Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

राजनीति

सरकारको कार्यशैलीमा कांग्रेस सभासद असन्तुष्ट

(0 votes)
काठमाडौं– नेपाली कांग्रेसका सभासदले सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीका साथै मन्त्रीहरूको आलोचना गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको संसदीय दलको बैठकमा सभासदले सरकार गठन भएको दुई महिना बित्दासमेत जनताले नयाँ सरकार गठन भएको अनुभूति गर्न नसकेको बताएका थिए।
उनीहरूले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालासँग सरकारलाई प्रभावकारी बनाउन आग्रह गरे। प्रधानमन्त्री तथा मन्त्रीले भाषणमात्र गरेको गुनासो गर्दै सभासदले कुरा (भाषण) भन्दा काममा जोड दिनुपर्नेमा जोड दिएका छन्। 'प्रधानमन्त्री र मन्त्रीहरूको भाषणा धेरै भयो, भाषण होइन काम गर्नुस्,' सभासद धनराज गुरुङले बैठकमा भनेका थिए।
सरकार गठन भएको छ महिनाभित्र स्थानीय निकाय निर्वाचन गर्ने प्रधानमन्त्री र मन्त्रीहरूको भनाइ फितलो रहेको पनि सभासदको आरोप थियो। 'वैशाख–जेठमा हुन्छ भनेको स्थानीय निर्वाचन अब कात्तिक–मंसिरमा भन्न थाल्नुभएको छ,' गुरुङले भने, 'तपाईंहरूले जथाभावी बोल्दा पार्टी जनतामाझ फितलो बन्छ।'
सभासदले प्रधानमन्त्री र मन्त्रीहरूको कार्यशैलीमा परिर्वतन नआएको गुनासो गर्दै चुस्त सचिवालय बनाएर जनताको काम गर्न आग्रह गरे। 'सरकारलाई प्रभावकारी रूपले सञ्चालन गर्न सबैको जोड थियो,' सभासद भीमसेनदास प्रधानले नागरिकसँग भने, 'प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सचिवालय चुस्त बनाउन सबैले सुझाव दिएका छन्।'
जनताले संविधानका साथै विकास र समृद्धि चाहेको भन्दै सभासदले सरकारले जनताको चाहना बुझ्न नसकेको गुनासो पनि गरेका थिए। 'जनताले संसारकै गरिब प्रधानमन्त्री खोजेका होइनन्,' केन्द्रीय सदस्यसमेत रहेका सभासद प्रकाशशरण महतले भने, 'विकास र निर्माण चाहेका छन्।'
सभासदहरूले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठनसम्बन्धी विधेयक पार्टीमा छलफल नै नगरी ल्याएको भन्दै सरकारको आलोचना गरेका थिए। उनीहरूले सर्वोच्च अदालतको आदेशविपरीत द्वन्द्वकालका सबै घटनामा आममाफी दिने व्यवस्था गरेको गुनासो गर्दै आयोग गठन भए पनि पीडितले न्याय नपाउने धारणा राखेका थिए। 
धनराज गुरुङ, गगन थापा, अमरसिंह पुनसहितका सभासदले द्वन्द्वका नाममा अपराधीलाई उन्मुक्ति दिने प्रयास भएको आरोप लगाए। सर्वोच्चको आदेशलाई समेत उल्लंघन गर्दै विधेयक ल्याएको उनीहरूको आरोप थियो। 'सर्वोच्च अदालतले दिएको आदेश कांग्रेसलाई कहिले राम्रो लाग्ने कहिले त्यसको उल्लंघन गर्ने कस्तो परिपार्टी हो यो!' गुरुङले बैठकमा भने, 'अदालतको आदेश कार्यान्वयन गर्दै वास्तविक द्वन्द्वपीडितले न्याय पाउने गरी आयोग गठन हुनुपर्छ।'
बैठकको सुरुमै संसदीय दलका नेता एवं सभापति सुशील कोइरालाले एक वर्षभित्र संविधान निर्माण गर्नुपर्ने दोहोर्या्उँदै त्यसमा जुट्न आग्रह गरेका थिए। 'एक वर्षभित्र संविधान निर्माण गर्नु कांग्रेसको जिम्मेवारी छ,' कोइरालालाई उद्धृत गर्दै सभासद महेन्द्र यादवले भने, 'संविधान निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्नुस्।'
कोइरालाले संविधान निर्माणका साथै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नु अर्को दायित्व रहेको पनि बताए। उनले शान्ति प्रक्रियाका बाँकी केही काम अघि बढाउन सरकारले प्रक्रिया अघि बढाएको बैठकमा जानकारी गराए। 'शान्ति प्रक्रिया पूरा गर्न सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग चाहिएको हो,' केन्द्रीय सदस्यसमेत रहेका सभासद गुरुङले नागरिकसँग भने, 'शान्ति प्रक्रिया र संविधान निर्माणको काम पूरा गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्छ।'
बैठकमा कानुनमन्त्री नरहरि आचार्यले सरकारले हालै व्यवस्थापिका संसदमा पेस गरेको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठनसम्बन्धी विधेयकको जानकारी दिँदै विस्तृत शान्ति सम्झौताअनुसार नै सरकार अघि बढेको बताएका थिए। आचार्यले आममाफीको व्यवस्था विधेयकमा नरहेको जनाउँदै बैठकमा भनेका थिए, 'पूरै माफी दिने व्यवस्था छैन, पीडितको सहमतिमा मात्र माफी दिने व्यवस्था विधेयकमा गरिएको छ।'
मन्त्री आचार्यले सकेसम्म मेलमिलापबाटै द्वन्द्वकालीन घटना व्यवस्थापन गर्नुपर्छ भन्ने ध्येय भने रहेको बताए। 'आयोग बनाएरै तत्कालीन घटनाको समाधान खोजिनुपर्छ,' आचार्यलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने। 
'सांसद विकास कोषको रकम बढाऊ'
बैठकमा सभासद बलबहादुर केसी, तप्तबहादुर विष्ट, भरत शाहलगायतले संसद विकासको कोषको रकम वृद्धि गर्नुपर्ने धारणा राखेका थिए। संविधानसभा सदस्यमा निर्वाचित भएर आएपछि आफ्नो क्षेत्रमा विकास निर्माणका काम गर्न नपाएको गुनासो गर्दै उनीहरूले चालु आर्थिक वर्षमै सांसद विकास कोषअन्तर्गत १० लाख विनियोजन गर्न पनि नेतृत्वलाई आग्रह गरेका छन्। 
केन्द्रीय समिति बैठक बोलाउन माग 
संसदीय दलको बैठकमा केन्द्रीयसमेत रहेका सभासद धनराज गुरुङ र गगन थापाले पार्टी केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्। लामो समय बित्दासमेत केन्द्रीय समिति बैठक नबोलाएकोमा असन्तुष्टि जनाउँदै उनीहरूले सरकार सञ्चालनको विधि र नीति निर्माणका लागि बैठक बोलाउनुपर्ने बताएका थिए। 
'निर्वाचन कहिले?'
स्थगित भएको तीनसाता बित्दासमेत संसदीय दल कार्यसमितिको निर्वाचन नभएको भन्दै सभासदले नेतृत्वको आलोचना गरेका छन्। कार्यसमिति चयनका लागि मतदान गर्न सभासद लाइनमा बसेपछि निर्वाचन स्थगित गरिएको भन्दै बैठकमा बोल्ने अधिकांशले असन्तुष्टि जनाएका छन्। 
सहमतिका लागि निर्वाचन स्थगित गरेर दुनिया हँसाउने काम गरेको आरोप लगाउँदै उनीहरूले भने, 'यो कस्तो लोकतान्त्रिक पार्टी हो? सहमतिका लागि संसदीय दल कार्यसमितिको निर्वाचन कहिलेसम्म स्थगित गर्ने हो?' सभासद रामहरि खतिवडाले संसदीय दल कार्यसमितिको टुंगो तत्काल गर्नुपर्नेमा जोड दिए। 
कांग्रेसले संसदीय दलको नेता चयन गरेको दुई महिनापछि चैत १२ गतेलाई संसदीय दल कार्यसमितिको निर्वाचनको मिति तोकेको थियो। १७ सदस्यीय कार्यसमितिका लागि ३२ सभासदले उम्मेदवारी दिएका थिए। तर, सहमतिका लागि भन्दै दुई दिनका लागि अन्तिम समयमा निर्वाचन स्थगित भएको थियो।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।