Sunday 25 Shrawn, 2077 | August 09, 2020
Menu

समाज

उपत्यकालाई सुहाउँदो कौसी खेती

(0 votes)
काठमाडौं - तरकारीको बजार भाउ छोइसाध्य नहुँदा पनि डल्लुका शेषनारायण महर्जनलाई खासै फरक पर्दैन। ४९ वर्षे महर्जनले आफ्नै घरको कौसीमा छ महिनादेखि मौसमअनुसारका तरकारी र फलफूल खेती गरिरहेका छन्।

'रासायनिक मल हालिएका तरकारीको बिगबिगीमा स्वस्थ तरकारी खान पाइएको छ,' आफ्नो कौसी खेतीको महत्त्व दर्शाउँदै महर्जनले भने।
आफ्नो परिवारलाई चाहिने ५० प्रतिशतभन्दा बढी तरकारी घरको कौसीमै उब्जाएको उनी बताउँछन्। दुई सय ४० वर्गफिट क्षेत्रफलको उनको कौसीमा गोलभेडा र खुर्सानी पर्याप्त उत्पादन हुन्छ। भान्टा, ब्रोकाउली, सागपातजस्ता तरकारी पनि टुट्दैन। यसबाहेक साना जरा हुने र छिटोछिटो फल्ने सुन्तला, मुन्तला, हलुवावेद र अम्बाजस्ता फलफूल पनि पाइन्छ।
बगैंचा मिलाउने र नर्सरी व्यवस्थापनमा अधिकांश समय गुजारेका उनले कौसी खेतीसम्बन्धी तालिम पनि दिँदै आएका छन्।
'यस्तो खेतीबाट ताजा फलफूल र तरकारी मात्र पाइँदैन, घरसमेत हरियोपरियो हुन्छ,' उनी भन्छन्, 'घरकै खेतीमा समय बिताउँदा त्यसै रमाइलो लाग्छ।' राम्ररी गर्न सके यसलाई व्यावसायिक रूपमा लैजान सकिने उनी बताउँछन्।
काठमाडौंजस्तो ठाउँमा कौसी खेतीको सम्भावना बढी भएको उनको अनुभव छ। यसले घर शितल पार्नुका साथै घरबाट निस्किने धेरै खालका फोहोर र खेर जाने पानीको सदुपयोग हुने उनी बताउँछन्। 'घर वरिपरि ठाउँ खालि नभए पनि छतबाट फाइदा लिन सकिन्छ,' उनी भन्छन्।
महर्जनले सुरु गरेपछि उनकै छरछिमेकका अरूले कौसी खेतीमा हात हालेका छन्। कतिपय अवस्थामा तरकारी साटासाट गरेर खाने चलन बस्न थालेको छ। यसले सामाजिक सम्बन्धमै प्रगाढता थपेको उनी बताउँछन्।
यो कौसी खेतीलाई व्यावसायिक रूपमा पनि विस्तार गर्न सकिन्छ। साना घरभन्दा ठूला व्यापारिक भवनको छत फराकिलो हुने हुँदा त्यस्ता ठाउँमा व्यावसायिक कौसी खेतीको ठूलो सम्भाव्यता छ।
काठमाडौं महानगरपालिकाले नै कौसी खेतीलाई प्रवर्द्धन गर्ने बताइरहेको छ। पछिल्ला दुई महिनामा दातृ निकायसँग मिलेर १ सय ५० जनालाई यससम्बन्धी तालिम दिइसकेको महानगरपालिकाको वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठ बताउँछन्।
उनका अनुसार चालु आर्थिक वर्ष ५० घरपरिवारलाई कौसी खेती गर्न महानगरपालिकाले २० लाख रुपैयाँ बजेट छुट्टयाएको छ। युएन ह्याबिट्याटको रुवाफ फाउन्डेसनले थप २० लाख सहयोग दिइसकेको छ। रुवाफले खेतीको नीति निर्माण, प्रचारप्रसार र अन्तर्राष्ट्रिय गोष्ठी सञ्चालन निम्ति १० लाख रुपैयाँ छुट्टै दिएको छ।
काठमाडौंमा ५० देखि ६० वटा घरमा कौसी खेती भइरहेको महानगरले जनाएको छ। यसलाई प्रवर्द्धन गरेर तालिमसहित जान सके यो संख्यामा थप वृद्धि गर्न सकिने श्रेष्ठ बताउँछन्।
'हामीले यसबारे साप्ताहिक रेडियो कार्यक्रम र तालिमहरू सञ्चालन गरिरहेका छौं,' उनले भने, 'कौसी खेती कसरी गर्न सकिन्छ भनी महानगरपालिकामा सोधपुछ गर्न आउनेहरू बढिरहेका छन्।'
युएन ह्याबिट्याटका नेपाल प्रतिनिधि पद्मसुन्दर जोशीको भनाइमा कौसी खेती सहरी कृषिको एक अभिन्न अंग हो। काठमाडौंको द्रुत सहरीकरणलाई हेरेर यस्ता खाले कृषि कार्यक्रम भित्त्याएको उनले बताए।
'जनसंख्या बढिरहेको छ, खालि ठाउँको अभाव छ, बजार भाउ पनि आकाशिएकाले स्वस्थ खाद्य पदार्थ पाउने सम्भावना कम हुँदै गएको छ,' उनले भने, 'त्यसैले, काठमाडौं जस्तो ठूलो सहरको निम्ति कौसी खेती नै प्रभावकारी हुन्छ।'
महानगरपालिका र वातावरण तथा जनस्वास्थ्य संस्थाले महानगरभित्र विभिन्न ठाउँका ३ सय ८५ घरमा नमूना सर्वेक्षण गर्दा ३४ प्रतिशतले कुनै न कुनै किसिमले सहरी कृषि गरेको पाइएको छ। महानगरपालिकाले वार्षिक ७० करोड रुपैयाँभन्दा बढी फोहोर व्यवस्थापनमा खर्च गर्छ। कुल फोहोरको ६० देखि ७० प्रतिशत जैविक फोहोरलाई मल बनाउन सके निकै राम्रो हुने जोशी बताउँछन्।
'३० प्रतिशत मात्रै जैविक फोहोरलाई कम्पोष्ट मल बनाएर प्रयोग गर्न सके निकै खर्च जोखिन्छ,' उनले भने, 'यसका लागि सहरी कृषिको परियोजना अत्यधिक आवश्यक हुन्छ।' महानगरपालिकाले घरबाटै उत्पादन हुने र पच्ने खालका फोहोर व्यवस्थित गरेर मल बनाउन 'कम्पोष्ट बिन' लिन चाहनेलाई ५० प्रतिशत छुट पनि दिइरहेको छ।
पहिलो चरणमा महानगरपालिकामा सुरु हुन लागेको यो कार्यक्रम उपत्यकाका कीर्तिपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकामा पनि विस्तार गरिने उनले जानकारी दिए। 'अन्य नगरपालिकाले पनि रुचि देखाइरहेका छन्,' उनले भने।
जोशीका अनुसार सहरी कृषि कार्यक्रम अहिले श्रीलंकाको केस्बेवा र अफ्रिकी मुलुक बुर्किना फासोको बोबो डाओलासोमा ह्याबिट्याटले चलाइरहेको छ।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...