Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

थाहै नपाई दुइटै फेल

(2 votes)
थाहै नपाई दुइटै फेल
काठमाडौँका सडकपेटीमा लाउडस्पिकरबाट याचनाका आवाजहरू गुञ्जिरहेका हुन्छन्। मिर्गाैलाका रोगीका आफन्त कपडा ओछ्याएर मनकारी बटुवाहरूले दिएका पाँच–दश रुपैयाँका नोट बटुलिरहेका हुन्छन्। थाहै नपाई मिर्गौला फेल भएपछि रोगी र उसका आफन्तले धेरै कुरा थाहै नपाई गुमाउँछन्, घरखेतदेखि जिन्दगीका सारा सुख। नेपालमा बर्सेनि बढिरहेका छन् मिर्गौलाका रोगीहरू। सजना बराल र अम्मर जिसीले मिर्गाैला फेल भएका नेपालीका सुस्केरा सुन्ने कोसिस गरेका छन्।





nepali-patro-may
आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू!
हाम्रा धनुषा जिल्ला घर भई हाल काठमाडौँ, अनामनगर बस्दै आएका श्याम मगरको अकस्मात् दुवै मिर्गौलाले काम नगरेको हुनाले र यस परिवारको आर्थिक अवस्था निकै नै कमजोर भएको हुनाले र उपचारको लागि हजुरहरूको सहयोग अमूल्य भएको हुनाले सबै महानुभावहरूमा सहयोग गरिदिनु हुनका लागि हार्दिक–हार्दिक अनुरोध गर्दछौँ। यहाँहरूको सहयोग नै अमूल्य हुनेछ। हजुरहरूको सहयोगले कसैको ज्यान बच्नेछ। सहयोग नै सबैभन्दा ठूलो धर्म हो। आफू पनि बाँचौं र अरूलाई पनि बचाऔँ। धन्यवाद।
धनुषा, जनकपुरकी १३ वर्षीया सुनिता मगरको यो आह्वानले बाटो हिँड्नेहरूको ध्यान एकछिन तान्छ। सुन्धारास्थित आकाशेपुलको फेदैमा रहेको लाउडस्पिकरबाट बिहान १० बजेदेखि साँझ ४ बजेसम्म उनको कारुणिक गुहार गुञ्जिरहेको हुन्छ। मिर्गौला रोगी श्याम मगरका अभिभावक सीता र जीतबहादुरसँग यो बाल आवाजले धेरैको ध्यानाकर्षण गरेको अनुभव छ। 
'बच्चीको स्वर सुनेपछि मान्छेहरू अलि वास्ता गर्दा रै'छन्,' हुलाक कार्यालयको पर्खालमा ३१ वर्षीय श्यामको फोटो अंकित फ्लेक्सबोर्ड टाँगेर सहयोग संकलन गरिरहेका जीतबहादुर भन्दै थिए, 'सुनिता हाम्रै गाउँकी नानी हुन्। उनलाई यस्तो बोल्न लगाएर उनको स्वर मोबाइलमा रेकर्ड गर्यौँ। र, मोबाइलको कार्ड रिडर झिकेर यो ठ्यांग्रो (स्पिकर) मा हाल्यौँ। राति ब्याटि्र चार्ज गरेपछि यो दिनभरि कराइरहन्छ।' यही पाराले मगर दम्पती आफ्नो छोराको उपचार खर्च जुटाइरहेका छन्। दिनमा १५ सयदेखि दुई हजार रुपैयाँसम्म संकलन हुने उनीहरूले बताए। 
'बाटोमा बसेर तमासा देखाउने रहर थिएन,' श्यामकी आमा सीता बिलौना गर्छिन्, 'के गर्नु, मेरो बाबु थला पर्यो । हेर्दा हट्टाकट्टा, तन्दुरुस्त थियो। भित्रभित्रै किड्नी फेल भइसकेछ। उपचार गर्न खेतबारी, खसी, बाख्रा, एक हल गोरु सबै बेच्यौँ। ऋण पनि कति गर्नु? को–कोसँग माग्नु? आजित भइसक्यौँ हामी।' जायजेथा सबै सकिएपछि आफूहरू सडकमा आइपुगेको उनले बताइन्। 
श्यामको मिर्गाैलाले काम गर्न छाडेको पाँच वर्ष भयो। यतिञ्जेल हप्ताको तीन पटक हेमोडायलाइसिस गराइरहेका उनी चाँडै नै मिर्गाैला प्रत्यारोण गराउँदै छन्। 'उसकी केटीसाथीले मिर्गौला दिने रे,' जीतबहादुरले भने, 'हुन त गर्लफ्रेन्ड हो तर गर्लफ्रेन्डले दिन नमिल्ने भएकाले बिहे दर्ता गराइदिएका छौँ। उसकी श्रीमती भएर मिर्गौला दिँदै छिन् ती नानीले।' श्यामका बाआमा जसरी भए पनि दाता पाएको बेला छोराको मिर्गाैला प्रत्यारोपण गराउन लागिपरेका छन्।
याचनाका स्वरहरू
किड्नी फेल भएका आफन्तको उपचारका लागि बच्चाबच्चीको स्वर घन्काएर सहयोग माग्नेहरू सुन्धारादेखि न्युरोडगेटसम्म मात्रै चार टोली छन्। रत्नपार्क, रानीपोखरी, स्वयम्भू, पशुपतिनाथ मन्दिरलगायत मान्छेको चहलपहल हुने अन्य ठाउँमा पनि रोगी र तिनका आफन्तको क्रन्दन बालिकाहरूको स्वरमार्फत गुञ्जिरहेको पाइन्छ। पत्रपत्रिकामा पनि 'मलाई बचाउनोस्, म बाँच्न चाहन्छु' लेखिएका याचानारूपी आवाज छापिएका हुन्छन्। राजधानीका विभिन्न अस्पतालमा किड्नी फेल भएर उपचार (हेमोडायलाइसिस) गराउनेको संख्या बर्सेनि बढिरहेको चिकित्सकहरू बताउँछन्।
'हुन त यो पहिलेदेखि नै विद्यमान समस्या हो,' मानव अंग प्रत्यारोण केन्द्र, भक्तपुरका प्रमुख, डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, 'तर, पहिले किड्नी फेल भएका बिरामीहरू कमै मात्र डाक्टरसम्म आइपुग्थे। उपचार गराउन विदेशै जानुपर्ने भएकाले उनीहरू हामीकहाँ आउँदैन थिए। अहिले नेपालमा निःशुल्क डायलाइसिस गर्न पाइने र किड्नी ट्रान्सप्लान्टसमेत स्वदेशमै हुनेभएकाले बिरामीहरू अस्पताल आउन थालेका छन्। र, तिनको संख्या बढ्दो छ।' 
किड्नीका शत्रु 
पछिल्लो समय विश्वमै मधुमेह र उच्च रक्तचापका रोगी बढेकाले मिर्गाैला रोगीको संख्या स्वतः उकालो लागेको वीर अस्पतालका नेफ्रोलोजिस्ट डा. शक्ति बस्नेत बताउँछन्। 'डाइबेटिज र हाई ब्लड प्रेसर मिर्गाैलाका शत्रु नै हुन्,' उनले भने, 'ती रोगका कारण किड्नी फेल हुने सम्भावना उच्च हुन्छ।' एन्टिबायोटिक, पेन किलरजस्ता डाक्टरको सिफारिसबेगर पाइने दबाइको अत्यधिक प्रयोगले पनि किड्नी फेल हुन सक्ने उनले बताए। 
'सामान्यतया जाँड, रक्सी, चुरोट, मासु आदि बढी खाने, तनाव लिने र फिटिक्कै व्यायाम नगर्ने व्यक्तिलाई मिर्गाैलाको समस्या बढी देखापर्ने गरेको छ,' शिक्षण अस्पताल, महाराजगञ्जकी मिर्गाैला प्रत्यारोपण फिजिसियन डा. दिव्या सिंह शाहले भनिन्। अहिले नेपालका १० प्रतिशत मानिसमा मिर्गाैलासम्बन्धी कुनै न कुनै समस्या हुने गरेको मानव अंग प्रत्यारोपण केन्द्रकी कन्सल्ट्यान्ट नेफ्रोलोजिस्ट डा. कल्पना श्रेष्ठले बताइन्। 'तर, तीमध्ये कति जनाको मिर्गाैला बिग्रिन्छ भन्ने यकिन तथ्यांक छैन,' उनले भनिन्, 'त्यस्तो तथ्यांक राख्ने चलनै छैन नेपालमा।' उनी कार्यरत केन्द्रमा मात्रै दिनको लगभग ७० जनाले डायलाइसिस गराउँछन्। त्यहाँ २२ वटा मेसिनले दिनको तीन सिफ्ट र रातमा पनि सेवा उपलब्ध गराउँदै आएका छन्। नेपालमा सबैभन्दा बढी डायलाइसिस मेसिन भएको अस्पताल यही हो।
लक्षणबिनाको रोग
काठमाडौँ, फर्पिङका ३३ वर्षीय बाबुकृष्ण बस्नेत नेपाली सेनाका लेसनायक हुन्। सिन्धुपाल्चोकको चौतारास्थित गोरखनाथ गणमा कार्यरत उनी स्वस्थ र फुर्तिला देखिन्थे। पोहोर साल अचानक उनको दायाँ खुट्टा सुन्निन थाल्यो। बिस्तारै दुवै गोडा सुन्निए र जिउ पूरै फुल्न थाल्यो। 'के चाहिँ भएछ भनेर छाउनी हस्पिटलमा जचाउन जान्छु त दुवै किड्नी फेल भा'छ पो भन्छन्,' भक्तपुरको प्रत्यारोपण केन्द्रमा तीन हप्ताअघि मिर्गौला प्रत्यारोपण गराएका बाबुकृष्ण आफ्नो अनुभव सुनाउँछन्, 'सुरुमा त पत्याउनै मन लागेन। न कतै दुख्थ्यो, न केही हुन्थ्यो। जाबो जिउ सुन्निँदैमा किड्नी फेल होला भन्ने लागेको थिएन।' 
डाक्टरहरू यो रोगलाई 'साइलेन्ट किलर' भन्ने गर्छन्। किड्नीको स्वस्थ्यस्थिति थाहा पाउन गाह्रो नभए पनि नेपालीहरूमा बेला–बेलामा स्वास्थ्य जाँच गर्ने बानी नभएकाले समस्या उत्पन्न हुने डाक्टरहरूको भनाइ छ। 'लास्ट स्टेजमा अस्पताल आइपुग्छन्,' राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्ले भन्छन्, 'हामीले 'किड्नी फेल भएको छ' भन्दा रिपोर्टै गलत निस्कियो भनेर एकपछि अर्को अस्तपाल भौँतारिने बिरामी धेरै हुन्छन्।' उनका अनुसार वर्षमा एक चोटिमात्रै भए पनि पिसाबमा प्रोटिन र रगतमा क्रियाटिनिन जाँच गरेे मिर्गौलाको स्थितिबारे थाहा पाइन्छ। 
ज्याद्रो रोग 
'अरू रोग लाग्दा मर्ने कि बाँच्ने ठेगान हुन्छ,' छोरा अशोक कुमारको उपचारका लागि दौडधुप गरिरहेका सप्तरी, षखडाभगवती मन्दिरका जोगेन्दर मण्डलले भने, 'यो रोग त यस्तो छ कि यसको इलाज छ पनि र छैन पनि। छ भनौँ भने पैसाको खोलो बगाएपछि पनि मर्ने, बाँच्ने ठेगान हुँदैन। छैन भनौँ भने उपचार गरेपछि ठीक भएका मान्छे थुप्रै छन्।' यो असाध्यै ज्याद्रो प्रवृत्तिको रोग भएको उनले बताए। 'पैसा नहुने, गरिबगुरुवाले यसको इलाजै नगरे हुन्छ,' उनी दिक्क छन्, 'अलिअलि सम्पत्ति भएकालाई समेत यसले कंगाल बनाउँछ।'
मण्डलले काठमाडौँ आएर छोराको उपचार गराउन थालेको पाँच महिना भयो। अहिलेसम्म साढे पाँच लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन्। 'पोहोर साल चार लाख सकियो,' भन्छन्, 'ट्रान्सप्लान्ट गर्न अझै पाँच लाख तयार गर्नुछ।' अशोकलाई उनकी आमाले मिर्गाैला दिन लागेकी छन्। त्यसका लागि आमाको पनि चेकजाँच र अपरेसन गर्न डेढ लाख जति खर्च हुने मण्डलले बताए। 'ट्रान्सप्लान्टपछि पनि कहाँ सुख छ र?' उनी खुई काढ्छन्, 'सुरुको दुई महिना २२/२५ हजारको औषधि खानुपर्छ रे। त्यसपछि पनि बाँचुञ्जेल औषधि खान भुल्नु हुँदैन।' 
नेपालमा हाल महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर गरी दुई अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिन्छ। मिर्गाैला प्रत्यारोपण गरिएकाहरूको स्वास्थ्यस्थिति बरोबर रहेको सम्बन्धित निकायले जनाउँदै आएका छन्। केही समयअघि वीर अस्पतालमा पनि प्रत्यारोपण गराइन्थ्यो। अहिले यो सेवा त्यहाँ बन्द छ। 
के हो प्रत्यारोपण?
मान्छेको शरीरमा सामान्यतः दुइटा मिर्गाैला हुन्छन्। तिनले शरीरमा उप्पादन हुने विषाक्त पदार्थलाई बाहिर फ्याँक्ने गर्छन्। शरीरमा पानी र नुनको मात्रा मिलाउनेदेखि हड्डीहरू बलिया बनाउने, मांसपेशी र नसालाई क्रियाशील राख्न शरीरमा सोडियम, पोटासियम, बायोकार्बोनेट आदिको मात्रा मिलाउने, रक्तचाप सन्तुलन राख्नेलगायत काम मिर्गाैलाले गर्छन्। 'तिनले दिनभरिमा करिब १ सय ८० लिटर रगत फिल्टर गर्नुपर्छ,' डा. काफ्ले भन्छन्, 'त्यसमा भएको डेढदेखि दुई लिटर पानी मिर्गाैलाले मूत्रनलीमा पठाउँछ भने बाँकी रगत र पानी शरीरभरि फैलाउँछ।' उनका अनुसार मिर्गाैलाले यसो गर्न नसकेको खण्डमा त्यो बिग्रिएको वा फेल भएको भन्ने बुझिन्छ।
मिर्गाैला फेल भइसकेपछि बिरामीसँग तीनटा विकल्प हुने वीर अस्पतालका डा. शक्ति बस्नेतले बताए। 'एउटा विकल्प हेमोडायलाइसिस हो,' उनले बेलीविस्तार लगाए, 'दोस्रो पेरिटोनियल डायलाइसिस र तेस्रो विकल्प चाहिँ प्रत्यारोपण हो। हेमोडायलाइसिस भनेको मिर्गाैलाले गर्ने सारा काम मेसिनद्वारा गराइनु हो। पेरिटोनियल डायलाइसिस बिरामी आफैँले गर्न सक्छन्। तर, यो विधि नेपालमा खासै प्रयोगमा आउन सकेको छैन। प्रत्यारोपण भनेको चाहिँ मान्छेको शरीरमा नयाँ मिर्गौला राख्ने विधि हो। प्रत्यारोपण गर्दा शल्यक्रियामार्फत स्वस्थ मानिसका दुइटामध्ये एउटा मिर्गौला झिकेर बिरामीको शरीरमा हालिन्छ।'
प्रत्यारोपणअघिको झन्झट
मिर्गौला बिग्रिएका जति सबै व्यक्तिको प्रत्यारोपण हुन्छ भन्ने छैन। त्यसका लागि विविध 'क्राइटेरिया' मिल्नुपर्छ। एक त बिरामीको शरीर प्रत्यारोपणका लागि तयार हुनुपर्छ। उसलाई अरू कुनै रोग छ भने प्रत्यारोपण गर्न मिल्दैन। दोस्रो, प्रत्यारोपण गर्न दाता जुटाउन सक्नुपर्छ, जुन निकै कठिन छ। मिर्गाैला प्रत्यारोपण नियमावली, २०५५ अनुसार बिरामीले रगतको नाता पर्ने– बुवा, आमा, श्रीमान्, श्रीमती, दाजु, भाइ, काका, काकीलगायतले मात्रै मिर्गाैला दान दिन सक्छन्। 'दान दिन्छु भनेर मात्रै पनि हुँदैन,' डा. काफ्ले भन्छन्, 'दाताको स्वास्थ्यस्थिति ठीक हुनुपर्छ। दुवैको रगत समूहलगायत कुरा मिल्नुपर्छ।'
प्रत्यारोपण नै सर्वोत्कृष्ट
'भएभरको जायजेथा बेचिसकेँ,' सोमवार भक्तपुरको प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराइरहेका नेपालगञ्जका ५८ वर्षीय नोखेन्द्र शर्मा दुखेसो पोख्दै थिए, 'घरबारी, सुन सबै सकियो। छोराछोरीलाई जोगी बनाइसकेँ। कर्मै खोटो रैछ मेरो, सबैलाई रुवाएँ।' उनी दुई वर्षदेखि डायलाइसिसको भरमा बाँचिरहेका छन्। जेठी छोरी मिर्गाैला दिन तयार भए पनि उनले लिन मानेका छैनन्। 'एक त दु–दुई जनाको अपरेसन गर्ने पैसो छैन,' उनले भने, 'फेरि त्यसका स–साना छोराछोरी छन्। म मरे केही छैन, त्यसलाई केही भइहाल्यो भने नातिनातिनाको बिचल्ली हुन्छ।'
मिर्गौला प्रत्यारोपण गर्नुअघि अनिवार्य डायलाइसिस गर्नुपर्छ। हप्ताको तीन पटक डायलाइसिस गर्नसके उत्तम हुने डाक्टरहरू बताउँछन्। 'तर, नेपालमा दुई पटक डायलाइसिस गराउने चलन छ,' वीर अस्पतालका नेफ्रोलोजिस्ट डा. रमेश चौरसियाले भने, 'सरकारले हप्ताको दुई पटक डायलाइसिस गर्न अनुदान दिएको छ। त्यसैले आम मानिस दुई पटकमात्रै डायलाइसिस गराउँछन्।' एक पटक डायलाइसिस गर्न सरदर २५ सय जति खर्च लाग्छ। तीन चोटि डायलाइसिस गराउनेले महिनाको कम्तीमा १० हजार जसरी पनि जोहो गर्न सक्नुपर्छ।
बिरामीको शरीर 'नर्मल' अवस्थामा नआएसम्म डायलाइसिस गराइरहनुपर्छ। त्यसपछि मात्रै प्रत्यारोपण गर्न मिल्छ। 'मिर्गाैला फेल हुनेका लागि प्रत्यारोपण नै सबैभन्दा उत्तम उपचार हो,' डा. पुकारचन्द्र श्रेष्ठले भने, 'प्रत्यारोपण पछि डायलाइसिस गर्नुपर्दैन। जसले गर्दा खर्च घट्दै जान्छ। प्रत्यारोपण गरेको केही समयपछि मानिस कामकाजमा लाग्न सक्छ। आर्थिक र मानिसक भार पनि कम हुन्छ।' 
सरकारको सहयोग
नेपाल सरकारले विपन्न नागरिकका लागि २ लाख ५० हजार रुपैयाँ बराबरको डायलाइसिस निःशुल्क गरिदएको छ। यो सेवा पाउन सरकारी अस्पतालमा जिल्ला जनस्वास्थ्य कार्यलयको सिफारिसपत्र बुझाउनुपर्छ। पत्र बुझाएको वर्षदिनभित्र मिर्गाैला दाता जुटाउन सके प्रत्यारोपणका लागि थप दुई लाख रुपैयाँ र प्रत्यारोपणपछि औषधि खर्चस्वरूप एक लाख रुपैयाँ अनुदान पाउने व्यवस्था छ। 
'हाम्रोजस्तो गरिब देशले यत्रो सहयोग गर्नु भनेको लरोतरो कुरा होइन,' डा. कल्पना श्रेष्ठ भन्छिन्, 'एसियाकै कुनै देशले गर्न नसकेको काम हाम्रो सरकारले गरेको छ।' यस्तो अवस्थामा डायलाइसिस मेसिनको संख्या बढाई यो सेवा राजधानीबाहिर पनि पुर्यासउनसके अझै प्रभावकारी हुने नेपाल सोसाइटी अफ नेफ्रोलोजीका निर्देशकसमेत रहेका डा. काफ्लेले बताए।
'जिन्दगीमा सबैभन्दा ठूलो कुरा पानी खान पाउनुरहेछ,' हालसम्म १२४ जनाको सफल मिर्गौला प्रत्यारोपण गराइसकेका डा. पुकारचन्द्र श्रेष्ठ बिरामीको भनाइ उद्धृत गर्दै थिए। डायलाइसिस गराउञ्जेल बिरामीले पानी खान मिल्दैन। 'मुख प्याकप्याक हुन्छ,' काठमाडौँ, भोटाहिटीको आकाशे पुलमुन्तिर सहयोगको याचना गरिरहेका बुद्धिमान सुनुवारले भने, 'धेरै बेर उभिनु पनि हुँदैन। पिँडौलामा पानी जमेर थलथल हुन्छ।' किड्नी फेल भएकाहरूलाई पिसाब लाग्दैन। शरीरको अनावश्यक पानी डाइलाइसिसद्वारा फालिने र उति नै बेला शरीरमा 'प्युरिफाइड' पानी र रगत पनि संकलन गरिने गरिन्छ। 'ट्रान्सप्लान्ट गर्न पाए पानी खान पाइन्थ्यो,' सुनुवारको धोको छ, 'मिर्गौला दिने कोही छैनन्। मागेको पैसाले कतिञ्जेल धानिएला र? पानी नखाई मरिने पो हो कि?' 
मिर्गौला प्रत्यारोपणसम्बन्धी भ्रम
तीन वर्ष मलेसियामा सेक्युरिटी गार्डको जागिर खाएर फर्किएका ३१ वर्षीय विष्णुकुमार श्रेष्ठको उच्च रक्तचापका कारण किड्नी फेल भयो। उनी नौ महिनादेखि शिक्षण अस्पतालमा हेमोडायलाइसिस गराइरहेका छन्। 'श्रीमतीसँग रगतै मिलेन,' दुई छोराछोरीका बाउ श्रेष्ठले आँशु पुछ्दै भने, 'बाउ, आमा, भाइबहिनीसँग रगत मिल्छ। तर, उहाँहरूले नदिने रे।' हुँदाखाँदाको जिउ चिरेर मिर्गाैला दान दिएपछि आफूहरूको स्वास्थ्य नाजुक होला भन्ने डरले परिवारले सहयोग नगरेको सुमनले बताए।
'कतिपयको मान्छेको जन्मजातै एउटा मिर्गाैला हुन्छ,' नेफ्रोलोजिस्ट डा. कल्पना श्रेष्ठले प्रस्ट्याइन्, 'यो भनेको के हो भने एउटामात्रै मिर्गाैलाले पनि मान्छे बाँच्न सक्छ। त्यसकारण स्वस्थ मानिसले आफ्ना नातेदारलाई मिर्गाैला दान दिँदा उसको शरीरमा कुनै पनि किसिमको समस्या उत्पन्न हुँदैन।' ब्रेन डेथ भएकाहरूको मिर्गाैला पनि प्रत्यारोपणका लागि औधि लायक हुने डाक्टरहरूले बताए। प्रत्यारोपण जुनसुकै उमेरका मानिसको पनि हुन सक्छ। 'यो कहिलेकाहीँ वंशाणुगत हुने भएकाले २२ महिनाको बच्चाको समेत किड्नी फेल भएको हुनसक्छ,' डा. शक्ति बस्नेतले भने। 
मिर्गौला जोगाउने तरिका
डाक्टरहरूका अनुसार मिर्गौलालाई सुरक्षित राख्न धेरै सजगता अपनाउनुपर्छ। कम्तीमा वर्षमा एक पटक मिर्गौलाको चेकजाँच गर्नुपर्छ। तौल सन्तुलनमा राख्नु र रक्तचाप नियन्त्रण गर्नु मिर्गौला बचाउने उपाय हुन्। औषधि प्रयोगमा सावधानी नअपनाउँदा पनि मिर्गौलाको रोग लाग्न सक्छ। सामान्य बिरामी हुँदा पनि औषधि प्रयोग गरिहाल्ने बानीले यो रोगको जोखिम बढेको डा. काफ्लेको ठम्याइ छ। स्वच्छ पानी प्रशस्त पिउन, नियमित व्यायाम गर्न, जाँडरक्सी तथा चुरोटबिँडीबाट टाढा रहने, सन्तुलित आहार गर्ने बानी बसाल्न चिकित्सकहरू सुझाव दिन्छन्। परिवारका कुनै सदस्यलाई पत्थरी, मधुमेहजस्ता रोगको संक्रमण भएमा विशेष सजगता अपनाउनुपर्छ।

'शत्रुलाई पनि यो रोग नलागोस्'

मेरो किड्नी फेल भएको चार वर्ष भयो। उपचार गर्दा–गर्दा भिखारी भइसक्यौँ। परिवारै अस्तव्यस्त भइसक्यो। दुई छोराछोरी छन् मेरा। छोरी कक्षा ५ मा पढ्छे, छोरो ३ मा। दुवै भक्तपुरको हिमालयन स्कुलमा पढ्छन्। बच्चाको फिस तिर्न नसकेर बिजोग भएको छ। श्रीमान् पनि रोगी हुनुहुन्छ। उहाँ अस्ति घरको भर्यााङबाट लडेर थलिएदेखि त हाम्रो बिचल्ली नै भएको छ। म मेसिनको भरमा बाँचिरहेकी छु। दुइटा डायलाइसिस गर्न फ्री भए पनि औषधि खर्च र डायलाइजर किन्नैपर्छ। ती असाध्यै महँगा छन्। हाम्रो आर्थिक स्रोत केही छैन। जग्गाजमिन सबै बेचिसक्यौँ। हामीलाई केही भयो भने छोराछोरी कहाँ जालान्, के गर्लान्, के खालान्? सम्भि्कँदै मुटु भक्कानिएर आउँछ। 'फी नतिरेकाले क्लासबाट निकालिदिए' भनेर रुँदै घर आउँछन्। मैले स्कुलका सरमिसलाई कति चोटि बिन्तिभाउ गरिसकेँ। तर, उहाँहरू हाम्रो कुरा बुझ्दिनुहुन्न। म त जिउँदै मरिरहेकी छु। अहिलेसम्म डोनर पनि भेेटिएको छैन। भेटिइहाले पैसा कहाँबाट ल्याउनु? यो रोग त शत्रुलाई पनि नलागोस्।
अनु नापित, चाँगुनारायण, भक्तपुर

Leave a comment

पोखरेली अनुको मस्ती

पोखरेली अनुको मस्ती

यो हप्ता पोखरेली मोडल अनु गुरुङको तस्बिर शुक्रवार ब्लोअपमा प्रकाशित भएको छ। भुपाल गुरुङको तस्बिरमा यमु गुरुङले शृङ्गार गरेकी छन्।

'काँडालाई प्रवेश निषेध!'

'काँडालाई प्रवेश निषेध!'

भनिन्छ, प्रेमका लागि एक पल पर्याप्त हुन्छ। अभिनेत्री नीता ढुंगानाले दशक लामो फिल्म करिअर धेरै पुरुषसँग संगत गरिन्। समाजले 'लायक'को परिभाषामा पार्ने सुन्दर, प्रतिभाशाली र धनाढ्य केटाहरू भेटिन्। तर, कहिल्यै...

सुसी बनाउने नेपाली हातहरू

सुसी बनाउने नेपाली हातहरू

समुद्रमा पाइने जालम माछा। यसलाई काँचै खानु स्वास्थ्यकर हो। मुटुलाई फाइदा गर्छ यसले। जापानी सससँग मज्जाले खान सकिन्छ। जापानी परिकार सुसी यतिबेला युरोपभरि लोकप्रिय छ।

पत्रकारिताका गुरुका नजरमा शुक्रवार

पत्रकारिताका गुरुका नजरमा शुक्रवार

प्रा. पी खरेलमेरो विचारमा नेपालबाट प्रकाशित साप्ताहिक पत्रिकाहरूमध्ये विविधता, लेखनशैली, चित्र प्रयोगका हिसाबले शुक्रवार अब्बल पत्रिकामा पर्छ। बजारमा थुप्रै पत्रिका स्थापित भइसकेको अवस्थामा शुक्रवार प्रकाशनमा आएको थियो। 

चार सय फिट उचाइमा स्टन्ट

अमेरिकी राज्य युटाहका २८ वर्षीय एन्डी लेविसलाई 'असली स्पाइडर म्यान' भन्ने धेरै छन्। केही साताअघि उनले साथीहरूसँग मिलेर चार सय फिट उचाइमा एउटा पातलो डोरीमा टेकेर अनेक स्टन्ट गरेपछि उनलाई...

पानीमा उन्मुक्त जवानी (फोटो फिचर)

पानीमा उन्मुक्त जवानी (फोटो फिचर)

अहिले पोखरामा रमाइलोको नयाँ बहाना जन्मिएको छ। स्विमिङ पुलमा गरिने डान्सपार्टीमा यहाँका युवायुवती आकर्षित भएका छन्। उनीहरू पानीमा आफ्ना जवानीका उमंग र जोश पोखिरहेका छन्। उनीहरू स्विमिङ पुलमा गरिने डान्सपार्टीमा...

भित्री खेल : गणेश थापाको आराम र तरंगहरू

भित्री खेल : गणेश थापाको आराम र तरंगहरू

पछिल्ला केही महिनादेखि विवादास्पद नेपाली फुटबलमा मंगलवार अर्को तरंग पैदा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले चार महिनाका लागि फुटबलसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबैखाले गतिविधिबाट...

एक तानाशाह, एक प्रेमी

एक तानाशाह, एक प्रेमी

राजनीतिमा लक्ष्यपूर्तिका लागि जस्तोसुकै हिंस्रक तौरतरिका पनि अवलम्बन गर्न संकोच नमान्ने जर्मन तानशाह हिट्लरले जीवनमा धेरै युवतीलाई मन पराए। तर, दुई युवतीसँगको उनको सम्बन्धमात्र चर्चा गर्न योग्य मानिन्छ।