Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

विचार

कठै एसएलसी!

(0 votes)
तपाईँको सेवा कत्तिको प्रभावकारी छ भन्ने जिज्ञासामा अछामको बाह्रबिसमा भेटिएकी एक स्वास्थ्य कार्यकर्ताले भनेकी थिइन्– हेर्नुस्, यहाँ मैले के सल्लाह दिन्छु, त्यो ठीक हो कि होइन, त्यसअनुसार गर्नुपर्छ कि पर्दैनसँग कसैलाई चासो नै छैन।
रघुनाथ लामिछाने

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
उल्टै म कहिले छाउ (महिनावारी) भएँ र बारेँ कि बारिन भन्ने बुझ्नमात्र पछि लाग्छन् सबै। जहाँ गयो यही जिज्ञासा राख्छन्। वारि सोध्नेलाई पारि गाउँ भएको बेला बारेँ भन्ने गरेकी छु, पारि सोध्नेलाई वारि गाउँमै भएको थिएँ भन्ने गरेकी छु।
त्यस्तै भयो गएको एसएलसी परीक्षामा पनि। १८३६ केन्द्राध्यक्ष, २७५७ सहायक केन्द्राध्यक्ष, २२५९३ निरीक्षक, ७५३० सहयोगी तथा १८३६० सुरक्षाकर्मी गरी ५३०७६ जनाको काम नै कहाँ कुन परीक्षार्थी चोर्छ भनेर पछि लाग्नमै बित्यो। परीक्षालाई व्यवस्थित र मर्यादित गराउने नाममा यति ठूलो जनशक्ति को चोर्छ भनेर पछि लाग्नुमै बिताउनु राष्ट्रिय लज्जाको विषय हो। जबकि व्यवस्थापन भनेको परीक्षार्थीलाई लेख्न सहज वातावरण तयार पार्ने हो। बस्ने व्यवस्था, पानी पिउने व्यवस्था, हल्ला नहुने व्यवस्था, थप कपी उपलब्ध गराउने व्यवस्था, त्रासरहित वातावरणको व्यवस्था।
यहाँ त भइदियो उल्टो। परीक्षा केन्द्रभर छ्याप्छ्याप्ती प्रहरी। देख्दै त्रासको वातावरण। आक्रामक निरीक्षकहरु। आएको पनि परीक्षा हलभित्र छिर्नुअगावै बिर्सने वातावरण। चारैतिरबाट डर, धम्की, त्रास। तनावका कारण आधा लेखन परीक्षा दिनुअघि नै समाप्त हुने। के यही हो परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने भनेको? परीक्षार्थीलाई तनाव दिलाएर तथा हतोत्साही तुल्याएर परीक्षा मर्यादित हुन्छ? परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षार्थी फेल गराउने कार्यालयको उपाधि दिलाउन यस्तो अवस्थाले निकै भरथेग गरेको छ।
यस्तो वातावरण किन तयार हुन पुग्यो त? किनकि रङ्ग न ढङ्गको पढाइ र त्यसैको जगमा आधारित परीक्षा प्रणाली भएपछि यस्तै हुन्छ। जस्तो गीतअनुसारको नाच हुन्छ। घरमा एमए पास गरेको छोरो हुन्छ। आमा महिनावारी भइन् भने भात पकाउन आउँदैन भन्छ। धाराको टुटीमा वासर फुस्क्यो, फेर्न सक्दैन। चिम बलेन, किन बलेन भेउ पाउँदैन। टेलिभिजनमा झ्यारझ्यार आयो, स्टेसनलाई सराप्छ, मरिगए कारण पत्ता लगाउन सक्दैन। हामीले पढ्यौँचाहिँ के त? जान्यौंचाहिँ के त? एमए पास गरेवापत उसले जानेको व्यावहारिक पक्ष के के हुन त? केही पनि छैन। त्यसैले यस्तो केही पनि नजान्ने पढाइको परीक्षा यस्तै हुन्छ। 
जति पछि भयो, एसएलसीमा चोर्ने/चोराउने क्रम उति उति बढ्दो छ। एउटा विद्यार्थी एसएलसी परीक्षासम्म आइपुग्न उसले बोर्डिङमा भए १३ र सरकारी विद्यालयमा भए १० वर्ष पढ्नुपर्छ। एक दशकभन्दा बढी पढाएको विद्यार्थीलाई ‘चोर्न हुन्न' भन्नेसमेत सिकाउन सकेनछन् गुरुहरुले। जुन यस पटकको एसएलसीमा पनि प्रमाणित भयो। यत्रो वर्षसम्म यो दुई शब्दमा समेत प्रतिबद्ध गराउन नसक्ने नेपाली शिक्षकहरुले गुणस्तरीय शिक्षाको रवाफ लगाउन मिल्छ? यस्तो अवस्थामा चोर्ने विद्यार्थीलाई मात्र दोष दिन मिल्दैन। यो चोराइको मुख्य जिम्मेवार यति पनि सिकाउन नसक्ने गुरुहरु हुन। त्यसैले एसएलसी परीक्षामा ठूलो सङ्ख्यामा परीक्षार्थी हैन, तिनका गुरु फेल भएका हुन। 
यही परीक्षालाई सुव्यवस्थित बनाउन भनेर परीक्षा नियन्त्रण कार्यालय नै गठन गरेको छ सरकारले। ६३ जना कर्मचारी यसैका लागि पालिएका छन्। कसको के जिम्मेवारी हो भन्ने प्रष्ट नभए पनि ११ जना त उपनियन्त्रकमात्र छन् यस कार्यालयमा। यो कार्यालय यसैगरी वर्षमा एक पटक कुम्भ मेला चलाएर चर्चामा आउने गर्छ। परीक्षा नियन्त्रक, उपनियन्त्रक जस्ता शब्दधारी पदले नै प्रष्ट पार्छ कि यिनीहरुको भूमिका सकारात्मक हुनै सक्दैन। किनभने उनीहरुको भूमिका परीक्षालाई नियन्त्रण गर्ने हैन, सहजीकरण गर्ने हुनपर्छ। जहाँ पदको नाम नै गलत छ, त्यहाँ त्यो पदमा बसेकाले गर्ने कामचाहिँ सकारात्मक खोज्नु पनि मुर्ख्याइँ नै हुनेछ।
पढाइ काम लाग्नेखालको भएन। अहिले पढेको कुरा नसम्झेर चोर्नुपर्ने अवस्था आइलागेको कारण पनि यही हो। किनकि काम लाग्ने कुरा कसैले पनि बिर्संदैन। विद्यार्थी फेल हुनुमात्र हैन, परीक्षामा अनियमितता गर्नुको जिम्मेवारी शिक्षकलाई पनि थमाइनुपर्छ। नैतिक शिक्षा ओझेलमा पर्योा। नैतिक शिक्षामा फेल हुनेलाई सबै शिक्षामा फेल भएको घोषणा गर्नुपर्छ। यसैको अभावमा चोर्ने पद्धति बढेको हो। शिक्षालाई विदेशिने योग्यताका रूपमा व्याख्या गरियो। दायित्व र जिम्मेवारी न पुस्तकले समेट्यो, न गुरुहरुले दिलाए। यी समस्या समाधान गरिए भने न विद्यार्थीले चोर्नुपर्छ, न त चोर्छन् भनेर आधा लाखभन्दा बढी मानिस नै उनीहरुको पछि लाग्नुपर्छ। यतिमात्र पनि हैन, ३८ करोड रुपियाँको आहालमा पौडने परीक्षा नियन्त्रण कार्यालयसमेत विघटन गरे हुन्छ। 

अन्त्यमा,
एक विद्वान् पढाउन नदी पारि जानुपर्ने थियो। सदाझैँ डुङ्गा खियाउने माझी बोलाए। डुङ्गामा सवार माझी र ती विद्वान्बीच कुरा चल्यो। विद्वान्ले सोधे– कति पढेका छौं? माझीले छैन भन्यो। अनि विद्वान्ले थपे– त्यसो भए तिम्रो आधा जिन्दगी त्यत्तिकै खेर गएछ। माझी चूपचाप।
नदी्रको बीचतिर पुगेपछि डुङ्गा लर्बराउन थाल्यो। विद्वान् तर्सिए– लौन माझी दाइ, के हुन थाल्यो? माझीले भने– नदीमा छाल आउँदैछ। यसलाई छलाउन प्रयास गर्छु, सकिनँ भने डुङ्गा पल्टन्छ। माझीको जवाफ सुनेपछि विद्वान् निकै डराए। नभन्दै छाल उनीहरुसम्म आइपुग्यो। माझीको केही लागेन। अनि भने– ल विद्वान् भाइसाब, म त पढेको थिइन, आधा जिन्दगी बित्यो, तपाईँ त धेरै पढेको मान्छे, पुरै जिन्दगी बित्ने भो। माझी नदीमा हाम्फाले, पौडेर पारि पुगे। विद्वान् पनि उत्रन त केहीबेरपछि उत्रे तर नदीकै पानीमा। 
तिनलाई विद्वान् बनाउने शिक्षा र हामी विद्वान् बन्न पढिरहेको शिक्षाबीच केही फरक होला र?