Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

बाँझो फूलबारी डिलका उपदेशकहरू

(0 votes)
बाँझो फूलबारी डिलका उपदेशकहरू
यस कार्यक्रमका उद्घोषक मित्र मित्रलाल पंज्ञानी अन्तर्यामी हुनुहुन्छ क्यार। त्यसैले त उहाँलाई र सायद प्रलेसका अन्य मित्रहरूलाई लागेछ– खगेन्› संग्रौला सम्मान ग्रहण गर्न आउला र? मित्रलालजीहरूले कल्पना गर्नुभएजस्तै यसमा मेरा पनि दुविधाहरू थिए।
nepali-patro-may
प्रलेसले मलाई सम्मान गर्नु प्रलेसका लागि एउटा विचलन हो र मेरा लागि एउटा दुर्घटना हो। यो विचलन र दुर्घटनाको कल्पना मेरो मनको कुनै कुनामा पनि थिएन। तैपनि यो घटित भयो र म दुविधाका बीच तपाईंहरूसमक्ष उपस्थित भएको छु। प्रगतिशील लेखक संघ मेरो पनि मातृसंस्था हो। श्यामप्रसादजीको नेतृत्वमा २००९ सालमा यसको स्थापना भयो। श्यामजीले लेखक संघको शिलान्यास गरेर हाम्रो लागि उभिने चौतारी बनाइदिनुभयो र प्रगतिशील लेखनको वैचारिक जग बसाल्ने कृतिका रूपमा 'लेखक कसरी बन्ने?' र 'तँ, तिमी, तपाईं, हजुर' हामीलाई उपहार दिनुभयो। यो लेखकीय चौतारी मेरा लागि अत्यन्तै प्रिय छ। जीवनको यात्रामा मानिसलाई अगाडि डोर्याँउने विचारहरू हुन्छन्, व्यक्तिहरू पनि हुन्छन्। मलाई लाग्छ, तिनका प्रति हामीमा कृतज्ञता हुनुपर्छ। तिनले यात्राको प्रारम्भिक गोरेटो कोरिदिए र त्यही गोरेटोमा टुकुटुकु हिँड्दै हामी यहाँ पुगेका हौँ।

अँ, जब सम्मान गर्न मलाई निम्ता गरियो, म त्यसै–त्यसै विस्मित भएँ। मैले आफैँलाई सोधेँ– प्रगतिशील लेखक संघले मलाई सम्मान गर्न मसँग प्रगतिशीलताको आधिकारिकता के छ? म आफूलाई लेखक ठान्छु, यो सत्य हो। म लेखक हुँ भन्ने कुरामा मलाई र अरू धेरैलाई सायद दुविधा छैन। तर, म कस्तो लेखक हुँ? म प्रगतिशील लेखक हुँ कि बुर्जुवा लेखक? म क्रान्तिकारी लेखक हुँ कि प्रतिक्रियावादी लेखक? म निष्ठावान् हुँ कि विचलनवादी लेखक? मलाई थाहा छैन। यी कुराकोे निरूपण कसले गर्छ, मलाई त्यो पनि थाहा छैन। हामीकहाँ प्रगतिशील लेखक बन्न बडो सजिलो छ। तपाईं कम्युनिस्ट पार्टीको सदस्य बन्नुस्, तपाईंलाई प्रगतिशीलताको आधिकारिकता स्वतः प्राप्त भइहाल्छ। तपाईंको चिन्तन र सिर्जनामा प्रगतिशीलता हुनुपर्छ भन्ने केही छैन। तपाईं प्रगतिशील लेखक संघको सदस्य बन्नुस्, तपाईंलाई प्रगतिशीलताको प्रमाणपत्र स्वतः प्राप्त भइहाल्छ। यो पदेन प्रगतिशीलता हो। मसँग प्रगतिशीलताका यी दुवै पदेन प्रमाणपत्र छैनन्। तथापि बडो उदारतासाथ सम्मानित हुन मलाई निम्ता गरियो। प्रगतिशील लेखक संघको यो उदारताप्रति म कृतज्ञ छु।

वृद्धाश्रमजस्तो प्रलेस
यहाँ आउनुअघि प्रगतिशील लेखक संघ अहिले कुन अवस्थामा छ, यसको चिन्तन प्रवृत्ति र सिर्जन सामर्थ्य के कस्तो छ? यसबारे जान्न मलाई खुल्दुली भयो। संयोगले प्रलेसको मुखपत्र 'प्रलेस–०७१' मलाई प्राप्त भयो। मैले गहिरो ध्यान र प्रेमपूर्वक यसको पहिलो शब्ददेखि अन्तिम शब्दसम्म पढेँ। यो पढेपछि प्रगतिशील लेखक संघको अवस्था, यसको वृत्त, यसका चिन्तन प्रवृत्तिहरू, यसको सिर्जनात्मक सामर्थ्य र यसको दिशाबारे मलाई केही जानकारी भयो। तपाईंहरू प्रगतिशील लेखक संघको राष्ट्रिय सम्मेलनमा हुनुहुन्छ। यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ। र, आगामी कार्यकालका निम्ति कार्यक्रम पनि तय गर्नेछ। त्यसैले 'प्रलेस'को यो मुखपत्र पढेपछि प्रलेस मलाई कस्तो लाग्यो? यससम्बन्धी मेरा टिप्पणीहरू तपाईंहरूका लागि उपयोगी हुन सक्लान्। उपयोगी नै नभए पनि तपाईंहरूलाई कमसे कम प्रलेसद्वारा सम्मानित व्यक्तिको रायको जानकारी हुनसक्छ। यो जानकारी सम्मान सर्वथा गलत ठाउँमा परेछ भन्ने पछुतोको कारकचाहिँ नबन्ला भन्ने मेरो आशा छ।

यो मुखपत्र 'प्रलेस' पढिसकेपछि मलाई भएको सबैभन्दा पहिलो अनुभूति के हो भने प्रगतिशील लेखक संघ ज्यादै बूढो भएछ। तपाईंहरूबाट सम्मानित हुन पाएको यो क्षणमा मैले कुरा नलुकाई, कुरा नचपाई आफूलाई लागेको कुरा बोल्नुपर्छ। मेरा कुरा तपाईंहरूलाई मन पर्लान् वा मन नपर्लान्, त्यो तपाईंहरूको आफ्नो मामिला हो। यहाँ कर्णप्रिय सुनिने गरी मलाई तपाईंहरूलाई नक्कली कुरा भन्नु छैन।

हो, तपाईंहरूको यो मुखपत्र मैले बडो ध्यान र प्रेमले पढेँ। यो पढ्दै जाँदा पन्नैपिच्छे मेराअगाडि बूढो प्रगतिशील लेखक संघ प्रकट हुँदै गयो। र, यसका अधिकांश लेखकहरूचाहिँ मलाई वृद्धाश्रमको साँगुरो वृत्तका अरसिक कैदीजस्ता लागे। मेरा यी टिप्पणी तपाईंहरूलाई बडो आपत्तिजनक लाग्लान्। तर, के लाग्छ, मलाई लागेको यही हो। पाठकको चित्तमा पठन–सामग्रीको चरित्रअनुरूपका प्रतिक्रियाहरू पैदा हुन्छन्। यद्यपि यो प्रतिक्रियामा पाठकको निजी दृष्टि, रुचि र विचारप्रवृत्तिको छाप पनि अवश्य परेको हुन्छ।

भानुभक्तै किन?
प्रलेसको यो मुखपत्रमा मुख्यतः भानुभक्तमाथि विमर्श गरिएको छ। भानुभक्तमाथि मात्रै ४९ पेजको विमर्श छ। वागमतीको पुलमुनि धेरै पानी बगिसकेको छ र समय धेरै अगाडि बढिसकेको छ। यो विमर्श पढ्दा मेरो मनमा स्वाभाविक प्रश्न उठ्यो– अझै पनि प्रगतिशील लेखक संघ भानुभक्तको वरिपरि घुमिरहन किन अभिशप्त छ? भानुभक्तमा के त्यस्तो सम्मोहक जादू छ जसले गर्दा भानुभक्तको नाम हामीले जपिरहनुपर्छ, कार्यपत्र लेखिरहनुपर्छ, टिप्पणी गरिरहनुपर्छ, समयको अपव्यय गरिरहनुपर्छ र पानाहरू भरिरहनुपर्छ?

भानुभक्तबारे पर्याप्त लेखिएको छ। रामकृष्ण शर्मा, ज्ञानमणि नेपाल, गोविन्द भट्ट, मोदनाथ प्रश्रित, निनु चापागाईं आदिका भानुभक्तमाथिका विवेचनाहरू पढेपछि भानुभक्तबारे थप पढिरहनु पर्दैन। यी विवेचकहरूमध्ये कसकोे दृष्टिकोण र निरूपण ग्रहण गर्ने भन्ने पाठकविशेषको आ–आफ्नै कुरा हो। र, नै त भनिन्छ– कुण्ड–कुण्ड पानी, मुण्ड–मुण्ड बुद्धि। तैपनि प्रगतिशील लेखक संघलाई परिक्रमा गर्न भानुभक्तै चाहियो? व्यक्तिकेन्द्री विमर्श नै गर्ने हो भने पारिजातमाथि गर्न सकिँदो हो, गोविन्द भट्टमाथि गर्न सकिँदो हो। प्रगतिवादले जीवित व्यक्तिमाथि विमर्श गर्न अनुमति दिन्छ भने निनु चापागाईंमाथि गर्न सकिँदो हो। निनु चापागाईंको सौन्दर्यचिन्तनमाथि यसरी विमर्श गरिएको भए त्यसको बृहत् वृत्तमा भानुभक्त पनि पर्दा हुन्, विमल निभाहरू पनि पर्दा हुन्। डाक्टर प्रत्यूष वन्तको थेसिसमा नेपालको वीरगाथा र भक्तिगाथाको जुन गम्भीर विवेचना छ, त्यसलाई नेपालीमा अनुवाद गर्ने हो भने भानुभक्तीय चिन्तन र सिर्जन प्रवृत्तिको चुरो कुरो बुझिन्छ। त्यसैले भानुभक्तको चयन प्रगतिशील लेखक संघको अतीतमुखी मोह, एक नोस्टाल्जिया हो कि जस्तो मलाई लाग्यो। नेपाली समाजमा यति धेरै अन्तरविरोधहरू छन्, यति धेरै समस्याहरू छन्। लेख्नका लागि, सोच्नका लागि यति धेरै सामग्रीहरू छन्। तैपनि मियोवरिपरि साँगुरो वृत्तमा बूढो गोरु नित्य घुमेझैँ भानुभक्तीय मियोवरिपरि प्रगतिशील लेखक संघले किन घुम्नुपरेको होला? पेलिसकिएको जर्जर पीना पेलेर तेल आउँदैन।

बाँझो फूलबारी डिलका उपदेशकहरू
यो 'प्रलेस' भन्ने पत्रिकामा केही शास्त्रीय कुराहरू छन्, केही अर्ती– उपदेशहरू छन्। यसमा कविताका लक्षण, आख्यानका विशेषता र मार्क्सवादी सौन्दर्यका मानकबारे थुप्रै लेख छन्। यी लेख प्रोफेसरहरूबाट लेखिएका छन्, डाक्टरहरूबाट लेखिएका छन्। यी सामग्री पद्दै जाँदा मलाई लाग्यो– यी गुरुजीहरूका, मास्टरहरूका लेखोट हुन्। क्याम्पसमा पढाउने मास्टरसँग मस्तिष्कमा वा कापीमा 'नोट'हरू त यसै पनि हुन्छन् नै। यहाँ कक्षामा विद्यार्थीलार्ई पढाएका 'नोट'हरूबाट टाक्क–टुक्क केही कुरा लेखिएको छ। मार्क्सवादी दर्शन र मार्क्सवादी सौन्दर्यशास्त्रबारे हिन्दीमा पर्याप्त पुस्तक उपलब्ध छन्। हामीमध्ये धेरै ती पुस्तक पढ्न सक्छौँ। आवश्यकता र प्रासंगिकता हेरी हामी तीमध्ये कतिपय सामग्री अनुवाद गर्न पनि सक्छौँ। यहाँ लेखिएका चिजहरू तिनै सामग्रीका भद्दा भाषाटीका जस्ता छन्। यी न गम्भीर छन्, न प्रासंगिक छन्, न रुचिकर छन्। यिनले तपाईंलाई कुनै उद्दीपन, कुनै प्रेरणा, कुनै प्रकाश दिँदैनन्। यी निरस स्रेस्ताहरू यथार्थका जीवन्त र रंगिन प्रक्रियाबाट विमुख भएका थकित र अलगाउ अवस्थामा रहेका वृद्धहरूका लेखजस्ता लाग्छन्।

यसमा अर्का एकथरी अजीबका लेखहरू छन्। यी जीवन निरपेक्ष अर्ती–उपदेशहरू हन्। यी लेख पढ्दा एउटा विचित्रको तस्बिर आँखाअगाडि आउँछ। एउटा ज्ञानी उपदेशक छ। ऊ फूलबारी अगाडि उभिएको छ। फूलबारी बाँझो छ। खनीखोस्री गरिएको छैन। बाँझो फूलबारीको डिलमा उभिएर ऊ दिव्य मन्तव्य दिन्छ– फूलको बिरुवा कसरी रोप्ने? मलजल कसरी गर्ने? कसरी ढकमक्क फूल फुलाउने? आदि। तर, बगैँचाको बाँझो फोर्न ऊ सिन्कोसम्म पनि भाँच्दैन। उसले न फूल रोप्छ, न पानी हाल्छ, न गोडमेल गर्छ। ऊ त केवल फूल फुलाउने मन्तव्य दिइरहन्छ।

कार्ल मार्क्स भन्छन्– आजसम्म दार्शनिकहरूले जगत्को विवेचनामात्रै गरिरहे, गर्नुपर्ने गाँठ्ठी कुरो त संसार फेर्नु पो हो। खै, हाम्रा पदेन प्रगतिशील उपदेशकहरूले यो मार्क्सवाणी सुनेका?

भाषाशैली र प्रस्तुतिको हरिबिजोक
अब भाषाशैली र प्रस्तुतिका कुरा गरौँ। आज बजारमा पढ्नका निम्ति विविध किसिमका सामग्रीहरू उपलब्ध छन्। अभिव्यक्तिका विविध शैली र बान्कीहरू उपलब्ध छन्। पठन आनन्ददायी नभए लेखनको विषय जतिसुकै समृद्ध र प्रासंगिक किन नहोस्, पाठकले पढिभ्याउँदैन, बीचैमा छाडिदिन्छ। यी लेखहरू पढ्दा लाग्छ– प्रायः लेखकलाई भाषाशैलीको कुनै चिन्ता छैन। भोजनमा मानिसलाई मीठो–मसिनोको तृष्णा हुन्छ। साहित्य–कलामा पनि कुरा उही हो। लेखनमा समद्ध विषयसँगै शैलीगत आकर्षणको जादू छैन भने अनिकालको अन्न खाएर कसैले पनि तपाईंको पट्यारलाग्दो लेख किन पढ्छ? के प्रगतिशीलता सुन्दर शैलीको शत्रु हो?

म इतिहासको त्यो कालखण्डमा हुर्किएँ, जुन बेला नेपालीमा पढ्नका लागि थुप्रै सामग्री थिएनन्। मैले नेपाली भाषाको भण्डारमा उपलब्ध सबै चिज पढेँ। मैले हनुमान चालिसा पढेँ, सत्यनारायणको कथा पढेँ, भानुभक्तको रामायण पढेँ। ती सबै मैले किन पढेँ भने पढ्ने चिज धेरै थिएनन्। आज पढ्ने चिजको विविधता छ। बहुलता छ। यो विविधता र बहुलताको प्रतिस्पर्धामा तपाईंले आफ्नो रचनालाई कलात्मक विधिले प्रशोधन गर्नुभएन भने, त्यसलाई सुन्दर र मनमोहक बनाउने यत्न गर्नुभएन भने त्यो पढिँदैन। के भाषा, शैली र प्रस्तुतिको परिमार्जनमा ध्यान दिँदा कार्ल मार्क्सले तपाईंलाई दण्डित गर्छन्? कार्ल मार्क्सका ग्रन्थहरूमा दण्डव्यवस्था मैले कहीँ पनि पढेको छैन। मार्क्सका लागि सेक्सपियर किन अति प्रिय थिए? कथ्यको अतिरिक्त भाषाको कालिगढी र जादूका लागि होइन?

यस मुखपत्रका अधिकांश लेखक आफ्नो वरिपरि एउटा साँगुरो वृत्तको लछुमन रेखा निर्माण गर्छन्। यी सब पदेन प्रगतिशील हुँदै हुन्। हात–हातमा प्रगतिशीलताको आधिकारिक प्रमाणपत्र छँदै छ। यी प्रगतिशील अधिकारीहरू मलाई अख्तियारका अधिकारीजस्ता लाग्छन्। आफ्नो लघुवृत्तभन्दा बाहिरका लेखकहरूमाथि अख्तियारले झैँ अभियोग लगाउँछन्। फलानो संशोधनवादी, फलानो मिहीन संशोधनवादी, फलानो बुर्जुवा, फलानो आत्मविज्ञापनवादी, अनि फलानो, अनि फलानो...। बृहत्तर समाज त बाहिर छ। कम्युनिस्ट पार्टीबाहिर, प्रगतिशील लेखक संघबाहिर। मेरो विचारमा लेख्नुको अर्थ आफूसँग पहिल्यै सहमत भएकाहरूलाई सम्बोधन गर्नु होइन। साँच्ची नै लेख्नु त त्यो बृहत्तर पाठकगणका लागि लेख्नु हो जो आफूसँग सहमत छैनन्। विचार वा कलाको फाँटमा हस्तक्षेप गर्नु भनेको के हो?

साहित्य र सत्ताबीचको दूरी
साहित्य र सत्ताको सम्बन्धबारे प्रगतिशील लेखक संघसँग मेरा गम्भीर असहमतिहरू छन्। मेरो विचारमा प्रगतिशील लेखक संघको नेतृत्व पोलिटब्युरोले बनाउँदैन। प्रगतिशील लेखक संघको नेतृत्व विवेकवान्, जागरुक लेखकहरूले बनाउँछन्। तर, हाम्रो नेतृत्व कसले बनाउँछ? पोलिटब्युरोले। पोलिटब्युरोले लेखक संघको नेतृत्व बनाउँछ र लेखकले ब्युरोसमक्ष आफ्नो आलोचनात्मक विवेक बन्धक राख्छ। लेखक स्वत्वयुक्त लेखक रहन र लेखक संघ स्वायत्त लेखक संघ हुन सत्ताबाट निश्चित दूरीमा बस्नुपर्छ भन्ने मलाई लाग्छ। लेखक र संघको सत्तामा विलय लेखन स्वतन्त्रताको पूर्ण परित्याग हो। जो यसो गर्छ, ऊ लेखक होइन, लेखनदास बन्छ।

अपेक्षा होइन, आशा
म आफ्ना यी सबै विचारमा तपाईंहरूको सहमतिको अपेक्षा गर्दिनँ। म केवल आशा गर्छु– मेरो विचारमा केही प्रासंगिकता भए यो महासम्मेलनले ग्रहण गरिदिनेछ।
अन्त्यमा, प्रगतिशील लेखक संघलाई धन्यवाद। आजदेखि म पनि प्रगतिशील भएको छु !

(प्रगतिशील लेखक संघको सम्मान कार्यक्रममा दिएको मन्तव्यको लेखक स्वयंद्वारा सम्पादित र परिमार्जित संस्करण)

Leave a comment

एड्भान्स्ड सेक्सबजार

एड्भान्स्ड सेक्सबजार

अचेल होटल, लज, क्याबिन रेस्टुरेन्ट, मसाज सेन्टरमा यौनकर्मी र ग्राहक 'रंगेहात पक्राउ' परेका समाचार त्यति आउँदैनन्। भ्रम नपरोस्, राजधानीको यौनबजार सुकेको छैन। यो झन् 'एड्भान्स्ड' भएको छ। घर या फ्ल्याट...

म त पूर्ण प्याकेज रे! : मञ्जु पौडेल

म त पूर्ण प्याकेज रे! : मञ्जु पौडेल

मञ्जु पौडेल स्टेज कार्यक्रम सञ्चालनका लागि चर्चित छिन्। विशेषगरी उपत्यकाबाहिर हुने मेला–महोत्सवका कार्यक्रममा उनको व्यस्तता रहने गरेको छ। नेपालबाहिर अस्ट्रेलिया, हङकङलगायत दर्जन जति देशमा पुगेर पनि उनले उद्घोषण कला देखाइसकेकी...

सुरभीले छाडिन् फिल्म क्षेत्र

सुरभीले छाडिन् फिल्म क्षेत्र

उमेरमै फिल्म करिअरलाई टुंग्याउने हिरोइनको सूचिमा यो साता सुरभी जैन थपिएकी छिन्। उनले फेसबुकमार्फत फिल्म क्षेत्रबाट टाढिएको घोषणा गरेकी हुन्। 

सरस्वती मिस सुदूरपश्चिम

सरस्वती मिस सुदूरपश्चिम

मिस सुदूरपश्चिमको उपाधि सरस्वती विकले जितेकी छिन्। कैलालीको धनगढीमा सम्पन्न प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।

व्यङ्ग्य : बग्गी

थापा काजीको बग्गीले सर्वत्र चर्चा पायो। व्यस्त सहरहरूमा दौडिएको बग्गी चर्चित हुनु पनि स्वाभाविक हो। बग्गी जस्तो होस् वा त्यो दौडनुको अभिप्राय जेसुकै होस्, यसको लेखाजोखा गर्न हामी 'राष्ट्रभक्त'हरूलाई फुर्सद...

नयाँ वर्ष मुड

केही दिनमै हामी नयाँ वर्ष २०७१ मा हुनेछौँ। क्यालेन्डर फेर्ने तरखर गरिरहेका छौँ। नयाँ वर्ष भनेको अर्काे वर्षमात्र होइन, अलिकति नयाँ उत्साह पनि हो, अलिकति नयाँ ऊर्जा पनि हो, अलिकति...

हलिउड सपनाका पछिपछि

हलिउड सपनाका पछिपछि

नेपालमा सफल कलाकारका लागि बलिउड सपनाको अर्को केन्द्रबिन्दु हो। हलिउडको सपना भने नेपाली कलाकारले त्यति देख्दैनन्। तर, भर्खरै १५ वर्ष टेकेकी आश्मा गिरीको सपना, लक्ष्य र भविष्य जे भने पनि...

यथाशीघ्र टुंग्याउनुपर्ने 'गेम'

यथाशीघ्र टुंग्याउनुपर्ने 'गेम'

संसदीय दलको नेता चुनिएसँगै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनको पहल थालेका छन्। राष्ट्रपति डा. रामवरण यादवले एक साताभित्र दलहरूलाई सहमतीय प्रधानमन्त्रीको नाम दिन आह्वान गरेलगत्तै...