Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

नागरिक शनिबार

कसले लैजाला गाउँमा दसैं?

  • १२ असोज, २०७०
  • शकुन्तला जोशी
  • DISQUS_COMMENTS
(1 Vote)
बारीका डिलडिलमा उभिएका बोटमा लटरम्म अम्बक पाक्न थाले होलान्। घुरेनको आडका निबुवा र बिमिरा पनि छिप्पिन थाले होलान्। बोटै नुहाएर फलेका अनार र दारिममा पनि त मिठो स्वाद पसिसक्यो होला।
यी सबै हेर्दै हजुरआमा भन्नुहुँदो हो– 'यसपालि त आइपुग्लान् कि केटाकेटी यो माटोमा टेक्न?' आल्चा र बडहर पाक्न थालेपछि धमिला आँखामा आँसु टिल्पिलाउँदै हजुरआमा डाँडागाउँतिरको बाटो हेर्दै टोलाइरहनुहुन्छ रे। यो खबर फोनमा सुनाउँदै भक्कानिनुभो आमा र सोध्नुभो– 'यसपालिको दसैंमा त सबैजना घर आउँछौ होला नि नानी?'
भविष्य उज्यालो होला भन्ने आशाको त्यान्द्रो समातेर वर्षांैअघि राजधानी छिरेको म घर फिर्न नपाएको तीन वर्ष भएछ। डाँडाको घामजून भएका हजुरबा–आमालाई हाम्रो नियास्रो लाग्नु स्वभाविक हो। मन त हाम्रो पनि कहाँ रमाएको छ र यहाँ? दूरदराजको गाउँको चिसो हावा खाएर हुर्केका प्राणीले खै किन हो कुन्नि सहरसँग माया बसाउनै सकिँदो रहेनछ। थाहा छैन, मलाई मात्रै यस्तो लागेको हो कि! हुन पनि के बसोस् र माया यो रेडिमेड सहरमा! मन अलल्लिएका बेला एक्लै रुन पाउने ठाउँ कहाँ छ र यहाँ! तनावले रन्थनिएको बेला एकछिन टाउको अड्याउने चौतारो कहाँ भेट्नु र यहाँ? तर पनि कुन उत्कण्ठाले खिचेर राखेको होला यो सहरमा? 
सानो छँदा 'दसैं' शब्द कसैले उच्चारण गरेमात्रै पनि जीवनकै ठूलो उत्सव आउन लागेजस्तो हुन्थ्यो। दौंतरीहरू मिलेर कालिकोटे डाँडामा रातो माटो लिन जानेको ताँती छुट्थ्यो। साँधनेपारी भीरमा कमेरो खन्न जान पनि उत्तिकै तँछाडमछाड हुन्थ्यो। गाउँका ठिटाठिटी अधैर्य भएर भोर्लाको पात टिप्न जाने उर्दी पर्खन्थे। भोर्लेभीरमा कुन गाउँका पहिले जाने र रोजीरोजी पात ल्याउने भन्ने पनि प्रतिस्पर्धा नै हुन्थ्यो। अर्थुङ्गेमुनिको त्यो भीरमा पात टिप्न जानेहरूले गीत गाएर, कुर्रा लाएर वनै थर्काउँथे। मायापिरती बसेका कोही जोडी भए धीत मरुन्जेल मनको गाँठो फुकाउने मौका पनि हुन्थ्यो त्यो। त्यो वनमा हाम्री कान्छी निनी, देवकी निनीहरूले गाएको गीत आज पनि सम्भि्कन्छु–
'गाई खोला खोला
सँगसँगै हिड्नु हौ कतिन्जेल होला?'
दमाई माइलो काकाहरू गीतको भाका यसरी फर्काउँथे– 

'पात टिप्नु भोर्ला
धेर माया नलाऊ है देश काट्नु पर्ला।' 
यो गीत आज पनि त्यही भीरपाखामा कतै गुन्जिरहेकेा होला। भीरमा पातसँगै ठिटाहरू पिङ हाल्ने बाबियो काट्थे। भारी पुगेपछि सबै मिलेर खाजा खाने चलन हुन्थ्यो। त्यो बेला खाइने चाम्रे, तरकारी, अचार र कोदोको बाक्लो छ्याङको स्वाद आज कुनै होटलमा खाइने डिनरभन्दा निकै स्वादिलो हुन्थ्यो जस्तो लाग्छ। खाजा खाएर उकालिएपछि फेरि चाँगेली ढाँडको शिरमा बिसौनी मारेर कुर्रा लाउँथे। ठिटाहरू कुर्लेको सुनेपछि यतापट्टि गाउँमा था' हुन्थ्यो कि पात टिप्नेहरू फर्कंदै छन्। 
त्यो बेला गाउँमा अचम्मको एकता र सौहार्दता हुन्थ्यो। सबैले आ–आफ्ना टोलको बाटोघाटो सरसफाई, मर्मत गर्थे र अर्को टोलसम्म पुर्‍याउँथे। त्यो अभियानले सबै मूलबाटो र गोरेटाहरू सफा र फराकिलो बन्थे। मलाई लाग्थ्यो– त्यही चिटिक्क पारिएको तिनै बाटो भएर दसैं घरघरमा भित्रिन्छ। दसैंको बेला घरका सबैले एकएक जिम्मेवारी लिनुपर्थ्यो। हजुरबा र हामी केटाकेटी मिलेर घर वरिपरि खुर्किखार्की गरेर सफा पाथ्यर्ौं। आमा घरको ध्वाँसो झार्नुहुन्थ्यो। स्कुलका हेडमास्टर बुबा भने रबि बजार पुगेर तलब ल्याउनहुन्थ्यो। तलब बाँडेपछि कडककडक बज्ने नयाँ नोट बोकेर चिनी, मरमसला र लुगाफाटो किन्न धरान हान्निनुहुन्थ्यो। त्यो बेला अहिलेको जस्तो मिलमा चेप्ट्याएको चिउरा खाने चलन थिएन। हरेक घरमा २/३ दिन लाएर चिउरा ढिकीमा कुट्ने चलन थियो। परपरसम्म ढिकीको ढुकढुक आवाज र चिउराको हरहर बासनाले सबैका मन हर्षले उचालिन्थ्यो।
त्यसपछि घर सिँगार्ने काम हुन्थ्यो। कसैले चुन छ्याप्थे, कसैले कमेरो। छोरीबुहारीले भने रातोमाटो पोत्नुपर्थ्यो। पोतारो दल्दै जाँदा रातोमाटोबाट आएको सुवासले एक प्रकारको अद्भूत आनन्द दिन्थ्यो। बेटारी फुटाएर ढोकामा कालो दल्ने जिम्मा प्रायः ठूलो भाइ माधवको हुन्थ्यो। तब सिंगारिएकी बेहुली जस्तो बन्थ्यो घर। 
दसैं भिœयाउने कर्म अझै बाँकी हुन्थ्यो। आमा र हजुरआमा खरानीमा उमालेको सिरक, सिरानीका खोल, तन्नाजस्ता ठूला लुगा पँधेरामा लगेर मुंग्रोले पिट्नुहुन्थ्यो। हजुरबा गाउँलेसँग मिलेर भेँजो (सबै मिलेर राँगा काटेर मासु लिने कार्य)को व्यवस्थापनमा जुट्नुहुन्थ्यो। हामी बुबाले ल्याइदिएका नयाँ लुगा दमाई बडाऊहरूले कहिले सिलाइदेलान् भनेर उनीहरूकै घरमा ढुकिबस्थ्यौं। अहिलेजस्तो मन लागेकाका बेला नयाँ लुगा फेर्न कहाँ पाउनु त्यो बेला!
खुटुुटु चलिरहेको पयरकलको अगाडि उभिएर 'मेरो पहिले सिलाइदेऊ' भन्नेको हतारोले पनि नआत्तिइकन दर्जीहरू लुगा पालैपालो सिलाइरहेका हुन्थे। पालो कुर्दाकुर्दै कहिलेकाहीँ विजयादशमीको दिन टीका थाप्ने बेला भइसक्दा पनि लुगा सिलाइसक्दैनथे। त्यत्तिबेलाको बेचैनीले हाम्रो अनुहार हेर्न लायक बन्थ्यो। नियमित दिनचर्याले कहिल्यै थकाई मार्न नपाएको आमाहरूलाई भने दसैंले झनै चटारो थप्थ्यो। बाहानका बाहान रक्सी उतार्नु, घरका जहानदेखि हुरीका हुरी आउने पाहुनालाई खुवाउनु–चुठाउनु, बस्तुभाऊको रेखदेख गर्नु सबै उहाँहरूकै थाप्लामा हुन्थ्यो। अरूले दोहोर्‍याएर खाजा खाने बेला हुँदा पनि आमाहरूले बिहानको खाना खान भ्याउनु हुँदैनथ्यो। तर पनि वर्ष दिनमा एकपल्ट माइती जान पाइने ढुक्कले तिनको अनुहार चम्केको हुन्थ्यो। उसो त आमाबासँगै पछि लागेर मावली जाने रहरले हाम्रो पनि खुसीको सीमा हुँदैनथ्यो।
घरमा टीका लाएपछि त्यही साँझ हामी हजुरआमासँग कोसेलीको थुन्से बोकेर त्यही साँझ बुबाको मावली जान्थ्यौं। त्यही मौका आइतबारे थानमा लिंगे पिङमा मच्चिन्थ्यौं। एकपल्ट भुइँ छोड्नुपर्छ भन्दै बूढापाका पनि पिङ खेल्न आउँथे। ६ जातजातिको बसोबास भएको गाउँ पिङमा झुम्मिने, दसैं पञ्चमी बजार भर्नेको रौनकले सद्भावको फूलबारी बन्थ्यो। ओहो! साँच्चै त्यो बेला खुसीको बहारले गाउँ नै उचालिन्थ्यो। 
हामी मावल जाँदा बाटोभरि माइती–ससुराली र मावल जानेको ताँती नै हुन्थ्यो। कोही थुन्सेमा कोसेली बोकेर, कोही साना बालबच्चालाई कोक्रोमा बोकेर, कोही ढाकरमा चारखुट्टामा फल बाँधेका तर मारेको सुंगुर बोकेका कोही स–साना पेरुंगाको भारी बोकेका...। चिने नचिनेका सबै बोल्दै, हाँस्दै बाटो काटिरहेका हुन्थे। त्यो हार्दिकता, सहिष्णुताले मान्छेहरू आफ्ना सबै दुःख बिर्सेर हिँड्थे।
बिहान सबेरै हिँडेका हामी दशमीमाथिको चौतारो, त्यसपछि थामडाँडामा पुगेर खाजा खान्थ्यौं। टपरीमा नातो बाँधेर आमाले बोक्नुभएको चाम्रे, चिउरा, सुकटी, फिलुंगेको अचार र अलिअलि तीनपानेको बलले हाम्रा खुट्टा छिटोछिटो चल्थे। महाभारत पर्वत श्रेणीमा पर्ने थामडाँडाको फराकिलो नागी पार गरेर हामी रवि बजार हेर्दै इलामको फुएतप्पा ओर्लिन्थ्यौं। साँझ मावल पुग्ने खुसीले रमाउँदै फाकफोक खोला झरेपछि आमाले केही सिक्का पैसा र तितेपाती टिपेर खोलामा चढाउनुहुन्थ्यो। हामी पनि ढोग्थ्यौं र पुलबाट ठूल्ठुला ढुंगामा सेतो छाल उराल्दै बगेको खोला हेर्दै एकतप्पाको उकालो लाग्थ्यौं।
निकै लामो उकालो हिँड्दा हर्षले उचालिएका खुट्टा थाक्न थाल्थे। साँझ पर्दै जान्थ्यो। 'सिकारी भञ्ज्याङ पुग्न कति बाँकी छ? बुबालाई हामी पटकपटक सोध्थ्यौं। उः त्यो डाँडा काटेपछि।' हामीलाई त्यो भञ्ज्याङ पुर्‍याउन सायद बुबालाई निकै हम्मे पर्थ्यो होला।
अँध्यारो खसेपछि मात्र पुगिने त्यो भञ्ज्याङमा पुगेर हामी फेरि केही खाजा खान्थ्यौं। लुगा फेरेर कपाल कोरेपछि बल्ल मावल पुगेजस्तो लाग्थ्यो। तर त्यो पछि पनि याङ्मा खोला तर्दै एक घन्टापछि मावल पुग्थ्यौं। रातिसम्म पनि हामीलाई पर्खिबस्ने हजुरआमालाई देखेपछि आमा खुसीले एकछिन रुनुहुन्थ्यो। 
परदेशिएका तन्नेरी–तरुनी सबै घर फर्किन्थे। बिछोडिएका सबैको भेट हुन्थ्यो। परदेशबाट घर फर्केका केटाहरू प्रायः ठूलो स्पिकर भएको रेडियो वा क्यासेट प्लेयर बोकेर गाउँ फर्कन्थे। सबैको घरमा नभए पनि बेटारीले चल्ने रेडियो, क्यासेट हुनेहरूले घरको बरन्डा वा पिँढीमा राखेर गाउँ नै थर्किने गरी बजाउँथे। 'तारादेवीको स्वमा– शुभकामनाभरि...बोलको गीत कतै बजेको सुन्दा आज पनि ती दिनको याद आउँछ। 
आज कहाँ रहे र ती दिन? कालाबजारीको यो दुनियाँमा घर जान बसको टिकट पाइएला जस्तो छैन। गाउँमा पनि त्यो रौनक कहाँ रहनु दसैंको? हिजो एउटै चौतारीमा सहिष्णुताको सुस्केरा मार्नेहरू आज जात, धर्म, अधिकारका नाममा एकार्काको बाटो काटेर हिँड्न थालेका छन्। झन्डा र विचारको भेदमा कान्लो बाराबार हुन थालेको छ। यही विभेदले गर्दा घर त सिँगारिन्छ होला तर सबै हिँड्ने बाटो खन्न छाडिएको छ। गाउँमा कुर्रा लाउँदै पात टिप्न जाने तन्नेरी ताँती छुट्दैन अचेल। उत्साहले उचालिने युवा गाउँमा बाँकी छन् नै कति? अलिअलि पढेलेखा केही हामी सहरबासी भयौं। कयौं युवा द्वन्द्वमा मारिए, कयौं कोइलाखानी भासिए। त्योभन्दा ठूलो संख्यामा आफ्नो सिमखेत, टारबारी बाँझो छाडेर मुग्लानमा भेडा चराउन पुगेका छन्। लिम्बूवान प्रदेशको त्यो गाउँमा मौलोमा राँगा मार हान्ने संस्कृतिका किरातीहरू कति त अब दसैं बहिष्कार अभियानमै लागेका छन्। 
गाउँका डिके भाइ, सेखाली माइलो र दमाई काइँला काकालाई द्वन्द्वका बेला सेनाले मार्‍यो। टीका काका, कमल, खोबिन्द्र, सानो कमल, राजु, ङइन्द्रे, दिनेश, कुमारेलगायत सबै त कतार, मलेसियामै छन् रे। हाम्रै ठूलो भाइ माधव पनि परदेशी भो। अब कसले काट्ने बाबियो! कसले गाड्ने लिंगो र हाल्ने पिङ! 
रेमिट्यान्सले राज्यको ढुकुटी चलायमान भइरहे पनि, घरका छानामा टिन टल्के पनि, श्रीमतीका कानमा सुन झल्के पनि खै कहाँ छ र खुसीको लहर गाउँमा यसपालि? कसले डोहोर्‍याउने होला दसैंलाई संघारसम्म यसपालि!
तेक्वान्दो चुचुरोमा

तेक्वान्दो चुचुरोमा

२०४८ सालमा एसएलसी दिएपछि संगीना वैद्यको औपचारिक खेल जीवन सुरु भयो। स्कुल पढ्दा नै ‘वीरेन्द्र सिल्ड' जित्न भूमिका खेलेकी उनी त्यतिखेरै खेलकुदको मोहपासमा यसरी जेलिइन्, तेक्वान्दो चुचुरोमा नपुगी उम्कनै सकिनन्।

तपाईंको देशमा

तपाईंको देशमा

कुदिरहेको रेलमा तीन नेपाली छौं। रेलभरि मान्छे छन्, थरीथरीका। एसियाली, अफ्रिकी, युरोपेली आदि अनेक हुलिया बोकेका अनुहार।

अन्तर्द्वन्द्व

अन्तर्द्वन्द्व

'तपाईं यो बच्चाकी आमा?'एउटा नियमित प्रश्न। कसैसँग केही अन्तरंग हुँदा एक वा दुई संवाद साट्नेबित्तिकै ममाथि आइपर्ने प्रश्न। यस्तो प्रश्न– अलिकति स्पष्टीकरणको मौकाका लागि मिठास अनुभव गर्दछु भने उतिखेरै त्यो...

जाडो बिदामा लुम्बिनी

जाडो बिदामा लुम्बिनी

जाडो बिदामा विद्यार्थीलाई घुमाउनैपर्ने एउटा ठाउँ हो लुम्बिनी। विश्व शान्तिदूत गौतम बुद्धको जन्मथलो। किताबमा पढेका कुरा त्यहाँ पुगेर हेर्दा विद्यार्थी रमाउँछन्। त्यसैले अभिभावकले उनीहरूलाई त्यहाँ घुमाउनुपर्छ।

गजबका किट्स

गजबका किट्स

तिमीले पजल खेलेका छौं? घरमा नभए स्कुलमा खेलको हुनुपर्छ। पजल खेल्न खुब मज्जा हुन्छ है। आफुलाई मनपर्ने कार्टुन पात्र वा फिल्मको पजल खेल्न पाए त झन् मज्जा। अनि दिमागी कसरत...

सर, क्षमा पाऊँ

फुकीढल तर अग्लो ज्यान सरासर भित्रिन्छ। साथीहरू जर्यााकजुरुक उठ्छन्। ऊ सरासर गएर कालोपाटीतिर कन्नो फर्काएर ठिङ्ङ उभिन्छ। दुवै हात पखेटाझैं १८० डिग्रीमा फैलाउँछ। र, खुम्च्याउँदै 'बस'को इसारा गर्छ। ओठ खोल्दैन।...

फेरिँदैछ बालापान

काठमाडौं– बाल्यकालमा गीर (लठ्ठीले बललाई हानेर खेलिने) खेलेर हुर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले अहिलेको लोकप्रिय क्रिकेटसम्म हेर्ने मौका पाए। विश्वभर चलिरहेको क्रिकेट त्यही गीर खेलको विकसित रूपझैं लाग्छ, उनलाई।

बाइक चोरीको भित्री कथा

बाइक चोरीको भित्री कथा

रातको १२ नाघिसकेको छ। कुकुर अरू रातभन्दा बढी नै भुकिरहेको छ। काठमाडौं मस्त निद्रामा रहँदा दुर्गा श्रेष्ठ भने कुकुरको एकोहोरो भुकाइका कारण ब्युँझन्छन्। साढे एक बजेतिर भुकाइ केही मथ्थर हुन्छ।...