Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

फिट त रहनैपर्छ

(2 votes)
फिट त रहनैपर्छ
नयाँ पुस्ताको जिब्रैमा झुन्डिएको शब्द हो– क्लब। क्लब भनेपछि बिहानपख हेल्थ क्लब बुझ्ने नयाँ पुस्ताले दिउँसो फुटबल क्लब त साँझमा डान्स क्लब बुझ्छ। सुगठिलो ज्यान बनाएर शारीरिक रूपमा फिट रहन भन्दै हेल्थ क्लब धाउँछन् तन्नेरीहरू। बिहान होस् वा साँझ, समय मिलाएर दैनिक शारीरिक व्यायाम गर्न क्लब धाउने राजधानीमा थुप्रै छन्। तन्नेरीदेखि पाकाले फिटनेसमा चाख देखाएपछि शहरमा फिटनेस सेन्टर, हेल्थ क्लब, स्पाको संख्या बढ्दै गएको छ।
nepali-patro-may
काठमाडौँ, चाबहिलका राहुल श्रेष्ठ (२३) झिसमिसेमै हेल्थ क्लब जान्छन्। 'क्लब जाने साथीहरूका गठिला पाखुरा देखेर मलाई पनि क्लब जान मन लाग्यो,' राहुलले भने, 'सुरुसुरुमा बिहान ओछ्यान छोड्नै टेन्सन हुन्थ्यो। तर, अब बानी परिसक्यो।' नियमित एक वर्षसम्म क्लबमा जिम तथा कार्डियो फिटनेस गरेपछि बनेको उनको शरीर देखेर साथीहरू छक्क पर्छन् भने उनी आफू पनि दंग छन्। 'क्लब नगएको भए कसरी बन्थ्यो यस्तो ज्यान?' पाखुरा देखाउँदै उनले भने।
राहुलभन्दा एक वर्षअघि क्लब जान थालेका उनकै साथी भुवन सिंखडा (२५) ले आकर्षक शरीरकै कारण आफूले चाहेको जस्तो गर्लफ्रेन्ड पाएको बताए। 'उनैलाई प्रभावित गर्न हेल्थ क्लब जोइन गरेँ,' उनले भने, 'डेढ वर्ष दुःख गरेर यो ज्यान बनाइयो। उनी पनि दंग, म पनि फुरुङ।' साथी सर्कलमा आफ्नो शरीरको चर्चा हुन थालेपछि राहुल र भुवन मख्ख छन्। 'हाम्रो ज्यान देखेर कलेजका धेरै साथीहरूले जिम जोइन गरिसके,' राहुलले भने।
मोडलिङको सपना देखेर फिटनेस सेन्टरमा पसेकी हुन्, नयाँ बानेश्वरकी २२ वर्षीया स्वस्तिका पोखरेल। 'मोडलिङमा एट्राक्टिभ बडी चाहिन्छ भने सबैले,' उनले भनिन्, 'त्यसका लागि फिटनेस सेन्टर नगई सुखै पाइएन।' मासिक पाँच हजार रुपैयाँ तिरेर फिटनेस सेन्टरमा एरोबिक, जुम्बा र साइक्लिङ गर्छिन् उनी। 'बडी फिट राखे त आफ्नै लागि फाइदाजनक हो,' उनले भनिन्, 'सेन्टरले पूरै लाइफ स्टाइल हेल्दी राख्न सिकाउँछ। स्वास्थ्य नै धन हो भन्ने मैले बुझेकी छु।'
शारीरिक रूपमा फिट एन्ड फाइन रहनकै लागि मोडल राज घिमिरे हरेक बिहान फिटनेस सेन्टरमा देखापर्छन्। हरेक बिहान दुई घण्टा अभ्यास गर्ने उनी बताउँछन्। 'सानैदेखि ज्यानलाई फिट राख्नुपर्छ जस्तो लाग्थ्यो। निर्देशक तुलसी घिमिरेले भनिराख्ने 'हेल्थ इज वेल्थ, नलेज इज पावर' स्लोगनबाट प्रेरित भएर म फिटनेस सेन्टरमा भर्ना भएँ,' उनले भने। दिनमा एकपटक जिम तथा फिटनेस सेन्टर गइएन भने खानै नपच्ने राज बताउँछन्। दक्ष प्रशिक्षकबाट तालिम लिनुपर्ने उनको भनाइ छ। 'हचुवाको भरमा ज्यान बनाउने सुरमा जे पायो त्यही गर्योब भने शरीर सपार्न नमिल्ने गरी बिग्रन्छ,' राजले भने, 'ब्लेडजस्तै हो जिम। मिलाएर काटे दारी काट्छ, नत्र दारा।'
बल्खुस्थित ब्रदर्स जिम क्लबमा बिहानै असिनपसिन भेटिएका सुरेश थापा (२७) ले पनि नियमित जिम जान्छन्। 'नियमित व्यायाम गर्छु। सन्तुलित आहार खान्छु। र, चाहिएजति रेस्ट गर्छु,' उनले भने। कुलेश्वरका ४५ वर्षीय दिनेश गिरी पनि सोही क्लबमा जान्छन्। 'सबैको नजर पहिला ज्यानमै पर्छ,' उनले भने, 'मिलेको ज्यानमा जस्तो लुगा पनि सुहाउँछ।' रोगहरूबाट टाढा रहनका निम्ति पनि शारीरिक अभ्यास अत्यावश्यक हुने उनको भनाइ छ। 'बुढो हुँदै जाँदा शारीरिक निष्त्रि्कयता बढ्दै जान्छ। पसिना चुहाउने अवसर मिल्दैन। पसिना थुपारेर राखे रोग पनि थुप्रन्छ,' उनले भने।
शारीरिक तन्दुरुस्तीका लागि भन्दै बिहान–साँझ घरबाहिर निस्कने धेरैलाई गतहप्ता सार्वजनिक एक तथ्यले तर्साइदियो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन प्रतिवेदनले काठमाडौँ उपत्यकामा बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ७ बजेदेखि ९ बजेसम्म शारीरिक अभ्यासका लागि घरबाहिर निस्कन घातक हुने जनाएपछि धेरैको आङ सिरिङ्ङ भयो। छ महिना लामो अध्ययनले उपत्यकाको वायुमा फोक्सोसम्म सीधै पुग्न सक्ने धुलोका कण अत्यधिक रहेको जनाउँदै मर्निङ तथा इभिनिङवाकले श्वासप्रश्वास, मुटु, आँखा र छाला रोगको उच्च जोखिम रहने बतायो। 'यस्तो असुरक्षित शहरमा कसले गर्छ मर्निङवाक?' मर्निङवाक त्यागेर फिटनेस सेन्टर धाउन थालेका ताहाचलका विश्वास श्रेष्ठले भने। ४९ वर्षीय श्रेष्ठ फिटनेस सेन्टर तथा हेल्थ क्लब शहरका लागि बाध्यता बनेको बताउँछन्। 'फिटनेस सेन्टरमा वातावरण प्रदूषणको चिन्ता गर्न परेन। अँध्यारो सडकमा हुने ज्यानको जोखिमदेखि पनि दूर भइने,' उनले भने। ट्राभल एजेन्सीका सञ्चालक श्रेष्ठको हरेक साँझ डेढ घण्टा महाराजगञ्ज, चक्रपथको 'निरामय् फिटनेस स्टुडियो'मा बित्छ। 'एरोबिक, जुम्बा, कार्डियो र वेटको क्लास लिन्छु,' उनले भने। उमेरले ४० कटेपछि फिटनेसको आवश्यकता बढी पर्ने उनको भनाइ छ। 'बिरामी परेर डाक्टरलाई दिनुपर्ने पैसा क्लबलाई बुझाउनु ठीक,' उनले भने, 'बिरामी परेर डाक्टरसँग रोइकराइ गर्नुभन्दा पहिले नै विचार पुर्‍याउनु ठीक।' व्यायाम सुरु गरेताका जीउ दुखेर हैरान भएका उनी अहिले भने तन्दुरुस्ती आएको बताउँछन्। 'अचेल त सेन्टर गइएन भने जीउ दुख्छ। दैनिक गइयो भने आनन्दको निन्द्रा पर्छ,' उनले सुनाए।
फिटनेस सेन्टर शहरको आवश्यकता र बाध्यता बन्दै गएको विश्वास श्रेष्ठजस्तै विचार राख्छिन्, ४१ वर्षीया लक्ष्मी राना। 'रहरले पनि कसैले पैसा खर्च गर्छ?' उनले भनिन्, 'घरमै थन्किएर रोगको खानी बन्नुभन्दा फिटनस सेन्टरतिर धाउनु ठीक,' क्लब जान थालेपछि तीन किलो तौल घटेको उनले बताइन्। 'आमा तपाईंको पेट लाग्यो घटाउनुस् भनेर छोराले जहिले कराइराख्न थाल्यो। मलाई पनि लाग्यो यस्तै हो भने बुढेसकालमा दुःख पाइन्छ,' उनले सुनाइन्। प्रत्येक बिहान जुम्बा, एरोबिक, किक बक्सिङ र जिम गर्छिन् उनी। 'म्युजिकको तालमा रमाइलो गरेर व्यायाम गर्दा मुड फ्रेस हुन्छ,' लक्ष्मीले भनिन्। बिहानको व्यायामले दिनभर काम गर्न स्फूर्ति जगाउने उनको अनुभव छ। पहिला मर्निङवाक जाने उनका सबै साथी पनि अचेल फिटनेस र हेल्थ क्लब जान थालेका छन्।
शहरमा व्यस्तता बढ्दै जाँदा शारीरिक श्रमको अवसर खुम्चँदै गएको छ। बढ्दो शहरीकरणकै उपज बनेको शारीरिक निष्त्रि्कयताले शरीरको स्फूर्ति ओरालो लाग्दै छ। 'बिहान एकडेढ घण्टा भए पनि फिजिकल्ली एक्टिभ हुन सकौँ भनेर सेन्टर धाउन थालेँ,' ३० वर्षीय कम्युटर इन्जिनियर रामकुमार शेरचनले भने, 'रातदिन कम्प्युटरकै किरा हुनुपर्छ। यस्तो तालले त धेरै बाँचिएला जस्तो नलागेर बिहान दुई घण्टा हेल्थ क्लब जान्छु।'
पन्ध्र वर्षयता ब्रदर्स जिम क्लब चलाएका लक्ष्मण थापा आजभोलि क्लबहरू अपरिहार्य बन्दै गएको बताउँछन्। 'शहरमा घरबाहिर व्यायाम गर्ने अवसर खुम्चँदै छ,' उनले भने, 'त्यसैले हेल्थ क्लब, फिटनेस सेन्टर नभई नहुने भइसके।' अभिनेता वा कुनै रेस्लरको शरीर देखेर जिम धाउने युवा धेरै रहेको बताउँछन् उनी। जाडोमा दैनिक एक सयजना पुग्ने ब्रदर्समा गर्मीमा त्यो संख्या दोब्बर पुग्ने पनि उनी बताउँछन्।
निरामय्की सञ्चालक रोजी पुनले शहरवासीमा 'फिटनेस अवेरनेस' बढेको बताइन्। 'यही ट्रेन्डको अपेक्षाअनुसार हामीले सुविधासम्पन्न आधुनिक फिटनेस सेन्टर चलाएका हौँ,' उनले भनिन्, 'स्वस्थ शरीरमा दिमाग पनि स्वस्थ हुन्छ भन्ने थिममा हामी सञ्चालित छौँ,' उनले भनिन्। निरामय्मा एरोबिक, कार्डियो, जुम्बा, जिम, योग, किक बक्सिङलगायत अभ्यास बालबालिकादेखि वृद्धवृद्धासम्मले गर्ने रोजीले बताइन्। दैनिक एक सयजनाले व्यायाम गर्ने यस फिटनेसमा इन्स्ट्रक्टरको तालिम पनि दिइने सञ्चालक पुनको भनाइ छ। निरामय्की मास्टर ट्रेनर रेखा रानाले समाजमा 'हेल्थ कन्ससनेस' बढ्नुलाई राम्रो संकेत भएको जनाइन्। 'यसले समग्र समाजलाई नै स्वस्थ बनाउँछ,' उनले भनिन्। उनका अनुसार स्लिम रहन चाहने धेरै महिला निरामय्मा आउँछन्। आकर्षक ज्यान बनाउन चाहने पुरुष पनि त्यति नै धाउँछन् त्यहाँ। निरामय्मा महिला, पुरुषलाई बेग्लाबेग्लै कक्षा दिइन्छ।

'हचुवा भरमा व्यायाम गर्नु हुन्न'

niru lama 2निरु लामा, फिजियोथेरापिस्ट
न्युरो हस्पिटल, बाँसबारी, काठमाडौँ
 
शहरमा फिटनेस ट्रेन्ड बाक्लिँदै छ। यो खुशीको कुरा हो। शारीरिक तन्दुरुस्तीले मानसिक रूपमा समेत स्वस्थ राख्छ। शरीर र दिमाग चुस्त, दुरुस्त भए पो मान्छेलाई काम गर्ने जाँगर चल्छ। यो ट्रेन्डले समग्रमा सकारात्मक सन्देश दिए पनि यसमा सजगता भने अपनाउनैपर्छ। पहिला त मेडिकल्ली स्वीकृत क्लब वा सेन्टरमा जानुपर्छ। हचुवाका भरमा जे पायो त्यही गर्‍यो भने त उल्टो पर्छ व्यायाम। जसले शरीर भद्दामात्र होइन, ज्यानकै जोखिम हुन सक्छ। राम्रो प्रशिक्षण नहुँदा हाड खिइने, नसा तथा मासु च्यापिने, मर्किनेजस्ता समस्या देखिन सक्छन्। सन्तुलित व्यायामसँगै भोजन र रेस्ट पनि सन्तुलित हुनैपर्छ। कार्डियोभास्कुलर फिटनेसका लागि 'फिट प्रिन्सिपल'लाई फलो गर्नुपर्छ। जसले कति पटक, कति कडा, कति समय र कस्तो अभ्यास भन्ने तय गर्छ। मानसिक सन्तुलन र आत्मविश्वासका लागि शारीरिक व्यायाम आवश्यक छ। पसिना झारेरमात्र फाइदा हुन्छ भन्ने मानसिकता छ नेपालीहरूमा। त्यो गलत हो। कति पसिना, कति बेला, कसरी झार्ने त्यो निश्चित हुनुपर्छ। वार्मअप मिलेन भने जस्तोसुकै 'मै हुँ' भन्नेलाई पनि ठूलो समस्या आउँछ। फेरि व्यायाम अघि उसको शारीरिक अवस्था कस्तो छ? बुझ्नुपर्छ। त्यसैअनुसार व्यायामका स्टेप चाल्नुपर्छ। व्यक्तिको कमजोर मसल पत्ता लाउनुपर्छ। त्यसमा समस्या नहोस् र सुधार गर्न सकियोस् भनेर केही विशेष नियम अपनाउनुपर्छ। पुरुषसँगै महिला पनि स्लिम हुन भनेर जे पायो त्यही गर्छन्। महिलाको स्वास्थ्य पुरुषको भन्दा सेन्सेटिभ हुन्छ। ३० वर्षपछि महिलाहरूको हाड नरम बन्दै जान्छ। त्यसैले सजगता अपनाइएन भने डरलाग्दो परिस्थिति निम्तन सक्छ। 'भात छोडेर जंक फुड सेवन गरेर स्लिम भइन्छ' भन्ने गलत सोचाइ छ। त्यसैले फिट रहन दक्ष प्रशिक्षकबाट निर्देशित भएर आधुनिक तथा वैज्ञानिक तवरले शारीरिक व्यायाम गर्नुपर्छ।

Leave a comment

विपिका भइन् लिटिल च्याम्प

विपिका भइन् लिटिल च्याम्प

तेस्रो शिवम सिमेन्ट लिटिल च्याम्प–२०१४ को उपाधि विपिका कायस्थले जितेकी छन्। शनिवार पोखरा सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा प्रतिभा माविमा कक्षा ५ मा अध्ययनरत कायस्थले उपाधि जितेकी हुन्। 

'रेसम किराजस्तो म'

'रेसम किराजस्तो म'

उपन्यासकार बुद्धिसागरको दोस्रो उपन्यास ‘फिरफिरे’ हालसालै बजारमा आएको छ । उनको पहिलो उपन्यास ‘कर्नाली ब्लुज’ पाठकका आँखामा त चढ्यो नै, यसले उनलाई समर्थ र प्रतिभाशाली आख्यानकारका रूपमा पनि उभ्यायो ।...

गिद्धेदृष्टिमा चेली

गिद्धेदृष्टिमा चेली

हरेक दिन अखबारमा भयानक र कहालीलाग्दा समाचार आउँछन्। कतै बाबुले छोरीको शरीरमाथि धावा बोलेको हुन्छ, कतै काकाले भतिजीको शिकार गरेको हुन्छ। दुई वर्षकी बालिकादेखि ६५ वर्षकी वृद्धासम्म बलात्कारको घानमा परेका...

अप्सनाको 'बोल्ड' वाणी

अप्सनाको 'बोल्ड' वाणी

केही समयअघि शुक्रवार सुन्दरीका रूपमा छापिएकी अप्सना थापाको तस्बिर हेरेर धेरैले 'हट पोज' भनेर कमेन्ट गरेका थिए। त्यतिबेला मोडलमात्रै रहेकी अप्सना यतिबेला हिरोइन हुन खोज्दै छिन्। 

इन्काउन्टर भीमढुंगा

इन्काउन्टर भीमढुंगा

प्रहरीको गोलीले कुख्यात गुन्डा दिनेश अधिकारी 'चरी' मारिए। उनको मृत्युले अपराध दुनियाँ मात्रै तरंगित भएको छैन, राजनीति पनि धेरथोर तरंगित भएको छ। उनी आबद्ध पार्टी एमालेका केही नेता उनको गैरन्यायिक...

लाहुरे बन्न लालायित

लाहुरे बन्न लालायित

सपनाः लाहुरे छोराहरूको बाउको मानिस होला, जसले सपना देख्दैन। एउटा सपना विपना बन्न नपाउँदै अर्को सपना देखिहाल्न आत्तिन्छ मान्छे। काभ्रे, बनेपाका हरिध्वज थापासँग पनि सपनाको चाङ छ। उनका सपनाले साकार...

यस्तो छ पशुपति शर्माको विवादित गीतको कथा

गायक पशुपति शर्माको 'हामी नेपाली हौँ' बोलको गीतबारे मिश्रित प्रतिक्रिया आएपछि जागरण मिडिया सेन्टरले यो गीतप्रति विभिन्न व्यक्तिका धारणा संकलन गरेको थियो। शर्माले यो गीत बन्द गर्ने घोषणा गरिसकेका छन्।...

एक तानाशाह, एक प्रेमी

एक तानाशाह, एक प्रेमी

राजनीतिमा लक्ष्यपूर्तिका लागि जस्तोसुकै हिंस्रक तौरतरिका पनि अवलम्बन गर्न संकोच नमान्ने जर्मन तानशाह हिट्लरले जीवनमा धेरै युवतीलाई मन पराए। तर, दुई युवतीसँगको उनको सम्बन्धमात्र चर्चा गर्न योग्य मानिन्छ।