Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

समाज

कृष्णप्रसाद हत्या अनुसन्धान पूरा,‘छविलाल र भीमसेन योजनाकार'

(1 Vote)
काठमाडौं-गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या योजना बनाउन छविलाल पौडेल र भीमसेन पौडेल संलग्न रहेको दाबीसहित तीन वर्ष कैद सजाय प्रस्ताव गर्दै चितवन जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमा राय प्रतिवेदन बुझाएको छ।
प्रहरीले हत्या अभियोगमा पक्राउ परेका छविलाल र भीमसेन प्रत्यक्ष नभई योजना बनाउन संलग्न रहेको दाबी गर्दै मुलुकी ऐनको ज्यानसम्बन्धी महलको दफा १७ उपदफा ३ अनुसार दण्ड सजायका निम्ति बुधबार राय प्रतिवेदन दिएको हो। प्रहरीले घटनास्थल अवलोकन, प्रत्यक्षदर्शी, पीडित तथा साक्षीको बयानका आधारमा यस्तो दाबी गरेको हो।
उनीहरूले हत्यामा संलग्न आरोप अस्वीकार गरे पनि प्रहरीले वैज्ञानिक बयानका लागि पोलिग्राफ परीक्षण गराउन खोज्दा दिएनन्। प्रहरीले यसलाई समेत घटनामा संलग्नता प्रमाण उल्लेख गरेको स्रोतले जनायो।
चितवन प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयलाई राय सुझाव बुझाइएको पुष्टि गर्दै प्रहरीतर्फबाट अनुसन्धान पूरा भएको दाबी गरे। ‘फौजदारी न्याय प्रणालीअनुसार हाम्रो पाटो अनुसन्धान हो। हाम्रातर्फबाट हुनुपर्ने अनुसन्धान पूरा भएको मानेका छौं,' उनले बुधबार नागरिकसँग भने, ‘अब अभियोग र न्याय खण्डको पाटो सरकारी वकिल र न्यायालयको हो।'
२०६१ जेठ २४ गते गोरखाको फुजेलबाट हजुरबा–हजुरआमालाई भेट्न चितवन आएका कृष्णप्रसादलाई बेलुकी ८ बजेतिर नम्बर खुल्न नसकेको मोटरसाइकलमा आएका तीनजनाले कब्जामा लिएर चितवन नगरपालिका–८ को बकुलहरचोकमा गोली हानी हत्या गरेका थिए।
कृष्णप्रसादका दाजु नुरप्रसादको जाहेरीमा पोलिएका ११ जनामध्ये प्रहरीले अनुसन्धान अघि बढाउँदै चारजनालाई पक्राउ गरिसकेको छ। जाहेरीमा रामप्रसाद अधिकारी, परशुराम पौडेल, भीमसेन र छविलालसहित फुजेल–६ का मेघनाथ पौडेल तथा फुजेल–७ का विष्णु तिवारी, सुभा अधिकारी, सीता अधिकारी, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी र रामप्रसाद अधिकारीको नाम उल्लेख छ।

बेलायतले माग्यो अदालतको आदेश
बेलायत पुगेका कृष्णप्रसाद अधिकारी हत्याका आरोपी रुद्र आचार्यलाई फिर्ता ल्याउन नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन' नोटिस जारी गरे पनि बेलायतमा रहेको इन्टरपोलको एनसिबीले अदालतको पक्राउ आदेश माग गरेको छ। 
आचार्य बेलायतमा रहेको सूचनाका आधारमा नेपाल प्रहरीले उनको पक्राउमा सहयोग माग्दै फागुन २१ गते डिफ्युजन नोटिस जारी गरेको थियो। नोटिस जारी भएसँगै इन्टरपोलको एनसिबीले ‘अदालतबाट आचार्यको नाममा वारेन्ट जारी भएको अवस्थामा मात्रै सहयोग गर्न सकिने' जवाफ पठाएको स्रोतले बतायो।
हत्यामा पोलिएका ११ जनाको सूचीमा आचार्यको नाम थिएन। अनुसन्धानमा खटिएको चितवन प्रहरीले किटानी जाहेरीमा नाम उल्लेख नभएका आचार्यसहित ऋषिराम लामिछाने र ‘अटल' भनिने मदन पौडेल संलग्न रहेको निष्कर्ष निकालेको थियो। स्रोतका अनुसार लामिछाने र पौडेल द्वन्द्वकालमै सुरक्षाकर्मीसँगको भिडन्तमा मारिइसकेको प्रहरी रेकर्ड फेला परेको छ।
प्रहरीले आफ्नो अनुसन्धानमा कृष्णप्रसादलाई बकलरचोकबाट कब्जामा लिएर अपहरण शैलीमा लग्नेमा तीनजना संलग्न रहेको र गोली हानी हत्या गर्नेमध्ये आचार्य एक भएको खुलाएको थियो।
२०५७ मा माओवादीमा लागेका चितवन रत्ननगर नगरपालिका–८ का आचार्य २०६६ मा श्रीमतीसँगै ‘डिपेन्डेन्ट' भिसामा बेलायत गएको प्रहरीले जनाएको छ। प्रहरीले पाएको सूचनाअनुसार उनी उत्तरी आयरल्यान्डमा रहेको खुलेको हो।
स्रोतका अनुसार बुधबार सरकारी वकिलको कार्यालयमा बुझाइएको रायसुझावमा आचार्यलाई समेत प्रतिवादी बनाइएको छ। आचार्यसहित पक्राउ नपरेका ८ जनाको हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (१) अनुसार घटनामा संलग्न देखिएको राय दिइएको छ।
मुद्दाको गाँठो
कृष्णप्रसाद हत्याको दोस्रो दिन उनका बाबु नन्दप्रसादले मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले हत्या गरेको भन्दै घटनामा संलग्नको खोजतलास र कारबाही माग गर्दै कर्तव्यज्यानअन्तर्गत जाहेरी दिएका थिए। तर, अनुसन्धान आरम्भ गर्दा १८ महिनापछि दाजु नुरप्रसादले घटनामा संलग्न भन्दै ११ जनाको नाम किटेर दिएको जाहेरीलाई मुख्य आधार बनाइयो।
नुरप्रसादको जाहेरीमा मुलुकी ऐनको कर्तव्यज्यानअन्तर्गत नभई आतंककारी तथा विध्वंसात्मक ऐनअनुसार कारबाही माग गरिएको थियो। प्रहरी अनुसन्धानको मुख्य आधार त्यही किटानी जाहेरी हो। तर, नुरप्रसादले जुन कानुनअनुसार अनुसन्धान माग गरेका छन्, त्यो खारेज भइसकेको छ। कृष्णप्रसाद हत्याको अभियोजनका लागि सरकारी वकिलको कार्यालयले यसैलाई कानुनी जटितलाका रूपमा विश्लेषण गर्दै आएको छ। 
२०६२/६३ को राजनीतिक परिर्वतनपछि बनेको सरकारले राजाको प्रत्यक्ष शासनकालमा आएका सबै कानुन निष्त्रि्कय पार्दा आतंककारी तथा विध्वंसात्मक ऐनसमेत खारेजीमा परेको थियो। बृहत शान्ति सम्झौतापछि उक्त कानुनअनुसार चलेका सबै मुद्दा फिर्ता लिने सरकारी निर्णयमा कृष्णप्रसाद हत्यासम्बन्धी अनुसन्धान पनि परेको थियो।
राष्ट्रिय मानवअधिकार आयोगले २०६५ चैत २३ गते कृष्णप्रसाद हत्यासम्बन्धी घटना अनुसन्धान अघि बढाउन सरकारलाई आग्रह गरेको थियो। यसअनुसार अनुसन्धान बढे पनि पछि जिल्ला न्यायाधिवक्ता कार्यालयले खारेज भइसकेको कानुन टेकेर अनुसन्धान गर्न नमिल्ने रायसहित २०६९ पुस ९ गते मिसिल सुरक्षित राख्न चितवन प्रहरीमा पठाएपछि रोकियो।
कृष्णप्रसादका आमाबाबुले छोराको हत्यामा संलग्न रहेकामाथि छानबिन र कारबाही माग गर्दै अनशन थालेपछि राष्ट्रिय मानव अधिकार आयोगले पुरानो निर्णय सम्झाउँदै सरकारलाई २०७० साउन २८ गते पत्र पठायो। यही आधारमा प्रहरीले २०७० भदौ २१ गते काठमाडौंको बागबजारबाट रामप्रसाद अधिकारीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। मुद्दा प्रक्रियाले भने अझै गति लिएको छैन। अनशनमा रहेका नन्दप्रसाद र गंगामाया वीर अस्पतालमा चिन्ताजनक अवस्थामा छन्। सरकारले पटकपटक अनशन तोड्न आग्रह गरे पनि मुद्दा प्रक्रिया नबढेको भन्दै उनीहरूले मानेका छैनन्।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...