Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

कृष्ण खनालका चुनावी टिप्स

  • १ मंसिर, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(1 Vote)
कृष्ण खनालका चुनावी टिप्स

काठमाडौं– १० कांग्रेसको एक प्रतिबद्ध मतदाता। का मतदाता राजनीतिशास्त्री कृष्ण खनालको परिचय अघिल्लो चुनावसम्म यस्तो थियो। त्यो अब रहेन। उनको भोट त यसपालि पनि 'लोकतन्त्रकै पक्षमा' जान्छ। तर कसलाई! 


'भोट त फेरि पनि लोकतान्त्रिक शक्तिलाई नै हो, त्यसबाहिर मेरो मत खस्दैैन,' उनी भन्छन्, 'तर लोकतन्त्र अब कांग्रेसमा मात्रै सीमित रहेन। त्यस अर्थमा म पुरानो धारणाबाट मुक्त मतदाताहरुमध्ये एक  हुन पुगेको छु।'
आफूलाई लोकतन्त्रको पक्षमा उभ्याएका परिवर्तनका पक्षधरलाई दल र व्यक्ति दुवै आधार हेरेर भोट हाल्ने उनी बताउँछन्।
'पहिले म प्रजातान्त्रिक मिसनका लागि भोट हाल्थेँ,' उनी थप्छन्, 'यतिका समयसम्म मेरो मतको अभ्यास कसरी भयो भन्ने हेरें, त्यसले मलाई असन्तुष्ट बनाएको छ।'
खनालले पहिलोपल्ट भोट खसाले, जनमत संग्रहका बेला। त्यसयता दुई चुनावबाहेक सधैं भोट हालेको हाल्यै छन्। उनले बहिष्कार गरेका दुई चुनाव हुन्– ०३८ सालको पञ्चायती चुनाव, र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालताका आयोजित नगरपालिकाको चुनाव। तिनमा भोट नहाल्नुको अर्थ उनको लोकतन्त्रप्रतिको भोट दुरुपयोग हुने विश्वासले काम गरेको थियो।
चुनाव सधैं निरपेक्ष हुँदैन। यो बिल्कुलै लोकतान्त्रिक प्रक्रिया हो। नाममात्रैको भए पनि चुनाव गराइदिन सके लोकतान्त्रिक देखिइने भएकाले शासकहरू चुनाव चाहँदा हुन्। राजनीतिशास्त्रका विद्वानले यति नबु‰ने कुरै भएन।
भोट हाल्न बुथसम्म जाने कुरासँग खनाल कहिल्यै निराश र उदासीन हुँदैनन्। तर चुनावपछि आफ्नो मतको सदुपयोग भयो कि भएन, उनलाई सरोकार भइरहँदो रहेछ। 'दल र नेताका क्रियाकलापले मलाई दुःखी बनाएका छन्, त्यसैले यसपालि पनि मसँग उम्मेदवार छान्ने विकल्प एकदमै सीमित छन्,' उनी असन्तुष्टि दर्शाउँछन्, 'विश्वसनीय विकल्प कम भए पनि मत हाल्न त जानै पर्‍यो।'
खनाल–असन्तुष्टिका कारण छन्। गिरिजाप्रसाद कोइराला २०५५ सालमा प्रधानमन्त्री छँदा मुख्य सल्लाहकार रहिसकेका यी प्राध्यापकले अघिल्लो संविधानसभाका एक–एक घटनाक्रम नजिकबाट नियालेका छन्। उनको क्षेत्रबाट जितेर गएका सभासद् पुष्पकमल दाहालका गतिविधि हेरेका छन्। अन्य शीर्ष नेता र सभासद्लाई पनि पर्गेलेका छन्।
'हामीले भोट हालेर पठाएका प्रतिनिधिले संविधानसभाको आखिरी दिनमा संविधान त दिएनन् नै, जनतालाई पनि केही भन्न सकेनन्,' उनी आक्रोश व्यक्त गर्छन्, 'अरू केही नभए पनि कमसेकम संविधानसभामै आएर जेठ १४ गते राति पनि केही भन्न सकिन्थ्यो, तर उनीहरुले केही गरेनन्।'
यी प्रबुद्ध मतदाताले प्रत्येक नागरिकको एक मतमात्रै पनि कति महत्त्वपूर्ण छ भन्ने बुझाउँदै सयौं लेक्चर दिएका छन्। विद्यार्थी र सर्वसाधारणसँग बहस गरेका छन्। उनका लागि चुनाव सधैं महत्त्वपूर्ण छ। केवल अघिल्ला चुनावभन्दा भिन्न एकथोक छ।
'म गोप्य मतको पूरै सम्मान गर्छु, कुन दल र उम्मेदवारलाई भोट हाल्ने भन्नेबारे केही टिप्पणी गर्दिनँ,' उनी भन्छन्, 'जसले संविधानसभामा प्रभावकारी भूमिका खेल्न सक्छ उसलाई भोट दिने हो। म केवल संसदमा ताली पिट्ने उम्मेदवारको पक्षमा छैन।'
खनालको क्षेत्रमा यसपालि एमाओवादी अध्यक्ष दाहाल, कांग्रेसका राजेन्द्रकुमार केसी, एमालेका सुरेन्द्र मानन्धरबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। मनोनयनलगत्तै केसी भेट्न ट्याङ्लाफाँटस्थित खनाल निवास आएछन्। दाहालले चाहिँ फोन गरेछन्। फोनमा के कुरा भयो, खनालले खुलाएनन्। पक्कै 'शुभकामना' लिने–दिने प्रयत्न भएको हुनुपर्छ। चुनाव जो आएको छ।
र, अरू दलका उम्मेदवार र कार्यकर्ता पनि उनको घरअघिल्तिरबाट चर्को स्वरमा माइक बजाउँदै गाडीमा दगुरिरहका हुन्छन्। बिहीबार बिहान खनाल निवास छिर्दैगर्दा राप्रपा नेपालका कार्यकर्ता उनकै घरनेर माइकमा भट्याइरहेका थिए। उनी मुस्काउँदै धुम्धुम्ती सुनिरहेका।
'अघिल्लो चुनावमा एमाले र कांग्रेसका कार्यकर्ता आएर घोषणापत्र छाडेका थिए,' उनी हल्का हाँस्दै सम्झन्छन्, 'अहिले घोषणापत्र कस–कसलाई आवश्यक पर्छ भन्ने थाहा हुन छाडेजस्तो छ, प्रचारकर्ताले मलाई चिन्न छाडेछन् भन्नुपर्‍यो।'
कसैले पठाएनन् भन्दैमा यी मतदाता कहाँ चूप बस्छन् र! सबै दलका घोषणापत्र खोजीवरी एक एक केस्रा केलाउँदै पढिसकेछन्। घोषणापत्र मात्रै होइन, साना पर्चा र अपिल पनि संकलन गरेर राखेका रहेछन्।
अघिल्ला चुनावमा एमाओवादीले घरदैलो अभियान थालेपछि आमसभा गर्ने क्रम घटेको छ। अरू दलसमेत मतदाताको आँगन, पिँडी, बैठककोठा, भान्छासम्मै पुगेर हात जोर्न थालेका छन्। यी मतदातालाई यस्तो तरिका पटक्कै मन परेको छैन।
'उम्मेदवारले व्यक्तिपिच्छे भेटेर खुसी पार्ने प्रवृत्ति राम्रो हुँदै होइन, यो पञ्चायती तरिका हो,' शुक्रबार कीर्तिपुरमा आयोजित नागरिक संवादमा उनले बोले, 'हाम्रो प्रचार अभियानको कमजोर पक्ष यही हो, मुद्दाकेन्द्रित हुनुपर्‍यो।'
रुपन्देहीका एमाले उम्मेदवार घनश्याम भुसालले घरदैलो नगर्ने, माला अबिर लगाउँदै नहिँड्ने भनी गरेको घोषणालाई खनाल स्वागत गर्छन्। 'एक्लै गरेर पुग्दैन, संस्थागत गर्नुपर्छ,' उनी थप्छन्, 'नरहरि आचार्य पहिले मुद्दा लिएर जानुहुन्थ्यो, यसपालि उहाँ पनि व्यक्ति भेट्नमै लाग्नुभएछ।'
चुनाव आएसँगै कसलाई भोट हाल्ने भन्नेमा घरमा छलफल चल्न थालेको छ। उनी फलानोलाई हाल वा नहाल भन्ने नगरेको बताउँछन्। 'पहिले कांग्रेसको सक्रिय प्रचारमा लागेका बेला समेत उनीहरुलाई कर गरिनँ, अब त झन् गर्दिनँ।'
साढे तीन दशकयता निरन्तर भोट हालिरहेका यी पाका मतदाताका कपाल सेतै फुलिसकेका छन्। तिनले उनको उमेरमात्रै होइन, अनुभवलाई पनि संकेत गर्छन्। पहिलोपल्ट भोट हाल्ने तयारीमा रहेका नयाँ मतदातालाई यी अनुभवी मतदाताका केही टिप्स छन्। जस्तो किः
–चुनावप्रति विश्वास गर। उत्साहित भएर मतदान केन्द्रमा जाऊ।
–जसलाई भोट हाले पनि उही त हो नि भन्ने धारणाबाट मुक्त होऊ।
–साथीभाइको लहडमा भोट नहाल। उम्मेदवार, दलको पृष्ठभूमि र विश्वसनीयता खोज।
–साथी र अरूसँग उम्मेदवारबारे छलफल गर। तर निर्णयचाहिँ आफ्नो गर।
–आफूले भोट हालेको नेतामाथि आँखा चिम्लेर विश्वास नगर। जितेर गएपछि ऊ पुरानो प्रतिबद्धतामा टिक्छ कि टिक्दैन, हेर।
–कुनै दलप्रति भावनात्मक लगाव छ भने त्यसबाट विमुख भइरहनुपर्छ भन्ने छैन। तर आफ्नो विश्वासलाई परीक्षण पनि गरिरहू।
–कुनै दलमा आबद्ध छैनौ भने पनि व्यक्तिगत वा पारिवारिक फाइदा हेरेर निर्णय नगर। चुनाव भनेको प्रत्येक मतदाताले फाइदा लिने प्रणाली हो, तर समग्रमा, समूहमा।
–सधैं हेक्का राख। चुनाव लेनदेनको विषय हुँदै होइन।

घोषणापत्र हलुका भए
केदारभक्त माथेमा :  
ललितपुर– ३ का मतदाता

एमालेका उम्मेदवार रघु पन्त र कांग्रेसका मदन अमात्य भोट माग्न आउनुभएको थियो। उहाँहरूको घोषणापत्र पढ्दै छु। अरूका पनि खोजेर पढ्दै छु।
दलहरू घरदैलोमा आइरहेछन्। कोणसभा पनि जारी छ। महिला बुद्धिजीवीको छुट्टै भेला पनि चलिरहेको देख्छु। यस्तो हुनु राम्रो हो। त्यहाँ प्रश्नोत्तर पनि हुन्छ। 'पहिले संविधान किन नबनाएको? यसपालि चाहिँ संविधान बन्छ त?' यस्ता प्रश्न नेताले सामना गर्नुपरिरहेको छ। विकास निर्माणका कुरा सोध्ने मौका पनि यही हो।
म पञ्चायतकालदेखि भोट हालिरहेको छु। पहिलोपल्ट भोट हालेको त्रिचन्द्र कलेजमा हो। २०१५ सालमा एसएलसी पास गर्दा मेरो उमेर १३ वर्षको मात्रै थियो। भोट हाल्ने कुरै भएन।
संविधानसभाले फेरि पनि संविधान बनाउँछ भन्ने ग्यारेन्टी छैन। मलाई शंका छ। तर बनाउन सकेन भन्दैमा जहाजै डुब्ने पनि होइन। कति कुरा हतारमा गर्नुभन्दा केही समय लगाउनु ठिक हो। इजरायलको संविधान अझै बनिसकेको छैन। तैपनि चलिरहेकै छ।
मुख्य कुरा लोकतन्त्र हुनुपर्‍यो। जनताले चुनेको सरकार हुनुपर्‍यो। चार–पाँच वर्षमा चुनाव गर्ने, जनतालाई अधिकारको ग्यारेन्टी गर्न सके अरू बिस्तारै हुँदै जान्छ।
लोकतन्त्रमा समर्पितले मेरो भोट पाउँछ। तर म त्यत्तिमै चुप लाग्ने छैन। म समाजवादी पनि हुँ। जसले आर्थिक सामाजिक विभेदलाई सम्बोधन गर्छ, भोट उसले पाउँछ। प्रजातन्त्र भनेरमात्रै अब पुग्दैन। धनी र गरिबबीचको खाडल कम गर्नेप्रति मेरो बढ्ता चासो हुन्छ।
बजार नै सबै थोक हो भन्ने उदारवादी पनि अहिले आएका छन्। नेपालजस्तो देशमा बजारमाथि अझै भर गर्न सकिन्न। सरकार, शिक्षा, स्वास्थ्यजस्ता महत्त्वपूर्ण क्षेत्रबाट पछि हट्न खोजेको देखिन्छ। ठूला दातृसंस्थाबाट ऊ प्रभावित भएको हो कि?

नयाँ मतदाता धेरै थपिनुभएको छ। उहाँहरूले थुप्रै कुरा थाहा पाउनु जरुरी छ। मभन्दा कम उमेरकाहरूको आफ्नै सपना छन्। हामी भूतका कुरा गर्छौं। उहाँहरू भविष्यको कुरा गर्नुहुन्छ। सामाजिक समझदारी, शान्ति, सुशासन आउने कुरा उहाँहरूले सोच्नुपर्छ। उहाँहरू झगडा गर्ने होइन, मिलेर जाने समाज खोजिरहनुभएको छ।
नेता चुन्दा समाजप्रति उसको प्रतिबद्धता चुनावअघि चाहिँ कति थियो त भनी खोज्नुपर्छ। उसको सक्रियता र भूमिका हेर्नुपर्छ। कतिपयले समाजसेवी नै राजनीतिज्ञ भएको हेर्न चाहन्छन्। 'पलिटिक्स फर पलिटिक्ससेक' बाट वाक्क भएका छन् उनीहरू।
कतिपय उम्मेदवारमा त वैचारिक भिन्नता पनि खासै नहोला। जसले समाजप्रति केही गर्ने प्रतिबद्धता बोकेको छ, त्यस्तालाई नयाँ मतदाता रुचाउँछन् कि जस्तो लाग्छ। एक मतदाताका रूपमा मेरो चासो पनि यतातिर छ।
घोषणापत्रमा पुरा गर्नै नसकिने वाचा गरेको पनि पाउँछु। अहिलेका मतदाता सचेत भइसकेका छन्। उनीहरूले त्यसकारण यसलाई त्यति गम्भीरतापूर्वक लिन्छन् जस्तो मलाई लाग्दैन। सबै पार्टीले १२ कक्षासम्म निःशुल्क शिक्षा भनेका छन्। जुन अब हुन सक्दैन। आठ कक्षासम्म पनि राम्रोसँग निःशुल्क गर्न नसक्नेले कसरी १२ सम्म गर्लान्? यस्ता कुराले घोषणापत्रलाई हलुका बनाउँछ। मतदाताले घोषणापत्र र वाचाहरू कति व्यावहारिक छन् भनी खुट्याउनुपर्छ। पढेलेखेकाहरूले अरूलाई यस्तो बुझाउन सघाउनुपर्छ। अहिले त प्रोपागान्डामात्रै भइरहेको छ। अझ कतिपय ठाउँमा त घोषणापत्र पुगेको पनि छैन रे। ९० प्रतिशत जनताले हेर्नै पाएका छैनन्। मलाई सबैले घोषणापत्र दिएनन्। कांग्रेस र एमालेले घरमा ल्याएर दिए। अरूको चाहिँ इन्टरनेटमा पढेँ।

यो चुनाव अरू चुनावभन्दा केही फरक छ। जनता बढी सचेत भएका छन्। अस्तिमात्रै एक उम्मेदवारले एक सय दुई वर्षकी वृद्धालाई भेटेछन्। भन्दै थिइन् रे, 'बाबु तिमीले यसपालि चाहिँ बनाउँछौ त संविधान?'
देख्नुभयो, मतदाता कति सचेत हुँदै छन्!
एक मतदाताका हैसियतले चुनावप्रति मेरो ठूलो विश्वास छ। जापानमा छँदा भोट हाल्नकै लागि नेपाल आएको अनुभव मसँग छ। दुई–तीन हप्ता बसेर गएको थिएँ।

...

निर्वाचितभन्दा मनोनित धेरै
निलाम्बर आचार्य
काठमाडौं– १ का मतदाता
साँचो बोल्ने हो भने मेरो मतदानसम्बन्धी अनुभव धेरै काम लाग्ने हुनेछैन। हामीले सकारात्मक कुरा दिनुपर्छ। तर मेरो अनुभूति पूरै सकारात्मक छैन।
नियमित चुनाव हुन नपाउनु यसको कारण हो। यहाँमात्रै होइन, दक्षिण एसियाको अनुभव पनि यस्तै छ। नियमित चुनाव हुन सकेमात्रै विश्वस्तरको स्वच्छता पाउँछ।
कतिपय ठाउँमा अझै महिलाले भोट हाल्न पाएका छैनन्। दुई–तीन वर्ष लगातार एउटा दलको समर्थन गरिरहेको मतदातालाई अर्काले एकै रातमा बदल्छ। यहाँ पैसाको राजनीति  बढी चल्छ।
चुनाव मेरा लागि किन महत्त्वपूर्ण छ भने, मतदाताका रूपमा यो देशको निर्णय गर्न पाउने अधिकार मसँग छ। मेरो अधिकार छ। तर पूरै गोप्य अधिकार। त्यो मेरो व्यक्तिगत अधिकार हो। त्यसको अर्थ के हो भने ममाथि कसैले अंकुश लगाउन पाउँदैन।  म कसैको अनुशासन मान्न बाध्य छैन। बरु मेरो मतको मातहतमा अरू कुरा छन्।
म यो देशको सचेत नागरिक हुँ। यो देश मेरो हो भन्ने प्रतीक हो चुनाव। मैले चाहेकै मान्छे विजयी हुनुपर्छ भन्ने केही जरुरी छैन। मैले देशको मामलामा मत व्यक्त गर्नुपर्छ भन्ने सन्देशचाहिँ सबैभन्दा ठूलो हो। हरेक चुनाव आउँदा मलाई यस्तै लागिरहन्छ।
देशका लागि नागरिकले गर्ने निर्णयमा चुनावभन्दा अर्को विकल्प नै छैन। त्यसकारण चुनावका बेला मतदाताले पहिलेभन्दा बढी गम्भीर हुनुपर्छ। उनीहरूले जिम्मेवार निर्णय गर्नुपर्छ।
दुई खालका मतदाताबीच तेस्रो खालका मतदाता आउन थालेका छन्। प्रतिबद्ध अर्थात् कट्टर मतदाता छँदै छन्। ठूलै संकट आइनलागी उनीहरू दल बदल्दैनन्। लचकदार मतदाता पनि हुन्छन्। तिनलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन। कोही तर्कपूर्ण र यथार्थपरक हुन्छन्। कोहीचाहिँ अवसरवादी हुन्छन्। तेस्रो खालका चाहिँ न अवसरवादी छन्, न यथार्थवादी। उनीहरूलाई क्षणिक त्रास, लाभ, डर, संगतले गाइड गर्छ।  

विकसित देशमा मतदाताले राजनीतिलाई गाइड गर्छन्। यहाँ त मतदातालाई गोठालो गर्ने चलन छ। पार्टीले मतदातालाई सक्रिय पार्नुपर्ने स्थिति छ।
विकासशील देशमा राजनीतिका कुरामा जनताको ध्यान बढी गएको देखिन्छ। भारतमा पनि प्लेनमा, बसमा, चोकमा नेताका कुरा बढी सुनिन्छ। विकसित देशमा त चुनावकै बेला पनि राजनीतिबारे कम कुरा हुन्छ।
म राजनीतिक दलहरूको गतिविधि हेरिरहेको छु। अहिले मतदाताले चुनेका भन्दा मनोनित हुनेको संख्या ठूलो छ। यस्तो भएपछि मतदाताको विश्वास आफ्नो मतमा कायम रहिरहन्छ भन्न सकिन्न। चुनिएर गएपछि मनोनित हुनेसँगै ऊ पनि मिसिन्छ।

ज्ञानमणि नेपाल
काठमाडौं–९ का मतदाता
मतदाता नामावलीमा नाम समावेश हुन फोटो खिचाउनुपर्ने नियम आएको थाहा पाएपछि सुरुमै खिचाइहालेँ।
 पहिलोपल्ट मतदान २०१५ मा गरेको हुँ।  चुनावताका भोजपुरमा पढाएर बसिरहेको थिएँ। त्यस बेला पनि संविधानसभाको चुनाव हुने भयो भन्थे। संसद र संविधानसभामा के फरक भन्ने छलफल गर्थ्यौं। मैले यसबारे जवाहरलाल नेहरूलगायतका अनुभव पढिसकेको थिएँ। विश्व इतिहास पढेको हुनाले अरू देशका चुनावबारे थाहा पाइसकेको थिएँ। हामीलाई लागेको थियो– संसद भनेको राजासहितको हुन्छ। संविधानसभाचाहिँ स्वतन्त्र संस्था हो।
त्यस बेला कांग्रेसमात्रै ठूलो पार्टी थियो। नयाँ खुलेको दलको आकार ठूलो थिएन। राजा रहेका ठाउँमा संविधानसभाको चुनाव हुनु हुँदैन भनेर ऋषिकेश शाह र टंकप्रसाद आचार्यले आवाज उठाए। पछि राजाले संविधानसभाको चुनाव नहुने घोषणा गरे। कांग्रेसले सर्वोच्च न्यायालयमा उजुर हाल्यो।
संविधानसभाको नभई संसदको चुनाव हुने घोषणाले मलाई निराश बनायो। मैले भोट नहाल्ने अड्डी लिएँ। मेरो निर्णयले भोजपुरका कांग्रेस उम्मेदवार खड्गबहादुर कार्की रिसाए।
मलाई अहिले पनि कुनै पार्टीको मतलब छैन। म कुनैको पनि सदस्य होइन। आज पनि स्वतन्त्र छु। म कुनै पार्टीमा लागेँ भने त्यस पार्टीको नेताले जे अन्याय गरे पनि म बोल्न पाउँदिन। त्यही भएर बाहिरै बसेको।
प्रजातन्त्रमा जनताले चुनेको प्रतिनिधिबाट शासन चल्छ। चुनावमा भोट हाल्नु मतदाताको कर्तव्य हो। उनीहरूले आफ्नो कर्तव्य बुझेनन् भने देश उँभो लाग्दैन।
यहाँ एक सय चालिस पार्टी भए । अरू देशमा यति धेरै पार्टी खुल्दैनन्। जनसेवाभन्दा आत्मसेवाका लागि पार्टी खुलेको देख्छु। नपढी, नजानी पनि नेता हुन पाइने व्यवस्था आएछ। नपढेका सभासद्ले पनि ५० हजारको तलब खाए। जबकि एमए सक्दा पनि यहाँ त्यत्रो तलब पाइँदैन। यस्तो कुरो दोहोरिन नदिन पनि मतदाता जागरुक हुनुपर्छ। तर भोटचाहिँ हाल्नुपर्छ। भोट नहाली प्रजातन्त्र सुदृढ हुँदैन।
म यो चुनावसँग धेरै उत्साहीचाहिँ छैन। सात सालदेखि १५ सालसम्मको समय त्यसै खेर गयो। पछि ३० वर्षसम्म समय खेर गयो। फेरि अस्ति ६ वर्षको समय खेर गयो।
नयाँ पिँढी आउँदै छ। प्रजातान्त्रिक पद्दतिका लागि भोट त्यसै अनुसारको पार्टीलाई दिनुपर्‍यो। आउने पिँढीले त्यस कुरामा ध्यान दिएन भने देश पछाडि फर्कन्छ।

समय र लेखकको तस्बिर

झन्डै एक महिने अमेरिका बसाइमा धेरै ठाउँ घुमेँ। घुमेभन्दा कैयौं गुना धेरै ठाउँ घुम्न बाँकी रहे। धेरै पात्र भेटेँ। भेटेभन्दा कैयौं गुना पात्र भेट्न बाँकी रहे।तिनै धेरै पात्रमध्येका एक बालक...

पात्रहरूसँगै दमिनी भीरमा

'दमिनी भीर' बजारमा आएदेखि नै धौले कान्छोले पटकपटक 'गाउँ आउन' भनिरहेकै हो। काठमान्डुको व्यस्तता वा व्यस्तताको बहाना देखाउँदै मैले कान्छोलाई टार्दै आइरहेको थिएँ। आख्यान बुन्न त्यत्रो तागत दिने एक महत्वपूर्ण...

कवि खोज्दै जाँदा

कवि खोज्दै जाँदा

भदौरे झरीले काठमाडौंका अफरोड भिजाइरहेछ। आकाशमा मौसम रोइरहेछ, जमिनमा कवि। एक चर्चित (भनूँ, लोकप्रिय) कविको कांग्रेस प्रवेशले काठमाडौंका कविकुना अझै गर्मिंदा छन्। कोही खुसी छन्, कोही रोइरहेछन्। अखबारमा यो खबर पुरानो...

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

सुन्दरपुर (उद्यपुर)– 'पहिले फुसको छाप्रो बनाएर केही समय त्यसै छाड्छन्। अनि चुरेवनकै रुख काटेर सखुवाको खम्बा गाड्छन् र एक–दुई कोठा बनाउँछन्। यति गर्दा पनि कसैले औंला नउठाए क्रंक्रिटकै घर बनाउँछन्,'...

उज्यालो पर्व

उज्यालो पर्व

दिदीबहिनीको हातबाट टीका लगाउँदा दाजुभाइको मुहारमा झल्कने खुसी दीपावलीको उज्यालोभन्दा कम हुँदैन । त्यसैले त खुसी, उमंग र उज्यालोको पर्व बनेको छ, तिहार । घरघरमा गरिने दीपावलीले पनि जीवनको अन्धकार...

महानायकको एक्लो दसैं

महानायकको एक्लो दसैं

अभिनेता राजेश हमाल दसैं आएको र गएको चालै पाउँदैनन्। उनको घरमा 'दसैं कोठा' छ। तर, त्यहाँ जमरा नउमि्रएको एक दशकजति भयो। दुर्गा कवच र चण्डीपाठ गर्न पण्डितहरू आउन छाडे। न...

किसिम किसिमका पाठक

‘दमिनी भीर' पढिसकेपछि गोरखाकी पाठक पुष्पा केसीले मसँग निक्कै घच्चीका मत राखिन्। उनको जोड थियो, ‘तपाईंको उपन्यास पढिसकेँ। राम्रै लाग्यो तर ‘लभ' पुगेन।

गजबका किट्स

गजबका किट्स

तिमीले पजल खेलेका छौं? घरमा नभए स्कुलमा खेलको हुनुपर्छ। पजल खेल्न खुब मज्जा हुन्छ है। आफुलाई मनपर्ने कार्टुन पात्र वा फिल्मको पजल खेल्न पाए त झन् मज्जा। अनि दिमागी कसरत...