Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

साहित्यको उन्नयन कि व्यापारीकरण

  • ९ कार्तिक, २०७०
  • अमर गिरी
  • DISQUS_COMMENTS
(0 votes)
साहित्यको उन्नयन कि व्यापारीकरण गत वर्षको साहित्य मेलाको उद्‍घाटन सत्र। फाइल तस्बिर
'एनसेल नेपाल लिटरेचर फेस्टिभल– २०१३' सुरु भएको छ। सन् २०११ देखि यो कार्यक्रम आयोजना गर्न थालिएको हो। बहुराष्ट्रिय कम्पनी एनसेलको आर्थिक लगानी र सहयोगमा गर्दै आइएको यस कार्यक्रममा एनसेल, यसको लगानी र सहभागिता, कार्यक्रमको प्रकृति, यसका उद्देश्य र पारदर्शिताका बारेमा छलफल भएको पाइँदैन। आलोचनात्मक विवेकमा आएको यो ह्रास नेपाली साहित्यको एक दुःखद तस्बिर हो। आलोचनात्मक विवेकमा आएको यही ह्रासमाथि टेकेर नेपाली साहित्यमा नवउदारवादी सोचाइ आरुढ हुँदै छन्।
साहित्यमा नवउदारवादी अवधारणाको सबैभन्दा महŒवपूर्ण पक्ष लोकप्रिय कला (पपुलर आर्ट) का तहमा साहित्यको 'लोकप्रियकरण' र बजारीकरण हो। साहित्यको 'लोकप्रियकरण' र बजारीकरण साहित्यलाई उसको विशिष्ट चरित्र, भूमिका र सरोकारहरूबाट च्यूत गरेर बजार अनुकूल बनाउने अवधारणा हो। यस अवधारणाको चरमोत्कर्ष बजारवाद हो। बजारवाद वित्तीय पुँजीवादको विचारधारा हो। बजारवाद साहित्य, कला, संस्कृति, संगीत, दर्शन, विज्ञान सबैलाई बिकाउ मान्छ र तदनुरूपको व्यवहार गर्छ। साहित्यको विशिष्ट मूल्य परिधिमा जान्छ, उपभोक्तावादी मूल्य केन्द्रमा आउँछ। साहित्यको बजारीकरणको प्रक्रियामा साहित्य कर्पोरेट हाउसहरूसँग जोडिन्छ। कर्पोरेट हाउससँग जोडिनुको तात्पर्य साहित्य वित्तीय पुँजीको लीलामा प्रवेश गर्नु र त्यसबाट डोरिनु हो। कर्पोरेट जगत् आफ्ना उद्देश्यको पूर्तिका निम्ति पनि साहित्य र साहित्यकारलाई उपकरणका रूपमा प्रयोग गर्न चाहन्छ। 
साहित्यमा बहुराष्ट्रिय कम्पनीहरूको प्रवेशलाई सामान्य रूपमा लिइँदैन। विचारधारासँग जोडिएको विषयका रूपमा यसको व्याख्या–विश्लेषण गरिन्छ। यस्ता कम्पनी निश्चित विचारधारामा अडिएका हुन्छन् र तिनका अर्थबाहेक अन्य रुचि र उद्देश्य पनि हुन्छन्। अर्थको विशाल साम्राज्य अर्थको बलले मात्र चल्दैन र टिक्दैन। यसका निम्ति विचारधाराका अन्य उपकरण पनि चाहिन्छन्। बहुराष्ट्रिय कम्पनीहरू आफूलाई चाहिने सबै किसिमका उपकरण बोकेर यात्रारत छन् र तिनको कुशलतापूर्वक प्रयोग गरेका छन्। बहुराष्ट्रिय कम्पनी वित्तीय पुँजीवादका सबैभन्दा ठूला र बलिया खम्बा हुन्। नवउदारवादलाई बलियो बनाउनु, उपभोक्तावादलाई फुलाउनु फलाउनु, तेस्रो विश्वका मुलुकका प्राकृतिक स्रोत साधनमाथि अधिकार जमाउनु, आफ्ना निम्ति अनुकूल राजनीतिक र सांस्कृतिक आधार निर्माण गर्नु, आफूप्रति सम्मानको स्थिति पैदा गर्नु र आफूविरुद्धको प्रतिरोधलाई कमजोर बनाउनु, भावी पिँढीमा आफूप्रति बौद्धिक र संवेदनात्मक रूपमा दासत्वभावको निर्माण गर्नु, नवऔपनिवेशीकरणको प्रक्रियालाई अघि बढाउनु र वैधता प्रदान गर्नु आदि बहुराष्ट्रिय कम्पनीका उद्देश्य रहँदै आएका छन्। बहुराष्ट्रिय कम्पनीले साहित्य, कला, संगीत, खेलकुद आदि अन्तर्गत गर्ने लगानी आफ्ना निम्ति अनुकूल राजनीतिक र सांस्कृतिक आधार निर्माण गर्ने कुरासँग सम्बन्धित हुन्छन्। यसो गरेर उनीहरूले तात्कालीन र दीर्घकालीन रूपमा आफ्ना आर्थिक, राजनीतिक, सांस्कृतिक हितका निम्ति आधार निर्माण गर्छन्। साहित्यको बजारीकरण बहुराष्ट्रिय कम्पनीहरूको बजार र उपभोक्तावादलाई समृद्ध गर्ने रणनीतिसँग जोडिन्छ। 
'जयपुर लिटरेचर फेस्टिभल'को आलोचना यिनै कुरासँग जोडिएको थियो। भारतका आदिवासी जनतालाई आफ्ना ठाउँहरूबाट विस्थापित गर्ने, उनीहरूको जमिन र जंगलमाथि कब्जा गर्ने, भारतीय स्व र संस्कृतिको पश्चिमीकरण गर्न महŒवपूर्ण भूमिका खेल्ने बहुराष्ट्रिय कम्पनीको आर्थिक सहयोगमा जयपुर फेस्टिभल गरिँदै थियो। भारतीय स्व र संस्कृतिका साथै भारतीय आदिवासी जनताविरुद्ध रहेका बहुराष्ट्रिय कम्पनीका पैसामा आयोजित कार्यक्रममा भारत र भारतीय साहित्यबारेका बहस अर्थहीन अनुभव हुन्थे र बहुराष्ट्रिय कम्पनीका अनुचित क्रियाकलापलाई उचित ठहर्यााउने प्रयत्न लाग्थे। जयपुर फेस्टिभलको समग्र कार्यक्रमको प्रकृति साहित्यको 'लोकप्रियकरण' र बजारीकरणको अवधारणा अनुकूल थियो। एनसेल नेपाल लिटरेचर फेस्टिभलको मूल्यांकन गर्दा माथिको सन्दर्भलाई ध्यान दिन आवश्यक छ। 
एनसेलको लगानी र सहयोग नेपाली साहित्यमा कर्पोरेट जगत्को बलियो प्रवेशको दृष्टान्त हो। मुनाफाकेन्द्रित बहुराष्ट्रिय कम्पनीको साहित्यमा लगानीको उद्देश्य नेपाली साहित्यको उन्नयन होइन आफ्नो व्यापारको बजार प्रवर्द्धन हो। एनसेलले यस्तो सहयोग साहित्यका क्षेत्रमा मात्र गरेको छैन, संगीत, खेलकुद लगायतका क्षेत्रमा पनि गरेको छ। एनसेल कुनै पुनीत उद्देश्य बोकेर खडा भएको सामाजिक–सांस्कृतिक संस्था होइन। साहित्यलगायत विभिन्न क्षेत्रमा यसले गरेको लगानी पनि कुनै पुनीत उद्देश्यबाट निर्देशित छैन। ऊ यी सबैलाई आफ्नो व्यापारको बजार विस्तार र मुनाफा आर्जनको उपकरणका रूपमा प्रयोग गर्न चाहन्छ। ऊ यसका माध्यमबाट नवउदारवादी परियोजना अनुरूप साहित्यको बजारीकरणमा योगदान दिन चाहन्छ। व्यापारिक सफलता र विस्तारका निम्ति एक अनुकूल वातावरणको निर्माण गर्न चाहन्छ। आफ्नाविरुद्ध हुने आलोचनालाई कम गर्न र आफूप्रति सद्भावपूर्ण परिस्थिति बनाउन चाहन्छ। आफ्ना कैयौं आलोचना र सन्देहको घेरामा आउने व्यापारिक गतिविधिको वैधानिकीकरण र तिर्नुपर्ने राजस्व कम गर्न चाहन्छ। समग्रमा भन्दा आफ्ना आर्थिक स्वार्थ र समकालीन पुँजीवादका नवउदारवादी रणनीतिलाई आफ्ना तर्फबाट कार्यान्वयन गर्न चाहन्छ। मार्क्सका भाषामा भन्ने हो भने धातु व्यापारीले अरू होइन धातुको मूल्यमात्र हेर्छ। 
साहित्यिक कार्यक्रमका निम्ति बहुराष्ट्रिय कम्पनीहरुले सहयोग दिन्छन् भने किन नलिने? लिएर साहित्यको उन्नयनमा किन खर्च नगर्ने? भन्ने जस्तो सरल विषय यो होइन। यसले हाम्रो समग्र वैचारिकता, हामी के गर्न चाहन्छौं र कतातिर जाँदै छौं भन्ने कुरासँग सरोकार राख्छ। कुरा एनसेलको होइन बहुराष्ट्रिय कम्पनी र नवऔपनिवेशीकरणका नवउदारवादी परियोजनाहरूलाई कसरी हेछर्ौं भन्ने हो। बहुराष्ट्रिय कम्पनीको यशोगान गाएर साहित्य जात्रा गर्नु भनेको जात्रा देखाउनु मात्र होइन, नेपालको नवउपनिवेशीकरणको प्रक्रियालाई सहयोग पुर्यााउनु पनि हो। साहित्य र साहित्यकारलाई एनसेलका उद्देश्य पूर्तिका साधनमा बदल्नु पनि हो। उनीहरूको आलोचनात्मक विवेकमाथि अंकुश लगाउनु पनि हो। ब्रेख्तका भाषामा भन्दा अझ ठूलो अन्यायका निम्ति आधार प्रदान गर्नु हो। रोमी क्लार्क र रास इभानिचको भाषामा यो 'पोलिटिक्स अफ राइटिङ' हो। यो नवउदारवादी विचारधारालाई 'कमनसेन्स'मा बदल्ने तरिका हो। 
लिटरेचर फेस्टिभल साहित्यको गम्भीर र सार्थक बहस गर्ने थलो बन्न सकेको देखिन्न। अत्यन्त ठूलो प्रचारका साथ सुरु गरिने फेस्टिभलले लेखक–प्रकाशक र मिडियाको एक व्यावसायिक त्रिकोण बनाउन चाहेको पाइन्छ। यो व्यावसायिक त्रिकोण साहित्यको 'लोकप्रियकरण' र बजारीकरणसँग सम्बन्धित छ। साहित्यकारलाई सेलिब्रिटी बनाउने कुरा पनि यसैसँग सम्बन्धित रहेको छ। फेस्टिभलमा 'पपुलिस्टिक' योजना बनाइन्छ। ग्ल्यामरमा साहित्यको बजार प्रवर्द्धनको आकांक्षा राखिन्छ। त्यहाँ साहित्यको समाजपरक एवं सौन्दर्यपरक भूमिका भञ्जनका रणनीतिहरू सक्रिय देखिन्छन्। एनसेल लिटरेचर फेस्टिभल साहित्यको शिखरतिरको होइन ओरालोतिरको यात्रा लाग्छ। यो साहित्यको क्षयीकरण, साहित्यमाथि पुँजीको वर्चस्व र लीलानाच अनुभव हुन्छ। अर्को भाषामा भन्दा यो उत्तरआधुनिकतावादी उत्सव लाग्छ। 'जहाँ अक्षरहरू जीवन्त हुन्छन'् भन्ने नाराले अक्षरहरूको हुर्मत लिइरहेजस्तो देखिन्छ। झन्डैझन्डै सिंगो साहित्य जगत् यसप्रति निरपेक्ष र अनालोचनात्मक बनेको देख्दा अझ बढी दुःखको अनुभव हुन्छ। आफ्नै बलबुतामा सार्थक साहित्यिक कार्यक्रमको आयोजना गर्ने थुप्रै साहित्यिक संस्था छन्। के आयोजकहरूले यसप्रति ध्यान देलान् र आत्मआलोचक बन्दै आउँदा दिनमा फरक ढंगले कार्यक्रमको आयोजना गर्लान्? के कार्यक्रमका सहभागीहरू यसप्रति गम्भीर बन्दै आलोचनात्मक विवेकको प्रयोग गर्लान्? अहिले हेर्दा त लाग्छ हामी सबै एनसेलमय छौं र हाम्रो साहित्यको भविष्य पनि अब एनसेलकै काँधमाथि छ! 
गिरी प्रगतिशील लेखक संघका अध्यक्ष हुन्।
थारु संगीतमा प्रेम र समर्पण

थारु संगीतमा प्रेम र समर्पण

अरी कहासेन सिरिजल चकियाक पिहि्रयाअरी कहासेन सिरिजल चकियाक खुटियाविवाहका बेला गाइने यो गीत पश्चिम नेपालको थारु समुदायमा लोकप्रिय छ। थारु भाषामा 'माँगर' भनिने यो गीत माघ–फागुन महिनामा बढी बज्छ। थारु समुदाय...

मानसिंको चैते दसैं

मानसिंको चैते दसैं

मानसिंले धोबीको कुकुरको उखान पनि सुनेकै थियो। दुइटी बिहे गर्नु भनेको दुइटा नाउमा दुईतिर खुट्टा राख्नुजस्तै खतरनाक हुन्छ भनी मानसिंलाई साथीभाइले भनेका पनि थिए।

घामको झुल्को

घामको झुल्को

प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँ लाई पर्यटकीय केन्द्र बनाउन दशकदेखि सक्रिय अन्तुवासी अचेल सन्तोषको सास फेर्दै छन्। सात वर्षसम्म हरेक मंसिरमा महोत्सव गर्दै, विकास निर्माणमा जुट्दै र प्रचारमा समय खर्चिंदै आएका...

विन्टर डेस्टिनेसन

नमोबुद्धगौतम बुद्धको पूर्वजन्म भएको पवित्र ठाउँ नमोबुद्ध। अध्यात्म, प्रकृति र संस्कृतिको संगम। शारीरिक र मानसिक थकान मेटाउने गन्तव्य। काभ्रेको श्यामपाटी गाविसमा पर्छ नमोबुद्ध। काठमाडौंबाट धुलिखेल हुँदै ३० किलोमिटर दुरीमा।

चौबिस वर्षपछि माइत

'एकपल्ट माइत सारो जान मन छ,' उनको रहर सुनेर म अचम्ममा परेँ। उनले माइत नदेखेको दुई दशक भन्दा बढी भइसकेछ।माइत भारतको ग्यान्टोक (गान्तोक)हो भन्ने थाहा थियो। तर यहीँ पर्छ भन्ने...

भर्चुअल दुनियाँमा साहित्य

भर्चुअल दुनियाँमा साहित्य

नेपाली साहित्यसम्बन्धी पत्रिका निस्कन थालेको साढे एघार दशक पुगिसक्यो। १९५५ सालमा प्रकाशित नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका 'सुधासागर'यता धेरै पत्रिका निस्किए, बन्द भए । पत्रिकाहरू अब कागजका अक्षरमा मात्रै सीमित...

दसैं आयो, कुन मुखले गाउँ जाने?

दसैं आयो, कुन मुखले गाउँ जाने?

काठमाडौं– सिन्धुली जरायोटार–६ हाँडीखोलाका खड्गबहादुर श्रेष्ठ २०५५ सालमा भारी बोक्न काठमाडौं आउँदा ३२ वर्षका थिए। त्यसबेला एक भारीको सरदर कमाइ १० रुपैयाँ हुन्थ्यो। २० रुपैयाँमा पेटभरि भात खान पुग्थ्यो। मासिक...

मेरो वागमती यात्रा

मेरो वागमती यात्रा

काठमाडौंमा कलेजको विद्यार्थी भएर आउ“दा देखेका यहा“का केही बिम्बले मेरो मन कहिल्यै छोडेनन्। म यहा“का काष्ठकला, पेगोडा शैलीका मन्दिर, धातुका ढलोट र पत्थरका मूर्ति अनि बहाः र चोकहरू देखेर चकित...