Wednesday 21 Jestha, 2077 | June 03, 2020
Menu

विचार

पुल भत्कँदाको पीडा

(0 votes)
सुनकोसीमा निर्माणाधीन पुलको केही भाग भत्किँदा यस वर्षको बर्खामा सजिलै नदी वारपार गर्न आइने आशामा रहेका स्थानीय बासिन्दा निराश भएकाछन्।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
उदयपुर र ओखलढुंगाको बीचमा सुनकोसी नदीमा बन्दै गरेको मोटर चल्ने पुलको एउटा खण्ड अचानक भत्केपछि बर्खायाम पहिले पुल तयार नहुने सन्देह बढेको हो। पुल ११ वर्ष पहिले बनाउन थालिएको भए पनि अहिलेसम्म सम्पन्न भएको छैन। वारिपारि मोटर चल्ने बाटो तयार भएकाले मोटर चलाउने गरिएको छ। तर, पुलको अभावमा बर्खामा स्थानीय बासिन्दालाई यातायात व्यवसायी र स्थानीय बाहुबलीले लुट्ने गरेका छन्। पुल बनेको भए लाभान्वित हुने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जनता सुविधा नभएरमात्र हैन लुटिनुपर्ने बाध्यताका कारण पनि चिन्तित भएका हुनुपर्छ। 
बन्दै गरेको मोटर चल्ने पक्की पुल अचानक भत्किएको छ। सडक विभागका प्राविधिकले हावाहुरीले पुल भत्काएको अनुमान गरेका छन्। स्थानीय केही व्यक्तिले पुल बनाउन बाधा पुर्‍याउँदै आएका थिए। यसैले पुल भत्किँदा बढी सास्ती सहनुपर्ने क्षेत्रकाले भने तिनैको हात हुनसक्ने शंका गरेका छन्। राम्ररी छानबिन नगरी अहिल्यै केही भन्न सकिँदैन। तर, हर्कपुर—ओखलढुंगा सडक आयोजना प्रमुखले नै ‘पुल बनाउन राखिएका अस्थायी टेका कमजोर र लामो दूरीमा रहेछन् ’ भनेर प्रकारान्तरले आफ्नै कमजोरी स्वीकारेका छन्। पुल बनाउने ठेक्का निजी क्षेत्रको निर्माण कम्पनीलाई दिइएको भए पनि सम्बन्धित आयोजनाले त्यसको उचित रेखदेख गर्नुपर्थ्यो। चैतमा ठूलो हावाहुरी आउनसक्ने त ठेकेदार र सरकारी आयोजना प्रमुखलाई पनि पक्कै थाहा थियो होला। हुरीले नै पुल भत्काएको रहेछ भने पनि त्यसका सम्बन्धित व्यक्तिको हेलचेक्य्राइँले सहयोग पुर्‍याएको देखिन्छ। आयन्दा त्यस्तो हेलचेक्य्राइँ नहुने सुनिश्चित गरिनुपर्छ। 
पुल भत्केपछि त्यस क्षेत्रका केही व्यक्तिलाई फाइदा पुग्ने रहेछ। ठेकेदारको प्राथमिकता क्षतिपूर्ति हुनु स्वाभाविकै हो। सरकारले क्षतिपूर्तिका मामिला छिटो टुंग्याएमा पुल निर्माणले पुनः गति लिनसक्छ र बर्खायाम अगावै वा बीचमा पनि यातायात चल्नसक्छ। गलत नियत भएका व्यक्तिले नै भत्काएका रहेछन् भने पनि पुल बन्यो भने ती बदमासहरूको मनोबल गिर्छ। सरकारले त्यहाँको सडकमा र विशेषगरी पुल क्षेत्रमा निगरानी बढाएर यात्रुलाई लुटिनबाट जोगाउनुपर्छ। अप्ठेरामा परेका यात्रुलाई धेरै तिर्न बाध्य पारेर लुट्ने गिरोहबाट जनतालाई जोगाउन कानुन व्यवस्था प्रभावकारी बनाउनुपर्छ। राज्यले हस्तक्षेप गर्ने यस्तै अवस्थामा हो। सजिलो बाटोमा भइरहेको प्रतिस्पर्धात्मक व्यवसायमा त राज्यले गुणस्तरको नियमनमात्र गरे पुग्छ। तर संगठित बाहुबली गिरोहले व्यक्तिलाई निरीह बनाएर लुट्ने स्थितिमा सरकारले बढी नै निगरानी, नियमन गर्नुपर्छ र आवश्यक परे हस्तक्षेप पनि गर्नुपर्छ। केही महिना व्यापक सुरक्षाकर्मी तैनाथ गरेर पनि जनतालाई लुटिनबाट जोगाउन सके लुट्ने गिरोह कमजोर हुनेछ। त्यस अवस्था बर्खा अगाडि पुल निर्माण सम्पन्न नभए पनि जनता लुटबाट जोगिन सक्छन्। यसैले सुनकोसीको पुल भत्केको यो घटना सरकार र त्यस क्षेत्रका जनप्रतिनिधिको कसी हो। तिनले पैसावाल गिरोहको स्वार्थ पूरा गर्छने कि सामान्य जनताको हितलाई प्राथमिकता दिन्छन् भन्ने यस्तै सानातिना लाग्ने घटनामा देखिले गर्ने व्यवहारबाट स्पष्ट हुन्छ।