Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

सडकमा 'सेटिङ'

(1 Vote)
सडकमा 'सेटिङ'

संसद्देखि सडकसम्म देशमा जहीँतहीँ बेथिति छ । यसका झलकहरू सडकमा अझ प्रस्टसँग देखिन्छन् । सवारी चालक लाइसेन्स बोक्दैन, ब्लुबुक पनि बोक्दैन । ट्राफिक प्रहरी चेकिङ गर्छ । तर, नियमअनुसार केही पनि हुँदैन । 'सेटिङ गर्ने', 'कुरा मिलाउने', खल्तीमा पैसा हाल्दिने र हालिमाग्ने क्रम चलिरहन्छ । अनिल यादवले सडकमा हुने यस्तै तमासाका दृश्य संकलन गरेका छन्।

nepali-patro-may

हिजो हतारमा ब्लुबुक नबोकी बाइक चलाएछु । ठ्याक्यै चेकिङमा परेँ । ट्राफिक दाइ आउनुभो । 'चिट काट्छु, हजार लाग्छ' भन्दै मलाई साइडमा लानुभो । अनि 'चिट काटुम कि मिल्ने हो ?' भन्नुभो । पैसो त्यति थिएन । 'मिल्छु' भनेँ । उहाँले 'चार सय देऊ, लफडा हुँदैन' भन्नुभयो । चार सय दिएँ । तर, 'म अलि टाढै जानुपर्ने, फेरि अरू ठाउँमा नि चेकिङ भए चिट छैन के गर्ने ?' भनी प्रतीपश्न गरेँ । उहाले 'चेकिङ परे 'कस्तो जाडो ! भन्नू, कुरो मिल्छ' भन्नुभयो । म हिँडेँ । फेरि पर बाटोमा चेकिङ भयो । मैले त्यहाँको ट्राफिकलाई 'कस्तो जाडो !' भनेँ । उहाँले 'जाऊ–जाऊ भाइ' भन्नुभयो । त्यसरी चेकिङ हुँदा 'कस्तो जाडो !' भन्दै बचेर गएँ । केही दिनपछि फेरि ब्लुबुक बिर्सिएछु । ठ्याक्कै चेकिङमा परेँ । ह्या ! केही हुन्न भन्ने ठानी ट्राफिकलाई 'कस्तो जाडो !' भनेँ। ट्राफिक दाइले मुसुमुसु हाँस्दै 'ल भाइ, चार सय झिक । आज त 'कस्तो गर्मी' कोड चलिरा'छ' भन्नुभयो । लुरुक्क परेर चार सय रुपैयाँ दिएँ । अनि सधैँ कागज बोकेर सवारी चलाउने प्रमिस गरेँ।

नवीन थापाले केही दिनअघि आफ्नो फेसुबकमा यस्तो स्ट्याटस राखे । थुप्रैले कमेन्ट र लाइक गरे । स्ट्याटस थुप्रैको फेसबुक वालमा देखियो । भाइरल बन्यो । नवीन स्वयंको भोगाइ थिएन त्यो । उनले कसैबाट साभार गरेका रहेछन् । 'सुन्दा जोकजस्तो लागे पनि यो यथार्थ हो,' एक अनलाइन मिडियामा कार्यरत उनले शुक्रवारसँग भने, 'एकजनाले मात्र होइन, थुप्रैले यस्तो प्रवृत्तिको सामना गरिरहेका छन् । अहिलेको वास्तविकतै यस्तो छ ।'

हुन पनि त्यस्तै भइरहेको छ । नेपालको कुनै पनि क्षेत्र भ्रष्टाचार, घुस आदि गलत प्रविृत्तबाट अछूतो छैन । सडकमा पनि बेथिति कायमै छ । उपत्यकामा हातहाती पैसा लिँदा पारदर्शिता नदेखिएपछि आईएमई बैंकमार्फत पैसा जम्मा गराउने सिस्टम लागू भइसक्यो । तैपनि समस्या अझै हटेको छैन । तर, पहिलेभन्दा केही न्यूनीकरण भने भएको स्वयं सवारी चालकहरू नै स्विकार्छन् । 'पहिलेजस्तो सजिलै पैसा माग्न सक्दैनन् ट्राफिक प्रहरी,' चार वर्षदेखि बाइक कुदाइरहेका काठमाडौँ, चक्रपथका रमेश मगर भन्छन्, 'बैंकमा पैसा जम्मा गराउने सिस्टम नहुँदा ट्राफिकहरू रसिदमा एक सय रुपियाँको चिट काटेर हामीसँग दुई सय रुपियाँ पनि असुल्थे । अहिले उनीहरू त्यसरी असुल्न सक्दैनन् । जागिर जाने डरले खुलेर पैसा पनि माग्दैनन् । पैसा दिने र लिने दुवै टेक्निक छ । त्यो पैसा खुवाउने र खानेलाई मात्र थाहा हुन्छ ।' उनीसँग सहमत देखिए, ललितपुरमा कार्यरत एक ट्राफिक हवल्दार । 'उपत्यकाबाहिर त अहिले पनि पैसा खान गाह्रो छैन,' नाम नबताउने शर्तमा उनले भने, 'तर, यहाँ चाहिँ पहिलेजस्तो सजिलो छैन । पहिला सजिलै खान पाइन्थ्यो । अहिले मिलाएर खानुपर्छ, लुकाएर खानुपर्छ । साथीहरू त्यही गरिरहेका छन् ।'

पैसा खल्तीमा, काम जल्दीमा

लाइसेन्स र ब्लुबुक दुवै नबोकी सवारी कुदाएको अवस्थामा ट्राफिक प्रहरीको चेकिङमा परियो भने के गर्ने ? 'खल्तीमा पैसा हालिदिने, टन्टै साफ !' झापाबाट विदेश जान आँटेको छिमेकी भाइलाई काठमाडौँ छोड्न आइपुगेका सुरज राईको जवाफ हो यो । उनको दिमागमा यस्तो जवाफ त्यसै आएको भने होइन रहेछ । आफूले भाइ चेकिङमा पर्दा यसरी नै छुटाएको उनको भनाइ थियो । 'केही दिनअघिको कुरा हो । भाइ छेसाङ मोक्तानको तीन दिनपछि दुबईको फ्लाइट थियो । हामी काठमाडौँ, सिनामगंलको सेकुवा कर्नरमा जमघट गरेर रातको ८ बजे एयरपोर्टनजिकैको कोठा फर्किरहेका थियौैँ,' उनले सम्झिए, 'भाइ स्कुटीमा पछि–पछि आइरहेको थियो । म बाइकमा अघिअघि । एयरपोर्ट र सिनामंगलको बीचमा सडकको दायाँ र बायाँ दुवैतिर चेकिङ भइरहेको थियो । म चेकिङबाट क्रस भइसकेको थिएँ । भाइसँग लाइसेन्स र ब्लुबुक केही थिएन । उसले अगाडि चेकिङ देखेछ । भाग्न खोज्दा दायाँ साइडको चेकिङमा समातियो । फोन ग¥यो । म पुगेँ । छोडिदिन आग्रह गरेँ । तर, ट्राफिकले मानेनन् । परिस्थिति हेरेर मैले उनको खल्तीमा एक हजार रुपियाँ हालिदिएँ । यो देशमा यस्तै चल्छ भन्दै चुपचाप बाटो लाग्यौँ ।'

खल्तीमा पैसा नहालुञ्जेल 'कडा' भएर प्रस्तुत हुने ट्राफिक प्रहरीहरू हालिदिएपछि भने 'नरम' हुने अनुभव ललितपुर, भैँसेपाटी बस्ने सुमन रानासँग पनि छ । 'ब्लुबुक र लाइसेन्स दुवै बिर्सेको अवस्थामा थुप्रै पल्ट चेकिङमा परिसकेँ,' राना भन्छन्, 'ट्राफिक प्रहरी सुरुमा कडा भएर प्रस्तुत हुन्छन् । चिट नकाटी हुँदै हुँदैन भन्दै आर्दशका कुरा गर्छन् । 'मिलाऊँ न सर' भन्दै सुटुक्क खल्तीमा पैसा हालिदिएपछि चुप लाग्छन् ।' कुनै झन्झटबिना काम छिटो सक्ने माध्यम 'खल्तीमा पैसा' हालिदिनु नै रहेको उनी बताउँछन् ।

भक्तपुर, गट्ठाघर बस्ने आकाश लिम्बूले पनि गत मंगलवार त्यसरी नै छुटकारा पाए । उनी नागपोखरीबाट घरतर्फ फर्कदै थिएँ । सिनामंगलमा चेकिङमा परे । 'लाइसेन्स बनाएकै थिइनँ,' चेकिङबाट छुटकारा पाएपछि उनले रहस्य खोले, 'त्यही भएर लाइसेन्स घरमा भुलेँ भनेर ढाँटिदिएँ । मानेकै थिएन । चिट काट्न लागेको थियो । साइडमा लगेर १ सय ५० रुपियाँ दे'को खुशी भयो । 'अबदेखि नबिर्सिनू' भन्दै 'जाऊ' भन्यो । लिम्बूलाई पनि बैंकमा पुगेर पैसा जम्मा गरेर ट्राफिक कार्यालयबाट ब्लुबुक लिन झन्झट लाग्दो रहेछ । भने, ''पैसा खल्तीमा, काम जल्दीमा' हुन्छ भने अरू के चाहियो र ?'

ब्लुबुकमा पैसा

सवारी दर्ता प्रमाण–पत्रलाई भनिन्छ– ब्लुबुक । तर, यो सडकमा पैसा खाने र खुवाउनेको माध्यम पनि बनिरहेको पाइयो । आइतवार साँझ चाबहिल, मित्रपार्कमा ट्राफिक चेकजाँचमा त्यस्तै दृश्य देखियो । पल्सर बाइकमा आएका एकजना युवक चेकिङमा परे । उनलाई चेकिङमा रहेका ट्राफिक प्रहरीले 'लाइसेन्स÷ ब्लुबुक छ ?' भनेर सोधे । 'छ,' उनको जवाफ थियो । प्रहरीले देखाउन भन्दा उनीसँग लाइसेन्स थिएन । कसैले नदेख्ने गरी ती युवक प्रहरीलाई 'कुरा मिलाऊँ न सर' भन्दै थिए । उनले आफूसँग रहेको ब्लुबुक ती प्रहरीलाई दिए । प्रहरीसँग पनि एउटा पुरानो ब्लुबुक र रसिद थियो । उनले रसिद नकाटी त्यत्तिकै छोडिदिए । पछि बुझियो– ब्लुबुकमा पैसा राखिएको रहेछ । जसलाई सुटुक्कै प्रहरीले आफ्नै ब्लुबुकमा सारे ।

कोटेश्वर, बालकुमारीका सुभाष राईका लागि त टेक्निक नै हो, ब्लुबुकमा पैसा । उनले अहिलेसम्म लाइसेन्स निकाल्न सकेका छैनन् । 'म त सधैँ ब्लुबुकभित्र दुई–तीनसय रुपियाँ पैसा राखेर हिँड्छु,' उनले सुनाए, 'कतै चेकिङमा परेँ भने अवस्था हेरेर मिलाउँछु । लाइसेन्स छैन भनेपछि ट्राफिक रसिद काट्न खोज्छन् । म नगदी रसिद काट्दा हुँदैन ? भनेर सोध्छु । 'हुन्छ' भन्छन् । अनि, भित्र पैसा राखिएको ब्लुबुक उनीहरूलाई दिन्छु । उनीहरूसँग अलरेडी एउटा ब्लुबुक हुन्छ । यताउता हेरेर पैसा लुकाइहाल्छन् । अनि छाड्छन् ।' यसरी आफू तीनपल्ट छुटिसकेको राइको भनाइ थियो । सधैँभरि यसरी चल्छ त ? 'लाइसेन्स नबनिञ्जेल त चलाउनैप¥यो,' उनको आत्मविश्वासपूर्ण जवाफ थियो ।

सर्भिसिङ कार्डमा पैसा

एक हप्ताअघि मैतीदेवीका रमेश खड्का (नाम परिवर्तन) इमर्जेन्सी काम लिएर स्कुटीमा अनामनगरबाट सोह्रखुट्टेतर्फ जाँदै थिएँ । लैनचोरस्थित अस्कल क्याम्पसअघि चेकजाँचमा परे उनी । हातमा सर्भिसिङ कार्ड बोकेका ट्राफिक प्रहरीले उनलाई रोके । लाइसेन्स मागे । उनीसँग थिएन । 'छैन' भने । स्कुटीमा 'अन टेस्ट' लेखिएको थियो । ती प्रहरीले ब्लुबुक मागे ? स्कुटी अन टेस्ट भएकाले उनले कम्पनीले दिएको चिट देखाए । 'तपाईसँग केही रहेनछ , हुँदैन । स्कुटी यहीँ राखिदिन्छु,' ती प्रहरीले थर्काए । खड्काको केही लागेन । उनी हतारमा थिए । 'भाइ एक्सिडेन्ट परेको सुनेर गइरहेको थिएँ,' उनले सुनाए, 'त्यही भएर मसँग विकल्प थिएन । सर, जसरी नि मिलाइदिनुस् भनेँ । त्यसपछि प्रहरीले ल यहाँभित्र पाँच सय रुपियाँ राख्नुस् भन्दै सर्भिसिङ कार्ड दिए । मैले राखिदिएँ । अबदेखि लाइसेन्स बोक्नुहोला भन्दै हाँस्दै ती ट्राफिकले मलाई छोडिदिए ।'

रूखो बोली

शनिवार साँझ काठमाडौँ, न्युरोड गेटनजिकै चेकजाँच भइरहेको थियो । एकैपल्ट थुप्रै सवारी चेकिङ स्थलमा जम्मा भएका थिए । प्रहरीलाई भ्याइ–नभ्याइ थियो । एक मोटरसाइकल चालक चेकिङ भइरहेको छेउबाट बाटो लाग्न खोजे । 'ओए रोक्, रोक् । चेकिङ भइरा'छ भन्ने थाहा छैन । किन गइस् ?' ती ट्राफिक प्रहरी उनीसँग जंगिए । 'सर, हजुरले रोक्नुभएन । त्यहीभएर म गा'को हुँ । मसँग लाइसेन्स, ब्लुबुक सब छ । मापसे गरेको छैन । नपत्याए चेक गर्न सक्नुहुन्छ,' नरम भएर ती मोटरसाइकल चालक प्रस्तुत भए । तर, पनि ती प्रहरीले उनलाई गाली गर्न छाडेका थिएनन् । भन्दै थिए, 'धेरै बोलिस् भने जरिवाना गरिदिउँला नि । होस् गर ।' सडकमा चेकजाँच भइरहेको दृश्य नियाल्ने हो भने यस्तो रूखो बोली र व्यवहार भएका ट्राफिक प्रहरी प्रशस्तै भेटिन्छन् । काठमाडौँ, बौद्धका निमा लामा अचेल प्रहरीको यस्तो व्यवहारलाई सामान्य रूपमा लिन्छन् । 'दिमाग चाट्ने गरी प्रश्न गर्छन् ट्राफिक प्रहरीहरू,' उनले भने, 'नम्रता र शिष्टता भन्ने कुरै हुँदैन उनीहरूसँग । तर, केही–केही चाहिँ साह्रै असल र शिष्ट हुन्छन् ।'

चालक पनि दोषी

सडकमा देखिएको बेथितिको दोष ट्राफिक प्रहरीलाई मात्र दिन नहुने बताउँछन्, काठमाडौँ, कलंकीका बिक्की श्रेष्ठ । दुई वर्षदेखि स्कुटी कुदाइरहेका उनी भन्छन्, 'मसँग लाइसेन्स र ब्लुबुक दुवै छ । सँगै साथमा बोक्छु । त्यति भएपछि कसैलाई पैसा खुवाउनुपरेको छैन् । बरु लाइसेन्स बनाउँदा चाहिँ दलालमार्फत खुवाउनुपरेको थियो । त्यसैले म यो बेथितिको दोषी हामी चालक पनि हौँ भन्छु ।' उनीसँग सहमत देखिए, गौशालाका केशव राई । भन्छन्, 'गल्ती गरेपछि बच्नका लागि हामीलाई सजिलो माध्यम चाहिन्छ । जसले प्रहरीलाई फाइदा पु¥याउँछ । हामीले घुस खुवाएनौँ भने त प्रहरीले कसरी खान पाउँछन् र ? त्यही भएर गल्ती हाम्रो पनि छ ।' महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्याल पनि चालकले सुरुमा आफ्नो व्यवहारमा सुधार ल्याउनुपर्ने बताउँछन् । आफूले पाउने अवसरभन्दा 'रिस्क' कम भएको अवस्थामा चालकले ट्राफिक नियम उल्लंघन गर्ने उनको तर्क छ । 'म त सडकमा बेथिति निम्तनुको दोष चालकलाई दिन्छु । मान्छेसँग यहाँ धैर्य छैन,' उनी भन्छन्, 'ऊ कतै १० बजे पुग्नुछ भने त्यही अनुसार समयमा हिँड्दैन । अनि, सडकमा पुगेपछि हतार गर्छ । ट्राफिक नियमलाई सम्मान गर्दैन । जसकारण ऊ कारबाहीमा पर्छ । मेरो विचारमा चालकले सुरुमा आफूलाई सुधार गर्न आवश्यक छ । हाम्रैभित्र गर्नुपर्ने सुधार त हामी गरिहाल्छौँ ।'

झन्झट मान्दा प्रहरीलाई फाइदा

अधिकांश सवारीचालक जरिवाना रकम तिर्ने प्रक्रियालाई 'झन्झटिलो' ठान्छन् । त्यही प्रक्रियाका कारण आफूहरूले ट्राफिक प्रहरीलाई रकम खुवाउने गरेको बताउँछन् । 'बैंकमा लाइन लाग, रकम तिर । अनि, फेरि ट्राफिक कार्यालय जाऊ, लाइन लाग । अनि, ब्लुबक या लाइसेन्स लिऊ । यसो गर्दा त पूरै दिन त्यत्तिकै जान्छ,' ललितपुर, सातदोबाटोका रविन बुढाथोकी भन्छन् । उनको जस्तै विचार छ, कपनका समिर चापागार्इंको । 'मलाई त खल्तीमा पैसा हाल्दिनु नै सर्ट कट उपाय लाग्छ,' चाबहिलस्थित पेट्रोल पम्पमा लाइन लाग्दै गर्दा भेटिएका उनले भने, 'त्यसो गर्दा कमसे कम समय त जोगिन्छ । पैसा त जसरी दिए नि जाने त्यति नै हो । बरु पुलिसलाई दिँदा नै फाइदा ।'

प्रोत्साहन नपाउँदा असन्तुष्ट

'पर्फर्मेन्स बेस्ड इन्सेन्टिभ' अन्तर्गत नेपाल सरकारले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता प्रदान गर्ने गरेको छ । ट्राफिक प्रहरीले जरिवाना गरेको रकममध्येको १५ प्रतिशत उनीहरूलाई दिने निर्णय गरिएको छ । अर्थ मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा यो भत्ता दिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । 'यो पनि यसपल्ट पाइएको छैन,' शाखामा कार्यरत एक ट्राफिक प्रहरी जवानले दुःख पोखे । काठमाडौँ, कोटेश्वरमा कार्यरत एक ट्राफिक प्रहरीका जवान प्रोत्साहन भत्ता समयमा नपाउँदा पनि सडकमा बेथिति निम्तिएको बताउँछन् । 'प्रोत्साहन भत्ता थोरै पाइन्छ, त्यो पनि कहिले हो कहिले ?' नाम नखोल्ने शर्तमा उनले भने, 'त्यही भएर मिलेसम्म हातहाती पैसा खान पाए हुने भन्ने दाउमा प्रहरी हुन्छन् । कसैले नदेख्ने र नसुन्ने गरी मात्र लिने गर्छन् । ठूला हाकिमहरूले लाखौँको घोटाला गर्छन् । हामीलाई यहाँ खुशी भएर कसैले सडकमा दुई–तीन सय दिन्छ भने चाहिँ आपत्ति गर्नु ठीक हो र ?'

एक हप्ताअघि मात्र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भएर आएका अर्यालले विगतका विषयमा आफूलाई थाहा नभएको र वर्तमानमा बेथिति निम्तन नदिन आफू कडा भएर प्रस्तुत हुने बताए । 'सडकमा समस्या होलान् । तर, पहिलेको जस्तो छैन, ' उनले भने, 'गलत प्रवृत्तिलाई हामी संगठनभित्रबाट पूर्ण रूपमा सफा गर्नेछौँ ।' उनले सडकमा हुने बेथितिलाई नियन्त्रण गर्नकै लागि जिमेलमाफर्त सीधै अडियो या भिडियो पठाउने व्यवस्था गर्न लागेको बताए । 'सडकमा कसैले अनैतिक र अव्यावसायिक व्यवहार गरेको भिडियो या अडियो जसले पनि पठाउन सक्ने गरी हामीले हाम्रो वेबसाइटमा एउटा जिमेल आईडीको व्यवस्था गर्न लागेका छौँ,' उनले भने, 'यो अभियानमा हामीलाई जनताले सहयोग गर्नुहुन्छ भन्ने आशा छ ।'

Leave a comment

ग्ल्यामर जगतमा नयाँ नाम

ग्ल्यामर जगतमा नयाँ नाम

हालसालै सम्पन्न 'मिस पूर्वाञ्चल २०१३' ले नेपाली ग्ल्यामर जगत्लाई नयाँ सुन्दरी दिएको छ- नेहा बजाज। उनी विराटनगरस्थित एक कलेजमा सीए पहिलो वर्षमा अध्ययनरत छिन्। विद्यार्थीबाट एकैपटक 'पब्लिक फिगर' बनेकी नेहाको...

जहाँ जिन्दगी ठप्प छ

जहाँ जिन्दगी ठप्प छ

बच्चा बोकेर मोटरसाइकलमा स्कुल पुर्‍याउन हिँडेका विराटनगर–६ का अनिश खतिवडालाई पेट्रोलले तनाव दिइरहेको छ। बन्दले स्कुल बस नचल्दा बच्चालाई एकाबिहानै मोटरसाइकलमा पुर्यारउनु उनको दैनिकी भएको छ।

मञ्च–रंगमञ्च : कल्पनाशीलताको सीमा

मञ्च–रंगमञ्च : कल्पनाशीलताको सीमा

नाटकमा कल्पनाशीलताको कुनै सीमा हुन्न। असीमित कल्पनाशीलतामा नै नाटकको सौन्दर्य प्रस्फुटित हुन्छ। नाटकको सीमित चारदिवारीभित्र असीमित दृश्यहरूको परिकल्पना गरिएको हुन्छ। यो सबै कलात्मक सिर्जनशीलतामा मात्र सम्भव छ।

यौन र इन्टरनेट

यौन र इन्टरनेट

जर्मनीको बर्लिनमा यौनकर्मी खोज्न सजिलो छ। पेपर भन्ने एप्सले यस कामलाई सहज पारिदिएको छ। यसले यौनकर्मीको सूची, तस्बिर, मूल्य र शारीरिक बनोट आदि विवरण तुरुन्त उपलब्ध गराउँछ। 

एस.एल.सी.को जाँच जेमराजको जुवाइँ होइन!

एस.एल.सी.को जाँच जेमराजको जुवाइँ होइन!

यस वर्षको प्रवेशिका अर्थात् एस.एल.सी. परीक्षाको तयारीमा लाग्नुभएको किशोर–किशोरी मित्रहरू अथवा भाइबहिनीहरूलाई हार्दिक शुभ–कामनासहित परीक्षा उत्तीर्ण गर्ने उपाय सिकाउँ कि कि भनेर आएको छु। एक्कै छिन मेरा कुरा सुनेर पढ्न...

'कसैको गर्लफ्रेन्ड भएर स्टार बन्नु छैन'

'कसैको गर्लफ्रेन्ड भएर स्टार बन्नु छैन'

हर्षिका श्रेष्ठको परिवारलाई उनी फिल्म क्षेत्रमा जाने कुरा स्वीकार्य थिएन। परिवारले पढाइमा जोड दियो। हर्षिकालाई पनि परिवारको सल्लाहबमोजिम चल्नुथियो। पढाइ गर्दै एउटा निजी कम्पनीमा जागिर खान थालिन्। तर, त्यहाँ फिल्म...

एक घुम्ती, एक पात्र : चाहेको पाइन्न, पाएको चाहिन्न

एक चर्चित सेलिब्रिटी र बैँसालु सुन्दरी। कति जना आउँदा हुन् विवाह प्रस्ताव लिएर ? कस्ता–कस्ता आउँदा हुन् ? कसरी फकाउन खोज्दा हुन् ? धेरै जना राम्राले एकैपटक फलो गरिरहँदा 'कसलाई दिऊँ...

बिरालो पति मरेपछि कुकुरसँग बिहे

हल्याण्ड– हल्याण्डकी डोमिनिक लेस्बिरेल नाम गरेकी युवतीले आठ वर्षअघि विरोलोसँग बिहे गरेकी थिइन । डोएरेक नाम गरेको सो बिरोले १९ वर्षको उमेरमा किड्नी फेल भएर मरेपछि डोमिनिक विधवा भइन् ।