Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

विचार

अफगान चुनावको सन्देश

(0 votes)
अफगानिस्तानमा सम्पनन निर्वाचनमा शंका गरिएभन्दा धेरै कम हिंसा भयो भने अपेक्षा गरिएभन्दा धेरै मत खस्यो। सामान्य अवस्थामा भए करिब ६० प्रतिशत मतदान खासै उल्लेख्य हुने थिएन। तर दशकौं रक्तरञ्जित गुहयुद्ध र विदेशी सेनाको कारबाही भोगेको मुलुकमा निर्वाचन बिथोल्न हिंसक लडाकु जमातले दिएको धम्कीलाई बेवास्ता गरेर मतदान केन्द्रमा पुग्नु र घन्टौ लाम लागेर मतदान गर्नु चानेचुने काम होइन।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
लोकतन्त्र र शान्तिप्रतिको प्रतिबद्धताले नै अफगान नागरिकहरूमा यो आँट आएको हुनुपर्छ। निर्वाचनप्रति जनताले देखाएको चाख र उत्साहले अफगान लोकतन्त्र र राष्ट्रको भविष्य उज्यालो हुने विश्वास लिन सकिन्छ। अफगान निर्वाचनमा देखिएको सहभागिताले दक्षिण एसियाली जनतामा लोकतन्त्रप्रतिको प्रतिबद्धता बढ्दै गएको पुनः पुष्टि भएको छ। नेपालमा पनि हिंसाको धम्कीलाई बेवास्ता गरेर निर्वाचनमा सहभागी हुनेको संख्या धेरै ठूलो थियो। त्यसले निर्वाचन बहिष्कार गर्नेहरूकै अस्तित्वमा संकटमा पारिदिएको छ।
अफगानिस्तान लामो समयदेखि हिंसाको चपेटामा पर्दैआएको छ। सन् १९७९ को सोभियत सैनिक हस्तक्षेपपछि अफगानिस्तान अन्तर्राष्ट्रिय शक्ति परीक्षणको थलो बन्न पुगेको हो। रुसी आक्रमणको प्रतिवाद गर्न अमेरिकाले पाकिस्तानी गुप्तचर निकाय र सैनिक शासकहरूको अगुवाइमा धार्मिक कट्टरपन्थीलाई हतियार र तालिम दियो। त्यसमा मध्यपूर्वका मुसलमान कट्टरपन्थी पनि मिसिए। त्यसले अफगान समाजमा हतियार र हिंसा दुवै अनियन्त्रितरूपमा फैलियो। सोभियत सेना १९८९ मा फर्के पनि हिंसा रोकिएन। अन्ततः कट्टरपन्थीहरू अमेरिकामाथि नै खनिए। अमेरिकाले आतंककारीले आश्रय पाएको निहुँ बनाएर अफगानिस्तानमा सैनिक कारबाही सुरु गर्योन। सन् २००१ मा सुरु भएको अमेरिकी नेतृत्वको सैनिक कारबाही अहिलेसम्म चालु छ। यसबीच अफगान नागरिकले हिंसाका असह्य पीडा सहेका छन् र अफगान युद्धको प्रभाव प्रत्यक्ष परोक्ष संसारभर परेको छ। अफगानिस्तानमा हस्तक्षेपपछि सोभियत साम्राज्य नै नष्ट भयो भने अमेरिकाले गम्भीर आर्थिक र नैतिक संकट बेहोरिरहेको छ।
आन्तरिक हिंसात्मक द्वन्द्वको पीडा नेपाली समाजले पनि भोगेको छ। तर, अफगानहरूले शान्ति प्रक्रियालाई सहजरूपमा अपनाउन पाएका छैनन्। हिंसाले आक्रान्त पारेको अवस्थामा पनि अफगान जनताले रोजेको लोकतन्त्रीकरणको बाटोले त्यहाँ शान्ति र स्थिरता फर्कने आशा जगाएको छ। निर्वाचनमा देखिएको उत्साह र जनसहभागिताले लोकतन्त्रविरोधी समूह झस्केको हुनुपर्छ। अब मुलुकको माया र मानवीय संवेदना भए तालिबान पनि शान्ति र लोकतन्त्रलाई आत्मसात् गर्न अग्रसर हुनुपर्छ। अफगान कट्टरपन्थीलाई सहयोग गर्दागर्दै पाकिस्तानमै तालिबानका नाममा कट्टरपन्थी हिंसात्मक जमातको प्रभाव निकै बढेको छ। अर्थात्, कट्टरपन्थी हिंसाबाट अफगानिस्तानमात्र हैन पाकिस्तान पनि उत्तिकै पीडित बन्दैछ। यसैले पाकिस्तानी शासकहरूले पनि अफगान विद्रोहीलाई सघाउने रणनीति यथार्थमै त्याग्नु उचित हुनेछ। त्यस अवस्थामा अमेरिका पनि सैनिक फर्काउन तत्पर हुनेछ। यसै पनि अमेरिकाभित्रै युद्धको विरोध बढ्दै गएको छ। आर्थिक र मानवीय दृष्टिबाट पनि युद्ध थेग्न निकै कठिन भएको छ। विदेशी सेना नरहने बित्तिकै यस क्षेत्रमा शान्तिको सम्भावना बढ्नेछ भने विद्रोहका कारण घट्नेछ। 
अमेरिकालगायतका सम्पन्न मुलुकले अफगानिस्तानको विकासमा निस्वार्थ सहयोग गर्ने हो भने सैनिक कारबाहीभन्दा कम खर्चले रगत नबगाईकन हिंसा नियन्त्रण हुनेछ। जीवनशैली लोकतान्त्रिक, आधुनिक र उदार बनाउन त प्रत्येक पुस्ताले आफैँ संघर्ष गर्नुपर्छ। अफगान युवाले पनि गर्ने नै छन्। अहिले लोकतन्त्रका पक्षमा दृढ साहस प्रदर्शन गरेकामा अफगानहरूलाई बधाई!