Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

आयाम थरीथरीका

(1 Vote)
घडीको टिकटिकजस्तो, नदीको कलकलजस्तो, छातीको ढुकढुकीजस्तो, चराको चिरबिरजस्तो, माछाको चुलबुलजस्तो, प्रेमीको आग्रहजस्तो, प्रेमिकाको नखराजस्तो, सपना खोजिरहेको आँखाजस्तो वाशिशुको पैतालासँग लोभिएको फूलजस्तो!


nepali-patro-may
खै कस्तो–कस्तो? म तिमीलाई माया गर्छु भनेर कसैलाई फुर्काएजस्तो वा साँच्चै मायै गरेजस्तो। यही हो माया भनेर त कहाँ भन्न सकिन्छ र? न देखाउन सकिन्छ, न देख्न सकिन्छ न नाप्न, जोख्न र भर्न सकिन्छ तर अनुभूत गर्न सकिन्छ। कसैले देखाउँछन् कसैले नदेखाउँदा नदेखाउँदै पनि आफैं पोखिन्छ बाहिर व्यवहारमा। यी जीवनका क्रिया हुन्। एउटा युवकले कुनै युवतीलाई देखाएको आकर्षण र कुनै युवतीले युवकलाई रोजेको तथ्य त सामान्य प्रक्रिया, स्वाभाविक आकर्षण र त्यहीभित्रको शाश्वत सत्य तर त्यहीँमात्रै माया खोजिरहने हो भने डिल टेकेर सागर तरेँ भनेजस्तो मात्रै हुनेछ। यसको फैलावट अनन्त छ, अप्राप्य छ र अजीवको छ। यो मनोवैज्ञानिक विषय पनि हो।

सन्त रामानुजले एकपटक भनेका थिए— 'यदि तिमी प्राकृतिक सौन्दर्य, युवतीको सौन्दर्य र शिशुहरूको निश्छल सौन्दर्यबाट मुग्ध हुन सक्तैनौ भने तिमी परमात्माको प्रेमी हुन सक्तैनौ।' प्रेम परमात्मासँग पनि जोडिने रहेछ। साधक तथा योगीहरूका कुरा म जान्दिनँ। यसबाट भन्न सकिन्छ संसार प्रेममय छ प्रेम संसारमय छ तर सन्त रामानुजको माथिको पंक्तिमा केही थप्न चाहन्छु, युवतीको सौन्दर्यमात्र किन भन्नु? कुनै युवक विशेषलाई देखेर कुनै युवतीको मनमा पनि त जाग्दो हो खुलदुली!

एकपटक भारतीय प्रसिद्ध नायिका शबना आजमीले नेल्सन मन्डेलालाई सश्रद्धा म्वाइँ खाइन्, यो ठूलो घटनाका रूपमा समाचारमा आयो। खुसवन्त सिंहले आफ्नो एउटा पुस्तक विमोचनका बेला त्यहाँ उपस्थित पाकिस्तानी उच्चायुक्तकी छोरी जो आफ्नै सहपाठीकी नातिनी हुन्, तिनलाई नातिनी–हजुरबाको स्नेहमा चुम्बन गरे। यो पनि ठूलो होहल्ला भएको थियो। हजुरबा उमेरका बूढाले नातिनी उमेरकालाई र सयौं चलचित्रमा प्रेममय अभिनय गरेकी शबना आजमीले झन्डै हजुरबाजस्ता मन्डेलालाई गरेका चुम्बन रागात्मक नभएर पनि हल्लाको विषय बनेको थियो। आज तन्नेरी पुस्ताले साथी भेट्दा मिलाएको गला र स्पर्श कतै 'स्वाभाविक' र कतै 'ज्यादा'का रूपमा परिभाषित गरिन्छ। प्रेम चुम्बकीय आकर्षणजस्तो पनि र सहज स्थिर कल्पनाजस्तो पनि।

फूल, पात, पत्कर तथा वनवनेली, नदी, झरना, खोला तथा तालतलैया, हिउँ, हिमाल, पहाड तथा नागबेली घुम्तीहरू र फराक फाँट खलो, खलियान र तोरीबारी। यी प्रेमका आलम्बन पनि हुन् र उद्दीपन पनि। यिनैभित्र आफू समर्पित भएर वा यिनका माध्यबाट अन्तरहृदय अभिव्यक्त भएर मनका भाव जब पोखिन्छ, त्यही अनुभूत हुन्छ प्रेम। 'वन जोगाऊ अभियान'का महान् अभियन्ता पूर्वी नेपालका सेवाइलाल चौधरीले गरेको वृक्षप्रेम वा कुनै योगीले गरेको ध्यान अथवा किंवदन्तीका पात्रहरू मुना–मदन, नल–दमयन्ती, रोमियो–जुलियट, दुष्यन्त–शकुन्तला वा अन्य। शाहजहाँले बनाएको 'ताजमहल', कालीदासले बादलमार्फत पठाएको यक्षको प्रेम 'मेघदूत', मोतीरामले कोइलीसँग पठाएको खबर 'पीकदूत'; यी प्रतीकहरूहुन्। कति मान्छे रोजेको व्यक्ति नपाएर दुखित हुन्छन्, कति ठाउँमा आत्महत्या र जीवन विसर्जनका कथा सुनिन्छ। दुनियाँ श्रीमती र छोराछोरी भनेपछि हुरुक्क हुन्छ तर सिद्धार्थ गौतमले २९ वर्षे तरुनी श्रीमती र नाबालक छोरो छोडेर हिँडे। कतै प्राप्ति हो प्रेम, कतै त्याग। तर, एकातिरको त्याग पनि अर्कोतिरको प्राप्तिपूर्ण अभिलाषासँग जोडिन्छ, बुद्धलाई शान्तिको अभिलाषा भएझैं। निःस्वार्थ भने पनि स्वार्थै नभएको चाहिँ हुँदैन प्रेम।

लाग्छ– प्रेम भावहरूको सञ्चय हो। परिस्थितिअनुरूप प्राप्ति पनि हो, त्याग पनि हो, समर्पण पनि हो र एकोहोरो अन्तरसंलाप पनि हो। यो योग हो भाव र भावनाको र यसलाई 'भावयोग'भन्न सकिन्छ। त्यही भावयोग क्रियाका रूपमा बाहिर स्पर्श, आलिंगन, सुम्सुम्याइ, म्वाइँ आदिका रूपमा प्रदर्शित हुन्छ। कोही मान्छे किन ढुंगा मुसारिरहन्छ, काठ खेलाइरहन्छ, रूख, बिरुवा र पात सुमसुम्याइरहन्छ र बिराला, बाँदर, बाख्रापाठा वा जीव तथा निर्जीव वस्तुलाई स्नेहको तातोले तताइरहन्छ? कारण केवल प्रेम हो।

प्रेमको एउटा पक्ष उमेर मिल्दासँगको आकर्षण पनि हो र त्यसैमा रागात्मक पक्ष पनि गाँसिन्छ। रागसँग रति र रतिजन्य क्रियाकलाप प्रेमको एउटा अलग पक्ष हो र यो विकसित भएर शारीरिक रतिक्रियासम्म जोडिन्छ वा जोडिन पनि सक्छ। यही कुरासँग कतिले प्रेमलाई जोडेर यसैको बाटो हुँदै प्रेमलाई विवाहसम्म पनि पुर्यािएका छन् र प्रेमविवाह भन्ने गरेका छन्। यी कुरासँग शारीरिक सुखभोग पनि जोडिएला/जोडिन्छ तर प्राप्तिभन्दा पर चरम समर्पणमा प्रेमका झिल्का देखिन्छन्। सुनारले सुन काट्दा झिल्का झरेझैं वा जर्ती टिपेझैं तिनै प्रेममा रंगिन्छन् जिन्दगीका इन्द्रेणी सपना र भोगाइका सुकुमार अनुभूति। जब बिर्सन्छ मान्छे आफूले आफैंलाई कसैमा र केहीमा, त्यहीँनेर झुल्कन्छ प्रेमको घाम र पोखिन्छन् चरम सन्तोषका न्याना किरणहरू।

प्रेम साहित्यको पनि ठूलो पाटो हो। साहित्यको नौ रसमध्ये शृंगार एक हो। नायक–नायिकको सुमधुर मिलनमा संभोग शृंगार हुन्छ र नायक–नायिकाको विछोडमा विप्रलम्भ शृंगार। यी दुवैको आधार प्रेम हो। यसको व्याख्यामा मान्छेको मनभित्र रहने स्थायी भाव रति र त्यसको अभिव्यक्ति प्रक्रिया जोडिन्छ। प्रेमका धेरै गीत/कविता लेखिएका छन् र प्रेमकै गीत ज्यादा लोकप्रिय र सदावहार छन्। युवायुवतीको शरीर विशेष, अंग अवयव विशेष वा क्रिया र चेष्टा विशेषसँग यो जोडिन्छ। शारीरिक प्रेम त पशुपन्छी र बस्तु बाख्राहरुले पनि गर्छन्। पौरुषपूर्ण बोकाको अण्डकोष काटेर बोकालाई नपुंसक बनाउनेहरूले त्यही बोकोलाई पनि माया गर्छन्। त्यही नपुंसक अण्डकोष देखाएर मासु बेच्नेले झिँगा भन्केला भनेर एक हातले त्यही मासुलाई हम्किरहन्छ र अर्को हातले श्रीमतीलाई फोन गरिरहन्छ। संगतविसंगत छ दुनियाँ र यसै वरिपरि घुमिरहन्छ मायाप्रेम र मान्छे पनि।

धेरै वर्षपहिले एउटा कुनै भारतीय पत्रिकामा बाँदरले ऐना हेरेको तस्बिर छापिएको थियो। त्यो तस्बिरमा बाँदर आफ्नै रूप हेरेर दंगदास परेको देखिन्थ्यो। उसको सौन्दर्य देखेर उही छक्क परेजस्तो। के उसले आफ्नो रूपलाई प्रेम गर्न पाउँदैन र? बसको भिडमा पनि एउटी युवती सातपटक ऐना हेर्छे र ख्याल गरिरहन्छे आफ्नो सुन्दरताको। सुन्दरतामा पनि त प्रेम मिसिएको रहेछ।

प्रेम जब दिवसको रूपमा परिणत हुन थाल्यो, यसलाई उत्सवका रूपमा मनाउने पहिलो अवसर रोमलाई प्राप्त भयो। सन्त भ्यालेन्टाइन र विशप अफ टर्नी र अरू केही कथा त उदाहरण हुन्। प्राचीन रोममा एउटा उत्सव पहिलेदेखि नै मनाइन्थ्योे। त्यो फेब्रुअरी १४ मै पर्दथ्यो। यसलाई चराचुरुंगीहरूले सम्भोग गर्ने उत्कर्ष दिनका रूपमा लिइन्थ्यो। रोमको मिथकनीरोले बजाएको बाँसुरीसँग पनि जोडिन्छ। रोम सहर जलिरहँदा नीरोले बाँसुरी बजाइरहेको थियो रे। सहर जलिरहँदा पनि बाँसुरीको धुनमा लठ्ठ परेकोमा धेरैले उनको कडा टिप्पणी गरेको सुनिन्छ तर यहीँनेर मलाई लाग्छ– अरू जे भए पनि उनको बाँसुरी–प्रेमलाई चाहिँ मान्नैपर्छ।

एउटा पुरानो कथा छ— वसन्तसेना नामकी नगरबधु र बीजगुप्त नामका भिक्षुको। नगरबन्धुको आकर्षणमा त सबै थिए तर भिक्षुको सौन्दर्यबाट वसन्तसेना अत्यन्त आकर्षित भइन् र उनले भिक्षुसँग प्रेमको अपेक्षा गरिन् तर भिक्षुले मान्ने कुरै भएन। ठूलो अनुनय विनय र याचनापछि भिक्षुले सम्झाउँदै भने नानी म कुनै दिन तिम्रा लागि काम लाग्न सक्छु। समय स्थिर छैन/रहेन। वसन्तसेनाको रूप जवानी सबै सकियो। ठूलाठूलाहरू उनीकहाँ आउन छाडे। असाध्य रोग लागेर उनी ठूलो विचल्लीमा परिन्। एक बिहान अचानक भिक्षु वसन्तसेनाको घर पुगे। उनलाई पानी खुवाएर भने— 'नानी मैले तिमीलाई दिएको वचन पूरा गरेँ।' उनले घुटुक्क पानी पिइन् र भनिन्— 'मेरो सबभन्दा ठूलो प्रेमी हजुर हुनुहुँदो रहेछ। जसले जीवनभरि माया गर्छु भने तिनले मेरो जवानीलाई माया गरेका रहेछन् र हजुरको माया मेरो जीवनको लागि रहेछ।'

कति गहिरो दर्शन/परिभाषा प्रेमको।

आज सबैले सबैलाई माया गर्छन् तर त्यो माया प्राप्तिमा छ कि समर्पणमा यत्ति छुट्याउन कठिन छ। प्रेम दिवस हुनु र उत्सवकै रूपमा मनाउनु नराम्रो त कसरी हुन्छ र? तर म कल्पिरहेछु— यो समाजमा बीजगुप्तजस्ता प्रेमका भिक्षुहरू कति होलान्? होलान् किन होलान्? रातो गुलाफ बोक्ने लस्कर शारीरिक सुखभोगलाई नै प्रेम ठान्नेहरूको भिडमात्रै रहेछ भने त प्रेमको अमृत नालीमा घोलेजस्तो हुनेछ। आखिर ती सबैलाई प्रेमले पर्गेल्ने जिम्मात प्रेम दिवसका प्रेमी र प्रेमिकाहरूलाई।

Leave a comment

अघिल्लो दशकको दस्तावेज

रामेश कोइरालाले ‘आमाको मुटु' लेखेर मुटुभित्रका आरोह–अवरोहलाई शब्दमा उनेका थिए। यसपटक भने समाजको एक हृदयविदारक अनि दुःखद आयामलाई औपन्यासिक कृतिमा बटुलेका छन्।

लेख्नुको कथा

लेखेर हिँड्दो रहेछु आजकलजहाँ पनि, जहिले पनिसडक विस्तारित हुनु र नहुनुमैले भोगेकै नियतिको कथासहर कागतका पन्नामा लेख्छु

हरियो सेनाको कालो इतिहास

हरियो सेनाको कालो इतिहास

इतिहास आफैंमा विवादास्पद विषय हो। विन्स्टन चर्चिलले भनेका छन्, ‘हाम्रा इतिहास विजेताहरूले लेखेका दस्तावेज हुन्।' प्राचीन सामरिक इतिहासमा विजेताहरूको स्तुतिगानको गन्ध आउँछ। अलेक्जेन्डरदेखि नेपोलियनसम्मका इतिहासमा भएका पूर्वाग्रहका पर्दा अहिले बल्ल...

स्वर्ग बन्न सक्दैन पृथ्वी?

स्वर्ग बन्न सक्दैन पृथ्वी?

हाम्रो देशमा समस्याहरू प्रत्येक दिन जटिल हुँदै गइरहेका छन्। संविधान जारी गर्ने यस्तो संवेदनशील क्षणमा अनेक चुनौती र खतरनाक परिस्थिति सिर्जना भएको छ। अहिलेको बन्द, हडताल, हिंसात्मक प्रदर्शन र उत्तेजक...

बुढ्यौलीमा तन्नेरी जोस

बुढ्यौलीमा तन्नेरी जोस

त्रिभुवन विश्वविद्यालय, ग्रामीण विकास केन्द्रीय विभागका प्राध्यापक डा. प्रेम शर्मा फुर्सद मिल्नेबित्तिकै डाँडापाखा चहार्छन्। कहिले विद्यार्थीसँग, कहिले पत्रकारसँग अनि कहिले अरूसँग। अनुसन्धान गर्न २०४३ सालदेखि घुम्न थालेका। ५ वर्षयता भने...

मधुमेह बिरामी, गुम्ला आँखाको ज्योति

मधुमेह बिरामी, गुम्ला आँखाको ज्योति

काठमाडौं-नेपालमा मधुमेहका बिरामीको संख्यामा वृद्धि भएसँगै यसका कारण आँखाको ज्योति गुमाउनेको संख्या पनि बढिरहेको छ। मधुमेहले आँखामा असर गर्छ भन्ने आम मानिसलाई समयमै जानकारी नहुँदा धेरैले आँखाको ज्योति गुमाउनु परिरहेको...

प्रेमको धरहरा

प्रेमको धरहरा

धेरैपछि यो पुरानो अल्बम फेला परेको हो। अनायासै पल्टाउन मन लाग्यो। पल्टाएर के हेरेथेँ, अचानक सम्झनाको तस्बिर पल्टियो। मुसुक्क मुस्कुराइरहेकी उनको तस्बिरले म झस्किएँ। आँखा जमेजस्तै भइदियो। हात टक्क अडिए।...

सुदूरबाट चम्केका तारा

सुदूरबाट चम्केका तारा

भगवान शिव–पार्वतीले मधुमास मनाएको पवित्र भूमि हो डोटीको शैलेश्वरी। त्यहाँ शैलेश्वरी, शिव, गणेश, हनुमान लगायतका मन्दिर छन्। तीनका भित्तामा देवदेवीका मूर्ति सजिएका छन्। चित्र कोरिएका छन्। मन्दिर हातामा मूर्ति बगैंचा...