15 Chaitra, 2076 | March 28, 2020
Menu

विचार

संस्कृतिमा लागेको भाइरस

  • मङ्गलबार २ बैशाख, २०७१
  • डा.युवराज संग्रौला
  • DISQUS_COMMENTS
(0 votes)
सांस्कृतिक परिवर्तनका क्रममा पुरानो सामाजिक संरचना भत्किन थालेका बेला समाज अराजकताको सिंढीमा चढ्न पुग्छ। 'राष्ट्रियता र राष्ट्रिय मनोविज्ञानले' यस बखत सबैभन्दा चरम यातना र विशृंखलताको सामना गर्छन्। 
उन्नाईसौं शताब्दीको रुसी समाजलाई हेर्दा फ्रान्सेली भाषा, लवाइखवाइ र जीवन पद्धतिलाई सभ्यताका रूपमा अपनाइएको देखिन्छ। ठूलाबडा पढ्न, घुम्न र आफूलाई ठूलो देखाउन फ्रान्स जान्थे। फ्रान्समा पढ्ने मानिसलाई दार्शनिक, विद्वान् र प्रतिभाशाली मानिन्थ्यो। हरेक व्यक्ति फ्रान्स जाने, फ्रेन्च भाषा सिक्ने र फ्रेन्च पहिरन लगाउने सपना देख्थे। त्यसो गर्नुलाई सभ्य भएको मानिन्थ्यो। अर्थात्, १९ औं शताब्दीको रुसी 'बौद्धिकता र संस्कृति' फ्रान्सबाट 'हेजोमोनाइज्ड' भएको थियो। 'हेजोमोनाइज्ड' लाई नेपालीमा 'वसिभूत' भन्न सकिएला। 
कुनै एउटा राज्य वा समाज अर्को राज्य वा समाजको भाषा संस्कृतिको नक्कल गरेर पराई राज्य र पराइ समाजको भाषा, संस्कृति र चालचलनबाट वसिभूत बनेपछि त्यस्तो राज्य वा समाजको सामाजिक प्रतिष्ठा, राष्ट्रिय मनोविज्ञान र राष्ट्रियतामा धमिरा लाग्दछ। उन्नाईसौं शताब्दीको रुस सांस्कृतिक पथभ्रष्टता, अनैतिक चालचलन र कमजोर राष्ट्रिय मनोविज्ञानबाट ग्रस्त भएको थियो। त्यसताकाको रुसी समाजका कतिपय चरित्र वर्तमान नेपाली समाजमा पनि दुरुस्तै मिल्छन्। जस्तै, रुसमा किसान र उत्पादनमा संलग्न मेहनतकर्मीलाई असभ्य र पाखे भनिन्थ्यो। विकास सहर केन्द्रित थियो र सहरमा खुलेका मनोरञ्जन गृहमा गाउँका गरिब बालिका र महिलालाई ल्याएर यौनकर्मी बनाइन्थ्यो। रसियाका सडकमा माग्ने बालबालिकाको ताँती हुन्थ्यो। मध्यमवर्गीय परिवार धनीहरुको नक्कल गर्थे। उनीहरु विदेसिन्थे र देशमा काम गर्न पाइँदैन भन्थे। बस्तीमा बुढापाका मानिसमात्र बस्थे भने युवा सहर र विदेश पलायन हुन्थे। विदेसिन नपाएका मध्यमवर्गीय पढेलेखेका मानिस सरकारी नोकरीलाई जीवनको एकमात्र ध्येय बनाएर चाकरी गर्थे। जागीर पाएपछि भ्रष्टाचार गर्थे। क्रान्तिकारीहरु क्रान्तिको रोमान्समा सपनावादी हुन्थे। उनीहरु क्रेमलिनका शासकको हत्या गरेर, भवनहरुमा बम पड्काएर क्रान्ति गर्न सकिन्छ भन्ने ठान्थे। सम्राटहरु राज्यको कोष आफ्नो व्यक्तिगत फाइदाको लागि प्रयोग गर्थे। रुसी जनता पूर्णरूपमा विभाजित थिए। समाज विचारधाराहीन थियो। नेता लम्पट मानसिकताबाट प्रभावित थिए। कोही अष्ट्रियाली सम्राटका दास थिए। कोही फ्रेन्च सम्राटका दास थिए। कोही स्पेनिस सम्राटका दास थिए त कोही चेक र पोलिस सम्राटका। रुसी समाज क्षत विक्षत थियो। रुसी बौद्धिकता चमेरे प्रवृत्तिको थियो। त्यो आफू पूर्णरुपमा दास मानसिकताबाट प्रभावित थियो तर सधैं आफू ठीक र समाजका अरु सबै गुलाम हुन् भन्ने ठान्थ्यो। बुद्धिजीवी आफू मेहनत गर्ने होइन मेहनत गर्नेलाई खुट्टा तानेर लडाउने प्रतिस्पर्धामा लागेको थियो। बाँदर प्रवृत्तिले समाजग्रस्त थियो। त्यसैले आफ्नो निर्माण होइन अरुको विनाश गर्ने षड्यन्त्रमा बौद्धिकहरू लाग्थे। क्षमता, ज्ञान र इमानदारी होइन पदीय हैसियतमा पुग्ने धोको बोकेर अरुलाई सखाफ पार्न उनीहरु जारका दरबारमा पुग्थे। अयोग्यहरु चाकरी र षड्यन्त्रद्वारा योग्यलाई पछार्थे। 
यस्तै छैन र वर्तमान नेपाली राष्ट्र र समाजको यथार्थ? राष्ट्रिय मनोविज्ञान कमजोर भएकै कारणले उन्नाईसौं शताब्दीमा रसिया विदेशी हस्तक्षेप र आक्रमणको सिकार भयो। नेपोलियनले मस्कोलाई ध्वस्त बनाए। रुसी फौजले फ्रान्ससँग लड्न सकेन। कारण एउटै थियो उसका नागरिकमा पलाएको सांस्कृतिक धरोहरको पतन, त्यसले जन्माएको अनैतिकता, त्यसले जन्माएको अपराध र अराजकता, त्यसले जन्माएको उदासीनता र त्यसले जन्माएको अनिश्चित भविष्यको डर। यी सबै समस्याको एउटै रुप हो 'राष्ट्रियता र राष्ट्रिय मनोविज्ञानको विशृंखलता'। नेपाल अहिले यस्तै अवस्थामा छ। हामी नेपालमा विदेशीको हस्तक्षेप छ, नेपालमा संविधान बन्न सकेन, नेपालको विकासमा अवरोध भयो, नेपालको शिक्षा समाप्त भयो, नेपालमा लोडसेडिङ छ, नेपालको अर्थतन्त्र धराशायी छ भन्छौँ। धेरैले यी सबै नेताले गर्दा भएको हो भन्छन्। के साँच्चीकै त्यसै हो त? 
वास्तविकता तीतो र फरक छ। पढेलेखेका नेपालीको दिमाग 'वसिभूत' छ। ऊ आफ्नो मेहनतमा विश्वास गर्दैन। ऊ आफ्नो संस्कृतिको रुपान्तरण खोज्दैन तर अर्काको नक्कल गर्नमा तल्लीन हुन्छ। ऊ आफूमा परिवर्तनको आवश्यकता देख्दैन तर अरुमा परिवर्तन आवश्यक ठान्छ। ऊ विदेश जान्छ र सबै देख्छ, हेर्छ र बु‰छ। तर देश फर्किएपछि बाटामा फोहोर फ्याँक्नु हुँदैन, अर्कालाई ठोकाउँदै मोटर साइकल कुदाउनु हुँदैन, भन्सारमा घुस खुवाएर सामान निकाल्नु हुँदैन भन्ने ठान्दैन। विदेशमा बसुन्जेल भ्रष्टाचार विरोधी कुरा गर्छ तर नेपाल फर्किनेबित्तिकै आफूले ल्याएको सामानको भन्सार पनि तिर्दैन। नेपालको विमानस्थलमा आइपुगेपछि ऊ अध्यागमन, प्रहरी र भन्सारका मानिस खोजेर मोलतोल गर्छ भ्रष्टाचारको। ऊ चाहन्छ अरुले भन्सार तिरुन् तर आफूले तिर्नु नपरोस्। मानौ, उसले खुवाएको घुस अपराध होइन, अरुले खुवाएको चाहिँ अपराध हो। राष्ट्रका हरेक संस्था, पक्ष र मान्यतामा यही चरित्रको बोलवाला छ अहिले। के यसबाट हाम्रो संस्कृतिमा 'भाइरस' लागि सकेको छ भन्ने सिद्ध हुँदैन? 
यसै भाइरसले ग्रस्त संस्कृतिको प्रचुरताले सडकमा हिँड्ने मानिसको जीवन सवारी साधनबाट असुरक्षित छ। मोटरसाइकल चलाउनेले कति बेला ज्यान लिने हुन् थाहै हुँदैन। माइक्रोबसले कतिबेला मार्ने हो थाहा छैन। लाइसेन्स बिकिरहेका छन्। यातायात विभागले मानिस मार्ने नै प्रमाणपत्र जारी गरिरहेको छ। विदेशमा विद्यार्थी पठाएर धन कमाउनेको ओइरो छ देशमा। देशका विश्वविद्यालय खत्तम छन्, समयमा परीक्षा हुँदैन, पढाइ हुँदैन र त्यसैले विदेश जानुपर्छ भन्ने प्रचार स्कुलदेखि नै सुरु हुन्छ। अस्ट्रेलिया, भारत, सिंगापुर, अमेरिका, युरोप सबैतिरका विश्वविद्यालयका एजेन्ट छन् देशमा। राष्ट्रको अर्बौं अर्ब विदेशिएको छ। गरिबले रगत सुकाएर अरबमा कमाएको डलर हामी हाम्रा 'राजकुमार र राजकुमारीलाई' विदेशमा पठाएर धनी देशलाई तिरिरहेका छौं। जब राष्ट्रका यस्ता समस्या उठाइन्छ, यदाकदा नेपाली झन्डा र टोपी लगाएर फेसबुकमा फोटो हाल्ने विदेशी नेपालीको घुर्की सुरु हुन्छ। 'संसार भूमण्डलीकरण भइसक्यो। संसार एउटै घर भइसक्यो। राष्ट्रियताका कुरा गर्ने संकीर्णतावादी हुन्।' 
मलाई संसार भूमण्डलीकरण भइसकेजस्तो लाग्दैन। संसार भूमण्डलीकरण भइसकेको हो भने संसारका २२ प्रतिशत जनसंख्या बस्ने दक्षिण एसियामा किन संसारका ४३ प्रतिशत गरिब छन् त? किन दक्षिण एसियामा चिकित्सक नपाएर मानिस मरिरहेका छन् त? किन संसारको स्वास्थ्य सेवामा भएको खर्चको २ प्रतिशतमात्र दक्षिण एसियामा खर्च भइरहेको छ ? संसार भूमण्डलीकरण हैन पश्चिमको एकलौटी व्यापारिक साम्राज्यमा परिणत भएको छ। संसार पश्चिमको एकलौटी सांस्कतिक अतिक्रमणको पीडाबाट दिग्भ्रमित भएको 
छ। कतिलाई लाग्दो हो पश्चिमले गरिब देशलाई सहायता दिइरहेको छ। त्यो मिथ्या हो। 
पश्चिमले एकलौटी रुपमा गरिब देशबाट लुटिरहेको छ। एउटा विद्यार्थीले एकपटक टफेल र अन्य विदेशी भाषाको परीक्षा दिँदा एकैपटकमा १५० डलर तिर्नुपर्छ। अनुमान गर्नुहोस् वर्षमा कति हजार नेपालीले टफेलको परीक्षा दिन्छन्। एकपटक भिसाको निवेदन दिँदा बेलायत, अमेरिका, अस्ट्रेलियाको कन्सुलर सेक्सनमा सरदर १० हजार बुझाउनु पर्छ। एकैपटकमा भिसा पाउने मानिस त भाग्यमानी 
ठानिन्छ। अहिले अस्ट्रेलियामा मात्र दुईहजार नेपालीको भीसा रोकिएछ। अरबको गर्मीमा गाउँको कुनै गरिबले पसिना बगाएर पठाएको डलर पश्चिमी सभ्यताको मोहमा वसिभूत भएर त्यसरी खर्च भइरहेको छ। यही पैसा आफ्नै विश्वविद्यालयमा तिर्न तयार भए त हाम्रा विश्वविद्यालय पनि राम्रा हुन्थे होलान्!
समस्या त्यतिमात्रै रहेन। जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न गठन गरेको निजामती र सुरक्षा निकायका कर्मचारी पनि विदेशी राज्यको आवासीय अनुमति लिएर बसेका रहेछन्। अहिले पत्रपत्रिकामा केहीले लेख्न थालेका छन्। 'जागिर खाइन्जेल देशकै सेवा गर्छ भने त्यसले केही फरक पर्दैन।' भनाइको तात्पर्य हो अब हामीले भूमण्डलीकरणको सन्दर्भमा 'आफूलाई' नेपाली भनेर चिनाउनु पर्ने आवश्यकता छैन। के त्यसो भए अब हामीले आफूलाई प्रभुत्वशाली पश्चिमी राज्यकै जनता हौँ भन्न थाले भयो 
त? राज्यको प्रशासन र सुरक्षाको जिम्मा लिने व्यक्तिले 'ग्रिनकार्ड' वा अरू यस्तै प्रकारका अर्को राज्यको 'परिचयपत्र' बोक्नु अब म 'नेपालप्रति समर्पित र बफादार' छैन भनेकै त हो। के त्यस्तो व्यक्तिलाई राज्यले शासनको जिम्मा दिन सक्छ? भूमण्डलीकरणको समयमा संकुचित राष्ट्रियताको कुरा गर्नु हुँदैन भन्नेहरू पनि छन्। संस्कृतिमा लागेको भाइरसको अभिव्यक्ति हो त्यो। अब उपचार गर्ने बेला भइसक्यो। त्यसैले अब पनि देशप्रति जिम्मेवार नहुने हो भने नेपाल विदेशीले होइन आफ्नै स्वार्थी नागरिकले समाप्त पार्ने अवस्थामा पुग्नसक्छ। 
संस्कृतिलाई भाइरस लागेपछि राष्ट्रिय मनोविज्ञान दिग्भ्रमित हुन्छ। राष्ट्रिय मनोविज्ञान दिग्भ्रमित हुँदा राष्ट्रप्रतिको माया कमजोर हुन्छ र कथित शक्तिशाली वर्ग नै राष्ट्रलाई लुट, धोखा र अराजकतातिर धकेल्न थाल्छ। देशका विश्वविद्यालय बर्बाद गरेर विदेशी विश्वविद्यालय पोस्नेहरु, नेपाल फोहोर छ, नेपाल गन्हाउँछ भनेर विदेश जानेहरु, पेन्सन कमाएर विदेश जानेहरु, राष्ट्रसेवक हुँदाहुँदै विदेशी ग्रिनकार्ड लिनेहरुले आफ्नो पहिचन निर्माण गर्ने भूमिकै अपमान गरिरहेका छैनन्? तिनीहरू मातृभूमिप्रति इमानदार हुन सकेका छन् त? 
जसलाई जान मन लाग्छ गए हुन्छ। तर फकाई फकाई विद्यार्थी पलायन गर्ने योजना बन्द गरौं। आफ्ना संस्थालाई माया गरौं। पढाउँदै नपढाई तलब खाने, पदाधिकारी बनेर शिक्षामा अनियमितता गर्ने र पैसा लुट्ने दाउमा विश्वविद्यालयमा तालाबन्दी गर्ने मुन्द्रे नेतालाई हौस्याउने काम नगरौँ। संविधान बनाऔँ र राष्ट्रलाई पनि समृद्ध बनाऔँ। हाम्रो संस्कृतिमा देखिएको भाइरसको उपचार गरौँ। योग्य व्यक्तिलाई विस्थापित गर्ने अयोग्यहरूलाई राजनीतिमा प्रवेश गर्नै नदिऔँ। 
नत्र, एकदिन देश खोज्नु पर्नेछ। जतिसुकै भूमण्डलीकरण भएपनि देश त रहनुपर्छ। हाम्रो उदारता मानवताप्रतिको समान व्यवहारका लागि पो हुनुपर्ने हो। उदारताका नाममा, भूमण्डलीकरणका नाममा पश्चिमी संस्कृतिमा विलयको चाहना राख्नु सांस्कृतिक साम्राज्यवादको पक्षपोषण हो। मानवताप्रतिको भेदभावविहीन समानताको अर्थ राष्ट्र र राष्ट्रियताको परित्याग पक्कै होइन। वर्तमान सरकारले यसप्रति नागरिकतालाई जागरुक गरोस्। देशमा नयाँ सांस्कृतिक जागरणको उद्घोष गरोस्। राष्ट्रलाई प्रेम गर्ने नागरिकको निर्माणका लागि पाठ्यक्रम तायार गरियोस्। र यी सबैका लागि राष्ट्रप्रतिको इमान्दारी पहिलो सर्त हो। जनताले त्यो पूरा गरुन्!