Tuesday 3 Mangshir, 2076 | November 19, 2019
Menu

republica-headerdiscount-subscribe1

सिम्पल र स्वीट 'जेरी'

(1 Vote)
सिम्पल र स्वीट 'जेरी'
यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।
मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा (आना शर्मा)को चिनजान हुन्छ। मुस्ताङ र आकांक्षा दुवै अनौठो र सोचेभन्दा कठिन लाग्छ जेरीलाई। आकांक्षासँगको टकरावपछि जीवन र प्रेमसम्बन्धी जेरीमा रहेको दृष्टिकोण बदलिन्छ ।

  • फिल्म:  जेरी
  • रेटिङ:  रेटिङ
  • निर्देशक:  हेमराज बिसी
  • लेखक:  सम्राट गौचन र हेमराज बिसी
  • निर्माता:  मनोज शेरचन
  • कलाकार:  अनमोल केसी, आना शर्मा, अमालिया शर्मा, अभिषेकमान शेरचन, यशशमशेर जबरा
nepali-patro-may
मिठाईको नामजस्तो सुनिए पनि 'टम एन्ड जेरी' सिरियलको पात्रबाट बढी प्रभावित छ यो जेरी। जेरी नामक मुसाजस्तै चकचके छ ऊ। उसलाई पनि एउटा बिरालोजस्तै डरलाग्दो चिजले खेदिरहन्छ, जसको उसलाई सधैं डर हुन्छ। 
साँचो प्रेममा पर्नु वा गम्भीर प्रेमकथाको फिल्म हेर्नु धेरै हदसम्म समान अनुभव हो। दुवैले जीवन र आफ्नो बुझाइप्रति प्रश्न गर्न सिकाउँछ। साँचो प्रेमले मान्छेलाई इमानदार, अनुशासित र जिम्मेवार बन्न प्रेरित गर्छ। आत्मालाई शुद्ध राख्छ। 'जेरी' पनि एउटा लभस्टोरी भएकोले युवा दर्शकहरुलाई यसबाट सकारात्मक प्रेरणा मिल्न सक्छ। 
काठमाडौंका धनी परिवारका टिनएजर्स् पात्रलाई चित्रण गर्ने नाममा धेरै नेपाली फिल्मले भद्दा, फोहोरी र अतिरञ्जना पस्किँदै आएका थिए। त्यस्ता फिल्मका निर्देशकलाई 'जेरी'ले गतिलो पाठ पढाइदिएको छ। 'जेरी'का टिनएजर्सहरु यथार्थ र स्वाभाविक लाग्छन्।
युवाहरु सधैं स्वतन्त्रता खोज्छन्। आकास छुने उनीहरुको चाहना हुन्छ र जस्तोसुकै चुनौती वा जोखिम सामना गर्न पछि पर्दैनन्। युवाहरुको यस्तो खाले सेन्टिमेन्ट 'जेरी'ले प्याराग्लाइडिङवाला दृश्यमा उजागर गरेको छ। आकाशमा कावा खाँदै गरेका रंगीन प्याराग्लाइडरहरु पखेटा फिँजाएर उडिरहेका चराहरु जस्तै देखिन्छन्। 
निर्देशकको दिमाग फराकिलो वा साँघुरो कस्तो छ भन्ने प्रमाण उसले छनोट गर्ने 'सट साइज'हरु हुन्। खुकुलो सट आवश्यक हुँदाहुँदै पनि क्लोज अप र मिड सटमै फिल्म सिध्याएर आफूलाई संकुचित साबित गर्ने निर्देशकहरुको भीडबाट अलग्गिएका छन् हेमराज बिसी। उनले 'सिचुयसन'को मागबमोजिम सट साइज र फ्रेमिङमा विविधता लागू गरेका छन्। 
पात्रहरुको मनस्थिति र संवेदनाअनुसार सटलाई खुकुलो र कसिलो बनाइएकोले 'जेरी'को दृश्य भाषा प्रभावकारी बन्न पुगेको छ। 'जेरी'का पात्रहरुका संवेदना दर्शकसमक्ष प्रभावकारी रुपमा सञ्चार हुनुको कारण यही हो। फिल्म निर्देशकले दर्शकसँग कम्युनिकेट गर्ने भनेकै दृश्य भाषाबाट हो।
'एक्स्ट्रिम लङ सट'हरुले मुस्ताङको भूगोलप्रति न्याय गरेका छन्। मुस्ताङमा खिचिएका विगतका थुप्रै नेपाली फिल्मले कलाकारलाई मात्र फोकस गरेर मुस्ताङको प्राकृतिक सौन्दर्यमाथि अन्याय गरेका थिए। 'जेरी'ले पात्रहरुका संवेदना र प्रकृतिलाई एकआपसमा घोलिदिएको छ। 
निर्देशक हेमराजको लय, गति र रङलाई छायाँकार शैलेन्द्र डि कार्कीले आत्मसात गरेका छन्। दुईबीचको तालमेल कलात्मक छ। प्रयोगको नाममा 'टेक्निकल पोलुसन' हुने गरी 'अड एंगल'मा फिल्म खिच्ने प्रवृत्तिबाट 'जेरी' मुक्त छ।
पटकपटक समावेश गरिएका बादलहरुको 'टाइमल्याप्स फोटोग्राफी' आनन्ददायी छ। ती 'क्लाउडस्केप टाइमल्याप्स'हरु विम्बात्मक पनि छन्। जेरी र आकांक्षाका मन बादलका आकारहरुझैं अदलीबदली भइरहन्छ। 
जेरी र आकांक्षा चढेको बाइक एक्स्ट्रिम लङ सटमा हुइँकिरहेको दृश्य सुन्दर र प्रतीकात्मक छ। जेरी र आकांक्षा एउटा त्यस्तो संसारमा प्रवेश गर्दैछन्, जहाँ अरु कोही छैनन् भन्ने बुझिन्छ यसमा। 'जेरी'को सिनेमाटोग्राफीलाई भिजुयल पोयट्रीको उदाहरण मान्न सकिन्छ। यसको श्रेय छायाँकार शैलेन्द्रलाई जान्छ।
नेपाली फिल्मले अनपेक्षित रुपमा पाएको सुन्दर अभिनेत्री हुन् आना शर्मा। आनाले अभिनयलाई परिष्कार गर्नसके नेपाली फिल्मको मेनु थप स्वादिलो हुनेछ। 'जेरी'पछि अनमोल केसीजस्तै आनाको पनि 'फ्यान फलोइङ' बढ्ने निश्चित छ। आनाको साथी पगी भएर अभिनय गरेकी अमालिया शर्मा (आनाकै दिदी) पनि आकर्षक देखिएकी छन्।
फिल्ममा देखाइएजस्तै टिनएजर्स्हरु झिनामसिना प्रसंगमै रमाउँछन्, रिसाउँछन्। फिल्मको 'टोन' र 'फ्लेभर' टिनएजर्स्कै 'स्कुल अफ थट'अनुसार छ। पात्रहरुका उमेरअनुसारका मनोविज्ञानलाई निर्देशकले राम्ररी पहिचान गरेका छन्। 
फिल्ममा देखाइएको प्रेमकथा नौलो छैन। थुप्रै फिल्ममा हेरिसकेकोजस्तो वा धेरैपटक सुनिसकेको जस्तो लाग्छ। तर टि्रटमेन्टहरुको स्थानीयकरणले कथा रोचक बन्न पुगेको छ। पोखरा र मुस्ताङका विभिन्न संस्कृति र भौगोलिक विकटताहरु कथामा बुनिएर आउँछन्।
'जेरी'को ड्रामाटिक स्ट्रक्चर सरल र सामान्य छ। कथा सुरुमै 'प्रेडिक्ट' गर्न सकिन्छ। 'जेरी' हेर्नु एउटा बौद्धिक कसरत होइन। तर, यसबाट एकप्रकारको संवेदनात्मक अनुभव चाहिँ पक्कै हासिल हुनेछ। 
गुलियो धेरै खायो भने तितो हुन्छ। नेपाली फिल्मकर्मीले यही गुलियो परिकार नै ढंगका साथ पस्किन सकिरहेका छैनन्। 'जेरी'ले चिरपरिचित गुलियो स्वाद नै पस्केको छ। तर आकर्षक प्लेट र आत्मीय सत्कारसहित। 
फिल्मले अनमोल र आकांक्षाको इमोसनल जर्नीलाई सन्तुलित रुपमा अगाडि बढाउँदै गन्तव्यमा पुर्याेउँछ। अग्लो मुस्ताङमा पुग्दा उनीहरुको संवेदना उच्च विन्दुमा उचालिन्छ र काठमाडौंमा फर्किएपछि ओरालो लाग्छ। फिल्मको 'इमोसनल ग्राफ'को संरचना सन्तुलित राखिएको छ।
जेरीका आमाबुबा सम्भ्रान्त देखिएका छन्। जेरीका क्रियाकलापहरुप्रति उनीहरुको प्रतिक्रिया चित्तबु‰दा छन्। तर जेरीले गर्लफ्रेन्ड पाएको थाहा पाउँदा आमा र बुबा दुवैले पालैपालो बधाई दिएको दृश्य 'ओभर एक्सपोजिसन' हो। बुबाले बधाई दिएको दृश्यमात्र देखाइँदा पुग्थ्यो।
केही सहायक पात्रहरुको फितलो अभिनयले 'जेरी' फिल्मको 'फ्लो'मा अवरोध पैदा गरिदिएको छ। फिल्मको एकमात्र दृश्यमा देखिने कलाकार समेत अभिनयमा पारंगत भएको हुनुपर्छ। नत्र ऊ सहभागी दृश्यले बिझाइरहन्छ।
सडकमार्ग हुँदै जानेबेला पोखराबाट एकैचोटी मुस्ताङ प्रवेश गरेको देखाइनुको सट्टा दुई ठाउँबीचको ट्रान्जिसनका रुपमा बेनी वा त्यस्तै अर्को परिवेश देखाइएको भए फिल्मको दृश्य–वर्णन अझ मिहिन हुन्थ्यो। मुस्ताङको क्यारेक्टराइजेसन पनि थप प्रष्ट हुन्थ्यो।
आकांक्षाले हरेक दृश्यमा क्यामेरा क्लिक गरिरहेकी हुन्छे। तर, फिल्ममा उसको क्यामेराको 'प्वाइन्ट अफ भ्यु' आएको छैन। त्यो आएको भए आकांक्षाको फोटोग्राफीमा दर्शक पनि भिज्थे।
निर्देशक हेमराज र अभिनेता अनमोलले आफूलाई अरु फिल्ममा 'भर्सटाइल' प्रमाणित गर्दै लगेमा भविष्य सुनौलो बन्नेछ। अनमोल र आनाजस्तै फिल्म 'जेरी' पनि हट र फ्रेस छ। प्रहरी प्रशासनले सोचेजस्तो 'जेरी' हेर्दा विद्यार्थीहरु बिग्रिदैनन्। बरु धेरै कुरा सिक्न सक्छन्।
दीपेन्द्र लामा

२०५७ सालबाट पत्रकारिता सुरु गरेका दीपेन्द्र लामा नागरिक दैनिकमा स्थापना कालदेखि आवद्ध छन्। उनी नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्।

फेसबुक: http://facebook.com/dipendralama

प्रतिक्रिया