Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

समाज

ट्यांकर पल्टिँदा व्यवसायी ‘मालामाल’

(0 votes)
ट्यांकर पल्टिँदा व्यवसायी ‘मालामाल’
विराटनगर- कोसीपूर्वका पेट्रोलियम व्यवसायीका लागि तेल बोकेको ट्यांकर पल्टिनु ‘लाभको दुर्घटना’ साबित हुने गरेको छ। ट्यांकर दुर्घटनामा पर्दा तेलको परिमाण बढाएर बिमा संस्थानसँग व्यवसायीले मोटो रकम असुल्ने गरेका छन्।
भारतको बरौनी डिपोबाट २० हजार लिटर पेट्रोल बोकेर विराटनगर आउँदै गरेको ना४ख ३११५ नम्बरको ट्यांकर माघ १४ गते फारबिसगन्जमा दुर्घटनाग्रस्त भएपछि पेट्रोलको परिमाण बढाएर उल्लेख गर्न सर्भेयरलाई दबाब दिएको पाइएको छ। ट्यांकरमा लोड गरिएको २० हजार लिटर पेट्रोल ‘जलेर नष्ट’ भएको रिपोर्ट बनाउन तेल व्यवसायी मनीष मारुले दबाब दिएको सर्भेयर आमोद चौधरीले आरोप लगाए। पत्रकार सम्मेलनै गरेर चौधरीले दुर्घटनाग्रस्त ट्यांकरमा २० हजार लिटर पेट्रोल नभएको दाबी गरे। ‘२० हजार लिटर पेट्रोल बोकेको ट्यांकर पल्टिएर आगो लाग्यो भने एउटा ठूलो बस्ती नै स्वाहा पार्छ,’ चौधरीले भने, ‘तर, त्यहाँ पाँच मिटर परको घाँस नै हरियो छ।' मारु भने आफ्नो ट्यांकरमा २० हजार लिटर नै पेट्रोल रहेको दाबी गर्छन्। 
स्रोतका अनुसार बिमा रकमको कमिसनमा ‘कुरा नमिल्दा’ सर्भेयर चौधरी र मारुबीचको विवाद बाहिर आएको हो। बिमा संस्थानका देशभर तीन सयबढी सर्भेयर भए पनि चौधरी १० वर्षदेखि विराटनगर क्षेत्रमै छन्। ‘ट्यांकर दुर्घटना सर्भेयर र पेट्रोलियम व्यवसायी दुवैका लागि फाइदाजनक हुन्छ,’ पेट्रोलियम व्यवसायी संघ कोसीका एक सदस्यले भने, ‘कमिसनमा कुरा मिल्यो भने तेल व्यवसायीले भनेअनुसारकै रिपोर्ट तयार हुन्छ।’
स्रोतका अनुसार ट्यांकर दुर्घटना हुँदा वा जानाजान पल्टाउँदा व्यवसायीले च्याम्बरमा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ रहेको ‘क्लेम’ गर्छन्। मारुको ट्यांकरले भारतको बरौनी डिपोबाट २० हजार लिटर पेट्रोल बोके पनि दुर्घटनाअघि नै ठूलो परिमाणमा झिकिसकिएको सर्भेयरको दाबी छ। चौधरी भन्छन्, ‘ट्यांकर पल्टिएको छेउमा चार हजार लिटर क्षमताको खाल्डो भए पनि त्यो खाली छ। चक्काबाहेक कहीँकतै आगो लागेको छैन। १० चक्के ट्यांकर कालोपत्रे सडकमा बजि्रँदा पोखिएको २० हजार लिटर पेट्रोल निमेषभरमै ह्वारह्वार्ती बलेर कसरी निभ्छ?' 
पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघ मोरङका अध्यक्ष गुणराज निरौला भने बिमा रकम असुल्नका लागि झूटो विवरण बनाउन आफूहरूले कहिल्यै दबाब नदिएको बताए। ‘यो सरासर झूट हो,’ उनले नागरिकसँग भने, ‘कुनै पनि ट्यांकर दुर्घटना हुँदा च्याम्बरको सबै तेल नष्ट हुन्छ, लुटिन्छ वा चोरिन्छ, झूटो क्लेम गर्न सम्भवै छैन।’ नेपाल आयल निगम क्षेत्रीय डिपो विराटनगरका प्रमुख जगरनाथ घिमिरेले मारुको ट्यांकर दुर्घटना हुँदा आफू पनि घटनास्थल पुगेको र त्यहाँ आगजनी हेरेको बताए। ‘तर, ट्यांकरमा कति तेल थियो, थाह भएन,’ उनले भने, ‘क्षतिको मूल्यांकन बिमा संस्थानले गर्ने हो, हामीले होइन।’ 
स्रोतका अनुसार थोरै तेल राखेर गाडी पल्टाउने र धेरै तेल रहेको दाबी गरी बिमा रकम बु‰ने घटना यो पहिलो होइन। पाँच वर्षअघि रानी प्रहरी चौकीछेउ ट्यांकर पल्टियो। ग्यास व्यवसायी शिवप्रसाद घिमिरेको पेट्रोलियम पदार्थ बोकेको उक्त ट्यांकरका चार च्याम्बरमध्ये एउटाको तेल बाटोमा पोखियो। जम्माजम्मी एक हजार लिटर खेर गयो। तर, घिमिरेले १२ हजार लिटर तेल नष्ट भएको दाबी गर्दै बिमा संस्थानबाट पैसा बुझे। सात वर्षअगाडि भारतको बथनाहामा भएको सामान्य दुर्घटनामा १२ हजार लिटर डिजल पोखिएको भन्दै पेट्रोलियम व्यवसायी लक्ष्मण सिंहले बिमा रकम बुझे।
रकम असुल्न पेट्रोलियम पदार्थ बोकेको ट्यांकर ‘जानाजान’ पल्टाउने गरेको घटना पनि छ। सात वर्षअघि कोसी ब्यारेजनजिक दुर्घटनामा परेको ट्यांकरलाई व्यवसायीले ज्याक लगाएर पानीमा झार्न लगाएको थियो। जानाजान ट्यांकर पानीमा खसालेको थाह पाएपछि बिमा संस्थानका सर्भेयर कृष्णहरि पोखरेलले त्यति बेला रकम लामो समयसम्म रोकिदिएका थिए। ‘पानीमा ट्यांकर पसे क्षतिको यकिन विवरण थाह पाउन मुस्किल पर्छ,’ स्रोतले भन्यो, ‘सर्भेयर बेलैमा घटनास्थल पुगे पेट्रोलियम व्यवसायीको टाउको दुख्छ।’ 
पेट्रोलियम व्यवसायी संघ कोसीका महासचिव अरविन्द शर्मा भने कुनै व्यवसायीले जानाजान सवारी दुर्घटना गराउने आरोपलाई असत्य ठान्छन्। ‘मेरो ट्यांकर पल्टिँदै छ भनेर कुन पेट्रोलियम व्यवसायीसंग दिव्यदृष्टि हुन्छ र तेल पहिला नै झिकोस्,’ शर्माले भने, ‘यो वाहियात कुरा हो।’

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...