Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

republica-headerdiscount-subscribe1

istl

महँगियो जीविका

(0 votes)
महँगियो जीविका
काठमाडौं- सिन्धुली, रातोमाटेबाट ६ वर्षअघि सपरिवार राजधानी आउँदा अनन्तकुमारी पोखरेलका हातभरि सरसामान थिए। अनि मनमा थिए, अनन्त सपना। पतिपत्नी दुवै काठमाडौं बसेर मजदुरी गर्ने, सन्तानलाई राम्रोसँग पढाउने, बचेको पैसाले एउटा सानो घर बनाउने। रातोमाटेमा बाँचेको धुलेमैले जिन्दगी राजधानीमा मेहनतको कसीले चम्काउने अठोट गरेका थिए दम्पतीले।

nepali-patro-may
जिन्दगीसँग कुनै छल गरेनन् उनीहरूले, इमानदारीपूर्वक मेहनत गरिरहे। पसिना उनीहरूले सोचेभन्दा बढी बगिसकेको छ। तर, सपना! त्यो भने जहाँको त्यहीँ छ। जस्तो रातोमाटेबाट बिपी राजमार्ग उक्लँदा थियो।

राजधानी टेक्दैदेखि उनीहरूका सामुन्ने दुःख अनेक पहाड तेर्सिए। पानीसमेत किन्नुपर्ने सहरमा महँगीको थेगिनसक्नु भारले थिचिएका छन् उनीहरू। त्यहीँमुनि थिचिएका छन्, सम्पूर्ण रहर। जति मेहनत गर्दा पनि छाक टार्नै समस्या। सन्तानलाई उन्नत शिक्षा अनि सुन्दर घर! यी दुई सपना त उनीहरूले लगभग थाती राखिसके।

'हामीले हरेक दिन पसिना बगाउन छाडेका छैनौं,' काठमाडौं, मूलपानीमा मंगलबार बिहान गहुँ काट्दै गरेकी अनन्तकुमारीले भनिन्, 'तर, हाम्रो मिहिनेतले दुःख भगाउन सकेन।'

उपभोक्तावादी समाजमा जीविका झन्झन् महँगिँदै छ, जिन्दगीका मूल्यमान्यता भने अझ सस्तिँदै छन्। मातातीर्थ औंसीका दिन ममतामयी आमाको मुखमा मिठाईसम्म पारिदिन ऋण काढ्नुपर्ने बाध्यतामा पर्छन् छोराहरू। एउटै साडी टालेर दर्जनौं तीज मनाउनु, दसंै नजिकिँदै जाँदा अत्यास बढ्नु थुप्रै नेपाली नरनारीको नियमित नियति बन्दै छ। कारण हो– उही महँगी।

आज धौ फुकाएर खाजा खाए भोलि सन्तानको कापी किन्न पैसा पुग्दैन। यो अवस्था धेरै भोगेका छन्, अनन्तकुमारी र उनका पति भोलानाथले। त्यसलाई पुनरावृत्त हुन नदिन उनीहरू पहिलेभन्दा बढी मेहनत गर्छन्। तर, महँगीका अगाडि त्यो परिश्रमको कुनै जोड चल्दैन। उनीहरूले सन्तानलाई भनेजस्तो पढाउन सकेनन्। सुन्दर घरको त कुरै छाडौं, अहिले उनीहरू त्यसको जगसमेत कल्पना गर्दैनन्।

काम गर्दागर्दै पनि अभावमा बाँच्नुपर्दा असाध्यै पीडाबोध हुन्छ, अनन्तकुमारीलाई। 'काम गर्दा पनि बाँच्न मुस्किल परेपछि अब के गर्ने,' उनी भन्छिन्, 'सम्भि्कएर निकै दुःख लाग्छ।'

अनन्तकुमारी अहिले मूलपानी क्षेत्रमा मजदुरी गरेर मासिक १० हजार रुपैयाँजति आम्दानी गर्छिन्। पति भोलानाथ पनि लगभग उत्ति। दैनिक ज्यालादारीमा काम गर्ने उनीहरूले सधैं काम पाउँछन् भन्ने छैन। त्यसमाथि कमाइको तुलनामा घरखर्च निकै बढी छ। फुरमासी खर्चेर होइन, बचाउँदा–बचाउँदै पनि उनीहरूको कमाइ सकिन्छ। एउटै कोठामा पाँच जना कोचिएर बस्छन्, सन्तानलाई सरकारी विद्यालयमा पढाउँछन्। तैपनि बाँच्न कठिन छ, उनीहरूलाई।

अनन्तकुमारीका अनुसार मासिक खर्च २० हजारभन्दा माथि नै छ। चामलमा मात्र सरदर ६ हजार खर्चिनुपर्छ। यसबाहेक कोठाभाडामा २ हजार, तरकारी ४ हजार, ग्यास १५ सय, नुनतेल–मसला २ हजार, पढाइमा २ हजार, लत्ताकपडामा कम्तीमा २ हजार खर्च हुन्छ। 'यो मोटामोटी देखिएको खर्च मात्र हो,' अनन्तकुमारीले भनिन्, 'सानातिना खर्च त कति हुन्छन् कति?'

हरेक वर्ष महँगी बढे पनि सरकारले नियन्त्रणमा चासो नदेखाएकोप्रति भोलानाथको औधी गुनासो छ । खेतीपातीमा सिँचाइ नभएर गाउँमा समस्या परेपछि राजधानी हान्निएका उनी यहाँ अलिअलि कमाइ भए पनि महँगीका कारण बाँच्नै सकस परेको सुनाउँछन्। 'काम गर्ने मानिसको ज्याला वर्षाैंसम्म उही रहन्छ,' उनी भन्छन्, 'बजार भने प्रत्येक झन्भन्दा झन् महँगो हुँदै छ।'

यो पोख्रेल परिवारको मात्र होइन, विभिन्न सिलसिलामा राजधानी आएर मजदुरी गर्दै सन्तान पढाउने अधिकांश अभिभावकको साझा समस्या हो। अभिभावकको कमाइले घरखर्च थेग्न नसकेपछि विद्यार्थीले समेत मजदुरी गर्नुपर्ने बाध्यता छ। यसका उदाहरण हुन्, बुद्धिप्रसाद पोखरेल।

भर्खरै एसएलसी दिएका उनी मूलपानीमा गहुँ काट्दै गरेको ठाउँमा भेटिए। 'कमाएको पैसाले कम्प्युटर सिक्ने विचार छ,' उनले भने, 'मिहेनत नगरी पढाइ–खर्च जुट्दैन।' बुबा गाईफार्म र आमा घर बनाउने काममा खटिन्छिन्। उनीहरूको मात्र कमाइले आफ्नो पढाइ धान्न नसक्ने पोखरेलले सुनाए।

कमाउँदा–कमाउँदै पनि बाँच्न समस्या परेपछि सर्वसाधारण चरम निराशामा छन्। कमाउने ज्यालाको तुलना बजारभाउ अत्यधिक चुलिएपछि निराशाको पारो पनि उत्तिकै चढ्दै छ। बाँच्नै कठिन भएपछि कतिपयले यहाँको मजदुरी छाडेर खाडी मुलुकको बाटो तताएका छन्।

'दुई जनाले काम गर्दा पनि खान नपुगेपछि श्रीमान् बिदेसिनुपर्योन,' दुई सन्तानकी आमा मुना खड्का सुनाउँछिन्, 'कमाएको पैसा बच्ने भए थोरै तलबका लागि बिदेसिनु जरुरी थिएन।' यहाँ काम गरेको पैसा महँगीका कारण बचत हुन नसक्दा विदेश जानुपर्ने बाध्यता आएको उनले सुनाइन्। खान–बस्नभन्दा पनि सन्तानको पढाइखर्च थेग्नै चुनौती छ उनलाई। 'भान्साका सामानजस्तै विद्यालयका कापी–किताबदेखि फिस सबै महँगा,' उनले भनिन्, 'महँगीले निकै समस्या पारेको छ।'

महँगीको बोझले सर्वसाधारणलाई कतिसम्म थिचेको छ, वसन्तपुर क्षेत्रका भरिया ५५ वर्षीय नेत्रबहादुर राउतले राम्ररी भोगेका छन्। २५ वर्षदेखि बोझ उठाएरै जीविका धान्दै आएका उनी महँगीको बोझ भने थेगिनसक्नु रहेको बताउँछन्। 'मैले सय किलो चामल र चिनीको बोरा उठाएर पसल–पसल पुर्या उन सक्छु,' उनले भने, 'तर, एक किलो चामल र आधा किलो चिनी बोकेर घर जानुपर्दा मेरो ढाड भाँचिन्छ।

दोलखा घर भएका राउत ३० वर्षको उमेरमा काम खोज्दै राजधानी आएका थिए। त्यसयता उनको जीवन भारी बोक्दैमा बित्दै छ। उनले यहाँ महँगीका विभिन्न रूप देखेका छन्। अहिलेको महँगी विगतभन्दा निकै डरलाग्दो रहेको उनलाई लाग्छ। 'भूकम्प र नाकाबन्दीपछि त बजारमा सामान किन्नै डर लाग्छ,' उनले भने, 'कुन सामानको मूल्य कति बढ्यो भन्ने पत्तै हुँदैन।' दैनिक किनमेल गर्दा पनि हरेकपटक मोल सोधेर मात्र सामान किन्नुपर्ने समय आएको उनले सुनाए।

उनीसँगै रहेका ६५ वर्षीय खड्गबहादुर राउतको भोगाइ पनि उस्तै छ। विगत २० वर्षदेखि राजधानीमा काम गर्दै आएका राउतले डेढ दशक भारत गएरसमेत मजदुरी गरे। यहाँको तुलना उता (भारत) बजारभाउ त्यति चाँडो नबढ्ने गरेको उनको बुझाई छ। 'उता भाउ बढ्ने आफ्नै नियम हुन्थ्यो,' उनले सुनाए, 'यताको भाउ बढेको टुंगो नै नहुने।' बजारमा सरकारले ध्यान नदिँदा अचाक्ली महँगो भएको उनको बुझाइ छ। 'जसले जति मन लाग्यो त्यति लिन थालेका छन्,' उनी थप्छन्, 'यसको विरोधमा बोल्नेवाला कोही छैनन्।'

महँगीकै कारण नेपालीको जीवन विभिन्न अप्ठ्यारामा जेलिँदै छ। कुरा विलासिताको होइन, आधारभूत आवश्यकता नै आकाश छुने गरी महँगिएका छन्। गम्भीर बिरामी भए औषधि किन्न सक्ने हैसियतका नेपाली निकै थोरै मात्र छन्।

विगत २५ वर्षदेखि राजधानीमा रिक्सा चलाउँदै आएका सिन्धुपाल्चोक, कुभिन्डेका ४८ वर्षीय दिलनाथ नेपाल महँगीका कारण जीवन अगाडि बढाउनै समस्या परेको सुनाउँछन्। रिक्सा तान्नभन्दा बिहान–बेलुकाको भान्सा धान्न मुस्किल छ,' उनले भने, 'कमाएको पैसाजति खाँदैमा सकिन्छ।' कुनै बेला १५ रुपैयाँ प्लेटको भात खाएका उनले अहिले त्यही खानालाई एक सयभन्दा बढी तिर्नुपरेको सुनाए। पसिना बगाएर चलेको रिक्साको कमाइले घरखर्च धान्नसमेत समस्या नेपालको भनाइ।

प्रतिक्रिया

चेपाङ बस्तीमा ठडियो स्कुल

चेपाङ बस्तीमा ठडियो स्कुल

चितवन- भूकम्पले लोथर गाविसको चेपाङ बस्ती सोतर पार्योथ। स्थानीयका घरसँगै विद्यालय भवन पनि बाँकी राखेन। दुङबाङ राष्ट्रिय प्राविका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भए। उनीहरू कहिले झरीले रुझे त कहिले चर्को...

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी संघीय गबठन्धनले आइतबार र सोमबार दुई दिन सिंहदरबार घेराउ गर्दैछन्।

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट...

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

काठमाडौं– एउटा भनाइ छ– 'वृद्ध भएकोमा पश्चात्ताप नगर, यो धेरैले नपाएको अवसर हो।'मुलुकमा यस्तो अवसर पाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ तर उचित व्यवस्थापनमा सरकारले ध्यान नपुर्याेउँदा यहाँ वृद्ध भएकोमा 'पश्चात्ताप'...

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं– सरकारले चीनसँग बृहत् ऊर्जा विकास तथा व्यापार सम्झौता तयारी गरिरहँंदा चीनसँगको अवरुद्ध व्यापार चालु भएको छ। चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेसँगै नेपाल–चीन...

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

काठमाडौं–पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमशः ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिरदारी गर्दै राज्यले राजकीय सम्मानसाथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च...

स्कुटीमा महिला  'देख्नै नहुनी'

स्कुटीमा महिला 'देख्नै नहुनी'

काठमाडौं–ज्ञानेश्वरकी ऋतिका भट्टराईले स्कुटी चलाउन थालेको पाँच वर्ष भयो । उनको हँकाइ कुनै पुरुषचालकको भन्दा कम छैन । उपत्यकाबाहिर ८० र उपत्यकाभित्र ६० किमीप्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउन सक्ने आँट...

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

डडेल्धुरा- लामो खडेरी र चर्को घामले देशैभरका हजारौं हेक्टर वनक्षेत्रमा अचेल दिनहुँ आगो सल्कन्छ। डढेलोले वनै सखाप पारेका सयौं घटनाबीच कतिपयमा भने आगलागी होइन, आगजनी गराइएको भेटिएको छ। वनमा रहेका पुराना...