Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'हो, म असामाजिक प्राणी हुँ'

  • बिहीबार २२ जेष्ठ, २०७१
  • धनबहादुर खड्का
  • Be the first to comment!
(13 votes)
'हो, म असामाजिक प्राणी हुँ'
कुनै बेला नेपाली फिल्म निखिल उप्रेतीमय थियो। फिल्म 'पिँजडा' मा सात तलाबाट हाम फाल्ने साहसी 'स्टन्ट'सहितको डेब्यूपछि उनी रातारात स्टार भए। बाइक उडाउनेदेखि उडेर किक हान्नेसम्मका स्टन्ट उनले नेपाली फिल्ममा भित्र्याए। उनी गफ गर्न पनि सिपालु छन्। चार वर्षमा १ सय २० फिल्ममा अभिनय गरे। अभिनेत्री सञ्चिता लुइँटेलसँग विवाह गरेपछि मुम्बई हानिएका उनी त्यसपछि नेपाली फिल्ममा फर्किएनन्। चार वर्षपछि भारतीय लगानीमा हिन्दी फिल्मको नेपाल छायांकन गर्ने योजनाअन्तर्गत उनी नेपाल आएका छन्। उनीसँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानीः

nepali-patro-may
तपाईंको करिअरका लागि प्रेम र विवाह महँगो सावित भयो, है?
म त्यति बेवकुफ छैन, प्रेमलाई करिअर र पैसासँग दाँज्ने। प्रेम त सुनपानीभन्दा पनि चोखो चिज हो, यो कहिल्यै अपवित्र हुँदैन। त्यसैले प्रेमलाई केहीसँग दाँज्न मिल्दैन।
 
यो तर्क भयो। तथ्यमा पछिल्लो प्रेमविवाहका कारण तपाईं स्टार निखिलबाट आजको निखिल हुनपुग्भएको त हो नि?
स्पष्ट पार्न चाहन्छु– यो घटनामा निखिल उप्रेतीको मात्रै हात छ। किनभने निखिल 'ओभरस्मार्ट' मान्छे हो, मीठो कुरा गर्छ र कन्भिन्स गर्ने दक्षता राख्छ। निखिलले त्यो क्षमता प्रयोग गरेपछि उनीहरू हिस्सेदार हुन आइपुगेका हुन्। त्यसैले मेरो जीवनको उतार वा चढावमा उनीहरूको दोष छैन। विवाहले मेरो करिअर तलमाथि पारेको होइन। मैले पहिले नै भनेको थिएँ, सयवटा फिल्म खेलेपछि आफूलाई रोक्छु। त्यतिञ्जेल १ सय २० पुगिसकेका थिए। त्यसैले नयाँ कुरा सिक्ने र जीवनलाई नयाँ तरिकाले अघि बढाउन नेपाली फिल्मबाट विश्राम लिइरहेकै बेला प्रेम स्विकारेँ। यो संयोगमात्रै थियो।
 
तपाईंले पवित्र मान्ने एउटाको प्रेमलाई स्विकार्दा अर्काको प्रेममाथि चाहिँ घात हुन पुगेन र?
एउटा परिवारवाला पुरुष बिहान उठेदेखि कृष्णको पूजा गर्छ र भन्छ– मेरो लगाव भगवानसँग छ। ऊ कृष्णप्रेमी भयो। ऊ पनि त प्रेमबाट 'डाइभर्ट' भइरहेको छ नि। जब ऊ आफ्नो प्रेम ढुंगासँग साट्छ, उसको प्रेम निष्ठावान् र असल हुन्छ रे। त्यही प्रेम अर्को प्रेम आकांक्षीसँग प्रस्तुत गर्छ भने चरित्रको कुरा आउँछ। मलाई अघिल्लो प्रकारको प्रेमी पनि 'चिटर' हो जस्तो लाग्छ, पछिल्लोलाई मान्ने हो भने। दुनियाँका सबै प्रेमी अतृप्त छन्। कोही ढुंगालाई प्रेम दर्शाउँछन्, कोही मान्छेलाई।
 
तपाईंको यो दार्शनिक गफ सुन्नमा रमाइलो छ। तर, मान्छे सामाजिक प्राणी हो। समाज र यथार्थलाई पनि त स्विकार्न सक्नुपर्छ नि।
म पनि मान्छु– मानव सामाजिक प्राणी हो। तर, समाजले चलाएका सबै प्रचलन सही हुन्? मलाई लाग्छ समाज जहिले पनि कमजोर कडीले जोडिएको हुन्छ। हाम्रो समाज सही भएको भए हामीले अमेरिका जान मरिहत्ते गर्नुपर्दैनथ्यो। हाम्रो समाजमा त्यस्ता व्यक्तिको बाहुल्य छ, जसले जीवन नै बुझ्नसकेका छैनन्। हाम्रो समाजमा अहिले पनि ट्वाइलेटबाहिर बोर्ड राख्नुपर्छ, 'दिसा गरेपछि साबुनपानीले हात धोऔँ।' काठमाडौँजस्तो ठाउँमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था छ। हामी जंगली युगभन्दा कति टाढा रहेछौँ त? मलाई लाग्छ, जंगलमात्रै मासिएको हो। हाम्रो व्यवहार उस्तै छ। यस्तो समाजका लागि म असामाजिक प्राणी हुँ।
 
धर्ममा विश्वास गर्नुहुन्छ?
म शाकाहारी भएपछि साथीहरूले 'धर्मकर्ममा लाग्या हो?' भनेर सोध्छन्। के हो धमकर्म? मलाई स्वर्गको आशा छैन। त्यहाँ गएर आप्सरासँग नाच्ने मोह पनि छैन। किनभने, अप्सराभन्दा राम्री हिरोइनसँग नाच्ने अवसर त यहीँ जुटाइसकेको छु। धर्मका नाममा बनाइएका कम्युन (हिन्दू, मुस्लिम, इसाई आदि) मा विश्वास गर्दिनँ। म धार्मिकतामा विश्वास गर्छु, जुन मभित्र छ।
 
तपाईं आफूलाई असामाजिक ठान्नुहुन्छ। तर, आजको हिरो निखिल उप्रेती त यही समाजले बनाइदिएको होइन र?
मलाई समाजले नै बनाएको हो। एउटा फिल्मबाट मैले बबाल चर्चा पा'को हो। त्यसपछि चर्चामाथि चर्चा पाइरहेँ। चार वर्ष यति व्यस्त भएँ कि राम्ररी सुत्न पनि पाइनँ। दर्शकले हिरो सम्भि्कए। मलाई चिन्ने अरूलाई पनि सोधे हुन्छ, मैले कहिल्यै 'हिरोइज्म' देखाइनँ। मेरो सरलता देखेर कति दर्शकले प्रत्यक्ष भेट्दा पत्याउँदैनथे। म कन्फ्युज्ड हुन्थेँ– साँच्चै निखिल यति तारिफयोग्य मान्छे हो त? म दर्शकपट्टि हेर्थें, उनीहरूको माया लाग्थ्यो। यो न राम्रो अभिनय गर्न जान्दछ, न राम्रो डान्स गर्न जान्दछ, जोशमा उफ्रिन्छ, त्यत्तिका लागि यत्रो माया! पछि लाग्थ्यो, यहाँ स्टारको खाँचो छ। तर, त्यो म होइन। त्यसैले साथीहरूलाई भन्थेँ, सय वटा फिल्म खेलेपछि रोक्छु। तर, १ सय २० पुगिसकेछन्। मेरो पनि जीवन छ। हिरो भएर वाहवाही कमाएमात्रै मर्न चाहन्नँ।
 
तपाईंलाई थाहा थियो– तपाईंलाई एक्टिङ आउँदैन, डान्स आउँदैन। तर, सिक्ने प्रयास गर्नुभएन। लगातार यत्रो फिल्म खेलिदिनुभयो। निर्माता र दर्शकमाथि अन्याय गरे जस्तो लाग्दैन?
यहाँ पारिश्रमिक कति पाइन्छ? कलाकारिता आफैँमा धनी पेशा हो। म त किसान परिवारको मान्छे। त्यसैले अभावैअभावले भरिएको अनुहारमा कलाकारिता अलिकतिमात्रै देखिनु ठूलो कुरा हो भन्ने ठान्छु। किनभने, अभावग्रस्त अनुहार लिएर धनीको भूमिका निर्वाह गर्नु सजिलो कुरा हो र? नेपाली फिल्म क्षेत्रबाट २६ लाख रुपैयाँ अझै उठेको छैन। चार वर्षअघि त्यो कति फिल्मको पारिश्रमिक थियो होला? त्यसैले आफ्ना आवश्यकता पूरा गरे डान्स र अभिनय सिक्नका लागि पारिश्रमिकले पुग्दैनथ्यो। त्यसैले धेरै भन्दा धेरै फिल्ममा खेल्न जरुरी थियो। अहिले पनि नेपाली कलाकारले कति पाउँछन् र? उनीहरूलाई अनिवार्य आवश्यकता पूरा गर्न पनि मुश्किल छ। त्यसैले अबको फिल्ममा निखिललाई हेर्नुहोला। उसमा पूर्ण परिपक्वता भरिएको हुनेछ।
 
कुनै दिन तपाईंको क्रेज यस्तो थियो कि बलियो निर्माताले आफ्नो फिल्ममा खेलाउन सुटिङ स्पटबाटै 'किड्न्याप' गरेर लग्थे। आज यस्तो दिन छ– फुर्सदैफुर्सदमा हुनुहुन्छ। कस्तो लागिरहेको छ?
ठीक भन्नुभयो। एउटा फिल्ममा खेलाउन कति पावर र बल प्रयोग गरिन्थ्यो, त्यसको रमाइलो अनुभव गरेको छु। फिल्ममा व्यस्तताका चार वर्ष मेरा लागि स्वर्णिम थिए। तर, करिअर र पैसालाई पर राख्ने हो भने फुर्सदिला चार वर्षमा मैले आफ्नो जीवनलाई नजिकबाट बुझ्ने मौका पाएँ। यी पनि कम उपलब्धिमूलक छैनन्। जहाँबाट पनि कुरा त्यहीँ ठोकिन्छ कि प्रेमले निखिललाई बर्बादै पार्यो । म आफैँले यो जीवन रोजेको हुँ।
 
लामै समय मुम्बई बस्नुभयो। बलिउडतिर ट्राई गर्नुभएन?
बलिउडमा इन्ट्री गर्न मैले ठूलै प्रयास गर्नुपर्दैनथ्यो। पहिले पनि केही समय त्यतै काम गरेकाले त्यहाँ मेरा थुप्रै साथी छन्। तर, इन्ट्रीका लागि इन्ट्री गर्न चाहन्नँ। नेपालको हिरो हुँ। १ सय २० फिल्मको अनुभव छ। त्यसैले लिड क्यारेक्टरमै इन्ट्री गर्न खोज्दा ढिलो भइरहेको हो। नोटिस हुनका लागि त मैले त्यहाँ गेस्ट आर्टिस्टका लागि 'पेज थ्री'ले गर्ने अम्बेडकर अवार्ड पनि पाइसकेको थिएँ। त्यसैगरी रानी मुखर्जी, रोहित सेट्टी मेरा क्लासमेट हुन्। अरू साथी पनि असिस्टेन्टका रूपमा काम गरिरहेका छन्। उनीहरूले पनि सघाउँथे होलान्। तर, मैले त्यसरी इन्ट्री गर्न चाहिनँ। म त नेपाली दर्शकले मन पराएको हिरो हुँ। किन सानो रोलमा गएर मेरा दर्शकको मानमर्दन गर्ने भन्ने लाग्छ।
 
यो खाली समय नेपाली र भोजपुरी फिल्ममा किन काम नगर्नुभएको?
दुवैतिर अफर आइरहन्थे तर गरिनँ। केही सिकेँ, केही प्रोजेक्ट डिजाइन गरेँ। पछिल्लो समय मैले स्काई डाइभिङ सिकेँ। सायद यसका लागि लाइसेन्स पाएको नेपाली नागरिकमा म एकजना हो। हिन्दी फिल्ममा काम गर्ने पक्का भएको छ। अब राम्रो नेपाली फिल्ममा पनि काम गर्छु।
 
तपाईंले गर्ने भनेको हिन्दी फिल्म कहाँ पुग्यो?
केही समयमै सुटिङ सुरु हुन्छ। यसका लागि पूर्वतयारी लगभग सकेका छौँ।
 
एक्सनमा रुचि कसरी जाग्यो?
एक्सनप्रतिको मेरो रुचि ज्याकी चेनले जगाइदिएका थिए। तेक्वान्दो सानैदेखि खेलेको थिएँ। त्यसपछि उसु सिकेँ। फिल्ममा ती सीप काम लागे।

Leave a comment

चम्किलो अनुहार मलिन मोडलिङ

चम्किलो अनुहार मलिन मोडलिङ

ग्ल्यामर र मनोरञ्जनको दुनियाँ जति चम्किलो र सुन्दर देखिन्छ, त्यति नै अँध्यारो र कुरूप छ यसको यथार्थ। अखबारका पाना र टीभीका स्त्रि्कनमा अनुहार देखाउन लालायित युवतीहरूको संख्या ठूलो छ। कसैले...

तारिफमा तैरिरहेकी तेरिया

तारिफमा तैरिरहेकी तेरिया

नेपाली चेली तेरिया मगरले भारतीय टेलिभिजन जीटीभीको डान्स इन्डिया डान्स लिटिल मास्टर्स, तेस्रो संस्करणको उपाधि जितेकी छिन्। उनले केबी कप, १० लाख भारु र थुप्रै आकर्षक पुरस्कार पनि प्राप्त गरेकी...

मौन कांग्रेस

मौन कांग्रेस

नयाँ संविधान जारी हुने क्रममा नेपाली कांग्रेसले आफू सत्ताको नयाँ समीकरणमा नअट्ने र पछाडि धकेलिने संकेत पाइसकेको घटनाक्रमले प्रस्ट्याएका छन्। संविधान जारी गर्ने मिति केही समय पछि सार्ने कांग्रेसको इच्छा...

कोकाकोला ज्यानका लागि कसरत

कोकाकोला ज्यानका लागि कसरत

'कोकाकोला ज्यान'– अशिष्मा नकर्मीका लागि बनाइएको गीत हो यो। निर्माण क्रममा रहेको फिल्म 'अधकट्टी'मा राखिने यो गीतमा अशिष्माले 'कोकाकोला ज्यान' देखाउनुपर्नेछ। यो चुनौती उनलेे सहर्ष स्विकारेकी छिन्। 

थारु पहिरनमा रेखा

थारु पहिरनमा रेखा

रेखा थापा र छोटो पहिरन कुनै बेला एकअर्काका मानौँ पर्याय थिए। तर, पछिल्ला वर्षमा रेखाको पहिरन शैली फेरिएको छ। 

सिलिकन भ्यालीबाट : कहाँ पुग्ने? स्मार्टफोनमै हेर्नुस्

सानफ्रान्सिस्को जाने कि साक्रामेन्टो? गिलरोय जाने कि लस एन्जलस? मोबाइल फोन या ट्याबलेटमा भएको गुगलम्यापमा हेर्दै त्यसअनुसार घरबाट निस्किँदा भनेकै समयमा पुग्न सकिन्छ।

बालबालिकामा एप्सको प्रभाव

तपाईंका बालबालिका मोबाइलमा कत्तिको झुत्तिन्छन् ? अझै स्मार्टफोन र ट्याब्लेटमा डाउनलोड गर्न मिल्ने एप्समा कति समय बिताउँछन्? होस् गर्नुहोला। स्मार्टफोन र ट्याब्लेटका एप्सले पत्तै नपाई तपार्इं हाम्रा बालबालिकाको सबै विवरण...

मुड अन!

मुड अन!

जस्तै दुःख–कष्टमा पनि हाँस्न सक्ने भनेर संसारमै कहलिएको जाति हो नेपाली। अभाव, गरिबी, प्राकृतिक प्रकोप र सारा प्रतिकूलताबीच पनि नेपालीको अनुहारमा मुस्कान छुट्दैन।वैशाख १२ को शक्तिशाली भुइँचालोले धेरै थोक भत्काए...