Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

‘नाटक जीवनजस्तो, जीवन नाटकजस्तो'

(10 votes)
‘नाटक जीवनजस्तो, जीवन नाटकजस्तो'
nepali-patro-may
नेपाली नाटक क्षेत्रमा सुनिल पोखरेल सुपरिचित नाम हो। उनलाई रंगमञ्चको गुरु मानिन्छ। ‘आरोहण गुरुकुल'को स्थापना गरी उनले धेरैलाई रंगमञ्चको औपचारिक ज्ञान दिए। उनका कतिपय चेलाचेलीले अहिले रंगमञ्च र फिल्मबाट राम्रो चर्चा कमाइरहेका छन्। उनी भने फिल्म खेल्न फिटिक्कै रुचाउँदैनन्। नाटक नै आफ्नो ‘प्यासन' भएको बताउँछन्। ‘यही मेरो जीवन हो,' भन्छन् उनी। अहिलेसम्म ३५/४० वटा नाटक निर्देशन गरिसेका छन् उनले। उनीसँग सजना बराल र अम्मर जिसीले गरेको अन्तरंग कुराकानीः
 
के छ खबर?
ठीक छ। अनि, मेरो नाटक हेर्नुभयो?
छैन। नाटकको कथावस्तु सबै थाहा पाइसक्यौँ। तर, हेर्न पाएका छैनौँ। तपाईंहरू साँझ परेपछिमात्रै नाटक देखाउनुहुन्छ। हेर्नै अप्ठ्यारो पर्छ। रात परेपछि त घर पो जाने हो। यो नाटक भन्ने चिज दिउँसो देखाउन नमिल्ने हो र?
चलनै यस्तै छ। संसारभरि नै नाटक साँझ देखाइन्छ। तपाईंहरूले जस्तै कतिपयले घर फकर्िंदा रात पर्छ, गाडी पाइँदैन भनेर गुनासो गर्छन्। तर, हाम्रो चलनै यस्तै छ, साँझै देखाउँछौँ। बेलुका देखाउने बानी परेकाले होला दिउँसो नाटक देखाउने मुडै चल्दैन कलाकारलाई। दिउँसोको शो राम्रो पनि हुँदैन।
तपाईंले निर्देशन गरेको ‘रशोमन' नाटकमा दुई हात लामो खुकुरी हानाहानको दृश्य छ रे! अभिनय गर्ने, सिकाउने र दर्शकलाई समेत ‘रिस्की' हुने काम गर्नुभएछ नि?
नांगो खुकुरी खेलाउँदा दुर्घटना नहोला भन्न सकिन्नँ। तर, दुर्घटना हुन्छ भनेर नाटकै नदेखाउने कुरा भएन। कामसँग डराएको भै'गो नि त्यो त। तर, मैले केटाहरूलाई ‘नक्कली खुकुरी राख्ने कि?' पनि भनेको थिएँ। उनीहरूले ‘होइन, सक्कली नै राखौँ, हामी गर्न सक्छौँ' भने। सक्कली प्रयोग गर्दा जति मज्जा आइरहेको छ, नक्कलीमा त्यति आउँदैन थियो। तर, यो खुकुरीका कारण मैले स्टेज बढाएर दर्शकको संख्या चाहिँ घटाएको छु। सर्वनाम थिएटरमा १ सय ५० जना दर्शक अटाउँछन्। मैले १२० जनालाई मात्रै नाटक देखाइरहेको छु।
रिहर्सल गर्दा कत्तिको चोटपटक लाग्यो?
उनीहरू प्रोफेसनल मान्छे हुन्। त्यस्तो गाह्रो–अप्ठ्यारो केही परेन। तर, दुई जनाको जीउमा खुकुरीले होइन, बाँसले कोतरेछ। बाँसको सेट भएकाले दुःख पाएँ। मेरो हातमा चाहिँ खुकुरीले नै चुस्स काटेको छ।
तपाईंको नाट्य करिअरमा यस्ता दुर्घटना कति भए?
एउटामात्रै भएको छ। ०३८ सालतिर म भर्खर–भर्खर नाटकमा लागेको बेला दुर्घटना भएको थियो। त्यो बेला मैले गिलास फोर्नुपर्ने ‘सिन' थियो। मैले यस्तरी फोरेछु कि सिसाले हात काटेर तररर रगत चुहिएछ। तर, मैले चालै पाइनँ। म चुर्लुम्मै नाटकमा डुबेको रहेछु। हात काटेको, रगत बगेको केही पत्तो पाइनँ।
त्यसरी पनि डुबिन्छ र भन्या?
डुबिन्छ नि। मेरा लागि त नाटक ‘मेडिटेसन' हो। नाटक खेल्न थालेपछि म शून्यमा पुग्छु। अगाडि बसेका दर्शक, छेउको को–एक्टर र आफैँलाई पनि बिर्सिन्छु कहिलेकाहीँ। र, पूर्णतः पात्रमा प्रवेश गर्छु। नाटकको ‘ह्याङओभर' लामै समय रहन्छ मलाई। घर पुग्दासमेत पात्रमै हराइरहेको हुन्छु कहिलेकाहीँ त।
जीवन नै नाटक भइदिन्छ होला त्यो बेला?
होइन, दुई थोक हुन्छ। एक, जीवन नाटक भइदिन्छ। अर्को, नाटक चाहिँ जीवन भइदिन्छ। हामीले जीवनमा भोगेका अनुभवहरू त नाटकमा आउँछन् नै। कहिलेकाहीँ नाटकै पनि जीवनमा फर्किदिन्छ। नाटक जीवनमा आएको बेला दुनियाँका सारा चिजबिज दिमागबाट हराउँछन्। म शून्यमा पुग्छु। नाटक र जीवनबीच असाध्यै पातलो धर्सो छ। त्यो धर्सोको वारपार गरिरहेको हुन्छु म।
तपाईं गुरु पनि हुनुहुन्छ। तपाईंले नाटकलाई जति महसुस गर्नसक्नु हुन्छ र जति महसुस गराउन खोज्नुहुन्छ, तपाईंका चेलाचेलीले त्यति ग्रहण गर्न सक्छन् कि सक्दैनन्?
कतिले सक्छन्, कतिले सक्दैनन्। एउटै क्लासका सबैजना फर्स्ट नभएजस्तै त हो नि। तर, पछिल्लो समय थरीथरी सोच भएका युवा नाटकमा छिरेका छन्। नाटक हेर्ने दर्शक पनि अधिकांश युवा छन्। नाटकमा युवा सहभागिता बढ्नु भनेको यसको भविष्य सुन्दर छ भन्ने संकेत हो। नेपालमा नाट्य क्षेत्रले ठूलो फड्को मार्ने लक्षण देखाइरहेको छ।
नाटक खेल्नलाई अभिनयबाहेक अरू पनि केही गुण चाहिन्छ?
निरन्तर अभ्यास र धैर्य चाहिन्छ। यी गुण छैनन् भने नाटक होइन, फिल्म, टेलिफिल्म खेल्न गए हुन्छ। फिल्म खेलेपछि तुका तु नाम र दाम कमाइन्छ। अझ, नेपाली फिल्ममा त झनै सजिलो छ। तर, नाटकमा त्यस्तो हुँदैन। नाम र दाम कमाउन निकै धैर्य गर्नुपर्छ। अभ्यास त गर्नैपर्‍यो।
गुरुकुलको काम के हुँदैछ? यो स्थगनमात्रै भएको, समाप्त भएको होइन भन्नुभा'थ्यो। अहिलेसम्म अत्तोपत्तो छैन...
‘प्रोसेस'मै छ। सरकारले भाडामा जग्गा उपलब्ध गराउने भनेको छ। थप कुराकारी भएको छैन। जति छिटो प्रोसेसिङ हुन्छ, त्यति छिटो गुरुकुल पुनःस्थापित हुन्छ। विराटनगरको गुरुकुल सुचारु नै छ। ‘बेस' (काठमाडौँको गुरुकुल) बलियो बनाएपछि देशका अन्य शहरमा पनि यसका शाखा खोल्ने सोचमा छौँ।
अहिले रंगकर्मीहरू भटाभट फिल्म खेल्नतिर लागेका छन्। अरूको तुलनामा तपाईं अलि कम देखापर्नुहुन्छ फिल्ममा। किन होला?
रंगकर्मीले फिल्म खेल्नु राम्रै कुरा हो। यसले उनीहरूलाई आर्थिक सुरक्षा दिन्छ। तर, फिल्मतिर लागेर आफ्नो जरो बिर्सिनु हुँदैन रंगकर्मीले। मलाई चाहिँ वास्तवमा फिल्ममा फिटिक्कै, पाँच पैसाको पनि रुचि छैन। जति खेलेँ त्यो पनि साथीभाइको वचन हार्न नसकेरमात्रै खेलेको हुँ। फेरि, मैले खेलेका फिल्म चल्दा पनि चल्दैनन्। ‘मलाई नलेओ, तिमीहरूको फिल्म डुब्छ' पनि भन्छु, मान्दैनन्। मन नलागी–नलागी खेल्दिन्छु। तर, हेर्न चाहिँ औधी मन पर्छ फिल्म। एकताका त दिनको पाँचवटासम्म फिल्म हेर्थें।
नाटक खेल्नेले फिल्म खेल्नेलाई अलि नगन्ने प्रवृत्ति छ रे, हो?
होइन। नाटक र फिल्म एकअर्काका दुश्मन होइनन्। यिनिहरूबीच प्रतिस्पर्धा पनि हुँदैन। यी त एकअर्काका ‘कम्प्लिमेन्ट' हुन्। त्यसकारण, एकले अर्कालाई हेप्ने, नगन्ने भन्ने कुरा हुँदैन। तर, दुवै विधाकाले गर्ने चिज एउटै (अभिनय) भए पनि यी दुईबीच फरक चाहिँ छ। नाटक भनेको जीवनजस्तै हो। तर, फिल्म जीवनभन्दा अलि बढी हुन्छ। जीवनमा एक पल्ट गल्ती भए पछि भयो, भयो। त्यसलाई ‘अनडू' गर्न मिल्दैन। नाटकमा पनि त्यही लागू हुन्छ। फिल्ममा भने गल्ती हजारौँ भए पनि ‘रिटेक' लिएर सुधार्न सकिन्छ।
खुब रक्सी पिउनुहुन्छ। किन होला?
पहिले धेरै पिउँथेँ। अहिले कम भइसक्यो।
लभ–म्यारिज गर्नुभएको होइन?
लभ र अरेन्ज्ड हो। अन्तरजातीय भएकाले मेरो घरकाले स्वीकृति दिएनन्। केटी माग्न बद्री अधिकारी, हरिहर शर्मा, शैलेश आचार्य आदि गएका थिए। इन्गेजमेन्ट गरेको तीन/चार वर्षपछि बिहे गर्‍यौँ। बिहेमा पनि घरबाट सुगमबाहेक कोही आएनन्। ऊ सानो थियो त्यो बेला। निशासँगै सुत्थ्यो। अहिले निशासँगै डरले थुरथुर हुन्छ। उसले जे भन्यो, त्यही मान्छ।
तपाईंले कपाल पाल्न थालेको कति भयो? घाँटीमा माला पनि झुन्ड्याउनुभएको छ। बडो धार्मिक हुनुहुन्छजस्तो छ?
पूजापाठ, पण्डित्याइँ, कर्मकाण्डमा होइन, म अध्यात्ममा विश्वास गर्छु। यो माला खासमा बुद्धको माला हो। तर, मैले पशुपतिमा तीन दिन तान्त्रिक अनुष्ठान गरेर लगाएको हुँ। यो लगाउन थालेको ८/१० वर्ष भइसक्यो। कपाल पाल्नुको चाहिँ कारण छ। बिहान मुख धुँदा कहाँसम्म निधार छ भनेर कन्फ्युज्ड हुन्छु आजकल। तालु बढ्न थालिसक्यो। अब धेरै दिन कपाल देख्न पाइएलाजस्तो छैन भनेर कपाल पालेको हुँ। नाटकलाई पनि लामो कपाल चाहिन सक्छ, पालिराखे सजिलै हुन्छ।
जहिले पनि नाटक, नाटक! कहिलेकाहीँ नाटकदेखि वाक्क लाग्दैन?
नाटक देखाइसकेर हलबाट सेट निकाल्न थालेपछि चाहिँ विरक्त लाग्छ। ती निर्जीव सामानहरू ठ्याङठुङ बजेको देख्दा ‘के नक्कली काम गरेको होला मैले?' जस्तो लाग्छ। एकपल्ट चाहिँ नाटक देखेरै दिक्क भएको थिएँ। छोरो सानो थियो, ल्याक्टोजिन दूध किन्ने पैसा नभएर हैरान भएको थियो। त्यो बेला नाटकदेखि रिस उठेको थियो। त्यसपछि कहिल्यै उठेन।
छोरालाई पनि नाटकतिर लगाउने होला नि?
ऊ जता लाग्छ, त्यतै लगाउने। मैले पनि बाआमाले भनेको जागिर खाइनँ। आफैँले रोजेको बाटो समाएँ। छोरालाई पनि यो गर्, त्यो गर् भन्दिनँ। तर, उसले सानैमा नाटक खेलिसक्यो। अहिले ग्य्राजुएसन गर्दै छ। ‘पढाइमा ध्यान दे' भनेका छौँ। उसले पढाइ सकेपछि नाटक निर्देशन गर्छु भनिरा'को छ। हेरौँ, के गर्छ?

Leave a comment

सेलिब्रिटी-पत्रकार सम्बन्ध

अभिनेत्री निशा अधिकारीले केही दिनअघि पत्रकारहरूको वर्गीकरण गरिनुपर्छ भन्दै व्यंग्यात्मक स्ट्याटस फेसबुकमा लेखेकी थिइन्। पत्रकारहरूले एक प्लेट मःमःको भरमा समाचार लेख्छन् भन्ने आरोप उनको स्ट्याटसमा मुछिएको छ। उनको व्यंग्यप्रति केही...

मोडलका व्रत

मोडलका व्रत

रोजी भुसालतीजमा मन्दिर जान, पूजा गर्न खूब मन पर्छ। शिवभक्त भएकीले तीजमा व्रत बस्नु परिहाल्यो। कडा व्रत चाहिँ बस्दिनँ। बेलुका पूजा सकाएर खाना खान्छु। साथीहरूसँग नाचगान गरी रमाइलो गर्छु।

कोलकातामा पूर्वेली कला र सुन्तला

कोलकातामा पूर्वेली कला र सुन्तला

पूर्वको झापा बाहुनडाँगीका अर्जुन कार्की बाँसुरी बोकेर घरबाट निस्के। धुलाबारी होराइजन स्कुलकी शिक्षिक रेखा क्षत्री गुन्यूचोलोसहित आफ्ना नृत्यांगना छात्रा लिएर निस्किन्। उता इलाम सलकपुरका रोमश अधिकारी, कुमार मोक्तान, सुवास तामाङको...

ऊ उता, म यता : माया कता-कता !

ऊ उता, म यता : माया कता-कता !

भनिँदै, सुनिँदै आएको कुरा हो– प्रेमले भूगोल भन्दैन, दूरी भन्दैन, समुदाय भन्दैन, धनी–गरिब भन्दैन । तर, हामी यति सरल दुनियाँमा बाँचिरहेका छैनौँ कि सम्बन्धहरूमा कुनै जटिलता नहुन्। सन्दर्भ हो– भौगोलिक...

गोली भएर आफैँतिर नफर्कियोस् बोली!

नेपालमा नेता बन्न ढङ्ग चाहिँदैन। अभिनेताले झैँ श्रोतालाई दङ्ग पार्न कर्णप्रिय भाषण छाँटिदिए पुग्छ। विपक्षीका वक्षभेदन गर्न सक्ने गालीसँगै ताली पिटिटी पड्किन थाल्छ। गाली पनि प्रधानमन्त्री ओलीले जस्तै भाँती पुर्यागएर...

'फिल्म फ्लप, देश लथालिंग'

'फिल्म फ्लप, देश लथालिंग'

रेडियो जक्कीका रूपमा केही समय बिताएका राजवल्लभ कोइराला फिल्म 'पर्खी बस'बाट अभिनेताका रूपमा उदाएका हुन्। पहिलो फिल्म नै सुपरहिट भएपछि उनलाई फिल्म खेल्ने अफरको ओइरो लाग्यो। पढेलेखेका र राम्रो अभिनय...

सरकारी व्याकरण अनेक, गैरसरकारी व्याकरण एक !

तपाईं शुद्ध लेख्न चाहनुहुन्छ भने तपाईंले व्याकरणको सहारा लिनै पर्छ। नेपाली भाषालाई शुद्ध लेख्न सिकाउने सरकारी व्याकरणहरू पनि पाइन्छन् र गैरसरकारी व्याकरण पनि पाइन्छ। लोकतन्त्रमा आफूलाई मन लागेको कुरा रोज्नुहोस्।

ओलीको बोलीसंग्रह

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मिति, मौका, प्रसंग र प्रकरणमा सार्वजनिक रूपमा बोलेका कडा, चर्का एवं रमाइला कुरा यस्ता छन्ः