Wednesday 29 Ashwin, 2076 | October 16, 2019
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

बाइसकोप र सिनेमा

(0 votes)
बाइसकोप र सिनेमा
म बसेको सानो शहरमा पहिलो पल्ट सिनेमा आयो। त्यसबखत सिनेमालाई 'बाइसकोप' भन्दथे, किनकि प्रदर्शन कालमा बाइस पटक मध्यान्तर हुन्थ्यो र प्रत्येक मध्यान्तरमा सिनेमाका कारिन्दाहरूले दर्शकहरूको कोप सहनुपर्थ्याे। गरिब बाइसकोप पनि के गरोस्? उसित छवि देखाउने एउटै मेसिन हुन्थ्यो।
nepali-patro-may
हतार–हतार फिलिमको अर्काे चक्का बेरेर मेसिनभित्र उदरस्थ तुल्याउने कार्यमा झण्डै आधा घण्टा समयको खाँचो हुन्थ्यो। यस बीच दर्शकहरू रसभंग भएकोले अठारै पर्व महाभारत भ्याइसकेका हुन्थे। छविगृहका मेचहरूले मेहनाको आकृति ग्रहण गरिसकेका हुन्थे भने बेन्चहरूलाई यति धोबीपाट दिइएको हुन्थ्यो कि नभन्दै ती धोबीका लागिमात्र उपयोगी हुने काष्ठपदार्थ भैसकेका हुन्थे। यस्तोमा टिनका खाइहाल्दा मेचबारे गुणनुवादमा दुई शब्द नभनूँ पनि कसरी? सारा दर्शकहरू कुस्ती खेलेर थाकिसकेपछि यी मेचहरूलाई संसद्मा टेबिल ठटाएजस्तै मृदङ्गसरह ध्यानाकर्षणका लागि सबल सञ्चारमाध्यमका रूपमा प्रयोग गर्थे।

बढ्दै गएको जन–आक्रोशको गम्भीरतालाई विचार गरेर सिनेमा चालक आफ्नो खोपीभित्रै बिडी सल्काएर बस्थ्यो भने, प्रबन्धक छातामुनि नजिकैको झ्याङमा पित्तले लोटा लिएर बस्थ्यो। यत्तिकैमा दर्शकमध्येका कुनै बजरङ्गबली (पुच्छर नभएकोले) हातमै एउटा राँको बोकेर पर्दातर्फ पदार्पण गर्नै आँटेको बेला एकाएक हलका सबै बत्तीहरू निभ्छन् र सिनेमा पुनः प्रारम्भ हुन्छ। ठूलो अग्निकाण्डबाट बोरैबोराको चँदुवा भएको छविगृहले सहसा त्राण पाउँछ। अघिसम्म पान–बिडीको निष्कंटक व्यापार चलाइरहेकाहरू अँध्यारोमा थुचुक्क बसेर, बेरिराखेको पान आफैँ खान थाल्छन् भने ढेस्सिएर बसेका दर्शकहरूले पनि त्यसमा थोरबहुत सहयोग गरिरहेका हुन्छन्। उता प्रबन्धक पनि बडो खिन्न मन लिएर आफ्नो कृत्रिम दीर्घ शङ्काबाट फर्किन्छ। ऊ मनमनै भोलि बेन्च र मेचहरूको मर्मत गर्ने गणित गरिरहेको हुन्छ।

त्यस बेलाको सिनेमाको सङ्कट सिङ्गै शहरको सङ्कट हुन्थ्यो। नेहरी कसरी मन थामेर बस्ने, हेरौँ भने उही बाइसकोप।

सिनेमा प्रदर्शकहरूले मध्यान्तरलाई विषयान्तर गर्नेबारे निकै मगज खियाए, तर मध्यान्तर एक दुई पटक भए पो केही गर्न सकिन्थ्यो। बाइस काण्डको उपचार कसरी गर्ने? धेरै घोत्लिए तर भरपर्दो युक्ति कुनै हात पार्न सकेनन्।

शहरका एक प्रतिष्ठित मानिसले, जो बाल्यावस्थादेखि नै रसरङ्गको रसास्वादन गर्नमा निकै ख्याति आर्जन गरिसकेका थिए, व्यवस्थापकको चिन्ता थाहा पाए। उनले मध्यान्तरमा दर्शकहरूले गर्ने पौरुष प्रदर्शनलाई शृंगार रसतर्फ आकर्षित गर्ने सुझाव दिए।

अब प्रत्येक मध्यान्तरमा नृत्य र गायन चल्न थाल्यो। बाइस पल्ट नाच्नु परेकोले नृत्याङ्गनालाई जनजिब्रोले छोट्याएर बाई (स) जी भनेको हुनुपर्छ।

यो नृत्यको बेग्लै प्रभाव पर्न गयो। दर्शकवृन्दले थप मध्यान्तर गराउन हुलदङ्गा गर्न थाले। एक दिन प्रबुद्ध दर्शकहरूको एक तदर्थ समितिले प्रबन्धकसित बाइस पटकभन्दा बढी मध्यान्तर हुनका लागि अनुरोध गर्योब, तर त्यो बाइसकोप भएकोले त्यसभन्दा मध्यान्तर संख्या बढाउन सिनेमाको अन्तर्राष्ट्रिय आचार–संहिताबाट नमिल्ने कुरा प्रबन्धकले विनम्रतासाथ निवेदन गरेर दर्शकहरूलाई फर्काइदियो। प्रबन्धकलाई डर थियो। धेरै मध्यान्तर भैरह्यो भने उसका अन्तरङ्ग क्षणमा बिनसित्ति कटौती गर्नुपर्ने हुन्छ। एवं रीतले त्यस सानो शहरको बाइसकोप बडो निर्विघ्नतापूर्वक सञ्चालन हुन थाल्यो। यो त थियो प्राचीन बाइसकोपको बखान।

हालका सिने–प्रदर्शकहरूलाई अब त्यो भुक्तमान व्यहोर्नुपरेको छैन। बिठ्याङ्गहरूको पूर्ण अंशियार अब दर्शक स्वयं हुन गएका छन्। तसर्थ दर्शक अँध्यारोमा बसेर सिनेमा हेर्छ भने प्रदर्शक आफ्नो सानो झ्यालबाट आधीघोप्टे उचालेर तल चित्रघरको पटाङ्गिनीमा सधैँ हुने दर्शक–दुर्दशाको दुःखान्त नाटक हेरिरहेको हुन्छ।

केही दिनपछि कालो–बजारको प्रेत–छायाँ असन–इन्द्रचोकका व्यापार केन्द्रहरू चहार्दै बिस्तारै छविगृहमा पनि प्रविष्ट भयो। हलको मुख्य द्वारभित्र पस्नासाथ के पनि देखिन्छ भने, दुई–चारजना आफ्नो पछाडि मन्त्रीहरूले आफ्नो धुपौरेहरू बटुलेर हिँडेजस्तै सानतिनो बरियात लिएर बडो बेफिक्रीसाथ डुलिरहेका हुन्छन्। तपाईं आफ्नो छैठौँ चेतनाले तत्काल थाहा पाउनुहुन्छ कि यही त्यो कृष्ण–स्वामी हो, जसको पाउ पर्नाले आफ्नो परत्र सप्रिन सक्छ। तपाईं छिट्टै गएर उसलाई नमस्कार गर्नुहुन्छ र विनीत स्वरमा भन्नुहुन्छ– 'आज पप्लु त्यागेर आएको छु प्रभु! जनिगरी, निराश नगर्नुहोला।'

टिकट–विक्रेता दाँत देखाएर दुई नम्बरी हाँसो हाँस्छ र बिस्तारै भन्छ– 'मिस्टर, उता कुनामा जाऊ।'

नजिकै उभिएको एउटा जय नेपाल पड्किन्छ– 'तँलाई लाज लाग्दैन चोर जस्तो कुनामा जाँदा? दर्शकलाई दुःख नदे, देख्दैनस् म त्यसैका लागि यहाँ खटिएको छु।' सिने–टिकट पाएर दर्शकलाई संसद्को निर्वाचन जितेको जस्तै प्रसन्नता हुन्छ। उसपछि अर्काे दर्शकको मुण्डन गर्ने जमर्काे गरिरहेको हुन्छ। दुई नम्बरीलाई धन्यवाद दिन्छ र खाकी वस्त्रलाई एक तौलको जैनेपाल ठोकेर छविगृहभित्र पस्छ। बाटोमा ऊ एक सानो झ्याल देख्छ जो कानो आँखाजस्तै सधैँ बन्द रहन्छ, टिकट–विक्रीको रमिता हेर्ने अर्ध–मुदित नयन।

मेरा एक मित्रले अड्डाबाट उम्केर सिनेदर्शनको अभ्यास आफ्नो सरकारी सेवाकालदेखि अविच्छिन्न गरिआएका छन्। अड्डा छलेर हेरेको सिनेमा आधा टिकटमा हेरे जस्तै आनन्द आउँछ। यता सिनेमा हेरिरह्यो, उता तलब पाकिरहन्छ। राष्ट्रिय पोशाक लाएर टिकटका कालाबजारियासित गलफत्ती गरिरहनु, अनैतिक कृत्य जस्तो लागेकाले यस कार्यका लागि पत्नीलाई अगावै उनले टिकट खरिद गर्ने अधिकार प्रत्यायोजन गरिदिएका हुन्छन्।

एक दिन अड्डाबाट साइकलको हावा खुस्केर छविगृहमा अबेला पुगे। पत्नी आगो ओछ्याएर उनको बाटो हेरिरहेकी थिइन्। सिनेमाप्रति पत्नीको अनुशासन–प्रियताले टाढा–टाढासम्म निकै ख्याति आर्जन गरिसकेको थियो। उनी वाल–टु–वाल सिनेमा हेर्थिन्। सेतो पर्दामा बसेर पुनः पर्दा स्वच्छ नभएसम्म आसनी त्याग गर्दिनन् भन्ने उनको कठोर साधनाबारे मित्रलाई पनि थाहा थियो। बत्ती निभेर भर्खर भिक्स वेपोरव हुँदै थियो। एउटी सुदर्शना आइमाई छातीमा (आफ्नो होइन, पतिको) मलम दलिरहेकी थी। मित्रपत्नी पर्दामा आँखा टाँस्याटाँस्यै अँध्यारोमा अर्काे मानिसको काखमा बस्न पुगिन्। मित्रले मानिसको कानमा भने– 'भूल भो क्षमा गर्नुहोला।' मानिसले पनि बिस्तारै फर्कायो– 'भैगो, उहाँले रहर गरिहाल्नुभो, अब राष्ट्रिय धुन बज्न दिनुस्, सबै उठेपछि लैजानुहोला।' अँध्यारोमा अनुनय विनय गरेर बल्ल–बल्ल केही गरी पत्नीलाई छोडाएर ल्याए।

यतिका सिनेमा हेरे पनि मित्रलाई कहिल्यै नायक–नायिकाको नाम, थर, गोत्रबारे हेक्का भएन। नायकको नाम बोस्निया हो कि हर्जगोबिना कहिल्यै थाहा पाएनन्। उनी आसन थिर गरेर बसेका मात्र के थिए, पछाडिबाट कसैले कराएर भन्यो, 'को हो यो माछापुछ्रे जत्रो टोपी लाउने? ए मिस्टर, तपाईंको यस तेल पिएको टोपीबाट हेर्दा नायिकाहरू खोकना कोरीखानाबाट आएका जस्ता देखिन्छन्। एक त तिनले आफ्नो स्वस्थ शरीर देखाउन तपाईंका तीन टोपी जति मात्र वस्त्र धारण गरेर प्रकट भएका छन्, त्यो पनि छेकिदिनुभो भने हामी के नै हेरेर घर फर्किनु?'

मित्र सुन्यानसुन्यै गरेर बसिरहे। शिरको टोपी फुकालिहाल्न अलि अपमानजनक लागिरहेको थियो। पछाडिबाट फेरि हकारेको सुनियो– 'ऐ! निजामतीज्यू, यो टोपी टेबिलमै छाडेर आएको भए तपाईं छड्केबाट जोगिनुहुन्थ्यो र हामी शरीरविज्ञानबारे बढी ज्ञान हासिल गर्न सक्ने थियौँ।' मित्र दुःखी भएर भन्दछन्– 'तपाईं नै भन्नुस् यो टोपी झिकेर म कहाँ झुण्ड्याऊँ? यो कलप लागेको 'भाद्गाउँले' खल्तीमा पनि त कोच्न सकिन्न।' पछाडिबाट एउटा ठट्यौलो स्वर आएको सुनिन्छ– 'यो कहाँ झुण्ड्याउने तपाईंको निजामती सेवा नियमावलीमा त लेखेको छैन होला। तर, भगवान्ले सोच विचार गरेरै यो मानव शरीरको संरचना गर्नुभएको छ। खोजी गरी हेर्नुस् कहीँ यही नश्वर चोलामा तपाईंको टोपी झुण्ड्याउने ठाउँ निस्कियोस्।' एउटा दमित खित्का चारैतिर पोखिएको सुनिन्छ।

केही लागेन, उनलाई टोपी झिक्नै कर लाग्यो। पछाडिबाट फुसफुसाएको सुनियो– 'साक्षात् स्वर्गीय डेविडको चिण्डो– लपक झपक के आरे बदरवा...।' फेरि एक अर्काे खित्का।

यो आपत्–विपत्को हुरीबतास थामिएपछि मित्रले पत्नीतिर ध्यान दिए। उनी अविरल आँशु बगाइरहेकी थिन्। मित्रले सान्त्वना दिए– 'त्यस्तो सानो कुरामा पनि किन मन दुखाइरहेकी? तिमी जानाजान परपुरुषसित बस्न गएकी थिइनौ। हलमा अँध्यारो भएको बखत त्यस्ता अशुभ घटना कहिलेकाहीँ हुन जान्छ।' पत्नीले रुदनमिश्रित नाके स्वरमा भनिन्– 'त्यसका लागि म किन रुन्छु? मेरो मन सारै कमलो छ, अर्काको कष्ट म देख्नै सक्दिनँ, त्यता हेर्नुस् न।' उनले पर्दामा हेरे– अझै एकजना महिला रुघाले ग्रस्त पारेको पतिको छातीमा भिक्सको लेप लाइरहेकी थिन्। मित्रले पत्नीको कानमा फुसफुसाएर भने– 'हे महाकाली, अहिले धेरै चक्षु–यातना बाँकी छ। पुण्यभूमिका पहलमानहरूको लुँडोले एकछिनपछि डायटिङ र योगा गरेर सुकेनास लागेकी नायिकाको फन्तल–फाँडो पार्नेछन्। डाँकाहरूको ओसिएको पटका पड्किनसक्दै उसको पापा परमधाम पुगिसक्नुभएको हुन्छ। छोरी हराएकी अभागिनी आमा मुम्बईका गल्छेडाहरूमा लठ्ठी टेकेर पहलमानहरूसित छोरीको ठेगाना सोधिरहेकी हुन्छे। यो सब देखेर हे पञ्चेश्वरी, तिमी कसरी आँशु थाम्न सक्छेऊ?' उनले सुस्तरी भने पनि पछाडि बसेका श्रव्य–दृश्यका प्राज्ञहरूले सुनिहालेछन्। बिस्तारै भने– 'हे अराजुषत्रितज्यू, पत्नीलाई बिहान महाभारत र बेलुका रामायण देखाउनुस्। त्यताबाट नपुगे ने.टे.भी.को शनिवासरीय पाँडे–पुराणको रफत गराउनुस्। सबैजसो मन्त्री–मण्डलमा पञ्चायतकालदेखि हालसम्म बलजफ्ती अटाएका पछिमा धर्तीका हामी भाइ–छोरा त होइनौँ। तर, एक पटक हाम्रो यो मूल्य नपर्ने अर्ती मानी हेर्नुहोस्। उहाँ अर्थात् सुब्बिनी बज्यै यस अभ्यासबाट सधैँका लागि वीतरागी भै राति आधा किलो कपास लिएर बत्ती कात्न थाल्नुहुनेछ र भोलि त्यही बत्ती बालेर घण्टको पवित्र पार्श्वध्वनिमा आफ्नै संगीत झिक्न थाल्नुहुनेछ।' यस पटक ब्याटिङ गर्ने जिम्मा आफ्नो आँशु पुछ्दै पत्नीले लिइन्– 'हे ओठ निचोर्दा भोड्का गन्हाउने शिशुहरू, तिमीहरू सामूहिक रूपबाट छामेर हेर– तालुको भुटन अझै सुकेको नहोला। तिम्रा डेरीका दाँत अझै छुट्टिन बाँकी छन्। ती पोकाका हुन् कि सिसीका? हे ढाल–गुलाफका असफल प्यान्थरहरू, तिम्री मम्मी जोगिनी लुगा लाएर पी.के.की बाबाजीकहाँ जहिलेदेखि पढ्न जान थालिन् होला, त्यही बेलादेखि मैले चलचित्र हेर्ने नित्यकर्म गर्दै आएकी छु। गाउँ–गाउँ डब्बामा डुलाइहिँड्ने 'लंगटी धोबिन' देखि 'मूकं करोति वाचालम्' बाइसकोपसम्म मेरो अविच्छिन्न अभ्यास रहिआएको छ।' पछाडिको विरोधी बेन्चतर्फ फर्केर पत्नी अझ तिनको छारस्ट गर्ने मुडमा थिन्, तर बीचमै बलात्कारको दृश्य आइदियो। धेरै बेरदेखि पर्खिबसेकाले सिङ्गै हल स्तब्ध भएर हेर्न थाल्यो। पतिले चस्मा पुछे, पत्नीको विरोधी भुन्भुन् सुनियो। यसैबीच गरिबीको रेखामुनि रहेको कुनै सिटबाट एक स्तनपायी शिशुले भीषण चित्कार गर्यो्। दर्शक कराए, 'यो के आश्चर्य? बलात्कारको परिणाम यति चाँडो? पक्का कुनै प्रतिपक्षीको छाउरो होला, मुखमा माइक हालेर रोइरहेको छ।' एक दर्शक भन्दै थियो, 'राम राम, आज बालदिवसका दिन यस भोको बच्चालाई यस्तो दृश्य देखाउन किन यहाँ ल्याउनुभो? बरु छिट्टै बालमन्दिर लैजानुस्। त्यहाँ भरजन्म रेडक्रसको शिशु आहार बेचेर खाने अधबैँसे मुमाहरू मुखमा नक्कली दाँत हालेर हाँसी–हाँसी झण्डोत्तोलन गरिरहेका होलान्।'

सिनेमा समाप्त हुनै आँटेको थियो। जस्तो कि प्रत्येक बलात्कारपछि हुन्छ– नायिका खेतान पङ्खामा झुण्डिसकेकी थी। जाँदाजाँदै विज्ञापनको मोटो रकम पकाएर हिँडी। सिनेमा समाप्त भयो। यति रमाइलो दृश्य हेर्न पाएकोमा बासी समोसा खाएर सय–सय रुपियाँ फिस लिई सिनेमा सेन्सर गर्ने सहृदय महानुभावहरूलाई साधुवाद दिँदै दर्शकहरू उठ्न थाले।

('मधुपर्क' भदौ, २०५४ बाट साभार)

Leave a comment

जन्डिसले कलाकार बनाएपछि... सक्किगो नि !

जन्डिसले कलाकार बनाएपछि... सक्किगो नि !

'आप्पुई', 'सक्किगो नि' जस्ता थेगो अहिले धेरैका जिब्रोमा झुन्डिएका छन्। हास्य टेलिसिरियल 'भद्रगोल'मा जिग्री बोरोले प्रयोग गर्ने यी शब्द र फरक स्टाइल चर्चित छन्। जिग्री बोरोका रूपमा रुचाइएका उनी कुमार...

पानसँग कन्डम फ्री

भारतीय राज्य बिहारको कटिहार जिल्लामा रहेको नन्दलाल नामक व्यक्तिको पानपसलमा पान किन्नेले कन्डम निःशुल्क पाउँछ।

गोली भएर आफैँतिर नफर्कियोस् बोली!

नेपालमा नेता बन्न ढङ्ग चाहिँदैन। अभिनेताले झैँ श्रोतालाई दङ्ग पार्न कर्णप्रिय भाषण छाँटिदिए पुग्छ। विपक्षीका वक्षभेदन गर्न सक्ने गालीसँगै ताली पिटिटी पड्किन थाल्छ। गाली पनि प्रधानमन्त्री ओलीले जस्तै भाँती पुर्यागएर...

मोबाइलमै मग्न

मोबाइलमै मग्न

प्रविधिले मानव जीवनलाई सुविधासम्पन्न र सहज बनाएको छ। तर, केही जटिलता पनि उत्पन्न भएका छन्। प्रविधिका तरंगहरु फैलिरहँदा सम्बन्धका तारहरु चुँडिरहेका पनि छन्। भौतिक दूरी त घटेको छ तर मनको...

'मौकामा छक्का हानेको हुँ'

'मौकामा छक्का हानेको हुँ'

उदितनारायण झाको स्वरको जादुले झंकृत छ, बलिउड। बाह्र वर्षपछि उनी नेपाल आए। राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रमका लागि नेपाल आएका उनले काठमाडौँको केही ठाउँ घुमे, पुराना साथीसँगी भेटेर सम्बन्धको नवीकरण गरे।...

जोगी ड्राइभर

जोगी ड्राइभर

देशभरिबाट काठमाडौँ भित्रिएका यात्रुवाहक बसको घुइँचो हुन्छ, हरेक बिहान नयाँ बसपार्कमा। एक बिहान एउटा पहेँलो बसलाई पार्किङ गराउँदै गर्दा केही मान्छेले घेरेर पार्किङ गराउनै मुश्किल पारिरहेका थिए। उनीहरू ड्राइभरतिर आँखा...

'साथीहरू 'भाडा नलाग्ने गीत' गाइस् भन्छन्'

'साथीहरू 'भाडा नलाग्ने गीत' गाइस् भन्छन्'

केमा व्यस्त हुनुहुन्छ अचेल?भर्खरै नयाँ म्युजिक भिडियो 'नाइलनको सारी' सार्वजनिक गरेको छु। यसैको 'प्रमोसन'मा दौडिरहेको छु।कस्तो गीत हो 'नाइलनको सारी'?यो लोक 'फ्युजन' भएको गीत हो। यसमा मौलिक लोक धुन छ।...

राधा–कृष्णको जोडीमा सुरज र एन्जिलिना

राधा–कृष्णको जोडीमा सुरज र एन्जिलिना

कृष्ण प्रेमका प्रतीक मानिन्छन्। १६ सय गोपिनीसँग उनको 'चक्कर' चलेको श्रीकृष्ण लीला नपढ्नेका जानकारीमा पनि छ। श्रीकृष्ण–राधाको प्रेमलाई आदर्श मानिन्छ। आइतबार श्रीकृष्ण जन्माष्टमी हो। यही अवसरमा यसपटक मध्यपृष्ठमा मिस्टर नेपाल...