Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

'रक्सी मान्छेले पिउँछ, जातले होइन'

(1 Vote)
चैत १९ साँझ सोल्टी होटलमा एउटा भव्य पार्टी चल्दैथियो। मिडिया क्षेत्रका केही सिनियर मदिराले मस्त भइसकेका थिए। सानो कुरामा पनि जोडजोडको हाँसो गुन्जिरहेको थियो। म जिज्ञासु बन्दै उहाँहरुको नजिक पुगेँ। मेरो हातमा जुसको गिलास देखेर उहाँहरु झन् जोडले हाँस्नुभो।
nepali-patro-may
'क्या हो यार, लामाको हातमा जुस? यो त सुहाएन है?' एक जना टेलिभिजनकर्मी दाइले व्यंग्य गरिहाल्नुभो। अर्का एक क्यामेराम्यान दाइले आफ्नो हातको ह्विस्की देखाउँदै भन्नुभो, 'यी यस्तो पो पिउने हो त, जातले पाको चिज पनि छाड्ने हो र?' दुवै जना बाहुन थिए। यस्तो प्रश्न जोसुकैले गरुन्, मसँग एउटा रेडिमेड जवाफ छ। त्यहाँ पनि त्यही जवाफ फकाईदिएँ, 'दाइ, रक्सी मान्छेले पिउँछ, जातले होइन।'

पछिल्लो समयमा रक्सी नखाने मतवालीको संख्या बढ्दो छ। कहिलेकाहीँ साना जमघटमा मतवालीहरुचाहिँ सफ्ट डिं्रक र क्षत्रीबाहुन साथीचाहिँ हार्ड डिं्रकमा रमिरहेको दृश्य सामान्यझैं लाग्छ। त्यतिबेला हार्ड ड्रिंक गर्ने साथीहरु जिल्ल पर्छन् र भन्छन्, 'ल हेर, जमाना उल्टो भइसकेछ।'

मैले साथीभाइमाझ 'रक्सी नखाने लामा' को परिचय बनाएको छु। तर यसको मतलब यो होइन कि मेरो मुखमा रक्सी परेकै छैन। काठमाडौंको स्वयम्भूमा जन्मे–हुर्केको म सानैदेखि रक्सीको स्वाददेखि परिचित थिएँ।

ठूलाबडाले हामी फुच्चेलाई कित्ली र पैसा दिएर छ्याङ र रक्सी किन्न पठाउँथे। पसल्नीले 'ला तिमीहरु पनि चाख्' भन्दै बटुकामा अलिकति हालिदिन्थिन्। हामी पनि के कम, एक बटुका छ्याङ घुट्क्याउँथ्यौं। छ्याङ खाएर स्वयम्भूको ओरालो र उकालो गर्न बडो मुश्किल पर्थ्यो। छ्याङले तिघ्रालाई फतक्क गलाउँथ्यो। रक्सी खाँदा घाँटी कटक्क हुन्थ्यो। चुरोट सल्काउँदा खोकी चल्थ्यो।

स्वयम्भूमा तामाङ, नेवार र तिब्बती साथी थिए। एक जना एलेक्स भन्ने फ्रान्सेली साथी पनि थियो समूहमा। नेपाली फरर्र बोल्ने ऊ रक्सी खाएर मुख छाड्न हामीभन्दा अब्बल थियो। उसकै घरमा हामीले विदेशी रक्सी र रक्सी खाने सुन्दर गिलास देखेका थियौं पहिलोपटक।

स्वयम्भूका डाँडा घुम्न आउने कुनैकुनै गोरा टुरिस्ट चरेसका ग्राहक हुन्थे। हामी साना केटाहरु फुर्सदको समय झाडीभित्र छिरेर गाँजाको पातलाई हातमा रगड्थ्यौं र त्यसबाट निस्किने मयलजस्तो लेप जम्मा पार्थ्यौं। त्यो 'माल' कसले कता लगेर बेच्थ्यो, हामीलाई सरोकारको विषय थिएन। त्यति बेला तितो हुने गाँजा र चरेस पनि चाख्यौं।

संगत जतिसुकै खराब भए पनि म स्कुलमा दोस्रो वा तेस्रो भइरहन्थेँ। स्वयम्भू डाँडोको जनसुधार प्राविबाट पाँच कक्षा पास गरिसकेपछि म १० वर्षको छँदा २०४५ साल भदौतिर हाम्रो बसाइँ पाटनतिर सर्योु। लगनखेलको नमुना मच्छिन्द्र मावि ६ कक्षामा भर्ना भएँ। बेलाबखत म स्वयम्भूमा आफन्त र साथीहरु भेट्न ओहोरदोहोर गरिरहन्थेँ। त्यसैले १२ वर्षको उमेरसम्म रक्सी खान मलाई कुनै छेकबार रहेन।

पछि, आमाले हामीलाई कडा अनुशासनमा डोर्या्उनुभयो। पाटनमा टोलै नेवार, टिचर नेवार, साथीभाइ नेवार, घरबेटी नेवार, संस्कृति र आहारबिहार नेवार। स्वयम्भूमा तामाङहरुले 'आइराक' र 'छ्याङ' भन्ने रक्सी र जाँडलाई पाटनमा नेवारले 'अइला' र 'ठो' भन्दारहेछन्। अब 'अइला' र 'ठो' मेराअगाडि हरेक दिन छचल्किन थाले। तर मैले दुवैमा हात लगाइनँ, आमाको डर थियो।

हाइस्कुलमा उक्लिएपछि मैले बुझेँ, मेरा बुबा, ठूलोबुबा र हजुरबुवा कलिलै उमेरमा संसारबाट बिलाउनुको कारण रक्सी नै थियो। हजुरबुबालाई मैले देख्नै पाइनँ। सायद उहाँले ४० छुनुभएन। बुबा बित्नुहुँदा म ६ वर्षको थिएँ, उहाँले ३० छुनुभएन। बुबा बितेपछि ठूलोबुबाले हामीलाई केही वर्ष हुर्काउनुभयो। उहाँले पनि ४५ छुनुभएन। मेरो हजुरबुबाले बुबा र ठूलोबुबा मात्र जन्माउनुभएको थियो। रक्सीकै कारण तीन जनाकै जीवनलीला छोटियो।

यो कहालिलाग्दो पारिवारिक ट्र्याजेडीका कारण पनि मलाई लाग्यो, मेरो वंशलाई रक्सी फाप्दैन। जब कि माइला र जेठा हजुरबुबापट्टिका ठूलाबुबालाई रक्सीले फिटिक्कै नछोएको देख्छु। उहाँका सन्तानले रक्सीलाई जितेका छन्। म चाहिँ ढुक्क छु, त्यस्तो रक्सी प्रतिरोधात्मक शक्ति ममा छैन।

जब पत्रकारितामा लागेँ, रक्सी र रक्सीवालाले अझ पिछा गर्न थाले। केही बहाना भयो कि रक्सी पिउने निम्तो आइहाल्थ्यो। अहिले पनि आइरहन्छ। रक्सी पनि थरीथरीका, रंगीचंगी, एकसे एक ब्रान्डका तर मेरालागि ती सब केही न केही। मुखबाट कहिल्यै पानी आएन।

'तपाईंसँग छुट्टै बस्छु म' वा 'दाजुभाइ बस्नुपर्छ है' भन्ने खालका आश्वासन रक्सीसँग जोडिएका हुन्छन्। त्यस्तो प्रस्ताव राख्नेहरुलाई के थाहा, मैले अल्कोहल छुँदिनँ भनेर। लामो तयारीपछि बल्लबल्ल समय जुर्छ र सँगै बस्ने बेला उनीहरु छक्क पर्छन्, 'झन् यसो रमाइलो गरौं भनेको त तपाईं लिनु पो हुन्न है?'

धेरै जसोले मलाई कमसेकम 'वाइन वा बियर त लिनू!' भन्दै कर गर्छन्। उनीहरु तर्क गर्छन्, 'वाइन र बियर त केही हुँदैन, सफ्ट ड्रिंक त हो।' जबकि त्यसो भन्नु र 'माछा र अन्डा भेज नै हो' भन्नु एउटै लाग्छ मलाई।

पाँच वर्षअघि दिल्लीबाट जेट एयरवेजमा काठमाडौं फर्किंदै थिएँ। मसँगैको सिटमा एक जना अपरिचित नेपाली युवक थियो। एयर होस्टेस यात्रुलाई एकएक क्यान बियर बाँड्दै आइन्। मैले लिइनँ। सँगैको युवकले भन्यो, 'लिइराख्नुस् न म खाइदिउँला।' मैले त्यसै गरेँ र उसकै हातमा थमाइदिएँ।

रक्सी खाएका साथीले देखाउने उपद्रो मलाई रमाइलै लाग्छ। कोही रक्सीले चूर भई हुइँकिरहेको बाइकबाट सडकतिर डाइभ हान्थे। कोहीचाहिँ रक्सी खाँदा उत्तानो परेको साङ्लाझैं छटपटिइरहन्थे। एक जना साथीले त रक्सी खाएर घर जाँदा बाटोमै मोटरसाइकल भुलेछ। घर पुग्दा उनको शिरमा हेल्मेट थियो तर मोटरसाइकल थिएन।

कतिपय पार्टीमा रक्सी नखानेलाई बेवास्ता गरिएकोमा रिस उठ्छ मलाई। बारमा अल्कोहल मात्र हुन्छ पिउनलाई। जुस वा अरु सफ्ट डिं्रक केही हुँदैन। त्यति बेला म आयोजकलाई भन्ने गर्छु, 'पार्टीमा मान्छे रक्सी पिउन मात्र आउँदैनन्।'

नयाँ वर्ष सन् २०१६ को रमझममा एक मित्रले भनेका थिए, 'रक्सी पिउँछु, नत्र सेलेब्रेट गर्दा के पिउने त?' पछि मैले देखेँ, उनी रक्सी खाएर होहल्ला गर्दै रमाउँदारहेछन्। मैले उनलाई पछि भनेँ, 'होहल्ला गर्न रक्सी पिउनुपर्दैन मित्र!'

गत कात्तिकमा भूकम्पपीडितको भिडियो खिच्न सिन्धुपाल्चोक गएका थियौं। क्यामेराम्यान र प्रोड्युसर साथी पक्का मदिराप्रेमी थिए। हरेक साँझ उनीहरुलाई सोमरस चाहिन्थ्यो। स्थानीय पसलमा ब्रान्डेड बियर र रक्सी प्रशस्त पाइन्थ्यो तर चिसो पेय पदार्थचाहिँ नामै नसुनेका ब्रान्डका मात्र भेटिन्थे। मैले ती चिसो पेय पदार्थ खाइनँ। साथीहरु बियरमा रम्थे। म चुपचाप हेरिरहन्थेँ। प्रोड्युसर साथीले मप्रति व्यंग्य छेड्दै भनिहाले, 'रक्सी नखाने मान्छे घाँडो नै हुनेरहेछ।'

'रक्सी किन पिउँदैनौ?' भन्ने प्रश्नमा म भन्ने गर्छु, 'मेरो भागको बाउबाजेले खाएर गइसके। अब मलाई खानु छैन।' क्षत्रीबाहुन साथीहरुचाहिँ 'हामीलाई त हाम्रो बाउबाजेको कोटासमेत पिउनु छ' भन्दै चुस्की लगाउन थाल्छन्।

मापसे चेकिङका बेला कुनैकुनै ट्राफिक प्रहरीले मेरो अनुहारकै कारण शंका गर्दै पाइप फुक्न लगाउँछन्। म परेँ मापसे होइन, दुपसे अर्थात् दुग्ध पदार्थ सेवन गर्ने। क्लिन रिजल्ट आएपछि ट्राफिक प्रहरी छक्क पर्छन्।

मापसे गर्ने साथीहरुको दाबी छ, 'रक्सी नखानेले जीवनमा धेरै चिज गुमाउन सक्छ।' तर म भन्छु, 'रक्सी नखानेले जीवनमा रक्सी मात्र गुमाउँछ, रक्सी खानेले चाहिँ बरु जीवन नै गुमाउन सक्छ।'

Leave a comment

शुभ बोल ! शुभ बोल

शुभ बोल ! शुभ बोल

आकासमा बादल धुम्म थियो । पानी पर्ला अनि हलो, कुटो, कोदाला निकालौंला भनेको किसान आकास हेर्दै मलिन अनुहार बनाएर बसेको थियो । साँझपख एक दुई बादलका मुठा बाझिन्थे, बिजुली चम्किन्थ्यो...

नेपाली लेखन किन पछाडि

नेपाली लेखन किन पछाडि

मान्छे आफ्नो श्रमबाट जति अलग्गिँदै जान्छ, दुनियाँ त्यत्ति नै अमानवीकरण हुँदै जान्छ। मान्छे आफ्नो सृजनाबाट जति अलग्गिँदै जान्छ, दुःख त्यहीँबाट सुरु हुन्छ।

विपन्न बस्तीमा 'प्रभुको लीला'

विपन्न बस्तीमा 'प्रभुको लीला'

घोराही (दाङ)- लमही, देउपुरकी किशोरी प्रतिमा चौधरी 'सन्देश' चर्चअन्तर्गत बालसंगतिकी प्रशिक्षक हुन्। ६ वर्षअघि साथीहरूको संगतबाट क्रिस्चियन धर्म अँगाल्न पुगेकी उनले आफ्नो परिवारका सबै सदस्यलाई इसाई धर्मानुयायी बनाइसकेकी छन्।

अर्द्धमत्स्येन्द्रासन

अर्द्धमत्स्येन्द्रासन

योगी मत्स्येन्द्रनाथ शिवजीको शिष्य हुनुहुन्थ्यो। उहाँले शिवजीबाट योग सिक्नुभएको हो। उहाँ प्रायः अर्द्धमत्स्येन्द्रासनमा बस्नुहुन्थ्यो। त्यसैले यो आसनको आविष्कारकको रूपमा उहाँलाई लिने गरेको पाइन्छ। यद्यपि काठमाडौं सहरमा मत्स्येन्द्रनाथलाई रथमा राखी जात्रा...

साहसीहरूको संसार

साहसीहरूको संसार

पोखरा विमानस्थल बनेपछि २००८ सालमा पहिलोपटक यहाँ आएको जहाजको यात्रु बनेर आएका तत्कालीन गृहमन्त्री बिपी कोइरालालाई पोखरा कस्तो लाग्यो कुन्नि? उनले त्यो यात्राको वर्णन गरेको सुनिएको छैन। उनीभन्दा पछि घोडसवार...

सलाम गुलजार साहब!

सलाम गुलजार साहब!

'कुनै पनि सम्बन्ध तत्काल अन्त्य हुँदैन, न त यो मर्छ। यो फरक अर्थमा बद्लिन्छ मात्र।'गुलजार यसै भन्थे, सम्बन्धका बारेमा।गुलजारको अनेकसित अनेक सम्बन्ध छन्, ती सम्बन्धको आ–आफ्नै अर्थ छ। नायिका मीनाकुमारीसितको...

जस्ताको जोहो

जस्ताको जोहो

हाम्रो सरकार सुस्त छ। त्यही सुस्त प्रवृत्तिको मारमा यसपालिका भूकम्पपीडितहरू परे। ढिलो गरी जसोतसो ओत लाग्ने जस्तापाता त उनीहरूले पाए। तर यो बर्खामा धेरै सास्ती खेप्नुपर्यो । बर्खा त लगभग...

भ्रम–गीता

कौरवहरू–प्रेमको संसार बुझेर प्रेमगीत गाउने सुरमा गिटारका तारहरू मिलाइरहेका छन्, पाण्डवहरू– पोल्ट्रीफार्मबाटै होलसेलमा अन्डा बेच्दै