Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

म सुपर पापी हुँ : कुमार नगरकोटी

  • शुक्रबार १९ मंसिर, २०७१
  • दीपक सापकोटा
  • Be the first to comment!
(47 votes)
म सुपर पापी हुँ : कुमार नगरकोटी
'मोक्षान्तः काठमान्डू फिभर', 'फोसिल' र 'कोमा : अ पोलिटिकल सेक्स'बाट सम्मोहित पाठकका लागि कुमार नगरकोटीले नयाँ किताब ल्याएका छन्, 'अक्षरगन्ज।' यसलाई उनले 'एन एन्थोलजी अफ ड्रिम्स, डायरिज् एन्ड डेथ' भनेका छन्। नगरकोटीसँग शुक्रवारका लागि दीपक सापकोटाले गरेको कुराकानी-

nepali-patro-may

समाचार सार

  • साहित्य लेखेर समाज परिर्वतन गर्छु भन्नु वाहियात हो। विनम्र मान्छेले त्यस्तो भन्नै सक्दैन।
  • मैले अर्काकी श्रीमतीसँग लामो समयसम्म यौनसम्बन्ध राखेँ। क्यान्सरपीडित पितालाई चाँडै मरून् भन्ने कामना गरेँ। म सुपर पापी हुँ।
  • लेखिएका ९० प्रतिशत पुस्तक त जलाउनसमेत योग्य छैनन्।
  • राजनीतिगमनभन्दा वेश्यागमन ब्युटिफुल कुरा हो। यसमा कसैलाई हानि छैन।
  • म आफैँलाई सोधिबस्छु– म किन यतिविधि अनौठो मानिस बनेको हुँला?
नयाँ किताब 'अक्षरगन्ज'सँग तपाईंको अपेक्षा के छ?
म त्यस्तो अपेक्षा बोकिहिँड्ने जन्तु होइन। मेरा अघिल्ला किताब कला, दर्शन र रहस्यमा रुचि भएकाहरूका लागि हुँदो हो। 'अक्षरगन्ज'चाहिँ मेरो साहित्यिक डिपार्चर हो। यसमा सो–कल्ड नगरकोटीले बिताएका प्रेमिल प्लस आध्यात्मिक क्षण, पर्सनल प्रसंग, कन्फेसन्सलाई सेयर गरिएको छ।
 
यसलाई नगरकोटीको आत्मकथा भन्न मिल्छ?
खासमा अक्षरगन्ज 'ग्लिम्पसेज अफ लाइफ' हो। र, मेरो आत्मस्वीकृतिका कच्चापदार्थ मिलेर बनेको एउटा प्याकेज हो। जीवनको आँखीझ्यालबाट चियाइएका/देखिएका स–साना चिजलाई पोर्ट्रे गरेको हुँ।
 
अक्षरगन्जलाई कुनै विधाअन्तर्गत राख्नुभएको छैन। किन यस्तो गर्नुभएको?
यो मेरो फ्यान्सी स्टाइल हो। डायरी लेख्नु मेरो सोख हो। घाटमा, गल्लीमा, जुनेली रातमा डायरी लेखिबस्थेँ। मेरा डायरीमा सपना, बाल्यकाल, युवाकाल प्रचुर मात्रामा छरिएका छन्। त्यसै पनि म विधाभञ्जकका रूपमा कुख्यात छु। र, यो किताब पनि कुनै एउटा विधा वा सीमामा बाँधिएको छैन। किताबको पात्र कुनै सार्वभौम थट्समा छैन। यो किताब एउटा आउटसाइडरको आत्मखोज हो।
 
कुनै विचार नभएको पनि मान्छे हुन्छ र?
म यहाँ विचारको होइन, विचारधाराको, स्कुल अफ थट्सको कुरा गर्र्दैछु। मेरो कुनै स्पेसिफिक विचारधारा छैन। कुनै पनि मान्छे एउटै विचारधारामा सधैँभरि रहिरहन सक्दैन। यसो हुँदा उसमा क्रिएटिभिटी रहँदैन। मार्क्सिजम नै भनौँ न, यस थट्समा लागेको मान्छे सधैँ मार्क्सवादी कसरी हुनसक्छ? खासमा मेन्टल जर्नी एउटा इभोलुसन पनि हो। झन् प्रगतिशीलता त एउटै चेनमा रहिरहनै सक्दैन।
 
नेपाली कथामा नयाँ ट्रेन्ड ल्याउनुभयो नि?
समीक्षक, समालोचक वा आलोचक नगरकोटीले कथालेखनको परम्परा डिस्ट्रोय गर्योि भन्छन्। आई डन्ट केयर! परम्परा भत्काउनु वा परम्परालाई नमान्नु मेरो रुचिको विषय होइन। परम्परा भत्कियो कि भत्किएन, हू केयर्स?
 
'अक्षरगन्ज'मा सपनाको निकै कुरा गर्नुहुन्छ। भनिदिनुस् न सपनाको रङ कस्तो हुन्छ?
सपना बेरंगी हुन्छ तर मान्छे रंगीचंगी। उसका अनगिन्ती इच्छा, रुचि र लगाव हुन्छन्। बरु ऊ बेरंगी सपनालाई कसरी रंगिन बनाउने भन्ने खोजमा हुन्छ।
 
सपना नभएको मान्छे हुन्छ?
सपना नभएको त डेड म्यान हो। सपना जहाँ टुंगिन्छ, त्यो मानिसको अन्त्य नै हो।
 
त्यसो भए तपाईंका सपना के थिए?
कुरा यहीँनेर छ। मेरो जीवनशैली विचित्रको छ। मलाई अस्तित्वमा भएका विविध रङ मन पर्छन्। म आफ्नो जीवनका प्रसंगमा पेन्टरले जस्तै रङ पोत्दै हिँड्छु। अहिले पनि मेरा ठ्याक्कै यही र यस्तै भन्ने सपना छैन। म आनन्दपूर्वक बाँच्न चाहन्छु।
 
त्यसो भए तपाईं 'डेड म्यान' हो त?
मैले त्यस अर्थमा भनेको होइन। सपना त छ नि, बाँच्ने सपना। आनन्दको खोज हो मेरो। सोकल्ड सत्य र मुक्तिको खोज होइन। पेन्टिङ हेरेर, सुन्दर कविता पढेर, प्रेम गरेर, राम्रा मान्छे भेटेर बाँच्न सकिन्छ। आई एम द कलेक्टर अफ स्क्याटर्ड ड्रिम्स।
 
साहित्य त सुन्दर समाज निर्माणका लागि लेख्ने होइन र?
यो सब बकम्फुसे कुरा हो। साहित्य लेखेर समाज परिर्वतन गर्छु भन्नु वाहियात हो। विनम्र मान्छेले त्यस्तो भन्नै सक्दैन।
 
तपाईंले लेखिरहेका टेक्स्टले नेपाली समाजलाई के दिन्छ?
साहित्य आनन्दमार्ग हो। मैले लेखेका टेक्स्टले तपाईंलाई आनन्द दियो भने त्यही मेरो सन्तुष्टि हो।
 
तपाईं कस्तो लेखिरहनुभएको छ? बेजोड, झुर वा वाहियात?
खासमा म वाहियात लेखिरहेको छु। म कहिलेकाहीँ महिनौँसम्म केही लेख्दिनँ, वा भनौँ लेख्नै सक्दिनँ/आउँदैन। मलाई कहिलेकाहीँ लाग्छ, मैले साह्रै झुर लेखिरहेको छु।
 
'अक्षरगन्ज'को 'पहेँलो स्वेटर' नामक टेक्स्टमा पहिलो प्रेमबारे लेख्नुभएको छ। अर्काकी पत्नीसँग लामो समय यौनसम्बन्धमा लिप्त देखिनुहुन्छ। त्यस्तो परस्त्रीगमन, प्रेमजस्तो पर्सनल कुरा सुनाउनु कत्तिको उपयुक्त हो?
उपयुक्त/अनुपयुक्त भन्ने कुरा नै हुँदैन। त्यो लेखनको एउटा प्रक्रिया हो। त्यो एउटा म्याटर हो। कतिपय मजस्ता मानिस होलान्, जसले मैले जस्तो एक्स्ट्रा म्यारिटल धन्दा चलाएका छन्। त्यस्ता कुरा उनीहरू आफ्नो जीवनसँग रिलेट गर्छन्। एक्सपिरियन्स सेयरिङ पनि हो लेखन। खतरा काम गरेँ भन्ने कुनै पनि भ्रम मसँग छैन।
 
प्रेम, यौनका कुरा अरूलाई सुनाउनु नै किन जरुरी छ? त्यसले प्रेमिकामाथि सम्मान हुन्छ त?
अरूलाई सुनाउने/नसुनाउने आफ्नो स्वतन्त्रता हो। त्यस्ता हिडेन ट्रेजर अरूलाई नसुनाए पनि फरक पर्दैन। त्यो आफ्नो इच्छाको कुरा हो। सम्मानभन्दा सुन्दर शब्द त प्रेम नै हो नि। त्यो एउटा मेमोरी हो। सम्मान भयो/भएन, त्यो सेकेन्डरी कुरा हो।
 
'अक्षरगन्ज'मा मृत्युबारे, घाटबारे खूब चर्चा/परिचर्चा गरिरहनुहुन्छ। मृत्युलाई अनुभव गर्नु कति आवश्यक छ?
एभ्री मोमेन्ट डेथ इज विद् यू। हामीले महसुस नगरेका मात्र हौँ। के थाहा, मृत्यु कुन बेला उपस्थित हुन्छ? उज्यालो अन्धकारको अप्सन हो। झ्यार्र बत्ती बाल्दा अन्धकार हट्ने होइन। अन्धकार त त्यहाँ पहिलेदेखि नै छ। त्यस्तै झयार्र बलेको बत्ती हो मृत्यु। जब मृत्यु आफूसँगै छ भन्ने बोध हुन्छ। अनि, मात्र मृत्यु आउँछ।
 
पुराना डायरी हेर्दा तपाईंले कुनै बेला थुप्रै कविता लेख्नुभएको रहेछ। कविता लेख्न छोड्नुभएको हो?
कविता मेरो फस्ट लभ हो। कथासँग घरजम गरेँ। गजलसँग डिभोर्स गरेँ। कथा, निबन्धमा कवितासँग डेटिङ चलिरहेकै छ।
 
लेखकहरू अरूलाई उपदेश दिन्छन् र आफू पालना गर्दैनन् नि?
अरूको ठेक्का म लिन्नँ। म कहिल्यै कसैलाई उपदेश दिन सक्दिनँ। मेरो विद्यार्थीलाई पनि चुरोट नखाऊ, वेश्यालय नजाऊ म भन्दिनँ। उसलाई मन लागेको कुरा गरोस्, जीवन अनुभूत गरोस्।
 
समाजले गर्नु हुन्न भनेका कुरा तपाईं गर्नुहुन्छ। अरुको जाँच दिन जानुहुन्छ। यो नैतिक पतन होइन र?
लेखनमा मलाई नैतिक रूपमा पतित हुनु नै प्रिय छ। यस्तै कुरा लेख्नुमा म आनन्द अनुभव गर्छु। घटा गणेशको जाँच दिन जानु मेरो अति भावुक प्रेम हो। मलाई डबल स्ट्यान्डर्ड मन पर्दैन। चिरिच्याट्ट परेका मानिसका कुराले म विकर्षित हुन्छु। हू केयर्स अबाउट नैतिकता?
 
तपाईंले गरेका केही पाप बताइदिनुस्, जसले नैतिक रूपमा, सामाजिक रूपमा तपाईंलाई पतन भएको देखाओस्।
पाप नं १- मेरो पहिलो यौन सम्बन्ध वेश्यासँग भयो।
पाप नं २- मैले अर्काकी श्रीमतीसँग लामो समयसम्म यौनसम्बन्ध राखेँ।
पाप नं ३- एउटी महिलासँग मैले काउलीबारीमा सम्भोग गरेँ। ती महिला कल गर्ल पनि होइनन्। कहिल्यै नदेखेकी ती महिलासँग पहिलो भेटमै यौनसम्बन्ध राख्नु कुनै पनि हालतमा सुन्दर कुरा होइन।
पाप नं ४- मैले क्यान्सरपीडित पितालाई चाँडै मरून् भन्ने कामना गरेँ। उनी आजै मरे हुन्थ्यो भनिबसेँ। आई वाज इन लभ विद माई फादर। त्यो मेरो सदिच्छा थियो।
पाप नं ५- 'अक्षरगन्ज'को एउटा निबन्धमा गिद्धराम चौधरी भन्ने पात्र छ। उसले गरेको पवित्र यौनकर्मबारे मैले अरूलाई लगाइदिएको पोलले उसले भयंकर पिटाइ खायो, सामाजिक अपहेलना बेहोर्‍यो र आत्महत्या गर्‍यो। मलाई सधैँ लागिरहन्छ, मैले उसको पोल नलगाइदिएको भए उसले आत्महत्या गर्ने थिएन।
यस्ता पाप अरू पनि छन्। यस हिसाबले म सुपर पापी हुँ।
 
मेरो लामो सङ्गतले भन्छ, कुमार नगरकोटी अलिकति एब्सर्ड, बौलाहा किसिमको मान्छे। असामान्य मान्छे। अब फकिर भएर हिँड्ने सम्भावना कति छ? कि क्रूर वा सेक्स मेनिएक हुने सम्भावना छ?
क्रूर वा सेक्स मेनिएक हुनुभन्दा लेखक हुनु पो ठीक होला। जोगी हुने सम्भावना चाहिँ छ। सेक्स मेनिएक कसरी हुनु म? आफ्नै श्रीमतीसँग सम्भोग नगरेको त महिनौँ भइसक्यो। म विरक्त भएको होइन तर रक्सी र सम्भोगप्रति मोहभंग चाहिँ पक्कै भएको हो। आई वन्डर, सबै कुरा डिट्याच्ड हुँदै गइरहेका छन्।
 
'सम्भोग, ओछ्यान र पुस्तक' निबन्धमा यौनबारे लेख्नुभएको छ। सम्भोगको लागि उपयुक्त स्थान कुन होला?
शौचालय, ओछ्यान वा काउलीबारी, जहाँ गरे पनि सम्भोग निकै पवित्र कुरा हो। मान्छेको मानसिकता मात्र अपवित्र हो, यौन अपवित्र कुरा होइन।
 
'अक्षरगन्ज'मा तपाईं गैरमानिसजस्तो देखिनुहुन्छ। खासमा कुरा के हो?
म लामो समय होस्टेल बसेँ। सानोमा आमासँग पनि बस्न पाइनँ। मेरो कसैप्रति अट्याचमेन्ट नै छैन। मेरा कोही पनि सरकारी जागिरे साथी छैनन्। श्रीमतीप्रति, परिवारप्रति मेरो कुनै किसिमको अपेक्षा छैन। न त्यस्तो कर्तव्यबोध नै छ। यो एक किसिमको पागलपन नै हो। म आफैँलाई सोधिबस्छु– म किन यतिविधि अनौठो मानिस बनेको हुँला? आई लभ लन्लिनेस। म गैरमानिस नै हुँ।
 
'मृत्युको अन्तरिम इच्छा'मा तपाईं राति आफ्ना प्रिय पुस्तक जलाएर उज्यालो बनाउनुहुन्छ। यो जीवनविरोधी, ज्ञानविरोधी कुरा भएन र?
किताबले ज्ञान दिन्छ, उज्यालो दिन्छ। मैले 'मुनामदन', 'वार एन्ड पिस'जस्ता क्लासिक किताब जलाएँ। अँध्यारोमा किताबले आफू जलेर मलाई उज्यालो बाटो देखायो। त्यसैले किताब उज्यालोको स्रोत हो। यसमा कुनै जीवनविरोधी, ज्ञानविरोधी कुरो छैन। लेखिएका ९० प्रतिशत पुस्तक त जलाउनसमेत योग्य छैनन्।
 
तपाईंलाई लेखनमा अजर, अमर हुने विश्वास छ?
अजर–अमर हुने कुनै पनि अपवित्र इच्छा अहिलेसम्म छैन। मैले लेखेर के–के न गरेँ भन्ने पनि छैन। मेरा सबै किताब जलाइदिए हुन्छ। आफ्ना कुनै रचनाप्रति, कृतिप्रति मलाई कुनै मोह छैन। मेरा किताब जलाएर नेपाली साहित्यलाई कुनै एंगलबाट पनि घाटा हुँदैन।
 
स्त्रीबारे पनि खूब लेख्नुहुन्छ। स्त्रीका खास मन पर्ने अंग के हुन्? स्त्री के कुराले सुन्दर हुन्छन्?
स्त्रीको सबैभन्दा मन पर्ने, हेरिरहन मन लाग्ने एउटा अंग नाइटो हो। नाइटोमा सेक्स अपिल बढी देख्छु। सेक्सका बेला म नाइटोमै बढी किस गर्छु। रहस्यमयी, एडभेन्चर रुचाउने, अलिकति छोपिएको ग्रे कलर भएको स्त्री बढी सुन्दर हुन्छ। यस्ता नेपाली स्त्री मैले देखेको छैन। प्लास्टिक वा गुडियाजस्तो सुन्दरता भएका स्त्री मलाई मन पर्दैन। रहस्यमय भनिएको ईश्वर छैन, स्त्री रहस्यमयी छन्।
 
वेश्यागमन ठीक कि राजनीतिगमन ठीक?
राजनीतिगमनभन्दा वेश्यागमन ब्युटिफुल कुरा हो। विश्वविद्यालयका शिक्षाशास्त्रीहरू शिक्षासँग, राजनीतिज्ञहरू देशसँग सम्भोग गरिरहेका छन्। त्यसैले वेश्यागमन धेरै ठीक। यसमा कसैलाई हानि छैन।
 
तपाईंका अरू किताबभन्दा 'अक्षरगन्ज' कुन हिसाबले फरक छ?
यस किताबको नाम नेपालीमा छ। यो शब्दलाई म निकै प्रेम गर्छु। यसमा म दिवंगत लेखकहरूसँग संवाद गर्छु। 'अक्षरगन्ज' मेरो स्वैरकल्पनाको संसार हो। मेरो संसारमा लेखक, कलाकार मृत्युपछि स्वर्ग, नर्क जाँदैनन्। उनीहरू 'अक्षरगन्ज'मा जान्छन्।
 
'अक्षरगन्ज'को क्रमसंख्या नै तपार्इंले 'पेग'मा राख्नुभएको छ। १ पेगदेखि ३० पेगसम्म। के हो यस्तो?
दारुवाला र पेगप्रति मेरो सम्मान छ। पेजभन्दा पेग ठीक हो।

Leave a comment

व्यङ्ग्य : मामपन्थ

नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देश हो। यो जलस्रोतगान नेपालको हरेक पुस्ताले सुन्दै आएको छ। जलस्रोतजस्तै हाम्रो देश वामपन्थको दृष्टिले समेत धनी छ। हामी गर्वका साथ भन्न सक्छौँ, वामपन्थी उपस्थितिका...

आफ्नै स्टाइलमा धर्मकर्म

आफ्नै स्टाइलमा धर्मकर्म

अचेलका युवायुवतीले धर्मकर्ममा आस्थै राख्दैनन् भन्ने होइनन्। जतिसुकै आधुनिक या 'रफ एन्ड टफ' भए पनि उनीहरूलाई धर्मप्रति चासो छ। त्यसैले त तन्नेरीहरू माघको ठन्डीमा साली नदीमा डुबुल्की लगाइरहेका हुन्छन्, दक्षिणकालीको...

पोखरामा यौन पर्यटन?

पोखरामा यौन पर्यटन?

कानुनतः नेपालमा यौन व्यापार वर्जित छ। तर, सबै प्रमुख शहरमा सेक्सको किनबेच चलिरहेको छ। पर्यटकीय नगर पोखरामा प्रकृतिको स्वाद लिन मात्रै होइन, देहसुख भोग्न पनि पर्यटकहरू जाने गर्छन्। प्रहरीको कडाइपछि...

तीजमा एकल महिला

तीजमा एकल महिला

२०५९ साल, तीजको दर खाने दिन। चेली र माइतीको मिलनले देशै उल्लासमय बनेको थियो। छोरीचेली माइतमा रमाइरहेका थिए। बाँकेकी २१ वर्षीया शोभा केसी पनि यो रमझममा सरिक थिइन्। तर, त्यही...

जगत्‌कै राम्री रोलिन

सन् २०१४ को 'मिस वर्ल्ड' उपाधि दक्षिण अफ्रिकाकी रोलिन स्ट्राउसले जितिन्। आइतवार राति लन्डनमा सम्पन्न मिस वर्ल्ड २०१४ मा २२ वर्षीया रोलिनले विश्वका १ सय २१ देशका सुन्दरीलाई पछि पारेर...

फेरि बेडसिनकै सहारा

फेरि बेडसिनकै सहारा

कथाको आवश्यकता भन्दै फिल्ममा 'बेडसिन' को प्रयोग गर्न माहिर छन्, निर्देशक राजु गिरी। फिल्म 'बिन्दास' र 'बिन्दास २' मा उनले यस्तै गरेका थिए। त्यतिबेला धेरैले उनको शैलीको विरोध पनि गरे।...

‘बाँसुरी बजाएर धेरैलाई पट्याइयो’

‘बाँसुरी बजाएर धेरैलाई पट्याइयो’

  - बुलु मुकारुङ, संगीतकार अन्त रोदी, दोहोरी भनेजस्तो हाम्रो भोजपुरतिर भाका बस्ने चलन थियो। हामी केटाहरू भाका बस्न गइराख्थ्यौँ। गोठालो, मेलापात जाँदा बाँसुरी निकै बजाइन्थ्यो। वनमा मीठो धुन सुनेर सबै दंग...

शुक्रबार सम्पादकीय - माघ ८ः आलाप आ–आफ्ना

संविधान जारी गर्ने भनिएको माघ ८ गते नजिकिँदै गर्दा संविधान सहमतिका आधारमा जारी गर्ने कि प्रक्रियामा गएर जारी गर्ने भन्ने विषयमा आ–आफ्ना स्वार्थअनुसारको 'लबिङ' तीव्र गतिमा सुरु भएको छ।