Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

व्यावसायिकतातिर नेपाली भलिबल

  • मङ्गलबार २ बैशाख, २०७१
  • कमल खत्री
  • DISQUS_COMMENTS
(0 votes)
व्यावसायिकतातिर नेपाली भलिबल
काठमाडौं- सुस्त गतिमा विकासतर्फ लम्केको नेपाली भलिबल व्यावसायिकतातिर जाने संकेत देखिएको छ। भर्खरै सम्पन्न राष्ट्रिय क्लब लिग भलिबलको दोस्रो संस्करणमा चार विदेशी खेलाडी कोर्टमा उत्रिए। पहिलोपल्ट नेपाली भलिबलमा विदेशी खेलाडी उतार्ने काम पश्चिमाञ्चल टोलीले गरेको हो।
चार भारतीय खेलाडीको सहभागिताले राष्ट्रिय लिगमा उथलपुथल नै ल्यायो। अन्य टोलीका लागि पश्चिमाञ्चल कडा चुनौतीमा मात्र तेर्सिएन दुई विभागीय टोलीलाई हराएर सनसनी नै ल्यायो। त्रिभुवन आर्मी र एपिएफ पश्चिमाञ्चलको सिकार भएका थिए। 
विभागीयको वर्चस्व रहेको भलिबलमा पश्चिमाञ्चलले आर्मीलाई सोझो सेट र एपिएफलाई ३–२ को सेटमा पन्छाएपछि विजेता बनेको नेपाल पुलिस क्लब निकै सचेत भएर प्रस्तुत भएको थियो। 
राष्ट्रिय प्रतियोगिताहरूमा प्रायः पश्चिमाञ्चल चौथो स्थानमा रहन्थ्यो। गोरखपुर रेल्वेका खेलाडी विनोद सिंह, अतुल सिंह, सोनु सिंह र मोहित राठीको उपस्थितिले पश्चिमाञ्चलले उपविजेता बनेर लिग टुंग्यायो।
आर्मीका प्रशिक्षक एवं राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान प्रकाश थपलिया लिगमा भारतीय खेलाडीको उपस्थिति नेपाली भलिबलका लागि राम्रो संकेत भएको ठान्छन्। 'हरेक राष्ट्रको खेल स्तर लिगले देखाउँछ। राष्ट्रिय लिगमा विदेशीको सहभागिता सबैका लागि फाइदाजनक छ। दर्शक, भलिबल संघ र खेलाडीका लागि,' उनले भने, 'दर्शकले स्तरीय खेल हेर्न पाउँछन, संघलाई खेल व्यावसायिक बनाउन हौसला बढ्छ भने नेपाली खेलाडीले राम्रो गर्न थप मेहनत गर्छन्।' 
विभागीय टोलीबीच मात्रै प्रतिस्पर्धा हुने भएकाले पनि भलिबलको विकास सुस्त गतिमा भएको थपलियाको बुझाइ छ। 'केही विदेशी खेलाडीले सहभागितामा यसपालि लिगको खेल नै फरक पर्योि। यो सुरुआत हुनसक्छ। यसलाई निरन्तर गर्न सकियो भने सुस्त गतिमा बढेको नेपाली भलिबल व्यावसायिकतातर्फ जाने छ,' उनी भन्छन्। विदेशी खेलाडी ल्याउँदा स्तरमा भने ध्यान दिनुपर्ने उनको सुझाव छ। 
पश्चिमाञ्चल प्रशिक्षक राजकुमार गुरुङ राष्ट्रिय लिगमा उपविजेता बन्नु टोलीको ठूलो उपलब्धि भएको बताउँछन्। त्यसको श्रेय गोरखपुरका खेलाडीलाई दिन्छन्। उनले भने, 'हामी च्याम्पियन बन्ने लक्ष्यसहित आएको थियौं। टिम राम्रो थियो। तर अभ्यासका लागि समय नपुगेकाले समन्वय अलि मिल्न सकेन। आगामी लिगमा पनि विदेशी खेलाडीलाई खेलाउने प्रयास गर्छौं।' 
गुरुङका अनुसार विनोद र मोहित भारतको यु–१९ टोलीबाट एसिया कप खेलेका खेलाडी हुन्।
नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले दोस्रो राष्ट्रिय लिगले भलिबल व्यावसायिकतातर्फ बढिरहेको देखाएको बताए। 'हामी प्रयास गर्दैछौं। भलिबलको विकासका लागि लिग आर्कषक बनाउनैपर्छ। लिगले भलिबल खेलाडीको स्तर र आर्थिक अवस्था माथि उठ्न सक्नुपर्छ। यसका लागि संघले सक्दो राम्रो गर्ने कोशिस गरिरहेको छ,' महासचिव चन्द भन्छन्। उनले पश्चिमाञ्चललाई भारतीय खेलाडी ल्याउन संघले ५० हजार सहयोग गरेको 
बताए। 
अन्य क्षेत्रीय टोलीले विदेशी खेलाडी ल्याउन चाहे सक्दो सहयोग गरिने उनले बताए। चन्दले अरु क्षेत्रका टिमलाई पनि विदेशी खेलाडी ल्याउन प्रेरित गर्दै भने, 'पश्चिमाञ्चलले यसपल्ट विदेशी खेलाडी ल्याउन सक्रियता देखायो। अरुले ल्याउन चाहेमा संघले केही आर्थिक सहयोग गर्छ। भलिबल स्तर बढाउन विभागीय टोलीमात्र राम्रो भएर हँुदैन। क्षेत्रीय टिम पनि राम्रो हुनुपर्छ। क्षेत्रबाट नयाँ खेलाडी उत्पादन हुनुपर्छ। लिगमा विदेशी खेलाडी राख्न पाउँदा क्षेत्रीय टिमले राम्रो नतिजा निकाल्न सक्छन्।' 
पुलिस क्लबका खेलाडी सञ्जय अर्याल विदेशीको उपस्थितिले लिगको स्तर बढेको बुझाइ छ। तर उनी पुरस्कार राशिप्रति भने सन्तुष्ट रहेनन्। सर्वोत्कृष्ट खेलाडी बनेका सञ्जय भने, 'विगतभन्दा अहिले भलिबलमा धेरै राम्रो र स्तरीय प्रतियोगिता भएका छन्। लिगको सुरुआत राम्रो हो। तर लिगको पुरस्कारले खेलाडीलाई सन्तुष्ट पार्न सकेको छैन। अब संघले लिगबाट खेलाडीलाई आर्थिक रूपमा सहयोग गर्न चासो दिनुपर्छ।' 
सर्वोत्कृष्ट र व्यक्तिगत उत्कृष्ट खेलाडीको पुरस्कारमा वृद्धि गर्नुपर्ने सञ्जयको भनाइ थियो। राष्ट्रिय लिगमा भने पनि संघले विजेता, उपविजेता र तेस्रो हुने टिमलाई मात्र पुरस्कार व्यवस्था गरेको थियो। 
सर्वोत्कृष्ट हुनेले १५ हजार र व्यक्तिगत विधाका उत्कृष्टले समान ५ हजार पाएका थिए।