Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

लेखक पछ्याउँदै

  • ९ कार्तिक, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(0 votes)
लेखक पछ्याउँदै फाइल तस्बिर

एक दशक पनि बितेको छैन।

लेखकको काम पुस्तक लेख्नुमात्रै हुँदैनथ्यो।

पुस्तक लेखेकै भरमा को लेखक होओस्! आफैं लेख। आफैं छपाऊ। आफैं विमोचन कार्यक्रम राख। अतिथिदेखि दर्शक आफैं डाक। आफूले लेखेर पुग्दैन, कुनै वरिष्ठबाट भूमिका लेखाऊ। इष्टमित्रलाई खुवाऊ, पियाऊ। पत्रिकामा समीक्षा छपाउन दौडधूप गर। पुस्तक हातहातै बाँड्दै हिँड। नमागीकनै अटोग्राफ देऊ। अरूबाट लेखक भनाऊ।

कतिपय मानिसहरू ठान्थे– लेखक/कवि हुनु भनेको कतै सहानुभूतिको पात्र हुनु त होइन! 

लेखक हुन प्रोत्साहित गर्ने शुभचिन्तक भेट्न मुस्किल पर्थ्यो। शताब्दी लामो राणाकाल र तीन दशक लामो पञ्चायतकालले थोपरेको बन्द समाजमा अभिव्यक्ति प्रतिबन्धित थियो। पंक्तिपिच्छे सेन्सरको डर। लगानी गरेर छपाएको पुस्तक प्रशासनले जफत गर्देला भन्ने डर।

बहुदलीय व्यवस्था बहाली भएको एक दशकसम्म पनि त्यस्तै अवस्था रह्यो। पुस्तकमा कसले लगानी गरिदेओस्! खर्च उठ्ने ग्यारेन्टी जो थिएन। साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठान पुस्तक छपाउँथे। त्यहाँसम्म सीमित लेखकको पहुँच थियो। बिक्रीबाट रोयल्टी खाउँला भन्ने आश थिएन। आफैं लेखेर आफैं छपाउने थुप्रै लेखक आज पनि भेटिन्छन्।

ती भुक्तभोगी लेखकमध्ये थुप्रै आज सेलिब्रिटी बनेका छन्। साहित्यिक कार्यक्रम गर्न कुनै बेला दर्शक जुटाउँदै हिँड्ने लेखक कृष्ण धरावासी तीमध्ये एक हुन्, जो हिजोआज अरूबाट पछ्याइन्छन्। पुस्तक बाँड्नु पर्दैन। मानिसले अटोग्राफ लिन्छन्, किन्छन्। अखबार, रेडियो, टिभीले अरूझैं उनलाई पनि खोज्छन्। 

लेखकहरू पहिलेझैं सहानभूति होइन, आकर्षणको पर्याय बनेका छन्। सिनेमाका कलाकारझैं। 

'मैले धेरै वर्ष विमोचनमा निःशुल्क पुस्तक बाँडे, २०५९ मा निस्केको उपन्यास 'आधाबाटो' आफ्नै लगानीमा छपाएँ, झोलामा हालेर बेच्न हिँडे,' धरावासी भन्छन्, 'हिजोआज विमोचनमा आउनेहरू गोजीमा पुस्तक किन्ने पैसा लिएर आएका हुन्छन्, महिनादिन बितिनसक्दै पुस्तक बिक्रीले हजार नाघ्छ।'

धरावासीले भनेजस्तै लेखकहरूका दिन फिरेका छन्। हिजोको 'दयनीय' अवस्था कसरी एकाएक फेरियो त? 

धरावासीका अनुसार यो अवस्था एकाएक फेरिएको होइन। 'ठूला अखबारले साहित्यलाई ठूलो कभरेज दिन थाले, लेखकका अन्तर्वार्ता लेख पहिलेभन्दा बढी छपाए,' उनी भन्छन्, 'पुस्तकको आकर्षण बढेपछि व्यावसायिक प्रकाशकहरू लगानी गर्न तयार भए, ठूला साहित्य सम्मेलन हुन थाले। रक्सी र बाइकका होर्डिङबोर्डमा पुस्तक पनि छाउन थाले।'

र, लेखक पनि आफ्नो लेखनमा गम्भीर भए। हिजो 'स्वान्तसुखाय' र 'क्रान्ति, पार्टी' का लागि लेख्नेहरू पाठकको रुचि पहिचान गर्न गम्भीर भए। 

लेखकका दिन फिरे। हिजोआज विमोचन गर्न उनीहरूले दौडधूप गरिरहनु पर्दैन। पुरस्कार संस्थामा आफैं धाउनु पर्दैन। प्रकाशकले पुस्तक दर्ता गराइदिन्छ। मिडिया उनीहरूलाई खोज्दै घरैमा पुग्छ। प्रकाशकबीच रोयल्टी दिने सवालमा प्रतिस्पर्धा छ। 

पाठक बढेका छन्। लेखक र पाठकको प्रत्यक्ष भलाकुसारी हुन्छ। साहित्य महोत्सव लेखक पाठक सम्पर्कका सेतु बनेका छन्। कर्पोरेट संस्थाहरू साहित्यलाई लगानीको आकर्षक गन्तव्यका रूपमा लिइरहेका छन्। दुई वर्षदेखि काठमाडौंमा आयोजना भइरहेको नेपाल लिटरेचर फेस्टिभल यस्तै एउटा उदाहरण हो, जसलाई टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले सघाइरहेको छ।

तर यसको कथा पनि त्यति सजिलो पारामा अगाडि बढेको छैन।

पहिलोपटक, अर्थात्, दुई वर्षअघि नेपाल लिटरेचर फेस्टिभल आयोजना गर्न बुकवर्म ट्रस्टका आयोजकलाई कम्ती धौ धौ परेको होइन। एकातिर प्रायोजकलाई विश्वासमा लिन गाह्रो। पहिले कहिल्यै नगरेको काम, अर्थात्, साहित्यमा लगानी। त्यसमाथि कतिपय पुराना लेखकले आयोजक नचिन्ने। आयोजक स्वयंले कतिपय अग्रज नचिन्ने। चल्तीका पुराना आयोजक स्वयं लेखक हुने गर्थे। एउटा लेखकको आयोजनामा अर्को लेखक अतिथि भयो, सकियो। 

हेर्दा आगोको झिल्कोजस्तो लाग्ने त्यो आयोजना नेपालको साहित्यिक मेलाको मानचित्र बदल्न पर्याप्त बन्यो। त्यसैको तेस्रो संस्करण हिजो शुक्रबारदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको छ। 

जसोतसो नेपाली लेखकसँग आयोजकको सम्पर्क स्थापित त भयो। विदेशी लेखकसँग कुरा अघि बढाउने सम्बन्ध सेतु बनिसकेको थिएन। उनीहरूले पत्याउने आधार पनि बनिसकेको थिएन। केही विदेशी र बढी स्वदेशी लेखकको जमघटमा सानो तर आकर्षक साहित्यिक स्वाद पस्के उनीहरूले। 

ललितपुर झम्सिखेलको मोक्ष रेस्टुरेन्टस्थित मझौला आकारको हलमा २०६८ भदौ पहिलो साता सुरु भएको नेपाल लिटरेचर फेस्टिभल बामे सर्दै, लड्खडाउँदै, उभिदै, ठोक्किँदै अब दगुर्ने हैसियतमा आइसकेको छ। फेस्टिभलका सारथि अर्थात् कार्यकारी निर्देशक निरज भारी र निर्देशक अजित बराल मख्ख छन्। पहिलेजस्तो मानसिक दबाब अहिले छैन। फेस्टिभल कसरी गर्नुपर्छ भन्ने दुई वर्षे अनुभवका धनी भइसकेका छन् उनीहरू र आयोजक बुकवर्मका सहकर्मीहरू। 

साहित्यिक महोत्सव भनेपछि कुनै बेला प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले गर्ने पुस्तक प्रदर्शनी बुझिन्थ्यो। हिजोआज भने साहित्यिक संगोष्ठी/महोत्सव हुँदैनन्, 'लिटरेचर फेस्टिभल' हुन्छन्। नाम र शब्दले मात्रै यी फरक छैनन्। सिंगो प्रस्तुतिमा नयाँपन छ। र, यो देशभरि फैलिँदै छ। लेखकहरू व्यस्त हुन थालेका छन्। फेस्टिभलले 'विशुद्ध साहित्य' का गोष्ठी होइन साहित्यले सरोकार राख्ने क्षेत्र अर्थशास्त्र, राजनीति, संस्कृति, मनोरन्जन, पत्रकारिताजस्ता क्षेत्रमा पनि चासो राख्न थालेका छन्। लिटरेचर फेस्टिभल एउटा कोलाज बन्न पुगेको छ। 

प्रायः साहित्यिक कार्यक्रममा हुने दर्जन वा सयको संख्याको सहभागिताअघिल्तिर यस फेस्टिभलले जुटाउने सहभागिता भनेको कुम्भमेलासरी हो। सय होइन, हजारको संख्यामा उनीहरू दर्शक जुटाउँछन्। मञ्च निर्माणको परम्परागत ढर्राबाट उनीहरू मुक्त छन्। दर्शकको प्रत्यक्ष सहभागिताको व्यवस्था छ। तर केही सीमा पनि छन्।

नेपालमा साहित्य सम्मेलन आयोजना गरे पनि ब्यानरमा एउटै देवनागरी अक्षर नराखेको भन्दै गत वर्ष सहभागीले 'नेपाल लिटरेचर फेस्टिभल' आयोजक बुकवर्म ट्रस्टको आलोचना गरे। यस वर्ष उनीहरू त्यो गल्ती दोहोर्याढउने पक्षमा छैनन्। बुकवर्मले साहित्यिक महोत्सव गर्ने परम्परा, विषय, शैली र प्रस्तुतिमा नयाँपन भने भिœयाएको थियो। 

दुई वर्षयता फेस्टिभल आयोजना गरिरहेको बुकवर्मको शैली अनुकरण गर्दै पहिलो वर्ष नेपाल इकोनोमिक फोरमले पाटनमा 'काठमान्डु लिटरेरी जात्रा' आयोजना गरेको थियो। निरन्तरता दिने उद्देश्य राखिए पनि 'आन्तरिक कारण' ले रोकिएको आयोजक सुवानी सिंह बताउँछिन्।

काठमाडौंबाहिरका आयोजकले पनि फेस्टिभल र जात्राको नयाँ बाटो पछ्याए। एकैनासका विषय, प्रस्तुति र वक्ताका कार्यपत्र सुन्दासुन्दै निदाउन बानी परेका सहभागी सक्रिय भए। हात उठाउँदै बहस, संवाद र प्रतिवाद गर्न थाले। छलफलमा सजीवता आयो।

नयाँ कुरा थाल्न गाह्रो। त्यसपछि त अरूले देखासिकी गर्न थालिहाल्छन्। यो 'नयाँपन' बाट साहित्य बाहिर छैन। 

बर्सेनि पुस्तक प्रदर्शनी गर्दै आएको साझा प्रकाशनले विराटनगरको पुस्तक महोत्सवमा साहित्यिक बहससमेत चलायो। काँकरभिट्टामा गत फागुन पहिलो साता आयोजित 'कला साहित्य उत्सव' ले ठूलो आयतनको तीनदिने कार्यक्रममात्रै गरेन, नेपाल र भारतका नेपालीभाषी लेखकलाई एउटै मञ्चमा राखेर संवाद गरायो। 

त्यसको दुई महिनापछि दिक्तेलमा दुई संस्था मिलेर गत वैशाख १४ र १५ गते दुईदिने साहित्यिक महोत्सव आयोजना गरे। त्यसैको अर्को साता नौलो साहित्यिक बिहान प्रतिष्ठानले पाँचथरको फिदिममा दुईदिने पूर्वाञ्चलस्तरीय बृहत् साहित्यिक महोत्सव आयोजना गर्योस। ताप्लेजुङ, चितवन, पोखरा, इलाम, धरान, हेटौंडा, धनगढी, दाङ, मुस्ताङ, बागलुङ, धरानलगायत जिल्लामा ठूलासाना महोत्सव भइरहेका छन्। साहित्य महोत्सव विस्तारै अभ्यासबाट परम्परा बन्दै छ। निजी स्तरमा पनि यस्ता महोत्सव गर्न सकिन्छ भन्ने उदाहरण सबै क्षेत्रका आयोजकले पेस गरेका छन्।

भारत राजस्थानको राजधानी जयपुरमा हरेक वर्ष आयोजना हुने जयपुर लिटरेचर फेस्टिभल 'फुट–फल' को हिसाबले विश्वकै ठूलो साहित्य उत्सव मानिन्छ। मालसामान, राजनीति, संस्कृतिसमेत भारतबाट ढुवानी भइरहेका बेला साहित्यिक माहोल पनि उतैबाट भित्रिनु अनौठो रहेन। त्यसो त पाकिस्तानमा हुने कराँची लिटरेचर फेस्टिभल पनि हिजोआज चर्चामा आउँछ। 

यस्ता साहित्यिक महोत्सवको साझा विशेषता भनेको आयोजकमा युवा अनुहार हुनु हो। वक्ता र विषय चुन्नेदेखि मञ्च सजाउने, व्यवस्थापन गर्ने आदि पक्षमा उनीहरूको व्यक्तिगत छनोटले काम गरेको हुन्छ। पद, प्रतिष्ठाले उपल्ला मानिएका लेखकलाई पन्छाउँदै उनीहरू आफ्नो उमेर समूहका पाठकले खोज्ने लेखकलाई प्राथमिकता दिन्छन्। मिडियाले सिर्जना गरेको 'स्टारडम' ले उनीहरूलाई एक हदसम्म प्रभावित गरेको देखिन्छ। पुरानो प्रोटोकल भत्किँदै छ। पाठक र मिडियाको साझा जोडबलमा निर्मित नयाँ लेखकको जमातमाथि पुराना लेखकहरूले प्रश्न पनि गर्ने गरेका छन्। फेस्टिभलको आँखा पनि तिनैतिर गएको देखिन्छ। 

काँकरभिट्टा, फिदिम, खोटाङजस्ता ठाउँका महोत्सवमा काठमाडौंबाट गएका लेखकको बाहुल्य रहेको भनी टिप्पणी भए पनि पूर्वाञ्चलका लेखक उत्तिकै थिए। आफूले थालेको 'फेस्टिभल कल्चर' देशभरि फैलिएको आगोको झिल्का हो भनी कतिपयले उडाएका थिए,' निरज सम्झन्छन्, 'तर अहिले डढेलोझैं सल्कियो। यो खुसीको कुरा हो।' काठमाडौंबाहिरका महोत्सवले आफ्नो स्थानीय स्वाद स्थापित गरेर राष्ट्रिय संस्कृति निर्माणमा सघाउनुपर्ने उनको भनाइ छ। 


पहिलो लिटरेचर फेस्टिभल आयोजना गर्नुको पृष्ठभूमि रमाइलो छ। बेलायती लेखक पिको आयर 'टाइम' म्यागजिनमा सहायक सम्पादक थिए। काठमाडौंबाट त्यति बेला निस्कने नेसन विक्लीका पत्रकार अजित बरालले पिकोको इमेल ठेगाना भेटेछन्।

विश्व साहित्य र यससम्बन्धी गतिविधिमा चासो राख्ने अजितले पिकोलाई इमेल लेख्न थाले। उनीहरूको ई–संवाद बाक्लियो। लामो समयपछि अजित र पिकोबीच भारतको एउटा साहित्यिक कार्यक्रममा भेट भयो। त्यति बेला अजितको संयोजनमा साहित्यिक गतिविधिसम्बन्धी 'रिड' म्यागजिन छापिने तयारी हुँदै थियो। उनले पिकोलाई नेपाल आमन्त्रण गरे। पिकोले काठमाडौंमा साहित्य उत्सव आयोजना भए आउने वचन दिएका थिए। 

लिटरेचर फेस्टिभलको खाका त्यही भेटमार्फत् कोरिएको थियो। पिको भने भाग लिन आएका छैनन्। अजित, निरज र साथीहरू मिलेर खोलेको बुकवर्म ट्रस्टले २०६८ भदौमा आयोजना गरेको 'नेपाल लिटरेचर फेस्टिभल' ले काठमाडौंमा नयाँ शैलीको साहित्य मेला भिœयायो। 

त्यसअघि पनि निरज–अजित फाइन प्रिन्ट बुक क्लबको ब्यानरमा मासिक छलफल कार्यक्रम गर्थे। मञ्जुश्री थापा, सम्राट उपाध्याय, नारायण ढकाल, शारदा शर्माजस्ता लेखक उनीहरूको कार्यक्रमका वक्ता हुन्थे। साना आयतनका कार्यक्रम गर्दै जाँदा उनीहरूमा ठूलो मेला गर्ने धुन सवार भयो। परीक्षणका लागि पहिलो वर्षको लिटरेचर फेस्टिभलअघि उनीहरूले बुकवर्म फेयर गरेका थिए। 

नयाँ शैलीको साहित्य सम्मेलन थाल्ने बुकवर्म ट्रस्ट पहिलो संस्था हो तर एक्लो होइन। पहिलो लिटरेचर फेस्टिभल सकिए लगत्तै पाटनमा काठमान्डु लिटरेरी जात्रा आयोजना भएको थियो। फेस्टिभल र जात्राका कार्यक्रम गर्ने शैली लगभग उस्तै थिए। दुवैले साहित्य सम्मेलनमा नयाँ पुस्ताको माया पाए। पुरानो र नयाँ पुस्ता जोड्ने उनीहरूको प्रयासलाई अग्रज लेखकहरूले स्याबासी दिएका थिए। त्यही माहोल अरू जिल्लामा छरिएर गयो।

ठूलो कर्पोरेट हाउसलाई विश्वासमा लिन सके पनि आयोजकलाई सुरुको वर्ष फेस्टिभलको प्रभावकारिता कत्तिको होला भन्ने चिन्ता थियो। दुई वर्षको अनुभवसँगै त्यो चिन्ता हराएको छ। 'पहिलो वर्ष फेस्टिभलको दौडधूप र थकान, तनावले अर्को वर्षचाहिँ नगर्ने भन्ने लागेको थियो,' अजित भन्छन्, 'पछि सोच्दा त एउटा ठूलो बिहे समारोह पार लगाएजस्तो अनुभूति भयो, त्यसले फेस्टिभल निरन्तरता दिन हौस्यायो।' उनका अनुसार यसपालि त 'भेन्यु ब्रान्डिङ' समेत एनसेलले नै गरिदिएको छ। 'स्वयंसेवक र सहयोगी थपिएका हुनाले यसपल्ट गाह्रो छैन,' उनी थप्छन्। निरज भने पोहोरको तुलनामा दर्शक बढ्न सक्ने छनक सामाजिक सञ्जालबाट पाएको हुनाले व्यवस्थापनमा चुनौती थपिन सक्ने आकलन गर्छन्। 

फेस्टिभल र लेखकप्रति आकर्षण थपिँदै गए पनि वामपन्थी वृत्तका लेखकहरूले यस्ता आयोजनाहरूको खुलेरै विरोध गर्ने गरेका छन्। कर्पोरेट संस्थाहरूको लगानीमा आयोजित हुने यस्ता मेलाले सक्कली साहित्यलाई प्रोत्साहित नगर्ने बरु व्यापारिक घरानाको नाफामुखी स्वार्थलाई मात्रै मलजल गर्ने उनीहरूको दलील रहँदै आएको छ। 'कर्पोरेट जगत् आफ्नो उद्देश्यपूर्तिका निम्ति साहित्यकारलाई उपकरण बनाउन चाहन्छ,' प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरी भन्छन्, 'बहुराष्ट्रिय कम्पनीको यशोगान गाएर साहित्य मेला गर्नु भनेको नेपालको नवउपनिवेशीकरणको प्रक्रियालाई सहयोग पुर्या,उनु हो। लेखकको आलोचनात्मक विवेकमाथि अंकुश लगाउनु पनि हो।' लेखकलाई दिलाइएको ग्ल्यामरमा साहित्यको बजार प्रवर्द्धनको आकांक्षा मिसिएको उनको आरोप छ। 

निरज भने यस्तो तर्क अस्वीकार गर्छन्। उनको फेस्टिभल प्रायोजक एनसेल मोबाइलको सिम बेच्ने कम्पनी हो। 'व्यावसायिक संस्थासँग साहित्यिक चलखेल गर्दै हिँड्ने समय हुँदैन,' उनी भन्छन्, 'धर्म, भाषा, संस्कृति, जाति, व्यक्तिविशेषलाई विवादमा पर्ने गरी कार्यक्रम नगर्नु भन्ने आग्रहसम्म गर्छन्। आफ्नो लगानीबाट कोही पनि विवाद र झमेला निम्त्याउन चाहँदैन।'

फेस्टिभलको सफलता देखेर प्रभावित भएको आयोजकले वर्षैपिच्छे लगानी थप्दै गएको अजित बताउँछन्। पहिले कति लगानी थियो, अहिले कति थपिएको छ भन्नेचाहिँ उनले खुलाउन चाहेनन्।

फेस्टिभल सुरु भएको तेस्रो वर्ष लाग्दै गर्दा वक्ताहरूले रोयल्टी पाउनुपर्ने आवाज उठ्न थालेका छन्। 'फेस्टिभल धाउँदा हाम्रो समय खर्च भएको हुन्छ, बोल्ने विषयवस्तुका लागि तयारी गर्दा समय र ऊर्जा खर्च भएको हुन्छ,' चल्तीका एक लेखक भन्छन्, 'प्रायोजकबाट लगानी भित्र्याएपछि आयोजकले यतापट्टि पनि सोच्नुपर्छ।'

कत्रो परिवर्तन! लेखन व्यावसायिक भइसक्यो, यसमा मानिसहरूको ठूलो आकर्षण छ भन्ने बुझाउन उनको यो भनाइ पर्याप्त छ। हिजो सभागोष्ठीका लागि आफैं दौडधूप गर्ने लेखकहरू अरूको आयोजनामा सरिक हुन रोयल्टी दाबी गर्न थालेका छन्। 

लेखक व्यस्त छन्, उनीहरूलाई अरूले पछ्याइरहेका छन्, उनीहरू आफ्नो कर्मप्रति सचेत छन् भन्ने बुझाउन योभन्दा ठूलो प्रमाण के हुन सक्छ!
क्यान्सरझैं फैलँदैछ चुरेदोहन

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

सुन्दरपुर (उद्यपुर)– 'पहिले फुसको छाप्रो बनाएर केही समय त्यसै छाड्छन्। अनि चुरेवनकै रुख काटेर सखुवाको खम्बा गाड्छन् र एक–दुई कोठा बनाउँछन्। यति गर्दा पनि कसैले औंला नउठाए क्रंक्रिटकै घर बनाउँछन्,'...

सम्मानपूर्वक बाँच्न राजनीति

सम्मानपूर्वक बाँच्न राजनीति

नेपाली राजनीतिमा सक्रिय सरिता गिरी बिहारको हाजिपुरमा जन्मिएकी हुन्। उतै स्कुल पढेकी गिरीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन्। ३५ वर्षअघि नेपाली नागरिक लक्ष्मण गिरीसँग विवाह भएपछि नेपाली राजनीतिमा उनको चासो...

क्रिकेटर कविका सपना

क्रिकेटर कविका सपना

धुवाँको पनि धागो हुन्छ र? हुँदैन। फ्याट्टै जवाफ दिइहाल्नु कहिलेकाहीँ गलत हुन्छ। केहीबेर सोच्ने हो भने प्रश्नसँग सहमत हुने ठाउँ प्रशस्तै छन्। किनकि, निरज भट्टराईका हरेक कविताले सोच्न बाध्य गराउँछन्।

१४ डिसेम्बर १९९६

मध्य युरोपको यो बाल्कन पेनिनसुला हिउँदभरि नै पूरै सेताम्मे हुने गर्छ। हिँउको खास्टो ओढेर।म झ्यालबाट बाहिर हेर्छु, हिँउ लगातार बर्सिरहेको छ। आरुको रूख पूरै हिउँले ढाकिएको छ, पारिको डाँडा पूरै...

कालो रातको कुरुक्षेत्र

तिनी पुग्दा कुरुक्षेत्र अन्धकारको अँगालोमा गम्लङ्ङ ढाकिएको थियो। आफैंलाई खोज्नुपर्ने त्यस रातमा तिनी आफ्नो पति खोज्न आइन्। आज मारिएका हजारांै सेनामा तिनका पति पनि थिए। आखिर यो त हुनु नै...

आमालाई भेट्न

आमालाई भेट्न

एक दिन अचानक भाइले रुँदै फोन गर्योे मलाई। काठमाडौंमा बिहानको करिब साढे आठ बजेको थियो होला। म बसेको ठाउँमा भने साँझको सात बजेको थियो।

खतरा जिएम खान्कीको

खतरा जिएम खान्कीको

अनुवांसिक गुण परिवर्तित (जिएम) बिऊबाट फलेका खाद्य वस्तु (जिएम फुड) बारे वहस भर्खर सुरु भएको छ। तर, राष्ट्रिय नीतिको अभावमा नेपाली जनजीवनमा यस्ता अप्राकृतिक खाद्यान्न दैनिक भोजनमा मिसिन थालिसकेका छन्–...

सात तले गुफा

सात तले गुफा

धादिङको खाल्टे गाविसको पात्ले पर्यटन गाउँ बन्दैछ। पात्ले होमस्टेमा न्यानो आतिथ्य पाइन्छ। केही दिनअघि हामी पनि त्यहाँ पुग्यौं। होमस्टे अभियन्ता शेरबहादुर गुरुङले गाउँको जानकारी दिए। होमस्टेमा पाहुनालाई घर–घरमा बाँडेर राखिन्छ।