28 Mangshir, 2076 | December 14, 2019
Menu

पहिलो दिन शिवरामको अग्रता

(0 votes)
काठमाडौं– नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठले मंगलबार सुरु सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन उमेश नगरकोटीमाथि दुई स्ट्रोकको अग्रता लिएका छन्।


सूर्य नेपाल गल्फ टुर २०१३–१४ अन्तर्गत वर्षको १०औं तथा अन्तिम प्रतियोगितामा शिवरामले मंगलबार ६ अन्डर ६६ स्कोर गरे। ७२ पारको गोकर्ण गल्फ क्लब कोर्समा उमेशले ४ अन्डर ६८ खेले। ३ अन्डर ६९ खेलेका तोरणविक्रम शाही तेस्रो तथा २ अन्डर ७० स्कोर गरेका सिबी भण्डारी चौथो स्थानमा छन्। भेट्रान व्यावसायिक खेलाडी दीपक थापामगर, नेपाल नम्बर २ रवि खड्का र राम थापा समान १ अन्डर ७१ स्कोर बनाएर संयुक्त पाँचौं स्थानमा छन्।

इभन पार ७२ स्कोर गरेका रामकृष्ण श्रेष्ठ, संजय लामा, थमबहादुर राई र सचिन भट्टराई संयुक्त आठौं स्थानमा छन्। यसैगरी ३ ओभर ७५ खेलेका मणि राई १०औं स्थानमा छन् भने दीपक आचार्य, रमेश अधिकारी, सूर्यप्रसाद शर्मा र सुमन राई समान ४ ओभर ७६ स्कोर जोड्दै संयुक्त १२औं स्थानमा छन्।

शिवरामले मंगलबार दुवै हाफमा ३ अन्डर ३३ स्कोर गरे। फ्रन्ट नाइनमा एक बोगीविरुद्ध चार बर्डी प्रहार गरेका उनले ब्याक नाइनमा दुई बोगी तथा तीन बर्डी र एक इगल खेलेका थिए। तेस्रो, चौथो, छैटौं र नवौं होलमा बर्डी खेलेका उनले दोस्रो होलमा एक सट खेर फालेका थिए। ब्याक नाइनका १२, १५ र १८औं होलमा बर्डी खेलेका उनले पाँच पारको ११औं होलमा इगल तथा १४ र १६औं होलमा बोगी खेपेका थिए।

यसैगरी सातौं होलमा बर्डी खेलेका उमेशले फ्रन्ट नाइनमा १ अन्डर ३५ स्कोर गरे भने ब्याक नाइनमा ३ अन्डर ३३ खेले। ब्याक नाइनका ११औं होलमा बोगी खेपेका उमेशले १२, १४, १६ र १७औं होलमा बर्डी खेलेका थिए।

त्यस्तै तोरणविक्रमले फ्रन्ट नाइनमा ४ अन्डर ३२ तथा ब्याक नाइनमा १ ओभर ३७ स्कोर गरेका थिए। पहिलो, चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी खेलेका उनले फ्रन्ट नाइनको आठौं होलमा बोगी खेपेका थिए। ब्याक नाइनका ११, १२ र १३औं होलमा लगातार बर्डी खेलेका उनले ५ पारको १५औं होलमा टि्रपल बोगी तथा १६औं होलमा एक सट खेर फालेका थिए।

एमेच्योरतर्फ नेपाल नम्बर एक दिनेश प्रजापतिले १ ओभर ७३ खेल्दै विष्णु शर्मामाथि एक सटको अग्रता लिएका छन्। दिनेश र विष्णु दुवै सूर्य नेपाल एनजिए युवा गल्फ विकास परियोजनाका खेलाडी हुन्। ४ ओभर ७६ स्कोर गरेका टंकबहादुर कार्की तेस्रो स्थानमा छन्।

बुधबारको खेल समाप्तिपछि बाँकी दुई दिनका लागि शीर्ष २१ व्यावसायिक खेलाडी छनोट हुनेछन्। कुल ५ लाख १४ हजार रुपैयाँ पुरस्कारको प्रतियोगिता विजेताले ९५ हजार रुपैयाँ पाउने छन् भने उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४४ हजार पाउने छन्। कटमा सफलता पाउने सबै २१ व्यावसायिक खेलाडी नगद पुरस्कारको भागिदार बन्नेछन्।