ने कुरा ठिक छन्। नाच्ने, गाउने, मन्दिर जाने, स्वच्छन्द किसिमले मनाउने तीजसँग भने मेरो पूर्ण सहमति छ। 
तर, महिनौंदेखि तीजका कार्यक्रम गरेर होटल तताउनु विसंगति हो। यस्ता गतिविधिले समाज तर्सन्छ। महिलाको चाडका रूपमा १० वर्षअघिसम्म तीज निकै सम्मानित थियो, अहिले बिस्तारै उपहास बन्न थालेको छ।
डल्लो

डल्लो

पहिलो दिन : ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो। छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन। कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको...

बहादुर लेखक

बहादुर लेखक

नामको पछाडि 'बहादुर' सुनेकै भरमा मानिसहरू ठान्दा रहेछन्– उनी नेपाली हुन्, पुरुष हुन्। भारतीय मूलकी अमेरिकी लेखक/समीक्षक गायत्रा बहादुर भने न त नेपाली हुन्, न त पुरुष। उनले नेपालको नाममात्र...

स्कुलदेखि नै लडाकुपन

स्कुलदेखि नै लडाकुपन

२०४६ को आन्दोलनदेखि ०६२/६३ को गणतान्त्रिक आन्दोलनसम्म सधैँ अग्रमोर्चामा कस्सिएर उत्रिने उनको प्रहरी लाठीले धेरैपटक टाउको फुट्यो, कहिल्यै पछि हटिनन्। नेकपा (एमाले) मा मात्र होइन, युवा नेतृ रामकुमारी झाँक्री नेपाली...

विदेशीलाई भाइटीका

विदेशीलाई भाइटीका

'एसओएस बहिनी' नामक गैरसरकारी संस्थामा बस्दै आएकी पार्वती केसीले तीन वर्षअघि तिहारमा रसियन पर्यटक इरालाई दिदीको नाता जोड्दै सप्तरंगी टीका लगाइदिइन् । टीकापछि दिदिबहिनीको सम्बन्ध जोडेका उनीहरूले उति नै बेला...

खतरा जिएम खान्कीको

खतरा जिएम खान्कीको

अनुवांसिक गुण परिवर्तित (जिएम) बिऊबाट फलेका खाद्य वस्तु (जिएम फुड) बारे वहस भर्खर सुरु भएको छ। तर, राष्ट्रिय नीतिको अभावमा नेपाली जनजीवनमा यस्ता अप्राकृतिक खाद्यान्न दैनिक भोजनमा मिसिन थालिसकेका छन्–...

कसले लैजाला गाउँमा दसैं?

बारीका डिलडिलमा उभिएका बोटमा लटरम्म अम्बक पाक्न थाले होलान्। घुरेनको आडका निबुवा र बिमिरा पनि छिप्पिन थाले होलान्। बोटै नुहाएर फलेका अनार र दारिममा पनि त मिठो स्वाद पसिसक्यो होला।यी...

राजनीति गर्न परिवारभित्रै संघर्ष

राजनीति गर्न परिवारभित्रै संघर्ष

स्याङ्जाको थुमपोखरामा जन्मिएकी पद्मा अर्याल नेकपा एमाले स्याङ्जाकी अध्यक्ष हुन्। सातौं जिल्ला अधिवेशनमा पुण्यप्रसाद भुसाललाई पराजित गर्दै उनी एमालेको एकमात्र महिला जिल्ला अध्यक्ष बनेकी थिइन्।

मण्डेलाको भाषण

आज हामी सिंगै देश र विश्वलाई नवजात् स्वतन्त्रताको कोसेली चढाइरहेका छौं।असाधारण मानवीय विनाश गराउने युद्ध रोकिएको दर्दनाक समयपछि हामी यस्तो समाज जन्माउँदैछौं, जसप्रति भोलि सिंगो मानवताले गौरव गर्नुपर्ने छ। हाम्रा...