Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

फोटो फिचर

धुमधामसँग मनाइयो कृष्ण जन्माष्टमी (फोटो फिचर)

  • बुधबार १२ भाद्र, २०७०
  • उपेन्द्र लामिछाने
  • DISQUS_COMMENTS
(0 votes)
ललितपुर — भगवान् श्रीकृष्ण जन्मेको दिन अर्थात कृष्ण जन्माष्टमी पर्व हिन्दु धर्मावलम्बीले भगवान कृष्णको पूजाआजा गरी धुमधामसँग मनाएका छन्। ललितपुरको पाटनस्थित कृष्ण मन्दिर, काठमाडौको गोठाटारस्थित नवतन धाम लगायत उपत्यकाबाहिर, बुटवल, नारायणगढ, नेपालगन्ज, भैरहवा, विराटनगर, वीरगन्जक्षेत्रका कृष्णमन्दिरमा बिहानैदेखि घुइचो लागेको छ।

krishna1

कृष्ण मन्दिरमा दिनभर गीत–संगीतसँगै राधा कृष्णका झाकी प्रस्तुत गरिए। 'कृष्ण–राधाका भेषमा सजिएका बालबालिका मन्दिर प्राँगण रमाउदै गर्दा मन्दिरबाट देवता बाहिर निस्केका जस्तो भान भयो, ' पाटन कृष्ण मन्दिरमा भेटिएकी उर्मिला कार्कीले नागरिकन्युजसँग भनिन्, 'यहाँको माहौल निक्कै रमाइलो छ।' चर्को घाममा लाइन बसेकालाई स्वयमसेवकहरुले पाइपबाट पानी छर्किदा माहौल रिमझिम देखिएको थियो।

krishna3

पानीको फहोरासँगै हातमा मयूरको प्वाँख बोकेका उनीहरु मन फुकाएर हाँसे।

पाटनस्थित कृष्ण मन्दिरको दर्शनको लागि बुधबार बिहानैबाट भक्तजनको लाइन कुम्भेश्वरबाट सुरु भइ सोठ, क्वालखु, नपसल, ममदुगल्ली, मंगलबजार, ठूलोघन्टा हुँदै मन्दिर परिसर पुगेको थियो। यहाँ उपत्यका लगायत आसपासका ठाउँबाट हजारौं दर्शनार्थी आएका थिए।

'राती १२ बजे ढोकाखोलेसंगै पूजा सुरु भयो,' मंगलटोल सुधार समितिका सभापति किरणमान प्रधानले भने, 'बुधबार रातभर पूजा चल्ने छ ।' दर्शनाथीको लागी व्यवस्था राम्रो गरिएको उनले बताए। बुधबार विहान ८ बजेतिर राष्ट्रपति आएको र करिब १५ मिनटेपछि फर्केको प्रधानले सुनाए।

कृष्णमन्दिरमा दर्शन गर्न आउनेमा महिलाको सख्या अत्यधिक थियो। पुरुषको लाइनको तुलना महिलाको लाइन अत्याधिक लामो थियो।'हामीलाई ६ घण्टाभन्दा बढी समय लाग्यो,'चावहिलको हेमा कटुवालले भनिन, 'पुरुषहरुको लाइन भने निक्क्कै छोटो थियो।'

मन्दिरमा राष्ट्रपति भेट भयो पूजा गर्न एक घण्टा लेट भयो

krishna2

 

चावहिलकी इश्वरी अधिकारी विहान ६ बजेनै पूजाको लागी लाइन बसेकी थिइन् । पूजा गरेर फर्किदा १२ बज्यो । 'एक त महिलाको लाइन लामो त्यसमा राष्ट्रपतिको सवारी,' उनले भनिन, 'एक घण्टा त उसै कुर्नु पर्‍यो।' उनले 'घुम्तीनेर राष्ट्रपति भेट भयो, पूजा गर्न एक घण्टा लेट भयो,' भन्दै गीत सुनाउन पनि बाकी राखिनन्। पाटन कृष्ण मन्दिरमा राष्ट्रपति रामबरण यादब ८ बजेर १० मिनेटमा आएको र ८ बजेर २५ मिनेट जादा फर्केको किरणमान प्रधानले सुनाए ।'उहाँको कारण केही समय भक्तजनले कुर्नु पर्यो,' उनले सुनाए ।

मयूर प्वाख र बासुरीको बिक्री बढ्यो

krishna4

बुधबार विहानैबाट भक्तजनसंगै मयूरको प्वाख र बासुरी बोकेको व्यापारीको भिड बाक्लै थियो। कृष्णलाई चढाउन मयूरको प्वाख किन्ने र साना केटाकेटालाई बासुरी किन्नेको भिड उत्तीकै थियो।'कृष्णअष्टमी हाम्रो आम्दानीको दिन पनि हो, ' मयूरको प्वाख विक्री गर्न आएका नवराज सापकोटाले भने, 'एउटाको २० र जोडीको ३५ मा बेच्दै छु।'

बासुरी बेच्नेले विभिन्न धुन सुनाउदै महिला तथा केटाकेटीलाई दिनभर आकर्षित गरेका थिए।

सबै तस्विरः उपेन्द्र लामिछाने