Monday 19 Jestha, 2077 | June 01, 2020
Menu

समाज

‘पेवा' बनाइदै पक्की सडक

(0 votes)
मेची राजमार्गको पौवाभञ्ज्याङ खण्डमा थुपारिएका गोलिया। मेची राजमार्गको पौवाभञ्ज्याङ खण्डमा थुपारिएका गोलिया।
इलाम-२७ बर्षदेखि एउटै अड्डा, सडक विभागमा कार्यरत जेवी राईको पेन्सन पाकिसक्यो। उमेरको हद ननाघेका कारण अवकाश चाहिँ भएको छैन। राईलाई राम्रो थाहा छ, शरीरमा रक्तसञ्चार गराउन नशाको जति महत्व छ, विकासका लागि सडकको अर्थ त्यत्तिकै हुन्छ।
‘तर म हार खाइसकेको छु, सार्वजनिक सम्पतिलाई पेवा पार्न खोज्नेहरु बढेपछि सडक विभागमा काम गर्नु अब सजिलो छैन' निजामति कर्मचारीमाझ पहिल्यैदेखि चिनिएका राईले बुधवार हरेश खाए, ‘हामी जति सुधार्न खोज्छौं, सडक कब्जा गर्न खोज्ने दोब्बर बढ्छन्।' 
पूर्वाञ्चल डिभिजन सडक कार्यालयमैं बसे पनि नायब सुब्वा राईको कार्यक्षेत्र हो– मेची राजमार्ग। झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटार जोडिने २ सय ४५ किमीको यो राजमार्ग देशका अरु मार्ग जस्तै सधैं ‘भद्रगोल' देखिन्छ। कोद्वारा थामिएको छ, पत्तो हुँदैन। 
धानको मौसममा चारआली–बुधवारे खण्डभर ‘दाईं' हुन्छ। काटिएको बाला सडकमा थुपार्दै बिना खेताला र गोरु धान झार्ने ध्याउन्नमा अनगिन्ती हुन्छन्। सयौंको संख्यामा गुड्ने सवारी साधन धानमाथि कत्ति चिप्लेटी खेल्छन्, लेखाजोखा हुँदैन। धान सुकाउनेहरु उत्तिकै। 
सुनमाइमा एकपछि अर्को गर्दै अढाई दर्जन झुप्रे पसल खुलेका छन्। रोकिँदै गुड्दै गर्ने सवारी साधन र यात्रुको चापले त्यहाँ दिनभर घुईंचो हुन्छ। सानो पाथीभराको फेदीस्थित कुटिडाँडामा सडकसँगै जोडेर पूजाका सामग्री बेच्ने पसल थोरै, मदिरा पसल धेरै छन्। 
फिक्कलका ‘कोशेली पसल'मा झुण्ड्याइने छुर्पी र ललीपपले सवारी साधन नैं छुन खोज्छन्। बिहीबारे हाटका दिनको कति बेला ठोक्किने हो, ठेगान हुँदैन। तीनघरेमा सडक मिचेरै दर्जनभन्दा बढी घर बनेका छन्। रातीसम्म खुल्ने राजदुवालीका धेरै घर सडकसँगै छन्। 
राजदुवालीस्थित पुलको मुखमा थापिएको घुम्ती पसल भरखरै बोलेरो जीपले हुत्याएर माइखोलामा पुर्या।यो। यात्रु रूघ्दै पसल गर्ने ५१ बर्षे रनमाया मगरको मृत्यु भयो, २६ बर्षे घाइते छोरी टिकाको होसहवास उड्यो। जीप, बस, ट्रकले पेल्दा यसरी दुर्दशा खेप्ने पसल र घर बर्षेनी थपिन्छन्। 
बिव्ल्याँटेका कतिपय पसल सडकमा नजोड्दा नचल्ने झैं गाडीसँग जुध्छन्। पुवाखोलाको पारा उस्तै छ। नेपालटारको सडक मिचाईं कम छैन। पाँचथर राँकेको व्यापारिक रौनक सडकमैं छ। पौवाभञ्ज्याङका पसल बसबाट लम्किँदा भेटिन खोज्छन्। कान्छीदोकानको चाला पुरानै छ। 
‘नमूना शहर' फिदिममा सडकसँग जोडिने घर दर्जनौं छन्। जोरसाल, जोरपोखरी, गोपेटार, सुनुवार चोक, भालुचोक, कावेलीको कथा नयाँ छैन। ताप्लेजुङमा फुङ्लिङ र सुकेटारको सडक मिचाई इलामलाई उछिन्ने छ। राजमार्गले मेची पहाडको मुहार फेरे पनि आफ्नै मुहार फेरेको छैन। 
त्यसैले, निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्यसमेत रहेका राई ‘सडकको काम सधैं अपजसे' भन्दै सुधारको अनौठो उपाय सुझाउँदैछन्। त्यो हो, सडक विभागलाई शक्तिशाली बनाउने। ‘सिडिओ, डिएसपी र डिएफओलाई जस्तै अधिकार दिइनुपर्छ' राई भन्छन्, ‘अनि कसले बलमिच्याईं गर्दोरहेछ, हेरौं।' 
गोलियाले गञ्जागोल 
मेची पहाडलाई ‘समुन्नत' सिद्ध गर्न भनिन्छ, ‘तराईबाट भारीले भरिएर पहाड चढ्ने ट्रक फर्किंदा पनि उसैगरी अटेसमटेसै हुन्छ।' यसमा धेरै सत्यता छ। ताप्लेजुङ, पाँचथर र इलामबाट तराई झर्ने ट्रकमा पहिले अलैंची भरिन्थ्यो। ‘खोल्साको सुन' अलैंची मासिएपछि अचेल ट्रक भरिने मुख्य साधन हो– काठको गोलिया। निजी वनमा उत्तिस र मलातो हुर्काउँदै गोलिया बनाएर बेच्दा किसानलाई जति फाइदा छ, सडकलाई भने त्यत्तिकै नोक्सान। 
डाँडापाखा र खोल्साखोल्सी जहाँ काटिए पनि अन्तिममा गोलिया निकाल्ने सडकमैं हो। तराईका स–मिलमा लैजानुअघि सडकमा निकाल्न दैनिक सयौं मजदुर, ट्याक्टर र पिक–अप परिचालन हुन्छन्। भेल्याइएका गोलिया टाँचा गर्दै ट्रकमा हाल्न महिनौं हप्तौं। त्यतिञ्जेल गोलिया थुप्रिने थलो सडकै हो। त्यो हटाउन सिडिओ, डिएसपी, डिएफओको आदेश नटेर्ने गोलियावालले सडक विभागका डिइलाई चिन्ने कुरै भएन, पत्याउनु परै जाओस। 
‘करोडौंको लगानीमा बन्ने सडक गोलियाले सधैं गञ्जागोल हुन्छ' विभागको इलामस्थित कार्यालयका डिई चन्द्रनारायण यादव भन्छन्, ‘कालोपत्रे उक्काउने, नाली भत्काउने र सद्दे सडक छिट्टै धुलोपिठ्ठो पार्ने कारण गोलियाको अव्यवस्थित रखाई नैं हो।' दैनिक निकासी हुने गोलियाले सडकको आयु धेरै घटाउँदैछ। मनपरी थुपार्दा राजमार्गका लालीखर्क, निबुखोला, बाघखोर, मिलगोलाई, कालापानी, फिक्कल खण्ड गञ्जागोल देखिन्छ। 
स्वामित्वको संघर्ष 
‘सडक कसको?' धेरैतिर उठ्ने यो प्रश्नको जवाफ आफू अनुकूल दिइन्छ, ‘जनताको, सरकारको।' राजमार्गलाई ‘पेवा' पार्न मेची पहाडतिर ‘सडक मेरो' भन्ने पनि निस्किँदैछन्। पाँचथरमा केही व्यक्तिले ‘मेरो निजी जग्गाबाट विस्तार भएकाले सडक मेरै नामको हुनुपर्छ, सरकारी हुनुहुँदैन' भन्दै मुद्दा नैं दायर गरेका छन्। ‘यो सडकमा देखिने मनपरीतन्त्रको एउटा नमूना हो' राई भन्छन्, ‘सार्वजनिक हितको सडक व्यक्तिको पेवा हुँदैन।' 
त्यसो भए सडक सरकारको हुनपर्ने हो। तर, भएको छैन। देशभरका सडक आफ्नो स्वामित्वमा ल्याउन सरकारले सडक विभागको नाममा लालपूर्जा बनाउने घोषणा गरेको बर्षौं भयो। राजपत्रमा निस्केको सूचना कार्यान्वयन गर्न विभागले दायाँ बायाँको १५/१५ मिटरसहित सडकलाई आफ्नो प्रयास पनि गर्योो। ‘तर, यतिञ्जेलको प्रयास सार्थक भएन' डिई यादव दुःखेसो गर्छन्, ‘व्यक्तिले कब्जा गर्न खोज्दा लगानी खेर जाँदैछ।' 
लालपूर्जा बनेपछि मात्रै सडक मिच्दै संरचना बनाउनेलाई कारबाही हुन्छ। विभागले लालपूर्जा नबुञ्जेल ‘सडक मेरो स्वामित्वको हो' भन्न मिल्दैन। लालपूर्जा बनाउन सजिलो छैन। सडकले छोए जति निजी जग्गा धनीले लगत कट्टा गर्दै विभागलाई पास गर्नुपर्छ। त्यसो गर्न कोही तयार देखिँदैन। १५ मिटर नछोडी सडक नजिकै संरचना बनाउने बर्षेनी थपिन्छन्। मिचेको देखेपछि विभागले ‘त्यसो नगर्न' चिट्ठी लेख्छ, तर सुनेको नसुन्यै घर ठडिन्छन्। 
आफ्नैबाट असहयोग 
व्यक्तिको नामको जग्गामा निर्मित सडक विभागको लालपूर्जामा ल्याउन सजिलो छैन। विभागले सरकारी निकाय भएकाले ‘आफ्नै ठानेका' मालपोत र नापी शाखा कार्यालयले सहयोग नगर्दा यो काम चुनौतीपूर्ण देखिन्छ। ‘सडक मिच्नेको जग्गा रोक्का गर्न, मिचेको क्षेत्रफल नापजाँच गर्न र लालपूर्जा बनाइदिन पटक–पटक आग्रह गर्यौं तर सुनुवाई भएन' मालपोत र नापी शाखाको असहयोगप्रति रुष्ट डिई यादवले भने, ‘एक्लो प्रयासले केही हुँदैन।' 
सडकको १५ मिटरभित्र पर्ने संरचनाबारे ती निकायले आवश्यक विवरण उपलव्ध गराई सहयोग गरे विभागलाई कारवाही गर्न सजिलो हुन्छ। विस्तृत विवरण पाउनासाथ सूचना निकालेर मिचेको सडकबाट संरचना हटाउन अपिल गर्दै लालपूर्जा बनाउने विभागको योजना छ। यसनिम्ति छुट्टिएको बजेट मालपोत र नापीले असहयोग गर्दा बर्षेनी फ्रिज हुन्छ। उता, विभागको चिट्ठी बेवास्ता गर्दै सडक छेउमैं संरचना बनेको बन्यै हुन्छन्। 
लालपूर्जा बनाएर सडक सुधार्न विभागले यसपल्ट पनि सरोकारवाला निकायलाई पत्राचार गरेको छ। ‘सडक मिच्नेको जग्गापास सिफारिस र नक्सापास कार्य रोक्न' आग्रह गरिए पनि बेवास्ता भइरहेको राई बताउँछन्। ‘बढ्दो जनसंख्या र सडक केन्द्रित व्यापारको जमाना भएकाले हामीले मात्रै अतिक्रमण रोक्न सकिँदैन' मेची राजमार्गको मुहार फेर्न चाहेका उनी भन्छन्, ‘कि लालपूर्जा बनाइहाल्नुपर्छ कि गृह प्रशासनलाई जत्तिकै अधिकार दिइनुपर्छ।'


जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...