Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

नागरिक शनिबार

संघर्षको सहरमा सफलताको वर्षा

(1 Vote)
'मैले योभन्दा बढी पढाउन नसक्ने भएँ । अरू पढ्नुछ भने काठमाडौं जा, काम गरेर पढ्,' आठ कक्षा पढ्दै गरेका शम्भु श्रेष्ठ बाबुको यस्तो आज्ञा प्रतिवाद गर्ने सामथ्र्य राख्दैनन् । मात्र मसिनो स्वरमा आफ्नो इच्छा जाहेर गर्छन्, 'एसएलसीसम्म त यहीँ पढ्न पाए पनि हुने, त्यसपछि काठमाडौं गएर जागिर खान्छु नि ।'
सेनाको जागिर छोडेर आएका बाबु निर्णय बदल्दैनन् । १० रुपैयाँ बाटो खर्च दिन्छन् र छोरा भेट्न जान लागेका दाजुको साथ लगाएर शम्भुलाई काठमाडौं पठाउँछन् । १४ वर्षमै उनी सहर छिर्छन्, 'भविष्य' बनाउन।

रामेछापको पकरबासबाट दुई दिन हिँडेर बनेपा । सवा दुई रुपैयाँ भाडा तिरेर बसमा काठमाडौं । साइकलसमेत नदेखेका श्रेष्ठलाई काठमाडौंको भव्यताले लोभ्याउँछ । २५ पैसाखाले बरफ खाँदा अनौठो मान्छन् । त्यसमा धेरै दिन भुल्न भने पाउँदैनन् । काठमाडौं टेकेकै दिनदेखि सुरु हुन्छ उनको संघर्ष ।

'कुनै काममा अनुभव नभएको श्रमिकले जे काम पाउँथ्यो, मैले त्यही गरेँ । भाँडा माझेँ, वेटर भएँ, पढाइचाहिँ अघि बढाउन सकिनँ,' बानेश्वरको इन्द्रेणी फुडल्यान्डसहित दर्जन व्यवसायका 'मालिक' श्रेष्ठ सफलतामा सयर गरिरहँदा संघर्षका दिन बताउन अप्ठ्यारो मान्दैनन् । उनी 'संघर्षको सहर'ले दिएको सफलताको फोको फुकाउन थाल्छन् ।

***
ठूलोबाका छोरा कृष्णबहादुर जागिरे थिए । उनैले काम लगाइदिन्छन् भन्ने आशमा बाबुले काठमाडौं पठाए । तर, परिवारमा पहिलोचोटि एसएलसी पास गर्ने सम्भावना बोकेको भाइलाई काम गर्न पठाएको कृष्णलाई मन पर्दैन । 'हेर, यहाँ काम गरेर पढ्न सकिन्न । बरु कापी–कलम किनिदिन्छु घर फर्की, एसएलसी पास गरेर आऊलास्,' काठमाडौंको दुःख बुझेका कृष्ण शम्भुलाई सम्झाउन खोज्छन्, सक्दैनन् ।

'म जस्तो काम भए पनि गर्छु ,घर जान्न,' भन्दै ढिपी गरेपछि एउटा रेस्टुरेन्टमा काम लगाइदिनुभयो । आफू रेस्टुरेन्टमा काम गर्ने भएकोले उहाँको सम्पर्क अन्त थिएन,' दाइले भनसुन गरेपछि खिचापोखरीको अजित पञ्जाब रेस्टुरेन्टमा उनले काम पाए । तलब महिनाको ६० रुपैयाँ ।

उनी काठमाडौं छिरेको छ महिनापछि दसैं आयो । रेस्टुरेन्ट बन्द हुने भएकाले उनले घर जान छुट्टी पाए । बचाएको पैसाले नयाँ टिसर्ट र पाइन्ट किने । नयाँ लुगामा ठाँटिएर गाउँ जाँदाको फूर्ति नै बेग्लै ! धेरैले ठाने, शम्भुले प्रगति गरेछ । चर्को कामका कारण पढ्न नसकेको चाल पाएपछि उनका बाबुले गाउँमै पढाउन खोजे । तर, शम्भुले मानेनन् । 'म दसैं मान्नमात्र आएको हुँ, काम सुरु गरिसकेँ । सके पढौंला नसके जे होला, होला,' भन्दै उनी काठमाडौं फर्किए ।

उनी एकै ठाउँमा अडिएनन् । एक वर्षपछि नयाँ रेस्टुरेन्ट छिरे ।

पाँच वर्षमा उनले काम गरेको रेस्टुरेन्टको संख्या १५ पुग्यो । नयाँ ठाउँमा काम गर्दा तलब बढ्थ्यो । उनले त्यही अवसरको फाइदा उठाउँदै ठाउँ फेरिरहे । उनको मेहनतबाट प्रभावित भए, पाकोमा इन्द्र कवाब चलाउने साहू । त्यसैले शम्भुकै भरमा थापाथलीमा अर्को रेस्टुरेन्ट खोले । शम्भुको प्रोमोसन भयो । उनी त्यो रेस्टुरेन्टको म्यानेजर भए ।

'काम थालेको पाँच वर्षमा म्यानेजर भएँ, अब जीवन सहज हुने विश्वासका साथ विवाह गरेँ,' उनी भन्छन् ।

दुई वर्ष त्यहाँ काम गर्दा नजिकै कोल्डस्टोर चलाउने मुकुन्दप्रसाद आचार्यसँग उनको हिमचिम बढ्यो । विदेशी नागरिकले नेपाली ठिटोको श्रम प्रयोग गर्दै कमाएको आचार्यलाई मन परेन । उनैले शम्भुलाई हौस्याए, 'हेर इन्डियाबाट आएको मान्छेले तिम्रो सिप र श्रम प्रयोग गरेर पैसा कमाइरहेको छ । तिमी आफैं रेस्टुरेन्ट खोल्ने आँट किन गर्दैनौ ?' आचार्यले बारम्बार झक्झक्याएपछि शम्भुको दिमागमा पनि व्यापारी बन्ने सपना भरियो ।

'के गर्ने त मसँग पैसा छैन ?'

'तिमी र मेरो भाइ विन्दुप्रसाद मिलेर रेस्टुरेन्ट खोल, म सहयोग गरौंला,' आचार्यले जुक्तिसमेत निकालिदिएपछि उनी श्रमिकबाट व्यापारी बन्न तयार हुन्छन् ।

***
२०—२० हजार लगानी, तीन वटा टेबलको 'तन्दुरी कवाब' । २०४३ सालमा बत्तिसपुतलीमा उनको व्यापारको जग बस्यो ।

आफ्नो कामदार व्यापारी बन्न लागेको इन्द्र कवाबका साहूलाई मन पर्ने कुरै भएन। उनले छोरालाई लगाएर शम्भुलाई फर्काउने भरपुर कोसिस गरे । 'हामी नै तिमीलाई पार्टनरसिप दिऔंला, काम नछोड,' भन्ने साहूको छोरालाई उनले जवाफ दिए, 'गाँस छोड्नु, साथ नछोड्नु भन्छन् । साथीसँगै काम थालिसकेँ छोड्न मिल्दैन ।'

दुई वर्ष बित्यो, व्यापारले उकासेन । काम नछोडेको भए महिना–महिनामा तलब त आउँथ्यो भन्ने पछुतोले शम्भुलाई सताउन थाल्यो । 'त्यतिबेला २० हजारले आधा रोपनी जग्गा आउँथ्यो । त्यो पैसाले जग्गा किनेको भए कति जाती हुन्थ्यो भनेर विचलित भएँ,' पैसा डुब्न लागेकोमा चिन्तित भएको उनी बताउँछन् ।

उनी स्वयं दोधारमा थिए । साझेदार साथीले नयाँ प्रस्ताव ल्याए, 'म त यो व्यापार छोड्छु । कि तिमी चलाऊ, कि बेचौं ।' शम्भुलाई रेस्टुरेन्ट बेच्न मन लागेन । किन्न पनि सकेनन् । अनि गए पहिलोचोटि काम लगाइदिने दाइसँग परामर्श गर्न । दाइ जागिर नछोडीकन शम्भुको साझेदार हुन तयार भइपछि उनले साथीलाई बिदा गरिदिए, २० हजार बिस्तारै तिर्ने सहमतिमा ।

दाइसँगै एक कुकलाई पनि उनले पार्टनर बनाए । नयाँ ढंगले व्यापार विस्तार भयो । तीन वटा टेबलले ग्राहक थेग्न सकेन । उनले अर्को सटर पनि भाडामा लिए । व्यापार बढ्दै गएपछि उनले बुझे– कामदार हुनजस्तो सजिलो रहेनछ व्यापार चलाउन । धैर्य चाहिँदो रहेछ ।

रेस्टुरेन्टको शाखा कुपन्डोलमा विस्तार गरे । त्यो पनि राम्रोसँग चल्यो । तेस्रो शाखा खुल्यो न्युरोडमा । तीन जनालाई तीन रेस्टुरेन्ट भाग लाग्यो । पुराना साझेदार आचार्यले फेरि सहकार्यको प्रस्ताव गरे । 'थापाथलीको जुन रेस्टुरेन्टमा म पहिला काम गर्थें त्यसैको आडमा नयाँ घर बन्दै थियो । साथीले त्यहीँ रेस्टुरेन्ट खोलौं, म हेर्छु भने । कुनैबेला आफूलाई काम दिनेसँग प्रतिस्पर्धा गर्न मन लागेन । उनले व्यापारमा भावनात्मक हुनु हुँदैन भनेर सम्झाए,' श्रेष्ठको व्यवस्थापनमा अचार्यले त्यो रेस्टुरेन्टको जिम्मा लिए । राम्रोसँग चल्यो ।

***
रेस्टुरेन्ट आउने ग्राहकको कमी थिएन । जन्मदिन र पार्टीका लागि अर्डर आउन थाल्यो । व्यापारिक चेतले भरिएका शम्भुले क्याटरिङमा भविष्य देखे । तन्दुरी र कवाब रेस्टुरेन्टबाट क्याटरिङमा पाइला चाल्न साझेदारहरूलाई राजी गराइहाले ।

नयाँ व्यवसायको नाम के राख्ने ? थरीथरीका प्रस्ताव भयो । 'यही राख्ने' भनेर सहमति भएन । गोलाप्रथाबाट नाम टुंगो लाग्यो– 'इन्द्रेणी क्याटरिङ' । व्यापारमा नयाँ–नयाँ रङ पछ्याउँदै गरेका शम्भुले इन्द्रेणीझंै सप्तरंगी व्यापारको सपना देख्न थाले ।

क्याटरिङले पनि गति लियो । अब उनलाई घर–घरमा गएर पाल टाँग्दै क्याटरिङको काम गर्नुभन्दा आफ्नै हल खोल्न पाए काइदा हुन्थ्यो भन्ने लाग्न थाल्यो । उनले आलटाल गरेनन्। २०५५ सालमा गैरीधारामा इन्द्रेणी पार्टी प्यालेस खोले । राजधानीमा बैंक्वेटको बिगबिग भइसकेको थिएन । यसले पनि उनलाई सफलता दियो ।

'व्यापार राम्रोसँग चल्यो भने घरभेटीको वक्रदृष्टि परिहाल्ने । कि भाडा बढाएर, कि हटाएर दुःख दिए,' उनले आफ्नै भवनमा रेस्टुरेन्ट, सेमिनार हल, बैंक्वेट आदि खोल्ने सपना देख्न थाले । सडक छेउमा जग्गा खोज्न थुप्रै ठाउँ चहारे । बानेश्वरको मूल सडकमा आठ आना जग्गा भेटेपछि उनलाई त्यही ठाउँमा स्वप्न महल ठड्याउन उपयुक्त होलाजस्तो लाग्यो ।

'२०५८ सालमा आफ्नै भवन बनाउन त कस्सियौं, कसरी गर्ने केही आइडिया थिएन,' उनी सम्झन्छन्, 'कुमारी बैंकका सुनील मल्लसँग चिनजान थियो । उनैले ५० लाख ऋण स्वीकृत गरिदिए ।'

काठमाडौंमा 'इन्द्रेणी कम्प्लेक्स' बन्दै थियो । उनीहरू साई बाबाको आश्रम पुट्टपर्ती गएका थिए । 'साँझ त्यहीँको चौरमा बसेर कम्प्लेक्स भाडामा लगाउने कि, आफैं केही गर्ने भन्ने सल्लाह गर्दा इन्द्रेणी फुडल्यान्ड चलाउने निधो भयो,' उनी फुडल्यान्ड, पार्टी हल आफैं चलाउने योजना बोकेर फर्किए ।

फुडल्यान्डको व्यापार कम्प्लेक्सको तलासँगै बढ्यो । कम्प्लेक्स क्षेत्रफल आठबाट २० आनामा विस्तार भयो । सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारीमा पनि संलग्नता बढाए । भन्छन्, 'आफ्ना कामदारलाई समस्या पर्दा सहुलियत ऋण दिन पाइन्छ भनेर ।'

इन्द्रेणी फुडल्यान्ड बानेश्वर र महाराजगन्ज, इन्द्रेणी फास्टफुड थापाथली, न्यु टेस्ट तन्दुरी टेकु र न्युरोड, इन्द्रेणी पार्टी प्यालेस बसुन्धरा र गैरीधारा र तन्दुरी कवाब कर्नर बत्तिसपुतली उनकै नेतृत्वमा चलेको छ । ३० वर्षअघि काम खोज्न काठमाडौं आएका श्रेष्ठ अहिले सात सय जनालाई रोजगार दिने हैसियतमा छन् ।

सफलतासँगै उनको सपनाको साइज पनि बढ्दै गएको छ । 'एउटा पाँचतारे होटल खोल्न साह्रै इच्छा छ ।' उनले यो सपनाको परीक्षण गर्न तीनतारे होटलमा संलग्नता जनाइसकेका छन् । अभिनेता श्रीकृष्ण श्रेष्ठसहितका साझेदारसँग मिलेर गौशालामा 'होटल इन्द्रेणी हिमालय' खोलेका छन् ।

'छिटै पाँचतारे होटलको यात्रा अघि बढाउँथे होला सरकारी नियमले हतोत्साहि बनाएको छ,' उनीसँग गुनासो गर्नुका केही कारण छन् । भन्छन्, 'मापसे, बर्डफ्लु र पार्टीमा सीमित मान्छेमात्र बोलाउनुपर्ने नियम हाम्रो व्यापारको ठूलो रोग बनेको छ ।'

***

व्यापारबाहेक कुन चिजलाई प्राथमिकता दिनुहुन्छ ?

कोटेश्वरस्थित घरमा कुरा गरिरहँदा उनले भने, 'सुत्दामात्र व्यापार सोच्दिन, तैपनि सपनामा त देखिहाल्छु !'

बल्ल उनको जीवनमा व्यापारबाहेक व्यायाम घुसेको छ । दुई घन्टाको लागि । '४० कटेपछि रोगले समात्छ भनेर धेरैले डर देखाए त्यही भएर क्लब जान थालेको छु,' उनी भन्छन् ।

गलामा पाँच तोलाको सिक्री झुन्ड्याएका छन्, हातमा मोटो ब्रासलेट । 'अरू कुरामा धेरै रुचि छैन । सुनचाहिँ गोविन्द कार्कीको संगतले लगाउन थालेको,' सुन र गाडीले उनको ध्यान धेरै तान्छ । रेन्ज रोभर चढिरहेका श्रेष्ठ 'दुःखका बेला बनाएको'ले नयाँ घर खोज्ने पक्षमा भने छैनन् ।

काठमाडौं छिरेदेखि रेस्टुरेन्टको खाना खाएका उनी अहिले पनि घरमा त्यति खाँदैनन् । 'अरूको मूल्य र गुणस्तर बुझ्न ननस्टारदेखि फाइभस्टार होटल गइरहन्छु,' उनको खानपिनलाई पनि व्यापारले नै नियन्त्रण गरेको छ । फुर्सद हुँदा जनसम्पर्क विस्तार गर्न रुचाउँछन् ।

'धेरै प्रगति गर्नुभएछ' भन्दा जवाफ दिन्छन्, 'खै के भन्ने, आफूभन्दा माथि अझै पनि कति छन् कति !'

यसले बुझाउँछ– उनी अझै प्रगतिको फड्को मार्ने ध्याउन्नमा छन् ।
बहादुर लेखक

बहादुर लेखक

नामको पछाडि 'बहादुर' सुनेकै भरमा मानिसहरू ठान्दा रहेछन्– उनी नेपाली हुन्, पुरुष हुन्। भारतीय मूलकी अमेरिकी लेखक/समीक्षक गायत्रा बहादुर भने न त नेपाली हुन्, न त पुरुष। उनले नेपालको नाममात्र...

किसिम किसिमका पाठक

‘दमिनी भीर' पढिसकेपछि गोरखाकी पाठक पुष्पा केसीले मसँग निक्कै घच्चीका मत राखिन्। उनको जोड थियो, ‘तपाईंको उपन्यास पढिसकेँ। राम्रै लाग्यो तर ‘लभ' पुगेन।

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

क्लिन इनर्जी बैंककी महाप्रबन्धक वर्षा श्रेष्ठ राजनीतिक वातावरणमा हुर्किइन्। बाबु होमबहादुर श्रेष्ठ पञ्चायतकालका प्रभावशाली मन्त्री थिए। घरमा राजनीतिक जमघट भइरहन्थ्यो। दाइ र दिदीहरू चासो राख्थे, तर वर्षालाई कुनै मतलब थिएन।...

कृष्ण खनालका चुनावी टिप्स

कृष्ण खनालका चुनावी टिप्स

काठमाडौं– १० कांग्रेसको एक प्रतिबद्ध मतदाता। का मतदाता राजनीतिशास्त्री कृष्ण खनालको परिचय अघिल्लो चुनावसम्म यस्तो थियो। त्यो अब रहेन। उनको भोट त यसपालि पनि 'लोकतन्त्रकै पक्षमा' जान्छ। तर कसलाई! 

मर्स्याङ्दीझैं तीन घण्टा

मर्स्याङ्दीझैं तीन घण्टा

सहकर्मी सन्तोष न्यौपाने र म अघिल्लो शुक्रबार कपुरधारा पुग्दा अपराह्नको साढे चार बजेको थियो। स्थानीय तरकारी पसलमा कमिज सुरुवाल र ढाकाटोपी लगाएका एक प्रौढ भेटिए। हामीले सोध्यौं, 'माधवप्रसाद घिमिरेको घर...

गुफाभित्र देवतै देवता

गुफाभित्र देवतै देवता

घुर्मिबाट हलेसी जाँदा जयरामघाटमा दुधकोशी नदी तर्नु पर्छ। घाट वारी ओखलढुँगा पर्छ भने पारी खोटाङ। नदीमा बेलिब्रिज छ जुन बर्खामा झिकिन्छ। घाटबाट ३२ किलोमिटरमा हलेसी महादेव। वर्सेनी हजारौं तिर्थालु हलेसी...

वीरसिंहको पोखरेली पौरख

वीरसिंहको पोखरेली पौरख

ढुंगैढुंगाले बनेका लोभलाग्दा घरहरूले पोखरा आउने पाहुनाका आँखा तान्छन्। माछापुच्छ्रे हिमाल र फेवातालबाहेक आगन्तुकको आँखा पोखरामा यदि अरू केहीले तान्छ भने त्यो यहाँका घर नै हुन्। बेलायती सेनाबाट आर्जेको सम्पत्तिबाट...

मलाई मनभोग आमालाई क्याडवरी

मलाई मनभोग आमालाई क्याडवरी

बिहानीको चार वा पाँच बजेतिर ओछ्यानबाट बोलाउनुहुन्छ, 'ए बाबु, मलाई उठाइदेऊ...।' त्यसपछि ओछ्यानसँगै मेचमा जोडिएको कमोढ र कोपराको प्रयोग हुन्छ।