Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

उखान विष्फोट

(1 Vote)
प्रधानमन्त्री केपी ओली मौलिक उखान–टुक्का निर्माण र प्रक्षेपणका लागि प्रख्यात छन्। माकाफुइँ, बोरामा हात्ती हाल्ने आहानलगायत दर्जनौँ उनका उखान–टुक्का पछिल्लो एक दशकमा हिट भए। हिजोआज भने उनी स्वयं ठट्टा–मजाकका एक पात्र भएका छन्। उनले भाषण गर्न थालेपछि दर्शकदीर्घामा हाँसोको फोहरा छुट्छ। यसो हुनुमा पनि उनकै पछिल्ला उखान–टुक्काको योगदान छ।


nepali-patro-may
प्रधानमन्त्रीको उम्मेदवारका रूपमा ओलीले संसद्मा भाषण गरिरहँदा यस्तो लाग्थ्यो, मानौँ उनीसँग जादुको छडी छ र प्रधानमन्त्री निर्वाचित हुनासाथ नेपाली जनताले भोगिरहेका संकटहरू छुमन्तर हुनेछन्। त्यो भाषणबाट के पनि थाहा हुन्थ्यो भने आफ्नो मधेशी/थारु/जनजाति आदि विरोधी छविका बारे उनी जानकार छन्। उनले रोस्ट्रमबाटै भने– 'म त्यस्तो होइन भन्ने कामले प्रमाणित गर्नेछु।'

एक त भूकम्पले थङथिलो पारेको अर्थतन्त्र र जनजीवन छ, अर्कोतिर नाकाबन्दीको कहर। थरुहटमा भुसको आगोझैँ असन्तुष्टि भित्रभित्रै सल्किरहेको छ। मधेश आन्दोलन सय दिन नाघेर पनि दन्किरहेकै छ। जनजीवन अस्तव्यस्त छ र नाकाबन्दीको मोहरा फ्याँकेर भारत दाउ लगाइरहेको छ। अर्थतन्त्र धराशायी भैसकेको छ। आधा करोड जनसंख्या बस्ने काठमाडौँ भूकम्पको धङधङीबाट बहुरिनसक्दै इन्धनदेखि औषधिसम्मको अभावमा छटपटाइरहेको दृश्य आँखैअगाडि छ। कालोबजारी, तस्करी र अराजक मूल्यवृद्धिले पूरै देश आक्रान्त छ।

यस्तो चुनौतीको सामना गर्न उखान–टुक्काको 'रणनीति' कारगर हुन्थ्यो त? नवनिर्वाचित प्रधानमन्त्री ओलीको सचिवालयलाई यति कुरा थाहा थिएन भन्न मिल्दैन। ओलीकै शब्दमा उनीसँग समय कम थियो, त्यसैले तीव्र गतिमा काम गर्नु जरुरी थियो। सायद त्यो तीव्रतामा उनी उखान–टुक्का नै गर्न सक्थे। तसर्थ उनले चुलोमै संकट झेलिरहेका जनतालाई भनिदिए– 'म घर–घरमा ग्यासको पाइप फिट गरिदिन्छु, चाहिए जति ग्यास प्रयोग गर्नुस् र मिटरमा उठेजति पैसा तिर्नुस्।' त्यतिमै उनको उखानको वेग रोकिएन। ग्यासको अभावमा बिजुलीले खाना पकाउन बाध्य जनता जब लोडसेडिङको चर्को मारमा परे, उनले भनिदिए– 'म हावाबाट बिजुली निकाल्छु र एक वर्षमा लोडसेडिङ अन्त्य गरिदिन्छु।'

अचानक चोक–चोकमा ओली हास्यव्यंग्यका पात्र बने।अझै बनिरहेकै छन्। पाइला–पाइलामा उनका उखान विष्फोट भैरहेका छन्। आफ्नो पार्टीका अध्यक्ष, देशका प्रधानमन्त्री ओली अचानक चुट्किलाका एक चहकिला पात्र भैरहेका छन्। जुन उखान–टुक्का उनको सामर्थ्य मानिन्थ्यो, त्यही आज भयानक पहिरो बनेर उनको व्यक्तित्वलाई भत्काउँदै खसिरहेको छ। आखिर यस्तो किन भयो?

उखानको भर्याआङ

ओली–उखान विष्फोटको रहस्य थाहा पाउन उनको उत्थान–कथा बुझ्नु आवश्यक छ। यो कथा माओवादीविरुद्ध उखान–बाण प्रयोग गर्ने विशिष्ट ओली–स्टाइलबाट सुरु हुन्छ। त्यसो त उनी दोस्रो जनआन्दोलनताका आन्दोलनकै विरोधी थिए। गणतन्त्रको माग सडकमा गुञ्जिरहँदा उनी कटाक्ष गर्दै भन्थे– 'बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन।' गाउँ–गाउँबाट काठमाडौँ घेर्न आएका लाखौँ जनताले देखाइदिए– उनले जुन शक्तिलाई गोरुगाडा ठानेका थिए, त्यो शक्ति जेट प्लेन चढेर गणतन्त्रमा पुगिछाड्यो।

संविधानसभाको पहिलो चुनावमा पराजित भएपछि उनले केही वर्ष माओवादीविरुद्ध उखान–बाण चलाएरै बिताए। उनले माओवादीलाई कहिले वनमारा झारसँग तुलना गरे त कहिले माओवादीले जितेको एमालेले हारेको चुनावी आँकडालाई 'हात्ती दुब्लाएर मुसो हुँदैन, मुसो मोटाएर हात्ती हुँदैन' भन्दै व्यंग्य कसे। विभिन्न सीमान्तकृत जातीय, क्षेत्रीय, भाषिक सभ्यताहरूलाई बराबर हक दिएर संघीय गणतन्त्र निर्माण गर्ने मुद्दालाई बिगारेर साम्प्रदायिक दंगा ल्याउन खोजेको अर्थमा व्याख्या गर्न उनले दर्जनौँ उखानको रचना गरे।

बिस्तारै संविधानसभामा रहेका दलहरूबीच संघीयताकै मुद्दामा विवाद बढ्यो। आदिवासी, जनजाति, मधेशी, दलितलगायत सीमान्तकृत समुदायहरूको हक संविधानमा स्थापित गर्ने मामिलामा दलहरूमा ध्रुवीकरण तीव्र भयो। दलका नेताहरूले नै जब अन्तरिम संविधानकै विषयलाई गलत व्याख्या गर्न थाले, समाज नै बिस्तारै सामुदायिक ध्रुवीकरणतिर अघि बढ्यो। ओलीका उखान–बाण बिक्ने सबैभन्दा उर्बर समय यही बन्यो।

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल हल्लाको उछाल ल्याउन खूब उपयोगी हुन्छन्। ओलीका उखान–बाणलाई खूब उछाल्न दिलोज्यानले लाग्नेहरूको एउटा फौज छँदै थियो। सामान्यतः पुरानो सत्ता र समाजले बनाएका धारणा धेरै मान्छेको दिलदिमागमा बसेको हुन्छ। समाज भनेको एक यस्तो पिँजडा हो, जसले सुगालाई आफू अनुकूल बोल्न, चल्न तालिम दिने गर्छ। त्यही समाजमा फेरि पुरानो विचारबाट उकुसमुकस भएका विद्रोही पनि जन्मिन्छन्। तर, विद्रोही विचार पचाउन समाजले केही समय लिन्छ। आदिवासी, जनजाति, मधेशी, दलित आदि समुदायले राज्यमा बराबरी हक खोज्ने कुरा अरू कुनै समुदायको हक खोस्ने कुरा होइन। बरु सबैको बराबरी हक स्थापित गर्ने कुरा हो, जसले समाजलाई स्वस्थ बनाउँदै लैजान्छ र मानिसहरूलाई विभेद, छुवाछूतबाट मुक्त गर्दै लैजान्छ। समाजलाई अझ सभ्य बनाउने त्यस्तो विचारलाई विभिन्न जातिहरूका बीच झगडा पार्ने विषय हो भनेर व्याख्या गर्नेहरूले पुरानो समाजको पिँजडा पुछपाछ गर्न लागेको समय थियो त्यो।

पहिलो संविधानसभा आफैँमा बदलिँदो नेपाली समाजको झल्को दिने खालको थियो। गोपालप्रसाद रिमालको कविताले भनेझैँ राज्यले 'लाटासुधा' बनाएर राखेकाहरू बोल्न थालेको समय झल्झली देखिन्थ्यो। दलित, महिला, जनजाति, आदिवासी, मधेशी, थारु हुरुरुरु देशको संविधान बनाउने ठाउँमा आइपुगेका थिए। राजनीतिक शक्ति सन्तुलनको हिसाबले माओवादी, मधेशी, जनजातिहरू शक्तिशाली भएर आएको बेला थियो। जनयुद्ध र जनआन्दोलनको बलमा बदलिएको त्यो परिस्थिति ओलीका लागि सुखद थिएन, किनभने यी दुवै जनविद्रोहका उनी विरोधी थिए।

यही बेला ओलीले आफ्नो मौलिक हतियार अर्थात् उखान–बाण तिखार्न थाले। सबैभन्दा शक्तिशाली भएर उदाएको माओवादी स्वाभाविकै रूपमा उनको पहिलो निशानामा पर्योा। माओवादीसँगै उनले जनजातिहरूलाई पनि कटाक्ष गर्न थाले। उनको वैचारिक अभियान स्पष्ट थियो– माओवादीले ल्याएका एजेन्डाले समाजमा विभाजन ल्याउँछन्। यो विचार खासमा पञ्चायतकालमै बनेको थियो। स्कुल, कलेजहरूले यही विचारका आधारमा नयाँ पुस्ता निर्माण गरिसकेको हुनाले यो कुरा गर्न सजिलो थियो। नयाँ बनाउनेलाई पो कसरी बनाउने टन्टा हुन्छ, जे नयाँ हुन्छ त्यसले बिगार्छ मात्रै भन्नका लागि केको टन्टा!

उनका उखान धमाधम बिक्नुका पछाडि अर्को कारण थियो, राजनीतिको रंगमञ्चमा शक्तिशाली बनेको माओवादी। एमाले पंक्तिमा त अर्को कम्युनिस्ट पार्टीले आफ्नो पुरानो आधार भत्काउने भो भन्ने डर हुनु स्वाभाविकै भयो, कांग्रेसभित्र पनि त्यो डर राम्ररी नै झाँगिएको थियो। त्यसैले कांग्रेस र एमालेजन संघीयता र पहिचानका मुद्दामा डर घोलेर प्रचार गर्न सक्रिय भए। यो मिसन खतरामुक्त थिएन, किनभने यी दुवै पार्टीले अन्तरिम संविधानमार्फत संघीयता र पहिचानलाई स्वीकार गरेर आइसकेका थिए। नेताहरूलाई आफैँ अघि सरेर बोल्न कठिन भैरहेको थियो। त्यसैले उनीहरू शान्ति प्रक्रियासँग जोडिएका विषयलाई पक्रेर माओवादीमाथि आक्रमण गरिरहेका थिए। तर, ओलीलाई त्यति नैतिक संकट थिएन।

ओली बेलगाम उखान–बाण प्रहार गर्दै हिँड्न थाले। अरूलाई सजिलो भैगो। माओवादीविरोधी प्रतिक्रियात्मक राजनीतिका लागि ओली सबैभन्दा उपयुक्त पात्र बने। संविधानसभाको दोस्रो निर्वाचनमा देश प्रवेश गरिसक्दा एकथरी एमाले मिसनरीहरू ओलीलाई 'राष्ट्रिय नेता'का रूपमा प्रचार गर्न सक्रिय भए। यस्तो प्रचारका लागि सजिलो माहोल के थियो भने कांग्रेसजनका लागि पनि ओली सजिला हतियार भैरहेका थिए। एकथरी कांग्रेसी नेताले त खुलेरै कांग्रेसमा ओलीजस्ता नेता नभएको गुनासो गरे। कैयौँ आफूलाई निख्खुर कांग्रेस ठान्नेले पनि ओलीको उखान–बाणमा आफ्नै वचन भेट्टाए। ओली–उत्थानको यही चरम बेला थियो।

वास्तवमा राज्य पुनर्संरचना, संघीयता, पहिचान र समावेशिताको सिद्धान्तअनुरूप नयाँ संविधान बनाउने अन्तरिम संविधानको मूल उद्देश्यकै विरोधीका रूपमा ओलीको उत्थान भएको थियो। अझ भनौँ, यी सिद्धान्तहरू सजिलै स्विकार्दा माओवादीको एजेन्डामा हिँडिरहेको महसुस हुने र नस्विकार्दा अन्तरिम संविधानमार्फत जनतासँग गरिएको बाचामा धोका हुने भयानक द्विविधामा हिँडिरहेका एमाले र कांग्रेसका परम्परावादी धारको संकटलाई भजाएर ओलीको उत्थान भयो। यही विचारले उनलाई एमालेको अध्यक्ष बनायो र राजनीतिक रंगमञ्चमा निर्णायक रूपमा शक्तिशाली पनि बनायो। संक्षेपमा उनी उक्लेको उखानको भर्यााङ पुरातनपन्थी विचारको भर्यापङ थियो।

तुइनको भर

प्रधानमन्त्रीको कार्यभार सम्हाल्नासाथ ओलीको पहिलो निर्णय थियो– एक वर्षभित्रमा मुलुकलाई तुइनमुक्त गर्ने। यो निर्णय त ओली स्वयंले बिर्सिसके होलान्, बरु हिजोआज उनको राजनीति नै तुइनको भरमा छ। सायद उनले पाउनुजति पाइसके, त्यसैले गुमाउन केही बाँकी छैन। तर, उनको उखाननिर्मित तुइनमा बसेर राजनीतिको गाडी हाँक्न तम्सेका युवा नेतालाई भने अचानक आफू खोलाको बीचमा पुगेर बिग्रिएको तुइनमा पो सवार रहेछु भन्ने महसुस भएको हुनुपर्छ।

दर्शन, ज्ञान, विज्ञान सबै रद्दीको टोकरीमा फालेर अवसरवादलाई अँगालेपछि उखान–टुक्काले पनि केही समय धान्न सकिँदोरहेछ। अहिले जब जहाँ टेक्यो, त्यहीँ उखान विष्फोट भैरहेको छ। ओलीको सबैभन्दा शक्तिशाली हतियार मजाकमा रूपान्तरित भैसकेको छ। उनको विरोध होइन, आलोचना होइन, फगत मजाक भैरहेको छ– मजाक! एउटा नेतृत्व यसरी स्खलित हुनु पक्कै दुःखद कुरा हो, सँगसँगै समाजलाई एउटा गतिलो शिक्षा पनि हो। समाजमा नेता अनेक हुन्छन् र नेतृत्वका विशेषता पनि। खास खुबी वा विशेषताकै बलमा एउटा नेतृत्व जन्मिन्छ, हुर्किन्छ र समाजको बागडोर सम्हाल्ने ठाउँमा पनि पुग्छ। जब त्यही विशेषता नै विष्फोट हुनथाल्छ, नेतृत्व स्वयं पनि चकनाचुर हुन्छ।

नाकाबन्दीको कहरबीच सरकारी राष्ट्रवादको नारा लगाएर पुनः एकपटक आफूलाई साबित गर्ने कोसिस ओलीले पक्कै गरेका हुन्। उनको विडम्बना, राष्ट्रियता र राष्ट्रवादकै नयाँ परिभाषा भैरहेको नयाँ युगमा समाज प्रवेश गरिसकेको छनक उनले पाएकै रहेनछन्। फगत राष्ट्रवादको नारा लगाएर संकटमा फसेको जनजीवनप्रति प्रधानमन्त्रीको उत्तरदायित्व पूरा हुँदैनथ्यो। भारतसँग कुन–कुन मौकामा उनको सम्बन्ध कस्तो रह्यो र जस्तो रह्यो त्यस्तो किन भयो भन्नेबारे आजकल जनता जानकार भैसकेका छन्। व्यक्तिगत स्वार्थ र राष्ट्रिय स्वार्थलाई उनले इतिहासमा कसरी व्यवहार गरे भन्नै सबैलाई थाहा छ। त्यसैले उनको सरकारी राष्ट्रवादको हौवा पनि बुख्याँचा जस्तै सरहद किनारमा उभिरह्यो। अनि, बुख्याँचालाई सबैले चिने।

ओलीको उत्थान जुन धरातलमा भयो, त्यो धरातल किन निर्माण भएको थियो? त्यो धरातल वास्तवमै सिसाको घरजस्तो थिएन भने ओलीलाई आज धान्न किन सकेन? के त्यो तुइनझैँ थियो? नेतृत्व भनेको सामूहिक शक्तिको अभिव्यक्ति पनि हो। त्यसो भए त्यो सामूहिक शक्ति बनाउनेहरू को–को थिए? यी प्रश्नहरूको जवाफ खोज्न ओलीको उखान–विष्फोट एपिसोडलाई ध्यानले केलाउन आवश्यक छ। सर्वसाधारण जनताले आज ओलीका जुनकुनै अभिव्यक्तिलाई फगत टुक्का भन्ठान्छन् भने पक्कै पनि संकटको गम्भीरताले एउटा महत्वपूर्ण चरण पार गरिसकेको छ। यो विष्फोटक शक्तिलाई नचिन्ने हो भने अरू कुनै नेता र उनीहरूको नेतृत्व पनि खतरामुक्त हुनेछैन।

Leave a comment

'अहिले त नमस्ते पनि कमर्सियल!'

'अहिले त नमस्ते पनि कमर्सियल!'

बाल्यकालदेखि नै अभिनयमा लागेकी अभिनेत्री शुभद्रा अधिकारी अझै पनि फाट्टफुट्ट फिल्ममा काम गर्दैछिन्। उनले धेरै वटा फिल्ममा आमा भएर अभिनय गरिन्। कतिपय त उनलाई 'चलचित्रकी आमा' नै भन्छन्। उहिले फिल्मभन्दा...

नब्बे साल भाग-२

म नब्बे सालपछि जन्मेको मान्छेमलाई भुइँचालो हेर्ने रहर छसायद कवि भूपि शेरचनका पंक्ति हुन् यी। २०७२ साल वैशाख १२ गतेको भुइँचालो 'हेर्न' पाएका भए भूपि आफ्ना पंक्तिप्रति कति खेद प्रकट...

देशभक्त खनाल : छुच्चो ससुरोदेखि गुरुसम्म

देशभक्त खनाल : छुच्चो ससुरोदेखि गुरुसम्म

म २०४४ सालबाट कलाकारितामा आएको हुँ। सानैदेखि अभिनयमा रुचि राख्थेँ। अरूले गरेको अभिनय हेरेर पनि धेरै रमाउने खालको थिएँ। रूखको हाँगामा चढेर समेत अरूले गरेको रिहर्सल हेरेको थिएँ। त्यही हेरेर...

स्क्रिप्ट सुन्दरी

स्क्रिप्ट सुन्दरी

अघिल्लो वर्ष 'शुक्रवार सुन्दरी'का लागि कामुक अदासहितको तस्बिर खिचाएर चर्चामा आएकी जया ओझा यही शुक्रवारदेखि 'स्त्रि्कप्ट सुन्दरी'का रूपमा देखिने भएकी छिन्। शुक्रवारदेखि नेपाल टेलिभिजनमा प्रसारण हुन लागेको टेलिसिरियल 'परिबन्द'को स्त्रि्कप्ट...

चर्को स्वरका चौकीदार

चर्को स्वरका चौकीदार

काठमाडौँ, महाराजगञ्जस्थित टिचिङ हस्पिटल छिरेका लगभग सबैलाई याद भइरहने एउटा अनुहार छ। चौकीदारको निलो पोशाक लगाएका, घाँटीमा सिटी भिरेका, अग्लो कदका, ठूलो स्वरमा कराइरहने, सहयोगी स्वभावका ती व्यक्ति हुन्, शेरबहादुर...

गडबड छ सबैतिर

गडबड छ सबैतिर

'जोसुकैले थाहा पाओस्, बालै भएन नि! दिस इज माई लाइफ।' यस्ता वाक्यहरू बार, रेस्टुरेन्ट, चियापसल, कलेज, जताततै सुन्न पाइन्छन् हिजोआज। अलिकति पाका मानिसहरू भन्छन्, 'के भएको हो नया“ जमानाको पुस्तालाई?...

युवा साथीहरूलाई चिठी

युवा साथीहरूलाई चिठी

युवा मित्र,तपाईंमध्ये कैयौँलाई 'राजनीतिु मन पर्दैन। तर, यो मन नपरेको राजनीति हो कि राजनीतिको दैनिक चलखेलरु म अलि गहिरो कुरा गर्न खोज्दै छु। पत्रपत्रिका, टेलिभिजन, रेडियो आदि सबै सञ्चारमाध्यमले चौबीसै...

शुक्रबार सम्पादकीय - माघ ८ः आलाप आ–आफ्ना

संविधान जारी गर्ने भनिएको माघ ८ गते नजिकिँदै गर्दा संविधान सहमतिका आधारमा जारी गर्ने कि प्रक्रियामा गएर जारी गर्ने भन्ने विषयमा आ–आफ्ना स्वार्थअनुसारको 'लबिङ' तीव्र गतिमा सुरु भएको छ।