Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

विचार

जातीय भेदभावको उपचार

(0 votes)
ई. १८५० मा बेलायत भ्रमण गरेपछि प्रधान मन्त्री जङ्गबहादुर राणाले कसैको सल्लाहअनुसार फेवातालको पानी पम्पबाट तानेर पोखरा उपत्यकामा सिँचाइ गर्ने र उत्पादन बढाउने योजना अघि सारे।
रघुनाथ लामिछाने

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
योजनाअनुसार बेलायतबाट पम्प पनि झिकाइयो तर लागु भने हुन सकेन। कारण– त्यो पम्प जडान गर्न विदेशी नै चाहिने भयो। त्यस्तो विदेशी म्लेच्छ (नीच, अनार्य, पापी) हुने भएकाले उत्पादन 'छोइन्थ्यो' र खान योग्य हुन्थेन। जुन कुरा पम्प आइसकेपछि मात्र जङ्गबहादुरले थाहा पाएका थिए।

वि.सं. १९१० मा बनेको मुलुकी ऐनले भने 'पानी चलन्या घटिवढिजातको' शीर्षकअन्तर्गत जातभातलाई कानुनीरूपमै संरक्षण उपलब्ध गरायो। खासगरी शासनसत्तामा जङ्गबहादुर हाबी भएपछि उनी र उनीपछिका शासकले जात तोक्ने र बाँड्ने कामसमेत गर्न थाले। जातभातबारे ज्यादै कट्टर नियम बसाल्ने र अरुलाई त्यसैका आधारमा दुःखसमेत दिने जङ्गबहादुरले आफैँ भने पानी नचल्ने साल्मी जातकी छोरी बिहे गरे। यतिसम्म कि आफूले बिहे गरेपछि उनले साल्मीलाई पानी चल्ने जातमा बढुवा गरिदिए। यस्ता थुप्रै उदाहरण छन्, जसलाई राणाहरुले छुतबाट अछुत र अछुतबाट छुतमा परिणत गरिदिएका छन् एक चुट्कीका भरमा।

आज हामी यिनै सनकका भरमा मुलुक चलाउनेहरुले बसालिदिएको थिति अकाट्य सत्यका रूपमा बुझिरहेका छौं र तल्लो र माथ्लो जातको लक्ष्मण रेखा कोरेर नेपालीले नेपालीलाई छुवाछुत गरिरहेका छौं। फोहोरमा चर्ने राँगो, कुखुरो र खसी चुह्लोमा पकाउँछौं, अनि कालो र खैरोको नाममा आफूअनुकूल व्याख्या गरेर गल्ली चाहार्ने कुकुरले छोएको खाना पनि बाँकी राख्दैनौं तर आफ्नै दाजुभाइले छोएको भने खान नहुने धारणा पालेर बस्छौँ। योभन्दा पाखण्डपन के हुन सक्छ यो आधुनिक जमानामा?

जातीयता र छुवाछुतको साम्राज्य सानो छैन। न त यसको इतिहास र महिमा नै झुत्रेझाम्रे छ। भारतका राष्ट्रपिता महात्मा गान्धीसमेत यसको सिकार हुनुपरेको नमीठो इतिहास आज पनि उत्तिकै ज्वलन्त छ। वकालत गर्ने क्रममा दक्षिण अफ्रिका पुगेका गान्धी बोअर गणराज्यको प्रिटोरिया जाने क्रममा फर्स्ट क्लासको टिकटमा रेलमा यात्रा गर्दै थिए। उनलाई एउटा गोराले देखेपछि अचम्म मान्यो र रेल्वे कर्मचारी बोलाएर मालगाडी डिब्बामा जान लगायो। त्यही क्रममा प्रहरीले उनलाई रेलबाट दुर्व्यवहार गरेर निकालिदियो। गुन्टासमेत जफत गरे। यस्तो दुर्व्यवहार खप्न बाध्य हुनुको एउटै कारण थियो कि उनी काला थिए र कालाले त्यस्तो टिकटमा यात्रा गर्नु उचित हुन्नथ्यो। यही र यस्तै घटना थिए जसले उनलाई विभेद र अन्यायविरुद्ध लड्ने ऊर्जा प्रदान गर्‍यो।

एकातिर यसरी गोराहरुसँग अन्यायविरुद्ध लडेर हैरानी बेहोर्न बाध्य थिए भने अर्कोतर्फ घर राजकोट फर्कँदा आफूमाथि भएको विभेद उनका लागि अर्को धक्का बन्यो। जतिबेला विदेश पढ्न गएको भनेर जाति बन्धुले बहिष्कार घोषणा गरेका थिए र त्यसको प्रायश्चित गर्नुपरेको थियो। मात्र जात फर्काउनका लागि उनले गाउँले र आफन्तलाई ऋण गरेर भोजसमेत खुवाउनुपरेको थियो। महात्मा गान्धी जस्ता व्यक्तिलाई समेत डस्न सक्षम यो जातीय भेदभाव यही कारण पनि कति शक्तिशाली छ भन्ने प्रष्टिन्छ।

टाढा जानै पर्दैन, नेपालमै पनि चरम छुवाछुतका अचम्मलाग्दा उदाहरण प्रशस्तै छन्। त्रिविका पूर्व उपकुलपति त्रैलोक्यनाथ उप्रेतीका ठूलाबा केदारनाथ बेलायत गएका थिए। उनले त्यहाँ म्लेच्छसँग बसेर खाएकाले बिटुलो भएको भनी प्रधान मन्त्री चन्द्रशमशेरले त्रैलोक्यका बुबा र उनलाई समेत छुँदैनथे। उनकै आदेशअनुसार सात दिनसम्म पशुपतिनाथमा गएर सात दिनसम्म नुवाउने, एक छाकमात्र खाने र गाईको गहुँत खाने गरेर चोखिए पनि त्यसलाई समेत मान्यता दिएनन्। यही कारण प्रत्येक पटक दशैंमा त्रैलोक्यलाई टीका लगाइदिएपछि मोहनशमशेरले नुवाएर चोखिने गरेको भनाई उप्रेतीको आत्मवृत्तान्तमा छ।

यसरी हेर्दा जातीय भेदभावको सम्बन्ध शक्तिसँग जोडिएको देखिन्छ। धेरै मानिस वा समुदायलाई आफ्नो हित अनुकूल हिँडाउन वा नियन्त्रणमा राख्न सक्ने क्षमता शक्ति हो। जातीय विभेद राज्यमा हालिमुहाली चलाउने वा त्यस्तो हैसियत राख्नेहरुले गरेका यही क्षमता दुरुपयोगको उपज हो। त्यसैले त मकवानपुर युद्धमा विजय हासिल गरेपछि पृथ्वीनारायण शाहले हार्नेका छोरीहरु सार्कीलाई सुम्पेर जातिच्युत गरेका थिए। आफूलाई सहयोग नगरेको झोकमा जैसीका अधिकार खोसेर सामान्य जनता घोषणा गरिदिए। स्रोत, साधनउपर पहुँच र नियन्त्रण भएको यही अवस्थाको चरम फाइदा उठाउँदै यसरी राज्यस्तरबाटै मुलुकको एउटा ठूलो समुदायलाई शताब्दियौंसम्म हेप्ने र मर्यादामाथि नै खेलवाड गर्ने काम भयो।

हामी जसलाई दलित भनिरहेका छौं, प्रज्ञा प्रतिष्ठानले निकाले बृहत् नेपाली शब्दकोशले यसको अर्थ 'दमन गरिएको, थिचिएको, कुल्चिएको' भन्ने लगाएको छ। त्यसैले यही अर्थका आधारमा पनि जातीय विभेदको मार खप्न बाध्य दलित समुदाय कतिन्जेल चूपचाप सहने भन्ने प्रश्न खडा भएको छ। खासगरी दलितहरु यसरी हेपिन बाध्य हुनुमा उनीहरु सशक्त नहुनु मुख्य कारण हो।

हरिबोल गजुरेलको अध्यक्षतामा गठित वैज्ञानिक भूमि सुधारसम्बन्धी उच्चस्तरीय आयोगका अनुसार उन्नत श्रमशक्तिको रूपमा रहेको तर राज्यबाट अपहेलित दलित समुदाय भूमिबाट करिबकरिब पुरै बेदखल छ। मुलुकको जम्मा भूमिमध्ये १ प्रतिशतमा मात्र दलितको स्वामित्व छ। हलिया, हरुवाचरुवा जस्ता करिबकरिब दास प्रथामा प्रायः सबै दलित छन्। त्यसैले उनीहरुको सशक्तता भूमिसँग जोडिएको छ। नेपालमा आर्थिक, सामाजिक, राजनीतिक र आर्थिक सबै उन्नतिको आधार भूमि नै हो। उद्योग र सरकारी जागिरको खासै भरथेग नभएको तथा कृषि प्रधान देश भएकाले पनि जोसँग भूमि छैन, ऊ दोस्रो दर्जाको नागरिकका रूपमा बाँच्न बाध्य हुनु परिरहेको छ। दलितहरुले यसरी पाइलैपिच्छे अपमानित हुनुपर्नाको कारण पनि उनीहरुसँग जमिन नहुनु नै हो।

केही 'विद्वान्' हरु अब जमिन बाँडेर सम्भव नहुने बताउँदै तर्क गर्छन् कि भूमिहीन, सुकुम्बासी आदिलाई उद्योग, जागिर वा अन्य क्षेत्रमा आकर्षित गर्नुपर्छ। के नेपालमा जमिन नभएकै कारण पछाडि पारिएका, हेपिएका दलित, भूमिहीन आदि सबैलाई दिन पुग्ने जागिर छ राज्यसँग? श्रम गर्ने ठाउँ दिन सक्छन् उद्योगीले? अन्य क्षेत्र भनेको के हो? त्यसैले यस्ता अस्पष्ट कुरा गर्नु भनेको दलितलाई सधैँ निरीह बनाएर उनीहरुलाई शोषण गरिरहने र माथि उठ्न नदिने चालबाजीबाहेक केही हुन सक्दैन। जो जे कारणले अन्यायमा पारिएका हुन्, त्यही उपलब्ध नगराएसम्म सामाजिक न्याय प्राप्त हुन सक्दैन।

समग्रमा भन्दा गरिखाने जमिन प्राप्तिले मात्र दलितलाई मर्यादायुक्त बनाउन सक्छ। यसको प्राप्तिपछि न दलितले पुन्की र खलोको दायामायामा बाँच्न बाध्य हुनुपर्छ न त बिष्टको ज्यू हजुरीमै लाग्नुपर्छ। आफ्नै भकारी पुटुस्स भएपछि कसैसँग निहुरिने जरुरत पनि हुँदैन। त्यतिबेलामात्र छुवाछुत जस्तो वाहियात प्रथा आफैँ चाउरिएर जाने पक्का छ।

अन्त्यमा,

अछामको बान्नातोली गाविसमा एउटा शिवको मन्दिर छ। पुजारी ताराप्रसाद गिरी दलितलाई देउता रिसाउँछन् भनेर मरिगए भित्र पस्नै दिँदैनथे। यत्तिकैमा राष्ट्रिय दलित नेटवर्कको सहयोगमा सोही गाउँमा जातीय छुवाछुत तथा विभेदविरुद्ध गाविसस्तरीय समन्वय समिति गठन भएको छ जसको संयोजक तिनै पुजारी बनेका छन्। अहिले गिरी नै भन्न थालेका छन्– जातीय छुवाछुत गम्भीर अपराध हो। यस्तो व्यवहार गर्नेलाई बहिष्कार गर्नुपर्छ।

तरिका यस्तो पनि अपनाउने कि!