Thursday 22 Jestha, 2077 | June 04, 2020
Menu

नागरिक शनिबार

गलैंचामा बुनिएको जिन्दगी

  • आइतबार ३० भाद्र, २०७०
  • सन्तोष न्यौपाने
  • DISQUS_COMMENTS
(0 votes)

चाबहिल, रामहिटीको रोल्पा कार्पेटमा दर्जनौं हातहरू गलैंचा तानमा सल्बलाइरहेका थिए । आफूभन्दा अग्लो तानामा खट हालेर धागो उन्दै थिइन्, चिनिमाया तामाङ।

यहाँ आम्दानी मिटरमा नापिन्छ । एक मिटरको १ हजार ५ सय ८० रुपैयाँ । एक मिटर नाप्न १०–१२ दिन लाग्छ । त्यही मिटरले परिवार धान्नुपर्छ । रेसारेसामा औंला छिराउँदै चिनिमायाका हातले धेरै गलैंचा बुने । मध्यरात, भोक, प्यास र निद्रालाई गरिबीले जित्दो रहेछ । गलैंचा बुन्दाबुन्दै जिन्दगी नै गलैंचाले बुनेको उनलाई पत्तै भएन ।

'फुर्सद भए एकछिन कुरा गरौं न ?' व्यस्तताबीच हामीले समय माग्यौं ।

'फुर्सद त कहिले हुन्छ र ! सधै यस्तै हो,' आधा पुगेको गलैंचामा हात बिसाउँदै चिनिमायाले भनिन् ।

तानसँग उनको साइनो गाँसिएको २२ वर्ष भयो । धागो बुुन्दाबुन्दै कहिलेकाहीँ त धागोले नै उनलाई बुनिदिन्छ । अनि जिउ दुख्छ, औंलाहरू सुन्निन्छन् । शरीर काम्छ । उनी थला पर्छिन् । तै सकिनसकी घस्रिनु नै प¥यो । यो बाध्यता हो । नभए १४ वर्ष उमेरमै किन लाग्थिन् गलैंचा बुन्न ?

१२ पढ्ने छोरा र ९ पढ्ने छोरी छन् उनका । श्रीमान्ले भित्तामा रङ पोत्छन् । दुई पांग्रा जोडिएर जिन्दगी धानिएको छ ।

कलिलै उमेरमा काठमाडौं छिरेपछि तान बुन्दै गरेका थुप्रै साथी भेटिन् उनले । बल्ल बुझिन्, बाध्यता आफ्नैमात्र रहेनछ ।

चिनिमायाकै छेउको तानमा अल्झिरहेकी थिइन्, सुनमाया लामा ।

गलैंचामै संघर्ष गर्दै जिन्दगी बिताइन्, ५३ वर्षीय सुनमायाले । २२ वर्ष भयो गलैंचामा हात हालेको । यो अवधिमा काठमाडौं छोइनसक्नु भएको छ । मिटरको मूल्य भने त्यसअनुसार बढ्न सकेन । कामको दुःख उस्तै छ । कामको मूल्य पनि उस्तै । १४ घन्टा काम गर्दा पनि जीवन धान्न धौधौ भएको उनी बताउँछिन् ।

उनले काठमाडौंसँग जिन्दगीलाई तुलना गर्छिन् । पहिले ५ सयमा आफ्नै कारखानामा कोठा पाइन्थ्यो । अहिले त्यही कोठा ३ हजार ५ सय पुगेको छ । 'वर्षको ५ सयका दरले बढ्दै जान्छ,' उनले भनिन्, '४ सयको चामल पनि १५ सय पुगिसक्यो ।'

चिनिमायाकै उमेरमा काठमाडौं आएकी रामेछाप, दोरम्बाकी साइँली तामाङ १६ वर्ष भयो घर नफर्केको । जीवनमा ठूलो फड्को मार्ने आस गर्दागर्दै ३४ वसन्त पार गरिन् । श्रीमान्ले पनि सँगै गलैंचा बुन्दै थिए । दुई छोरी जन्मिए । गृहस्थी धान्न श्रीमान् विदेश लागे । त्यहीबेलाको ८० हजार रुपैयाँ ऋण तिर्न एक वर्ष लाग्यो । यतिविधि दुःख गर्दा पनि उनको श्रीमान्लाई विदेश फापेन । साउदी गएका थिए । धेरै दुःख पाएर फर्के । मलेसिया उडे । अहिले उतै छन् । साइँली भने यहाँ दुई छोरी स्याहारेर संघर्ष गर्दै छिन् ।

यही गलैंचामा अडिएको छ, मैया श्रेष्ठको परिवार । कारखानामा पुग्दा श्रीमान् र छोरीसँग तानमै थिइन् मैया । दुई छोरी पढाउने र घर खर्च यसैबाट धान्नुपर्छ । १२ वर्षअघि काठमाडौं झरेपछि श्रीमान्–श्रीमती गलैंचामै लडिबुडी गरिरहेका छन् ।

कहिलेकाहीँ आफ्नो आम्दानीले पुग्दैन । महिला समूहबाट ऋण लिन्छिन् । त्यही ऋण तिर्न अर्को दुःख ।

एउटा गलैंचा बुन्न १०–१२ दिन लाग्ने उनीहरू बताउँछन् । एक दिनमा ३० देखि ३५ सेन्टिमिटर जति बुन्न सकिन्छ । एक महिनामा ५–६ मिटर बुन्न भ्याउँछिन् । एक महिनामा ५ हजार रुपैयाँ हाराहारी कमाउँछिन् ।

'सरासर काम गर्नेले त ८–९ हजारसम्म कमाउँछन्,' मैयाले भनिन् ।

यो कारखानामा चिनिमाया, सुनमाया, साइँली र मैयाजस्ता १४ महिला छन् । ठूलो तान लगाउनुप¥यो भने तीन–चार जना मिलेर गर्छन् । सानोलाई एक्लै । तान लगाउनेदेखि फूलबुट्टा भर्ने र डिजाइनअनुसार गलैंचा बुन्ने काम उनीहरू नै गर्छन् । बिग्रियो भने त्यसको जिम्मा पनि उनीहरूकै ।

देशका कुनाकुनाबाट काठमाडौं पसेर चाबहिलको रोल्पा कार्पेटमा गलैंचासँगै आफ्नै जिन्दगी बुनिरहेका यी महिलाको कथा उनीहरूकै शब्दमा:

चिनिमाया तामाङ (काभ्रे, मादनकुडारी)

छोराछोरी हुर्किए । यतै पढे । यतै बस्ने बानी बस्यो । गाउँ फर्केर गयो भने नसक्ने भएपछि फर्किए भन्छन् । यता बस्न सजिलो भने छैन ।

गाउँबाट काठमाडौंमा गलैचा बुन्न फाट्टफुट्ट आउँथे मान्छे । गलैंचा भन्ने कस्तो होला ? हामी पनि बुन्न जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

१४ वर्ष उमेरमा गाउँकै साथीसँग भागेर आएँ । पढेको पनि छैन । नयाँ बानेश्वरको कारखानामा काम सुरु गरेँ । सानो थियो कारखाना । खाना पनि राम्रोसँग दिँदैनथ्यो । तीन महिना बस्न र खानमात्र दियो । पैसा दिएन ।

तीन महिनापछि एक तान सकाउँदा सय रुपैयाँसम्म दिन थाल्यो । बिहान ४ बजेदेखि रातिसम्म काम गथ्र्यौं । त्यसपछि क्षेत्रपाटी, भैंसीपाटी हुँदै यहाँसम्म आइपुगेकी छु ।

मसँग अरू दुईजना साथी पनि आएका थिए । एकजना त कहाँ पुग्योे थाहा छैन । एक जना घर बनाएर राम्रै भएर बसेको छ ।

२३ वर्षको उमेरमै बिहे गरेँ, २०४८ सालमा । घरमा आमा बा, दुई दाइ–दिदी थिए । बाआमाले गाउँमा खेती किसानी गर्नुहुन्थ्यो । छोरो सुवास १ महिनाको हुँदा यहाँ आएकी थिएँ । अहिले छोरो २२ वर्षको भयो । एक छोरी पनि छे । श्रीमान्ले रङ पेन्टिङ गर्नुहुन्छ ।

अहिलेसम्म दुःख छ । दुःख नगरी खान पुग्दैन।


साइँली तामाङ (रामेछाप, दोरम्बा)

नागरिकतामा मेरो नाम सुनमाया छ । बोलाउँदा साइली भनेर बोलाउँछन् । काठमाडौं आउँदा म १४ वर्षकी थिएँ । यहाँ आएर गलैंचा बुन्नतिर लागेँ । तीन महिना सिक्नमात्र लाग्यो ।

तीन महिना खान र बस्नमात्र दियो । त्यसपछि एक जोर लुगा दियो । पछि २ सयमा काम गर्न थालेँ । पढ्न पनि पाइएन । घरमा काम गर्नुपथ्र्यो । दुःख थियो । घरमा आमाबा, दाइ र भाइहरूको साथमा ४ जना दिदीबहिनी थियौं । बहिनी र म मात्र गलैंचा बुन्न आयौं ।

गाउँमा चिनेजानेका सबै काठमाडौं जान्थे । गलैंचा बुन्छु भन्थे । पैसा कमाएर राम्रो–राम्रो लाउँथे । हामीले त राम्रो लाउन वर्ष दिन कुर्नुपथ्र्यो । दसैंमा । त्यो पनि बाआमाले कति दुःख गरेर ल्याउनुहुन्थ्यो । साथीभाइले पनि राम्रो लाउन, खान पाइन्छ भनेर लोभ देखाउँथे ।

उनीहरूकै लहलहैमा म काठमाडौं आएँ ।

३४ वर्ष पुग्दा दुई छोरी र एक छोरा भइसकेका छन् । श्रीमान् मलेसियामा हुनुहुन्छ । पहिले दुवैजना गलैंचा बुन्थ्यौं । एउटा ज्यान थियो । जसोतसो खान पुग्थ्यो । पछि बालबच्चा भए । उनीहरूलाई खुवाउनुप¥यो । पढाउनुप¥यो । गलैंचा बुनेर नपुग्ने भयो । श्रीमान् विदेश जानुभयो ।

विदेशमा धेरै दुःख पाउनुभएछ । यहाँ भनेको काम पाइएन । तलब पनि राम्रो भएन । जाँदा लागेको ८० हजार ऋण तिर्न एक वर्ष लाग्यो ।

श्रीमान विदेश हुनुहुन्थ्यो । यहाँ १९ दिनसम्म आन्दोलन भयो । बच्चा सानो थियो । मैले काम गर्न नसक्ने । श्रीमान्ले पनि पैसा पठाएनन् । त्यतिबेला त यो सहर अन्धकार लाग्थ्यो ।

बिहान ५ बजेसम्म काममा आइपुग्छु । ८ बजेतिर कोठामा गएर बच्चाको लागि खाना बनाउने, खुवाउने गर्छु । अनि ११ बजेतिर फेरि काम सुरु हुन्छ । बेलुका ७ बजेसम्म ।


मैँया श्रेष्ठ (इनरुवा, सुनसरी)


काठमाडौं आएको १२ वर्ष भयो । यहाँ आएदेखि गलैंचामा काम गरिहेकी छु । गाउँमा स्कुल पढाउन गाह्रो भयो । स्कुल टाढाटाढा थिए । पैसा पनि थिएन । जग्गा थोरै थियो । खर्चले नपुग्ने भएपछि श्रीमान्सँगै म यतै आएँ ।

श्रीमान्ले पनि गलैंचा बुन्नुहुन्छ । दुई छोरी छन् । ११ र ५ मा पढ्ने । दुवैले काम गर्दा १८–१९ हजार आउँछ । जति खट्न सक्यो त्यति आउने हो ।

गाउँमा सबै स्कुल जान्थे । म पनि स्कुल जान्छु भन्दा घरको काम कसले गर्छ भन्नुहुन्थ्यो बाआमा । घरको काम गर्नुभन्दा त काठमाडौं जान्छु भनेर भागेर आएँ, गाउँकी ठूलीआमा पर्नेसँग । १७–१८ वर्षकी थिएँ होला त्यतिबेला । ठूली आमाकी छोरीले पनि कार्पेट बुन्नुहुन्थ्यो । उहाँसँग मैले पनि कार्पेट बुन्न थाले ।

सुनमाया लामा (काभ्रे)

म ५३ वर्षकी भएँ । २२ वर्षदेखि गलैंचा बुनिरहेकी छु । माइती रामेछापबाट दाइको छोरीसँग काठमाडौं आएकी थिएँ । नयाँ बानेश्वरमा कोठा लिएर बस्थ्यौं । विमला, म र अर्को एक जना दाइको छोरी । कोठा भाडा पलङ राखेर ७० र पलङ नराखे ६० रुपैयाँ थियो । १० रुपैयाँ भए त तरकारी किन्न पुग्छ भनेर पलङ निकाल्न दियौं । हामी भुइँमा गुन्द्रीमाथि राडी बिच्छ्याएर तीनै जना सुत्थ्यौं ।

काम सिक्न थाल्यौं । तीन महिनापछि मात्र पैसा दिन थाल्यो । महिना दिन काम गर्दा दुई सय आउँथ्यो । रासन पनि सस्तो थियो । तीन रुपैंया धार्नी आलु, तीन मोहर रातो दाल र मट्टितेल लिटरको साढे २ रुपैयाँ थियो ।

मिटरको दुई सय दिन्छ रे भैंसेपाटीमा भन्ने सुनियो । हामी त्यहीँ गयौं । त्यहाँबाट लगनखेल आएँ । लगनखेलमा काम गर्दागर्दै बिहे भयो । त्यहाँबाट तीनचुले, भक्तपुर हुँदै यहाँ आएकी हुँ ।

एक छोरा र एक छोरी छन् । अहिले बच्चा हुर्केकाले अलि सजिलो भएको छ । कामको दुःख त उस्तै हो। पहिला थोरै कमाउँदा पुग्थ्यो । अहिले जति कमाउँदा पुग्दैन । महँगी बढ्यो। हाम्रो लागि त दुःखै छ।

दिनमा १४ घन्टाभन्दा धेरै काम गर्छौं । बिहान ४ देखि बेलुका ७ बजेसम्म । जति दुःख गरे पनि दुःखअनुसार पैसा छैन । गलैंचा बुन्दा हात दुख्छ, औंलाहरू खिइन्छन् । दिनभरि काम गर्दा बेलुका जिउ दुखेर हैरान हुन्छ।

पन्ध्र सालकै जस्तो जनलहर

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहरले ९० वर्ष टेक्नै आँटेका माधवकुमार रिमाललाई पहिलो संसदीय निर्वाचन २०१५ को सम्झना गराउँछ।

बौद्धिक समालोचक

बौद्धिक समालोचक

माध्यमिककालीन नेपाली कविताको समय। अर्थात्, कविताको शृंगारिक युग। मोतिराम भट्टले सुरु गरेको शृंगारिक भावका कविताले सिंगो युग धाने। त्यही माध्यमिक कालको आखिरी समय विसं १९७४ मा एउटा कविता संग्रह निस्कियो–...

जात्रै जात्राको इन्द्रजात्रा

जात्रै जात्राको इन्द्रजात्रा

युवाहरूको ठूलो जमात र वृद्धहरूको समेत सहयोगमा तान्दै–घिसार्दै भित्रिएको लिंगोले बर्सेनि उपत्यकामा इन्द्रजात्रा भिœयाउँछ। भदौ २४ गते काभ्रेको नालास्थित जंगलबाट ल्याइएको लिंगो काठमाडौंको हनुमानढोका दरबारअगाडि ठड्याइयोे। भोलि विधिपूर्वक ढालेपछि यो...

बुवाविनाको जीवन

अभिभावक गुमाउनुको पीडा सायद अरू कुनै पीडासँग दाँज्न सकिँदैन। तीन महिनाअघि मैले बुवा गुमाएँ। त्यो अकस्मात् र अनपेक्षित क्षति मेरा लागि असह्य थियो। हुन्।)

टुटेको साहित्य जोड्दै

टुटेको साहित्य जोड्दै

बीसको दशकमा नेपाली सांगीतिक क्षेत्रका दुइटा अभियान–समूह निक्कै सक्रिय भए– राल्फा र लेकाली सांगीतिक समूह। राल्फालीहरू वामपन्थी धारमा रहेर क्रान्ति र विद्रोहका गीत गाउँथे, लेकाली विशुद्ध लोकजीवनका भाका र सुस्केरालाई...

पूजा गर्न मात्र होइनन् नयराजका कृति

पण्डित नयराज पन्तको १०१ औं जन्म जयन्तीको स्मृतिसभा गत शनिबार नक्सालको 'क्राउन प्लाजा' भन्ने होटलको सभाकक्षामा सम्पन्न भयो। त्यस समारोहको सभापतित्व गर्न न्यायाधीश शेषराज सिवाकोटीले मलाई आग्रह गर्नुभएको थियो।

सेतो छडीको कथानक

सेतो छडीको कथानक

सामाजिक कथानक पछ्याउने आख्यानकार मनिषा गौचन पहिलो उपन्यास ‘वल्लीको डायरी' पछि ‘ह्वाइट केन' लिएर आएकी छन्। 

२०१३ का चर्चित

२०१३ का चर्चित

२०१३ हामीबाट बिदा भइसकेको छ। नयाँ वर्षको सुरुवात भइसक्यो। २०१३ मा निकै फिल्म आए। तिमीले फुर्सदमा फिल्म हेर्‍यौं हौला पनि। तिमीलाई २०१३ मा मनपरेका कुनै फिल्म छन् कि? पुरानो वर्षलाई...