Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

नागरिक शनिबार

डेढ लाखको बोका : छटपटाइरहेको खसी

  • १९ असोज, २०७०
  • सन्तोष न्यौपाने
  • DISQUS_COMMENTS
(0 votes)
हजुरबाले पूजा गरेको, टोलमा पिङ खेलेको र ट्रेलिन्जको कमिज लगाएर मनाएका दसैं मह जोडीका यादगार दसैं हुन्। बच्चा बेलाको दसैं कति रमाइलो! घरघरमा पूजा–आराधना। खुलेको आकाश र घमाइलो मौसम।
'घरमुली हुनुअघिकै दसैं रमाइलो,' मदनकृष्ण श्रेष्ठले भने।
'घरमुली हुनुअघिका दसैंबारे पछि कुरा गरौंला,' त्यतिबेलै हरिवंश आचार्य बोलिहाले, 'हो हो। घरमुली हुनुअघिका दसैं खुबै रमाइलो भएको थियो।'
काठमाडौं खुसिबुस्थित हरिवंशको घरमा रहेको मह सञ्चारको अफिसमा यी जोडी पुरानो दसैं सम्भि्कँदा नोस्टाल्जिक बने। हामी मह जोडीको दसैंतिर लाग्यौं।
२०३८/३९ साल। मदनकृष्णकी श्रीमती बिरामी भएर प्रसूति गृह भर्ना भएकी थिइन्। बजारमा दसैंको चहलपहल सुरु भइसकेको थियो।
दसैं मनाउने योजना बन्दै थियो। उता हस्पिटल पनि पुग्नुपर्ने। हरिवंश भन्छन्, 'हामीले सल्लाह गर्‍यौं, दुवैले एउटा खसी किन्ने र बराबर भाग लाउने।'
खसी किन्न दुवै टुकुचा पुगे। वाल्मीकि क्याम्पसअगाडि खसी बजारमा मोलतोल चलिरहेको थियो। सानादेखि ठूला खसी–बोकाको किनबेच भइरहेको थियो। उनीहरूले एउटा खसी रोजे– ३५ सयको। 'मासु लगभग २० केजी थियो,' हरिवंश सम्झन्छन्। उनले खसी डोहोर्‍याए, मदनकृष्ण पछि लागे।  खसी धोबिधारातिर लम्किँदै थियो।
मदनकृष्ण र हरिवंशले खसी डोहोर्‍याउँदै ल्याएपछि देख्नेलाई चाख हुने नै भयो। बाटोमा भेट्नेले सोध्न थाले– 'ओहो मदन दाइ खसी ल्याउनुभएको? ठूलै रै'छ त, कति पर्‍यो हौ?'
हरिवंशले हत्तपत्त उत्तर फर्काए– 'यसको? जम्मा १८ सय।'
मान्छे आत्तिन्थे। 'ओहो! कहाँबाट किनेर ल्याउनुभएको?' धेरैले प्रश्न गरे।  
'ऊ त्यो वाल्मीकि क्याम्पसअगाडि जत्ति पनि पाइन्छ,' उनीहरूले भने।
'ओहो! कति सस्तो,' सस्तो पाइने भन्दै धेरै उतै दौडिए।
मान्छे दौडेको देखेर उनीहरू मरीमरी हाँसे। अरू खसीको दाम बढाएर बताउँदा आफ्नो 'इज्जत' बढेको ठान्थे। ठट्टा गरेर उनीहरूले खसीको दाम घटाएर भनिदिए। त्यो सम्झँदा अहिले पनि कुनै टेलिफिल्मको सुटिङ गरेजस्तै लाग्छ उनीहरूलाई।
धोबिधारामा बगरेले खसी काटिदिए। मासुलाई आधा–आधा बाँडेर दुवै मदनकृष्णको घर पुगे। हस्पिटल जानु थियो। मासु पनि पकाउनुपर्ने। हतार–हतार मदनकृष्णले घरको सहयोगी भाइलाई अह्राए– 'ज्याक्क चिं मसला, ज्याक्क तैमनी।'
'ज्यू' सहयोगी भाइले भने।
उनीहरू हस्पिटल गए।
घर फर्कंदा मासु पाकिसकेको थियो। मासु देख्दा पो छक्क परे उनीहरू। १० केजी मासुमा यति धेरै पानी हालेछन्, पिसहरू खोज्नै पर्ने।
'दसैंको मासु यस्तो हुन्छ? टन्न मसला हालेर राम्रो पक्कुवा बनाउनु भनेको त टन्न पानी पो हालेछ,' मदनकृष्णले सहयोगी भाइलाई हप्काए। मदनकृष्णले नेवारीमा जिरा, मरिच, नुन टन्न राख्नू है भनेका रहेछन्। सहयोगीले टन्न पानी राख्नू है भन्ने सुनेछन्।
त्यति धेरै मासु खेर फाल्ने कुरा भएन। सबै रस फालेर फेरि मरमसला टन्न हाले। 'डेढ घन्टा लगाएर फेरि खाने योग्य बनायौं। त्यसपछि मात्रै मज्जाले मासु खाइयो,' हरिवंश सम्झन्छन्।
२०४६/४७ सालतिरको कुरा हो। सिंगापुर पुलिसमा काम गर्ने नेपालीको निमन्त्रणामा मह जोडी दसैं मनाउन सिंगापुर पुग्यो। साथमा हरिवंशकै श्रीमती मीरा, दुई छोरा, गोपाल योञ्जन र उनकी श्रीमती पनि थिइन्। सिंगापुर पुलिसमा ठूलो सख्ंयामा नेपाली थिए। नेपालीको टुकडी मिलेर ठूलो ब्यारेकमा बसेको रहेछ। धेरै नेपाली भएपछि चाडबाड आयो कि, नेपालमा जस्तै रमझम हुने। दसैंको बेला पनि ब्यारेकभित्र नेपालीहरूले बोका, राँगा, कुखुरा, हाँस बलि दिने चलन थियो।
सिंगापुरमा भने बोका र राँगा किन्न नपाइने रहेछ। बलिको लागि बोका त चाहियो। सिंगापुरबाट राँगा या बोका किन्नुपर्‍यो भने मलेसिया जानुपर्ने रहेछ। उनीहरू मलेसिया गएर एउटा बोका र राँगा ल्याए।
‘यतातिरको राँगाको अनुहार पनि नेपाली–नेपाली हुन्थ्यो। त्यताको राँगाको अनुहार मंगोलियन, मंगोलियन हुँदो रहेछ,’ हरिवंशले ठट्टा गरे, ‘नेपाली राँगासँग अनुहार नै नमिल्ने। आँखा साना भएको।’ बोका पनि नेपाली साइजभन्दा धेरै ठूलो थियो। नेपाली होइन भनेर ठ्याक्कै चिनिन्थ्यो।
ठूलो बोका। त्यो पनि अर्को देशबाट ल्याएको। कति परेको होला भन्ने कौतूहल लाग्यो मह जोडीलाई। उनीहरूले हिसाब गरे। एउटा बोकाको मूल्य पर्न आयो– डेढ लाख।
दसैंको दिन निकै रमाइलो लाग्यो उनीहरूलाई। ठूलो संख्याका नेपाली लाहुरेसँग टीका लगाए। ब्यारेकमा बसेका नेपालीले उनीहरूसँग टीका लगाए। मह जोडीले गोपाल योञ्जन र उनकी श्रीमतीसँग टीका थापे।
पछि ठट्टा गर्दै खाना खाए, ‘केटा हो हड्डी पनि नफाल है। एक टुक्रा मासुको ५० रुपैयाँभन्दा कम परेको छैन।’
दसैंभित्रकै यस्ता ससाना घटना छन्, जो मह जोडीले कहिल्यै बिर्सन सक्दैनन्। हरिवंशको छोरा मोहित जन्मँदा उनीहरू हस्पिटलमा थिए। बाहिर दसैंको रौनक। दसैंको आशीर्वाद लिएर मदनकृष्ण हस्पिटलमै पुगे। उनीहरूले हस्पिटलमै दसैं मनाए। यस्ता 'इमोसनल' दसैं उनीहरू बिर्सनै सक्दैनन्। मदनकृष्णकी श्रीमती दसैंको बेला बेस्सरी बिरामी भइन्। हरिवंश पनि त्यसैगरी टीका थाप्न हस्पिटल पुगे।
‘यस्ता इमोसनल इन्टिमेसी र मित्रताको नाताले केही दसैं बिर्सन नसकिने बनेका छन्,’ मदनकृष्ण भन्छन्।  
...
'केटाकेटी अवस्थाको दसैंजस्तो अरू बेला हुन्न' मह जोडी यहि कुरालाई सहमति जनाउँछन्। ‘अहिलेसम्म कहिल्यै बिर्सन नसक्ने र अब कहिल्यै पाउन नसकिने दसैं थिए ती,’ दुवैले बाल्यकालको दसैं सम्भि्कए।
मदनकृष्ण हजुरबालाई निकै सम्झन्छन्। हजुरबाले दिएको दीक्षा राम्रो र समय सुहाउँदो रहेछ भन्ने उनलाई लाग्छ। दसैंमा हजुरबाको पछिपछि लाग्थे। पूजा कोठामा छिरेपछि हजुरबालाई दुई घन्टा कुर्नैपर्थ्यो। पूजा कोठामा डमरु बज्न थाल्थ्यो। डमरु बजेपछि रमाइलो लाग्ने उनलाई। ‘मैले पूजा कोठाबाहिर बसेर डमरु कतिपटक बजाउन बाँकी छ भन्दै गनेर बस्थेँ– पाँच, चार, तीन, दुई, एक...,’ मदन भन्छन्, ‘अबचाहिँ प्रसाद खान पाइन्छ भनेर खुसीले उफ्रिन्थेँ।’
हजुरबा पूजाकोठाबाट निस्केर टीका लगाउँदै आशीर्वाद दिन्थे– लोकं भएमा, सुब्बा ज्युमा। अर्थात् लोकप्रिय भएस्, सुब्बा भएस्। हजुरबा राणा शासनकालको मान्छे। त्यो बेला सुब्बा धेरै ठूलो पद मानिन्थ्यो। अहिले हजुरबाका आशीर्वाद ठ्याक्कै लागेको अनुभव मदनकृष्णसँग छ।
‘धन्न हजुरबाले मन्त्री, प्रधानमन्त्री भएस् भन्नुभएनछ,’ उनी ठट्टा गर्छन्, ‘बेकारमा अपजस मात्र हुन्थ्यो। धेरैको गाली खानुपर्थ्यो। संविधान बनाउन नसकेको पीडा, छटपटी हुन्थ्यो। जातीय कुरा गर्थें होला। नराम्रो हुन्थ्यो।’
छ–सात वर्षअगाडि अमेरिकामै दसैं मनाउन पुगेका थिए, मदनकृष्ण। छोराछोरी उतै थिए। नेपालको जस्तो दसैं हुने कुरै भएन। तर परिवार नै एकै ठाउँ हुँदा रमाइलो अर्कै हुन्छ। त्यसमाथि मालश्रीको धुन बजाएपछि त दसैंको वातावरण छाइहाल्यो। तिहार पनि उतै मनाए उनले।
कुनै बेला दसैं भनेपछि 'मासु' शब्द आइहल्थ्यो। बजारबाट खसी ल्याएर काट्थे मदनकृष्ण।
करिब १४–१५ वर्षअगाडिको दसैंमा उनी मासु किन्न गए। पसलमा भीडभाड थियो। उनले मासु जोख्न लगाए। त्यही बेला नराम्रो शब्द आयो– ‘ओलो ओलो’। मान्छे अप्ठ्यारोमा परेको आवाजजस्तो लाग्यो उनलाई। फर्केर हेर्दा खसी काटिरहेको रहेछ। त्यो खसीकै अवाज रहेछ। एकदम छटपट–छटपट गरिरहेको थियो। फेरि त्यसैगरी आवाज आयो। अर्को खसीलाई त्यसरी नै काटियो।
खसीको छटपटी देख्दा उनलाई मासु खान मन लागेन। जोखिसकेको मासु नलाने कुरा पनि भएन। मासु लगेर टेबलमा राखिदिएँ। तर उनलाई मासु खान मन लागेन। ‘दसैंभरि त्यो मासु बाँकी थियो, मेरो मुखमा परेन,’ उनी भन्छन्, ‘त्यसपछि नखाको नखायै भयो। नखाएपछि झन् सन्चो। आत्मसन्तुष्टि पाएँ।’
अझै पनि मासुको स्वाद जिब्रोमा नभएको होइन। 'छटपटाइरहेको खसीको कारुणिक आवाज सम्झेपछि त्यो स्वाद भागेर कहाँ पुग्छ कहाँ,' उनी भन्छन्।
अहिले उनको घरमा मासु पाक्दैन।
....
दसैं आउनेबित्तिकै कस्तो कपडा लगाउने भन्ने कौतूहल हुन्थ्यो हरिवंशलाई। नयाँ कपडा लगाउन पाउँदा उनी फुरुंग हुन्थे। पहिले नेसनल ट्रेडिङ लिमिटेडले चीनबाट सेतो ट्रेलिन्जको रेडिमेट कमिज र जिन्सको पाइन्ट आयात गर्थ्यो। पाइन्टको मूल्य लगभग ७ र कमिजको ५ रुपैयाँ पर्थ्यो। हरिवंश सम्झन्छन्, ‘मेरो दसैंको कपडा तिनै टे्रलिन्जको कमिज र जिन्सको पाइन्ट हुन्थ्यो। ती दसैं नै सबैभन्दा रमाइला थिए।’
ती कपडा रेडिमेड हुन्थ्यो। आफूलाई चाहिएअनुसारको साइज भने पाइँदैनथ्यो। दुई–तीनवटा साइज आउँथ्यो। तिनै साइज रोजेर लगाउनुपर्ने। त्यो कमिज, जिन्ससँग टेनिससुजको जुत्ता आउँथ्यो। अहिले टेनिस खेल्नेले यस्तो सुज लगाउँछन्। त्यो बेला नेसनल टे्रडिङबाट मात्र किन्न पाइन्थ्यो।
पाइन्टको साइज हत्तपत्त मिल्दैनथ्यो। नमिल्ने भएकाले पेटीले बेस्सरी बाँध्थे हरिवंश। ‘पेटीले पनि भएन भने सुरुवालको इँजारले नदेख्ने गरी बाँध्थ्यौं,’ हरिवंश सम्झन्छन्, ‘बल्लबल्ल कम्मर मिले पनि तिघ्रामा मिल्दैनथ्यो। त्यो लुगा लगाउन पाएपछि दसैं नै यही हो भन्ने लाग्थ्यो।’
उनको गाउँमा अर्को चलन पनि थियो। एक थान कपडा किनेर ल्याउने र सबै परिवारका लागि कपडा सिलाउने। त्यो कपडा महिला–पुरुष दुवैलाई मिल्ने हुन्थ्यो। त्यसबाटै दिदी–बहिनीलाई घाँघर, आमालाई धोती, भाइलाई सर्ट, बालाई दौरा सुरुवाल सिलाउन मिल्ने। एउटा परिवारका सबैले एउटै रङको कपडा लगाउँदा गाउँ नै रमाइलो देखिन्थ्यो।
उनी भन्छन्, ‘तपाईंले याद गर्नुहोला, मैले 'ढलमती' टेलिफिल्म बनाउँदा यही पात्र प्रयोग गरेको छु। आमाबाबु छोराछोरी सबैले एउटै थानको कपडा लगाएका छन्।’
बाल्यकालको दसैं रोमान्चक हुन्छ। मह जोडीलाई त्यही यादले सताउँछ। 'घरमुली भएपछि नयाँ पुस्ता जन्मिन्छन्। उनीहरूलाई पनि यस्तै हँुदो हो,' मह जोडी मुस्कुराउँछन्।  
बहादुर लेखक

बहादुर लेखक

नामको पछाडि 'बहादुर' सुनेकै भरमा मानिसहरू ठान्दा रहेछन्– उनी नेपाली हुन्, पुरुष हुन्। भारतीय मूलकी अमेरिकी लेखक/समीक्षक गायत्रा बहादुर भने न त नेपाली हुन्, न त पुरुष। उनले नेपालको नाममात्र...

टुहुरो

एकाएक घरमा बुबाको मृत्युको खबर पस्यो। घरमाथि आँपको फेदबाट काकाले घरमा बुबाको मृत्युको खबर पठाउनुभएछ । बुबाको किरिया काकाले नै बस्नुपर्ने भएकोले उहा" घरमा पस्नु हुन्थेन। घरमा रुवाबासी कोलाहल र...

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

क्लिन इनर्जी बैंककी महाप्रबन्धक वर्षा श्रेष्ठ राजनीतिक वातावरणमा हुर्किइन्। बाबु होमबहादुर श्रेष्ठ पञ्चायतकालका प्रभावशाली मन्त्री थिए। घरमा राजनीतिक जमघट भइरहन्थ्यो। दाइ र दिदीहरू चासो राख्थे, तर वर्षालाई कुनै मतलब थिएन।...

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

म विसं २०३५ फागुनमा पृथ्वीनारायण क्याम्पस, पोखराबाट नेपाल र एसियाली अनुसन्धान केन्द्र काठमाडौंमा सरुवा भएर आएँ । म पोखरामा छँदा नै गुरु पण्डित नयराज पन्तका चेला भोलानाथ पौडेलका छोरा सामनाथबाट...

ध्यानमा परम आनन्द

ध्यान–सुख र आनन्द प्राप्तिको माध्यम। ध्यान केन्द्र धाउनेको संख्या बढ्दै छ। नेपालमा पनि ध्यान केन्द्रहरू छन्। काठमाडौं, पोखरा, लुम्बिनीलगायत सहरमा खुलेका केन्द्रमा नेपालीको राम्रै जमघट हुन्छ।

मनमोहक खप्तड

मनमोहक खप्तड

खप्तड लेक प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ। डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाको २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाइएको हो। सरकारले २०४३ असार ९ गते...

अहिले ठिक अढाई बज्यो

गाउँबाट अचानक हराएको यौटा सानु केटा सोचिरहेछु यो मध्याह्न ऊ के गरिरहको होला?'अहिले ठिक अढाई बज्यो।

नबिझाउने, नबिलाउने

नबिझाउने, नबिलाउने

'नारी पुरुष, एक रथका दुई पांग्रा'यो उक्ति अभिनेत्री मिथिला शर्मालाई सही लाग्छ। उनको रथ भने एक पांग्रामै सन्तुलित देखिन्छ। 'तपाईंले त एक पांग्राकै भरमा छलाङ मार्नुभयो नि?' अविवाहित यी अभिनेत्री...