Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

फुटेको पाइपमा ‘नखानेपानी’

(0 votes)
फुटेको पाइपमा ‘नखानेपानी’
विराटनगरमा हेपाटाइटिस ‘ई' का कारण १२ जनाको ज्यान गयो। गर्मी सुरु हुनासाथ देशको एक उपमहानगरपालिकामा फैलिएको यो प्रकोपले सयौं बिरामी अस्पतालको बेडमा छन्। हेपाइटाइटिस फैलिनुको कारण पानीमा कोलिफर्म ब्याक्टेरियाको संक्रमण मानिएको छ। खानेपानी संस्थानले धारामा बाँडेको पानी मात्र होइन, जार र बोतलको पानीमा समेत ब्याक्टेरिया भेटिएपछि स्थानीय त्रसित बनेका छन्।
nepali-patro-may
रौतहटको चन्द्रनिगाहपुरमा दूषित पानीका कारण झाडापखाला फैलिँदा तीन सयभन्दा धेरै प्रभावित हुन पुगे। केही वर्षअघि जाजरकोटसहित मध्यपश्चिमका पहाडी जिल्लामा फैलिएको झाडापखालाबाट पनि तीन सयभन्दा बढीको मृत्यु भएको थियो।

तराई क्षेत्रका धेरै ट्युबेलको पानीको आर्सेनिक परीक्षण भएको छैन। यो रसायनले मानिसको शरीरमा प्रतिकूल असर पार्छ। तराईबासी भने आर्सेनिक मिसिएको पानी पिउन बाध्य छन्।

राजधानी काठमाडौंमा पानीको हाहाकार छ। घरमा जोडिएका धारामा पानी रसाउँदैन। कपनबासी आफ्ना धारामा खानेपानी नआई लेदो मिसिएको ‘नखानेपानी' आउने गरेको गुनासो गर्छन्। अन्य ठाउँमा पनि धमिलो र फोहोर पानी आउने गरेको पर्याप्त सुनिन्छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०६८/६९ मा प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा सबैभन्दा बढी मिसावट हुनेमा प्रशोधित पानी उल्लेख छ। विभागले नै तीन वर्षअघि गरेको अनुगमनमा ५० प्रतिशतभन्दा बढी बोतल र जारको पानीमा हानिकारक जीवाणु र आइरनको मात्रा अत्यधिक भेटिएको थियो।


यी केही उदाहरण हुन्, जसबाट हामीले दिनदिनै पिउने पानीको गुणस्तर छर्लंग हुन्छ। यसले यो पनि देखाउँछ, आफूलाई चुस्त दाबी गर्ने सरकारी निकायहरू पिउनयोग्य स्वच्छ पानी बाँड्ने न्यूनतम दायित्व पूरा गर्नसमेत असफल छन्।

सरकारी निकायको यही अक्षमताकै परिणाम हो, आज पनि गर्मी याम लाग्नेबित्तिकै सर्वसाधारणलाई बढ्दो तापक्रमले कम पिरोल्छ, त्योभन्दा बढी पानीको हाहाकार र त्यसमाथि दूषित पानी पिएर रोगको सिकार भइएला कि भन्ने चिन्ताले घेर्छ।
यो चिन्ता अस्वाभाविक होइन। स्वास्थ्य मन्त्रालयकै तथ्यांकले झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिस, जन्डिसजस्ता पानीजन्य सरुवा रोगबाट मृत्यु हुने संख्या वार्षिक २० हजार हाराहारी रहेको देखाउँछ।

अहिले पनि पानीकै कारण बिरामी परेकाहरूको संख्या राजधानीका अस्पतालमा बढ्न थालिसक्यो। टेकु अस्पतालमा मात्रै टाइफाइड, जन्डिस, झाडापखालाजस्ता दूषित पानीका कारण हुने रोग लागेर दैनिक २० जनाभन्दा बढी बिरामी आउन थालेका छन्। वीर अस्पतालमा झडापखाला, टाइफाइड, जन्डिसलगायत रोग बोकेर इमर्जेन्सी धाउने बिरामी संख्या दैनिक औसत २५ पुगेको छ। 

धाराको पानी नै दूषित भएकाले नउमाली पिउनेहरूमा रोगको जोखिममा रहेको चिकित्सक बताउँछन्। यसबाहेक चिया पसल तथा रेस्टुराँहरूले ट्यांकरबाट किनेको पानी सोझै गिलासमा हालेर दिने गर्दा पनि रोगको जोखिम थपिएको उनीहरूको भनाइ छ।

स्वास्थ्य सेवा विभाग, सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनी दूषित पानीकै कारण निम्तने रोगबाट धेरै मानिसले ज्यान गुमाइरहेको स्वीकार गर्छन्। ‘पिउनेपानी शुद्ध भए र सर्वसाधारणमा साबुनपानीले हात धुने बानी विकास भए ४० प्रतिशत सरुवा रोग नियन्त्रणमा आउँछ,' उनले भने।

अशुद्ध पानीका कारण हुने मृत्युको तथ्यांक निकाल्ने र पानी शुद्ध भए सरुवा रोग घट्छ भन्ने जान्दाजान्दै स्वास्थ्य विभाग के गर्दैछ त?

उनको जवाफ थियो, ‘हामीले जनचेतनासँगै पानी शुद्ध पार्न ‘पियूष' वितरणलाई तीव्र पारेका छौं।'


गुणस्तरमै अनभिज्ञ उपभोक्ता

सरकारले शुद्ध पिउनेपानी होइन, पियूष वितरण गरेर जिम्मेवारी पूरा गरेँ भन्ठानेको छ। धाराकै पानी अशुद्ध छ भनी सर्वसाधारणलाई सूचित गरेको पनि कहीँ सुनिन्न, जबकि यसबारे जानकारी दिनु सरकारको कानुनी दायित्व नै हो।

राष्ट्रिय खानेपानी गुणस्तर निर्देशिका, २०६२ अनुसार खानेपानी सेवाप्रदायकले गुणस्तरबारे नियमित जानकारी दिनु अनिवार्य छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का निमित्त महाप्रबन्धक चन्द्रलाल नकर्मीले नियमित गुणस्तर परीक्षण गरी त्यसको प्रतिवेदन संस्थाको वेबसाइटमा राख्ने गरेको दाबी गरे।

केयुकेएलले मासिक रूपमा उपत्यकाका १ लाख ९० हजार ५ सय धारामार्फत वितरण गरिने खानेपानीको धमिलोपना, रंग, पिएच, अल्कलाइन, कडापन, आइरन, क्लोरिन, एमोनिया, कोलिफर्मलगायत परीक्षण गर्छ। उसको प्रतिवेदनले काठमाडौंका खानेपानी सिधै धाराबाट पिउनयोग्य नै देखाएको छ।

तर, त्यो प्रतिवेदन कतिले देखेका होलान्? र, देखेका मध्ये कतिले पत्याएका होलान्?

वैज्ञानिक रूपले प्रयोगशाला परीक्षण गर्ने उच्च निकाय नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले विभिन्न स्रोतबाट ल्याएका पानी परीक्षण गर्दा दिसामा पाइने कोलिफर्मसमेत भेटिएको रिपोर्ट दिएको छ। यसमा केयुकेएलले शुद्ध दाबी गरेको धाराकै पानीसमेत पर्छ। 

‘यहाँ परीक्षणका लागि ल्याइने गरेका पानीमध्ये ९० प्रतिशतमा कोलिफर्मको मात्रा भेटिने गरेको छ,' नास्ट प्रयोगशाका एक प्राविधिकले भने।

विभिन्न गैरसरकारी संस्थाले पनि पानीको गुणस्तर जाँच गर्ने गरेका छन्। त्यसैमध्ये एक वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) ले आफ्नो प्रयोशालामा परीक्षण गरेको पानीमा मानव शरीरका हानिकारक ब्याक्टेरिया भेटिएको त्यहाँकी पानीविद् पद्मजा श्रेष्ठले बताइन्। 

यो संस्थाले कसैले पानी जाँच गराउन ल्याए प्रयोगशाला परीक्षण गरेर रिपोर्ट दिन्छ। आफैं जाँच गर्दैन। ‘पानीको स्रोत भने हामीलाई थाहा हुँदैन,' उनले भनिन्। 

त्यसो भए केयुकेएलले हाकाहाकी उपभोक्ता झुक्याउँदैछ त?

निमित्त महाप्रबन्धक नकर्मी आफूहरूले घरघरको धाराबाट आउने पानी होइन, संकलन गर्ने ट्यांकीको पानी परीक्षण गर्ने गरेको बताउँछन्।

‘हामीले नियमित रूपमा पानीको जैविक र रासायानिक परीक्षण गरिरहेका छौं,' उनले भने, ‘धाराको सरसफाइ वा पानी राख्ने भाँडामा भएको मिसावटका कारण पनि अशुद्ध देखिएको हुनसक्छ।'

काठमाडौंमा पानी वितरण गर्ने पाइप बीचमा फुटेर ढल मिसिने गरेकाले वितरणकै क्रममा दूषित हुने केयुकेएल स्रोतको भनाइ छ। खानेपानी वितरणका पाइप निकै पुरानो भएकाले ठाउँठाउँमा फुटेको उनले जानकारी दिए।

नकर्मी पनि यसलाई स्विकार्दै भन्छन्, ‘हामीले अहिले पानी वितरण गरिरहेको पाइप १ सय २१ वर्ष पुरानोसम्म छ।' २०७३ वैशाख १ गते बिहान ५ बजेबाट काठमाडौंका धारामा मेलम्चीको पानी वितरण गर्ने योजनाअनुरुप पुराना पाइपलाइन फेर्दै गइरहेको जानकारी उनले दिए।


दाबी र असहमति
काठमाडौं उपत्यकाको खानेपानी वितरण अनुगमन गरिरहेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थान बोर्डका प्राविधिक इन्जिनियर सुशील केसी केयुकेएलले वितरण गरिरहेको पानी पिउनयोग्य भएको दाबी गर्छन्।

‘केयुकेएलले धारामा बाँडेको पानी सिधै धाराबाट पिउन सकिन्छ। यसलाई आवश्यक उपचार गरेर मात्र बाँडिएको हुन्छ,' उनी भन्छन्। धारासँगै केयुकेएलको ट्यांकरबाट बाँडिने पानी पनि सिधै पिउनयोग्य भएको उनको दाबी छ।

उपभोक्ता भने उनको दाबीसँग बिल्कुलै सहमत छैनन्।

‘मेरो घरको धारामा सातामा एक दिन पानी आउँछ, त्यो पनि लेदो,' कपनका स्थानीय राजन खतिवडाले नागरिकसँग भने, ‘छिमेकीहरूकहाँ पनि यही समस्या छ।'

ट्यांकरको पानीसमेत अनुगमन गर्ने जिम्मेवारी पाएको बोर्डले निजी ट्यांकरको पानी भने सिधै पिउन नहुने बताएको छ। बोर्डका अनुसार २०६९ सालमा निजी ट्यांकरको पानी अनुगमन गर्दा ९० प्रतिशतमा कोलिफर्म भेटिएको थियो। २०६९ पछि बोर्डले यही वैशाख मसान्त र जेठ पहिलो साता निजी ट्यांकर अनुगमन गरेको छ। यसपालिको रिपोर्ट आउन बाँकी छ। तैपनि निजी ट्यांकरले वितरण गर्ने पानी उमालेर र निर्मलीकरण गरेर मात्र पिउनयोग्य हुने इन्जिनियर केसी बताउँछन्।

तीन वर्षअघि नेपाल इन्जिनियरिङ कलेजले गरेको ट्यांकरको पानी परीक्षणमा पनि केहीमा अत्यधिक एमोनिया, आइरन र म्यान्गानिज भेटिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार बालाजुको डिप बोरिङमा कोलिफर्म भेटिएको र अन्य स्थानको डिप बोरिङमा इकोली भेटिएको थियो। कोलिफर्म र इकोलीले स्वास्थ्यमा प्रतिकूल असर पार्ने हुँदा ट्यांकरको पानी पिउनयोग्य नभएको प्रतिवेदनको निष्कर्ष थियो।

बोर्डले काठमाडौंमा जमिनमुनिको पानी तान्न तीनवटा क्षेत्र छुट्ट्याएको छ। चक्रपथ उत्तरतर्फको क्षेत्रलाई उत्तरी क्षेत्र, चक्रपथभित्रको क्षेत्रलाई मध्यक्षेत्र र चक्रपथबाहिरको क्षेत्रलाई दक्षिणी क्षेत्र भनिएको छ। अहिले बोर्डले ३० मिटरभन्दा बढी गहिराइबाट पानी निकाल्ने गरी मात्र अनुमति दिएको छ।

‘हामीले डिप ट्युबेलबाट मात्र पानी निकाल्न अनुमति दिएका छौं। अहिले अधिकांश ट्यांकरले ३० देखि १०० मिटरको बीचबाट पानी निकालिरहेका छन्,' केसीले भने। 

उनका अनुसार ट्यांकरले पानी ल्याउने गरेका काठमाडौंका चोभार, मातातीर्थ, जोरपाटी, मनमैंजु, गोठाटार, मूलपानी, गोदावरी, बल्खु, गोंगबुलगायत स्थानमध्ये तुलनात्मक रूपमा मूलपानी, गोठाटार, गोदावरीका पानी पिउनयोग्य छन्।

‘यी ठाउँको पानी मूलमा शुद्ध भए पनि ट्यांकरमा हाल्दा र हाम्रो घरसम्म आइपुग्दा दूषित हुन सक्छ' केसीले थपे।


फोहर ट्यांकर, शुद्ध खानेपानी?
राजधानीमा ५ हजारदेखि १२ हजार लिटरसम्म पानी बोक्ने ५ सयभन्दा बढी ट्यांकर गुड्ने गर्छन्। बोर्डका अनुसार उपत्यकाका विभिन्न स्थानमा रहेका मुहानबाट पानी निकाल्न ३ सय २० कम्पनीले अनुमति लिएका छन्। 

सडकमा गुड्ने अधिकांश ट्यांकर बाहिरबाट हेर्दै फोहर देखिन्छन्। ‘हेर्दै हिलो र मैलो देखिने ट्यांकरले भित्र के सफा गरेका होलान् र?' कलंकीका दीपक भण्डारी प्रश्न गर्छन्, ‘बाहिर त सफा नगर्नेले भित्र सफा गरे होलान् भनेर कसरी विश्वास गर्नु!'

बोर्डले दुई वर्षअघिको अनुगमनमा ९० प्रतिशत ट्यांकरको पानी अशुद्ध देखिएपछि ‘खानेपानी' नभन्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको थियो। तर, यसको पूर्ण पालना भएको छैन।

‘खानेपानीका लागि तोकिएको मापदण्ड पूरा गर्न नसक्नेले ट्यांकरमा खानेपानी लेख्नु जायज होइन,' केसीले भने। 

गोकर्ण खानेपानीका सञ्चालक शंकर लामिछाने भने ट्यांकर बाहिरबाट फोहोर देखिए पनि भित्र नियमित रूपले सफा गर्ने गरेको दाबी गर्छन्। ‘दुई महिनामा एकचोटि सफा गर्छौं,' उनले भने, ‘हामीले बोक्ने गरेको पानी शुद्ध छ, तैपनि उमालेर र फिल्टर गरेर पिउँदा राम्रो।'

शेर्पा खानेपानीका सञ्चालक दावा शेर्पाले पनि सातवटा ट्यांकरबाट पानी बिक्री गरिरहेका छन्। मूलपानी र दक्षिणढोकाबाट पानी झिक्ने गरेका उनी आफूले बेच्ने पानी पिउनयोग्य भएको बताउँछन्। ‘हामी सिधै खान्छौं, अहिलेसम्म केही भएको छैन,' उनले भने, ‘कसैलाई अशुद्ध लाग्छ भने उमालेर खाए भो।'


अनुगमन छैन
सरकारी नियमअनुसार जिल्लाको खानेपानीको गुणस्तर हेर्ने जिम्मा जिल्ला जनस्वास्थ्य कार्यालयको हो। तर, स्वास्थ्य मन्त्रालयले यससम्बन्धी नीति नल्याएका कारण जिल्ला जनस्वास्थ्य कार्यालयको कार्यक्षेत्रमा खानेपानीको गुणस्तर जाँच नपरेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख श्रीकृष्ण भट्ट बताउँछन्।

‘हामीले अहिलेसम्म पानीको जाँच गरेका छैनौं। एक त, नीति नै छैन। अर्को, हामीसँग आवश्यक मानवस्रोत र उपकरण छैन,' उनले भने।

ट्यांकरको पानीको गुणस्तर अनुगमन गर्ने जिम्मा पाएको बोर्डले पनि दुई वर्षदेखि अनुगमन गरेको छैन। ‘हाम्रो कार्यक्षेत्रमा परेको भए पनि हामीले विविध कारणले नियमित अनुगमन गर्न सकिरहेका छैनौं,' केसी स्विकार्छन्। 

नागरिकले भेटेका ट्यांकर चालक र सञ्चालकहरूले पनि हालसम्म कुनै सरकारी निकायले आफ्नो ट्यांकर अनुगमन नगरिएको बताए।

त्यस्तै, जार र बोतलको पानी अनुगमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि प्रभावकारी अनुगमन गरेको छैन। ‘तत्काल आक्रामक रूपमा अनुगमनमा गइहाल्ने तालिका छैन,' विभागका महानिर्देशक जीवनप्रभा लामाले भनिन्, ‘तर, प्रशोधित पानीमा समस्या छ।' 

विभागले रासायानिक, माइक्रोबायोलोजी र गन्ध भए–नभएको गरी तीन प्रकारले प्रशोधित पानीको जाँच गर्छ। अधिकांश पानी उद्योग दर्ता नभई टाढा–टाढा सञ्चालन हुने भएकाले अनुगमन गर्न समस्या भएको लामाले बताइन्। हालसम्म विभागबाट तीन सय हाराहारी प्रशोधित पानी उद्योगले अनुज्ञापत्र लिएका छन्।

महानिर्देशक लामा प्रशोधित पानीका रूपमा बेचिने गरेको जार र बोतलको पानीमा पिएच ६.५ देखि ८.५ बीच हुनुपर्नेमा अधिकांशमा यो मापदण्ड नभएको बताउँछिन्।

‘स्वाद अमिलो वा असामान्य भए त्यस्तो पानीमा संक्रमणको सम्भावना धेरै हुन्छ,' उनले भनिन्। दूषित पानीबाट हुनसक्ने रोगको जोखिमबाट बच्न उपभोक्ता आफैं सचेत हुनुपर्ने र उमालेर मात्र पिउनुपर्ने उनको सुझाव छ। ‘चाहे बोतल वा जारको पानी होस्, चाहे धारा वा ट्यांकरको, कुनै पनि पानी सिधै पिउन उपयुक्त छैन,' लामा भन्छिन्।

विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा २६ पानी उद्योगलाई दूषित र गुणस्तरहीन पानी बिक्री गरेको भन्दै विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमा मुद्दा दायर गरेको छ। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र नुवाकोटका यी २६ वटा प्रशोधित पानी उद्योगले जार र बोतलको पानी बिक्री गरिरहेका छन्।


मनपरी मूल्य
काठमाडौं उपत्यकामा बिक्री हुने पानीको मूल्य तोक्ने निकाय पनि छैन। सरकारी पानी वितरक केयुकेएलले मूल्य निर्धारण गरे पनि निजी ट्यांकर, बोतल र जारको पानीको मूल्य तोक्ने कुनै सरकारी निकाय छैन।

सामान्यता लागत मूल्यमा निश्चित नाफा जोडेर मूल्य तोकिने भए पनि न्यूनतम लगानी लाग्ने मानिने पानी उद्योगको निश्चित मूल्य तोकिएको छैन। बजारमा ‘मिनरल वाटर', ‘प्रोसेस्ड वाटर (प्रशोधित पानी)' र ‘स्पि्रङ वाटर' गरी तीन किसिमका पानी पाइए पनि तिनको मूल्य मनोमानी रूपमा तोकिएको छ। 

बजार अनुगमन गर्ने वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्बासे पानीको मूल्य तोक्ने कुनै सरकारी निकाय नभएको बताउँछन्। ‘हामीकहाँ पानी विभाग छैन। सबैले पानीको मनलाग्दो मूल्य तोकिरहेका छन्,' उनी भन्छन्। विभागसँग पर्याप्त अधिकार नभएको र सबै कुराको मूल्य तोक्न पनि सम्भव नहुने उनको भनाइ छ।

Leave a comment

‘खेल संस्कार, स्तरीय उत्पादन’

‘खेल संस्कार, स्तरीय उत्पादन’

कीर्तिमानको चाङमाथि विराजमान अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेसीलाई ११ वर्षकै उमेरमा ग्रोथ हार्मोनमा गम्भीर समस्या देखियो।

पर्यटन गोरेटोमा बैतडी

पर्यटन गोरेटोमा बैतडी

नमस्ते खीर बाजे! कैलालीको अत्तरियाबाट डडेल्धुरा उकालिँदा बाटोमा साहुँखर्क भन्ने ठाउँ आउँछ। खीर र दहीका लागि प्रख्यात ठाउँ। भीमदत्त राजमार्ग ओहोर–दोहोर गर्नेहरू त्यहीँ खाजा खान्छन्।हामी पनि ७ वैशाख ०७१ का...

होश रखियो

'केहरी ओर?' हतारिएर हिँडेकी छिमेकलाई उसले कतातिर भन्ने भावमा प्रश्न गरी। 'जुलुसमें नाइ जैबु? सारा गौवाँ उलटके जात बा, होश रखियो!' नाकको नस्ता हल्लाउँदै छिमेकीले तिमी जुलुसमा नजाने भनेर उल्टै...

जय मधेस

जय मधेस

पेट्रोल, डिजेल, ग्यास ठप्प भएको नौ दिन भयो। आजसम्म त जेनतेन चलेकै थियो तर भर्खरैबाट गुन्जमानको बाइकको ट्यांकी रित्तियो। त्यही बेला नानाभाँती कामहरू असिनाजस्तो पररर बर्सिए।

फुटेको पाइपमा ‘नखानेपानी’

फुटेको पाइपमा ‘नखानेपानी’

विराटनगरमा हेपाटाइटिस ‘ई' का कारण १२ जनाको ज्यान गयो। गर्मी सुरु हुनासाथ देशको एक उपमहानगरपालिकामा फैलिएको यो प्रकोपले सयौं बिरामी अस्पतालको बेडमा छन्। हेपाइटाइटिस फैलिनुको कारण पानीमा कोलिफर्म ब्याक्टेरियाको संक्रमण...

कानैमा फुसफुसायो मृत्यु

‘माया एंग्लो इज डेड!'कुनै रेस्टुराँमा बसेर कफीको स्वाद लिइरहँदा साथीले पठाएको एसएमएसले एकाएक दुःखी बनायो। आँखाअघिल्तिर टाँसियो– विरलैले देख्ने युग देखेकी अग्ली, काली वर्णकी प्रतिभाशाली महिलाको तस्बिर। सँगै सम्झना आयो–...

वाग्मती मनोलग

वाग्मती मनोलग

ऊ टक्क अडियो।‘उता माथि नजाऔं!' उसले भन्यो, ‘बास बस्न बाँदरको लर्को होला।'मोबाइलको मधुरो उज्यालोले भुइँ नियाल्दै ऊ बस्यो। कोक र स्न्याक्स बोकेको प्लास्टिकको थैलो पनि दुबोमा बिसायो।

काजीमानको योगदान

काजीमानको योगदान

भत्कपुरको माटोमा जन्मि कला, संस्कृति र सम्पदालाई अति माया गर्ने कलाकारको नाम हो काजीमान कर्माचार्य। आज हामी माझ उनी छैनन्, तरको उनको कला छन्।