Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'जिन्दगीमा के चाहिँ गरिएन, हैट!'

(16 votes)
'जिन्दगीमा के चाहिँ गरिएन, हैट!'
उनले भन्ने 'हैट' अहिले 'सुपरहिट' छ। अभिनेता बुद्धि तामाङ अहिले फिल्म 'कबड्डी कबड्डी'को चर्चाको तापमा छन्। जीवनमा उनले धेरै दुःख गरेका छन्। इँटा पार्नेदेखि पत्रिका बेच्नेसम्म काम गरेका छन्। बदामदेखि खुर्सानीसम्म बेचेका छन्। गेस्टहाउसमा भाँडा माझ्नेदेखि त्यहीँ व्यवस्थापनसम्मको जिम्मेवारी सम्हालेका छन्। रंगमञ्चबाट अभिनय यात्रा थालेका उनी अहिले नाटक, फिल्म र सिरियल तीनवटै क्षेत्रका दर्शकमाझ लोकप्रिय छन्। उनले हास्य टेलिशृंखला 'मेरी बास्सै'मा निर्वाह गरेको 'हनुमाने' पात्र चर्चित छ। उनीसँग धनबहादुर खड्का र अनिल यादवले गरेको अन्तरंग कुराकानी :


nepali-patro-may
तपाईंले प्रायः लगाइरहने निलो स्विटर अचेल लगाउन छाड्नुभएको हो?

थन्काएर राखेको छुँ। सुरुसुरुमा त धेरै लाउँथे। 'मेरी बास्सै'को सुटिङमा होस् या स्टेज कार्यक्रममा पुग्दा, त्यही स्विटर लगाउनुपर्दो रहेछ। त्यही भएर अहिले जतन गरेर राखिरहेको छु। त्यो स्विटर मेरो पहिचान भइसक्यो। झन्डै दुई वर्षजति निरन्तर लाइयो।

कतिमा किन्नुभएको थियो?

५ सय ५० मा किनेको थिएँ।

त्यति रकममा किनेको स्विटरले लाखौँ कमायो है?

कमाउन त थुप्रै कमाइयो, बचाउन चाहिँ पाइएन। जे होस्, त्यो स्विटर मेरो करिअरमा 'लक्की' साबित भइरहेको छ।

तपाईंको थेगो 'हैट' निकै चर्चामा छ। पहिलोपल्ट तपार्इंको जिब्रोबाट कसरी फुत्कियो यो शब्द?

'हैट' जनजीवनमा धेरैले बोल्ने शब्द हो। मैले चाहिँ पारा निकालेर आफ्नै शैलीमा बोलेको मात्र हो। फिल्म 'कबड्डी'बाट धेरैले यसलाई 'नोटिस' गरे। तर, त्यसअघि नाटक 'सुनकोशी' र 'डिग्री माइला'मा पनि मैले यसरी बोलेको थिएँ। मलाई 'हैट'भन्दा अभिनयमा 'इनर्जी' आउँथ्यो। त्यही भएर बोल्थेँ। यो मेरो जिब्रोमा सुरुदेखि नै झुन्डिएको थियो। निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राईले पनि 'हैट' भन्नुहुन्थ्यो। मैले बोल्दा चाहिँ 'युनिक' सुनिएको हो। त्यही भएर दर्शकले रुचाएको हुन सक्छ।

कलाकार बन्ने चाहना सानैदेखिको हो?

बिलकुलै होइन। जीवनको बाटोमा हिँड्दै जाँदा बनेको नयाँ बाटोमात्र हो। मैले कहिल्यै पनि कलाकार बन्छु भन्ने सोचेको थिइनँ। कला क्षेत्रमा योगदान दिन्छु भन्ने लागेको थिएन। ६ कक्षा पढ्दाखेरि साथीसँग मिलेर नजान्दा–नजान्दै एउटा सडक नाटक निर्देशन गरेको थिएँ। छवटा गाउँमा देखाएका थियौँ। धेरैले रुचाएका थिए। ८ कक्षामा पुगेपछि जीवनले अर्कै मोड लियो। जीवनका केही कर्तव्यले छोए, बाँधे। १० वर्षअघिसम्म त मेरो जीवनको कुनै लक्ष्य नै थिएन। खोइ कसरी–कसरी रंगमञ्चमा आइपुगेँ? नाटक खेल्न थालेँ। जीवनलाई कतै न कतै खर्च गर्नैपर्छ। अभिनयमै रमाइलो लाग्न थाल्यो। त्यसैले यतै जीवन बिताइरहेको छु।

रंगमञ्चमा चाहिँ कसरी आउनुभयो?

कता–कताबाट पुष्कर गुरुङको डबली थिएटरमा पुगेँ। सुरुमै एउटा सडक नाटक गर्ने अवसर मिल्यो। छवटा जिल्लामा सडक नाटकका लागि पुगियो। घुम्ने सानैदेखिको सोख थियो। नाटक खेल्दा त हल्काफुल्का पैसा पनि आउने, घुम्न पनि पाइने रहेछ भन्ने महसुस भयो। सुरु–सुरुमा भयंकर मज्जा लाग्यो। पछि यही लत बन्यो।

अभिनयमा आउनुभन्दा अघि के गर्नुहुन्थ्यो?

मैले अघि नै भनिसकेँ १० वर्षअघिसम्म मेरो जिन्दगीको कुनै लक्ष्य थिएन। मेरो आमा पहिलेदेखि निकै कमजोर हुनुहुन्थ्यो। १६ वर्षकै उमेरमा आमालाई उपचार गर्न भनेर म राजधानी छिरेँ। घर चाहिँ मेरो काभ्रेको तिमाल गाउँमा हो। आमाको उपचारलाई धेरै गरियो।

के–के गर्नुभयो?

जिन्दगीमा के चाहिँ गरिएन, हैट! मैले एक वर्षसम्म इँटा भट्टामा इँटा पार्ने काम गरेँ। बिहानदेखि बेलुकासम्म एकै ठाँउमा घोटिएर काम गर्दा तनाव हुन्थ्यो। त्यही भएर त्यो काम छोडेँ। भक्तपुरमा बदाम बेच्न थालेँ। पछि पत्रिका पनि बेचेँ। कपनमा खुर्सानी पनि बेचेँ। ट्रेकिङको काम पनि गरियो। के–के गरियो, गरियो। गेस्टहाउसमा भाँडा माझ्ने काम पनि गरियो। तर, मेरो इमानदारीका कारण म दुईतीन महिनामै म्यानेजर भएको थिएँ। त्यहाँ दुई वर्षसम्म काम गरेको थिएँ। मलाई सबैले विश्वास गर्थे। भन्छन्, जीवन भनेकै नाटक हो। मेरो जीवन पनि त्यस्तै भयो। अनेक भूमिका निर्वाह गर्न पाएँ। एक खालको जीवन भोगेँ। तर, अझै धेरै भोग्न बाँकी छ ।

तपाईं निकै कम बोल्नुहुन्छ। तर, व्यापारमा त जति बोल्यो, त्यति बिक्छ भन्छन्। तपार्इंका लागि व्यापार कसरी सम्भव भयो?

एकदम सही कुरा। म त्यति बोल्दिन थिएँ। अहिले पनि बोल्दिनँ। व्यवसाय चाहिँ बोलेर बेच्नुपर्ने गर्थे। तर, म चुपचाप बेच्थेँ। ग्राहकको अनुहार र चाहना पढ्न सक्थेँ। मैले आफूले टार्गेट गरे अनुसार नै कमाएँ। आमाको उपचार गर्न सकेँ। यतिमै खुशी छु।

तपाईंलाई अर्कै परिचयबाट चिन्ने मान्छेहरूले अहिले चर्चित कलाकारको रूपमा भेट्दा के भन्छन्?

अहिलेसम्म त कसैले चिनेका छैनन्। चिन्दैनन् पनि। किनकि, म केही मात्रामा त्यतिबेलाको भन्दा फरक भएको छु जस्तो लाग्छ। पहिलेको भन्दा जवान भए जस्तो लाग्छ। फेरि मेरो अनुहार त्यसरी 'नोटिस' हुने खालको पनि छैन। मलाई अहिले पनि पर्दामा देखिने 'हनुमाने' र 'हैट' भनेर कमैले चिन्छन्। किनकि, पर्दामा मेरो हाउभाउ फरक हुन्छ, मुख बंग्याएर बोल्नुपर्छ। म स्त्रि्कनमा ३२–३३ वर्षको व्यक्तिको भूमिकामा देखिन्छु। बाहिर होचो भएर होला, हल्का सानो देखिन्छु। सुरु–सुरुमा त अरूले चिन्लान् कि भनेर मास्क लगाएर पनि हिँडेँ। पछि यो सब चिन्नका लागि नै त गरेको हो नि भन्ने लाग्यो। त्यही भएर अहिले अनुहार छोप्दिनँ। अनामनगरको बाटोमा त फोटो खिचेरै सिध्याइसकेँ।

हेर्दा जवान देखिए पनि प्रायः भूमिका चाहिँ उमेर खाएकै व्यक्तिको गर्नुभयो है?

हो नि। धेरै बूढो क्यारेक्टर गरेर होला, कहिलेकाहीँ त बूढो भएकै 'फिल' हुन्छ। मैले 'मलामी' नाटकमा त ६५ वर्षको वृद्धको भूमिका पनि निर्वाह गरेँ।

तपाईंलाई गर्न मन लागेको कुनै भूमिका छ?

मलाई पर्दामा भिलेन बन्न मन छ। हेर्दा सोझो देखिन्छु, त्यही भएर यस्तो क्यारेक्टर गर्न मन लागेको होला। सोझो मान्छे मनभित्रबाट कति 'भिलेन' हुन्छ भन्ने देखाउने मन छ। म प्रायः यथार्थको नजिक बसेर काम गर्न रुचाउँछु।

तपाईं त थिएटरमा पनि कुर्सी, तार र जेनरेटर बनाउनेदेखि लाइट मिलाउनेसम्मको काम आफैँ गर्नुहुन्छ क्यारे?

पैसा कमाउन र पेट पाल्नलाई जीवनमा धेरै काम गरेँ। लाइट डिजाइनको काम रंगकर्मी राजन खतिवडाबाट प्रभावित भएर सिकेको हुँ। नत्र त म धेरै लोसे छु। तर, 'माइन्ड' चाहिँ खतरा चलाउँछु। रंगमञ्चमा लागेको सुरु–सुरुमा खल्तीमा पैसा पनि हुँदैनथ्यो। मेरो 'नाके आवाज'का कारण दाइहरूले आवाजमा समस्या हुने रैछ भन्नुहुन्थ्यो। त्यसपछि मैले आफ्नो प्राकृतिक आवाज दिन थालेँ। कहिलेकाहीँ आवाजकै कारण आफूलाई पछि परिन्छ कि भन्ने महसुस पनि हुन्थ्यो। रंगमञ्चमै अडिरहनका लागि पनि मैले प्राविधिक काम सिकेको हुँ। बाँच्नका लागि 'ब्याकअप' राखेको हुँ। अहिले पनि मण्डला थिएटरको लाइट डिजाइन गर्ने गर्छु।

फिल्ममा पनि प्राविधिक काम गर्नुभयो कि?

मैले फिल्ममा पनि अभिनय र आर्टको काम सँगसँगै गरेँ। फिल्म 'साँघुरो'मा पोेर्टेबल खालको घर बनाएको थिएँ।

अभिनय पनि सिक्नुभयो?

रंगकर्मी अनुप बरालसँग डबली थिएटरमै अभिनय सिकेको हुँ। दयाहाङ राईको सामान्य ढंगबाट काम गर्ने शैलीदेखि पनि म निकै प्रभावित छु।

पहिलोपल्ट हेरेको फिल्म याद छ?

गाउँमा त टीभी हुँदैनथ्यो। यहीँ काठमाडौँ आएपछि हेरेको हुँ। सुरुमा 'चिनो' भन्ने फिल्म हेरेको थिएँ। त्यतिबेला सांग्रिला च्यानलबाट दिनभरि नेपाली फिल्म दिन्थ्यो। म दिदीको घरमा बस्थेँ। त्यहीँ हेरेको थिएँ।

फिल्म 'कबड्डी कबड्डी'मा त तपार्इंको श्रीमती झन्डै अर्कैले भगाइसकेको। 'रियल लाइफ'मा चाहिँ कहिले बिहे गर्ने हो?

अर्को वर्ष गर्छु भनेको नै दुईतीन वर्ष भइसक्यो। अहिलेसम्म भएको छैन। अब अर्को वर्ष चाहिँ गर्छु भन्ने टार्गेट छ।

भनेपछि अर्को वर्ष चाहिँ पक्का गर्ने हो?

हैट, पक्का नै त कसरी भन्नु? जीवनमा केही कुरो पनि पक्का नहुँदो रहेछ।

नाटक, सिरियल र फिल्म तीनवटै क्षेत्रमा तपाईं चर्चित हुनुहुन्छ। महिला फ्यान त धेरै होलान्?

पहिलो कुरा, मैले आफूलाई चर्चित महसुस गरेकै छैन। मेरो अहिले समय बलियो होला, त्यही भएर चलेको छु। भोलि के हुन्छ? थाहा छैन। युरोपको कार्यक्रममा जाँदाखेरि पाएको मायाले चाहिँ मलाई पनि मान्दा रहेछन् है भन्ने लागेको थियो। त्यति मात्र हो। केटी फ्यान त कसरी हुनु? म पर्दामा बूढो क्यारेक्टरमा देखिन्छु। सबैले बूढो नै ठान्छन्। यो अविवाहित होला भनेर कसले सोच्ला? बिहे गरेको छुइन भन्दा पनि ढाँट्यो भन्ने सोच्लान्। अनि कसरी लभ पर्ला? म त झ्यामझ्याम बाजा बजाएर परम्परागत तरिकाले मागी बिहे गर्ने सोचमा छु। फेसबुकमा बोल्ने फ्यान चाहिँ अलिअलि छन् है। भ्याएसम्म फेसबुकमा म्यासेज पठाउनेजति सबैलाई रिप्लाई दिने गरेको छु। 'आबुई तपाईं सेलिब्रिटी हामीसँग बोल्नुभयो' भन्छन्। किनकि, म सबैसँग सामान्य मान्छेझैँ बोल्छु। आफूलाई सामान्य नै ठान्छु।

हुनेवाला श्रीमती कस्तो होस् जस्तो लाग्छ?

हैट, क्या दामी सोध्नुभयो। तर, मैले त्यस्तो केही सोचेको छैन। मन मिलोस्, कुरा बुझोस्। त्यति भए पुग्छ।

जीवनमा कहिल्यै कसैसँग प्रेम भएन?

गहिरो प्रेम त कसैसँग भएन। जिस्काजिस्कीलाई त के प्रेम भन्नु र?

रंगमञ्च र फिल्ममा हुँदाहुँदै अचानक 'मेरी बास्सै'मा चाहिँ कसरी पुग्नुभयो?

फिल्म 'कबड्डी'मा मेरो भूमिका हेरिसकेपछि सीताराम कट्टेलले त्यही क्यारेक्टर 'मेरी बास्सै'मा चाहियो भनेर मलाई अफर गर्नुभएको हो। मैले चाहिँ कति एउटै भूमिका गर्नु भनेर अरू नै गरौँ पनि भनेँ। उहाँले त्यही गर्न जिद्दी गर्नुभयो। मलाई भने एउटै क्यारेक्टर गर्दा अरू गर्न जान्दैन रहेछ भन्ने सोच्लान् भन्ने डर थियो। पछि त्यही 'हनुमाने' पात्र दर्शकले रुचाए।

जीवनका सबैभन्दा तीता/मीठा अनुभव सुनाउनुस् न।

त्यस्तो केही छैन। म हरेक कुरालाई सामान्य ढंगले लिन्छु, सोच्छु।

पर्दाका पात्र भन्दा बढी त तपाईंका जीवनका पात्र होलान्।

म प्रायः आफैँले भोगेको जीवनलाई क्यारेक्टरमा उतार्न खोज्छु। काम गर्दा त्यसरी गर्न खोज्छु, जसरी आफूलाई खुशी महसुस हुन्छ। मैले जीवनमा भोगेका थुप्रै पात्र अझै बाँकी छन्। अभिनयमा उतार्न अझै बाँकी छ।

Leave a comment

'गफ पनि गीतैमा गर्न पाए...'

'गफ पनि गीतैमा गर्न पाए...'

मुना थापामगर लोकगायिकामध्ये सामाजिक सञ्जाल फेसबुकमा धेरै फ्यान फलोअर भएकी गायिका हुन्। उनलाई झन्डै सात लाखले फ्यान पेजमा पछ्याएका छन्। पछिल्ला वर्षमा विदेशमा कार्यक्रमका लागि बढी बोलाइने गायिकामा पनि उनी...

'लोग्ने मान्छे'को भर

'लोग्ने मान्छे'को भर

लामो समयदेखि फिल्म क्षेत्रमै रहे पनि अभिनेत्री नन्दिता केसीले उतारचढाव महसुस गर्न पाएकी थिइनन्। 

नीति तथा कार्यक्रमः गफको पार्सल

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा प्राथमिकता पाउनुपर्ने विषयहरू ओझेलमा पारिएका छन्। यसअघिका सरकारले जस्तै यसपटक पनि जनतालाई अलमलमा पार्ने चिल्ला कुरा गरेर वर्तमान...

पालमुनि बास त्रासैत्रास!

पालमुनि बास त्रासैत्रास!

वैशाख १२ को ठूलो भूकम्पपछि असंख्य नेपालीको बास पालमुनि छ। पालमुनि असुविधामात्रै छैन, असुरक्षा पनि छ। बालिका र किशोरीहरू बढी जोखिममा छन्। चेलीबेटी बेचबिखनमा संलग्न गिरोह र दलाल विपद्मा चौका...

जनतालाई त्रिपालमुक्त बनाऊ

वैशाख १२ गते गएको महाभैँचालो, त्यसपछि आएका पराकम्पन र वैशाख २९ गते गएको दोस्रो शक्तिशाली भैँचालोका कारण महाविपत्ति भोगिरहेका नागरिकले आफ्नै नाममा राजनीति गर्ने दलहरूको साथ र सहयोग साह्रै कम...

मलेसियामा नेपाली ठुम्का

मलेसियामा नेपाली ठुम्का

नेपालका डान्सबारमा नाच्ने युवतीलाई महिनामा २० हजार रुपैयाँ कमाउन धौधौ हुन्छ। यस्तोमा मलेसियामा तीन महिना नाचेर तीनचार लाख रुपैयाँ कमाइन्छ भने उनीहरू त्यता जान लालायित हुने नै भए। पर्यटक र...

बाँझो फूलबारी डिलका उपदेशकहरू

बाँझो फूलबारी डिलका उपदेशकहरू

यस कार्यक्रमका उद्घोषक मित्र मित्रलाल पंज्ञानी अन्तर्यामी हुनुहुन्छ क्यार। त्यसैले त उहाँलाई र सायद प्रलेसका अन्य मित्रहरूलाई लागेछ– खगेन्› संग्रौला सम्मान ग्रहण गर्न आउला र? मित्रलालजीहरूले कल्पना गर्नुभएजस्तै यसमा मेरा...

पूर्वमा उत्सवै–उत्सव

पूर्वमा उत्सवै–उत्सव

अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै मनोरञ्जनात्मक कार्यक्रम सुरु भएको पूर्वमा अहिले उत्सवै–उत्सव चलिरहेका छन्। एकपछि अर्को उत्सवले पूर्व यतिबेला संगीतमय बनेको छ। अनि, पूर्वेली कलाकर्मीलाई चर्चा र पैसा कमाउने अवसर...