Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

आन्विकाको आधा चेहरा

(0 votes)
आन्विकाको आधा चेहरा
सुनसरीको शिशु विकासिनी प्रावि मधेसाकी छात्रा आन्विका गिरी कक्षा पाँचमा पढ्थिन् । स्कुलले कविता प्रतियोगिता आयोजना ग¥यो । 'कलम' शीर्षकको कविता लेखेर उनी प्रथम भइन् । नजिकैको बलाहा गाउँस्थित शारदा माविले अन्तरविद्यालय कविता प्रतियोगिता गर्ने भयो । एक शिक्षकले सोधे, 'तिमीलाई त्यहाँ पनि जित्नु छ, होइन ?'
nepali-patro-may
'हो ।'

'जित्ने हो भने अरूभन्दा फरक भएर देखाउनुपर्छ । तिमी हाउभाउसहित कविता वाचन गर । अरूले जस्तो खरर्र नपढ ।'

बालिकाले आफूले बुझेसम्म बालअधिकारका मुद्दा मिसाउँदै कविता लेखिन् । छोरा र छोरीबीच भेदभाव हटाउनुपर्ने मर्म बोकेको रचनासहित गएकी आन्विकाले गुरुमन्त्र सम्झिन्– 'कविता भनेको हाउभाउसहित भन्नुपर्छ ।'

उनले त्यसै गरिन् । 'छोरा' भन्दा दाहिने हात चलाउने । 'छोरी' भन्दा देब्रे हात चलाउने । 'खबरदार' भन्दा चोर औंलो उज्याउने ।

नतिजा, त्यहाँ पनि पुरस्कार उनैले जितिन् । त्यहाँ जित्नुको अर्थ फेरि जिल्लास्तरीय प्रतियोगिताका लागि छानिनु भन्ने हुन्थ्यो । उनले त्यहाँ पनि त्यसैगरी हाउभाउ गरिन् । गलामा आरोहअवरोह हालिन् । र, त्यहाँ पनि प्रथम भइन् ।

बस्, आन्विकालाई कहिले विराटनगरतिरबाट कविता वाचन गर्न निम्ता आउन थाल्यो । कहिले इटहरी, कहिले दुहबीबाट । स्कुल पढ्दै उनी धुमधाम कवि भइन् ।

कथाकृति 'कम्युनिस्ट' छापेकै भरमा साहित्यिक पाठकबीच चर्चाको पात्र बनेकी आन्विकाको पहिलो बिसौनी प्रावि तहबाट सुरु भएको थियो । त्यही बिसौनी, जहाँबाट थालेको सृजना–यात्रा आजसम्म जारी छ । उनले थोरै लेखेकी छन् । पहिचान बनाउन पुग्नेगरी लेखेकी छन् । आफ्नो लेखनमा प्रकट हुने प्रस्टताका लागि साहित्यवृत्तमा प्रभावशाली मानिन्छिन् । त्यसको पनि एउटा आदिकथा छ ।

आन्विकाको मावलीगाउँ जनकपुर राजनीतिक रूपमा बढ्तै सचेत थियो । आन्विकाका हजुरबा जमिनदार थिए । शिक्षक पिता ज्ञानेन्द्र र आमा कुमारी दुवै राजनीतिक साक्षर । उनलाई प्रस्ट याद छ, मावलीघरमा सेतो चकलेट बाँडिएको दिन यो देशमा बहुदल आयो । सके जनआन्दोलन २०४६ पछि देशैभरि छाएको दलगत उन्माद त्यहाँ मिश्रित थियो । गाउँगाउँका कट्टरवादी इतरविचारलाई देखिसहँदैनथे ।

उमेर र सुझबुझ राम्ररी छिप्पिन नपाउँदै आन्विकालाई पारिवारिक पृष्ठभूमिले वामपन्थी बनाइसकेको थियो । 'हामी कांग्रेसका घरमा भैलो खेल्न जाँदैनथ्यौं,' उनी हाँस्दै सम्झिन्छिन्, 'मदन भण्डारी बितेका बेला शोकाकुल भएर कक्षामा हाजिर नै गरेनौं । केवल दुईजनाले गरे, उनीहरू कांग्रेसका छोराछोरी थिएछन् ।'

आन्विकासँग यस्ता किस्सा कति छन् कति । तर यहाँ साहित्यको कुरो छ । उनी कविता लेख्दै गइन् । उनका प्रायः सबै कविताको चुरो सामाजिक भेदभाव र असमानता हुने गथ्र्यो । उनी आजसम्म यही आदर्शमा डोरिइरहेकी छन् ।

कक्षा आठ पढ्दा जिल्लास्तरीय निबन्ध प्रतियोगितामा प्रथम भएकी आन्विका लगातार दुई वर्ष प्रथम भइन् । पढाइमा उनी सधैं अब्बल । साथीहरूबीच कडा प्रतिस्पर्धा हुन्थ्यो ।

आन्विका एसएलसीपछि जनता क्याम्पस इटहरीमा पढ्न थालिन् । नानीदेखि लागेको बानी ! त्यहाँ पनि कविता सुनाउने । त्यहाँ पनि हाउभाउ । त्यहाँ पनि हिट । साथीहरू भन्दा रहेछन्, 'तिमीले कवितामा भन्न खोजेको कुरा सबै भेउ पाउँदैनौं, वाचन गर्दाचाहिँ सिधै मुटुमा ठोक्किन्छ ।'

विद्यार्थी नेताहरू आन्विकालाई आफ्नो संगठनमा आबद्ध गर्न तँछाडमछाड गर्न थाले । संगठित राजनीतिमा उनको चासो गएन । उनी बिए पढ्न काठमाडौं आइन् । क्याम्पस जानु उनको प्राथमिकतामा थिएन । काम गर्न थालेकी थिइन् । 'कलेज जानु पर्थेछ,' उनलाई हिजोआज लाग्छ, 'जीवनको एउटा रमाइलो पक्ष छुटाइएछ ।'

काठमाडौं आएपछि विभोर बराल भन्ने साथीले उनलाई केटाकेटी डट ओआरजीले आयोजना गरेको बालकथा प्रतियोगितामा भिड्न सुझाए । उनले 'रातो जुत्ता' शीर्षकको कथा पठाइन् । त्यहाँ पनि प्रथम । त्यसले पुरस्कार त दिलायो नै, चर्चा गर्न लायक चर्चा पनि दिलायो । अब उनले कविता नलेख्ने निर्णय गरिन् ।

आन्विका कथा लेख्न अभ्यस्त भइसकेकी थिइन् । स्वयं उनीभित्र भने उपन्यासको भूत सवार भइसकेको थियो । उपन्यास– यो शब्द नै एकताका उनका लागि सपनाजस्तो थियो । कथासंग्रह उनको प्राथमिकता थिएन । 'नामको भोक चर्कै थियो,' उनी विगतमा फर्कन्छिन्, 'मसँग पैसा भएको भए आफैं छपाउँथे हुँला ।'

आन्विका त्यस समयमा कृति छपाइरहेकी थिइन्, जुन बेला कतिपय लेखक प्रकाशकलाई आफैं पैसा बुझाएर कृति छपाइरहेका थिए । साठी दशकको मध्यतिर एकाध युवा प्रकाशक उदाउँदै थिए । सांग्रिला बुक्सका मणि शर्मा तीमध्ये एक थिए । २०६६ को सुरुमा उनले आन्विकालाई आफ्नो पहिलो लेखक बन्न प्रस्ताव राखे । उनी विश्वस्त हुन सकिनन् । भनिन्, 'मलाई सोचविचार गर्न केही समय दिनुहोस् ।' मणिले धैर्य राखे । नयाँ प्रकाशकको एप्रोच उनलाई मन प¥यो । त्यही साल फागुनमा 'कम्युनिस्ट' कथासंग्रह आयो ।

'तपाईंको पुस्तक भयंकर राम्रो छ'– छापिनेबित्तिकै प्रतिक्रिया आउन थालेछ आन्विकालाई । उनी सोध्दी भइछन्, 'केचाहिँ राम्रो लाग्यो ? कुनै पात्र ? कुनै घटना वा अरू केही ?' थाहा लागिहाल्दो रहेछ । प्रतिक्रिया दिनेमध्ये अधिकांशले कथा नपढेका हुँदा रहेछन् । यस्सै भन्दिनका लागि भन्दिने !

'यस्ता प्रतिक्रिया सुन्दा मैले बढ्ता भाउ पाइरहेकी छु कि जस्तो लाग्छ,' २८ वर्षे लेखक दिक्दारी दर्शाउँछिन् ।

आन्विका छिट्टै उपन्यासकार हुँदै छिन् । नामको भोक मेट्ने धोको भने हराइसक्यो । उपन्यास लेखिसकेकी छन् । नाम अझै जुरेको छैन । उनलाई छपाउन हतार पनि छैन ।

मान्छे जति सार्वजनिक छवि बनाउँदै जान्छ, अरूले उसको निजी जीवनबारे त्यति नै खोतल्न चाहन्छन् । सभ्य भनिएका समाजको प्रवृत्ति पनि यस्तै देखिन्छ ।

आन्विकाको जीवनमा पनि कुनै त्यस्तो घटना छ । उनी खुलाउन चाहन्नन् । मौनता साँध्छिन् । चिन्नेहरू झन् उत्सुुक बन्दिन्छन् । आफ्नो जीवनको बारेमा निर्णय लिनु उनकै इच्छाको कुरो । तैपनि कुरा त गरिहाल्छन् । कुरो प्रेमको हो । कुरो उनको हो ।

'छ वर्ष भइसक्यो, यसबारे मलाई अब केही बोल्नु छैन,' उनको सिधा जवाफ छ, 'जुन विषयमा म प्रवेश नै गर्न चाहन्न, त्यसैबारे सोधिरहनु भनेको मुर्खता हो ।'

त्यही भएर अहिले पनि मानिसहरू उनीसामु सिधै भन्न डराएर अरू मान्छेमार्फत चियो गर्न खोज्छन् रे । उनलाई सुरुसुरुमा लाग्थेछ– किन यसरी अरू मेरोबारे कुरा काटिरहन्छन् ? हिजोआज त्यस्तो लाग्दैन । 'मैले त्यसबेला यो समाजलाई खासै बुझ्न सकेकी रहिनछु, हिजोआज यी सब स्वाभाविक लाग्छ,' उनी भन्छिन् ।

उनको त्यही प्रेमकथा कतिका लागि चियागफमा उठ्ने 'बिचरी' शब्दको उफान भइदियो । उनी स्वयं यसबारे लेख्ने, अतिरिक्त सहानुभूति बटुल्ने पक्षमा छैनन् । 'जुन कुराका लागि मैले कुनै संघर्ष नै गर्नुपरेन, त्यसका बारेमा किन बढाइँचढाइँ गर्ने ?' उनी सिधा बोल्छिन्, 'मसँग यस्तो सुनाउनैपर्ने तिक्तता केही छैन ।'

बेला बेला लाग्दो रहेछ– अरू त केही फिक्री छैन । आफ्ना मातापितालाई कतै दुखाएँ कि !

यहाँनेर पाठकलाई न्याय भएन क्यारे । किनकि सन्दर्भ अझै प्रस्ट भएन । कहिलेकाहीँ जीवनलाई आधा चेहरामा हेरेको जाती ! हेर्नेहरूलाई थाहा हुन्छ– आधा चेहरा हेर्नुको मज्जा । यद्यपि, यो मज्जा लिने विषय होइन । हुँदै होइन ।

नजिकका केही साथी छन् । कमसेकम आन्विकालाई 'बिचरी' भन्दैनन् । उनी कुनै पनि सक्षम भनिएको व्यक्तिभन्दा माथि छन् । त्यो भनेको पुरुष पनि हुन सक्छ । आफ्ना लागि आफैं कमाउँछिन् । कसैले दिनुपर्दैन । बिचरा भनिइनु उनका लागि सरासर अस्वीकार्य छ । घर बनाउने, गाडी किन्ने सोख छैन रे उनको । बरु भन्छिन्, 'छोरी नभएको भए सायद जोगिनी हुन्थेँ कि, किनकि मेरो स्वभाव नै त्यस्तै थियो ।' सन्तान हुनुको अनुभूतिले आन्विकाको जीवनलाई बाटो दियो । पंक्तिकारसँग गफिँदै यी आमा आफ्नी छोरी मुसारिरहेकी छन् । उनको काखमा लुटुक्क निदाइरहेकी अवनी गिरी अहिले छ वर्षकी छन् ।

मूलधारका मिडियामा केही वर्षअघिसम्म पत्रकारिता गरेकी आन्विका अहिले निश्चित दूरीमा छिन् । उनलाई लाग्दो रहेछ– केही पत्रकार उनको व्यक्तिगत जीवनभित्र यसरी छिर्न खोज्छन्, मानौं अरूको ठेक्का यिनैले लिएका हुन्छन् । 'दिनहुँ मान्छे मरिरहेका छन्, विदेशबाट बाकसमा लास आइरहेको छ, तैपनि मानिसहरू बोल्दैनन्,' उनी भन्छिन्, 'यी सबलाई छाडेर व्यक्तिगत गन्थनमा अल्झिनु बेकार हो ।'

यसो भन्दा मान्छेहरूले उनलाई गालीसमेत गरेछन् । त्यसपछि प्रशंसा । 'तिनै गाली गर्नेहरू हिजोआज नजिक आउन खोज्छन्,' उनी सुनाउँछिन्, 'मैले आफ्नो जीवनलाई र उनीहरूलाई फर्केर हेर्दा यस्तै देखेँ ।'

आन्विकाको लेख्ने बानी अनौठो छ । किबोर्डमा औंला चल्नुअघि शब्द उनको ओठबाट फुस्किइसक्छ । बोल्दै लेख्नुपर्ने, लेख्दै बोल्नुपर्ने । तर एक्लै । एक्लोपन उनको लेखनको पूर्वसर्त हो । छोरी सुत्नु र स्कुल जानुअघि आन्विकाको लेखन हुँदैन । 'बरु रातभरि पनि लेख्न सक्छु, केहीले रोक्न सक्दैन,' उनको लेखन अनुभव ।

आन्विकालाई समकालीन लेखकमाथि टिप्पणी गर्न मन लाग्दो रहेनछ । 'उनीहरू कमेन्ट सुन्न रुचाउँदैनन्, प्रशंसामात्रै,' उनी भन्छिन् । एक महिला कथाकारको पाण्डुलिपि भर्खरै पढेर सकिछन् । नेपाली महिला लेखक परिवारको घेराभन्दा बाहिर निस्कन नसकेको उनको दृष्टिकोण छ ।

आन्विकाको आगामी उपन्यासको विषयवस्तु 'माओवादी जनयुद्ध' नै हो । उनी एकहदसम्म प्रभावित पनि थिइछन् जनयुद्धसँग । उनका साथीहरू लागेका रहेछन् । परिवर्तनको तिर्खा चर्को थियो । तर लेख्नुको कारण यतिमै पूरा हुँदैन उनको । 'जनयुद्धबारे अरूले राम्ररी लेखेका हुन्थे भने सायद मैले लेख्तिनथेँ हुँला,' उनको अभिव्यक्तिमा आरोपको मात्रा पनि छ । उनको अघिल्लो कथासंग्रहमा पनि युद्धकालीन समयको झल्को दिने केही रचना छन् । नेपाली समाजमा माओवादी युद्धलाई फूलबुट्टा भर्नेहरू एकातिर छन् । भ्रष्टीकरण गर्नेहरू अर्कातिर । समालोचनात्मक पुस्तक, फिल्म, कला कहिले बन्ने होलान् ! नेपाली मिडियामा माओवादी युद्धबारे आउने सामग्रीका आधारमा प्रायः किताब लेखिने गरेको उनको अर्को अभियोग छ ।

आन्विकाले भारतीय लेखक अरुन्धती रोयको 'वाकिङ विद् कमरेड्स' पढेर आफ्नो प्रभाव मूल्यांकन मासिकका तत्कालीन सम्पादक झलक सुवेदीसामु राखिन् । नेपालीमा अनुवाद गर्ने इच्छा पनि देखाइन् । झलकले स्वीकृति दिए । त्यसपछि विकास बस्नेतसँग मिलेर त्यसको नेपाली अनुवाद 'माओवादी कमरेडसँग' मूल्यांकन प्रकाशन गृहबाट छापियो ।

नेपालमा भने प्रचण्डको नेतृत्वले बेइमानी गरिसकेको आन्विकाको ठहर छ । 'निर्णय सच्याउन ढिलो भइसकेको छ,' उनी सरल रेखामा बोल्न मन पराउँछिन् । राष्ट्रिय राजनीतिमाथि उनको खासै टिप्पणी छैन । 'हाम्रा नेता आफैं निर्णय लिनसक्ने ठाउँमा छैनन्, आज एउटा थोक भन्छन्, भोलि अर्कै । त्यस्ताको के कमेन्ट गर्नु !' उनी अन्तिम सुर्को चिया घुट्क्याउँछिन्, र छोरीलाई सम्हाल्दै उठ्छिन्, 'त्यही भएर म त हिजोआज ट्वीटरमा फन्टुस कुरा लेखेर बस्दिन्छु ।'

तीज

म तीज कहिले पनि मनाउँदिनँ। मिडियाले भन्दैनथे भने तीजबारे मलाई थाहा पनि हुन्थेन होला । हिजोआज मानिसहरू तीज सुधार्दै जानुपर्छ, परिष्कार गर्नुपर्छ भनिरहेका हुन्छन् । केही चाडहरू यस्ता छन्, जसलाई सुधार्ने होइन, बन्द नै गर्नुपर्छ । तीज पनि तीमध्ये एक हो । किनकि यो भाग्यवादी र पराधीन मनस्थितिको उपज हो।

म पतिको दीर्घायु कामना गर्दै महिला व्रत बसिरहेको देख्छु । यो सबै देखाउने कुरा हो । आठ मार्च महिलाहरूको अधिकार र प्रतिष्ठा प्राप्तिका लागि ठूलो विश्वव्यापी पर्व हो तर किन यहाँका महिला त्यसमा खासै चासोे देखाउँदैनन् ? किनकि त्यसमा देखाउन पाइँदैन । गहना गुडिया र लुगाफाटो प्रदर्शन गर्न चाहन्छन् यहाँका महिला । हाम्रो समाज पिछडिएको छ भन्ने बुझाउन यस्ता प्रवृत्तिले भूमिका खेलेका हुन्छन्। हिजोआज त पत्नीको दीर्घायु कामना गर्दै पुरुषहरू पनि व्रत बसेको सुन्छु । यो सबै भाग्यवादी मानसिकताको उपजबाहेक केही होइन । हिजोआज तीज मनाउनका लागि लोग्नेमान्छेले नै प्रोत्साहित गरिरहेका छन् । यो बेकारको कुरा हो ।

Leave a comment

ज्ञानको खोजी

ज्ञानको खोजी

शरीरलाई रिफ्रेस गर्न र केही सिक्न हामी घुमफिरमा निस्कन्छौं। भ्रमणको क्यालेन्डर बनाएको त छैन। तर, वर्षमा एकचोटि परिवारै लामो यात्रामा निस्कन्छौं। कामको सिलसिलामा पनि धेरैतिर पुगिन्छ। काठमाडौं, पोखरा, जनकपुर, मनकामना,...

सर तिम्रो ब्वाइफ्रेन्ड हो?

सर तिम्रो ब्वाइफ्रेन्ड हो?

काभ्रेको भगवती माविबाट सात कक्षा सकेर जब म आठ कक्षादेखि काठमाडौं प्याफलस्थित कान्ति इश्वरी राज्यलक्ष्मी मावि पढ्न थालेँ, धेरै आश्यर्चलाग्दा घटना र पलहरू शंखलाबद्ध रूपमा सँगसँगै अघि बढ्न थाले। पहिलो...

'यात्रुको मुखामुख लाग्छन्'

'यात्रुको मुखामुख लाग्छन्'

मेरा लागि सार्वजनिक यातायात नौलो होइन। भूमिगतकालमा सार्वजनिक यातायातमै हिँडियो। सरकारमा रहँदा मात्र व्यस्तताका कारण केही समय हिँड्न पाइएन। सरकार छाडेपछि मैले सुविधा नलिएरै सार्वजनिक यातायात चढ्ने निर्णय गरेको हुँ।...

किन लेखे भानुभक्तले वधूशिक्षा?

किन लेखे भानुभक्तले वधूशिक्षा?

अध्यात्म रामायणलाई नेपालीमा भावानुवाद गरी साहित्यिक अभिव्यक्ति दिएकै कारणमात्र होइन सामाजिक जीवनका गाँठालाई सिलोकका माध्यमबाट सजिलै बुझाई व्यावहारिक उपाय पनि सुझाएकाले भानुभक्तको प्रसिद्धि स्थापित भएको हो। तत्कालीन समाजको धर्म र...

मल्ल राजासँग

मल्ल राजासँग

सहरको मौसम बदलिएको थियो। बर्सातका छिटाहरू बादलको घैलाबाट उम्किएर जमिनमा झर्न सुरु गरिसकेका थिए। अविरल झरी बर्सने दिनहरू पर क्षितिजको कुनोबाट चिहाइरहेजस्ता लाग्थे। पाटनका गल्लीसँग अन्योन्याश्रित हुँदै बरालिएका नस्टाल्जियाहरू मनभित्र...

कोशी पारीका चालिस दिन

कोशी पारीका चालिस दिन

देश भारतीय नाकाबन्दी र मधेश आन्दोलनको उभारसँग जुध्दै थियो। हरेक नेपालीका दिनहरु संकटपूर्ण तरिकाले गुजि्ररहेका थिए। यस्तै परिस्थीतिमा म भने यी यावत जोखिम वेवास्ता गर्दै देशको पूर्वी यात्रा गर्ने मोडमा...

सूर्मासरोवर पुगेपछि

सूर्मासरोवर पुगेपछि

सुदूरपश्चिमको बझाङमा अवस्थित सूर्मासरोवर धार्मिक गन्तव्यस्थल हो। सूर्मासरोवर हुँदै सैपाल बेसक्याम्पसम्म पदमार्ग अध्ययन गर्ने उद्देश्यले केही समयअगाडि अमेरिकी ट्राभल राइटर सान इडवार्डस र सरोकारवाला उक्त यात्रामा सामेल भएका थिए।

गाउँका बुहारी

गाउँका बुहारी

बुहारी बुहार्तनका लागि जन्मेका हुन्, नेपाली समाजमा। त्यसैले बुहार्तन गर्नुपर्छ अर्काको घर छिरेपछि। यो उनीहरूको जन्मसिद्ध अधिकार हो गाउँका बुहारीको। बुहारी ढिकीजाँतो गर्छन् साँझ–बिहान। तर बिचरा! आफैं फलिएका छन्, ओखलमा...